रुबेल चौधरी : पारसले पेस्तोल निधारमा राखेर भने, 'म सुट गर्न गइरहेको छु !'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

घटनाबारे नागरिकसँग मन्डिखाटारस्थित ससुराली तथा उपप्रधानमन्त्री सुजाता कोइराला निवासमा कुरा गर्दै रुबेल चौधरी। तस्बिरः चन्द्रशेखर कार्की रुबेल चौधरी- हामी शनिबार साँझ साढे ७ बजेतिर डिनर खाने ठाउँमा गएका थियौं। हाम्रा नानीहरूलाई सुत्न जानुअघि नै डिनर ख्वाउन चाहन्थ्यौं। होटल र डिनर खाने ठाउँ अलग-अलग थियो। हामीले हाम्रो परिवारलाई आगोको नजिकै राखेर खाना मगायौं। पारस शाह ८ बजेतिर त्यहाँ आउनुभयो। मसँग गएका दुई जना साथीले उहाँसँग परिचय गराए। उनीहरू नै पहिले उहाँसँग गएर बोले। म अर्को कुनामा परिवारका साथ डिनर टेबुलमा थिएँ, मैले यसअघि चिनेको पनि थिइँन। त्यसपछि मेरा साथीहरूले उनी भएको टेबुलमा बोलाएपछि म गएँ र हात मिलाएँ। त्यसपछि हामीले डिनर खायौं। डिनरपछि मेरी श्रीमती र मेरा दुई साथीकी श्रीमती आगोको छेऊमा बसिरहेका थिए।   हामी भने अर्को टेबुलमा प्रकृतिविदहरूसहित छलफल गरेर बसेका थियौं। एकजना प्रकृतिविद लण्डनबाट आएका हुनाले त्यहीको बारेमा कुराकानी गरिरहेका थियौं। मेरी श्रीमती र नानीहरूले आफ्नो कोठामा जान चाहे। यसभन्दा अगाडि पारस झण्डै १० पटक भित्रबाहिर गरिरहनु भएको थियो, सायद वासरुमतिर आउने जाने गरिरहनु भएको थियो। पारस आएर हामीसँगै बस्नुभयो। उहाँले एक बोतल ह्वीस्की ल्याएर सबैलाई हाल्न थाल्नुभयो। मैले घाँटी दुखिरहेको र यात्रा गरिरहेको हुनाले लिन्न भनें। म आफूले हटलेमन लिइरहेको थिएँ। उहाँले तिमीले लिनै पर्छ भनेपछि मैले 'तपाईँले भने पनि म नाइ भन्न सक्दिन राखिदिनोस्' भने। यसभन्दा पहिले म मेरी श्रीमती र बच्चालाई हेरेर आउँछु भनें। किनभने उनीहरूले त्यहाँबाट निस्केर जंगल हुँदै सुत्ने ठाउँमा माथि पुग्नु पर्थ्यों। उहाँले 'ओके ओके' भन्नुभयो। उहाँको ब्रदर इन्ल त्यही हुनुहुन्यो। अरु पनि थिए। कुरा गर्दै हुनुहुन्थ्यो। सेनाको मान्छे पनि त्यही थिए। मेरो परिवार र साथीको परिवार हेरेर फर्कें। हाम्रा श्रीमानहरू पनि त्यहाँ बसिरहेका छन्, उनीहरू मात्न सक्छन्। भोलि हाम्रो हात्ती चढ्नेलगायतका गतिविधि कार्यक्रम भएकोले उनीहरूलाई समयमै ल्याउन समेत उनीहरूले मलाई भने। मैले गएर उनीहरूलाई ल्याउछु भनें। म पुग्नुभन्दा अघि पारसले सबैलाई भन्दै हुनुहुँदो रहेछ, 'मैले तिम्रो साथीलाई ड्रिङ राखिदिए ऊ भने छोडेर गयो।' म भलादमीपाराले फर्केर गएपछि उहाँ ठीकठाक हुनुहुन्थ्यो। त्यसपछि उहाँले नेपालको बारेमा कुराकानी गर्न थाल्नुभयो। उहाँले सोध्नुभयो, तपाईलाई नेपाल कस्तो लाग्छ? मैले भने, 'मलाई यहाँको मौसम र जनता अत्यन्तै राम्रा लाग्छन्।' उहाँले यहाँको राजनीति कस्तो लाग्छ? भन्नुभयो। मैले भने, 'म राजनीतिक परिवारबाट पनि आएको हुन सक्छु। तर, म राजनीतिबारे जानकार छैन। म लण्डनमा हुर्किएँ। त्यसपछि म यहाँ फकिएँ। म यहाँ प्रेम भएको हुनाले आएँ। म यहाँ सामाजिकरुपमा घुलमेल गर्छु। मेरा यहाँ साथीहरूमात्र छन्।' त्यसपछि उहाँले भन्नुभयो, 'राजतन्त्र हटाएर गिरिजाबाबुले गल्ती गर्नु भयो भन्ने तपाईंलाई लाग्दैन?' मैले भने यो पूर्णतः राजनीतिक प्र्रश्न हो। मेरो यसबारेमा कुनै समझ छैन। मैले यो बुझ्नुपर्ने कारण पनि केही छैन। हरेक कुराको आफ्नै कारण होला। यसमा मलाई केही थाहा छैन। उहाँको राजनीतिको पनि आफ्नै कारण होला। तर मलाई यसमा उदृत नगर्नुहोला।' फेरि उहाँले सोध्नुभयो, 'हामीले कसरी अघि बढ्नुपर्छ होला भन्ने लाग्छ?' मैले भनें, 'तपाईंले सबैलाई साथमा लिएर हिड्नुपर्छ। तपाईं विभिन्न ठाउँमा पुगिरहनु भएको छ, धेरैलाई चिन्नुहुन्छ, ती सबैलाई साथ लिएर अघि बढ्नुपर्छ।' 'आर्थिक विकास अत्यावश्यक छ भन्ने तपाईंलाई लाग्दैन?' उहाँले सोध्नुभयो। 'यो अत्यावश्यक छ, यसका लागि सामुहिक रुपमा अघि बढ्नुपर्छ। होइन भने अहिलेकै स्थिति रहन्छ,' मैले भनें। त्यसपछि उहाँले भन्नुभयो, 'तपाईं साँच्चै राम्रो परामर्शदाता हुनुहुँदो रहेछ। तपाईंले मेरो जिन्दगीभर परामर्श दिनुपर्छ। मैले तपाईंलाई यसअघि कहिल्यै चिनेको थिइँन्।' त्यसपछि उहाँले मलाई अंकमाल गर्नुभयो। यस्तो भयो कि हामी धेरै वर्षदेखि एकअर्कालाई चिन्छौं्र। मेरा साथीहरूले उहाँलाई आठ वर्षदेखि चिनेका थिएँ। उनीहरू पनि अचम्ममा थिएँ। उनीहरू एकजना नेपाली र अर्का भारतीय हुन्। एकजना कुमारी बैंकका निर्देशक सान्तु श्रेष्ठ र अर्का सारिक लारी हुन्। उहाँको ब्रदर इन्लले समेत हामीले तपाईंको बारेमा धेरै सुनेका थियौं भन्दै राम्रो व्यक्तित्व र राम्रोसँग कुरा गर्ने व्यक्तिका रुपमा मेरो प्रशंसा गर्नुभयो। हामीले यो वा त्यो धेरै कुराकानी गर्‍यौं। त्यसपछि उहाँले एकाएक भन्नुभयो, 'लौ बाघको शिकार गर्न जाऔं। मैले भने, 'बाघको शिकार, हुन्न दुई तीन वटा बाघ त छन्।' त्यसपछि मैले भनें, 'माफ गर्नुहोला, म धेरै थाकेको छु।' हामीले एक अर्कालाई ब्रदर (भाइ)को रुपमा संवोधन गरिरहेका छौं। उहाँले मलाई ब्रदर भन्नुभयो, मैले उहाँलाई ब्रदर भनिरहेको छु। सर वा अरु केही भनेको छैन। आज म धेरै थाकेको छु, भोलि दिनभरि केटाकेटीहरूसँग गर्नुपर्ने धेरै गतिविधि छन्। बरु हामी भोलि भेटौंला र जाऔंला।' मजाकको रुपमा केही भन्दा ठीकै थियौं। उहाँले आधा बोतलजस्तो ह्वीस्की पिइसक्नु भएको थियो। उहाँले फेरि भन्नुभयो, 'तिमीहरूले मसँग आउनै पर्छ। रमाइलो पाराले खुसीखुसी यस्तो कुरा भइरहेको थियो। 'अरे भाइ किन चिन्ता गर्नुहुन्छ हामी जाऔंला,' रमाइलोसँग मैले यसो भनिरहेको थिएँ। त्यसपछि उहाँ आफ्नो ब्रदर इन्लसँग कुरा गर्न थाल्नुभयो। केही कुरा गर्नुपर्ने भन्दै उनलाई पारसले शौचालयतिर लानुभयो। उहाँ त्यहाँबाट फर्केर आउँदा उहाँको अनुहार अँध्यारो, आँखा राता थिए। पूरै परिवर्तित भएका थिए। उहा पिइरहनु पनि भएको थियो। उहाँले भन्नुभयो, 'तिमीहरूले मसँग आउनै पर्छ, तिमीहरूसँग कुनै विकल्प छैन।' मैले भनें, 'अरे यो कस्तो दबाब हो? म थाकेको छु। मेरा साथीहरू थाकेका छन्। हामी गएर सुत्न चाहन्छौं।' उहाँ फेरि बाहिर जानुभयो। कुराकानी गर्नुभयो र आउनुभयो। बारमा गएर फेरि पिउनुभयो। आएर फेरि भन्नुभयो, 'तिमी तीन जनासँग कुनै विकल्प छैन। तिमीहरूलाई आज राति केही पनि भयो भने मलाई दोष नलगाउनू।' यो पनि सामान्य ठट्टाजस्तै थियो। फेरि बारमा ड्रिङ्कको लागि जानुभयो। त्यसको पाँच दश मिनेट पनि हामी लण्डन र अरु विषयमा कुराकानी गरिहेका थियौं। हामी अझै पनि मित्रवत्स्थितिमै थियौं। त्यसपछि आफ्ना दुई हात ज्याकेटको गोजीमा राखेर क्लिक क्लिक पार्न थाल्नुभयो। म गोली नभएको बन्दुकको आवाज चिन्छु। मलाई थाहा थियो, उहाँसँग बन्दुक छ भन्ने। त्यसपछि मलाई लाग्यो किन उहाँ मलाई जंगलमा लैजान चाहनु हुन्छ। मलाई जंगलमा लिएर जाने, त्यसपछि एउटा निहुँ पारेर सिध्याउने। पूरै समय उहाँले कुनैनकुनै रुपमा मलाई उत्तेजित गराउन चाहनु भएको रहेछ। उहाँले मलाई केही नराम्रो भन्ने, मैले उहाँलाई ठेस पुर्‍याउने गरी बोलोस् भन्ने चाहनु भएको रहेछ। मैले केही भनेको भए मसँग झगडा गर्ने कुनै कारण हुने थियो। तर मैले केही भनिरहेको थिइँन्। म मित्रवत् रहेको थिएँ। त्यही भएर उहाँ गोजीमा राखेको बन्दुक क्लिक क्लिक पार्दै चलाइरहनु भएको छ। 'तिमीहरूसँग कुनै विकल्प छैन, मेरा मान्छेहरूले बाहिर पर्खिरहेका छन्। म यहाँ छु। तिमीहरू मसँग आउनुमै कल्याण छ।' यति भनेर उहाँ बाहिर निस्कनु भयो। उहाँ बारमा गएर नदेखिने गरी पेस्तोल लोड गर्नुभयो वा के गर्नुभयो मलाई थाहा छैन। उहाँ टेबुलमुनि केही गरिरहनु भएको थियो। होटलका जेनरल म्यानेजर त्यही थिए। हामी अझै कुरा गरिरहेका छौं। उहाँ फेरि आउनुभयो। यो अन्तिम पटक थियो। 'तिमीहरूसँग कुनै विकल्प छैन, खास गरी तिम्रो। मसँग जंगल नजाने हो भने मारिनेछौं। तिमीहरूलाई कसैले फेला पार्ने छैनन्। तिमीलाई सिध्याएपछि तिम्री श्रीमती र बच्चालाई पनि सिध्याउँछु।' पहिले पारसका बारेमा मैले केही थाहा पाएको थिइन्। अहिले उहाँले मेरो जन्म मिति थाहा पाइसक्नु भएको थियो। उहाँलाई मेरो सबै कुरा थाहा थियो। उहाँले मलाई सोध्नु भएको थियो, 'गिरिजाप्रसाद कोइरालाकी नातिनीलाई बिहा गर्नुको पछाडि तपाईंको पक्कै पनि कुनै आधार हुनुपर्छ, तिम्रो आधारभूमि के हो? मेरो आधारभूमि छ। म पूर्वयुवराज हुँ। तिम्रो आधारभूमि के हो?' मैले भने, 'मेरो कुनै पृष्ठभूमि छैन। म साधारण मानिस हुँ, जो प्रेममा पर्‍यो र बिबाह गर्‍यो। मेरो बुवा र मलाई बंगलादेशका प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक नेताले चिन्छन्। तैपनि मैले यसलाई उल्लेख गरिँन। मैले यो भनिन् अन्यथा उहाँलाई लघुताभाष हुने थियो। उहाँले मलाई उत्तेजित पार्न गरेका सबै प्रयासलाई मैले रोकिरहेको थिएँ। त्यसपछि उहाँ अरु दिक्क हुनुभयो। किनभने उहाँले मलाई उत्तेजित तुल्याउन सक्नु भएन। उहाँ के गर्ने र कसो गर्ने स्थितिमा पुग्नुभयो। यतिबेलासम्ममा उहाँले एक बोतल ह्वीस्की सकिसक्नु भएको थियो। उहाँ फेरि बन्दुक लिएर आउनुभयो। बन्दुकको नोजल टेबुलमा ठोक्नुभयो। उहाँको गोजीमा दुईवटा रिभोल्बर थिए। 'यु आर डेड। यु आर द बास्टर्ड हु ह्याज फिनिस्ड होल मोनार्की सिन्स यु ह्याभ अराइभ्ड दिस कन्ट्री। योर फेमिली इज द बिगेस्ट बास्टर्ड।' उहाँले यी सबै गाली गिरिजाप्रसाद कोइरालालाई पनि दिनुभयो। 'तिमीहरूका कारण हामी यो स्थितिमा छौं,' उहाँले भन्नुभयो। मैले कृपया शान्त हुनुहोस्, बसौं भनें। उहाँले टेबुलमा रिभोल्भरको टुप्पोले ब्यांग ब्यांग हानिरहनुभयो। फेरि उनी अघि बढ्न लाग्दा उनको ब्रदर इन्लले रोक्न कोसिस गरे। सुरुमा हिमानी हुनुहुन्थ्यो। पछि उहाँहरूले छोडेर जानुभयो। आफ्ना गार्डसँग केहीबेर फुसुरफुसुर गरेर फेरि उहाँ आउनुभयो। 'मैले तिम्रो श्रीमती र छोरालाई ल्याउन आदेश दिइसके। तिमीहरूलाई लाइन लगाएर मार्दिन्छु,' उहाँले भन्नुभयो। त्यसपछि उहाँले बन्दुक दाहिने हातले लिएर ताक्नुभयो। मैले भनें, 'भाइ, तपाईं किन यसरी एग्रेसिभ हुनुभएको? कृपया शान्त हुनुहोस्। तपाईंलाई के भयो?' उहाँ सम्झनसक्ने अवस्थामा हुनुहुन्नथ्यो। 'मैले तपाईंलाई केही नराम्रो भनें?' मैले उहाँलाई सोधें। त्यसपछि उहाँले पेस्तोल मेरो निधारमा राख्नुभयो र भन्नुभयो, 'म सुट गर्न गइरहेको छु। कसैले एक शब्द भन्न सक्ने छैनन्, यो मेरो एरिया हो।' त्यसपछि म काप्न थालें। हामीसँग आफूलाई संरक्षण गर्ने कुनै हतियार थिएन। म सामान्य नागरिक हुँ। म आफूलाई सुरक्षाका लागि बन्दुक चाहिन्छ भन्ने पनि लागेन। उहाँको कुनै सेन्स थिएन। सेन्स नभएको व्यक्तिले केही गर्दिनासाथ म त मारिने भएँ। उहाँले भन्नुभयो, 'तिमीले राजतन्त्रको सम्मान गर्नुपर्छ।' 'म गर्छु,' मैले भनें, 'मैले तपाईंको पनि सम्मान गरिरहेको छु।' त्यसपछि उहाँको ब्रदर इन्लले उहाँलाई तान्नुभयो। के गर्न लाग्नुभएको? उहाँ राम्रो मान्छे हो भन्दै उहाँले पारसलाई तान्नुभयो। बिचरा, उहाँलाई धकेलिदिनुभयो। त्यो बेलामा म कापिरहेको थिएँ। मैले उहाँको बन्दुक खोसेर सुट गरौं भने पनि उहाँका सुरक्षाकर्मीले मलाई सुट गर्छन्। म के गर्ने भन्नेमा अल्भि्कएँ। त्यसपछि डाइनिङहलबाट बाहिर निस्केर उहाँले एक राउण्ड गोली चलाउनुभयो। जनरल म्यानेजर, मेरा दुई साथी मसँगै कापिरहेका थिए। उनीहरूले रुबेल भाग भनेपछि भान्छाको पछाडिको ढोकाबाट भागें। मलाई जनरल म्यानेजर कोर्टयार्डमा लिएर गए। त्यो बेला मेरो दिमागले हजारौं कुरा सोचिरहेको थियो। यो जनरल म्यानेर पनि उसैसँग मिलेको छ कि? म कोठाबाट बाहिर गएर झाडीमा लुके। उनीहरूले मेरो परिवारलाई आक्रमण गर्छन् भन्ने लाग्यो। मैले होटलमा आवाज र ढोकामा ड्याम्म हानेको सुनिरहेको थिए। ठूलो आवाज सुनिरहेको थिए। उनी लजमा गए होलान भन्ने लाग्यो। उहाँले सबैलाई मार्नुभयो भन्ने थियो। मेरो मुटु मेरो हातमा थियो। त्यहाँ के भयो भन्ने मलाई थाहा थिएन। बन्दुकजस्तो आवाज थियो, तर बन्दुक होइन। मेरो सबै सकियो भन्ने थियो। मैले दुई घण्टा भगवानको प्रार्थना गरे। मेरो हातमा बन्दुक भएको भए मैले सिध्याइदिने थिए, किनभने मैले तालिम पनि गरेको थिएँ। हतियार बिना मैले केही गर्न सक्ने थिइन। त्यसपछि उहाँकै दुईजना सुरक्षाकर्मी आए। उनीहरूले मलाई खोजिरहेका थिए। मैले सोचें मलाई मार्न पठाएको होला। उनीहरूले बिचारा भनेको सुनेपछि म झाडीबाट आएँ र उनीहरूलाई भेटें। मलाई आक्रमण गरे भने आक्रमण गर्नु पर्ला भनेर पछाडि लठ्ठी लुकाइरहेको थिएँ। तर, उनीहरूले त्यो देखेनन्। मैले तीन दिनदेखि यही ज्याकेट लाइरहेको छु। मैले सोधें, 'मेरी श्रीमती र छोरो मारिए?' उनीहरूले भने, 'छैन सर, हामीले यो इडियटलाई तपाईं र तपाईको परिवारलाई खोजिरहेका छौं भनेर झुक्याइरहेका छौं। तपाईं र तपाईं परिवारलाई हामीले सुरक्षा दिइरहेका छौं। त्यसपछि मैले आफूलाई थाम्नै सकिन पग्लिएँ। ---   मेरी श्रीमती, मेरो छोरा र म घटनाबाट अझै भयभित छौं। हामी विश्वास गछर्ौं नेपालमा फेरि यस्तो हुने छैन जे घटना भयो, त्यो ठीक भएन। खासमा म मिस्टर पारसलाई चिन्दिन। मेरो जीवनमा उनलाई यसअघि कहिल्यै भेटेको थिइँन। जीवनमा पहिलो पटक मैले उनलाई त्यही दिन चिनेको हुँ। उनले भनेका र गरेको कुराको सबैजनालाई जानकारी छँदैछ। मैले तपाईंलाई भनेका कुरामा विश्वासन नगर्नुहोस्। कृपया तपाईंहरू गएर के ठीक हो र के बेठीक भन्ने आफैं पत्ता लगाउनुहोस्। त्यसपछि कानुनले आफ्नो बाटो लिनेछ। यो घटना राष्ट्रियरुपमा छलफलको विषय हो। म आफ्नो परिवार, साथइका साथ दुई दिन टाइगर टप्समा रमाइलोका निम्ति गएको सामान्य नागरिक मात्र हुँ। तर, यो देशमा मेरा असंख्य साथीहरू र तपाईंहरूबाट पाएको समर्थनबाट अभिभूत भएको छु। धेरै धन्यवाद। मलाई टाइगर टप्सबाट राम्ररी निस्कन सहयोग गर्ने श्रीमान पारसका निजी सुरक्षा गार्ड, मेरो परिवार र मेरा साथीहरूलाई समेत धन्यवाद दिन्छु। ईश्वरलाई धन्यवाद छ र धन्यवाद हामीलाई सहयोग गर्ने अन्य साथी र परिवारसमेतलाई। हाम्रोबीचमा कुनै विवादको विषय थिएन। श्रीमान पारस केही अल्कोहल नलिएसम्म सुरुमा निकै मित्रवत हुनुहुन्थ्यो। उहाँलाई नियन्त्रण गर्न मुस्किल परेको हुन सक्छ। मैले उहाँविरुद्ध केही गरेको थिइँन। मलाई यो देशका प्रत्येक व्यक्ति तथा समाज र प्रत्येक संगठन र विश्वका सबै मुलुकप्रति सम्मान छ। म महसुस गर्छु, यो घटना अल्कोहलका कारणले भएको थियो र उहाँले विशेष गरी म, मेरा साथी, मेरी श्रीमती र मेरो साढे तीन वर्षको सानो छोरालाई मार्ने धम्की दिनुभयो। यसले म र मेरो परिवारलाई निकै भयभित तुल्यायो। म उहाँ विरुद्ध केही छैन। उहाँ एउटा मानव हुनुहुन्छ। म आशा गर्छु उहाँ राम्रो हुनुहुनेछ र राम्रो हिसाबले सोच्नुहुनेछ। प्रस्तुतिः गुणराज लुँइटेल

Nas · Dec 14, 2010 11:01 AM · 10,559 views

3 Replies

I dont' think Paras would say that he is going to kill him by point gun at his forehead lol. If he did, this Bangladeshi guy won't be here saying this now.

i_my · Dec 14, 2010 11:09 AM

HAN HAN HAN ....SALE DHOTI  LAI HANNNNNNN

dhhirajojha · Dec 14, 2010 11:14 AM

Ha ha, when the time to chose death and life, he makes all kind of story. Note this: 'अरे भाइ किन चिन्ता  गर्नुहुन्छ हामी जाऔंला,' रमाइलोसँग मैले यसो भनिरहेको थिएँ। If his side of story is true, This may have offended PARAS. otherwise, the story seems fictious.  

Khumbule · Dec 14, 2010 12:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all