क्रमश:

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाग-१ ओरिएन्टेसनको पहिलो दिन मैले पाँच जनासङ कुरा गरेँ। ती मध्ये चार जना पुरुष र एक महिला थिए। त्यहीको स्टाफले चिनाएपछि उनिहरु म सङ कुरा गर्न राजी भएका थिए। शुरुमा त मलाइ बिस्वाश लागीरहेको थिएन कि उनिहरु मानसिक रोगी थिए। हुन सक्छ उनिहरु औषधीको असरले सामान्य अबस्थामा आइसकेका थिए। भित्र भित्र मलाइ डर पनि लागीरहेको थियो, कतै उनिहरु अचानक आबेशमा आएर प्रहार त गर्दैनन्। त्यसैले बस्ने मेच बिरामी भन्दा मैले केहि दुरीमा राखेकी थिंए। बाहिर सानो बंगैचा थियो, अरु स्टाफहरु पनि थिए। म सकेसम्म स्टाफ कतातिर छन भनेर बिस्वस्त हुन चाहन्थे। यदि मलाइ केहि समस्या परि हाल्यो भने उनिहरु मेरो उद्वार गर्न कति छिटो आउन सक्लान भनेर उनिहरु र हामीहरु बिचको दुरी कुराकानीको बिचबिचमा अबलोकन गर्थे। दुइजना सङ कुरा गरिसकेपछि म मा हौसला बढ्यो, मैले तेस्रो बिरामी आफै छाने र कुरा गर्न सक्छु भनेर अनुमति लिँए। कुरा शुरु गरेको एकै छिन पछि उसले पर एउटा महिला बिरामी बाहिर निस्केको हेर्दै थियो, उ त मेरो प्रश्न सुन्दै नसुनी उतैतिर गयो। पछि मैले देखे, उ बिक्षिप्त जस्तै थियो, उ बेला बेलामा धर्धरी रोइरहेको थियो। उ एकजना बाहेक अरु सबै मलाइ बिल्कुलै सामाजिक लागेको थियो त्यो दिन। साइकोलोजीले किन हो मलाइ सधैँ तान्थ्यो। मानिसको साइकोलोजी त्यसको असर, मानसिक स्वास्थ्य र त्यो भन्दा पनि महत्वपूर्ण अनुभवको लागि राम्रो अबसर थियो। साइकोलोजी कहिले बुझ्नै नसकिने बिषय भयो मेरो लागि। रुचि भए पनि अहिलेको अबस्था चुनौतीपुर्ण थियो। म मा अनेकौ किसिमका शंका उपशँका हरु थिए। तिनीहरुलाइ लुकाएर पनि म सामान्य बन्ने प्रयास गरीरहेकी थिए। पाँचौ बिरामी, जो महिला थी। उसैले पहिलो प्रश्न मलाइ गरी। "अब के गर्छौ त तिमी?" "भनेको मतलब।" एक्कासी उसको यो प्रश्न मैले बुझ्न सकिन, उ मेरो परिचय पत्र हेर्दैथी। "अब तिमी यहाको कर्मचारी भैहाल्यौ। तलब पाइ हाल्छौ, पढाइ पनि सकियो। अब तिम्रो के छ त अरु योजना?" "हँ---?" मैले नसोचेको प्रश्न थियो, त्यसैले जवाफ खोज्नै सकिन। जे पायो त्यही भन्न मन लागेन। "त्यसबारे मैले सोचेको छैन। तपाइ यहा आउनु भएको कति भयो?" मैले मेरो प्रश्न थाले। "यसपटक तीन महिना भयो। अब छिट्टै जेल फिर्ता पठाँउछन् होला मलाइ।" उसले जेल पनि त्यसरी नै भनी जसरी हामीहरु पसल जान्छौ। मनमा किन होला जेल जानु पर्ने भन्ने प्रश्न त थियो, तर सोध्न अप्ठ्यारो लाग्यो। त्यसैले चुप भए। "म आमा  बन्दैछु नि!" उसले आमा बन्नु पनि कुनै उत्साह नदेखाइ भनी। पहिले मैले उसको शरीर मोटै भएको कारण राम्ररी देखिन। उसले भनेपछि उ गर्भबती जस्तो देखिन थाली। मेरो अनुहारमा अरु आश्चर्यबाचक चिन्हहरु उदाउन थाले। कति सम्म ब्यक्तिगत प्रश्न सोध्न मिल्ने हो वा कति सम्म नमिल्ने म दुबिधामा परेँ। "उ त्यो युनिट छ नि!" उसले हामी बसेकै ठाँउबाट अर्को उनिट देखाइ। "हो त्यहिको एउटा बिरामी सङ मेरो सम्बन्ध भयो पोहोर आँउदा। म प्रेग्नेन्ट भएको कुरा त्यसलाइ नि थाहा छैन। अब एक महिना बाँकी छ, बच्चा जन्मिन्छ अनि म हलुका हुन्छु।" उसको कुराहरु मेरो लागि झन झन कथा जस्तो रुचिपुर्ण लाग्न थाल्यो। "अनि त्यसपछि--!" मलाइ सोध्न मन लागेको थियो, तैपनि नसोधी "ए, ए!" भन्दै टाउको हलाइरहेँ। फेरि उसैले भनी। "यो बच्चा लिनलाइ एक परिवार तयार भइसके। सामाजिक कार्यकर्ताले सबै मिलाइसक्यो। मैले बच्चा राखेर पनि के गर्नु हैन? आफै छ- छ महिनामा अस्पतालमा भर्ना हुनु पर्छ।" उसैले सोधी, उसैले उत्तर दिइ। मैले उसको बारेमा धेरै सोध्नै परेन। बाइपोलार डिस्अर्डर रहेछ शायद स्किजोफ्रेनिया पनि, अरु पनि धेरै डाइग्नोसिस थिए। उसको अरु पनि हुर्किसकेका बच्चाहरु थिए तर उसङ थिएनन्। उ कोर्ट अर्डर कुरीरहेकी थी, मैले त्यसमा केहि मद्दत गर्न सक्छु की भन्ने पनि बुझ्न चाहन्थी। म केही गर्न सक्दिन थें। कुराकानी अन्त्य गर्ने मोडमा आएपछि उसले फेरि सोधी। "तिम्रो जीबनको लक्ष्य के?" "अँ---!" म अकमक्किए। "लक्ष्य क्या लक्ष्य?" उ "गोल" "गोल" भन्दैथी मैले बुझिन कि भनेर। म उसङ माफी माग्दै रिपोर्ट बुझाउने बेला भयो भनेर हिँडे। मेरो कानमा उसको सोधाइ गुन्जिरहेको थियो "तिम्रो जीबनको लक्ष्य के?" कथाको शीर्षक नैं क्रमश: छ नि है? to be continued.. Last edited: 26-Sep-10 01:56 PM Last edited: 26-Sep-10 02:06 PM

crazy_love · Sep 26, 2010 1:52 PM · 89,750 views

96 Replies · Showing 81 - 96
Page 5 of 5

भाग-१६ नयाँ बिरामी नुहाएर सुत्न गयो। मेरो मानसपटलमा थरिथरि चित्रहरु बने, भत्किए, फेरि बने, मेटिए। उसङ कुरा गरेको रिपोर्ट तयारी गर्दा केहि समस्या आयो, सुपरभाइजरको बिदा रहेछ। त्यसैले नजिकैको वार्डमा गए। त्यहा भारतीय मुलकी कर्मचारी रहिछ। नाम प्रभा, म भन्दा पनि होचि रैछे, गोलो शरीर मान्छे नै डल्लो डल्लो। घुम्रिएको कालो केश ढाडसम्म छोडेको। अनुहारमा लिप्स्टिक, गाजल सबै चिटिक्क मिलाएर लाएकी, सुनको गहना घाँटी, हात, कान सबैतिर झिलिमिलि टल्किरहेको थियो। उ फोनमा कसैसङ कुरा गर्दै थी। एकछिन कुरे र उ सङ जे सोध्नु थियो सोधे। उसले मद्दत गरी। पहिलो नजरमै उसले मेरो गला हात कान सबैतिर निरीक्षण गरी, जहाँ पितलका गहना पनि थिएनन्, सबै बुच्चो। दक्षिण भारतिय टोनमा "हाउ आर यु?" भनी, स्वरको बोल्युम वरिपरि मात्रै हैन धेरै धेरै टाढा टाढा सम्म सुनिदो रैछ, ढ्वा ढ्वा माइक फुकेको जस्तो। उसलाइ नेपाल बारे त्यति थाहा रहेनछ, खालि नाम मात्रै सुनेकी रहिछ। उ त्यहा काम गरेको २-३ बर्ष भैसकेको रहेछ। सामान्य कुरा गरेपछि म मेरो आफ्नै वार्डमा फर्के। शेरी, मेरो मातहतको कर्मचारी, जसले पहिलो भेटमै ज्याकसङ मलाइ लक्षित गर्दै "यो मात्र यहा कति दिन टिक्ली र?" भनेर कानेखुशी गरेकी थिइ, मलाइ खोज्दै रैछे। उ बिरामी बिदामा थी र काममा नआएको धेरै दिन भैसकेको थियो। शायद मेरो बिदामा उ फेरि आएकी हुनु पर्छ। हुन त, उसको र मेरो सङै काम् हुदा कहिले म बिदामा हुन्छु कहिले उ। त्यसैले मैले उसलाइ नदेखेको धेरै भैसकेको थियो। "आज मैले केहि खानेकुरा ल्याएकी छु। उता ब्रेक रुममा छ।" शेरीले मलाइ भेट्नासाथै भनी। "तिमीलाइ कस्तो छ?" मैले सोध्नै मन नलागे पनि भने। "डाक्टरले त अझै काममा फर्किने बेला भएको छैन भन्दैथ्यो। तर म आफ्नै जिद्दिले आए।" मलाइ उसको कुरा पत्यार लागेन। उ यस्तै कति बहाना बनाएर कयौ दिन सम्म बिदामा बस्थी रे पहिला पनि। "तिमीलाइ पिज्जा मन पर्छ? मैले पिज्जा पनि ल्याएको छु।" शेरीले फेरि भनी। "मन पर्छ।" मैले खासै खाने इक्षाले भनेकी थिइन। "हिड न! उता जाउ!" शेरीले कर गरी। म अनिक्षामा पनि उसको पछि लागे। ब्रेक रुममा पिज्जा मात्रै हैन बिभिन्न थरी परिकारहरु थिए र एउटा चकलेट केक पनि। प्याजी रङको टेबलक्लथ र प्याजी रङको न्यापकिनहरु थिए। शेरी मात्रै होइन अरुले पनि खाना ल्याएको जस्तो लाग्यो। सुफी त्यही खानेकुराहरु मिलाइरहेकी थिइ। तर कसैले पनि मलाइ केहि पनि भनेनन्। नत्र म पनि केहि ल्याउथे। "आज ज्याकको जन्मदिन हो।" शेरीले मेरो प्रश्न अघि नै बताइ। "हो र? मलाइ किन बताएनौ? म पनि त केहि ल्याउथे नि।" मैले भने। "यतिका खानेकुरा छ, तिमीले किन ल्याउनु पर्‍यो? लौ, ज्याकलाइ पनि बोलाउ।" सुफीले केक सङै नाइफ पनि राखी। ज्याक अप्ठ्यारो मान्दै आयो। अर्को वार्डबाट प्रभा र अन्य स्टाफ पनि आए। सबैले जन्मदिनको गीत गाए, ज्याकले केक काट्यो, सबैले आ-आफ्नो प्लेटमा खाना राख्न थाले। मलाइ सुफीले बनाएको खाना लिन मन लागेको थिएन तर उसले कूकिज ल्याएकी रैछ, मेरो मनले रोक्न सकेन र मैले खाए। सुफी पो मन नपरेको त कूकिजको के दोष भन्दै २-३ वटा खाए। "हामी सबै स्टाफको जन्मदिन यसरी मनाउछौ। तिम्रो जन्मदिन पनि मनाउनु पर्छ।"शेरीले खादै भनी। "पर्दैन, पर्दैन। मेरो जन्मदिनमा म बिदा लिन्छु।" मैले हत्त न पत्त भने। "त्यसो भए तिमी काम गर्ने दिनमा मनाउला नि।" सुफी फेरि हा हा हा गर्दै हाँसी। एकछिनलाइ कामको स्ट्रेस बिर्सिए सबैले र फेरि काममै फर्के। "हे--!" मैले कम्प्युटरबाट नजर हटाए,  अगाडी कालो, धेरै अग्लो हैन तर होचो पनि हैन, ठिक्क हाइट भएको, खदिलो शरीर भएको एउटा युबक थियो। उसको आखा अलि अलि  मदहोश जस्ता, सुलुत्त परेको तर अलि उठेको नाक, अनि त्यहि नाकलाइ सुहाउने भरिलो ओठं। उसलाइ मैले पहिले पनि देखेकी हु तर कहिले सम्झिन। उसको आइडीमा "मायर" लेखेको थियो। हेर्दा उ पनि भारतिय मुलको जस्तो देखिन्थ्यो। मैले उसको अन्तिम नाम पढ्ने कोशिश थिए। "तिमी सङ रातो पेन छ?" उसले फेरि सोध्यो। त्यसपछि मैले सम्झे, उसले अस्ति पनि पेन नै माग्न आएको थियो। "म प्रभाको वार्डमा काम गर्छु क्या। तिमीले चिनेनौ कि क्या हो?" उसका आखाहरुमा अचम्मको चमक थियो। उ सहज रुपमा हासीरहेको थिएन। उसले मलाइ प्रत्यक्ष हेर्न सकिरहेको थिएन। उसका आखाहरु शायद केहि भन्दै थिए, तर मैले बुझ्न सकिन। एकोहोरो उसलाइ हेर्न थाले पछि मात्र म झल्यास्स भए, अस्ति मैले उसलाइ तिमी पनि भारतीय हौ भनेर सोधेकी थिए। "म यहीको हुँ।" उसले मलाइ भनेको थियो र उसलाइ म भन्दा पहिले पनि धेरैले त्यस्तै सोधेका रहेछन्। "तिमी कहाबाट आएकी नि?" उसले त्यही बेला सोधेको थियो। "नेपाल!" मैले भनेपछि उ अलमलिएको थियो। "एकदिन म तिम्रो देश जानेछु।" उ सङको मेरो पहिलो कुराकानीको फ्ल्याशब्याकलाइ भत्काउदै उसले मलाइ बर्तमानमा ल्यायो। "मेरो देश कहा छ तिमीलाइ थाहा छ?" मैले सोधे। "मैले हेरिसके। तिम्रो देश मलाइ धेरै सुन्दर लाग्यो। तिम्रो देशको मान्छेहरु पनि कति राम्रा रहेछन्।" उ फेरि मुस्कायो। मैले उ किन आएको बिर्सिसकेको थिए। अर्को कुनामा बसेर मायर र मेरो कुरा सुनिरहेको ज्याकले अनायासै सोध्यो।"तिम्रो वार्डमा आजकाल पेन छैनन् कि क्या हो?" "अ-- त्यस्तै भन्नु पर्‍यो।" टाउको कनाउदै मायर फेरि मुस्कायो। बल्ल मैले मायर पेन माग्न आएको सम्झे र मेरो खल्तीबाट झिकेर रातो पेन दिए। "धन्यबाद!" भन्दै उ गयो। "सबैले उसकै वार्डमा पेन पाउने, उसले मात्रै कहिल्यै नपाउने। जहिले पनि यही माग्न आउछ। अचम्म छ।" ज्याक खोल्च्याङ खोल्च्याङ गर्दै बाहिर निस्कियो। ज्याकलाइ बिनासित्ति किन टाउको दुखाउनु पर्‍यो? मलाइ मायर प्रति त्यस्तो शँका लागेन। उ गलत नियत भएको मान्छे जस्तो लागेन। जे होस् मलाइ धेरै दिनपछि यत्रो भिडहरुमा उसको हाँसोमा चुम्बकिय आकर्षण भेटेको जस्तो लाग्न थाल्यो। क्रमश: Last edited: 17-Jan-11 06:57 AM

crazy_love · Jan 17, 2011 6:51 AM

"त्रिश्ना कता गइछ? औषधी खाइन् कि खाइनन्? कसैले उनलाइ भेटे मैले सोधेको छु भनिदिनु है? Stat, DD भन्या दिदी हैन? लिमिटेड मान्छे भन्या प्रा लि को कर्मचारी भन्या हो?

crazy_love · Jan 19, 2011 1:13 PM

क्रेजी ले काम गर्ने ठाउमा त आधा भन्दा धेरै खुस्केट छन जस्तो छ, जे भए पनि रमाइलो चाँही गर्दा रहेछन । अनी साच्चै निक्की ले के गर्दै छ त ?

Stat · Jan 25, 2011 12:38 PM

भाग-१७ बेलुकी निक्कि अलि ताजा देखिन्थी, भर्खर नुहाएकी होली, अनुहारमा चमक थियो। उ किचेनमा केहि तयारी गर्दैथी, म फर्किदा। एकछिन म त्यतिकै ओल्याङ्टोल्याङ् गर्दै टिविमा च्यानल फेर्न थाले। मलाइ निक्किसङ भन्ने कुराहरु धेरै छन् जस्तो लाग्छ तर जब उ मेरै सामु हुन्छ म त्यो सबै बिर्सिन्छु। "आज कस्तो भयो त काम?" उसले तातो चिया मेरो लागि बनाइदी। "जस्तो सधै हुन्छ।" म अलिकति हासे। "भनेपछि दामी जस्तो छ।" उ नजिकै बिस्कुटको प्लेट लिएर आइ। "एउटा ह्यान्सी छ, अस्ति देखि म सङ नजिकिने कोशिशमा छ।" मैले देब्रे आँखा झिम्काए। उ उन्मुक्त हाँसी। "फेरि लबभन्दा पहिलेको ट्र्याजिडी हुने भयो।" निक्किले पनि देब्रे आँखा झिम्काइ। "अनि कस्तो छ त त्यो ह्यान्सी?" निक्कि जिस्किन थाली। "जस्तो फिलिममा नायकहरु हुन्छन्। चुस्त शरीर, मधहोशा आखा अनि लट्ठ पार्ने मुस्कान। तिमी पनि उसलाइ देख्यौ भने भुतुक्कै हुन्छौ।" मैले गफ हाके, तर बास्तबमा हो भने मायर निकै आकर्षक नै थियो। उसलाइ अभिनय आउछ कि आउदैन थाहा छैन, तर बलिवूडमा गयो भने हिट हुन्थ्यो। "एकदिन उसलाइ हेर्ने बहानामा तिमीलाइ भेट्न आउनु पर्‍यो कि क्या हो?" निक्किले योजना बनाइ। "मैले पनि तिम्रै लागि त सोचेको।" मैले भनिदिए। "किन तिमीलाइ त्याग र बलिदानको पाठ याद आयो कि क्या हो?" उसले सोधी। "सबै ठिकै छ तर--" मैले निक्किलाइ हेरे। "तिम्रो तर ले सबै कुरा पर पर हुन्छ। मलाइ थाहा छ। तिमीसङ कति धेरै तर छ।" उसले मेरो कुरा बुझिन। "उ मेरो मातहतमा काम गर्ने कर्मचारी हो, अनि एउटै सँस्थामा काम गर्ने साथीसङ कहिल्यै पनि सम्बन्ध राख्नु हुदैन, पछि धेरै जटिलता आउछन्। झन त्यसमा पनि मेरो नाम त अरु कसैको मनमा लेखिसकेको छ, त्यो डिलिट भैसक्यो कि थाहा छैन। तर मैले कसैलाइ पनि त्यस्तो नियतले हेर्न मिल्दैन।" मैले प्लेटको एउटा बिस्कुट लिए। "साचै नीलेश कहिले आँउछ?" निक्किले सोधी। "थाहा छैन। जहिले पनि ब्यस्त छु भन्छ, काठमान्डुमा धेरै काम बाकि छ भन्छ। अब त मैले सोध्नै छोडिसके।" उ पक्क परेर लाटी जस्तो हेरिरहेकी थी। "कतै नीलेशको अर्कै चक्कर त छैन? आजकाल उसले फोन गरेको पनि देख्दिन। कतै तिमीहरुको पनि टाढाको सम्बन्ध टिकाउ हुदैन भनेको जस्तो हुने त हैन?" निक्कि गम्भिर भइ। "जे सुकै हुन सक्छ। तर म अझै सकारात्मक छु। शायद नीलेश यहा आउनै रुचाउदैन, उ त्यही बस्न चाहन्छ। त्यो पनि ठिकै छ। कसैलाइ उसको इक्षाबिरुद्ध जबरजस्ती माया गराउन त सकिदैन नि।" मलाइ जे लाग्यो त्यही भने। "जीबनको दुख नै यही हो, जे गर्न मन लाग्दैन त्यही गर्नु पर्ने बाध्यता हुन्छ।" उसले टिबि अफ गरी। "तर सधै दुखी भएर बाच्न सकिदैन निक्कि। हामी जन्मेको दुखकै लागि मात्रै हैन।" मैले निक्किको अनुहारको गम्भिरतालाइ हेरे। उ उदाश भइ। "बुबालाइ फोन गर्‍यौ?" मैले त्यही प्रसङ ल्याए। "ए, अहिले खतरा छैन रे। अलि झोल खानेकुराहरु खान थालिसक्नु भयो रे। खासै मैले फोन गर्नै पर्ने जस्तो लागेन। जसको मृत्‍युको कामना म गर्थे, उसैलाइ के स्वास्थ्यलाभको कुरा गर्नु।" निक्कि पारदर्शी छे, उ कुरा लुकाउन सक्दिन। म सुनि रहे। उसको मनभित्र गढिएको ब्यथा धेरै छ, उ पत्र पत्र खोल्छे कहिले कहि। "मैले आमाको ममता पाइन, जन्मिनेबितिकै मलाइ जन्म दिने आमा बित्नु भयो। मेरो मनमा जहिले पनि मेरो आमा कस्तो हुनुहुन्थ्यो होला भन्ने लागिरहन्थ्यो। मेरो हजुरबुबा भन्नुहुन्थ्यो "उहा एक्दमै राम्री हुनुहुन्थ्यो रे, तर कसैलाइ केहि पनि नभन्ने। पीर ब्यथा सबै मनमा राख्ने। एक्लै रोएर बस्ने तर कसैलाइ केहि नभन्ने। धेरै सहनशील रे।" मलाइ अझै धेरै कुरा बुबासङ सोध्न मन लाग्थ्यो। तर बुबा त सधै सानी आमाको लोग्ने र उहाबाट जन्मेको सन्तानको मात्रै अभिबाबक हुनु भयो। म त को न को भये।" निक्किको दुख झन ठुलो छ मैले महशुस गरे। नीलेशको मौनताले जति मलाइ चोट पुर्‍याउछ त्यसको तुलना निक्किको दुखसङ गर्नै सकिदैन। "तिम्रो गालामा सेतो दाग छ भनेको हैन?" निक्किले मैले बिर्सेको कुरा सम्झाइ। " अँ, हेर त।" मैले आज राम्ररी अनुहार हेरेकी पनि थिन। "ए, हो त अलि अलि छाया जस्तो पो छ। डाक्टरलाइ छिट्टै देखाउ।" निक्किले नि देखी सेतो दाग। "अब अर्को हप्ता जानु पर्ला। हुन त यसले मलाइ केहि गरेको छैन। दुखेको छैन, अलिकति छाया जस्तो त हो। बेकारमा किन चलाउनु आफै जान्छ कि है?" मलाइ निक्किको राय चाहियो। "त्यो पनि हो, बेकारमा नचाहिने के चिन्ता गर्नु ? त्यति देखिदा नि देखिदैन। भित्रि सौन्दर्यको तुलनामा बाहिरी सौन्दर्य गौण हुछ।" निक्किले मलाइ राहत दिने कोशिश गरी। "भित्रि सौन्दर्य देखिने माइक्रोस्कोप भए पो। हेर्ने त बाहिरी सौन्दर्य नै हो, हैन र?" मैले सोधे। "तिमी सुन्दर छौ, भित्रबाहिर दुबै।" उसले मलाइ फुर्क्याइ। "तिमी पनि राम्री छौ, भित्रबाहिर, आध्यात्मिक,साँसारिक सबै रुपमा।" मैले नि उसलाइ सर्काए। तर हामीहरु सामान्य छौ, भिडहरुमा भिन्दै देखिदैनौ, भिडकै एउटा भाग जस्तो मात्रै। "हामी बाहिर नगएको धेरै भयो है?" निक्किले अनौठो कुरा ल्याइ। "सधै जान्छौ नि, काम, ग्रोसरी, ग्यास स्टेसन! के भनेको बाहिर नगएको रे?" मलाइ हाँसो उठ्यो। "एसो ककटेल नपिएको धेरै भयो। अब यो विकेन्डतिर जाउ। मेक्सिकन मार्टिनि! के छ बिचार?" उसले फेरि पिउने कुरा झिकि। "त्यसमा त मेरो असहमति हुनै सक्दैन। साँच्चै एउटा राम्रो ठाउमा जाउ। कति जिन्दगीको तनाबलाइ सुमसुमाइरहने?" मलाइ नि ठिक लाग्यो उसको प्रस्ताब। "कति सम्म महङो रेस्टुरेन्टमा जाने त? तिमी मलाइ आइडिया देउ त।" उसले जहिले पनि बजेटिङ्लाइ पहिलो प्राथमिकता दिन्छे। त्यो राम्रो कुरा पनि हो। मलाइ चाहि त्यस्तो आइडिया छैन। "ह्या, जहा राम्रो ककटेल पाउछ त्यही। के बजेटको कुरा गरिराको? क्रेडिट कार्ड जिन्दाबाद!" बजेटको कुराले मनलाइ खुम्च्याउछ कहिले कहि। अस्तिको महिना जाबो ५ किलोमेटर मात्र बढी हुदा पनि स्पीडि टिकेटले १४० तिर्नु पर्‍यो। साच्चै क्रेडिट कार्ड कहा राखे भन्दै म खोज्न थाले। निक्कि गुगल सर्च गर्न थाली बेस्ट ककटेलको लागी। क्रमश:

crazy_love · Jan 28, 2011 2:03 PM

बल्ल अब रमाइलो होला जस्तो छ कक्टेल पिएपछी अनी हेर त क्रेजी लाई जो देखे पनि ह्यान्सी लाग्न थालेको ।  निलेश ले थाहा पाए के भन्ला । म सँग उस्को फोन न छ, फोन गर्दिउ? ल ल छिटो लेख्न पर्‍यो कथा जहिले पनि शुक्रबार नै कुर्नु पर्ने । 

Stat · Jan 28, 2011 3:42 PM

stat कतै पूर्व जन्मको नारद त हैन? जहिले नि कुरा लाउनी मात्र कुरा गर्छ,  कि काम नै कुरा लाउने मात्रै हो? निलेशलाई मै फोन गरुला, पीर नगरे हुन्छ।

crazy_love · Feb 2, 2011 12:01 PM

भाग-१८ निलेश र मेरो कहिले मनमुटाब भएको छैन। गुनासोको त के कुरा गराइ भयो र? कहिले सङै बस्ने मौका नै भएन। म आफ्नो रफ्तारमा कुदे र उ आफ्नो। कहिले दोबाटो आयो र घुम्तिहरु ओझेल भए, पत्तै भएन। अझै पनि उसले मलाइ "मलाइ बिर्स!" भनेको छैन न त मैले उसलाइ यस सम्बन्धलाइ पूर्णबिराम दिउ भने। मनमा धेरै चोटि त्यस्ता बिचारहरु नआएका भने होइनन्। तर निलेश जहिले पनि केहि नभएको झै कुरा गर्छ, मानौ उसलाइ यो अबस्थाले कुनै प्रभाव परेको छैन। उसको लागि उसको ब्यबसाय, परिबार र साथीभाइपछि मात्र मेरो स्थान आउछ। पहिले चिट्ठि र फोनकलहरु भैरहन्थे, त्यसपछि कहिले कहि इ-मेल र अब आजभोलि सबै बन्द भएको छ। पछिल्लो चोटि कहिले हाम्रो कुरा भयो त्यो पनि बिर्सि सके। आजकाल इ-मेल पनि चेक गर्दिन। बेकारमा किन मन खिन्न बनाउनु? नभेटिने बाटोहरु कहिले  जोडिएका हुदैनन्। "निलेश र तिम्रो झगडा कहिल्यै हुदैन है?" निक्किले अचानक मलाइ झस्काइ। "किन हुनु पर्‍यो झगडा?" मैले उसैलाइ सोधे। "हुन्छ नि मायामा सानो तिनो झगडा।" उसले सानोतिनो भनेको कस्तो हो मैले बुझिन। "माया भए पो झगडा।" मैले छोटो जवाफ दिए। "उसले तिमीलाइ मिस गर्दैन?" निक्कि पनि के के सोध्छे। "मलाइ के थाहा?" उसैलाइ हेरे मैले। "तिमी त गर्छौ नि हैन? कि तिमी पनि?" यत्रो समय सङै बसेर पनि निक्किले मेरो बारेमा थाहा नपाएको जस्तो गरी। "मिस गर्नुको अर्थै नभए पछि सम्झेर के गर्नु?" त्यो कुराहरु जसले मनलाइ दुखी बनाउछ, नसम्झेकै राम्रो। "पहिले जस्तो तिमी आजकाल उसको कुरै गर्दैनौ।" निक्किलाइ नि थाहा छ। पहिला र अहिले केहि फरक भएको छ। "उसको लागि उसको क्यारिअर ठुलो छ। उसको जिबनमा मेरो कतै स्थान छैन।" मैले महसुस गरेको कुरा त्यही हो। "तिम्रो जिबनमा नि? निलेशको स्थान छ कि छैन?" निक्किले मैले आफैले आफैलाइ सोध्न नसकेको प्रश्न सोधी। "उसले आफै मेरो मनमा ठाँउ ओगट्ने हो, तर उ बिस्तारै बिस्तारै बिस्थापित हुन चाहिरहेको छ। यस्तो अबस्थामा म केहि गर्न सक्दिन।" कति गार्हो अबस्था चाहेर मेट्न नसकिने उसको स्थान। "खासै भन्ने हो भने मलाइ तिमीहरुको सम्बन्ध सफल हुन्छ जस्तो लाग्दैन। तिमीहरु दुबै एक्दम फरक प्रकितीका छौ। कहि केहि मिल्दैन।" निक्किले साँचो कुरा गरी। "त्यो बारे चिन्ता नगरौ। भोली बिहानै काम छ, म सुत्न गए।" भन्दै म हिडे, उ एकोहोरो मलाइ हेर्दैथी। निद्रा त कहा पर्थ्यो र? निलेश भेटेदेखिको एक एक कुराहरु सम्झिन थाले। पहिलेको उ र अहिलेको उ मा आकाश जमीनको फरक थियो। उ भन्थ्यो मेरो महत्वकाक्षा धेरै छ, नेपालमा पनि मेरो लागि थुप्रै अबसरहरु थियो तर मैले बिदेश रोजे। उसको बिचारमा यो सबन्धको सबै पाटो भत्काउने वा बनाउने क्षमता म मा मात्रै छ। तर मलाइ त्यस्तो लाग्दैन, हामी दुबैको प्रयास उतिकै हुनु पर्छ जस्तो लाग्छ।  बिहानको अलार्मले अधकल्चो निद्रालाइ पराजित गर्दै मलाइ काममा जानै पर्ने बनायो। म सधै झै समयमा पुगे र आफ्नो जिम्मेदारी बहन गर्न थाले। केहि नया बिरामीहरु थिए, धेरै पुरानै थिए, सबैभन्दा पहिले मैले कर्मचारी भनेर झुकिएको लुइस अझै डिस्चार्ज भएको थिएन। उसको घर छैन रे, तर अरु आवासग्रीहमा पनि उसलाइ बस्न मन लाग्दैन रे। मनखुशी उ अस्पताल आउछ र आनन्दले समय बिताउछ। अचेल उ धेरै बिक्षिप्त छैन, पहिले पनि त्यस्तो बिरामी त देखिदैनथ्यो। उ पहिले भन्दा धेरै कम बोल्छ। डिप्रेसन हो कि जस्तो लाग्छ र म आफै घरि घरि उसलाइ बोलाउन जान्छु। "म अर्को हप्ता डिस्चार्ज हुदैछु।" उसले अध्यारो मुख पार्दै भन्यो। "धेरै राम्रो नि! अनि कहा जाने त?" मलाइ खुशी लाग्यो, उ मैले काम शुरु गरेदेखि यही थियो। "कहा हुनु? कुनै ग्रुपहोम जहाँ हुल्याहाहरु दादागिरी गर्छन् र फेरि मलाइ सताउछन्। पैसा लुट्छन्, भनेको नमाने पिट्छन्, जे पायो त्यही गर्छन्।" उ अरु बिरामी जस्तो डिस्चार्ज हुदा खुशी थिएन। "औषधी चाहि खान नबिर्सिनु नि। त्यस्तो हुल्याहाहरुदेखि अलि टाढै बस्नु।" मैले उसको पीडा बुझे झै गरे।  "तिमी त यहाको बाताबरणमा पनि टिक्यौ नि। मलाइ त तिमीलाइ पनि यिनीहरुले छिट्टै लखेट्छन् जस्तो लाग्थ्यो।" उसको आखामा खुशी देखे। "जहा गए पनि यस्तो चुनौतीहरु त भैहाल्छन् नि हैन र? " मैले लुइसलाइ सोधे। "हो। तर चुनौतीहरुदेखि भाग्नु नै जिबनदेखि भाग्नु हो। तिमी भागेनौ त्यसैले तिमीले सामना गर्न सिक्यौ, अझै सिक्दैछौ र सिकिरहन्छौ।" उ मुसुक्क हास्यो। "पहिले त तिमी मलाइ म केटि मान्छे, पहेली र सानी भएकीले मलाइ सबैले हेप्छन् भनेर तर्साएका थियौ नि।" मैले पहिले उसले मलाइ भनेको प्रसङ दोहोर्‍याए। "मैले तिमिमा जिन्दगीसङ सम्झौता गर्ने वा नगर्ने क्षमता कति छ भनेर जाँच लिएको थिए। तिमी सफल भयौ।" लुइसले यति गहिरो कुरा गर्छ भन्ने मलाइ लागेको थिएन। "तिमीले मलाइ तर्साउनु तर्साएका थियौ। मैले झन्डै काम छोडेकी!" मैले फेरि उसलाइ उसले भनेको कुराहरु दोहोर्‍याए। "डराएर, भागेर, छोडेर जिन्दगीमा  कहिल्यै पनि  गति लिन सक्दैन। बिस्तारै सामना गर्न पर्छ, कहिल्यै लडिन्छ, थाकिन्छ र हरेश खाइन्छ। त्यसो हुदैमा बाँच्नै छोड्ने कुरा गर्नु त भएन नि।" लुइसको कुरा म सोचमग्न भएर सुनिरहे। "के तिमीसित कुरा गर्न सक्छु?" कतै सुनेको जस्तो आवाजले लुइस र मेरो कुराकानीमा अबरोध गर्‍यो।  मैले टाउको घुमाएर ढोकातिर हेरे। त्यहा मायर थियो, उहि मदहोश आखा, गालामा खाल्टो, मनमोहक मुस्कान। मैले लुइसलाइ "पछि कुरा गरौला।" भन्दै निस्के, मेरो अघि मायर थियो। म जादुले एकोहोरो बनाएझै उसकै पछि पछि हिडिरहेकी थिए। क्रमश:  

crazy_love · Feb 4, 2011 1:53 PM

 Nilesh! la la balla thaha bhayo crazy ko crazy hunu ko reason. la la aba Nislesh sanga gareko sabbai secret pani thaha pauna na aba. 

north pole · Feb 5, 2011 8:13 AM

 धेरै अगाडी देखि पढिरहेको थिए तपाईको कथा .... आज नलेखी बस्नै सकिन... सारै राम्रो लेख्नुहुन्छ तपाई ... अर्को भागको प्रतिक्षामा .... 

Aakinchan · Feb 5, 2011 1:16 PM

भाग-१९ मायर वार्डको बाहिर जाने ढोका हुदै फेरि हलभित्र पस्यो र देब्रेतिर ब्रेकरुमभित्र पस्यो। म त्यसरी नै ब्रेकरुममा गए। भित्र कोहि पनि थिएनन्, लन्च टाइम नभएकोले ब्रेकरुम शुन्य थियो र पनि मलाइ अलि अलि डर र संकोच लागिरहेको थियो। कतै कोहि आइ हाल्यो भने के सोच्ला भन्ने पीर? मैले चारैतिर हेरे, सबैतिर मौन भित्ताहरु हामीलाइ हेरेर बसेको झै लाग्थ्यो। एउटा कुर्सी तानेर मायरले मलाइ बस्ने संकेत गर्‍यो, पहिले त मलाइ बस्न मन लागेन तर उ पनि अर्को मेचमा बसेपछि म चुपचाप बसे। एकछिन उसले मलाइ हेरेन, आफ्नै हत्केलाको रेखाहरु हेरेर घोरिन थाल्यो। त्यसपछि एक मुट्ठा पेनहरु खल्तीबाट झिक्यो। "यो सबै पेन तिमीसङ सापट लिकेको मैले। तिमीलाइ याद छ?" उ पेनहरु गन्न थाल्यो। "कति वटा रैछ?" मलाइ के भनु के भनु भएर सोधे। "७ वटा! के तिमीलाइ मैले यो पेनहरु म सङ नभएर तिमीसङ सापटि लिएको जस्तो लाग्छ?" उसले मलाइ सोध्यो। "मैले कहिले त्यसरी सोचिन। तिमीले माग्यौ, मैले दिए।" कहिले कहि चाहि मलाइ शँका नलागेको हैन। तैपनि मैले झुठ बोले। "तर मान्छेहरु यहा के के हल्ला फिजाइरहेछन्। तिमीलाइ थाहा छ?" उसले सोधेको प्रश्नले मलाइ झस्कायो। "हल्ला?" मैले त्यति मात्रै भन्न सके। "यहाका मान्छेहरु भन्छन् म तिमीलाइ जालमा पार्न चाहन्छु। किनभने तिमी म भन्दा आर्थिक रुपमा निर्भर छौ। तिमी स्मार्ट छौ। त्यसैले म तिमीसङ प्रेमको नाटक गरिरहेछु।" मैले पनि कहिले कहि त्यस्तै सोचेको थिए, तर मैले मायरलाइ भन्न मिल्दैनथ्यो। म मौन रहे। मैले हो वा हैन भन्नु उपयुक्त हुदैनथ्यो। "त्यसो भए तिमी पनि त्यस्तै सोचिरहेकी छौ?" मायरले मेरो कुरा बुझ्यो क्यारे, मेरो हैन मनमा लागेको कुरा।  "मलाइ थाहा छैन तिमी यो के सन्दर्भमा कुरा गरिरहेको छौ?" मेरो कुरा सुनेर उ चुप लाग्यो। एकजना स्टाफ ब्रेकरुममा आयो, तर हामीलाइ देख्नासाथै तुरुन्तै फर्क्यो। "शायद तिमी मेरो कुरा बुझेर पनि बुझ पचाइरहेकी छौ वा तिमीलाइ अप्ठ्यारो लागिरहेको छ। तर पनि मैले तिमीलाइ भन्नै पर्छ। म तिमीलाइ मन पराउछु।" मायरले कुरा सकाए जस्तो लाग्यो। म जुरुक्क उठेर भाग्न सकिन न त केहि बोली फुट्यो। मलाइ लाग्यो मायर मात्र बोलिरहोस् र म सुनिरहु, मेरो अधरमा गुलाफी फूलहरु फक्रिन थाले। मेरो मुटुको धड्कन अनायासै बढ्न थाल्यो। "मलाइ तिम्रो बारे केहि थाहा छैन। तर पनि मन पराउछु। मन पराउनु अपराध हैन। के तिमी पनि मलाइ चाहन्छौ?" मैले नचाहेको तर मन पराएको प्रश्न। यो प्रश्नको उत्तर के हुन सक्छ? मन पराउनु अपराध हैन भने किन मन नपराउने। उ राम्रो छ, मलाइ मन पराउछ मैले मन पराउन किन नहुने? म सोच्न थाले। "म सङ केहि छैन। म पनि अरुहरु जस्तै सामान्य काम गर्छु र मलाइ कसरी बाच्ने भन्ने प्रश्नले दुख दिरहन्छ। तर म काम गर्न सक्छु। रुमानी फिलिमहरुमा जस्तो महङो उपहारहरु दिएर प्रेमिकाको मन जित्न सक्दिन। म गरीब छु। तिमीले मलाइ मन नपराउन यही नै कारण पनि पर्याप्त छ।" मायर भाबुक हुन थाल्यो। "तिमीलाइ जसले पनि मन पराउन सक्छ। तिम्रो ब्यक्तित्व धेरै आकर्षक छ।" मैले उसलाइ जे हो त्यही भन्न खोजे। "म तिमीलाइ सोधीरहेछु। मलाइ थाहा छ, धेरैले मलाइ मन पराउछन् तर सबैलाइ म माया गर्न सक्दिन। मन पराउनु र माया लाग्नु फरक कुरा हो।" मायरले जवाफ मसङै खोज्दैथियो। "मेरो परिस्थिति बेग्लै छ। मैले तिमीलाइ मन पराउनु व नपराउनुको केहि अर्थ छैन।" मैले उसलाइ हेर्न सकिन, मन धमिलो हुन थाल्यो। "ठिकै छ। यदि तिम्रो परिस्थिति त्यस्तै छ भने मेरो भन्नु केहि छैन।" एक छिन मौन रहेपछि उसले भन्यो "म प्रेमको मामलामा सधै अभागी छु।" "मलाइ माफ गर। एउटा परिस्थितिले गर्दा भाग्यलाइ नै दोष दिनु ठिक हुदैन। समय परिबर्तनशील छ, मन परिबर्तन हुन सक्छ। तिम्रो जिबनमा पनि त परिबर्तन आउन सक्छ।" मैले सकि नसकि उसलाइ सान्त्वना दिन खोजे र आफैलाइ पनि।  "म यो काम छोड्दैछु।" उसको अप्रत्याशित अन्तिम बाक्यले मन चिसो हुन थाल्यो। "कारण?" भनेर मैले सोध्न सकिन। "तिम्रो कारण हैन। मैले भने नि म गरीब छु। मलाइ जहा अलि धेरै पैसा पाइन्छ त्यही काम गर्नु पर्ने बाध्यता छ। यो ठाउ मलाइ छोड्न पटक्कै मन छैन। तर के गर्ने? भावनाहरुले मात्रै पनि जिबन बाच्न सकिदैन रहेछ।" मायरले मैले नसोधेको प्रश्नको जवाफ आफै दियो। "तर म असाध्यै आशाबादि छु। मलाइ बिश्वाश छ कतै कुनै दिन तिमीले मलाइ सम्झिन्छौ र त्यो बेला यो मेरो नम्बर तिमीलाइ काम लाग्न सक्छ। म त्यस दिनको प्रतिक्षामा हुनेछु।" उसले एउटा सानो कागजको टुक्रामा उसको नम्बर लेखेर दियो। मायरले पेनको मुट्ठाहरु फेरि गन्न थाल्यो, अन्त्यमा उसले एउटा लियो र बाकि मलाइ फिर्ता दियो। उ त्यहाबाट निस्किदा मैले उसलाइ "धन्यबाद!" पनि भन्न सकिन। मलाइ त्यहाबाट उठेर कहि जान मन लागेन। मायर फेरि फर्किन्छ कि भन्ने आशा लागिरह्यो। क्रमश:   Last edited: 11-Feb-11 01:14 PM Last edited: 25-Feb-11 01:34 PM

crazy_love · Feb 11, 2011 1:08 PM

north pole and Akinchan jyu, Thank you for your comment!

crazy_love · Feb 11, 2011 1:10 PM

 साहिंली, मीठो प्रस्तुतीको लागि धन्यबाद । -somewhereondearth

somewhereondearth · Feb 11, 2011 1:32 PM

हेर न क्रेजीलाई मन पनि पराउने आनी प्रस्ताब् पनि रिजेक्ट गर्ने भएन नी

bhakte dai · Feb 11, 2011 2:24 PM

 oi Nilesh ani pheri Mayer! kasai lai roji roji kohi bhukka!! Yo ta fair bhayana!!!

north pole · Feb 15, 2011 9:41 PM

भाग-२० केहि दिनपछि थाहा पाए, मायरले काम छोड्यो। उसले काम छोड्नु अघि १-२ चोटि मलाइ "हाइ" भन्न त आएकै हो, तर त्यो औपचारिक जस्तो अप्ठ्यारो खालको थ्यो। मैले पनि उसलाइ के भन्ने के नभन्ने आफैलाइ थाहा थिएन, कति घुम्तिहरु भेट्नु अघि छुटिन्छन्। शायद त्यस्तै थियो हाम्रो कथा पनि। उसले दिएको नम्बर पनि लन्ड्री गर्दा धोइयो, कागज मात्र भेटियो। निक्किसङ मेरो राम्रो भेटघाट नभएको धेरै भैसकेको थियो, उ बेलुकी क्लास जान थालेकी थी, जाँचको लागि पनि तयारी गर्दैथी क्यारे। उसलाइ डिस्टर्ब हुन्छ भनेर म आफै उसलाइ एकान्त दिन्थे। एकदिन म कामबाट फर्किदा कोठैमा भेटे। भित्र पस्नासाथै आएर अङाली र भनी "हाइ, गर्लफ्रेन्ड!"। उसको यो अप्रत्यासित ब्यबहारले मलाइ शँका लाग्यो। पक्कै पनि केहि भैरहेको छ, वा हुदैछ। तर उसको स्वासमा मिसिएको अल्कोहोलको बास्नाले सबै छर्लङ पार्‍यो। मिस निक्कि अघि नै ठिक ठिक भएर बसेकी रैछ। डाइनिङ टेबलमा सिबास रिगल र चिकेन ड्रमस्टिकहरु थिए, दुइटा गिलासहरु थिए, एउटामा उसैले पिरहेकी थी, अर्को भन्नै परेन शायद मेरो पर्खाइमा थियो। सङै मैले क्यानमा स्प्राइट पनि देखे। निक्कि मिक्स गरेर पिउदैथी। उसलाइ मैले कति भनि सके। मिक्स गर्‍यो भने झन लाग्छ भनेर, तर उसलाइ त्यस्तै मन पर्छ रे। मेरो के लाग्छ? "लेट्स सेलिब्रेट दिस मोमेन्ट!" उसले मेरो गिलास पनि भरी र "चियर्स" गर्न आइ। मैले कुन मोमेन्ट के मोमेन्ट बुझिन। एकछिन छक्क परेर उसलाइ हेरिरहे। "के को सेलिब्रेसन हो?" मैले गिलास लिदै सोधे। "अहिले यो पलको!" अलि अलि उसको बोलि पनि लर्खरिरहेको जस्तो लाग्यो। "अहिले? त्यस्तो बिषेश अहिले के छ?" मैले उसङ चियर्स गरे र एक चुस्कि लिए। "तिमी छौ, म छु र यो छ।" उसले मलाइ, उ आफैलाइ र टेबलमा रहेको सिबास रिगलको बोतललाइ देखाइ। मलाइ हाँस उठ्यो, उसलाइ लागिसकेको थियो। "आज कलेज जानु पर्दैन?" म कुर्सी तानेर उ नजिक बसे। "आज बिदा!" उसले सिनितै पारी उसको गिलास, मैले उसलाइ थप्न दिइन। "के को बिदा?" मैले त्यस्तो बिषेश कुनै दिन सम्झिन सकिन। "आज मैले आफैले आफैलाइ दिएको बिदा!" उ खितिति हाँसी र फेरि गिलास भर्न थाली। "निक्कि, अब अत्ति भयो, तिमीलाइ लागिसक्यो। पुग्यो अब!" मैले उसको गिलास खोसे। "लागेको त राम्रो नि!" उ एउटा कुनामा आखा चिम्लेर बसी। "सुत्न जाउ!" मैले उसलाइ आराम होस भनेर उसको ओछ्यान मिलाइदिए। "कमन, क्रेजी इन् लव!" उसले मलाइ तानी र म पनि उसङै भुइमा बसे। "लेट्स टक अबाउट लव।" उ फेरि हाँसी। "यो लवको कुरा कसरी आयो? कि तिम्रो शुरु भयो?" मैले सोधे। "म मायाको मामलामा अभागी छु।" उसले एकचोटि आखा खोलेर मलाइ हेरि फेरि बन्द गरी। म झस्के। यही बाक्य मायरले मलाइ भनेको थियो। "हामी एउटा सँघ खोलौँ, "मायामा अभागीहरुको सँघ" मैले ठट्टा गरे। उ फेरि खित्का छोडेर हाँसी। " म प्रेसिडेन्ट!" अनि फेरि हाँस्न थाली। "आज के भयो?" मलाइ उसको ब्यबहार अलि कस्तो कस्तो लागिरहेको थियो। "जस्तो हिजो भयो!" एक्छिन चुप लागी अनि फेरि भनी। "त्यही भयो जस्तो अस्ति भयो।" "अस्ति के भयो?" मलाइ झन कौतुहुलता लाग्यो। "आज जे भयो!" उ फेरि भुतुक्क भएर हाँसी। "भन न निक्कि! तिमी आज किन ठट्टा गरिरहेछौ?" मैले सोधे। "केहि हुन किन जरुरी छ? के हुनु पर्छ?" उसको प्रश्नहरुले मलाइ दिक्क बनायो। म चुप लागेर बसे। "निलेशले फोन गर्‍यो तिमीलाइ?" अचानक उसैले सोधी। "अहँ! किन र?" मलाइ कतै केहि भयो कि भन्ने शँका लाग्यो। "तिमीलाइ अझै पनि उसको भरोसा लाग्छ?" निक्किले जहिले पनि यही सोध्छे मलाइ। "मलाइ आशा पनि छैन, भरोसा पनि छैन।" मैले गिलास रित्याउन थाले। "तिमी किन उसङको अध्याय सकाएर अर्को शुरु गर्न सक्दैनौ?" निक्किले मैले आफैलाइ नसोधेको प्रश्न सोधी। "जसरी तिमी आफ्नो बुबालाइ माफ गर्न सक्दैनौ र उहासङ कुरा गर्न सक्दैनौ।" मेरो मुखबाट यी बाक्यहरु तीर भन्दा तिखो भएर निस्के। मैले फिर्ता लिन सकिन। मलाइ पछुतो लाग्यो। निक्कि रुँदै बाथरुमतिर दौडी, पछ्याउदै गए। उसले ढ्याम्म ढोका लगाइ। म बाहिरबाट "सरी, निक्कि मेरो अभिप्राय तिम्रो मनमा चोट पुर्याउनु थिएन। प्लिज ढोका खोल।" भन्दै बसे। मैले भित्र उसले बेसिनको धारा खोलेको सुने र त्यो सङै उसको हिक्काहरु। मलाइ सार्है नराम्रो लाग्यो। केहि बेरपछि उसके ढोका खोली। उसको आखाहरु राता राता थिए। उ आएर फेरि गिलास भर्न लागी, मैले पनि अर्को पेग थपे। "निक्कि, मलाइ माफ गर!" मैले फेरि अनुरोध गरे। "तिमीले ठिकै भन्यौ। मैले अब बुबासङ कहिले पनि कुरा गर्न सक्दिन।" निक्कि भाबुक भै। "ठिकै छ, तिम्रो मनले नमानेको कुरा तिमीले गर्नु पर्छ भन्ने छैन। आफ्नो जिबन आफ्नै खुशीले बाच्न पाउनु पर्छ।" मैले उसलाइ समर्थन गरे। "मेरो मनले चाहे पनि अब म बुबासङ कहिले कुरा गर्न सक्दिन।" निक्किको आखा फेरि भरियो। "के रे!" मलाइ डर लाग्यो। "बुबा हिजो स्वर्गे हुनु भयो रे! मैले आज बिहान मात्र खबर पाए। म निस्तब्ध भए, न रुन सके न त कराउन। म दिनभरि निस्सासिरहेकी थिए। तिमीले मलाइ ठुलो सहयोग गर्‍यौ। मैले रुनै पर्थ्यो, मैले यो पीडालाइ ब्यक्त गर्नै पर्थ्यो। अब कुनै संभावना छैन बुबासङ गुनासो गर्नलाइ।" उसले गिलास एकै स्वासमा रित्याइ। म चुप रहे, उ चुप रही, कोठा मौन रह्यो। उ फेरि बाथरुमतिर दौडी, ढ्याम्म ढोका लगाइ अनि धारा खोली। मैले उसलाइ रुन दिरहे। फकाउने कुनै शब्द थिएनन्, रित्तो रित्तो थियो शब्दकोश। क्रमश: जिन्दगी घिस्रिदै गयो! समाप्त! यो कथा पढ्नु हुने, कमेन्ट लेख्नु हुने र मौन रहेर पनि कथाको प्रतिक्षा गर्नु हुने सबै साथीहरुलाइ धेरै धेरै माया र धन्यबाद! Last edited: 25-Feb-11 01:36 PM

crazy_love · Feb 25, 2011 1:28 PM

 crazy timro 32 wota disorder kaile thick huncha, timi ta 32 lakchan le yukta param sundari tara usa ayera hospital ma baskeki last month timlai Autism bhako, yo month k ni Bipolar ki PTSD ki depression hya euta matra choose gara 32 wota ma i need new story to  read

sijupanta · Jul 31, 2011 12:01 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all