सबसे सुरक्षित ठाउँ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सबसे सुरक्षित ठाउँ खगेन्द्र लामिछाने विभिन्न देशबाट आएका नेपाली युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा आ-आफ्ना झोला-सूटकेश राखेर बसेका छन्। विद्यार्थी संगठनहरूले काठमाडौं उपत्यका बन्द गरेको र सरकारले वार्ताको आह्वान गरेको समाचार नजिकैको टेलिभिजनमा प्रसारण भइरहेको छ। यात्रुहरू बन्द खुल्ने प्रतीक्षामा छन्। अमेरिकाबाट छुट्टी मनाउन आएका सुरेश शर्मा सारै दिक्क हुन्छन्। सुरेशः गड, सिस्टम नेभर इम्प्रुभ्स् इन दिस कन्ट्री। अलवेज स्ट्राइक! ह्वाट अ हेल्। उफ्! (आफ्नो सूटकेशको आडैमा बस्छन्।) रामदयालः कुरा बुझ्िएन, नेपालीमा भन्नुस् न। मैथलीमा पनि चल्छ। सुरेशः कहिल्यै नसुध्रने, नर्क जस्तो भनेको। रामदयालः बाफ रे बाफ, कहाँबाट आइहाल्नुभएको रे तपाईं? सुरेशः अमेरिकाबाट। रामदयालः किन आउनुभएकोे त अमेरिका बसेको मान्छि? सुरेशः बिदा मनाउन। रामदयालः (हाँस्दै) त्यो युरोपमा हाम्रोजस्तै देश छ रे नि? के नाम रे त्यसको? सँगै बसेका अरूहरूः स्विट्जरल्याण्ड! रामदयालः हो स्विट्जरल्याण्ड। त्यतै गै हाल्नुपर्थ्यो, त किन यता आइहाल्नुभयो? सबै गलल्ल हाँस्छन्। सुरेशलाई अप्ठ्यारो लाग्छ। रिस पनि उठ्छ। सुरेशः अलि ढङ्गले कुरा गर्नुस्। रामदयालः हाँसेरै कुरा गरिहालेको छु म। कसरी राम्ररी कुरा गर्ने भन्दिनुस्, गरिहाल्छु। अशोकः गफमा त निकै सिपालु हुनुहँुदो रैछ नि साथी। तपैँ चाहिँ कहाँबाट आउनुभएको नि? रामदयालः कतारबाट आइहालेको छु, तीन महिनामै। अनि तपैँ नि? अशोकः लिबियाबाट। रामदयालः वाफ् रे! (जिब्रो टोक्दै) खतरा देशबाट आइहाल्नुभएछ। विनयः संसारमा जहाँ पनि खतरा छ आजभोलि। जापानमा आनन्द थियो, त्यहाँ पनि भूकम्प गयो, आणविक भट्टी पड्क्यो। झ्न् ठूलो खतरा! रामदयालः भनेपछि तपाईं जापानबाट भागिहाल्नुभयो? विनयः त्यसै भन्नु पर्‍यो। रामदयालः अनि अमि्रकाबाट आइहाल्नुभएको साथी त बोल्नै छाडिलिनुभयो नि? सुरेशः (र्झ्को मान्दै) तपाईंसँग के बोल्ने। मान्छेसँग कसरी बोल्नुपर्छ, तपाईंलाई थाहै छैन। रामदयालः रे बाब्बा, तपाईं सिकाउनुस् न त! सुरेशः आइ डन्ट वान अ टक एनी मोर। (भुन्भुनाउँदै) देश गतिलो भए पो! विनयः यो कुरा चाहिँ गलत बोल्नुभो है साथी। देशलाई दोष नदिनुस्। मान्छेले नै देश बनाउने हो। हेर्नुस्, म सात वर्ष जापान बसेर आएको हुँ। हरेक देशमा राम्रा कुरा छन्। नराम्रा पनि छन्। अरू देशमा राम्रो कुराको प्रचारप्रसार गरेर नराम्रो कुरा सुधार्दै जान्छन्। हामी चाहिँ नराम्रो कुरा उछालेर राम्रोलाई बिगार्छौं। खोट कोट्याए हरेक देशमा भेटिन्छन्। हामीले नेपाललाई राम्ररी चिनेकाले सजिलै खोट भेट्छौं। आफ्नो देशको आलोचना गर्न एकरत्ति सङ्कोच मान्दैनौं, बन्देज पनि छैन। तर अरू देशमा यस्तो हुँदैन। रामदयालः ठीक भनिहाल्नुभयो। अशोकः आ-आफ्नो ठाउँमा सबैका कुरा ठीक हुन् साथी हो। तर साँचो कुरा के हो भने, हाम्रा नेताहरू भ्रष्ट छन्, कर्मचारी घुस्याहा छन्। सम्झ्ँदा पारो तातेर आउँछ। विनयः नेता र कर्मचारीलाई मात्रै के दोष दिनु, धेरै दोष त जनताको छ। अशोकः नेताहरू सत्तामा छन्। कर्मचारीले गरिब जनताको करबाट तलब सुविधा पाएका छन्। जनतालाई के को दोष? विनयः कानुन अनुसार नमिल्ने काम गराउन हामी नै कर्मचारी र नेताको दैलोमा पुग्छौं, घुस खुवाउँछौँ। मेरो छोरालाई जागिर लगाइदेऊ भन्दै मान्छेहरू नेताको चाकरीमा जान्छन्। यो ठेक्का मिलाइदेऊ नेताज्यू म यति कमिसन दिन्छु भन्छ ठेकेदार। अनि कसले नखास् घुस? मेरो विचारमा देशमा सिस्टम नहुनुमा नेताको भन्दा जनताको बढी हात छ। हामी जनता इमानदार र निस्वार्थी हुने हो भने धेरै कुरा आफैं ठीक हुन्छन्। रामदयालः एकदम ठीक कुरा गरिहाल्नुभयो साथीले। हामीले राणाशासन हटाइलियौं, राजा पनि हटाइलियौं, किन? किनकि, हामीलाई उनीहरूको रवैया मन परेन। एक्टा कुरा गर्छु, राणा, राजा हटाउन सक्ने जनताले काठमाण्डूको फोहोर किन हटाउन सक्दैन? सबै हाँस्छन्। विनयः व्यक्तिगत स्वार्थ छाडेर देशमा सिस्टम बसाल्न चाहने हो भने सकिन्छ साथी हो। तर पहिला त आफैं सिस्टममा चल्नु पर्‍यो नि! रामदयालः सबैले देखिलिनुभएकै होला, मान्छिहरू आकाशे पुलमुनिबाटै बाटो काट्छन्। पुल भए पनि त्यसको प्रयोग नगर्ने अनि सिस्टम भएन भन्दै नेतालाई दोष दिने? सरकारले त बनाएकै छ आकाशे पुल। यसमा के छ कि जनताकै कमजोरी देखिहाल्छु म त। अशोकः यी भन्ने कुरा हुन् साथी हो। जहाँ भए पनि मान्छे सुरक्षित भएर बस्न चाहन्छ। अनि मात्र अरू कुरा गर्न सकिन्छ। तर हाम्रो देशमा त सुरक्षा नै छैन। रामदयालः तपाईं लिवियाबाट किन आइहाल्नुभयो नेपालमा? अशोकः त्यहाँ आन्दोलन शुरु भो। मरिन्छ कि भन्ने डर लाग्यो। रामदयालः यस्तो कुरा गर्न त तपाईंलाई लाज लागिहाल्नुपर्ने हो। तपाईंले नेपाललाई असुरक्षित मान्नुहुन्छ त फेरि किन फर्केर आइहाल्नुभयो यता! अशोकः (वाल्ल पर्दै) आफ्नै देशमा अलि सुरक्षित भइन्छ नि! रामदयालः वाफ रे वाफ, मरिन्छ कि भनेर आफ्नो देशमा आइजाने! अनि आफ्नै देशलाई असुरक्षित ठानिहाल्ने! अचम्मको कुरा गर्नुहुन्छ तपाईं। आफ्ना मान्छि नमरुन् भनेर सरकारले उद्धार गरेर तपाईंलाई सुरक्षित ल्याइहालेको हैन? अरूहरूः (हाँस्दै) रामदयालजीको कुरो बेठीक चाहिँ हैन है अशोकजी! सुरेशः गड, देशमा सिस्टम हुनुपर्‍यो, अपरच्युनिटी हुनुपर्‍यो, काम गर्ने वातावरण हुनुपर्‍यो नि! रामदयालः तपैँ पढेलेखेको मान्छि नेपालमा सिस्टम भएन भनेर अमेरिका गैजानुभयो। कोही बिलायत गए, कोही कता गइहाले। तपैँहरू आएर बनाइहाल्नुस् न सिस्टम! अरूले बनाइदेलान् र आइहालुँला भनेर बसिहाल्नुभएको छ। अनि कसरी हुन्छ सिस्टम? (निधारमा हात राख्दै) धत्तेरिकी! अशोकः नेतै ठीक भएनन् हाम्रो देशमा। विनयः आफूलाई असल ठान्नुहुन्छ भने तपाईं आएर गर्नुस् राजनीति। किन खराब मान्छेलाई देशको जिम्मा लगाउने? हेर्नुस्, म संसारको एउटा समुन्नत र सुरक्षित देशमा बसेर आएको मान्छे हुँ। जापान अमेरिकाभन्दा पनि सुरक्षित ठाउँ हो। तर भूकम्प गयो। भूकम्प त जहाँ पनि जान सक्छ। तर सुनामी आयो आणविक विकिरण चुहियो। ज्यानको माया सबैलाई लाग्छ। अनि म पनि आफ्नै देश फर्किएँ। जापानभन्दा अविकसित होला, तर आत्मालाई सुरक्षा दिने त आफ्नै देश हो नि साथी हो! रामदयालः साथीको घैँटामै घाम लागिगयो रे! हा हा हा हा... विनयः लिवियाबाट आएका साथीलाई सोध्छु, कर्णेल गद्दाफीले आन्दोलन शुरु गर्ने साङ्लाहरूलाई लखेटी-लखेटी मार्छु भनेका थिए, याद छ तपाईंलाई? अशोकः किन नहुनु, छ। विनयः हाम्रो देशमा कुनै नेताले त्यस्तो भनेको सुन्नुभएको छ? रामदयालः वाफ रे, त्यसो त भनिलिँदैनन् तर व्यवहारले बडा बेवकुफ बनाइजान्छन्। सबै हाँस्छन्। विनयः जेहोस्, गद्दाफी जस्ता तानाशाहको डर नेपालमा छैन। हामी जनताले बोल्न पाएका छौं भने गर्न किन पाइन्न? नगरेर पो बिग्रेको छ देश। समस्या जहाँ पनि छन्। कोही धनी भएका छन् भने कामै गरेर भएका हुन्। कुनै देशको शासन-व्यवस्था राम्रो छ भने त्यहाँका नागरिकले त्यस्तो चाहेर अनि त्यस अनुसारको व्यवहार गरेरै भएको हो। अशोक घोरिन्छ। रामदयालः आफैं केही नगर्ने अनि नेताजीहरूलाई दोष दिइहाल्ने? खै साथी हो बाटो पाऊँ त, ट्वाइलेट गैहाल्नु पर्‍यो। समूहः छिटो आउनुस् यार, तपाईं नहुँदा खल्लो होला जस्तो छ। रामदयालः आइहाल्छु, हामीलाई पनि मजा आइरहेको छ। अशोकः तपाईं अब जापान फर्कनुहुन्न? विनयः फर्कन्न। अशोकः के गर्ने विचार छ त? विनयः जापानमा फार्म हाउसमा काम गर्थें। गाउँमा अलिकति जग्गा छ त्यहीँ खेती गर्ने विचारमा छु। सुरेशः मार्केट नै पाइन्न। विनयः मार्केट आफैं हुने होइन, बनाउने हो। काम गर्नुपर्छ, मार्केटको रूपमा संसार अगाडि छ। अशोकः अघि तपाईंले भनेको कुरा मेरो मनमा गड्यो। वास्तवमा म यहाँ सुरक्षित पनि भइएन, अवसर पनि पाइएन भनेर लिविया हान्निएको हुँ। अलिअलि कमाइयो पनि होला। तर त्यहाँ गज्याङमज्याङ भएपछि सबभन्दा पहिला आफ्नै देशको सम्झ्ना भयो। विनयः अमेरिका जस्तो बलियो देशका ट्वीन टावर ढलाएकै हुन्। जापानमा विकासको लागि बनाइएको आणविक भट्टी पड्किंदा त्यो हाल भयो। युरोप पनि आतङ्ककारी हमलाको त्रासमा छ। गृहयुद्धमा फँसेका देशको कुरै नगरौं। यसो सोच्नुस् त। सुरेशः हाम्रा इडियट नेताहरूले जनतालाई उचालेर देशलाई गृहयुद्धमा फँसाएनन् भने त के! विनयः म ग्यारेन्टी दिएर भन्छु, हाम्रो देशमा अब भाँडभैलो फर्कनेवाला छैन। भाँडभैलो पार्न खोजेर पनि नसकेका त हामीले नै देखेका हौँ नि! हाम्रो समाज धेरै बलियो भैसकेको छ। रामदयाल आउँछ। रामदयालः वाफ रे, कुरा कहाँ पुगिगयो साथी? अशोकः तपाईंलाई कुरेको। रामदयालः तब त ठीक छ। ट्वाइलेटमा एउटा कुरा याद आइगयो। विनयः के फुर्‍यो त्यस्तो? रामदयालः कुरा बडा मज्जाले गरियो, तर चिनजान नै भएन। सबै हाँस्छन्। र, परिचय गर्छन्। अशोकः रामदयालजी तीन महिनामै कतारबाट फर्कनुभएछ। लट्री परेर हो? रामदयालः अरे, कहाँ पर्छ हामीलाई लट्री? फर्कनुको बात लामो छ। हाम्रो गाउँका धेरैजसो केटा विदेशमा छन्। मलाईं चाहिँ उता गइहाल्ने मन थिएन। केही त गर्नु पर्‍यो भनेर जनकपुरछेउको लोहना गाउँमा बकरी पालन गरिलिएँ। तर, गाउँमा फलानाको बेटुवाले यति पैसा पठायो, उति पठायो भनेर बाबुले थाहा पाइहाल्ने। अनि त रातबिरात टेन्सन दिन थाल्नुभयो। ए बाब्बा हामी यहीँ कमाउँछु भन्दा पटक्कै नमानिदिने। बकरी पालेर कहिले कमाइलिन्छस् बेटुवा भन्दै भेजा चाटिलिने। रे बाबा, बकरीले हातहातै पैसा दिने त हैन नि! हाँसोको फोहोरा छुट्छ। विनयः धैर्य नै छैन हामीमा। जे पनि तुरुन्त चाहिन्छ। अशोकः तयारी चाउचाउको बजार त्यसै बढेको हैन, नेपालमा। सुरेशः अनि, अनि के भो भन्नुस् न, रामदयालजी। रामदयालः वाफ रे, हाम्रो सुरेशजीलाई चाख लागिहाल्यो। फेरि सबै हाँस्छन्। विनयः ल बोल्नुस्, रामदयालजी। रामदयालः बोलेर मात्र के हुन्छ? तर पनि तपाईंहरू भनिहाल्नुहुन्छ भने बोलिहाल्छु म। गाउँमा जो मान्छि भेटिए पनि रे बबुवा, तिमी चाहिँ किन हल्लन तिवारी भएर गाउँमै बसिहालेका छौ भन्ने। अनि त मलाई पनि विदेशमा पैसा फलिहाल्छ भन्ने लाग्न थाल्यो। अनि गइहालें कतार। कम्पनीमा काम गरिहाल्ने भनेकोमा त्यहाँ पनि भेडा गोठाला बनाइहाल्यो। अब गोठालो नै गर्नुपरेपछि अर्काका भेडा किन चाहियो मलाई? कुरा बुझ्िलिनुभयो हैन? सबै हास्छन्। सुरेशः तपाईं जस्तै सबै फर्के भने देशको अर्थतन्त्र नै डुब्छ। रामदयालः वाफ रे, कस्तो कुरा गर्नुहुन्छ रे तपाईं? हामीले बकरी पालेपछि, तपाईंको माफिक सबै मुस्तण्डाहरूले काम थालेपछि कसरी डुब्छ नेपाल? सबका सबले काम गरेर त हेरिलिउँ्क! फेरि हाँसोको फोहोरा छुट्छ। विनयः मरुभूमिमा तरकारी फलाउन थालिसके अरूले। हाम्रो त चारैतिर हरियाली छ। हावापानी पनि उस्तै। रामदयालजी तराईमा बाख्रा पाल्नुस्। कसैले पहाडमा ट्राउट माछा पालन गरौं। कसैले कुरिलो रोपेर जापान, अमेरिका पठाऊँ। रामदयालः वर्षामा मधेशमा टमाटर फलाउन गाह्रो छ। पहाडमा फलाएर भारत सप्लाई गर्नुस्। हिउँदमा हामी गर्छौं। बकरी त सबै ठाउँमा सबै बेला भइजान्छ। कामै नगरेपछि कहाँ हुन्छ? विदेशमा कमाएर अलिअलि पैसा पठाउने अनि किनेर खाने, यसरी कहाँ हुन्छ? सुरेशः रेमिट्यान्सले धानेको देश, रेमिट्यान्स नै आएन भने त चिलिमै फर्कन्छ। विनयः अब म बोल्छु साथी हो। मैले बुझ्ेको कुरा के हो भने, अरब देशहरूबाट अहिले जति रेमिट्यान्स आएको छ त्यति पैसा हामीले त्यहाँ नगए पनि भित्र्याउन सक्छौं। सुरेशः इम्पोसिवल! रामदयालः के भनिलिनुभो तपाईंले? अशोकः असम्भव हुन्छ रे! रामदयालः वाफ् रे, कस्तो कुरा गर्नुहुन्छ? उनीहरूले दाल, आँटा समेत बाहिरबाट लिएको हामीले पनि बुझ्िसकेको छु। अरबमा काम गर्ने हाम्रा दाजुभाइ सबै नेपाल आएर खेतमा गेहुँ, रहर उगाएर उता बेच्यो भने कति रुपैयाँ आउँछ, विचार गरिलिनुभएको छ साथीले? सुरेशः त्यस्तो च्यानल कसले बनाउने? रामदयालः तपैँ पढेलेखेको मान्छि, तपैँ बनाइहाल्नुस् च्यानल। तपाईं नेपाली हो कि हैन? अमेरिकामा मस्ती गरिहाल्ने अनि दुई दिन घुम्न आउँदा नेपाललाई गाली गर्ने? विनयः रामदयालजीको कुरो ठीक हो। रामदयालः हेर्नुस्, अब म गाउँ गएर दश जना केटालाई भन्छु- ऐ केटा हो, तिमीहरू विदेश जाँदा लाग्ने पैसा मलाई देऊ, म तिमीहरूलाई महिनाको दश-बाह्र हजार दिइहाल्छु। कतारमा बकरी चराएको महिनावारी आठ हजार आउँछ। म बाह्र हजार दिइहाल्छु। विनयः साथी हो, रामदयालजीको कुरा सुन्दा मलाई त उहाँको पार्टनर बनेर काम गर्न मन लाग्यो। अशोकः साथी हो, संयोगको भेटमा कुरा दह्रै भए। हाम्रो घर अरू कोही आएर बनाइदिने होइन, आफैं कस्सिने हो। आँटौं कि क्या हो? त्यहीबेला टिभीमा विद्यार्थी सङ्गठनहरू बन्द फिर्ता लिन सहमत भएको समाचार प्रसारण हुन्छ। अशोक, रामदयाल र विनयले हतार-हतार एकअर्काको ठेगाना लिन्छन्। सबै आ-आफ्ना सामान बोक्न थाल्छन्। रामदयालः (झ्ोला बोकेर बूढी औंला देखाउँदै ठूलो स्वरमा) हेर्नुस् साथीहरू! यति सानो भँगेराले त आफ्नो घर आफैं बनाउँछ भने हामी जस्ता मुस्तण्डाले अरूको आशा गरेर बस्नु बहुतै सरमको बात भैहाल्छ। http://www.himalkhabar.com/

_____ · Apr 16, 2011 11:54 AM · 10,391 views

2 Replies

अरे हुजुर का बाट आज यस्तो कुरा पढन पाएछु , कुरो त तेही न हो , तपाइको सबैलाई कुर्सी र पैसा चाहिएको छ , काम धाम नगरि सब्से बदी कमाइ हुने पेसा त हो यो । लौ आ ई लिनु भयो त्यता नगै , आउनुस् हिडदै जाम , कही त्याक्सी पएछ भने चढि लिम्ला । मखुला ?

Syanjaali · Apr 16, 2011 12:10 PM

Good job ekdammi Ramro very inspiring

manakamanamaiko jai · Apr 17, 2011 2:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all