नकारात्मक राष्ट्रवादको स्वरूप 12/12/2010 02:52:00 आनन्दराम पौडेल भीमकाय आकारका पार्टीले हामीलाई जसरी प्रशिक्षित गर्दै छन्, त्यो नकारात्मक र ध्वंशात्मक राष्ट्रवादको पाठ हो केहीअघि भोजनगृहमा भएको जमघटमा पनि चर्चाको विषय मतदाता परिचयपत्र नै रह्यो र केही संवेदनशील र महत्त्वपूर्ण सवाल उठे । श्री सूर्यनाथ उपाध्यायजीले निर्वाचन आयोगले अडान लिन सकेन भनेर उसलाई दोष दिनु गलत हो, यी ठूला भनाउँदा पार्टीहरू नै दोषी हुन् भन्नुभयो । निर्वाचन ऐनमा मतदाता नामावली संकलनसम्बन्धी जुन प्रावधान राखिएको छ, त्यो नै सैद्धान्तिक आधारमा गलत छ भन्ने उहाँको दाबी थियो । त्रिवि राजनीतिशास्त्रका प्राध्यापक श्री लालबाबु यादवजीको अभिव्यक्ति तथ्यपूर्ण, वैज्ञानिक र विवेकपूर्ण थियो । उहाँले राख्नुभएका मध्ये दुइटा कुरा अहिले म सम्भिmरहेछु । एउटा कुरा, उहाँले अनागरिकलाई मताधिकार विश्वमा कहीँ छैन भन्नुभयो । अर्कोचाहिँ तराईको मनोविज्ञानसँग सम्बन्धित थियो । तराईमा ५० वर्षमाथिका वृद्धवृद्धा र ३५ वर्षमुनिका युवाबीच यस विषयमा नितान्त फरक सोच छ । जतिजति बाहिरियाले नागरिकता लिँदै जान्छन्, त्यतित्यति हाम्रो अवसर गुम्दै जान्छ भनेर युवा सोच्छन् । तर, प्रौढमा कुण्ठा बढी छ र त्यसले सधैँ नकारात्मक भावलाई बढाइरहेको छ भन्ने उहाँको कथनको सारांश थियो । छलफलमा नेपालमा जत्तिको खुकुलो, हल्का र अनागरिकका लागि ख्याल गरेर बनाइएको नागरिकता ऐन अन्यत्र कहीँ छैन भनेर धेरैले जोडदार रूपमा राख्नुभयो । यति खुकुलो र हल्का तवरले नागरिकता सर्वसुलभ गरिँदा पनि नागरिकताको प्रमाणपत्र लिन नजाने, लिन अल्छी गर्ने अनि निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र माग्यो भनेर घुर्की लाउनेलाई के संज्ञा दिने हो भनेर प्रस्ताव पनि आयो । नागरिकताका आधारमा मतदाता परिचयपत्र बनाउने निर्वाचन आयोगको अभियानलाई ठूला पार्टीले किन ठाडै असहयोग गरेर विफल बनाए भन्ने जिज्ञासा आम तवरमा प्रकट भयो । नेपालका ठूला पार्टीहरूको डबल स्ट्यान्डर्ड, ढोँग र पाखण्डका विषयमा बताइरहनु पर्दैन । नागरिकताका आधारमा मतदाता परिचयपत्र बनाउने अभियानलाई ठूला दलले विफल बनाउनुमा दुइटा कारण प्रस्टै देखिन्छन् । पहिलो र मुख्य कारण दिल्लीको साउथ ब्लक हो । ठूला राजनीतिक दलहरूको दिल्ली सम्बन्ध 'भित्रभित्र लम्पसार, बाहिरबाहिर मुर्दावाद' सूत्रमा आधारित छ । नेपाली जनता अझै पनि राष्ट्रवादी र देशभक्त भएकाले जनतातिर फर्केर यिनीहरू राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको चर्को नारा लगाउँछन् । जसले जति चर्को राष्ट्रियताको नारा लगाउँछ, त्यसले त्यति नै साउथ ब्लकसँग आफ्नो स्वार्थ मिलाइरहेको हुन्छ । तत्कालीन माले (वर्तमान एमाले) ले इतिहासको लामो कालखण्डसम्म कोसी र गण्डकीको मुद्दा उछालिरह्यो । टनकपुरको मुद्दामा देशै उचाल्यो । तर, महाकालीको प्याकेज बोकेर दिल्लीसँग स्वार्थसम्झौता गर्ने पनि त्यही थियो । जनतातिर फर्केर 'राष्ट्रिय स्वाधीनता' घोकाउने एनेकपा माओवादीले दिल्ली रिझाउनकै लागि त्यस्तो घिनलाग्दो नागरिकता ऐन बनाउन सल्लाह र सम्मति दियो । आफ्नै स्वार्थसम्झौतामा भएको हुँदा नेकपा एमाले महकाली सन्धिको विषयलाई जसरी बिर्साउन खोज्छ, त्यसैगरी आफ्नै सल्लाह र सम्मतिमा भएको हुँदा एनेकपा माओवादी त्यो घिनलाग्दो नागरिकता ऐनलाई कोट्याउन चाहँदैन । दिल्ली रिझाउनकै लागि त्यस्तो नागरिकता ऐन बनाउन तत्पर भएका यी ठूला दलले मतदाता परिचयपत्रमा गरेको ठाडो असहयोगलाई अनौठो र अस्वाभाविक ठान्नु हुँदैन । जब यिनै ठूला दल राष्ट्रियता र राष्ट्रिय स्वाधीनता फलाक्न थाल्छन्, तब त्यो क्षण अत्यन्त पीडादायी बन्न पुग्छ । नागकिरताका आधारमा मतदाता परिचयपत्र बनाउन लाग्दा भाँजो हाल्ने यी ठूला दलको अर्को भित्री नियत 'प्रोक्सी मत'को लोभ हो । भन्नलाई यिनीहरू दिनरात स्वच्छ निर्वाचन भट्याइरहेका हुन्छन, तर यिनीहरूको ध्यान जेजसरी भए पनि निर्वाचन परिणामलाई आफ्ना पक्षमा पार्नमै केन्दि्रत हुन्छ । देश र जनता यिनीहरूको जिब्रोमा झुन्डिरहेको हुन्छ, तर यथार्थमा यिनीहरूको नजर सत्ताकेन्द्रको कुर्सीमा हुन्छ र त्यो कुर्सीमा विराजमान हुन सधैँ हतारिएका र आतुर हुन्छन् । सत्तामा पुग्नका लागि जोसँग पनि र जेजस्तो पनि सम्झौता गरिरहेका हुन्छन् । संगठित छ भने जघन्य अपराधीलाई पनि काखी च्याप्छन् । योभन्दा अघिल्लो सरकारले जघन्य अपराधमा लिप्त संगठित अपराधी गिरोहका तीन सय ४९ थान मुद्दा फिर्ता लिएको थियो भने वर्तमान सरकारले पनि पटकपटक गरी धेरै मुद्दा फिर्ता लिइसकेको छ । दुःखद विडम्बना के छ भने जसले जति चर्को स्वरमा सामाजिक न्यायको नारा भट्याउँछ, त्यसैले सर्वाधिक अपराधीलाई काखी च्यापिराखेको हुन्छ । हिजो पञ्चायतकालमा दौरा, सुरुवाल र टोपी लगाएर राष्ट्रभक्षण गर्नेहरू नै जनतातिर फर्केर राष्ट्रियता भट्याउँथे । अहिले दिल्ली रिझाउन हत्ते हाल्नेहरू नै राष्ट्रिय स्वाधीनताको हल्ला गरिरहेछन् । नेताहरूले राष्ट्रियतालाई दोधारे तरबारका रूपमा जुन प्रयोग गरिरहेका छन्, त्यो हाम्रो कमजोरीको फाइदा लिएको पनि हुन सक्छ । राष्ट्रियताका विषयमा हाम्रो अज्ञानतालाई उनीहरूले आफ्नो स्वार्थमा भजाएको पनि हुन सक्छ । हामीले सर्वाधिक हेक्का राख्नुपर्ने सूत्र के हो भने असली राष्ट्रवादले नागरिकलाई नस्ल, धर्म, जात, थर, गोत्र, रंग, भाषा लिंग र क्षेत्रका आधारमा विभाजित गर्दै । आफ्नो जात थर र गोत्रको भए त्यसलाई भूमिपुत्र, महान् र दिव्य अनि अर्को जात, थर र गोत्रको पर्नासाथ त्यसलाई निकृष्ट भन्दैन । औपचारिक र अनौपचारिक कुनै व्यवहारमा पनि भेदभाव गर्दैन । उत्पादन प्रक्रियामा सबैले आफ्नो योग्यता र क्षमताअनुसार योगदान गरून् भनेर उत्प्रेरित गर्छ । निहुँ खोजीखोजी र अत्तो थापीथापी आपसमै विभाजित भएर भिडिरहने द्वेष, ईष्र्या र जलन नहुने भएकाले त्यहाँ पर्याप्त सामाजिक पुँजी निर्माण हुन्छ, जसले आर्थिक समृद्धिलाई बल पुर्याउँछ । जातपात, नश्ल, धर्म, सम्प्रदाय जस्ता सिमसिमे राजाका पालाका कुडाकर्कट विचारमा नअल्मलिने भएकाले विचार, दृष्टिकोण र लक्षचिन्तन याथार्थपरक र वैज्ञानिक बन्दै जान्छ । त्यसले अभिव्यक्ति, कर्म, चरित्र र शैली उन्नत पार्छ । अब प्रश्न उठ्छ के यी ठूला भनिएका भीमकाय पार्टीका नेताले राष्ट्रलाई असली राष्ट्रवादको दिशातर्फ अग्रसर गराए त ? जवाफ प्रस्ट छ, गराएनन् । किन गराएनन् त ? किन गराएनन् भने जनतालाई विभाजित नगराई उनीहरूको हालिमुहाली नचल्ने भएकाले गराएनन् । साबिकमा बि्रटिसले अपनाएको 'डिभाइड एन्ड रुल' पोलिसीलाई नै यिनीहरूले पनि लागू गरे । यिनीहरूको डबल स्ट्यान्डर्ड, ढोँग र पाखण्ड यहाँ पनि देखियो । सामन्तवादलाई निमिट्यान्न पार्छु भन्नेहरूमै चरम सामन्ती चरित्र देखियो । भीमकाय आकारका पार्टीले हामीलाई जसरी प्रशिक्षित गर्दै छन्, त्यो नकारात्मक र ध्वंशात्मक राष्ट्रवादको पाठ हो । नकारात्मक वा ध्वंशात्मक राष्ट्रवाद 'जिरो सम गेम' सूत्रमा आधारित हुन्छ र 'स्याडिस्ट' भावनाले ओतप्रोत हुन्छ । 'जिरो सम गेम' अर्थात् तिनीहरूको नोक्सानी, मेरो सन्तुष्टि । नकारात्मक राष्ट्रवादमा रचनात्मक र सृजनात्मक सोच तथा विवेक र न्यायका लागि स्थान हुँदैन । नागरिकलाई नश्ल, जात, थर, गोत्र, सम्प्रदायजस्ता एकदमै अवैज्ञानिक र नितान्त भावनात्मक आधारमा विभाजित गरिन्छ र अर्को जातलाई नथिची, नमिची र नसिध्याई उत्थान सम्भव छैन भनेर उत्तेजित पारिन्छ । भारतको संघ परिवार -भाजपाको सहयोगी संगठन), महाराष्ट्रमा बाल ठाकरे र राज ठाकरेको शिव सेना, अफगानिस्तान र पाकिस्तानका तालिबानीहरू, हिटलरको नाजी पार्टी र इटालीको मुसोलिनी यी सबै नकारात्मक राष्ट्रवादका प्रमुख उदाहरण हुन् । नकारात्मक राष्ट्रवादीको गोडा जमिनमा हुँदैन र दृष्टि भर्टिकल आकाशको शून्यमा फोकस हुन्छ । वर्तमानको कठोर यथार्थलाई पन्छाउँदै विगतका नाममा एउटा काल्पनिक नेपथ्यको रुमानी संसारमा रम्न खोजेका हुन्छन् । नकारात्मक राष्ट्रवादीले आफ्नो पछौटेपनको कारण आफूभित्र खोतल्दैन । आफ्नो दुर्दशाको दोष अरू कसैको थाप्लामा चढाउन सधैँ उद्यत रहन्छ । दोष थोपर्न तथ्य र आधार केही नभेट्टाए मिथकको सहारा लिन्छ । दुई-चार सय वर्ष वा हजार/बाह्र सय वर्षअघि हाम्रो पुर्खाको कुनै व्यक्तिलाई त्यसको पुर्खाले अन्याय गरेको किंवदन्ती भेटियो, त्यसको बदला योसँग किन नलिने भन्ने ताइनतुईको अत्तो थापेर चितुवाले बाख्राको पाठोलाई झम्टेसरि आक्रमण गर्छ । अक्षमता र महत्त्वाकांक्षाको अन्तर्द्वन्दले उब्जाएको कुण्ठा नै नकारात्मक राष्ट्रवादको स्रोत बन्न पुग्छ । सुप्रसिद्ध मनोविश्लेषक एरिक पमले 'सेन सोसाइटी' नामक पुस्तकमा विगतको असफलताको कुण्ठाको अभिव्यक्ति नै नकारात्मक राष्ट्रवाद हो भनेका छन् । प्राध्यापक लालबाबु यादवजीले यथार्थको चुरो पकड्नुभएकै हो । अहिलेको वितण्डावादी सोच कुण्ठाको अभिव्यक्तिबाहेक केही होइन । http://www.nayapatrika.com/new...
_____ · Dec 12, 2010 11:33 AM · 1,939 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion