अमेरिका: ====== ६ वर्षअगाडि छोरो पढ्न अमेरिका उडेको थियो। ऊ पीएचडी गर्न यता आएको थियो।जुन विश्वविद्यालयमा फेलो थियो, त्यहीँ प्रोफेसर पनि भयो। बिहे पनि यतै गर्‍यो। ऊ नेपाल फर्किएला र उसको बिहे गरिदिउँला भन्ठानेको थिएँ। मेरी श्रीमतीले त केटी खोजी, रोजी पनि गरिसकेकी थिई। तर, हामी दुवैको योजना र सोच विपरितको कुरो उसले एकदिन फोनमा पोख्यो। त्यस दिनदेखि रन्थनिएकी मेरी श्रीमती शान्त हुनसकेकी थिइन। उग्र असन्तुष्टि र दुःखी मन बोकेरै ऊ मसँग अमेरिका उडी। त्यसकारण त्यस बिहान पहिलो पटक देखिएको अधुनातन अमेरिकी नगरको वैभवपूर्ण स्वरुपले पनि उसको अनुहार रमाएन। छोरोको बिहे नेपालमा धुमधामसँग गरौँला भन्ने थियो उसलाई। उसले आफ्नै रुचि र विचारकी केटी छानेकी थिई। मैले पनि सहमति दिएको थिएँ। त्यो सहमतिमा ल्याप्चे लाउन हामी छोरो अमेरिकाबाट फर्किने दिन कुरिरहेका थियौँ। तर, छोरोले दुई महिनागाडि फोन गरेर हाम्रो आशमा धक्का दिँदै भन्योः “यस पटक पनि नेपाल आउन सक्दिनँ, विश्वविद्यालयमा भर्खर जागिर लागेको छ।” “अनि कहिले आउँछस् त?” हामीले सोधेका थियौँ। तर, उसले लटरपटर जवाफ दिँदै भन्यो, “अर्को साल हेरौँला।” “हेरौँला होइन, आउने ठेगान पनि दे। हामीले यहाँ केटी ठीक ...” तर उसले केटी त अमेरिकामै ठीक पारेको रेछ। त्यो भेद खुलस्त हुनुअगाडिको एउटा फोनमा उसले भनेको थियोः “बुबा तपाईंहरूलाई अमेरिका आउन भिसाको लागि म चिठी पठाउँदैछु, हुन्न?” उसले हामीलाई अमेरिका डाकिदिए र घुमाइदिए हुन्थ्यो भन्ने आश त हामीले पनि पालिरहेका थियौँ, मुख फोर्न मात्र सकेका थिएनौँ। तर, त्यस दिन उसैले एकाएक त्यसो भनेपछि हामी बूढाबूढी पुलकित नहुने कुरै थिएन। हामीले भनिहाल्यौँः “हुन्छ, कहिले पठाउँदै छस्?” “पर्सि त्यता आउने मान्छे भेटेको छु, उसैको हात पठाइदिन्छु।” उसले त्यसो भनेको क्षणदेखि हामी दङ्ग पर्न थालिहाल्यौँ। त्यसको केही दिनमा त हामीले त्यो मान्छेबाट भिसाको लागि उसले पठाएका कागजात पनि पायौँ। त्यसै साँझ् छोरोको फोन पनि आएको थियो। हामीले उसले पठाएको चिठी र कागजातहरू पाएको कुरो सुन्नेवित्तिकै आतुरी नै परे झ्ैँ उसले भन्योः “भोलि नै अप्लाई गरिहाल्नुस् बुबा।” वास्तवमा हामीभन्दा पनि हाम्रो भिसाको लागि ऊ हतारिएको बुझ्ियो। त्यसको भोलिपल्ट फेरि उसले फोन गरेर भन्योः “हिजो भन्नै बिर्सेछु बुबा, कार्यक्रम चाहिँ मेको दोस्रो हप्ता राखेको छु।” हाम्रो लागि त्यस्तो विशेष के कार्यक्रम राखेछ भन्ने जिज्ञासाले मैले हत्तपत्त सोधेको थिएँः “के कार्यक्रम बाबु?” तर जवाफ दिन हिच्किचाउँदै उसैले सोध्योः “भाइले भनेन बुबा?” “अहँ भनेन त ...”, मैले भनेको थिएँ। त्यसपछि उसले हडबड भएझ्ैँ भन्योः “सबै कुरो भाइलाई भनेको छु, बुबालाई भाइले भन्छ। अहिले मलाई युनिभर्सिटी जान हतार छ, म भोलि कुरा गर्छु।” त्यसपछि उसले तीन-चार दिन फोन गरेन। उसको कन्थो सबै उसको भाइले सुनायो। कान्छो छोरोबाट ठूलोको सारा वृत्तान्त सुन्नेवित्तिकै उसकी आमा आगो भइहाली। उसलाई निभाउन मलाई हम्मे पर्‍यो। मैले उसलाई भनेको थिएँः “छोराछोरीमाथि जबर्जस्ती गर्ने जमाना छैन। आफ्नो खुशी र भविष्यको हिफाजत गर्ने काम उनीहरूकै हो। मनपराएकी केटी बिहे गर्छ भने गरोस्। नगर भने पनि गर्छ, बरु भनेर हाम्रो इज्जत राखिदियो। त्यसकारण चुप लाग्नु नै बेस।” “हाम्रो पनि त खुशी, रहर हुन्छ ...”, भन्दै ऊ रुन थालेकी थिई। वास्तवमा उसको रुने, रिसाउने र घुर्क्याउने क्रम जारी थियो। म यात्राको लागि गर्नुपर्ने काम गर्दै, दैनिक उसलाई सम्झ्ाउँदै पनि थिएँ। अमेरिका आइपुगेको बिहानसम्म पनि उसको अनुहार उजेलिन सकेको थिएन। तर, यहाँ उसलाई सम्झ्ाउने जिम्मा छोरोलाई दिएर म केही हल्का भएँ। मलाई पनि छोरोको निर्णय बिझ्ाउन छाडेको त थिएन, कताकता सामाजिक रूपमा ठगिएको अनुभव भइरहेको थियो। त्यसकारण यहाँ हुन लागेको छोरोको बिहेसँग मेरो पनि उत्साह पूरा जोडिन सकेको थिएन। तर, म छोरोको अगाडि आफ्ना निराशाका भेद नखुलुन् भन्ने कोशिशमा थिएँ। उसले आफ्नै विश्वविद्यालयमा पढेकी केटी रोजेको रेछ। केटी एमबीए गर्दै रेछे। भेटघाट, चिनापर्ची, आवतजावत, प्रेमजस्ता शब्दहरूसँग उनीहरू जोडिएछन्। र, बिहे पनि गर्ने भएपछि हामीलाई खबर गरेछन्। हामी बिहेको कार्यक्रमभन्दा १५ दिनअगाडि त्यसरी अमेरिका आइपुग्यौँ। दुई-चार दिन त मेरी श्रीमतीले छोरोसँग बोलिव्यवहार बारिरही। त्यसपछि उसलाई छोरोको ममताले पेल्न थालेछ र ऊ केटीबारे छोरोसँग सोधपुछ गर्न थाली। वास्तवमा ऊ केटीको रङ्गरोगन, घर, जातपातबारे ज्यादै केरकार गर्दै थिई। उसको केरकारले लछारपाटो लाउनसक्ने त केही थिएन, आफ्नो अहम् तुष्ट गर्न मात्र त्यस्तो गरेकी हो। त्यसकारण छोरोको जवाफबाट उसको चित्त केही बुझ्ेको थियो, केही बुझ्ेको थिएन। समग्रमा ऊ खुशी हुनसकेकी थिइन। बिहेको दिनको प्रक्रियाले त झ्न् उसलाई पोलेको थियो। त्यस दिन हामी छोरोको अपार्टमेन्ट भन्दा एक घण्टा परको एउटा भारतीय मन्दिरमा भेला भयौँ। त्यहाँ हामी ६ वटा कारमा दुई अमेरिकन र नौ नेपाली गरेर ११ जना पुगेका थियौँ। मन्दिरमा पुगेपछि हामीले दुलही पक्षकालाई अढाइ घण्टा कुर्नु पर्‍यो। दुलहीसहित उनीहरू त्यही बिहान शिकागोबाट युनाइटेड एअरलाइन्सको प्लेनमा आउँदैथिए। एअरपोर्टमा 'र्लिएपछि उनीहरूले हामीलाई फोन गरेर अब एक घण्टामा आइपुग्नेछौँ भनेका थिए। तर, त्यसो भनेको डेढ घण्टापछि मात्र आइपुगे। कुराइको त्यो लम्बाइले मेरी श्रीमती भित्रभित्रै झ्न् चिढिएकी थिई, तर भन्न केही सकिरहेकी थिइन। एक घण्टा त उसले मन्दिरमा भएका १२-१३ देउता घुम्दै र नमस्कार गर्दै बिताई। त्यसपछिको बाँकी समय ऊ बर्बराई नै रही। मैले उसलाई त्यसरी धेरै नफतफताउन सम्झ्ाई नै रहेँ। उसको फतफत छोरोका साथीले सुन्लान् भनेर मैले उसलाई पटक, पटक मन्दिरको बगैँचातिर लगेको थिएँ। हामीलाई त्यसरी कुराएर दुलहीसहितको १० जनाको जत्था साढेबाह्र बजे आइपुग्यो। उनीहरूमध्ये कसैले मेरो छोरोलाई नमस्कार गर्दै भनेको थियोः “एअरपोर्टबाट सीधै हान्निएका हौँ, तर जामले गर्दा एकनासको स्पिडमा आउन सकेनौँ। बीच-बीचमा फँस्दै आउन पर्‍यो।” ढिला हुनुको कारण भन्ने र कुराएकोमा क्षमा माग्ने काम सकिएपछि परिचयको कार्यक्रम शुरु भएको थियो। सबभन्दा पहिले दुलहीलाई अघि सार्दै मामा पर्नेले भन्योः “यी बेहुली मेरी भान्जी।” त्यसपछि अलि लाज मान्दै मेरो छोरोले हामी बूढाबूढीलाई देखाउँदै बेहुलीलाई भन्योः “ड्याडी, मम्मी ...।” उसले स्वाभाविक लजालु मुस्कानले नमस्कार गरी, मैले फर्काएँ। तर, मेरी श्रीमतीको हात बाँधिई नै रह्यो। उसले दुलहीको पैन्ट-सर्टको पहिरनतिर हेर्दै मुख बङ्ग्याएकी थिई। मलाई चाहिँ उसको रङ्गरोगन र दृष्टि मनपरेको थियो। छोरोले पनि दुलहीबाहेक अरूलाई चिनेको रहेनछ। त्यसकारण सबैसँग क्रमशः परिचयको सिलसिला चल्यो। केटीका बाबुआमा केही कारणले आउन पाएनछन्। त्यसकारण गार्जियनसमेतको जिम्मेवारी त्यही मामा पर्ने शिवप्रसाद जटायुले लिएको रहेछ। केटीको तर्फबाट आएकामध्ये तीन आईमाई र सात पुरुष थिए। परिचयको कार्यक्रम सकिएपछि हामी सब मन्दिरभित्र पस्यौँ। आईमाईको ग्रुप चाहिँ दुलही लिएर मन्दिरभित्रको अर्को कोठाभित्र गयो। हामी पुरुषहरू चाहिँ मन्दिरको विशाल भूतल कक्षमा 'र्लियौँ। त्यहाँ रेडिमेड विवाहमण्डप रहेछ। दुलाहादुलही पक्षका सब त्यही मण्डप वरिपरि राखिएका कुर्सीमा बस्यौँ र कल्याङमल्याङ गर्न थाल्यौँ। लगभग ३५ मिनेटपछि बनारसी सारी, चोलो, घुम्टो र गहनाहरूमा सिँगारिएकी दुलहीलाई लिएर महिलाहरू पनि 'र्लिए र दुलहीलाई मण्डपको चकटीमा लगेर बसाए। मण्डपमा भारतीय बाहुन विधिविधान पूरा गरेर मन्त्र जप्दै थियो। दुलही प्रकट भएपछि उसले दुलाहालाई पनि डाक्यो। दुवै दुलाहादुलही मण्डपमा बसेपछि हामी पनि कुर्सी सार्दै घेर्न पुग्यौँ। दुलाहादुलही जग्गे (मण्डप) मा बसेको लगभग २० मिनेटभित्र बिहे सम्पन्न भयो। बाहुनलाई त्यही समयभित्र सक्न भनिएको थियो। त्यसकारण उसले व्यावसायिक चातुर्यका साथ द्रूतगतिमा विवाहविधान पूरा गरिदियो। मेरी श्रीमती यो सब गतिविधि जिल परेर हेरिरहेकी थिई। जग्गेबाट उठेपछि बुहारीले आएर खुट्टामा ढोग्न टाउको निहुराउन खोजेझ्ैँ गरेकी थिई, तर उसले भैगो भन्दै आशीर्वाद मात्र दिई। बिहेको विधान सकिएपछि हामी भूतल कक्षकै डाइनिङ्ग हलभित्र पस्यौँ। त्यहाँ तोस्कन नामक इटालियन रेस्टुरेन्टको क्याटरिङ्ग सर्भिसबाट राखिएका १५-१६ परिकार थिए। हामी तिनै परिकार प्लेटमा टिप्दै खान थाल्यौँ। खाउन्जेल मेरी श्रीमती बुहारीसँग गफ गरिरहेकी थिई। त्यसपछि बुहारी छोरोसँग एउटा कुनातिर लागेर गफ गर्न थाली। हामी उनीहरूलाई छोडेर माथि मन्दिर परिसरमा उक्ल्यौँर कुर्न थाल्यौँ। दश-आठ मिनेटपछि उनीहरू आएर बुहारीलाई त्यतै छोडेर छोरो हामी भएतिर आयो। बुहारी र अन्य महिला मन्दिर परिसरको पहिलेकै सिँगारिएको कोठाभित्र पसे। त्यसपछि बुहारीको मामा पर्ने उही शिवप्रसाद जटायुले मनजिक आएर गफिन खोज्दै भन्योः “हजुर आज त बुहारी घर लैजान पाउनुहुन्न, उनलाई आजै शिकागो फर्कनुपर्छ। भोलि बिहान अफिसको मिटिङमा उनले कुनै पनि हालतमा उपस्थित हुनुपर्ने रहेछ, त्यसकारण अहिले चार बजे उड्ने प्लेनको रिटर्न टिकट लिएर आजको बिहेको साइत छोप्न मात्र आएकी हुन्। ५-६ दिनपछि फर्कने छिन्, दुःख नमान्नुहोला। यस्तै हो, यस विषयमा ज्वाइँ-छोरीले सल्लाह गरिसकेका छन्, ज्वाइँले हजुरलाई विस्तार गरिसेला नै, हीँ...हीँ...” उसको कुरो सकिँदा नसकिँदै बुहारी र अन्य महिला त्यो सिँगार कोठाबाट निस्किए। बुहारी उनीहरूसँग त्यो कोठामा लुगा फेर्न पसेकी रेछे, बाहिर निस्कँदा दुलहीको भेसका लुगाहरू फुकालेर आउँदाकै कमिज-पाइन्टमा बाहिर निस्किएकी थिई। ऊसँग दुलही हुँदाको बेलाको नाक, कान, गर्धनका गहना र अनुहारको कस्मेटिक मात्र बाँकी थिए। ती महिलाहरूलाई छोडेर फेरि बुहारी छोरोसँग एकान्ततिर लागी। त्यतै एकछिन् उभिएर उनीहरूले गफ गरेको देखियो। त्यसपछि हामी भएतिर आएर छोरो निकै अप्ठेरो मानेर उभिइरह्यो। बुहारीले आदर सम्प्रेषण गर्दै भनीः “दर्शन बुबा, मम्मी ...” त्यसपछि ऊ आफूसँग आएका महिला-पुरुषको डफ्फासँग मन्दिर परिसरपछाडिको पार्किङ लटतिर लागी। हामीहरूको फौज पनि त्यतै लाग्यो। पार्किङ लटमा कतिपयले परस्पर बिदाइको हात हल्लाए। छोरा-बुहारीले पनि आपसमा त्यस्तै गरे। त्यसपछि सब आ-आफ्ना कारभित्र पसे। पार्किङ लटबाट बिहेमा आएका कारहरू धमाधम सडकमा निस्कन थाले। म आफू चढेको कारको शिशाबाट निकै अगाडि हुँइकिएको दुलही चढेको हरियो कार अनायास च्याउन थालेछु। मेरो त्यो दृष्टि नियाल्दै छोरोले भन्योः “भोलि बिहानै उसले अफिसको महत्वपूर्ण मिटिङ एटेण्ड गर्नुपर्ने रहेछ बुबा, त्यसकारण बिहेको साइत छोप्न मात्र रिटर्न टिकट लिएर आएकी रेछे। फ्लाइट चार बजेकै भएकोले पनि फर्कन हतारो भयो, नत्र ...” म केही बोलिनँ। बरु श्रीमतीतिर हेरेँ। उसको पुरानो अनुहार केही लुटिएजस्तो देखिँदैथियो। छोरोले फेरि मलाई सुनायोः “ऊ अफिसमा बिदा लिएर सात दिनमा फर्कन्छे बुबा। हामी त्यस दिन उसलाई लिन एअरपोर्ट जानेछौँ।” अगाडि ड्राइभर सिटमा बसेर उसको साथी कार तीब्र गतिमा चलाइरहेको थियो। कार आठ लेनको व्यस्त हाइवेको देब्रे लेनमा कुदिरहेको थियो। म केही नबोली झयालबाहिर अरू कारका गति हेरिरहेको थिएँ। मलाई बोल्नु आवश्यक पनि थिएन। मेरो मौनको अर्थ लखकाट्न खोज्दै छोरोले भनेको थियोः “के गर्ने बुबा व्यस्त हुनुपर्ने जब छ उसको, ऊ आएपछि बुबामम्मीलाई लिएर हवाइ घुम्न जाने प्लान छ हाम्रो।” तर म चुप नै रहिरहेँ। ऊ मैले केही बोलिदिए हुन्थ्यो जस्तो गरिरहेको थियोर त्यही हिसाबले बोलिरहेको थियो। वास्तवमा म भित्रभित्रै ऊप्रति अगाध मायाले भरिन थालेको थिएँ। तर, मेरी श्रीमतीले अचानक त्यो पोखिदिईः “बुबालाई बुहारी मनपरेको छ बाबु!”
ANS · Jan 24, 2011 4:39 PM · 22,079 views
Ramro cha ANS. Will we get more?
Allegro · Jan 24, 2011 4:51 PM
Nice one!
default061 · Jan 24, 2011 4:55 PM
After all, it is America... nice one, enjoyed
Hasaune Paree · Jan 24, 2011 5:05 PM
Enjoyed it. Very nice. Some what like my life story. Hoping for some more.
baalai vayena · Jan 24, 2011 5:45 PM
Good one..
Aug25,1997 · Jan 24, 2011 6:38 PM
Nothing more than generation gap, change of time. I bet, there was similar situation between his parents and grand parents.
Khairey · Jan 24, 2011 8:49 PM
'सामाजिक रूपमा ठगिएको अनुभव भइरहेको थियो' Wonderful narration ANS. Keep it up !
adhikari_bandhu · Jan 24, 2011 9:15 PM
nice one bro , after long time i read a story like this really enjoyed it, keep it coming thanks
easy going · Jan 24, 2011 11:39 PM
nice one... kasto sajiv chitran! likes!!
perfectionist · Jan 25, 2011 11:57 AM
यथार्थ प्रस्तुती, समय सापेक्ष, सरल र शुद्ध भाषिक संरचना । समष्टीमा एउटा उत्क्रिष्ठ सिर्जना ।
rahulvai · Jan 25, 2011 1:10 PM
Very well written ANS, felt so nice to read some good stories after long time. It's because of few people like you, rahulvai, baire and few others i can't avoid sajha. Was out on a loop for while but again couldn't stop myself. Great job ANS.
boulevard dreams · Jan 25, 2011 6:02 PM
राम्रो छ ...
Geology Tiger · Jan 26, 2011 9:04 AM
GT, i know you've also got some talent to write, seems like you've not been writing lately. Eagerly waiting from your part as well. Good luck bro.
boulevard dreams · Jan 26, 2011 1:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion