वाषिर्क १६ लाख बुझाउने तमसुक गरेर सभासद् 10/01/2011 02:56:00 खगेन्द्र पन्त Font size: नेपाली जनता दललाई वाषिर्क १६ लाख बुझाउने तमसुक गरेर डा. विश्वनाथ अग्रवाल समानुपातिकबाट संविधानसभा सदस्य बने नयाँ पत्रिका काठमाडौं, २५ पुस संविधानसभा सदस्य बनाउन एउटा दलले पैसा माग्यो, एउटा उम्मेदवारले मन्जुर गरे । दुवै पक्षबीचको छलफलपछि वाषिर्क १६ लाखमा सहमति भयो । नेपाली जनता दललाई वाषिर्क १६ लाख बुझाउने तमसुक गरेर डा. विश्वनाथ अग्रवाल समानुपातिकबाट संविधानसभा सदस्य बने, अहिले पनि छन् । संविधानसभामा दुई सिट रहेको नेपाली जनता दलका अध्यक्ष साहले एक सिट डा. अग्रवाललाई दिएका थिए । यसबापत अग्रवालले सभासद्को पारिश्रमिक, भत्ता एवं अन्य सुविधा (करिब ६ लाख) को ९१ प्रतिशत अर्थात् करिब पाँच लाख ५० हजार दिने सहमति गरेका थिए । योबाहेक डा. अग्रवालले वाषिर्क १० लाख छुट्टै दिने सहमति भएको थियो । यसरी वर्षको करिब १५ लाख ५० हजार दललाई बुझाउने सहमतिमा साहले डा. अग्रवाललाई सभासद् बनाएका थिए । फड्के किनारामा तीनजना साक्षी राखी डा. अग्रवालले कागज गरेर जनता दलका अध्यक्ष हरिचरण साहलाई दिएका थिए, तर सभासद् भएपछि पैसा लेनदेनमा उनीहरूबीच विवाद जारी छ । पार्टीअध्यक्ष साहले सभासद् अग्रवाललाई कुटपिट पनि गरिसकेका छन् । दुईजना सभासद् रहेको दलमा अग्रवालबाहेक अध्यक्ष साहकै छोरी गायत्री साह छिन् । अग्रवालले गरेको ९ बुँदे लिखित प्रतिज्ञापत्रमा नुवाकोट थानसिंहनिवासी दीपकराज पाण्डे, सिराहा महेशबारीनिवासी रामप्रसाद साहु र रौतहट गौरनिवासी लक्ष्मीनारायण अग्रवाल साक्षी बसेका छन् । पाण्डे पार्टीका सचिव, साहु केन्द्रीय सदस्य र लक्ष्मीनारायण सभासद् अग्रवालकै भतिज हुन् । प्रतिज्ञापत्रको दफा ४ को (क) मा भनिएको छ, 'सभासद्को रूपबाट मलाई प्राप्त हुने पारिश्रमिक, भत्ता एवं अन्य सुविधाको ९१ प्रतिशत रकम दललाई प्रदान गर्नेछु ।' त्यस्तै सोही दफाको (ख) मा भनिएको छ, 'दलको संगठन विस्तार तथा कार्यालय सञ्चालनका लागि दफा ४(क) को बाहेक वाषिर्क रु. १० लाख आर्थिक सहयोग प्रदान गर्नेछु र पहिलो वर्षको सहयोग रकम तत्कालै प्रदान गर्नेछु ।' ०६५ वैशाख २० मा कागज भएको थियो । प्रमाणका लागि साहले कागज आफूसित राखेका छन्, अग्रवालले पैसा नदिने बताएका छन् । 'सभासद्को कमाइ कति हुन्छ र मैले त्यत्रो पैसा दिऊँ ? भ्रष्टाचार गरेर पैसा उठाउन म मन्त्री पनि होइन,' सभासद् अग्रवालले नयाँ पत्रिकासित भने । तर उनले पनि सभासद् हुनुअघि वाषिर्क १० लाख नगद र तलब सुविधाको ९१ प्रतिशत दिने कागज गरेको स्विकारे । 'कागज गर्नु मेरो ठूलो गल्ती भयो,' उनले भने । अग्रवालसित सहमति गर्नुअघि अध्यक्ष साहले सभासद् बनाउन अन्य व्यक्तिहरूसित छलफल गरेको अग्रवालले बताए । अरूसित पनि कुरा चलाएको थाहा पाएपछि आफू लिखित गर्न बाध्य भएको अग्रवालले बताए । 'उनले अरू मान्छेसित पनि कुरा चलाइरहेका थिए । चुनावमा मैले सहयोग गरेको पैसाका कारण जनता दलको त्यत्रो भोट आएको हो । पछि अर्कोलाई सभासद् बनाउन कुरा गर्न थालेपछि मेरो त्यो पैसा पनि जान्थ्यो । सबै साथीहरूको सल्लाहमा कागज बनाउन बाध्य भएँ,' अग्रवालले भने । कागज भएपछि पैसा लेनदेनको विषयमा अध्यक्ष साह र अग्रवालबीच विवाद सुरु भएको थियो । अध्यक्ष साहले आफू र कोषाध्यक्ष रहेकी छोरीको नाममा संयुक्त खातामा पैसा राख्न भनेकाले पनि पैसा नदिएको अग्रवालले बताए । हरेक वर्ष पैसा दिन सक्दिनँ, एकपटक १० लाख दिएर उम्किन्छु भनेर अग्रवालले कागज फिर्ता पनि मागेका थिए । अग्रवालका अनुसार अध्यक्ष साहले पनि मौखिक सहमति जनाएका थिए । सहमतिअनुसार ०६५ सालको भदौमा सभासद् अग्रवाल १० लाख बोकेर अध्यक्ष साहकहाँ गए । दुवैजना भएर पुतलीसडकस्थित कुमारी बैंकमा पैसा जम्मा गर्न गएका पनि थिए । तर, बैंकमा पुगेपछि साहले 'एकपटक दिएर हुँदैन, सहमतिअनुसार हरेक वर्ष रकम दिनुपर्छ' भनेपछि कुरा नमिलेको अग्रवालले बताए । विवादपछि पैसा निदईकनै सभासद् अग्रवाल घर फर्के । 'सधैंभरिको झन्झट मिलाउनुपर्छ भन्दै १० लाख लिएर म गएको थिएँ । हामी कुमारी बैंकसम्म पनि पुग्यौँ । पछि त उनले होइन प्रत्येक वर्ष दिनुपर्छ भनेपछि कुरा मिलेन,' सभासद् अग्रवालले भने । बैंकमा कुरा नमिलेपछि उनीहरू आ-आफ्नो बाटो लागेका थिए । उता पार्टीअध्यक्ष साहले भने सभासद् अग्रवालसित १० लाखको सट्टा अब १० करोड लिने ठोकुवा गरे । व्यावसायिक घरानाका अग्रवालका लागि ८/१० करोड सामान्य भएको उनको भनाइ छ । 'उनले ०५१ सालको चुनावमा ६५ लाख खर्च गर्दा त केही फरक परेन । हाम्रो पार्टीलाई त उनले १० लाख होइन १० करोड दिनुपर्छ । हुनेले पैसा नदिएपछि पार्टी कसरी चल्छ ?' अध्यक्ष साहले नयाँ पत्रिकासित भने । अग्रवालले आफूलाई १० करोड दिनेमा आफू विश्वस्त रहेको दाबी पनि उनले गरे । सभासद् बन्नुअघि अग्रवालले जनता दलको तर्फबाट प्रत्यक्ष चुनाव लडेका उम्मेदवारहरूलाई झन्डै सात लाख सहयोग गरिसकेका थिए । 'सुनसरीदेखि पर्सासम्मका उम्मेदवारहरूलाई चुनावी तयारीका लागि भनेर मैले करिब सात लाख रुपैयाँ सहयोग गरिसकेको थिएँ,' सभासद् अग्रवालले भने । जनता दलका तर्फबाट ४० जना प्रत्यक्ष चुनावमा उम्मेदवार बनेका थिए । उता अध्यक्ष साह भने लिखित गर्न अग्रवाललाई कुनै दबाब नदिइएको दाबी गर्छन् । साथीहरूको उपस्थितिमा उनले खुसीसाथ प्रतिज्ञापत्र गरेको उनले बताए । 'दबाब दिएर कागज कसरी गर्न सकिन्छ ? उनले पार्टीलाई सहयोग गर्छु भनेर हाँसी-हाँसी कागज गरेका हुन्,' अध्यक्ष साहले भने । सभासद्बापत पाउने तलब तथा भत्ताको ९१ प्रतिशत पार्टीलाई बुझाउने सहमति पनि अग्रवालले कार्यान्वयन नगरेको अध्यक्ष साहको आरोप छ । सुरुका दुई महिना भने अग्रवालले मासिक २० हजारका दरले पार्टीलाई बुुझाएका थिए । 'दुई महिनासम्म त २०/२० हजार बुझाएँ पनि तर, पछि मलाई नै सभासद्बाट हटाउने खेल खेल्न थालेपछि मैले दिइनँ,' सभासद् अग्रवालले भने । अग्रवालले पैसा दिन अस्वीकार गरेपछि अध्यक्ष साहले उनलाई सभासद्बाट हटाउन संविधानसभा सचिवालयमा पहल गरेका थिए । तर, सफल भएनन् । झन्डै डेढ वर्षअघि अध्यक्ष साहले समर्थकहरू लगेर सभासद् अग्रवालको सानेपास्थित घर पनि घेराउ गरेका थिए । दुई पक्षबीच सडकमै वार्ता पनि भयो । फेरि पनि कुरा नमिलेपछि अध्यक्ष साहले सहयोगीहरूलाई लिएर गत वर्षको २ वैशाखमा अग्रवाललाई सिंहदरबारभित्रै कुटपिट गरेका थिए । कुटपिटपछि अग्रवालले अध्यक्ष साहविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा दायर गरेका थिए । प्रहरीकै उपस्थितिमा साहले अग्रवालसित माफी मागेपछि केही समय कुरा मिल्यो । अहिले फेरि पार्टी विभाजन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुई सभासद् दुईतिर भए संसदीय दलमा उनीहरूको विभाजन ५०/५० प्रतिशतको हुने भएको छ । तर, दलको झन्डा र चुनावचिह्नका लागि पार्टीमा ६० प्रतिशत पुर्‍याउन दुवैबीच प्रतिस्पर्धा भइरहेको छ । अग्रवाललगायत बहुमत केन्द्रीय सदस्यले भने अध्यक्ष साहलाई पार्टीबाट निष्कासित गरिएको निर्णयसहित निर्वाचन आयोगलाई पत्राचार गरिसकेका छन् । ४१ सदस्यीय केन्द्रीय समितिमा २१ जना आयोगमै उपस्थित भएर साहविरुद्ध निर्णय गरिएको जानकारी गराएका छन् । उनीहरूले साहकै भाइबुहारी रामदुलारी साहलाई अध्यक्ष बनाएको निर्णय गरेका छन् । रामदुलारी जनता दलकी पूर्वअध्यक्ष हुन् । अध्यक्ष हरिचरणले विगतमा किर्ते हस्ताक्षर गरेर उनलाई अध्यक्षबाट हटाएको अग्रवालको आरोप छ । 'मान्छे ठीक होइन, किर्ते हस्ताक्षर गरेर रामदुलारीजीलाई हटाएको थियो,' उनले भने । अहिले आफूहरूसित पार्टीको बहुमत रहेकाले निर्वाचन आयोगले आफूहरूलाई मान्यता दिने अग्रवालले बताए । अग्रवालले गरेको प्रतिज्ञापत्रमा पार्टीले बोलाएको समयमा विना कुनै सर्त र बिनाविवाद सभासद् पदबाट राजीनामा दिने सहमति पनि जनाएका छन् । 'दलले फिर्ता बोलाएको कुनै पनि समयमा विनासर्त र विनाविवाद सभासद्बाट राजीनामा दिन मञ्जुर गर्दछु,' प्रतिज्ञापत्रको बुँदा नम्बर ७ मा उल्लेख छ । दलले दिएको कुनै पनि जिम्मेवारी एवं निर्देशनहरू निर्विवाद र निःसर्त पालना गर्ने पनि अग्रवालले सकारेका छन् । त्यस्तै, दलको घोषणापत्र, विधान, नियमावली, सिद्धान्त एवं भावनाअनुसार काम गर्ने, संविधानसभामा प्रस्तुत कुनै पनि विषयमा निर्णय लिनुपर्दा दलको आधिकारिक धारणाअनुसार मात्र गर्ने, संंगठन विस्तारका लागि देशका कुनै पनि भूभागमा केन्द्रले दिएको निर्देशनबमोजिम ठीक समयमा उपस्थित हुने, सभासद् भएको कारणबाट कुनै पनि नियुक्ति, सिफारिस वा अन्य केही गर्नुपर्दा दलको केन्द्रीय समितिको निर्देशनलाई पूर्णरूपमा पालना गर्ने, दलको नेतृत्वप्रति सधैं वफादार एवं आज्ञाकारी रहने पनि प्रतिज्ञापत्रमा सभासद् अग्रवालले सकारेका छन् । फेरि कुट्छु सिंहदरबारभित्रै सभासद् विश्वनाथ अग्रवाललाई हातपात गरिसकेका जनता दलका अध्यक्ष हरिचरण साहले उनलाई फेरि कुट्ने चेतावनी दिएका छन् । यसका लागि उनले मिति पनि तोकिसकेका छन्- आगामी फागुन १० गते । १० फागुनमा अग्रवाल जहाँ भए पनि कुट्ने साहको भनाइ छ । 'तपाईं पत्रिकामा लेखिदिनूस्, पहिला हातपात मात्रै गरेको हो । कुट्ने त अब हो,' आइतबार आफ्नै कार्यालयमा उनले नयाँ पत्रिकासित भने । १० फागुनमै किन भन्ने नयाँ पत्रिकाको जिज्ञासामा साहले भने, '०६४ फागुन १० गते जनता दलले अग्रवालको नाम पहिलो नम्बरमा राखेर निर्वाचन आयोगमा बुझाउने समानुपातिक उम्मेदवारहरूको बन्दसूची तयार गरेको थियो । पार्टीप्रति धोखाधडी गर्ने अग्रवाललाई फागुन १० मै कुट्छौँ,' अध्यक्ष साहले भने । जनता दललाई धोका दिएर अग्रवालले ठूलो जोखिम लिएको पनि साहले बताए । 'जहाँसुकै लुकेर, जस्तोसुकै सुरक्षा लिएर बसून्, कुट्छु-कुट्छु । अग्रवाल आगोको भुंग्रोमा परिसके, त्यसै कहाँ निस्कन पाउँछन् ?' अध्यक्ष साहले भने ।
timer · Jan 10, 2011 11:50 AM · 3,247 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion