किर्तन माइलो र ब्रायन एडम्स

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

'ओए माइला!' एक साताअघि दिउँसो एक बजेतिर दरबारमार्गबाट ठमेल जाँदै गर्दा मैले उसलाई आवाज दिएको थिएँ। ऊ हातमा सन्ध्याकालीन पत्रिकाका मुठा बोकेर अन्नपुर्ण होटलको पेटीमा दगुरिरहेको थियो। सुनेन। नाङ्लो बेकरी क्याफेअगाडिबाट म फेरि चिच्याएँ- माइला! उसले अझै सुनेन। मैले रफ्तार अलि बढाएँ र नजिकै पुगेर च्याप्प उसका हात समातेँ। ऊ झस्कियो र मतिर फर्कियो। मैले भनेँ, 'कत्ति बोलाइसकेँ, तिमी सुन्दै सुन्दैनौ।' 'ह्या, मलाई फुर्सद छैन,' ऊ त्यत्ति खुसी देखिएन। 'के भएछ यो फुच्चेलाई आज' भनेर म अकमक्क परेँ। जहिल्यै मलाई भेट्दा खुसी हुन्थ्यो। मलाई अलिअलि रिस पनि उठ्यो। 'के भयो तँलाई आज?' रिसाएकै आवाजमा सोधेँ। 'ह्या, मलाई अचेल धेरै पत्रिका बेच्नुपर्छ। सधैं बेचेभन्दा दुई सय बढी। गफसफ गरेर अलमलिन भ्याउँदिनँ।' मैले ओठ लेप्र्याएँ र भनेँ, 'बेचिस् दुई सय बढी पत्रिका? हिजोआज सन्ध्याकालीन पत्रिका कसले पढ्छ?' अरूबेला ऊ अपराह्नमा दैनिक सयजति पत्रिका बेच्थ्यो र सय रुपैयाँ कमाउँथ्यो। काभ्रेको गाउँबाट दुई वर्षअघि काठमान्डु पसेको थियो, आमा र कान्छो भाइ लिएर। उनीहरू काठमान्डु पस्नु एक वर्षअघि नै जेठो दाइ गाउँकै केटाहरूसँग इन्डिया भागेको थियो। तीन वर्षसम्म कुनै खोजखबर थिएन। बा जनयुद्धकालमै सुरक्षाकर्मीद्वारा मारिएका थिए। सायद माओवादीमा लागेका थिए। आमा र कान्छासँग ऊ घट्टेकुलोतिर एककोठे डेरामा बस्थ्यो। आमा अलि सोझी थिइन्। छिमेकमा घरधन्दा गरेर र लुगा धोएर अलिअलि कमाउँथिन्। लुगा धोइदिए र भाँडा माझिदिएबापत घरबेटीले भाडा मिनाहा गरिदिएका थिए। ऊ बागबजारको शुक्र माविमा आठ कक्षामा पढ्थ्यो। गाउँकै स्कुलमा पढेर आएको भए पनि अघिल्लो वर्ष तेस्रो भएको थियो। दैनिक कमाएको सय रुपैयाँले भाइ र उसको पढाइखर्च र घरमा दालचामल किन्न ठिक्क हुन्थ्यो। तरकारी र नुनतेलको जोगाड आमाले गाह्रोसँग गर्थिन्। एक महिनाअघि दिउँसो मैले उसलाई दरबारमार्गमा पहिलोचोटि भेटेको थिएँ। म नाङ्लो बेकरी क्याफेअघिल्तिर साथी पर्खेर उभिरहेको थिएँ। ऊ कमलादीतिरबाट महेन्द्रको सालिक उत्तरको जेब्राक्रस तरेर म भएतिरै दगुर्‍यो। हातभरि पत्रिकाका मुठा थिए। मसँग आँखा जुधे। उसले मौकाको फाइदा उठायो र मेरो मुखैमा चिच्यायो, 'दाइ, ल खबर आयो खबर, नयाँनयाँ ताजा खबर। माओवादीमा भिडन्त, बाबुराम घाइते।' शीर्षक सुनेर मलाई हाँसो उठ्यो। फिस्स हाँसे। 'दिउँ दाइ?' उसले सोध्यो। 'नाइँ, भो,' मैले भनेँ। 'लिनु न दाइ एउटा,' उसले अलि निन्याउरो बोलीमा भन्यो। मलाई माया लाग्यो। सोधेँ, 'कुन लिनु?' 'कुन लिनुहुन्छ? यो, यो, यो,' उसले तीनथरि पत्रिका देखायो। 'कति बेच्यौ त आज?' मैले सोधेँ। 'आज त दसबाह्र वटाभन्दा बढी बिकेकै छैन दाइ, किनिदिनू न एउटा।' पुस लागिसकेको थियो। बाक्लो ज्याकेटमा भए पनि एकैछिन उभिनुपर्दा मेरा गोडा चिसो भएजस्तो लाग्दै थियो। उसले पातलो स्वेटर, पिँडुलासम्म आउने प्यान्ट र प्लास्टिकका चप्पल लगाएको थियो। 'चिया खान्छौ?' मैले सोधेँ। ऊ ङिच्च हाँस्यो। मेरो साथी अझै आइपुगेको थिएन। चिया खाएर साथी पर्खन अलि सजिलो होला भन्ने मलाई लागेको थियो। 'ल, आऊ,' मैले भनेँ र नाङ्लो क्याफेमा छिरेँ। ऊ अकमकिँदै मेरो पछिपछि भुइँतलाको बेकरीसप नाघेर माथिल्लो तला उक्लिने भर्‍याङतिर आयो। हामीले कौसीको एउटा टेबल लियौं। उसले आफूछेउको खाली कुर्सीमा पत्रिका राख्यो र उडाउला कि भनेर मोबाइलले थिच्यो। स्याँठ चलिरहेको थियो, सिउसिउ गर्दै कुर्सीमा डल्लो पर्‍यो। 'खाजा पनि खान्छौ?' मैले सोधेँ। ऊ हाँस्यो। 'के खान्छौ?' मैले सोधेँ। 'चाउमिन।' मैले आफ्ना लागि कालो चिया अर्डर गरेँ, उसलाई चिकेन चाउमिन र दुधचिया। हामीले झन्डै आधा घन्टाजति गफ गर्‍यौं। उसले आफ्नो कथा सुनायो। फुच्चे टाठै रहेछ। म पनि पत्रिकामा काम गर्छु भन्ने थाहा पाएपछि उसले मिडियाबारे पनि चासो लियो। 'मैले बेच्ने पत्रिकाले त तपाईंहरूकै पत्रिकामा बिहान छापिएको समाचार मिलाएर सार्छन् र हेडलाइन फेरेर छाप्छन्,' उसले भन्यो। म हाँसेँ। 'एसएलसी पास गरेपछि मलाई पनि पत्रिकामा काम मिलाइदिनुहुन्छ?' उसले चाउमिनको ठूलो गाँस मुखमा हालेको बेला अप्ठ्यारो गरी सोध्यो। मैले भनेँ, 'पत्रिकामा काम गर्न कम्तीमा बिए पास गर्नुपर्छ।' 'ल, ल, भैगो, मलाई पत्रिकामा खासै चाख छैन, यसै भन्देको, म त गायक बन्ने हो, रकस्टार,' रकस्टारमा अलि जोड दिँदै उसले भन्यो। 'माइला त तिम्रो घरको नाम होला नि? स्कुलको नाम के हो?' मैले सोधेँ। साथीले फोन गरेर 'म नाङ्लोअघि आइपुगेँ, तिमी खै अझै आएकै रहेनछौ' भनेर झपारेपछि मैले बिल मगाएँ। उसले भन्यो, 'स्कुलमा मेरो नाम किर्तन राखेको छु। किर्तन तामाङ। मैले आफैं राखेको नाम हो। राम्रो छैन त दाइ?' *** यसबीच पनि हामी दुईपटक भेटिसकेका थियौं। एकपटक हटब्रेडमा, अर्कोपटक केएफसीमा। मैले उसलाई मोमो र चिकेन फ्राइ खुवाएको थिएँ। रमाइला गफ गरेका थियौं। उसले मोबाइलमा गीत भरेको रहेछ। घरबेटीको नौ कक्षामा पढ्ने छोरासँग हजार रुपैयाँमा किनेको थोत्रो मोबाइल भए पनि साउन्ड प्लेयर राम्रो छ भन्थ्यो। कानमा तार घुसारेर गीत सुन्दै हिँड्दो रहेछ। ब्रायन एडम्स मेरो आदर्श हो, उनले पनि सानोमा मजस्तै दुःख पाएका थिए भन्थ्यो। केएफसीमा भेटेको दिन मैले भनेको थिएँ, 'तिमीलाई थाहा छैन, ब्रायन एडम्स नेपाल आउँदै छ नि, कन्सर्ट गर्न?' ब्रायन एडम्स नेपाल आउने खबर सार्वजनिक भएकै थिएन। मलाई साथीहरूले सुनाएको टुंगो नलागिसकेको खबर मैले उसलाई सुनाएको थिएँ। ऊ खुसीले बुरुक्क उफ्रेको थियो र गुन्गुनाएको थियो, 'द वन्ली थिङ्स द्याट लुक्स गुड अन मि इज यु।' लगत्तै भनेको थियो, 'यो गीत सुन्नुभएको छ?' मैले टाउको हल्लाएको थिएँ। 'त्यो दिन त म स्कुल, पत्रिका सबै हापेर कन्सर्ट हेर्न जान्छु दाइ, तपाईं पनि जाने होला नि!' मैले भनेको थिएँ, 'हेरौं, त्यो दिन के हुन्छ।' उसले मोबाइलमा भरेका ब्रायन एडम्सका गीत सुनाएको थियो, 'एभि्रथिङ आइ डु,' 'हियर आइ एम,' 'हेभन', 'समर अफ सिक्स्टी नाइन', अरूअरू। अनि भनेको थियो, 'उसको नयाँ एल्बम आएको छ नि, बेयर बोन्स, तपाईंलाई थाहा छ?' *** तर, आज ऊ किन फन्किएको हो? मैले उसलाई हप्काएँ, 'मसँग नबोलेर तेरो पत्रिका धेरै बिक्ने हो त? किन बेच्नुपयो नि तँलाई दुईदुईसय बढी पत्रिका?' 'आजकाल त यी पत्रिकावालाले राम्रो न्युज पनि छाप्दैनन्, देशमा केही हुँदा पनि हुँदैन, पत्रिका नै बिक्दैन,' ऊ अझै फन्कियो। 'ल यहाँ आइज,' मैले उसलाई दरबारमार्ग पेटीको चियापसलमा तानेँ र दुईकप चिया अर्डर गरेँ। सोधेँ, 'ल भन्, किन बेच्नुपर्‍यो, तँलाई दुईदुई सय बढी पत्रिका?' उसले कपाल कन्याउँदै भन्यो, 'ब्रायन एडम्सको कन्सर्ट हेर्न। सबैभन्दा सस्तो टिकट नै दुई हजारको रहेछ। अब मैले कसरी किन्नु दुईदुई हजारको टिकट?' ब्रायन एडम्स कन्सर्ट गर्न नेपाल आउने टुंगो लागिवरी पत्रिकाहरूमा विज्ञापन पनि छापिन थालिसकेका थिए। फागुन सात गते रंगशालामा उनको कन्सर्ट हुँदै थियो। 'त्यही भएर तँ फन्किएको?' मैले उसलाई अझ हप्काएको थिएँ। 'यो आठदस दिनमा बढीबढी पत्रिका बेचेर दुई हजार जम्मा गर्नु छ, टिकट किन्न। उनको कन्सर्ट हुने खबर आएको दिनदेखि नै साहुसँग बढी पत्रिका लिन थालेको छु। पैसा जम्मा गर्न दिउँसोको खाजा पनि हाफ प्लेट मोमोमात्र खान थालेको छु।' 'हाफप्लेट बफ मोमोले कहाँ भोक मर्छ, माइला? कुद्नुपर्ने मान्छेले खाजा त राम्ररी खानुपर्छ नि,' मैले भनेको थिएँ। 'कहाँ बफ, भेज मोमो नि, म त भेजिटेरियन भइसकेँ।' 'लौ, किन?' 'ब्रायन एडम्स पनि भेजिटेरियन हुन्, तपाईंलाई थाहा छैन?' *** उसले यसबीच दुई घन्टा साइबर क्याफे बसेर यी क्यानडियन रकस्टारबारे सबै जानकारी बटुलिसकेछ। उनले अस्सी, नब्बेका दसकमा गरेका सबै कन्सर्ट, एल्बम, सिंगल्सबारे माइलालाई थाहा भइसकेछ। उसले सोध्यो, 'तपाईंलाई थाहा छ, म जन्मेकै वर्ष उनले एसिया टुर गरेका रहेछन्, सन् १९९६ मा?' मैले थाहा छैन भनेर टाउको हल्लाएँ। कन्सर्ट हेर्ने टिकटको कुरा गर्दा उसको जोस फेरि उत्रियो। कसरी जम्मा गर्ने होला दुईदुई हजार रुपैयाँ भन्दै रन्थनियो। 'अहिलेसम्म कति पैसा जम्मा गरिसक्यौ त?' मैले सोधेँ। 'दस दिनमा जम्मा छ सय चालीस रुपैयाँ जम्मा भएको छ, अब दुई हप्तामात्र छ, टिकट किन्ने म्याद। मैले कसरी पुर्‍याउनु दुई हजार?' 'नआत्तेऊ, केही उपाय निक्लेला,' मैले ढाढस दिएँ। उसले मुख लेप्र्यायो। मैले गुन्गुनाएँ, 'एभि्रथिङ आइ डु, आइ डु इट फर यु।' उसको अनुहारमा चमक आयो। त्यो दिन उसले मलाई ब्रायन एडम्सबारे थुप्रै जानकारी दियो। कसरी उनी क्यानडाको भ्यानकुभरमा भाँडा माझ्थे? कसरी पन्ध्र वर्षमै पढ्नलेख्न छाडेर घरपालुवा जनावरका लागि दाना बेच्थे? ब्रायन एडम्सका अरू एल्बमहरू। कट्स लाइक अ नाइफ। रेकलेस। वेकिङ अफ दि नेबर्स। उनको फोटोग्राफी सोख। समाजसेवा। उनले कतारमा एउटा गितार लिलाम गरेर आएको ३७ लाख डलर सामाजिक संस्थालाई दिएको। ब्रायन एडम्सलाई लिमोजिन मन पर्दैन, सेडानमा हुइँकिन रुचाउँछन् रे। उनलाई ठूलो ‰याल बाहिरपट्टि खुल्ने कोठा मन पर्छ, प्रसस्त प्राकृतिक उज्यालो आउने। फ्लोरिसेन्ट बत्तीले उज्यालो पारिएको कोठा उनलाई मन पर्दैन रे। त्रिपन्न वर्षको उमेरसम्म उनले बिहा गरेका छैनन्। छोराछोरी हुने त कुरै भएन! किर्तनले सुनायो, कसरी उसको सपनामा हिजोआज ब्रायन एडम्स आइरहन्छन्? कसरी ऊ उनको कन्सर्टमा पुगेको र दर्शकदिर्घाको अघिल्लो लहरमा बसेर चर्को स्वरमा हुटिङ गरेको सम्भि्करहन्छ? *** तीन दिनअघि बुधबार म कमलादीतिरबाट दरबारमार्ग जाँदै थिएँ, नाङ्लोअघिल्तिर हातभरि टम्म पत्रिका बोकेर माइला 'ल ल आयो आयो, नयाँनयाँ, ताजाताजा खबर' भन्दै दगुरिरहेको थियो। म चिच्याएँ, 'ओए माइला...।' ऊ फरक्क मतिर फर्कियो तर सधैंझैं हाँसेन। 'के भयो? कति पैसा जम्मा पारिस्?' मैले सोधेँ। उसले निन्याउरो मुख लगायो। भन्यो, 'दाइ, भोक लागेको छ, खाजा खुवाउनु हुन्न?' 'ल हिँड्,' मैले उसलाई नाङ्लोको कौसीमा लगेँ र सोधेँ, 'के खान्छस्? चिकेन चाउमिन?' टाउको निहुराइरहेको उसले मेरो आँखामा हेर्‍यो र भन्यो, 'होइन, भेज।' मैले झल्याँस्स ऊ भेजिटेरियन भइसकेको सम्झेँ। मैले आफ्ना लागि हटलेमन मगाएँ। माइलालाई सोधेँ, 'कति पैसा जम्मा पारिसकिस् त?' 'यत्राको पैसा जम्मा पार्नु? अस्ति कान्छा बिरामी भयो, उसको दबाइ गर्दा पाँच सय चट् भयो। अब त्यही आठ सयजति छ। हेर्न नपाइने भयो, ब्रायन एडम्सको कन्सर्ट। अब कसरी पुग्छ र एक हप्तामा टिकट किन्ने पैसा?' उसले अनुहार रुँलारुँला पार्‍यो। 'धैर्य गर् केटा, केही उपाय अवश्य निस्कन्छ,' मैले भनेँ। 'नेताहरूको जस्तो फोस्रो आश्वासन नदिनुस् न दाइ, कहाँबाट उपाय निस्कन्छ?' म मुस्काएँ र भनेँ, 'साले, डाइलग मार्छस्?' ऊ हाँस्यो। म पनि हाँसेँ र खल्तीबाट वालेट निकालेँ। चेपबाट एउटा कागज निकालेर ऊतिर तेर्स्याउँदै गुन्गुनाए, 'हियर वि गो, एभि्रथिङ आइ डु, आइ डु इट फर यु...।' मैले किर्तनलाई दिएको कागज ब्रायन एडम्सको कन्सर्टको टिकट थियो। उसले टिकट हातमा लियो र मतिर हेर्‍यो। म मुस्काएँ। उसले टाउको निहुर्‍यायो। एक थोपा आँसु उसले खाँदै गरेको चाउमिनमा तरक्क खस्यो। source - nagariknews

Syandai · Jan 29, 2011 10:29 AM · 23,869 views

14 Replies

मिठो रहेछ स्यानदाइ, कथा बाँडेकोमा धन्यवाद!

Geology Tiger · Jan 29, 2011 10:38 AM

Kathaa sarai raamro very very touching....

I_AM_BAHUN_ · Jan 29, 2011 11:13 AM

Really Nice, thanks for sharing

serial · Jan 29, 2011 11:28 AM

Atti nai mutu chhuney katha , meraa aakha ni rasaye

sabaiko satru · Jan 29, 2011 11:44 AM

dherai ramro cha.....

planB · Jan 29, 2011 12:31 PM

Like it very much.

bhojpure01 · Jan 29, 2011 12:36 PM

भावूक र राम्रो लेखाइ। share गर्नु भएकोमा धन्यवाद।

adhikari_bandhu · Jan 29, 2011 3:15 PM

Nice read ! Thanks for sharing.

ritthe · Jan 29, 2011 8:26 PM

saarhai raamro... lekhak lai dhanyabaad... saachikai ghatana bhaye jhan dherai dhanyabaad

perfectionist · Jan 29, 2011 9:04 PM

I already read it twice. Happy :) to share among Sajha writers like Perfectionist, ritthe, Geology Tiger and serial. 

Syandai · Jan 30, 2011 11:14 AM

धेरै राम्रो रैछ ! कता कता बुद्धिसागर र नारायण वाग्लेको कफिगफको याद आयो !

country_boy · Jan 30, 2011 2:51 PM

स्यान्दाइ जी, तपाईंले पोस्ट गर्नु भएको लेख हामी जस्ता लेख्न नजान्नेले पनि प्रशन्शा गरेका थियौ तर यहाँले  " to share among Sajha writers like Perfectionist, ritthe, Geology Tiger and serial."  भन्नु भएकोले हामीले comment गरेर केही गल्ती त गरेनौ हगी ?

adhikari_bandhu · Jan 30, 2011 4:43 PM

Kasto mitho katha dai....malai ta sachhikai jasto lagyo....tyo mailo ko aakriti samjhina thale maile ta....

Dukhe · Jan 31, 2011 1:17 AM

Majja ko.. thank you for sharing it.

BlurMirror · Mar 20, 2011 5:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all