Nepali ISP's close down internet for one hour

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  किन बन्द गरियो त इन्टरनेट ? By mysansar, on April 10th, 2011 वर्ल्डलिंकका अग्रवाल र सुबिसुका पराजुली प्रहरीको वान्टेड सूचिमा इन्टरनेट साहु (आइस्पान)हरुले आइतबार दिउँसो १ बजेदेखि २ बजेसम्म इन्टरनेट बन्द गरे। बन्दको बेला इन्टरनेट प्रयोगकर्ताले ब्राउजरमा जुन एड्रेस टाइप गरे पनि Access Denied (Policy Denied) पेज देखाउँथ्यो। किन बन्द गरे त इन्टरनेट उनीहरुले ? चैत ३ गते क्षेत्रपाटी, वनस्थली र धोबिचौरबाट कल बाइपासमा प्रयोग हुने सामाग्रीसहित पक्राउ परेका ३ चिनियाँ नागरिकको बयानमा सुबिसु र वर्ल्डलिङ्क समेत परेपछि प्रहरीले दुवै कम्पनीका मालिकहरुलाई खोजी सूचीमा राखेको छ। प्रहरीले खोजी सूचिमा राखेपछि वर्ल्डलिङ्कका प्रमुख दीलिप अग्रवाल र सुबिसुका सुधिर पराजुली फरार छन्। ठूलो इन्टरनेट सेवा कम्पनी वर्ल्डलिंकका अग्रवाल र सुबिसुका पराजुलीलाई समात्न महानगरीय प्रहरी परिसर काठमाडौंले टोली परिचालन गरेपछि तिल्मिलाएका व्यापारीले आफ्नो संस्था आइस्पानमार्फत इन्टरनेट सेवा अवरुद्ध पारेर संविधान प्रदत्त अधिकार उलंघन गरेका हुन्। ‘अनुसन्धानमा वर्ल्डलिंक र सुबिसुको सोझो संलग्नता देखिएकाले मुद्दा प्रक्रिया अघि बढाएका छौं’, अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा माइसंसारसँग भने- ‘दुवै कम्पनीका सञ्चालक फरार छन्।’   सर्वसाधारणलाई हेपेर इन्टरनेट सेवा कटौती गरे पनि मोटो रकम आउने पाँच तारे होटल र बैंकहरुमा भने सेवा अवरुद्ध पारिएको थिएन। यसअघि वर्ल्ड लिंकले नै प्राविधिक सहयोग दिएको नाम्चे वर्ल्डका श्रीश कर्माचार्य, मर्कान्टायलका सञ्जीवराज भण्डारी र राजीवराज भण्डारी र चेरी वर्ल्डका दिनेश रजक, कुमार व्यन्जनकार र रोशन कार्की तथा आइप्लसका निलेशरत्न स्थापितलाई कलबाइपासमा संलग्न रहेको भन्दै प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको थियो। काठमाडौं परिसरले पुस १२ गते पक्राउ परेका नेपाली र बंगलादेशी नागरिकको बयानको आधारमा आइएसपी सञ्चालकहरुलाई प्रतिवादी बनाएर मुद्दा अगाडि बढाए पनि जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले मुद्दाको अनुसन्धान प्रतिवेदन र अभियोगपत्र संशोधन गर्दै उनीहरुलाई उन्मुक्ति दिएको थियो। जिल्ला न्यायाधीवक्ता बद्री वलीले मुद्दा चलाउन ‘आवश्यक नभएको’ निर्णय गरेपछि प्रहरीको वान्टेड सूचिमा रहेका आइएस्पी सञ्चालकले उन्मुक्ति पाएका थिए। अहिले फेरि अर्को अनुसन्धानले इन्टरनेट सेवा वर्ल्डलिंक र सुबिसु तानिएपछि इन्टरनेट व्यवासयीले कारवाही उन्मुक्तिका लागि आन्दोलन थालेका हुन्। उपभोक्ताले लिएको इन्टरनेट कुन प्रयोजनमा प्रयोग गरिरहेको छ भन्ने कुरा आइएस्पीको मल्टी राउटर ट्राफिक ग्राफद्वारा थाहा पाउँछन्। सामान्य इन्टरनेट उपभोक्ताको ग्राफ बराबर हुँदैन। कल बाइपासमा प्रयोग भएको इन्टरनेट अकाउन्टको मल्टी राउटर ग्राफ अपलिंक र डाउनलिंक बराबर हुनेगर्छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु यस्तो ग्राफबाट सहजै कल बाइपासमा संलग्नको पहिचान हुने बताउँछन्। ‘तर आइएस्पीहरुले उल्टो बाइपास गर्नेलाई संरक्षण दिएको पाइएपछि काराबही अघि बढाएका हौं’, प्रहरी अधिकारीले भने। दूरसञ्चार ऐन २०५३ अनुसार यसरी कल बाइपास गर्नेहरुलाई बिगोअनुसारको जरिवाना र पाँच वर्षसम्म कैद सजाय हुन्छ। इन्टरनेट व्यवसायका ठूलो सञ्जाल भएको वर्ल्डलिंकका अग्रवाल र पराजुलीलाई प्रहरीले जेल परिचालनको ढोका खोल्न लागेको बुझेपछि प्रहरी अनुसन्धान रोक्न आइतबार इन्टरनेट सेवा बन्द गरिएको हो। स्मरण रहोस्, सामान्य रुपमा बुझिने भीओआइपी र कल बाइपास फरक कुरा हुन्। इन्टरनेटबाट फोन गर्ने भीओआइपीले नेपालमा कानुनी अनुमति पाइसकेको छ। अहिलेको कल बाइपास भनेको अवैध हो र दुनियाँको कुनै पनि देशमा यसलाई अवैध नै मानिन्छ। विदेशबाट आएको कललाई दूरसञ्चार कम्पनीहरूले सर्किट स्वीच प्रविधिको गेट-वेमार्फत अन्तर्राष्ट्रिय कल भित्र्याउन भू-उपग्रह (स्याटलाइट) र अप्टिकल फाइबर प्रयोग गर्छन्। तर कल बाइपासका ठगहरुले दूरसञ्चार कम्पनीहरु कै नेटवर्क प्रयोग गरेर भइरहेको कल बाइपास गरी भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) प्रविधिबाट हुन्छ। यसो गर्नेहरूले इन्टरनेट सेवा प्रदायक (आइएसपी- इन्टरनेट साहुहरु)लाई डाटा स्थानान्तरण गर्न अनुमति दिइएको भि-स्याटको अनधिकृत प्रयोग गरिरहेका छन्। उनीहरू विदेशबाट आउने कललाई भि-स्याटमार्फत वैधानिक गेट-वेमा नभई इन्टरनेटमा जोडिने भीओआईपी उपकरणमा ल्याउँछन् र त्यसमा जोडिएको दूरसञ्चार कम्पनीको टेलिफोन लाइन या मोबाइल सिमकार्डमार्फत ग्राहकको टेलिफोनमा पुर्‍याउँछन्। यस्तो फोन आउँदा ग्राहकको फोन सेटमा विदेशको नभई स्थानीय नम्बर देखिन्छ। कसले संविधान कानुन मानेका छन् ? - विनय बोहोरा, अध्यक्ष, आइस्पान इन्टरनेट सेवा किन अवरुद्ध पार्नु परेको हो ? -भीओआइपीमा लिङ्क हुन आएका इन्टरनेट सेवा प्रदायकका सीइओहरुलाई प्रहरीले अपराधी जस्तो व्यवहार गर्दै पक्राउ गरेको छ। त्यही भएर हो। अहिले कसलाई पक्राउ गरेको हो र सेवै बन्द गर्नु पर्‍यो ? समात्नेक्रम पहिलैदेखिकै हो। अहिले सुबिसुका सञ्चालक र वर्ल्डलिंकका सञ्चालक कारवाहीमा परे। भीओआइपी गर्नेहरुसँगको सम्बन्ध जोडिएकामा कारवाही गरिँदै आइएको छ। यो ठिक भएन। ए, त्यसो भए कानुनको खिलाप काम गर्नेलाई फूलमाला लाउनुपर्थ्यो भन्ने हो ? हामीले सबै निकायमा कुराकानी गर्‍यौं। हाम्रो आवाज कहीँ पनि सुनिएन। हामीले भनेअनुसार नभएपछि बाध्य भएर सेवा अवरुद्ध पारेको हो। भनेपछि सबै कानुन तपाइँले भने अनुसार बन्नुपर्थ्यो ? तपाइँहरु बलबाहुका भरमा चल्ने कि संविधान, कानुन र उपभोक्ताप्रति जिम्मेवार हुने ? - थुन्नु हुँदैन भन्ने हाम्रो माग हो। कस्टडीमा लिनु हुँदैन भन्ने हो। यस बारेमा म धेरै बहस गर्न चाहन्न। तपाइँको कदमले संविधानले दिएको अधिकार हनन् भएको छ। संविधान हनन् गर्ने कम्पनीको लाइसेन्स खारेज किन नगर्ने ? - यो देशमा संविधान कानुन कसले मानेका छन् मानेका छैनन् यो कुरा नसोध्नोस्। म धेरै बहस गर्न चाहन्न। यदि इन्टरनेट साहुहरुले विरोध गर्न सक्छन् भने हामी इन्टरनेट उपभोक्ता पनि त्यसको विरोध गर्न सक्छौँ, आउनुस् इन्टरनेट साहुहरुले गरेको हाम्रो सूचनाको अधिकारको हननको विरोध गरौँ। आ-आफ्नो फेसबुक स्टायटसमा यसप्रति विरोध जनाऔँ। इन्टरनेट साहुहरुको यस्तो कदमको विरोधमा ट्विट गरौँ। पठाउनुस् विरोध इन्टरनेट साहुहरुको संगठनको इमेलमा info@ispan.net.np अथवा आइस्पानका निम्न पदाधिकारीलाई विरोध इमेल लेखौँ- अध्यक्ष विनय बोहोरा binay@vianet.com.np, महासचिव पवन प्रधान pawan@mitra.net.np, सचिव दीपक श्रेष्ठ deepak@subisu.net.np यदि आज हामी चुप बस्यौँ भने भोलि कुनै पनि बहानामा यिनीहरुले पूरै इन्टरनेटलाई आफ्नो कब्जामा लिनेछन्। त्यसैले बोल्नुस्, आफ्नो अधिकार हनन् हुन नदिउँ। यो पनि हेर्नुस्- इन्टरनेट बन्दको विरोध गरौँ    

cybernepali · Apr 10, 2011 10:42 PM · 2,707 views

3 Replies

Before jumping on this wagon, consider also reading for a balanced view : 1). http://www.nepalitimes.com/blo... 2). http://www.aakarpost.com/2011/...

commando · Apr 10, 2011 10:51 PM

 I just sent a Magic Jack to my parents. Is it illegal to use magic jack from Nepal?

grgDai · Apr 11, 2011 8:21 AM

Nepal Telecom is the type of agency that is monopolizing the telecom industry in Nepal and has been doing so for a long time. While most of the world embraced the VoIP service as one of the top communication and technical advancement, NTA has yet to recognize the advantages of such services. Too much government restriction and regulation has cost Telecom industry to suffer quite a bit in Nepal. Hopefully they can come to terms and realize that restriction is not the solution to the impending telecom problem.

chaurey · Apr 11, 2011 9:22 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all