मनोज गजुरेल, १० माघ, इटहरी - क.झलनाथ खनाललाईं झापड हान्ने देवी प्रसाद रेग्मीले बयान फेरेकाछन् । १५ दिने थुना आदेश पछिर् इ.प्र.का. इटहरी पुगेका 'इन्सेक्ट' प्रतिनिधि होम थापालाई उनले भने- 'मैले झलनाथलाई झापड हानेको नभई उनले नै ममाथी 'गापड' प्रहार गरेकाहुन् ।' (याद रहोस्, गालाद्धारा गरिने प्रहारलाई पुर्वतिर 'गापड' भनिन्छ ।) देवी प्रसादका अनुसार- 'हेण्डसेक' गर्न हात उठाउनासाथ एक्कासी झलनाथले उनको हत्केलामा प्रहार गरेका थिए । झलनाथको चिल्लो गालाद्धारा रेग्मीको खश्रो हत्केलामा आक्रमण भएपछि रेग्मीको औंठी भुइँमा झर्नुकासाथै उनको बुढी औंलामा चोटपनि लागेको थियो । देवी प्रसादको नयाँ बयानपछि सञ्चारकर्मीहरु झलनाथको आनीबानी अनुसन्धानतिर लागेकाछन् । बयानको सत्यतामाथी प्रमाण जुटाउन एकटोली खनालको पुर्ख्यौली थलो इलामको साँखेजुङ् पुगेको छ । टोलीलाई झलनाथका पुराना शिक्षक देउमान राइले भने-'त्यो केटोको गाला उहिलेदेखी नै निकै चल्थ्यो । फुटबलमा हेडिङ् गर्नुपरे गालाले गर्दथ्यो, बोल्दाखेरी जिब्रोभन्दा ज्यादा गाला चलाउथ्यो, अहिलेपनि गाला झरिलो, भरिलो छ । हुनसक्छ- हात चलाउन नमिलेपछि गाला पो चलायो कि !' झलनाथले पनि यो कुरा स्विकार गरिसकेकाछन् । पार्टीको मुखपत्र 'युद्धबार'लाई दिएको अर्न्तवार्तामा उनले भनेकाछन्- 'नेपाली जनताले कुनै एक पार्टीलाइ स्पष्ट बहुमत नदिईं देशलाई अनिर्णय बन्दी बनाएकोले आवेसमा आई सांकेतिक रुपमा देवीप्रसादको हत्केलामा हानेको हुँ ।' 'टाउको वा खुट्टा छोडेर हत्केलामा नै किन हान्नु भयो त ?' भन्ने प्रश्नको जवाफमा खनालले भनेकाछन्- 'नालायकहरुलाई भोट दिएर जिताउने जनताका हातहरु नै समस्याका मूल जड हुन् ।' उनले थपे-' तर, यस्ता झिना मसिना कुरामा अल्झिन हुँदैन, खाटा बसेको घाउ बल्झिन सक्छ ।' पिडक र पीडितको यो नितान्त नयाँ भनाईपछि राजनैतिकबृतमा बिभिन्न अड्कलबाजीहरु गर्न थालिएको छ । एमालेको ओली पक्षका एक नेताले भने झलनाथ-देवीप्रसादको संयुक्त ग्राण्ड डिजाईनमा यो काण्ड घटाइएको दाबी गरेकाछन् । 'सासु कुटेर बुहारी तर्साउने' सिद्धान्त आधारमा यो घटनालाई हेर्नुपर्ने उनको बुझाई छ । 'तिमी कुटेजस्तो गर, म रोएजस्तो गर्छु-चुनाव जित्ने नेता र जनता मिलेर हरुवाहरुलाई सबक सिकाउनुपर्छ' भन्दै दुइजना बिच घटनाको अघिल्लो बेलुका गोप्य सहमती भएको उनले दावी गरे । 'राजनीतिमा जेपनि हुनसक्छ' भन्ने उक्तिलाई आधार मान्ने हो भने घटना सुनियोजित हैन भन्न सकिने स्थिति छैन । गुप्तचर बिभागका एक अधिकृतले अर्को खुलासा गरेकाछन् । उनले प्राप्त गरको अति गोप्य सुचनाका अनुसार, 'झलनाथ झापड'बाट शुरु भएको यो अभियान 'माधव मुक्का', 'केपी किक', 'शुशिल सिर्कनु', 'देउवा दनक', 'रामचन्द्र रामधुलाई', 'सुजाता स्वाँठ', 'प्रचण्ड दण्ड'सम्म जानसक्छ । नाम नबताउने शर्तमा उनले थपे- 'यो अभियान सफल भएर नेताहरुको चेत खुलेपछि संबिधान निर्माण हुनासाथ देवीप्रसादलाई सार्बजानिक अभिनन्दन गरिने तथा नेताहरुलाई धन्यवाद दिईने गोप्य सुचना प्राप्त भएको छ ।' यो अभियानमा को को संलग्न छन् भन्ने पत्ता पत्ता लागेको छैन । तर, जुनसुकै बेला जुनसुकै नेताले जोसुकैबाट पनि 'जे पनि भेट्न सक्ने' महसुस गरी आत्मरक्षाका लागी भएपनि चाँडो सहमतीमा पुगेर देशलाई निकास दिनुपर्नेमा एकमत हुनुपर्ने कुरा ध्रुवसत्य भएपनि माथीका सम्पूर्ण घटना विशुद्ध काल्पनिक हुन्- सत्यतामा परिणत हुनअघि नै सबै नेताको सद्बुद्धी पलाओस्- जय नेपाल ! स्रोत : http://www.damadol.com/sisnupa... अनुमतिमा प्रकाशित )
Garib_Manche · Jan 25, 2011 2:50 AM · 81 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion