एनआरएन स्विडेन शाखामा चुनाबी चहलपहल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

'नेपालीका लागि नेपाली', यस पवित्र उद्देश्यबाट निर्देशित 'एनआरएन' नामको संस्थाप्रति संसारभरका नेपालीको आस्था र भावना गाँसिएको छ। धर्म, भाषा, लिंग, जात आदि भिन्न भएपनि हाम्रो उद्गमस्थाल उही आत्मीय नेपालभूमि हो र त्यही 'नेपालीत्व'को डोरीले हामीसबैलाई एउटै परिवार बनाएको छ । यो संस्थालाई यस्तो उच्चस्थान प्रदानगर्न धेरै महापुरुषहरूले अथक त्याग र तपस्या निछावर गरेका छन् । हाल यो संस्था फैलिने प्रकृयामा छ । मातृभूमिबाट धेरै टाढा रहेका धेरै भन्दा धेरै नेपालीलाई खुसीमा साथ र आवश्यकता परेको अवस्थामा सहयोगको हात प्रदान गर्ने यस संस्था कुनै एक जाति, वर्ग या विचारधाराबाट परिचालित नभएकै कारण यो सबैको हुन सकेको हो। तर, फैलावट सधैँ सुखद हुन्छ भन्ने छैन। 'एनआरएन'ले विभिन्न मुलुकमा शाखा विस्तार गर्ने क्रममा महसुस गरिसकेको वास्तविकता हो यो। संस्थाको विधान अव्वल हुँदैमा संस्था पनि अव्वल बन्नेछ भन्ने धारणा बनाउनु मूर्खता हो। संस्था डोर्याउने मानिसले हो । बुद्ध पनि मानिस नै हुन्, हिटलर पनि मानिस । तर मूल समस्या बुद्ध र हिटलर दुवैको होइन। समस्या त न हिटलर बन्न नसकेका न बुद्ध बन्न सकेका 'बुद्धु'हरूको हो । विपरित जस्तो देखिए पनि बुद्ध र हिटलर दुवैमा एउटा समानता छ, त्यो हो, दुवैसँग विचार छ । समस्या विचारहीन बुद्धुहरूको हो । आम नेपालीको सरोकारको विषय भएकाले हामीले हरेक मुलुकका एनआरएन गतिविधिहरू नजिकबाट नियाल्दै आएका छौँ । हामीले धेरै राम्रा र धेरै नराम्रा दुवै अनुभव सँगालिसकेका छौँ । एनआरएन स्विडेनको गतिविधिबाट पनि हामीले एक प्रकारको धारणा बानाइसकेका छौँ। हाल यो संस्था साधारण सभा मार्फत नेतृत्व चयन प्रकृयामा रहेको जानकारी प्राप्त भएकाले हाम्रो चासो यसतर्फ डोरिएको हो। 'नेपालीका लागि नेपाली' यो मन्त्रलाई आत्मासाथ गरी यो संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने सम्पूर्ण नेपालीलाई आफ्नो नेतृत्व समूह छान्ने अवसर प्रदान गरोस् भन्ने हाम्रो सदाशय हो। सबै नेपालीले निर्वाचनमा उम्मेदवारी दिएका सबै प्रत्यासीको बारेमा जान्न पाउन् । प्रत्येक प्रत्यासीले आफू बुद्ध वा हिटलर के हो, प्रष्ट पारुन् । र, सो गर्न नसक्नेलाई 'बुद्धु' मानी चेतनशील स्विडेनवासीले बहिस्कार गरुन् । स्विङेनवासी नेपालीको माग छ- प्रजातान्त्रिक प्रकृया र गुटफुट दुवैको अन्त्य । नेता भनेको एक्लै अघि अघि दौडने मान्छे होइन । 'म नेता हुँ' भनेर नेता भइँदैन। यो एउटा स्वाभाविक प्रकृया हो । समाजसँग घुलमिल हुन इच्छुक, समाजलाई अग्रगति दिने विचार बोकेको र आफूसँगै सिंगो समाजलाई अगाडि डोर्याउने कौशल भएको व्यक्तिलाई समाजले स्वत: आफ्नो नेता स्विकार्छ । 'म नै हुँ', 'म नभै हुँदैन', 'म नै हुनुपर्छ' आदि वाक्य मात्र आडम्बर हुन् । 'हामी' र 'हाम्रो' भन्ने भावना बिना घर त चल्दैन, सामाजिक संस्था चलाउने त कुरै आएन। यस चुनावको पूर्वसन्धयामा देखापरेका परिदृष्य पनि गजबका छन् । समाजको वर्तमान नेतृत्वले सबैसँग मिलेर, सबैलाई समेटेर यथासक्य सबैको सहमतिमा आफ्ना काम कारवाही अगाडि बढउनेछ भन्ने राम्रो बिचार हालका अध्यक्षले प्रस्तुत गरेको हामीले महसुस गर्यौँ। हामी सो विचारको स्वागत गर्दछौँ । तर, बोलीमा आए जस्तै सबैलाई समेट्ने प्रयास ब्यवहारमा गरिएको हुँदो हो त, कसैले पनि उम्मेदवारी दिने आवश्यकता नै रहँदैन थियो होला, सर्वसहमतिमा सबै पदाधिकारीहरूको चयन हुन्थ्यो होला । या त्यो सम्भव नभए कमसे कम एउटा राम्रो प्रयास सुरु गरेकोमा बहालवाला नेतृत्वको तारिफ नै हुन्थ्यो होला र सबैको मन जितेर यही समूहले अर्को कार्यकालको पनि जिम्मा पउँथ्यो होला। तर यहाँ त पहिला र हालसम्म एक्ला उम्मेदवारका रूपमा बहालवाला अध्यक्ष उभिएका रहेछन् । अरु कोही उठेपछि उनको उम्मेदवारी आएको भए सायद त्यसको अौचित्य बुझ्न सकिन्थ्यो तर वर्तमान अवस्थामा त यसले फुट पो ल्याउँछ कि भन्ने हाम्रो चिन्ता हो । कसैले पनि नराम्रो गर्छु भनेर चुनाव उठ्दैन । हाल उम्मेदवारी दिइसकेका र पछि थपिने उम्मेदवारहरूका पनि राम्रा मनोकांक्षा होलान्, हामी त्यसको कदर गर्छौँ। के कस्ता विचार, व्यक्ति र योजना यी उम्मेदवारले समेटेका छन् र आफूले उम्मेदवारी दिनु पछाडिको कारण अमूर्त ढंगमा होइन आम समुदायलाई छर्लङ्ग हुनेगरी बुँदागत रूपमा प्रस्तुत गरुन् भन्ने हाम्रो माग हो । त्यसो गरे हामीलगायत सबै सरोकारवालाले सुसूचित हुने अवसर पाउने थियौँ ।

Nepali Sarokar · Mar 23, 2011 6:29 AM · 12,230 views

1 Reply

 राम्रो भन्दापनि 'हाम्रो' लाई प्राथमिकता दिने संस्कारले हामीलाई भीरमा पुर्याउदैछ । कसैले वास्तविकता देखाइदिँदा, सो आफू अनुकूल भए तारिफ गर्ने नत्र निन्दा गर्ने चलन पुरानै हो । कुनै पनि दम्भ, दबाब र 'वाद'हरू भन्दा माथि उठी वास्तविकता हेर्ने कोसिस गरे कति रम्रो हुन्थ्यो होला ।   

Nepali Sarokar · Mar 25, 2011 8:47 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all