अनुराधाका मतदाताको जिम्मेवारी - केदार शर्मा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अनुराधाका मतदाताको जिम्मेवारी केदार शर्मा भानु भट्टर्राई सिएनएन हिरोज्मा अनुराधा कोइरालाको मनोनयनले नायकत्वको खडेरी परेको नेपाली समाजमा ठूलो लहर ल्यायो। उनलाई मत दिने अभियान नै चल्यो। कतिले बूथ क्याप्चरकै शैलीमा मत हाले। अन्ततः उनी यस वर्षको सिएनएन हिरो भइन्, हामी सबै खुसी भयौं। तर प्रश्न छ― अनुराधाले पाएको नेपाली मत उनको कामको समर्थन हो कि उनको छविमा आफ्नो पहिचान खोज्ने अवचेतन प्रयत्न पनि। शृङ्खलाबद्ध विफलताले गर्दा हाम्रो सफलताको भोक चर्को छ र संसारलाई देखाउन सक्ने गरी केही गर्न नसकेको हीनताबोधका कारण हामीलाई नानाथरीका कीर्तिमानहरूमा रमाउने बानी लागेको छ, चाहे त्यो स्वाभाविक रूपले बढ्न नसकेका खगेन्द्र मगरको जस्तो बिडम्बनापूर्ण कीर्तिमान होस् वा निरर्थक औकीहरूमा अरूलाई उछिन्ने रोहित तिमिल्सिनाको कीर्तिमान। सञ्चारमाध्यमले दिएको अनावश्यक महत्वका कारण पनि यस दौडमा धेरै लागेका छन्। गिनिज बुकका पानाबाट मुलुकको सम्मान बढाउन खोज्ने समाजमा अनुराधाको प्राप्तिलाई पनि नेपाली गौरवका रूपमा बुझ्िने खतरा निकै छ। त्यसैले, अनुराधा कोइरालालाई मत दिने प्रत्येक नेपालीले आफैंलाई जवाफ दिनुपर्ने प्रश्न हो― मैले किन मत दिएँ? मेरो मत भीडको आवाज मात्र थियो कि उनको अभियानप्रति समर्थन पनि? मैले धेरै मत दिएको मत सङ्ख्या बढाउन मात्र हो कि त्यो आफूमा भएको बढी प्रतिबद्धताको सचेत अभिव्यक्ति पनि? यो अन्तर्राष्ट्रियस्तरको सम्मानको चमकले अनुराधाको काम र नामलाई निकै उज्यालो पारेको पक्कै हो। धेरैलाई उनको कामबारे थाहा भयो। उनको अभियानले विश्वव्यापी मान्यता पाएकोमा उनले बधाई पाउनुपर्छ। तर, उनले अहिले सिएनएन हिरो भएर नेपालको इज्जत बढाएको ठानिन्छ भनेचाहिँ दुई दशकयता उनले नेपालको इज्जत जोगाउन र नेपालीको मर्यादाको रक्षा गर्न गरेको कामको महत्व नबुझनु हो। नेपालमा महिला बेचबिखन विरुद्ध काम गर्ने संस्था अनेक छन् तर माइती नेपालको जत्रो पहिचान र प्रभाव अरूको देखिँदैन। नारीलाई पशुसरी बेच्ने अपराध रोक्न भइरहेको सबैका प्रयत्नले जनमानसमा स्वतः एउटा ब्रान्ड पाएका छन्― माइती नेपाल। कतै अप्ठ्यारोमा परेका बेसहारा महिला देखे माइती नेपालमा खबर गर्नुपर्ने भनेर आम मानिसले सोच्नु नै अनुराधाको सबभन्दा ठूलो सफलता हो। लाग्छ, उनका अनुहारमा ज्ञानेन्द्रको मन्त्रीपदले लगाइदिएको मोसोसमेत मान्छेका आँसु पुछ्दा-पुछ्दै मेटिइसकेको छ। आलोचकहरू मिडिया चलाउन जान्ने भनेर दबेको स्वरमा अनुराधाको आलोचना गर्छन्। उनीसित साक्षात्कार नभएको यस पङ्तिकारलाई यसबारे केही थाहा छैन। तर उनको भेषभूषा र संस्थाको नाम मात्र हेर्दा पनि उनी धरातलमा उभिएकी महिला हुन् भन्ने छर्लङ्ग हुन्छ। उनले २०४७ सालपछि चलेको आफ्नो कामको पूरै जानकारी दिने अङ्ग्रेजी नाम राखेर त्यसको छोटकरी एक्रोनिमबाट संस्था चिनाउने विकासे पाराको दातामुखी फेसनमा भन्दा सबैले बुझने अर्थपूर्ण नेपाली नाममा विश्वास भयो। उनले अङ्ग्रेजीमा अनुवादसम्म पनि नहुने नाम माइती नेपाल राखेर संस्था चलाइन्। काम महिलाको दासताका विरुद्ध गरिन् तर सारी र टीकालाई दासताका प्रतीक भनिनन्, र त्यही भेषभूषामा माइतीको अभिभावक अर्थात् आमाको छवि बनाइन्। पछि पहिचानले प्रभावलाई र प्रभावले पहिचानलाई बढाउँदै गए र उनी अझ् बलियी हुँदै गइन्। हिरो त्यसै भइँदैन, सशस्त्र विद्रोह र प्रतिकारका हिस्सेदारहरूबाट अर्बौंको क्षति र खर्च भयो र १२ हजारभन्दा बढी नेपालीको ज्यान गयो, धेरै बढीलाई कहिल्यै नमेटिने चोट पर्‍यो। त्यही अवधिमा एउटी महिलाको प्रयासले विना कुनै क्षति, विना रक्तपात केही करोडको खर्चमा १२ हजार भन्दा बढीको ज्यान र मान जोगियो। अनुराधा कोइरालाले पाएको मत अधिकांशतः शिक्षित र कम्प्युटर साक्षर व्यक्तिको भएकोमा यो उनको अभियानले नै पाएको समर्थन हो भनेर आशा गर्ने ठाउँ छ। शिक्षित र सचेत व्यक्तिका केही जिम्मेवारी हुन्छन्। राजनीतिक निर्वाचनमा होस् वा सामाजिक सन्दर्भमा, आफ्नो मतलाई सार्थक बनाउन खोज्नु बौद्धिक मतदाताको स्वभाव र जिम्मेवारी नै हो। अनुराधा कोइरालालाई दिएको मत उनको अभियानको समर्थन हो भने त्यसले अलिकति क्रियाशीलताको माग गर्छ। उनलाई मत दिने प्रत्येक व्यक्तिले आफ्नै मतको इज्जत राख्न पनि केही न केही गर्नैपर्छ― चाहे माइती नेपाललाई कुनै किसिमको स्रोत वा स्वयंसेवा उपलब्ध गराएर होस् वा अन्त कतै केही गरेर। उनलाई मत दिने प्रत्येक व्यक्तिले महिलाको दासताको प्रतिकार वा रोकथामका लागि काम गर्नुपर्छ। महिलाको प्रतिष्ठाका लागि आ-आफ्ना ठाउँबाट विशेष प्रयत्न नगर्नेलाई अनुराधालाई मत दिएकोमा गर्व गर्ने वा उनलाई बधाई दिने नैतिक हक पनि छैन।  

shirish · Dec 6, 2010 2:10 PM · 4,061 views

2 Replies

तर, उनले अहिले सिएनएन हिरो भएर नेपालको इज्जत बढाएको ठानिन्छ भनेचाहिँ दुई दशकयता उनले नेपालको इज्जत जोगाउन र नेपालीको मर्यादाको रक्षा गर्न गरेको कामको महत्व नबुझनु हो।

shirish · Dec 6, 2010 2:18 PM

केदार शर्मा जियुमा बस्तुपरकताको गम्भिर खडेरी परेको छ जस्तो लाग्छ। कुनै एउटा कोणबाट हुनसक्छ प्रबासमा बसेका नेपाली लाई आफु र आफ्नो समुदाएको पहिचान झल्काउने रहर होला तर यो पक्कै पनि अनुराधाको बिसौ बर्ष देखिको कामको पहिचान हो। बिदेसमा बसेर पनि आर्थिक सहयोग गर्ने अवस्था सम्म पुगीनसेकेका नेपाली हरुले गरेको कर्तबय पालन मात्र हो। र, अनुराधालाई मत दिनेमा नेपाली मात्रै थिएनन। Child trafficking for sex अमेरिकाको पनि समस्या हो। Just few weeks ago there was a sting operation conducted by FBI. According to report some 140 under-aged girls who were forced to opt to profession were rescued. सिएनएन हिरो हेर्ने सबैले नै प्राय अनुराधाको काम्कै सर्हाना गरे होलान।  केदार जि, कलम चलाऊने नेपालमा अरु पनि धेरै ठाउँ छन।  

Narayangarh suburb · Dec 6, 2010 4:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all