साझावासीहरुमा लामो समय बिश्राम लिएको मा क्षमा माग्दै साथै यो कथा सिध्याउने भरमग्दुर प्रयास गर्नेछू भन्ने वाचाका साथ अनी साहीँलीलाई घच्घच्याउन नछोडेको मा बिशेष धन्यवाद र समवेर अन द अर्थ दाई बाट थोरै शब्द सापटी लिएको छु भन्ने जानकारी दिँदै कथा आरम्भ गर्ने अनुमति माग्छू !!!!!!!!!!! मेरो कोठाको पंखालाई फेरि मैले पुलुक्क हेरेँ उ अनन्त गतिमा घुम्दै नै थीयो । उ गल्दैन जवसम्म उसको मालिकले उसलाई अराउँछ जवसम्म उ धर्म निभाउन सक्छ उसले आफ्नो धर्म निभाउँछ । उ कर्तव्य बाट टाढिँदैन , उ सँग वहाना छैनन् कर्म नगर्ने म जस्तै , उ घुमिदिन्छ जवसम्म म स्विच निभाउँदिन वा जवसम्म रामेले ढोका बन्द गर्ने बेलामा स्विच निभाउँदैन । पहिला पहिला लोड शेडींग मा उ सुस्ताउन पाउँथ्यो तर आजकल मेरो पनि अफिसमा इन्भर्टर आएको छ । काम मा गतिशिलता ल्याउनलाई आएको रे इन्भर्टर ! किन मान्छे फगत अरु माथि दोष थूपार्छन् कहिले कसैमाथि कहिले कसैमाथी । मैले वत्ति भएको समयमा पनि धेरै समय अरु ठाउँमा खर्च गरेको देखेको छू सवैले तर म प्रतिकार गर्दिन म भिँडमै बग्न रुचाउँछू । मलाई थाहा छैन यो मेरो समस्या हो मेरो धैर्यता वा अरु नै केहि ! तर आजकल साधा कागज भएको छू नितान्त सत्य कुरो , केहि कोर्न रुचाउँदिन ,केहि लेखिन रुचाउँदिन मात्र ठूलो चांगको विचमा कसैको आँखा नपर्ने गरी वस्न खोज्छू । जहाँ कसैले मेरो खोजी नगरोस् धेरै ले मलाई लुकाउन् । म पनि कसैलाई लुकाउने भिँडको अंग बनुँ । यस्तै यस्तै कुरा मनमा खेलिरहन्छ सँधै । अफिस छिर्दै गरेको बेला भेटिने हरेक सँग हाँसेर हिँड्ने गरेको छू । मैले भोगेको छू जव मान्छे झूटो हाँसो हाँस्न सक्छ तव मान्छे सवैको प्रिय बन्छ त्यहि झुटो हाँसो देखाउने प्रयास गर्छु सवैलाई ।मुटु कस्ले नै पो चिर्न खोज्छ र । अझ मेरो , मेरो त बोक्रो नै कडा बनाएको छु मैले। मैले फेरि घण्टी बजाएँ । यो पनि मेरो नियमित नै प्रकृया भएको छ । यसमा कुनै नयाँपन छैन । फेरि रामे देखिनेछ खिस्स हाँस्दै म फेरि चिया माग्छु अनि उ दंग पर्दै जानेछ । हरेक चियामा उसको स्वार्थ लुकेको छ मलाई थाहा छ । तै पनि म उसलाई स्विकारिदिन्छु , को नै पो स्वार्थि छैन र आखिर ! फगत हामी के लाई स्वार्थ मान्छौ त्यसको नै त फरक हो , रामेको स्वार्थ उसको वाध्यता होला , मेरो स्वार्थ मेरो मोह होला वा अरु कसैको स्वार्थ रहर होला , स्वार्थ आफ्नो नाम परिवर्तन गरिरहन्छ हरेक व्यक्तिविशेषमा !!!!मलाई स्वार्थ मन पर्छ किनकी उसले व्यक्ति व्यक्तिमा स्वरुप बदलेर बास बस्न जानेको छ ।कहिले नशाको नाममा कहिले स्वाभिमानको नाममा कहिले माया को नाममा !! रामे टुप्लुक्क देखा पर्यो । "कति ढिलो ?" म झर्किए जस्तो गरेँ , मलाई थाहा छ यो मैले गर्नु जरुरी छ किनभने मैले यति गरे पनि रामेले धेरै गर्यो भने वाहिर गएर उसकै साथी सँगीलाई खैनी खाँदा आफ्ना पहेँला दाँत देखाउँदै "आज सर फेरि रिसाउनु भयो !" सम्म भन्नेछ तर मैले गरिन भने उसले मलाई टेर्ने छैन दुई दिन पछी ! मान्छे किन सजिलै भेटिने सहयोग , मायाको उपेक्षा गर्छ , मलाई थाहा छैन तर मैले बुझेको छु त्यो हुन्छ । "सरको घण्टी बिग्रेको छ , म वाहिरै थीएँ सरले हात ले थिचेको देखेर म आएको !" मैले बजाउन खोजेँ घण्टी बजेन , म अवाक भएँ । गल्ति मेरै निस्कियो । तर मैले आडम्बर छोडीन म तल झर्नु हुन्न यो मेरो पहिलो गल्ति नै त हो । म गल्ति दोहोर्याउन पनि सक्छु ।तेहेर्याउन पनि सक्छु । "चिया लिएर आउन एउटा !" म थोरै नरम भइदिएँ । उ खुशि भयो कुनै पुरस्कार पाए जस्तो । ................ ........... ................. .............. ................ ................. ................ ............ .................. .... वाइकमा शायद मैले आज मोबायलको भाइब्रेसन थाहा नपाएको हुनुपर्छ । कटन पेन्ट को वेफाइदा , मोवायल उफ्रिने धेरै ठाउ पाउँछ । मैले एउटा मोवायल त्यहि कटन पेन्टबाट झारेर हराइसकेको छू ।सुशिलको मिस्ड कल थियो । आउने वित्तिकै अफलाईन मेसेज पनि भेट्टाएँ कम्प्युटरमा " संजिवको बाइक एक्सिडेन्ट भएको छ , मोडल हस्पिटलमा राखेको छ , जाने भए मलाई कल ब्याक गर !!!!" धेरै कुरा घुमेर आए दिमागमा , त्यो मोरो धेरै पिउँछ , कन्ट्रोल छैन राती नै भएको होला एक्सिडेन्ट ! कस्तो एक्सिडेन्ट लेखेको छैन ?? अनि अन्तिममा सुधा पनि त हस्पिटलमैँ होली , के म उसलाई भेट्ने आँट नै गरेर जाउँ त ??? उसलाई फोन गरेर कति खेर जाने सोधेँ अनि बेलुका मेरो अफिसमै आउने कुरा भयो । "सर चिया !" रामेले चिया राखेर वाहिर निस्कियो । मैले पर्दा खोलेँ । चर्को घाम लागेको थियो । अनि चैते वतास पनि शायद , रुखहरु मच्चिदैँछन् वाहिर । तलको जुत्ता बनाउने मान्छेको छाता देखियो । दुइटा दुलो परेछ छातामा । जुत्ता बनाउनेलाई छाता सिउन आउँछ कि आउँदैन होला । आउँदैन होला नत्र उसले सिलाउने थीयो । आफ्नै कुराको हिफाजत त गरिहाल्थ्यो नि । फेरि सोचेँ म जस्तै लथालिंगे मतलव नगर्ने पनि त हुन सक्छ । सुधा मुस्कुराउँथी जव जव म अलि मान्छे जस्तो भएर उसको सामु देखा पर्ने गर्थेँ । अनि सोध्थी ,"तिमी सँधै किन यस्तो रहिरहन सक्दैनौँ !" म पनि हाँसेर जवाफ फर्काउँथे " म यस्तै रहिरहे परिवर्तन खोई त??" उ एकछीन चुप हुन्थी अनि भन्थी "तिमी अनि तिम्रा कुराहरू !!! म बुझ्दिन !!!!" मैले पनि उसलाई कहाँ नै बुझ्न सकेँ र !! टेवल को चिया चिसो भएछ । सुरुप्प पारेँ । हुन त यो चियामा कुनै रस छैन तर यो मेरो आवश्यकता भएको छ मलाई म बनाएर जोगाइराख्ने । म टुक्रा टुक्रामा म भएको छू आजकल । म चिया खान रुचाउँछू एउटा टुक्रा भएको छ मेरो । म धेरै बोल्दिन एउटा टुक्रा भएको छ मेरो । म कसैलाई गाली गर्दिन यथास्थिति मै रमाईदिन्छू एउटा टुक्रा भएको छ मेरो । सिंगो म कतै हराएको छ कसैलाई थाहा छैन शायद मलाई पनि !!! मैले चिसै भए पनि सिध्याइदिएँ । रामे हेरिरहेको थियो शायद आएर कप लिएर गयो । किन ढिलो चिया खाएको भनेर उ मलाई गाली पनि त गर्न सक्दैन । घडी हेरेँ दिउँसो को चार बजेको थीयो । पाँच बजे सुशील आउँछू भनेको छ । छ अझै एक घण्टा । थोरै फाइल पल्टाएँ । एउटा लामो थकाई मार्न पाए हुन्थ्यो । यस्तो रात जहाँ निन्द्रा होस् तर सपना नहुन तन्द्रा नहुन अनि बिउँझाइदिने कोहि नहुन मात्र कालो शुन्यता ! छ्या कति निरस भएको छु म !! जीवनले रस निचोरिदिए जस्तो !! ढोका वाहिर घर तिर निस्किने क्रम शुरु भइसकेको थीयो । कसले नै पो टेर्छ र घडीलाई । घडी पनि विवश छ उ चार बजेको देखाउन सक्छ तर मान्छेलाई पाँच बजेसम्म रोक्न सक्दैन । मैले पनि चार बजे नै आइज भनिदिएको भए हुन्थ्यो सुशिललाई । तर केहि छैन । मोडल त्यति टाढा पनि त हैन । रामे कपाल कन्याउँदै भित्र छिर्यो ।किन नुहाउँदैन यो । शायद पानी छैन होला । उसको आफ्नो वाध्यता । तिनवटा छोराछोरीको भारमा दवेको छ उमेर नपुग्दै दवेको छ मोरो । कहिलेकाहिँ आग्रही आँखाले मलाइ हेर्छ । म टेरिदिन्न नबुझे जस्तो गर्छू । कहिले काहिँ मुखै फोरेर केहि माग्छ । म पहिल्यै भन्नु पर्दैन भनेर हकारीदिन्छू । उ खिस्स हाँसिरहन्छ । उसको आग्रह पुगेको दिन दंग पर्छ नपुगेको दिन पनि खिस्स हास्न छोड्दैन । मैले बुझेको छु जव मान्छे झूटो हाँसो हाँस्न सक्छ तव मान्छे सवैको प्रिय बन्छ "सर हजुरलाई भेट्न कोहि आउनुभएको छ !" पक्कै सुशिल होला! "लिएर आउ न त ! अनि चिया दुइटा पनि !" "सर मेरो आज चाँडै जानु पर्ने थियो !" वाहिर निस्किँदै गर्दा रामेले रहर पोख्यो ! "ठीकै छ , म पनि निस्किन आँटेको !" मलाई मेरो बारेमा त थाहा छैन तर रामे खुशी थियो ।
fucheketo · Jan 6, 2011 3:00 PM · 26,593 views
फुच्चे को पुनरागमण भएछ !! ल कथा शुरु शुरु लेख पढ्ने हामी छम् । सधैं झै राम्रो प्रस्तुती ।
bhakte dai · Jan 6, 2011 5:14 PM
फुच्चेको आगमन ... तर संधै भाग १ लेख्यो अनि हरायो .... फेरी आउदा अर्कै कथा .... पुरानो कथा कसले पुरा गरिदिन्छ? सबै कुरा अधुरो छोड्न पाइदैन ...
aakinchan · Jan 7, 2011 11:20 AM
लौ फुच्चेकेटो कथा चाही जम्दै छ है..एस्लाई निरन्तरता दिन पर्यो, कता गायब हो ? कि रामेलाई भनेर एक कप चिया मगाउने हो कि...;)
super007 · Jan 7, 2011 1:40 PM
बास्तबिकता मा आधारित मेरो पनि केहि थप्छु है. MIND नगरिदिनु होला "काम मा गतिशिलता ल्याउनलाई आएको रे इन्भर्टर." मलाई पनि इन्भर्टर जस्तो केहि चाहिएको छ ,गति को लागि होइन, केवल बामे सर्न को लागि | किन भने आजकल म हिड्न सक्दिन राम्रो सगं, दौडिन त परे जाओस | कुनै समय सबै भन्दा अगाडी हुने म आज आफ्नो छाया भन्दा पनि तल झरे को छु. "अझ मेरो , मेरो त बोक्रो नै कडा बनाएको छु" सारो बनाएर मात्र के गर्नु,, तेस्लाई उप्काउने तरिका था पाएका ले घोची रहन्छन । चिथोरि रहन्छन। कोतेरी रहन्छन। नङ्ग ले ,छेस्का ले अनि काटी ले तबसम्म, जबसम्म अर्को नया घाउ हुदैन। आहिले पनि गल्ति सायद मेरै होला, पहिले बोक्रा को कुरा जो भनेको छु मैले। तपाई कथा एकदम राम्रो छ..अर्को भाग को आशा मा छु.
राछस · Jan 7, 2011 3:46 PM
देर आए दुरुस्त आए लुते गए थे तन्दुरस्त आए
Geology Tiger · Jan 7, 2011 5:41 PM
प्रस्तुती राम्रो लाग्यो, कथाले कुरा खोत्लदा खोत्लदैं भाग सकियो अर्को भाग चाडैं आउँने छ भन्ने आशामा...
Hasaune Paree · Jan 13, 2011 12:08 PM
Bhakte dai-धन्यवाद , ढिलै भए पनि दोस्रो भाग जोड्दै छू है दाई अकिन्चन - ढिलो भएको मा माफि माग्दै दोस्रो भाग जोड्दै छु SUPER , RAKSHAS , GEOLOGY TIGER , HASAUNE PAREE....Thanx.....
fucheketo · Jan 19, 2011 1:39 PM
भाग-२ हस्पिटलको गन्ध मलाई खासै मन पर्दैन ।हुन त हस्पिटल मन पराउने को नै हुन्छ र , त्यो एउटा वाध्यता हो , जीवन जीउनु जस्तै ! निलो लुगामा भुईँ पुछिरहेका दिदीहरुलाई हामीलाई हेर्न सम्म फुर्सद थिएन ।भुईँ पुछीए नै पनि खासै परिवर्तन थिएन थोरै पाइलाका छाप बनेका थीए सुक्दै गरेको पानीमा । मन मनै विचार गरेँ म फर्केर आउँदा यो पाइला यहाँ रहनेछैन ।शायद सुक्नेछ वा फेरि पुछिसकेको भए नयाँ पाइला सुक्ने क्रम मा हुनेछ ।तर मेरो मुटु भित्रको पदचाप किन सुक्दैन किन टाटा बसेको घाउ फेरी आलो भएजस्तै फेरी फेरी बल्झिन्छ । किन कुनै शिलालेख जस्तै कुदिन्छ ।मुटु पनि त्यहि भुइँ जस्तै भए कति रमाईलो हुन्थ्यो होला कसैका सम्झना हरु पदचाप जस्तै छीनमै सुक्ने उ हराउने बित्तिकै सम्झना पनि हराउने ! तर अहँ हुँदैन ! भगवानलाई पनि मान्छे खुशी भएको के नै मन पर्थ्यो र ! " कता हराको रिसेप्सनमा बस भनेको हैन ? खोज्दा खोज्दा हैरान !" सुशील थोरै झर्कियो । बाइक पार्क गर्न जानु अघी उसले मलाई रिसेप्सनमा बस्नु भनेको रहेछ । म शब्दहरु नबुझेर भित्र छिरेछु । "सुनीन मैले !" सामान्य उत्तर फर्काइदिएँ । अनि फेरि त्यो पाइला नियालेँ । पाइला सुकिसकेको थीयो । "हिँड्न त जौँ , एक सय तिन मा राखेको छ भन्थे क्यारे" मैले छेउको ढोका नियालेँ ढोका थोरै खुल्ला थियो । भित्रको स्लाईन पानी आधा भएको प्यासेज बाटै देखियो । ढोकाको भित्तामा एक सय पन्ध्र लेखेको थियो । उ प्यासेजको अर्को तर्फ लाग्यो । मैले उसलाई पछ्याएँ ।पाइला कता कता गह्रुंगो भए जस्तो लाग्यो तै पनि मैले घसारिदिएँ सुशिलले जता जता डोर्यायो ! "कस्तो छ अव !" सुशील ले सोधेको पहिलो प्रश्न यहि थीयो शायद ! "ठिकै छ , अहिले निन्द्राको दवाई दिएको छ तर दुई तिन घण्टामा होश आउँछ होला !" सुधाले जवाफ फर्काई सुख्खा आवाजमा ! उसको रसिलो आवाज साह्रै नै प्यारो हुन्छ । कानमा संगित बनेर बज्छ धेरै समय तर आज आवाज सुख्खा थीयो । खासै परिवर्तन थिएन उसको अनुहारमा अहिलेको तनावले थपेको थकान बाहेक । "अनि घरमा खवर गरिदेउ त ?" "खोइ गर्ने कि नगर्ने , बेक्कारमा चिन्ता मात्रै त हुन्छ , उसको होश आओस् अनि उसैले भन्छ !" उसले छेवैमा स्याउ काट्न राखेको चक्कु खेलाउँदै भनी । चक्कु धारिलो छैन नै होला वा उ धार नै खेलाउन चाहन्छे । मैले धेरै बेर सम्म चक्कुलाई हेरिरहेँ । उ सम्वन्धहरुलाई कसरी जोख्छे मैले अहिले सम्म बुझ्न नसकेको कुरा ! "एक छीन वाहिर जाउ न त यो संग , थोरै आराम पनि हुन्छ तिमीलाई म रुँघिदिउँला !" उसले मलाई किन विचमा ल्यायो मैले बुझ्न सकिन ! आफै गएको भए पनि त हुन्थ्यो ! के भनौँ म उसलाई ? म सँग शब्दहरु कहाँ छन् त ! शब्द , उ सँगको यात्रा अनि उ सँगको यात्राको चाहना त मैले उ छुट्टिएको दोवाटो मै छोडीसकेको छु । उ सँग फेरि भेट हुनु मेरो कुनै दिनको सपना थीयो होला । अहिले सपना पुरा भएको छ तर कहिले काहिँ पश्चाताप हुन्छ सपनामाथी मैले किन त्यो सपना देखे भनेर । "रुँघ्ने मान्छे कोहि छैन अरु बेलुकालाई !" म सँग कुराको शुरुवात गर्न उसलाई भख्खर लागेको घाउ बाहेक केहि छैन । त्यो घाउ कोट्याउनु हामी बिचको शून्यता तोड्ने बाध्यता होला ! "को आउँछ र ? " उ खीस्स हाँसी ! "उसको घरमा खवर छैन , मेरो घरमा खवर भए पनि आउँदैनन् !" जव मान्छेको मुटुमा माया को ठाउँ घृणाले लिन्छ तव मान्छे धेरै नै कुरुप हुन्छ । उसको गल्ति थियो होला समयको त्यो कालखण्डमा जति बेला उसले संजिवलाई छानी त्यो मायाले थियो शायद त्यसैले उ त्यति कुरुप देखिइन मेरो नजरमा तर अहिले उसको परिवार जहाँ मायाको ठाउँ घृणाले लिएको छ मलाई कुरुप लागेर आयो । मैले उसलाई पुलुक्क हेरेँ फेरि । हो उ कठोर छे । उसले आफुलाई कठोर बनाएकी छे ताकी समयले उसलाई चिथोर्न नसकोस् । "चिया खान जाने हो ?" प्रस्ताव मैले नै राखेँ उसले टाउको हल्लाई स्विकारोक्तिमा ! "अनि के छ त तिम्रो खवर ?" सिँढी झर्दै गर्दा उसले राखेको प्रश्न थियो त्यो । मैले उसलाई सुनाउन खवरहरु बटुल्ने प्रयास गरेँ । के छ र मेरो खवर ?एक चोटी सरुवा भयो एउटा मन्त्रालयबाट अर्को मा !मेरो कोठाको भाँडा बढ्यो एक चोटी । मैले श्यामे को सट्टा रामे भेट्टाएँ चिया लिएर आउनलाई ! कति निरस छ मेरो जीवन ! मेरो जीवनमा सुनाउन लायक खवर पनि छैन उसको लागी । फेरी अर्को मनले सोचेँ त्यहि खवर उ मेरी भएकी थिई भने उसको जीवनमा कति धेरै महत्व राख्थे । हो महत्व खवरमा थिएन उसको मेरो सम्वन्धमा थीयो । "खासै छैन !" मैले संक्षिप्त जवाफ फर्काईदिएँ । कुनै टिप्पणीमा कर्यांगमर्यांग गरेर सदर लेखेजस्तो ! अघिको पदचाप सुकिसकेछ । नयाँ कुनै पदचाप सुक्ने क्रममा थीयो !! "भाइ दुइवटा चिया !" उसको निलो शर्टको फुटेको बटन र च्यातिएको गोजी परैवाट स्पष्ट देखियो । उसले सुनेकै हुनुपर्छ भन्ने मैले अनुमान गरेँ । टेवलको पहेँलो चनाको तरकारीको होला !दुइ तिन अगाढीको होला , राम्रो सँग सफा भएको थीएन । हामी दुइजनाले कुर्सी अलग्गै तानेर बस्यौँ ! "तिमी सँधै किन चुपचाप नै हुन्छौ? " उ थोरै मुस्काई । मैले उसको अनुहार हेरेँ । अनुहार मा केहि ओढेर हाँसो देखाएकी थिई उसले ! मैले धेरै बेर चुपचाप नै बस्नु पर्यो उसलाई यसको उत्तर दिनलाई । अनि मुस्कुराइदिएँ । म सँग प्रश्नको उत्तर छैन म किन चुपचाप हुन्छु भनेर ।तर त्यो सँधै होइन भनेर उसलाई पनि थाहा छ अनि मलाई पनि । म प्रश्न गलत छ भनेर भन्न सक्दिन । उ सँग हार्नु मेरो यथार्थ हो अनी उ सँग हारीरहनु मेरो रहर पनि । "फेरी चुपचाप नै भयौ !" उसले आफ्नो कपाल मिलाउँदै फेरी मलाई जिस्क्याई । तनाव उसको लट्टा परेको कपालमा पनि देखिन्थ्यो । पहिला त्यस्तो थीएन उसको कपाल मलाई थाहा छ । " म तिमीवाट शुरुवात पर्खेर बसेको थीएँ !" "सवै कुरा मा पर्खिनु हुन्न , कहिले काहिँ आफूले पनि शुरुवात गर्नुपर्छ !" मैले उसलाई पुलुक्क हेरेँ उसले पनि मलाई पुलुक्क नै हेर्दै रहिछे । चस्स बिझेर आयो । फेरी चिया तिर नै फर्किएँ । अतित के मेरो दोष थियो त ? अहँ थीएन ! संजीव सँग को सम्वन्ध मलाई पहिले नै भन्न पनि त सक्थी नि उ ! उसले मलाई हुन्न पनि त भनिन , जव मलाई थाहा भयो संसारलाई पनि थाहा भयो ! उसको नजरमा संसार र म बिचमा फरक देखाउन सकिन ! मेरो त्यत्ति नै थियो कमजोरी शायद ! के त्यो म चुपचाप बसेर थीयो त ? थाहा छैन !!! "मैले त शुरुवात गर्नु अघि नै मेरो कथा अन्त्य भएको देखेको छु , अन्त्य देखि डर लागेर आउँछ त्यहि भएर होला म चुपचाप बसेको !" मैले उ तिर नहेरिकन नै मेरो उत्तर फर्काइदिएँ "अर्को कथा खोज्नुपर्छ , कति अल्झिन्छौ एउटै कथामा ! त्यो तिम्रो लागि पनि ठीक थीएन मेरो लागी पनि !" उसले खुइय सुस्केरा काढी ! यसपाली मैले उसलाई नहेरी बस्न सकिन । कति सजिलै भनिदीई उसले ! हो उ कठोर छे । के सवै नारी कठोर हुन्छन् ! थाहा छैन !
fucheketo · Jan 19, 2011 1:41 PM
fucche kyaa re-entry garyau bhandekhun.. chasakka pariraa... kasto sunyaa sunyaa, dekhyaa dekhyaa jasto bho.. tyo haspataal.. tyo chiyaa.. tyo suskeraa. sudha ra sanjeev tespachi khusi rahe holaan bhanne maanyaa chu.
perfectionist · Jan 19, 2011 2:19 PM
फुच्चे केटो, प्रस्तुती मनपर्यो। कता कता मन पोल्यो, दुख्यो अनि च्वास्स घोच्यो (पाईलाको part निकै मनपर्यो) (सायद सुधा यति कठोर हुने थिईन होला, हालत र परिस्थिति राम्रो भएको भए। समय सापेक्षी आफूलाई ढाल्न पो खोजेकी हो कि!)
damayanti · Jan 19, 2011 7:08 PM
loved it phuchhey...
password · Jan 19, 2011 9:25 PM
चक्कु धारिलो छैन नै होला वा उ धार नै खेलाउन चाहन्छे मैले उसलाई सुनाउन खवरहरु बटुल्ने प्रयास गरेँ मैले त शुरुवात गर्नु अघि नै मेरो कथा अन्त्य भएको देखेको छु , अन्त्य देखि डर लागेर आउँछ त्यहि भएर होला म चुपचाप बसेको Kya lekhai chha ... purai story nai copy paste garu jasto lagne... keep going .... waiting for some more...
Aakinchan · Jan 24, 2011 7:01 AM
Perfectionist , password ,akinchan-Thanx... Damyanti- Thanx..Hopefull that you ll get answer in this part..The last one.. मेरो मोबायल थर्थरायो गोजीमा , स्क्रिनमा हेरेँ , हिजो देखी दुख दिएको दियै छ यसले !सरुवा हुने हल्ला सुनेछ । म सँग बुझ्न खोजीराखेको छ । म भन्न सक्दिन स्क्रिन काम्न रोक्कियुन्जेल सम्म हेरीरहेँ । फोन उठाइन ! "कस्को थियो र फोन ?" सुधाले चासो देखाई "अफिसको !" मैले संक्षिप्त जवाफ फर्काएँ । "किन नउठाएको त !" उसले चासो मा गहिराई थपी ! "कहिले काहिँ प्रश्न वाट भाग्न मन लाग्छ !" उसले म तिर पुलुक्क हेरी ! "जीवन भागेर चल्दैन !" उसले चिया सुरुप्प पारी । कति चिसो बनाएर खाएकी चिया पनि ! सर्वत भइसक्यो होला ! "मान्छेले बुझ्छ तर मन मुर्ख हुँदो रै छ!" मैले उसको आँखामा आँखा जुधाएँ । उसले आँखा लुकाई । भागेर जीवन चल्दैन भन्छे अहिले आँखा किन लुकाइ राखेकी त उसले ?? "अर्को चिया थप्ने हो ?" मैले गफ हलुका बनाउने प्रयास गरेँ । उसले टाउको हल्लाई ।परैबाट दिउरे बाट उम्लिँदै गरेको चिया र वाहिर पट्टिको भागमा डढ्दै गरेको दुध देखियो । मलाई डढेको दुधको स्वाद प्यारो लाग्छ । जीवन दुध जस्तै भए , डढेर पनि नयाँ स्वाद थप्ने!! फेरी त्यहि फाटेको गोजी भएको भाइ चिया लिएर आयो ! "अघिको चिया मिठो थियो ! यो तिमीलाई छुट्टै !" साहुले थाहा नपाउने गरी उसलाई दिएको पैसाले उसको अनुहार मा मुस्कान लिएर आयो । पहेँलो दाँत देखियो ! उसले मलाई हेरीरही ! उसको हेराई सँधै एकोहोरो हुन्छ । मुटु छेडेर जाने जस्तो ! मलाई नहेरेर म पछाडीको भित्ता हेरीरहे जस्तो ! "वाहिर गएर चुरोट खान्छ यसले , के पैसा देको !" "खोइ किन हो किन माया लागेर आयो !" मैले चिया सुरुप्प पारेँ । डढेको दुधको स्वाद चियाले जीब्रोमा छोडेर गयो ! "तिमी पनि मान्छे चिनेर माया गर्दैनौ ! " उ खिस्स हाँसी । म बुझ्छु उसका शब्दका अर्थहरु !! "त्यो मेरो होइन माया पाउने मान्छेहरुको दोष होला ! " फेरी कुरा घुमीफीरी मै तिर फर्कियो ! घडिले छ बजेको संकेत गर्यो । कुनै लोकल एफएम बाट समाचार शुरु भयो ।कतिका कान त्यो एफ एम तिर होलान्। आ म पनि कति बेफजुलका कुराहरु सोचिरहन्छु । "अनि अरु सुनाउ न त , वैवाहिक जीवन कस्तो चलिराखेको थियो ?" मैले यसपाली उ तिर प्रश्न तेर्स्याएँ ! "दुवै जना एक अर्काको लागी भिँड बन्ने प्रयास गर्छौ , परिवार बन्ने प्रयास गर्छौ , अनि कुटुम्व बन्ने प्रयास गर्छौँ ! कहिले काहिँ डर लागेर आउँछ , समयले साथ छुटायो भने !" सबैजना को लागी समय निष्ठुरी कहाँ हुन सक्छ र ! मैले मनमनै सोचेँ! "म कुरा गरौँ ,तिम्रो परिवारमा गएर ?" उसले मलाई पुलुक्क हेरी । यसपाली उसको आँखामा आश्चर्य देखेँ ! "कुन मुखले जाउ भनौँ म तिमीलाई ?" उसले कप तिर नै आँखा तेर्स्याएर उत्तर फर्काई ! "तर सम्वन्ध मैले गर्दा नै बिग्रेको हो , मैले नै सुधार्नु पर्छ हैन र !" "तिमी किन त्यस्तो भन्छौ?" "मलाई तिमीहरु विचको कुरा थाहा भएको भए म त्यति खेर तिमीसँग विहा को कुरा मान्दिनथेँ !" मैले कुरा टुंग्याई दिएँ । उसलाई म जताउन चाहन्न म अझै उसलाई कति सम्झन्छु भनेर ! उ चुपचाप बसिरही !! "म तिमीलाई एउटा कुरा भन्छु मान्छौ ?" उसले म तिर हेर्दै प्रश्न राखी "के भन न !" मलाई थाहा छ शायद उ के भन्ने वाला छे भनेर ! "यसरी जीवन चल्दैन !" "कसरी?" मैले उ तिर हेरेँ । आज पहिलो चोटी मैले उ सँग प्रतिवाद गर्न पाएको छु । हुन त यो युद्द हैन तर आज पहिलो चोटी मलाई विजयी महसुस भएको छ !किन भने उसले पहिलो चोटी मेरो बारेमा सोचेकी छे ! "तिमी कुरा किन बुझ्दैनौ ! मलाई थाहा छ मैले त्यति खेर गल्ति गरेँ ! तिमीलाई भन्नु पर्ने थीयो ! सकिन , भागेँ सन्जीव सँग!" उसले एक्कै चोटी आफ्नो मनको भेल खोली ! म बग्छु शायद आज ! उसलाई चुपचाप हेरेँ । "घर का मान्छे सँधै तिमीलाई देखाउँछन् ! तिम्रो जीन्दगी बर्वाद गरीदिएँ भन्छन् ! मैले चाहेको त्यस्तो थीएन !" "म एक्लै पनि खुशी छु !" मैले कुरा लुकाउने प्रयास गरेँ ! " मलाई थाहा छ तिमी कति खुशी छौ ! एउटी जिद्दी मुर्ख केटीको पछि कति लाग्छौ ! अझ आफ्नो हुन्न भन्ने थाहा हुँदा हुँदै !" मैले आफ्नो होस् भन्ने चाहेको पनि त छैन । "त्यस्तो केहि हैन !" मैले सामान्य अवस्थामा कुरा फर्काउन प्रयास गरेँ ! "तिमी विहा किन गर्दैनौ त !" उसले प्रतिप्रश्न गरी ! समय कहिले काहिँ कति गह्रुंगो हुन्छ । उठाउन सक्दैन मान्छेले !! "केटी भेट्नु परेन !!" कति ढाँटु म उसलाई ! अझ उसले ढाँटेको कुरा थाहा पाइराखेकि छे भन्ने थाहा हुँदा हुँदै! किन गर्दैछु म यो असफल प्रयास !! " तँपाइको प्यासेन्टको होश आयो ! तँपाईलाई खोज्दै हुनुहुन्छ ! चिया खान आएकी नर्सले उसलाई खवर छोडी " म पैसा तिरेर बाहिर निस्किएँ । आकाशमा फाट्ट फुट्ट तारा देखीएछन् । ढाड पड्काएँ !!! "आइ एम सरी !! म सँग दिन लाई यी शब्द र सुभेक्षा बाहेक केहि छैनन् !" उसले आँखा जुधाउन खोजिन ! भित्र फेरी संजीव सँग अर्को कथा कोर्नु छ । "सुशील लाई बाहिर निस्क भनिदेउ न हेलमेट लिएर ! अनि म आएको नभने पनि हुन्छ त्यसलाई । ठीक भए पछि वरु कोठामै भेट्न आउँला , तिम्रो मोबायल नम्वर चेन्ज भएको छैन हैन ??" मैले संजिव लाई पिडा दिन चाहिन ।ठीक गरेँ बेठिक गरेँ थाहा छैन !!! सुधाले भनेको वाक्य कान भरी गुन्जिरह्यो !! "तिमी विहा किन गर्दैनौ ????" समाप्त :
fucheketo · Jan 25, 2011 2:28 PM
पैले लेखिएको कथा "हिडेर छोडेको बाटो" मा पनि केटी पात्रले यस्तै भनेर कथाको अन्त्य भाको जस्तो लाग्छ, यसमा पनि त्यै पुगेर कथा अन्त भाको देख्छु. म त अलमल्लमा परें बै! यत्रोले भनि सके, अब त ब्या गर्दे भो नि, कस्सो? फेरी पनि अर्को उत्कृष्ट प्रस्तुती. मैले त अस्तिको भाग मै कथा सक्यो भन्थानिरा. अरु पनि छिट्टै पस्किनुहुन्छ होला भन्ने मान्या छु.
perfectionist · Jan 25, 2011 2:51 PM
Fucheketo, may be your name is 'fucheketo' but your writings are mature and enjyoable. Always loved your articles. You have great writing skill. Thanks .
adhikari_bandhu · Jan 25, 2011 10:00 PM
enjoyed reading and every words is powerful, meaningful and symbolic Keep writing Last edited: 26-Jan-11 07:21 AM
Hasaune Paree · Jan 26, 2011 6:43 AM
very nice fuche, loved it
ek@l · Jan 28, 2011 1:38 PM
फेरी पनि गज्जब गयो प्रभु .... तपाइको लेखाईमा अनौठो मिठास छ .... हरेक लाइनमा आफ्नै अर्थ छ... do keep writing .... waiting for new thread to be started by "FUCHEKETO" ...
Aakinchan · Feb 5, 2011 1:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion