धानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर विद्रोह सुरु गर्ने निर्णय नयाँ पत्रिका काठमाडौं, ३० चैत मधेसवादी प्रमुख तीन दलले तराईका सशस्त्र संगठनसँग मिलेर विद्रोह गर्ने तयारी गरेका छन् । भारतको नयाँदिल्लीमा सशस्त्र समूहसँग वार्ता गरेर नेताहरूले विद्रोहका लागि थप सम्पर्कसमेत गरेका छन् । फोरम लोकतान्त्रिक, तमलोपा र सद्भावना पार्टीका अध्यक्षहरूले गत महिना दिल्ली गएर तराईका सशस्त्र समूहका नेताहरूसँग वार्ता गरेका थिए । उनीहरूले १४ जेठभित्र संविधान नबने र बने पनि मधेसका माग सम्बोधन नभए सशस्त्र समूहसँग मिलेर विद्रोह गर्ने तयारी सुरु गरेका छन् । तीन दलका नेताहरूले सशस्त्र आन्दोलन छाडेर विद्रोहको मोर्चामा सहकार्य गर्न प्रस्ताव गरेका थिए । सशस्त्र समूहले तीन दलको विद्रोहलाई सघाउने बताएको स्रोतको भनाइ छ । अखिल तराई मुक्ति मोर्चाका जयकृष्ण गोइत, मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका रणवीर सिंह, जनतान्त्रिक मधेस मुक्ति टाइगर्सका ज्वाला सिंहसँग मधेसवादी दलका नेताहरूले अनौपचारिक सम्पर्क गरेका हुन् । केही दिनअघि राजधानीबाट प्रसारित एक एफएमसँगको अन्तर्वार्तामा जयकृष्ण गोइतले पनि मधेसवादी दलहरूसँग मिलेर आन्दोलनमा जान सकिने संकेत गरेका थिए । नयाँ संविधानमा एक मधेस एक प्रदेशको ग्यारेन्टी गराइनुपर्ने, नागरिकता प्रमाणपत्रविना पनि मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्ने, तराईका विभिन्न मातृभाषालाई पहिलो र हिन्दी भाषालाई दोस्रो साझा भाषाका रूपमा नयाँ संविधानमा उल्लेख गरिनुपर्नेलगायतका मागमा तीन दल र सशस्त्र संगठनका नेताबीच समझदारी भएको थियो। मधेसवादी तीन दलले शुक्रबार बैठक गरेर जनविद्रोहको खाका तयार गर्ने स्रोतको दाबी छ। बुधबार बसेको बैठकमा संविधान नबने कसरी जाने भन्नेबारे छलफल भएको थियो । बैठकले धानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर विद्रोह सुरु गर्ने निर्णय गरेको छ । दिल्लीमा वार्ता नभएको दाबी गर्दै सद्भावना अध्यक्ष राजेन्द्र महतोले तराईका सशस्त्र संगठनलाई शान्तिपूर्ण आन्दोलनमा ल्याउने बताए । 'माओवादीलाई शान्तिपूर्ण आन्दोलनमा ल्याउन सकिने तर तराईमा सशस्त्र आन्दोलन गरिरहेका राजनीतिक संगठनहरूलाई शान्तिपूर्ण आन्दोलन ल्याउन किन नहुने ?' अध्यक्ष महतोले भने । फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले तराईका सशस्त्र संगठनहरूलाई शान्तिपूर्ण बाटोमा सरकारले ल्याउन नसकेपछि आफूहरूले पहल सुरु गरेको दाबी गरे। 'हामीले त्यसको पहल सुरु गरेका छौँ,' यादवले भने, 'उनीहरू शान्तिपूर्ण बाटोमा आएमा मिलेर जान के को आपत्ति ?' सद्भावनाकै नेता मनीष सुमनले पनि संविधान नबने र बनेमा पनि मधेसका मुद्दा सम्बोधन नभए सशस्त्र संगठनलाई शान्तिपूर्ण आन्दोलनमा सहभागी गराउने बताए।
chanty399 · Apr 14, 2011 6:17 PM · 12,170 views
बाड चुड गर्ने भए देशलाई , कुर्सी र पैसा भए पुग्यो । मागी खाने भाडो भयो सशास्त्र का कुरा .
syanjaali · Apr 14, 2011 8:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion