PPl accepting living together

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

» विवाह गर्नैपर्छ र ? विदुर खतिवडा उषा जीवनलाई अलग ढंगले व्याख्या गर्ने नयाँ पुस्ताकी प्रतिनिधि पात्र हुन् । त्यसैले प्रयोगधर्मी उषा एउटा नयाँ प्रयोगमा लागिन् । नेपाली समाजका निम्ति अलिक असुहाउँदो हो कि जस्तो लाग्ने उनको यो प्रयोगलाई उनी भने सामान्य रूपमै विश्लेषण गर्न रुचाउँछिन् । बिलियम विगत एक दशकयता नेपाल बस्दै आएका छन् । सुरुमा उषा, त्यसपछि बिलियमको चर्चा भयो । किन ? किनभने ३२ वर्षीय बिलियम र २३ वर्षीया उषाले संयुक्त रूपमा नयाँ प्रयोगलाई आत्मसात् गर्ने निर्णय गरे । गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड सहरिया पुस्तामा सामान्य भैसकेका शब्द हुन् । तर उषा र बिलियम वै वाहिक सम्बन्ध कायम हुनुअगावै गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डको यही विशेषणको सहायता लिएर साथै बस्ने प्रयोगमा जुटे । '५ महिना भयो,' बिलियमकी लिभ इन पार्टनर उषाले भनिन्— 'हामीले एक-अर्कालाई नजिकबाट बुझ्न विवाहअघि नै साथै बस्ने निर्णय गरेका  हौं ।' महाराजगन्जस्थित एउटा ठूलो घरको कुनामा यी जोडी भेट्टिन्छन्, तर सधैं सँगै हुन्छन् भन्ने छैन । एउटा आफ्नो धुनमा हुन्छ भने अर्को अर्कै धुनमा । 'काम त गर्नै पर्‍यो नि, काम सक्यो अनि भेट गर्‍यो,' उषा भन्छिन्- 'बिलियम र म दुवै जना किचेनमा पसेर  खाने मेसो टार्छौं अनि दिनभरिका अनुभवलाई आधार बनाएर गफिन्छौं ।' एक यात्राको क्रममा बिलियमको साथ पाएकी उषाले यात्राकै क्रममा जीवन बिताउन साथी आवश्यक पर्ने महसुस गरेकी थिइन् । 'जीवनको एउटा मोडमा पुगिसकेपछि साथीको महत्त्व हुँदो  रहेछ,' उषाले भनिन्— यात्राका क्रममा बिलियमको हातको सहारामा हिँड्दा मैले त्यस्तै महसुस गरेकी थिएँ । पहिलो भेटमै उषाले बिलियमलाई आफ्नो सपनाको राजकुमार भेटेजस्तै अनुभूति भएको बताइन् । स्वतन्त्र भएर बस्ने निर्णय गरेपछि डोली अन्माएजस्तै गरी माइतीबाट बिलियमका साथ महाराजगन्ज आएकी उषाले ऊसँगै जीवन बिताउने निर्णय गरिसकेकी थिइन् । त्यस्तै बिलियम पनि उषासँग खुसी थिए । उषाको बुझाइमा यसरी बस्नु भनेको आफ्नो  जीवनसाथीलाई नजिकबाट चिन्ने अवसर पाउनु हो । यसरी बस्नुको अन्तिम गन्तव्य विवाह नै हुन्छ र ? उषा भन्छिन्- 'एक-अर्कालाई बुझ्ने क्रममा मन पर्‍यो भने विवाह हुने हो, मन नपरे विवाह हुनैपर्छ भन्ने छैन तर विवाह नगरी साथै बस्ने (बिफोर म्यारिज  लिभ इन टुगेदर) भनेको दुवैको सहमतिमा केही समय बस्ने वा जीवनभर बस्ने दुवै हुनसक्छ ।' उषा र बिलियमको यो जीवनशैलीमा थुप्रै रमाइला कुरा छन्, एकछिन त्यो कुरा छोडिदिउँ, राजधानी काठमाडौंमा यो शैली अँगालेका मानिसहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । नेपाली समाजमा त्यस्ता व्यक्तिहरू सार्वजनिक हुन चाहँदैनन् । 'तपाईंले  भनेजस्तो जीवनशैली अँगालेकाहरू थुप्रै देखेको छु', चलचित्र निर्देशक आलोक नेम्वाङ भन्छन्- 'तर हामीकहाँ पश्चिमी जगत्जस्तो आफूलाई आधुनिक देखाउने आँट गरिहाल्ने समय भैसकेको छैन कि ?' नेम्वाङका अनुसार— अमेरिकामा रहँदा १८ महिनासम्म एक  अमेरिकी युवतीलाई उनले पनि पार्टनर राखेका थिए, तर उनको त्यो कथा पनि त्यहाँ रहुन्जेलसम्म मात्र कायम रह्यो । नेपालमा नि ? नेम्वाङ भन्छन्- 'यहाँ छैन । यहाँको समाजमा म त्यत्रो साहस गर्न सक्दिनँ ।' उषा आफ्नो चाहनालाई तर्कसङ्गत ढङ्गले स्पष्ट पार्ने युवती हुन् । त्यसैले पनि उनले आफ्नो जीवनशैलीलाई आफ्नै चाहनामा डोर्‍याउने आँट गरिन् । सँगै बस्ने कुरामा बिलियम र आफू दुवैले बराबर भूमिका खेलेको समेत उनले बताइन् । 'यसरी बस्दा  आइपर्ने राम्रा-नराम्रा दुवै पक्षको जिम्मेवारीसमेत हामी दुवैले लिनुपर्छ', लामो श्वास तान्दै उनले भनिन्- 'तर हाम्रो प्रयोग असफल भयो र अहिले हामी आ-आफ्नै बाटोमा छौं ।' विवाह गर्नैपर्छ र ? केही वर्षअघि बलिउड चलचित्र उद्योगमा सार्वजनिक भएको चलचित्र 'सलाम नमस्ते' को कथा विवाह नगरी साथै बस्ने युवायुवतीको जीवनशैलीमा आधारित थियो । नायक सैफअली खान र नायिका प्रीति जिन्टा एक-अर्कालाई नजिकको साथी मानेर विवाह नगरी  एउटै घरमा बस्ने निर्णय गर्छन् । सुरु-सुरुमा नायक-नायिकाको जीवनशैली रोमाञ्चक नै हुन्छ, तर चलचित्र अघि बढ्दै जाँदा यो जीवनशैलीका अप्ठयारा कुराहरू पनि देखा पर्छन् । चलचित्रमा प्रीति गर्भवती भएपछि यो जीवनशैली महिलाका निम्ति अझ बढी  कष्टकर हुने यथार्थ देखाइएको छ । विशेष गरी भारत-नेपालजस्ता राष्ट्रमा विवाह नै नगरी आमा बन्नुलाई नकारात्मक दृष्टिले हेरिन्छ । चलचित्रको कथालाई हाम्रो समाजको दृष्टिकोणबाट परिभाषित गर्ने हो भने प्रीतिलाई कुमारी आमा बन्ने अवस्थामा पुगेको  भनेर परिभाषित गरिन्छ । चलचित्रको क्लाईमेक्समा नायकले जीवनसाथीकै रूपमा नायिकालाई स्वीकार गर्छ । क्लाईमेक्समा मिलन नगराइएको भए समाजले चलचित्रलाई नै वर्जित गरिदिन्छ कि भन्ने डर निर्देशकलाई हुनसक्छ । अमेरिकी तथा युरोपेली जीवनशैलीमा यिनै कुरा सामान्य हुन्छन् । विवाहको कुनै विधि नै पूरा नगरी त्यहाँ पूरा जीवन बिताउनेहरू पनि छन् । जीवनको एउटा मोडसम्म सँगै रमायो अनि मन नलागेपछि फेरि त्यो जीवनशैलीलाई त्यहीं अन्त्य गर्‍यो । त्यसबीच  उनीहरूका छोराछोरी पनि जन्मिन्छन् । त्यसैगरी फेरि अर्को साथी खोज्यो, ऊसँग जीवन बितायो । त्यसलाई अरूले हेर्ने दृष्टिकोण पनि सामान्य हुन्छ । अब एउटा अर्को अर्को नेपाली जोडीको कुरा, नायिका सिर्जना बस्नेत र चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक सुरेन्द्र साह । 'हो, हामी साथै बस्दै आएका छौं, समाजले हामीलाई श्रीमान्-श्रीमतीकै रूपमा लिएको छ,' दुवैले साप्ताहिकसँगको भेटमा स्वरमा स्वर  मिलाउँदै भनेका थिए- 'भगवान्लाई साक्षी मानेर हामी दुवैले एक-अर्कालाई जीवनसाथी रोजेका हौं ।' यो जोडीको विषयमा धेरै अघिदेखि विभिन्न समाचार आए पनि मैजुबहालको एउटा फ्ल्याटमा लिभ इन टुगेदरकै रूपमा बस्दै आएका साह र सिर्जनाले  साप्ताहिकलाई आफ्नो कथा भन्न रुचाए । सानै उमेरदेखिका साथी भए पनि उनीहरू दुवैको पहिलो विवाह अन्यत्रै भएको थियो । नायिका बस्नेतको चलचित्र निर्माता विजु रञ्जितसँग विवाह भएको थियो । रञ्जित अहिले यो संसारमा छैनन् । त्यसैगरी साहकी जेठी श्रीमती साहको घर कालिमाटीमा बस्छिन् ।  रञ्जितसँग विवाह गरेपछि सुपरहिट चलचित्र देउताकी चर्चित नायिका सिर्जनाले अभिनयलाई लगभग बिदा गरेकी थिइन् । श्रीमान्‌को मृत्युपछि साहले नै उनलाई पुनः नेपाली चलचित्र उद्योगमा ल्याए । ८० किलोग्रामकी सिर्जनालाई पुनः नायिका बनाउन साहले  उनलाई कठिन शारीरिक अभ्यास गराएका थिए । करिब पाँच वर्षअघिको कुरा हो यो, साहले भने- 'डेढ वर्षसम्म प्रशिक्षक र चेलीकै सम्बन्ध थियो । त्यसपछि साहकै पहलमा उनले केही चलचित्रमा अभिनय गरेपछि सम्बन्ध अझ नजिक भयो । रञ्जितले चर्चामा  रहेकी नायिका श्रीमतीलाई चलचित्रमा सक्रिय हुने मौका दिएनन् भने साहले प्रायः अस्त भैसकेकी नायिकालाई पुनर्जीवन दिए । त्यसैले पनि सिर्जनाले साहलाई साथ दिने निर्णय गरिन् । उनीहरू साथ बस्दै आएको चार वर्ष नाघिसके पनि त्यसलाई उनीहरूले  निरन्तरता भने दिन सकेनन् । जीवनको उत्तरार्द्धसम्म साथै बस्ने वाचा गरे पनि यो जोडीले वैधानिक विवाह गरेको थिएन । छिट्टै नै वैधानिक विवाह गर्ने सोच भए पनि उनीहरूले अब सन्तान पाउने सोच राखेनन् । उनीहरू भन्थे- 'हामी भएका छोराछोरीको भविष्य उज्ज्वल बनाउनतर्फ लाग्छौं,  यो उमेरमा आएर सन्तानको कुनै चाहना छैन ।' साहको जेठीपट्टि २ छोरी १ छोरा छन् भने सिर्जनाको रञ्जिततर्फका १ छोरा छन् । बिहान उठेपछि घरका सबै काममा बराबर सक्रियता देखाउने यो जोडीको जीवनशैलीमा कहिलेकाहीं सानातिना विवाद आउँछन्,  तर दुवैको समझदारीले गर्दा त्यसले ठूलो रूप लिन सक्दैन । यद्यपि यस्ता दाबीलाई आफैंले गलत साबित गर्दै अहिले उनीहरू आ-आफ्नै अलग बाटोमा छन् । जीवनशैलीलाई आ-आफ्नै दृष्टिकोणले परिभाषित गर्ने पश्चिमा समाजको सिको गर्ने कुरामा नेपालीहरू पनि पछि छैनन् । विश्वव्यापीकरणको प्रभावकै कारण विदेशमा बस्ने नेपालीहरूको संख्या पनि बढ्दै गएको छ । यसकारण त्यहाँको शैलीको प्रभाव यहाँ पर्नु  स्वाभाविक हो । लिभ इन टुगेदरको यो शैलीमा रमाउने युवा पुस्ताले त्यसलाई मस्तीका रूपमा समेत लिने गरेको छ, जसले गर्दा लिभ इन टुगेदरका महिला यात्रीले नसोचेको दुर्घटना पनि बेहोर्नुपरेको छ । डा. अभि सुवेदीको भनाइ मान्ने हो भने अहिलेको पुस्ता  उत्तर आधुनिक प्रयोगमा व्यस्त छ । त्यसैले माया-प्रेममा पनि यो पुस्ताले उत्तर आधुनिक प्रयोगलाई आत्मसात् गरिसकेको छ । परिवारको दबाबले वा आफैंले पनि जीवनसाथी हुने व्यक्तिलाई राम्रोसँग नचिनी विवाह गर्ने हुँदा जोडीहरू विवाह गरेको केही समयमै एक-अर्कालाई साथ दिन नसक्ने भनेर छुट्टिएका -सम्बन्ध-विच्छेद) उदाहरण पनि प्रशस्त छन् । विवाह गरेर सामाजिक रूपमा  श्रीमान्-श्रीमतीको दर्जा पाए पनि कटुतापूर्ण व्यवहारका कारण जोडी नै दुःखी हुने गरेका छन् । त्यस अर्थमा हेर्दा विवाहअघि नै सँगै बस्ने यो शैलीले जीवनसाथी कस्तो छ भनेर बुझ्न धेरै सहयोग गर्छ, तर हाम्रो जस्तो समाजमा विशेष गरी महिलाको त्यसरी  बसेपछि विवाह भएन भने अर्को विवाह हुन त्यत्तिकै कठिन हुन्छ । साथै त बस्ने तर महिला साथी गर्भवती भए के गर्ने, फेरि सलाम नमस्ते चलचित्रमै फर्किएर वैवाहिक जीवन नै अँगाल्ने कि, एक्लाएक्लै जीवन बिताउने ? पश्चिमी समाजमा भए दोस्रो-तेस्रो विवाह पनि सम्भव हुन्छ, तर त्यो हाम्रो परिप्रेक्ष्यमा त्यति सजिलो छैन् ।  यदि यो प्रयोगलाई आत्मसात् गर्ने हो भने युवा-युवती दुवैको समान चाहना हुनुपर्छ । फेरि कुरा आलोककै, आलोक भन्छन्- 'तपाईंले भनेका यी सबै कुराको प्रयोग नेपालमै भैसकेको छ । यसकारण समाजले मान्यता नदिए पनि कसैले यो शैलीलाई रुचाउँछ भने त्यो उसको आत्मनिर्णय हो, यसमा कसैले टिप्पणी गर्नु आवश्यक छैन ।' त्यसो त विदेशमै पनि धेरै नेपाली युवायुवती स्वदेशी वा विदेशीसँग यही शैलीमा जीवन गुजारिरहेका छन् र तीमध्ये  कतिपय वैवाहिक सम्बन्धमा पनि बाँधिन्छन् भने कति विवाहअघि नै अलग भैसक्छन् ।

switu · Nov 22, 2010 4:37 PM · 1,755 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all