yehi ho bahunbaad bhanya !!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कांग्रेसबाट फेरि पौडेल नै उम्मेदवार हुने   काठमाडौ, माघ १६ - कांग्रेस सभापति सुशील कोइरालाले सरकार निर्माणमा तीन दलबीच सहमति नभए संसदीय दलका नेता रामचन्द्र पौडेल उम्मेदवार हुने बताएका छन् । एमालेले उम्मेदवारी दिने/नदिने टुंगो लगाउन मंगलबार केन्द्रीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्रीका लागि बुधबार संसद्मा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । कांग्रेस सभापति कोइराला निवासमा आफूनिकट केही केन्द्रीय सदस्यहरूसँगको छलफलमा कोइरालाले दलको विधान र परम्परालाई कायम राख्दै पौडेललाई उम्मेदवार बनाउने आफ्नो अडान यथावत् रहेको बताएका थिए । 'मूल्य मान्यता छाडेर पार्टी अघि बढ्न सक्दैन,' महामन्त्री प्रकाशमान सिंह सहितका केही केन्द्रीय सदस्यमाझ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'पौडेलको विकल्पमा जानु हुँदैन । पार्टीको धारणा पनि यही बन्नुपर्छ ।' देउवाले माओवादी र एमालेबाट आफूलाई समर्थन गर्ने प्रवल सम्भावना रहेको तर्क अघि सार्दै आफूलाई सहयोग गर्न कोइरालासँग आग्रह गर्दै आइरहेका छन् । देउवानिकट केन्द्रीय सदस्य पूर्णबहादुर खड्का विकल्पमा जाँदा कांग्रेसले नेतृत्व पाउने अवस्था पाएमा नेतृत्व त्यसका लागि पनि तयार रहनुपर्ने बताउँछन् । 'अहिल्यै कसलाई उम्मेदवार बनाउने भन्नेबारे पार्टीमा छलफल भएको छैन । जसरी पहिला केन्द्रीय कार्यसमितिले निर्णय गरेर पौडेललाई शेरबहादुरजी प्रस्ताव र कुलबहादुर गुरुङको समर्थनमा सर्वसम्मत उम्मेदवार बनाएको हो, उम्मेदवार फिर्ता गर्दा पनि पार्टी निर्णयबाटै भएको हो,' खड्काले भने, 'अब कसलाई बनाउने भन्ने पनि केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्नुपर्छ ।' शिविरका लडाकुको समायोजन र पुनःस्थापना कार्य अघि बढाउने मुद्दालाई सर्तको रूपमा लिँदै मान्न तयार नभएपछि कांग्रेसले माओवादी नेतृत्व अस्वीकार गर्ने निष्कर्षमा पुगेको छ । गत बुधबार गोकर्ण बैठकमा लडाकु समायोजनको संख्या, विधि र समयतालिकामा सहमति भएमा माओवादी नेतृत्व मान्न कांग्रेस र एमाले नै तयार भएका थिए । पार्टीभित्रैबाट समायोजन र पुनःस्थापनाको कार्यान्वयन सुरु नहुँदासम्म सहमतिमा मात्रै नेतृत्व दिन नहुने दबाब परेपछि पार्टी पछि हटेको हो । 'लडाकुको समायोजन र पुनःस्थापना टुंगोमा नपुर्‍याउँदासम्म माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना छैन,' आइतबार वीरगन्जमा आयोजित एक कार्यक्रममा कोइरालाले भने, 'माओवादी पूर्णरूपमा निःशस्त्र पार्टी हुनुपर्छ ।' Source:www.ekantipur.com   Last edited: 31-Jan-11 09:44 PM

GorkheCowboy · Jan 31, 2011 9:15 PM · 2,625 views

1 Reply

Only bahuns are eligible for PM. Does this Poudel baje have any shame left after losing 17 times in PM election??? He will book his name in Guinnees Book of World records. प्रधानमन्त्री उम्मेदवारमा देउवालाई रोक्ने प्रयास   काठमाडौ, माघ १७ - कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्री उम्मेदवारमा शेरबहादुर देउवालाई रोक्न केन्द्रीय समितिमा ९ जना मनोनयन गरेका छन् । केन्द्रीय समितिमा बराबरीको हैसियत भएपछि आफ्नो पक्षमा निर्णय गराउन कोइरालाले सोमबार मनोनीत गरेका हुन् । संसदीय दलका नेता रामचन्द्र पौडेलको विकल्पमा देउवाले पार्टीभित्र 'लबिङ' थालेपछि कोइरालाले केन्द्रीय समितिमा आफ्नो वर्चस्व कायम गर्न नयाँ रणनीति अख्तियार गरेका हुन् । मनोनयनमा देउवा पक्षमा खुलेका विमलेन्द्र निधि मात्रै छन् । देउवाले बूढानीलकण्ठस्थित निवासमा आफू पक्ष्ाीय केन्द्रीय सदस्य र सभासदको भेला गरी तत्काल बैठक बोलाउन कोइरालालाई दबाब दिएका थिए । मंगलबार बिहानसम्म बैठक नबोलाए हस्ताक्षर गरेर सभापतिलाई बुझाउने तयारी थियो । त्यस निम्ति मंगलबार दिउँसो २ बजे भेला डाकिएको छ । सदस्य मनोनयनपछि कोइरालाले केन्द्रीय समिति बैठक बोलाउने सम्भावना छ । १६ पटकसम्मको निर्वाचनमा पनि प्रधानमन्त्री हुन नसकेपछि पौडेलको विकल्प खोज्न देउवा लागेका हुन् । केन्द्रीय समितिमा बहुमत पुग्न सक्ने आशा राखेर देउवा पक्षीय नेताहरूले बैठक बोलाउन दबाब अभियान थालेका हुन् । देउवानिकट केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले भने शान्ति प्रक्रिया र संविधान निर्माणलाई अघि बढाउने जिम्मेवारी कांग्रेसको नेतृत्वमा हुनुपर्छ भन्ने मान्यता राखेर भेला आयोजना भएको बताए । 'केन्द्रीय समिति र संसदीय दलको बैठकसमेत नबसिरहेको अवस्थामा भेलामा सबैको धारणा संस्थागत निर्णयबाटै उम्मेदवार बनाउनुपर्छ भन्नेमा जोड रहेपनि कुनै पनि निर्णय भएको छैन,' खड्काले भने, 'पौडेलको विकल्प दिँदा पार्टीमा नेतृत्व आउने अवस्था भए त्यसका लागि नेतृत्व तयार हुनुपर्छ भन्नेमा भेलामा सबैको जोड थियो ।'   कोइराला पुरानै निर्णयका आधारमा पौडेललाई उम्मेदवार बनाउने मनस्थितिमा थिए । आफूमाथि दबाब परेपछि केन्द्रीय समितिमा बहुमत सुनिश्चित गर्न उनले आफूनिकटलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । यसअघि बहुमत सुनिश्चित नहुँदा कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गर्ने प्रस्तावसमेत पारित गर्न सकेका छैनन् । सभापतिले २१ सदस्य मनोयनन गर्न पाउने अधिकारमा यसअघि देउवालाई मात्रै कोइरालाले मनोनयन गरेका छन् । सोमबार मनोनयन हुनेमा विमलेन्द्र निधि, रामकृष्ण ताम्राकार, भीमबहादुर तामाङ, लीला कोइराला, दिलबहादुर घर्ती, गोपालराज पहाडी, नरहरि आचार्य, फरमुल्लाह मन्सुर र पद्मनारायण चौधरी छन् । यो मनोनयनसँगै केन्द्रीय कार्यसमिति ७४ सदस्यीय पुगेको छ । कोइराला, घर्ती, पहाडी, मन्सुर महाधिवेशनमा चुनाव लडेका थिएनन् । देउवाले सोमबार पनि आफूलाई पार्टीले उम्मेदवार खडा गरेमा कांग्रेसले नेतृत्व पाउने विश्वास दिलाउँदै त्यहीअनुसार लबिङ गर्न आग्रह गरेका थिए । 'मलाई उम्मेदवार बनाए मेरो नेतृत्वमा सरकार बन्नेमा विश्वस्त छु, त्यसका आधार मलाई प्राप्त भइरहेका छन्,' देउवाको भनाइ थियो, 'तर म जिम्मेवारीसाथ अघि बढ्छु, तपाईंहरूले सहयोग गर्नुहोस् ।' स्रोतका अनुसार उम्मेदवारबारे तीन नेताबीच आइतबार राति केन्द्रीय सदस्य रामशरण महतको निवासमा छलफलसमेत भएको थियो । त्यस अवसरमा देउवाले आफूलाई माओवादी र एमालेले सहयोग गर्ने वचन दिएको बताएका थिए । पौडेलले तपाईंलाई सहयोग गर्ने भए मलाई पनि गर्छन् भनेपछि कोइरालाले दुवैलाई सहयोग गर्नेमा आशंका रहेको बताएका थिए । केन्द्रीय सदस्य प्रदीप गिरीले पौडेललाई भेटेर देउवालाई सहयोग गर्न आग्रह गरेका थिए ।  पार्टीले नेतृत्व पाउने अवस्था रहेमा विकल्पमा पनि जानुपर्ने कोइराला पक्षीय केही सदस्यहरूको अभिव्यक्तिबाट समेत देउवाले आफ्नो पक्षमा वातावरण बन्ने आशा राख्दै आएका छन् । पहिला कोइराला पक्षमा रहेका कुलबहादुर गुरुङ र गोविन्दराज जोशी पनि भेलामा सहभागी थिए । यता पौडेल पक्षधर नेताहरू पार्टीको पुरानो निर्णय परिवर्तन नभएकाले पुनः केन्द्रीय समिति बैठक बोलाएर नयाँ निर्णय लिन नपर्ने बताउँदै आएका थिए । उनीहरूले पटक-पटक देउवाले भेला बोलाएर पार्टीमा गुटबन्दी गरेको आरोप लगाएका छन् । 'कांग्रेसको नेतृत्व पाउने अवस्था सुनिश्चित नहँुदै देउवाले भेला बोलाएर पार्टीलाई विखण्डन दिशामा लैजाने काम गरे,' कोइराला पक्षीय एक नेताले भने, 'कांग्रेसलाई फुटाउने षड्यन्त्र रोक्न पौडेललाई उम्मेदवारका रूपमा अघि सार्नुपर्छ ।' उनले देउवा माओवादीबाट पार्टीमा विभाजन ल्याउने षड्यन्त्रको गोटी बनेको आरोप लगाउँदै त्यसलाई रोक्नसमेत केन्द्रीय समितिमा मनोनयन गर्नुपरेको बताए । बैठकमा गोविन्दराज जोशी र बालकृष्ण खाँडसहित केही नेताले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्ने धारणासमेत राखेका थिए । संसदीय दलमा पौडेलविरुद्ध बहुमत पुग्ने तर्कसमेत उनीहरूको थियो ।  तर धेरैजसो सदस्यहरूले अविश्वासको प्रस्तावले पार्टीमा विखण्डन आउने भन्दै तत्कालै त्यस्तो कदम लिन नहुनेमा जोड दिएका थिए । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अविश्वासको प्रस्तावको सट्टा सभासदहरूले पौडेलको विकल्पमा जान हस्ताक्षर गर्न सकिने सुझाव दिएका थिए । देउवाले पनि आफू जिम्मेवारीका साथ अघि बढ्न चाहेको धारणा राखेका थिए । भेलामा बोल्ने अधिकांश नेताहरूले केन्द्रीय समितिको बैठकबाट पौडेललाई उम्मेदवारी बनाइएको र केन्द्रीय समितिले नै फिर्ता लिने निर्णय गरेको नजिर प्रस्तुत गर्दै नयाँ प्रक्रियामा उम्मेदवार अघि सार्दा पुनः केन्द्रीय समितिले नयाँ निर्णय लिनुपर्नेमा जोड दिएका थिए । केन्द्रीय सदस्य कुलबहादुर गुरुङ, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्कालगायत नेताहरूले केन्द्रीय समिति बैठकले नयाँ निर्णयमा मात्रै उम्मेदवार हुने बताएका थिए । केन्द्रीय समितिले उम्मेदवार फिर्ता लिने निर्णय गरिसकेपछि उही व्यक्ति स्वतः उम्मेदवार हुन नसक्ने उनीहरूको तर्क थियो ।  उनीहरूले दलको विधानअनुसार नभएर केन्द्रीय समिति निर्णयमा मात्रै उम्मेदवार हुने व्यवस्था रहेको बताएका थिए । भेलामा पार्टी र संसदीय दलको विधानबारे समेत लामो व्याख्या भएको थियो ।  

GorkheCowboy · Jan 31, 2011 10:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all