कल्पदृश्य:

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उसले झ्याल बाट वाहिर नियालीरह्यो । उ मलाई आज नियाल्न चाहँदैन । शायद उ आफूलाई म वीना वाँच्ने वानी बसाउन चाहन्छ । वा आफ्ना आँखामा केहि लुकाउन चाहन्छ ।केटा मान्छे जिद्दि हुन्छन् , उ आफ्नो म विना बाँच्न नसक्ने कमजोरी किन देखाओस् तर कट्दै गरेको वाटोले देखेको छ म उसका लागी कति आवश्यक अपरिहार्य भएकी छू । पानी नपरेर होला वाटो भरी धुलै धुलो भएको छ । त्यसमाथी काठमाण्डौको जाम , सवै जना हतारमा यो हतारको शहर हो । तर म आज समय रोक्न चाहन्छु । म मेरो चाहनालाई अर्को आफ्नै चाहनाले रोक्न चाहन्छू । "पानी को वोटल कुन झोलामा छ ?" मैले पानी खान खोजेकी हैन उसको अनुहार पढ्न खोजेकी हुँ ! म उसको थकित हुँदाको अनुहार , उ खुशी हुँदाको अनुहार , उ रिसाउँदाको अनुहार सवै चिन्छू उसका आँखा उसको भाव छूट्याइदिने लिट्मस भएका छन् ।उसले म सँग आँखा जुधाएन रातो झोलाबाट पानीको बोटल निकालेर मलाई थमाइदियो अनि फेरि बाटो मा आँखा डोर्यायो । मैले मन नलागी नलागी दुई घूट्की पानी निलिदिएँ । मलाई सोध्न मन लाग्यो " के राखेको छ त्यो बाटोमा !!" शब्दहरु अड्किए , अहँ बोल्न सकिन !!! म त्यति क्रुर हुन सक्दिन !! मलाई कहिलेकाहिँ आफु स्वार्थि लाग्छ ।उसको र मेरो विहे भएको चार महिना मात्र हुँदैछ । म उसलाई छोडेर तिन वर्ष वाहिर जाँदैछु । फेरि सोच्छू , कति लोग्नेमान्छे छन् जसले मैले गरे जस्तो गरेका छन् । म स्वास्नी मान्छे हुँदैमा गर्न सक्दिन र ? एकचोटी सोधेकी पनि थीएँ , "मेरो कलेजबाट कन्फर्मेसन आएछ ! के गरौँ ?" उसले मेरो आँखामा नियाल्यो ! आफ्नो आँखामा केहि लुकायो , त्यो स्वार्थ थियो उसको पिडा थीयो वा माया थीयो मैले छुट्याउन सकिन !एक छीन चुप भयो । मलाई त्यो मौनता निस्सारलाग्दो लाग्यो "जाउ , क्यारियरको कुरा हो छोड्नुहुन्न !" उसले सुस्तरि जवाफ फर्कायो !!! मैले खुशि हुनु पर्ने हो वा अन्यौलमा पर्नु पर्ने हो छुट्याउन सकिन !!! *************** ************** *********** ************** ************** ************* ** उसले घडी हेर्यो ! त्यो घडी अझै पनि पहेँलो नै थीयो ! घडी किन्ने बेलामा म बुवा सँगै गएकी थीएँ ! बुवाले नाक खुम्च्याउँदै भन्नु भएको थीयो ।  "यो गोल्डेन प्लेट भन्नु मात्रै हो म हजुरबुवा पनि हुन नपाई खुइलिन्छ होला !" मलाई सुन्ने वित्तिकै रिस पनि उठेको थीयो बुवा देखि ! बिहा हुन पाएको छैन बुवालाई हजुरबुवा कहिले हुन्छू भएसक्यो । सुनेपनि मैले नसुने जस्तो गरेकी थीएँ । हुन त म त्यति खेर लजाउनु पर्ने थियो होला तर मलाई लजाइदिन खासै आउँदैन ।  "कति बज्यो ?" "एघार !" मेरो फ्लाइट दुइ बजेको थीयो थाई एयरलाईन्समा ! मैले सुनेकी थीएँ एयरपोर्ट भित्र टाइम लाग्छ । एक जना अंकलले मलाई सघाउँछू भन्नु भएको थीयो ।ट्याक्सीड्राईभर ले एफएम चेन्ज गरेर कुनै समाचार भन्दै गरेको स्टेशनमा लगायो ! " छ टाइम !" उसले सुख्खा शब्दहरु बोल्यो  "कति खेर आउने अरे त्यो सिनियर केटा तिमीलाई लिन ?" "ल्यान्ड भएको एक घण्टा भित्र आइपुग्छु भनेको छ !" "मोबायल नम्बर टिपेर राखेकी छौ हैन ?" उसले जीवनमा पहिलो चोटी मलाई सम्झायो , मैले आफ्नो मोबायलबाट डायरीमा नम्वर सारेँ ! " त्यो एफ एम अलि सानो पार्न मिल्दैन भाइ ?" म थोरै झर्किएँ , किन थाहा छैन ! उसले अचम्म मानेर मलाई हेर्यो । अनि एफएमको साउण्ड थोरै सानो बनाइदियो । एयरपोर्ट देखिन थालेको थियो !!! "पासपोर्ट राम्ररी राख्नु !"  उसले एकै छीनमा दोस्रो चोटी मलाई सम्झायो । मैले टाउको हल्लाईदिएँ स्विकारोक्तिमा !!! मनमनै मुस्कुराएँ , उ सामान्यतय आफुले राखेका सामानहरु बिर्सिने गर्छ । उसको अफिसको कार्ड , टाई अनि मोजा जुनै ठाउँमा भएपनि उसले बिर्सिन्छ । खाना खाएपछि एकछिन खोजी टोपल्छ तर भेट्दैन अनि किचनमा ठिंग उभीन्छ , उ मलाई खोजीदेउ भन्न सक्दैन दिनदिनै कति भनोस् खोजिदेउ भनेर , तर मैले नै खोज्नु पर्छ ।भोलि देखि के गर्ने हो थाहा छैन !!! ट्याक्सी रोकियो , म ओर्लिएँ आफ्ना झोला सवै निकालेँ ।एक चोटी वरिपरि हेरेँ , खुशी भएका अनुहार , मौन अनुहार , व्यग्र अनुहार !!!! एयरपोर्ट वास्तवमा सपनाहरुमा पखेटा लाग्ने ठाउँ हो !!!मेरा सपनाहरु पनि त पखेटा लाग्दै थीए । मैले परैबाट अंकललाई देखेँ !!! "ल हिँड " अंकलले वाहिर समय विताउन चाहनु भएन मैले उसलाई अन्तिम पटक हेरेँ । उ मुस्कुराउन खोज्यो , म पनि मुस्कुराउन खोजेँ । सकिन कता कता गाँठो परे झैँ भएर आयो आँखा लुकाएँ अनि एयरपोर्ट भित्र छिरेँ !!!! क्रमश:

fucheketo · Nov 12, 2010 5:13 PM · 29,938 views

14 Replies

Superb writing as usual, Fuchche Bhai. Enjoyed reading. Hope to read more soon !

maalpaani · Nov 12, 2010 9:05 PM

mummy lai airport ma chhodera aayako yaad aayo. Aasu nai aayo

mayamero · Nov 13, 2010 1:13 PM

धेरै पछी फुच्चे को कथा पढ्न पाइयो। सधैं झै 'ए वान'। अर्को भाग को प्रतिक्ष्यामा।

बिस्टे · Nov 16, 2010 1:44 PM

superb writing

bhustighre · Nov 16, 2010 5:11 PM

फुच्चे फेरि हरायो, फुच्चेलाइ हराउने रोग कसरी लाग्यो ??

crazy_love · Nov 19, 2010 9:59 AM

 सबै साथिहरुलाई नमस्कार , धेरै पछी छोडेको कथालाई पुन डोर्याउने प्रयास गरेको छू ! कथा टालेको जस्तो देखीएमा क्षमाप्रार्थी छू... कल्पदृश्य (भाग-२) ठूलो जहाजमा चढ्नु को मज्जा नै बेग्लै , म विराटनगर जाने बुद्द ठूलो आएर त्यस्मा चढ्दा कति खुशी भएकी थीएँ ! तर जीवन ले साथ खोज्छ , त्यो मजामा मैले स्वाद पाइन , झलक्क झलक्क उसको झ्याल बाट बाहिर हेर्दै गरेको अनुहार आइरह्यो । समय मलम हो भन्छन् मेरो आलो चोटमा बिस्तारै मलम लाग्ला ! म पनि उ बिना अभ्यस्त हुन सिकौँला , उसका यादले पनि मलाई खुशी देलान् । उसको सम्झनाले मेरो प्रभात ल्याउला अनि उसका इमेल हरु हावामा सुवाष बनेर छरिएलान् मेरो कोठा भरी शायद !!!  मैले आफ्नो ह्यान्डक्यारी मा भएको किताव झीकेँ ! म कितावको खासै शौकिन त होइन तर उसले मलाई पढ्नलाई किताव थमाईदिएको थियो ।मैले उसको सम्झनाकै लागी भए पनि किताव खोलेँ !!! "मेरी प्यारी सुधालाई !!!" मलाई रमाईलो लाग्यो मैले धेरै वेर सम्म ति अक्षरहरु हेरेँ एकछीन सुमसुम्याएँ त्यो मसी मै माथी पोखिएर म रंगिइरहेको छू जस्तो लाग्यो अनि अनाहकै मुस्कुराएँ । "कर्णाली ब्लुज "उसले दुइ दिनमैँ यो किताव सिध्याएको थियो ! अनी धेरै बेर घोरीएर भनेको थियो , तिमीले पनि यो किताव पढ्नुपर्छ ! आफुमा चासो नभएपनि हाँसी हाँसी टार्न मैले ठट्टा गरेकी थीएँ "तिमीले पढीसकेपछी मलाई सुनाइ हाल्छौ नी , अनी विचमा बिर्स्यौ भने दुई चोटी पढी पनि हाल्छौ !!" उसले म तिर हेर्दै भनेको थीयो  "शायद तिन चोटी पनि पढ्छु होला यो किताव त !" मलाइ कहिलेकाहिँ दिक्क लाग्थ्यो उ देखी , मैले गरेका ठट्टा हरु नबुझ्दा तर फेरी सम्हालिन्थे अनी खुशी हुन्थे हो उ मलाई साधा मनले , उसको सोझो आत्माले मन पराउँछ । उसको मायामा फूलबुट्टा छैनन् , रंग छैन , उसको माया त पानी हो मात्र गहिराइ छ । जसले मलाई डुबाउँदै लान्छ !!! कुनै रंग वीना , कुनै वुट्टा वीना पनि मलाई घोल्छ म मा प्रभाव छोड्छ । यताउति हेरेँ सवै आफ्ने धुनमा मस्त थीएँ , भित्रको धूमील , मधुरो प्रकाशमा कसैले मलाई हेरीरहेको थिएन । म अव एक्लिएकी छू । मलाई हेर्ने कोहि छैन ! किताव फरर पल्टाएँ । शुरुका दुइ तिन पृष्ठ पढेँ । कितावलाई नराम्रो भनेर म खोट लाउने आलोचक होइन तर मेरो मन त्यसमा अडिएन ।खासै पल्टाउन मन लागेन !!! झ्याल बाट आँखा डोर्याएँ तल पनि हेर्न लायक केहि देखिन । मेरो साथीले भनेको थियो । राति हिँड्दा वत्ति बलेको असाध्यै राम्रो देखिन्छ रे ! मलाई थक्क थक्क पनि लागेको थियो दिउँसोको फ्लाईट परेछ । छेवैको मान्छेलाई हेरेँ अनि मुस्कुराउन खोजेँ । उ पनि मुस्कुरायो । उसले मलाई उत्तर फर्काएन । मेरो मुस्कान को साटो पनि मौन मुस्कान नै आयो । तर मैले चाहेको त्यस्तो थीएन उ म सँग बोलोस् भन्ने थियो अहँ बोलेन । मलाई बाटो काट्ने मेलो चाहिएको थीयो !!!! अनायसै अघिका स्क्रिनका च्यानल हरु घुमाएँ ! धेरै नसुनेका अंग्रेजी फिल्म र सवै हेरेका हिन्दी फिल्म बाहेक केहि भैटीन ! फेरी राखिदिएँ रिमोटलाई !!! पासपोर्ट झिकेर अनायसै आफ्नो अनुहार हेरेँ ,त्यो गलामा तिलहरी थीएन । मेरो विहे हुनु भन्दा अघी बनाएको पासपोर्ट !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!आफ्नो घडी हेरेँ करिव साढे तिन बजेको थीयो नेपालको अहिले उ कोठा पुगेर चिया बसाउन थाली सकेको होला , हुन त आज आमा पनि हुनुहुन्छ , उ टिभिको रिमोर्टलाई सकेसम्म बटार्दै होला ! तर मलाई थाहा छ उसको ध्यान टिभी मा छैन । उ सामान्यतय चित्त ठेगानमा नभएको बेला कसैसँग पनि बोल्दैन सामान्यतय टिभिको रिमोट समात्छ वा आफुले पढिसकेका कुनै उपन्यासहरु मध्येको थाक बाटै एउटा निकालेर पढ्न शुरु गर्छ जसको अन्त्य उसलाई थाहा हुन्छ ।हो उ प्रेडिक्टेबल छ । मैले सुनेको छू अनप्रेडिक्टेबिलीटी केटी हरुको गुण हो अरे ! म त्यसै भनाई लाई दाँज्छु अनी सोच्छु हो उ केटा मान्छे हो र त प्रेडिक्टेबल छ । उ धेरै कुरा भन्दैन , मैले उसको मौनता को पनि अर्थ निकाल्नु पर्छ , स्वास्नीमान्छेले जति लोग्ने को संगत गर्दै जान्छे त्यति उ मौनता केलाउने कुरामा पारंगत हुँदै जान्छे । म उसका मौनता पछिका कारण हरु बुझ्दिन , मलाई केलाउन पनि खासै मन लाग्दैन तर उ सँधै त्यस्तै गर्छ । शायद हरेक सम्वन्धहरु त्यस्तै होलान् । उसका केहि कुरामा म कारण खोज्दिन मेरा केहि उ कुरा मा उ कारण खोज्दैन किन भने हामीले टुक्रा टुक्रामा आफू आफूलाई बाँडेर मन पराएका हैनौँ । मलाई सिंगो उ मन पर्छ त्यसका केहि टुक्राहरु सित म बाझ्ने गर्छु अनि उसलाई सिंगो म मन पर्छ त्यसका केहि पाटाहरुलाई उसले मौन विरोध गर्छ । एयर होस्टेसले ल्याएको जुसले मेरो ध्यान भंग गर्यो , आकाश मा केहि ढलमल हुन सक्छ पेटी राम्ररी बाँध्नु भनेर क्रिउकै कोहि चिच्याउँदै पनि थियो ,मैले मनमनै सोचेँ झरी हालियो भने के होला , मैले यसो उचाई हेरे आफ्नो स्क्रिन मा , कति टुक्रा हुईन्छ खासै हिसाव गर्न सकिन ! आ भयो , मलाई हिसाव गर्नु पनि छैन , मैले जुस सुरुप्प पारेँ !!!!!!  आफ्नो सिनियरको फोन नम्वर टिपेको डायरिमा उसको नम्वर फेरि हेरेँ ।म सामान्यतय आत्मविश्वास मा कमजोर छू । गरिसकेका कामहरु पनि गरेको छैन छैन जस्तो लाग्छ अनि फेरि जाँच्छु , सहि फेला पर्छ खूशि भइदिन्छु समय बित्तै जान्छ खुशिले फेरि शंकाको ठाउँ लिन्छ अनि फेरि जाँच्छू शंकालाई खुशीमा परिवर्तन गर्न !!!!!!!!! हुन त उसलाई मैले फेसबुकमा पनि एड गरेकी छू ।म सँग मेरो सिनियर नेपाली दाइ लाई भेट्टाउने धेरै उपायहरु छन् तै पनि मोवायल जस्तो सजिलो के नै होला र !!!!!!!!!   " वेलकम !" आवाज रसिलो थीयो । तर दाइको थीएन ! मैले फेसबुकको अनुहार सँग अनुहार दाँज्न खोजेकी थीएँ । दाइको अनुहार पक्कै पनि होइन त्यो ! "शरद दाइ आउने कुरा थियो हैन ?" मैले अचम्म मान्दै उसलाई हेरेँ । बाहिर आएर गोरो भएको अनुहार हुनुपर्छ यो रातो रातो तर सफा , होचो , भख्खर मोटाउन थालेको । मैले सुनेकी छु केटा हरु वाहिर आए पछि वियरले मोटाउछन् त्यस्तै केहि होला ! "दाइको आज रिपोर्ट सब्मिसनको दिन पर्यो त्यहि भएर मलाई पठाउनु भयो !" उसले सटिक मै जवाफ फर्कायो !आँखा नजुधाइकन ! मलाई आँखा नजुधाइ बोल्ने मान्छे हरु मन पर्दैनन् ।तर मैले उसलाई भन्न सकिन ! कस्ती रुखी आइमाई भन्ला फेरी !!! "मलाई घर मा कल गर्नु छ !!" मैले उसलाई आग्रही आँखाले प्रस्ताव राखेँ !! उसले मलाई मोबायल तेर्स्याउँदै म सँग भएका झोलाहरु माग्यो !! "भारी छ होला , त्यो मलाई दिनू !" मैले तेर्स्याइदिएँ । मलाई थाहा छ त्यो भारी छ ।मैले अंकलको मदतले अलि बढि नै वेट छिराएकी छु ।  "तँपाई चाहिँ शरद दाइको ??" मैले उसले गाडी चलाउँदै गर्दा बाटो मा उसलाई सोधेकी थीएँ!! "दाई भनेपछि भाइ नै भन्नु पर्ला नी हैन र !! कहिले काहिँ सम्वन्ध आफै जोड्नु पर्छ । !!" उ मुस्कुरायो मलाइ हेरेर ,यसपाली आँखामा आँखा जुधाएर ! कसरी थाहा पायो उसले मलाई आँखा नजुधाई बोल्ने मान्छेहरु मन पर्दैनन् भनेर ? "सरी मैले नाम बिर्से तँपाई को !" "मैले भनेकै छैन ! म मनोज !!" उ फेरी हाँस्यो ! मलाई पनि हाँस उठ्यो , हो उसले नाम भनेकै छैन  "म सुधा !" "मलाई थाहा छ ! " " म तँपाई कै डिपार्टमेन्टमा हो !" उसले एकछिन को शुन्यता चिरेर भन्यो !  "अहिले नेपालमा कति बजेको होला??" तर म यहाँ थीइन ! मन उतै कसैको गोल्डेन प्लेट भएको घडीको काँटामा अल्झिएको थीयो !!! क्रमश:  

fucheketo · Feb 13, 2011 1:33 PM

Superb.... really superb..

khoikkhoik · Feb 14, 2011 12:29 AM

awesome fucheketo... kasto maatrai daami lekhna sakni bhanyaaa. haayal-kaayal paarchau bhanyaa... plz arko bhaaag lai chaai dherai time nalagaaunus hai?

perfectionist · Feb 14, 2011 1:05 PM

 another masterpiece. शब्दहरु भाव सँग यति मीठो बगेका छन्, मन तृप्त बनेको छ! अर्को भागको प्रतिक्षामा! -somewhereondearth

somewhereondearth · Feb 14, 2011 2:34 PM

Awesome man!! Can't wait for your next posting!!

cajunboy · Feb 14, 2011 5:02 PM

कथा त फुच्चे ब्रोले पैसा सकिया बेला चुरोट सम्झाउने गरी लेख्या रे छ। भन्या तल-तल के। अब सम्झियो चुरोट, किन्न पैसो छैन, मागम् धुवाँ तान्दै गर्या कोई सँग भने त्यै चुरोटले सुर्ती सिध्यार खरानी पार्या जसरी आफ्नो आश एक पछी अर्को डाईलोक देर खरानी पार्ला भन्ने पीर, हावामा जति जोडले ताने नी धुवाँ आउने होईन। फुच्चे ब्रो ( हाम्रो ८ कक्षामा एक ताका १५० किलोको मचाकाजी थ्यो, छेउ पर्न नै डर लाग्ने -- यो फुच्चे ब्रोको नाम अनि लेखाईको वजनले त्यै मचाकाजी सम्झाउँछ मलाई) को क्रमश: कैले कैले जुवाको दाउ जस्तो हुन्छ फेरी -- राख्न त राख्यो --आउँछ आउँदैन ठेगान छैन। धोका देको छ नी -- हुन त देकै चै हो कि होईन कुन्नी तर मैले पाको छु। मैजारो पारम त प्रभो -- भन्या एक खिल्ली दिम पैला अनि सर्को तानम्ला। हुन्न?

Deep · Feb 15, 2011 3:54 PM

 फुच्चे मित्र ,   कहाँ हराको तिम्रो आधा लेख्दै अर्को कथा सुरु गर्ने बनि सारै नराम्रो छ थाहा छ .... पुरा गर्देउ न यो कथा ... जति पढे तेती सलल बगेको अनि हरेक वाक्यमा वजन र भावना बाँधिएको ......    कहिले पुरा गर्ने यो कथा ?

ThahaChaena · Dec 21, 2012 3:05 PM

 la fuche keto chado arko bhag chaiyo, padhna hataar bhai sakyo. 

tesko_baje · Dec 21, 2012 3:26 PM

कहिले पुरा गर्ने यो कथा ? किन अधुरो छोडेको हो के ..... पूरा गर न फुच्चे ....

ThahaChaena · Feb 28, 2014 10:18 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all