ढुंगा हानी मृत्युदण्ड दिने देशमा ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ढुंगा हानी मृत्युदण्ड दिने देशमा ... प्रमिला देवकोटा केही दिनअगाडि उत्तरी अफगानिस्तानमा एक महिला र एक पुरुषलाई अवैध सम्बन्ध राखेको आरोपमा त्यहाँको एक विद्रोही समूहले ढुंगा हानेर मार्ने निर्णय सुनायो । कानुन र सरकारको कुनै उपस्थिति नभएको अफगानिस्तानमा कुनै अतिवादी समूहको मनोमानी निर्णय नै कानुन हुने गरेको छ । अन्ततः त्यस जोडीलाई भीडले ढुंगा हानेर मार्‍यो । त्यस समाचारको विषयमा अफगानिस्तानको सलाम वान्तादार रेडियोका खेलकुद रिपोर्टर इब्राहिम मोहम्मदलाई मैले इमेलमार्फत सोधेँ, 'तिमीलाई यो समाचार कस्तो लाग्यो ? तिम्रो देशका लागि लज्जाको विषय होइन यो ? तिम्रो देशमा मानवताको यो हदसम्म उल्लंघन हुँदा पनि तिमी पत्रकारहरू के हेरेर बसेका छौ ? यस्तो मध्ययुगीन बर्बरताविरुद्ध तिमीहरूले केही बोल्नु पर्दैन ?' एकसाथ दर्जन बढी प्रश्नले मैले उनलाई 'हमला' गरेकी थिएँ । सोचेकी थिएँ- उनले मर्माहत भएर जवाफ दिनेछन्, 'जे भयो, त्यसका लागि म अत्यन्त लज्जित छु ।' तर, उनको जवाफ हलुका र अचम्मित पार्नेखालको थियो । 'मैले यो समाचार सुनेको छु । उनीहरूले विनाप्रमाण सजाय दिए । पूर्ण प्रमाण भयो भने इस्लामले त्यस्तो सजायलाई जायज मानेको छ,' इब्राहिमले भने । त्यसपछि अर्का दिन मैले उनलाई अनलाइनमा 'समातेँ' र सुरु गरेँ, त्यही स्टोनिङ टु डेथ (ढुंगा हानेर हत्या)को प्रसंग । 'शारीरिक सम्बन्ध राखेको सजाय मृत्यु हुन सक्छ ? इस्लामले त्यस्तो भनेको छ र ? इस्लामको कुरा छोड, मलाई तिम्रो विचार भन,' मैले सोधेँ । 'इस्लामको विचार नै मेरो विचार हो । म त्यसविरुद्ध गएँ भने मैले कहिल्यै माफी पाउँदिनँ,' इब्राहिमले भने, 'तिमी यो कुरामा दुःखी नबन । यस्ता कुरा हाम्रा लागि सामान्य हुन्,' उनले भने । इब्राहिमका अनुसार तालिवानी प्रभाव र पकड भएका ठाउँमा यस्ता आरोप सजिलै लाग्छन् र आरोपितको इहलीला सजिलै समाप्त पारिन्छ । उनी भन्छन्, 'इस्लामले मागेको प्रमाण नपुर्‍याई सजाय तोकिन्छ भने त्यो गलत हो । तर, अपराध प्रमाणित भएमा त्यसलाई गलत भन्न मिल्दैन । इस्लामले यसप्रकारको सजायलाई अनुमति दिएको छ । समाजमा सुव्यवस्था कायम गर्नका लागि पनि यस्ता कुरा जरुरी हुन्छन् ।' इब्राहिमले भनेको सुव्यवस्था कस्तो व्यवस्था हो, मैले पटक्कै भेउ पाइन । अफगानिस्तानमा बर्सेनि धेरैलाई अनैतिक सम्बन्ध राखेको आरोपमा ढुंगा हानेर मारिन्छ । नैतिक र अनैतिक सम्बन्ध तोक्ने र छुट्टयाउने र सजायको घोषणा गर्ने काम मुला या इमामले गर्छन्, अल्लाहका नाउँमा । धर्मभीरु र तथाकथित नैतिकतामा विश्वास गर्ने भीडले आरोपितका काम तमाम गरिदिन्छन् । खुलामैदानको बीचमा निरीह महिला/पुरुषमाथि ढुंगा हानिन्छ, उनीहरूको मृत्यु नहुन्जेलसम्म । भीडको हुंकारमा ती असहाय प्राणीका चित्कार दबिन्छन् । र, ढुंगाको थुप्रोबीच रगताम्य लास लम्पसार परेपछि यो पीडक कर्मकाण्ड सकिन्छ । ००० अर्का दिन फेरि हामी अनलाइनमा थियौँ । इब्राहिमले मलाई सोधे, 'नाजायज शारीरिक सम्बन्ध राख्नेलाई तिम्रो देशमा चाहिँ के गरिन्छ नि ?' 'जे गर्छ कानुनले गर्छ,' मैले भनेँ, 'तिम्रो देशमा जस्तो धार्मिक नेता या भीडले हाम्रो देशमा कसैको भाग्यको फैसाला गर्न पाउँदैन । यौन-सम्बन्धलाई जायज र नाजायज भनेर तोक्ने हाम्रा केही आधार हुन्छन् । कानुनी र सामाजिक आधार । तिम्रो देशमा जस्तो जथाभावी हुँदैन हाम्रोमा ।' 'ओ माई गड !' ऊ चकित भयो, 'समाजका मान्छेले केही गर्दैनन् ? यसरी त समाजमा विकृति बढ्दैन र ?' 'केको विकृति नि ? हाम्रो देशमा मानवअधिकारको राम्रो सम्मान गरिन्छ । यौन व्यक्तिगत अधिकारको कुरा हो ।' मैले उसलाई संकेत गर्न खोजेँ कि हामी सभ्य देशका बासिन्दा हौँ । 'त्यस्तो पनि कहीँ व्यक्तिगत अधिकार हुन्छ ?' उसले भन्यो, 'त्यसले अर्का व्यक्तिको अधिकार खोस्छ । हाम्रो इस्लाममा संसारकै विशिष्ट न्यायको कुरा छ ।' 'दुई जवान केटा-केटीको सम्बन्धलाई देख्न नसक्ने तिमीहरू ! तिमीहरूको न्यायको परिभाषा विचित्र छ । मानवअधिकारको न्यूनतम सम्मान पनि गर्दैनौ तिमीहरू,' म एकदम आक्रोशित थिएँ ।   'संसारमा अरू कैयौं विषय छन्,' उनी पनि रन्किए, 'दिनहुँ बम पड्काएर मान्छे मारिनुमा मानवअधिकारको हनन देख्दैनौ तिमी ?' आफ्नो देशमाथि सोभियत युनियन र अमेरिकाले गरेको हस्तक्षेपमाथि विश्व समुदायले आँखा चिम्लिएको ठानेका छन् सायद उनले ।   म जवाफ दिने अवस्थामा थिइनँ । रिसले रन्किएकी थिएँ । केही नबोली 'साइनआउट' गरेँ । ००० इब्राहिम दुई वर्षअगाडि मेरो फेसबुक साथी बनेका हुन् । दक्षिण एसियामा अमेरिकाको आतंकवादविरोधी अभियान -वार अन टेरोर)को सिकार बनेको अफगानिस्तानको नागरिक हो ऊ । मलाई अफगानिस्तानमा ढुंगा हानेर मार्ने चलन र खोकनाको तालमा टोकी-टोकी पाठी मार्ने चलन उस्तै-उस्तै लाग्छ । मैले इब्राहिमलाई उहिल्यै सोधेको थिएँ, 'तिम्लाई महिलालाई ढुंगा हान्ने ठाउँ थाहा छ ?' उसले मजाक शैलीमा उत्तर दिएको थियो, 'हा...हा..हा किन थाहा नहुनु ? गलत सम्बन्ध राख्नेलाई मार्ने ठाउँ हो । यस्तो ठाउँ फराकिलो चौर हुने गर्छ ।' मेरा लागि जुन कुरो भयानक थियो, उनका लागि सामान्य थियो । उनको र मेरो पृष्ठभूमि नितान्त फरक भएर पनि होला । उनी जुन वातावरणमा हुर्के, त्यसको असर उनमा देखिनु नौलो कुरा होइन । ०००   सन् १९८५मा जन्मेका थिए इब्राहिम । उनको पुर्ख्यौली घर निन्ग्राहर प्रान्तमा पर्छ । जिल्ला हो- मोमानन्दारा । त्यतिवेला अफगानिस्तानमा सोभियत युनियनको पूर्ण सहयोगमा कम्युनिस्ट शासन थियो । तर, उनको परिवारलाई कम्युनिस्ट सासनमा जीविकोपार्जन गर्न गाह्रो थियो । उनीहरूले पाकिस्तानको पेसावरमा रहेको नासिर बाघ शरणार्थी शिविरमा अन्य नातेदारसँगै शरण लिए । त्यही शरणार्थीका लागि चलाइएको स्कुलमा पढे उनी । त्यसबाहेक उनी कुरान पनि पढ्दै थिए । १६ वर्ष नपुग्दै इब्राहिमलाई कुरान कण्ठस्थ थियो । 'त्यसैले मैले भनेको इस्लाम विश्वमै उत्कृष्ट छ, किनभने मलाई त्यसको हरेक वाक्य थाहा छ ।' इब्राहिमले मेलमा आफ्नो 'प्रोफाइल'मा लेखेका थिए ।   पाकिस्तान शरण लिन गएकाले उनको परिवारले आफगानिस्तानमा चलिरहेको हिंसाको सिकार हुनु परेन । तालिवानी शासनको हप्की खान पनि परेन । तर, आर्थिक अभावमा भने बाँच्नु पर्‍यो । उनका बुबा काम गर्थे, तर घरमा पैसा ल्याउँदैनथे । त्यसैले इब्राहिमले सानोतिनो काम गर्न थाले घर चलाउन । उनका अब्बा कहिलेकाहीँ आउँथे रित्तोहात । पछि थाहा भयो- उनले कमाएको जति सबै कान्छी आमाकहाँ पुग्दोरहेछ । इब्राहिमका चार दिदीबहिनी र चार दाजुभाइ छन् । अर्की आमापट्ट िथप चार बहिनी । सन् २००१ मा तालिवानलाई अमेरिकाले फालेपछि उनका बाबु काबुल र्फके । त्यहाँ उनी संयुक्त राष्ट्रसंघीय मानवअधिकारको उच्चायोगमा काम गर्ने आफ्ना मित्रसँग पैसा सापटी माग्न गएका थिए । ती साथीले पैसा सापटी दिएनन्, पैसा आउने बाटो देखाए । उनलाई आफ्नै कार्यालयमा गार्डको काम दिए । 'हाम्रा बाले काम पाएपछि हामीलाई बोलाएनन् । सानीआमा र उनका छोरीहरूलाई मात्रै बोलाए,' इब्राहिमले भने । अब्बाको तलब मासिक चार सय अमेरिकी डलर थियो । तर, त्यसले इब्राहिम र उनका दाजुभाइका लागि कुनै अर्थ राख्दैनथ्यो । त्यतिवेलासम्म आफ्नो स्कुलको खर्च जुटाउन उनी आफँै काम गर्थे । उनका अब्बाले एक वर्षपछि भने सबैलाई काबुल बोलाए । राजधानी भएकाले उनको परिवारलाई विद्रोही समूहको डर थिएन । बरु पीर थियो त आफन्त नहुनुको । 'हामी अन्जान थियाँै । हाम्रा नातेदार थिएनन्,' इब्राहिमले भने । उनी कक्षा ११ मा पढ्न चाहन्थे, तर साम्सद टिभीमा काम पाए । उनको अब्बाको साथीको सहायक भए उनी । त्यहीँबाट उनको पत्रकारिता सुरु भयो । इब्राहिम अफगानिस्तानमा तालिवानले छोडेयताको पहिलो खेल उद्घोषक हुन् । त्योबाहेक उनी अंग्रेजी सिनेमा पनि अनुवाद गर्छन् । ००० इब्राहिम २६ वर्षका भए । यतिवेलासम्म कति केटीलाई प्रेम प्रस्ताव राखे उनले ? 'हाहा प्रस्ताव ? बिहे त नहेरी गरेको । प्रस्ताव राख्ने ? हाम्रो यहाँ त्यस्तो चलनै छैन । हामीलाई प्रस्ताव राख्न पाउने अनुमति छैन,' उनले सुनाए, 'मनमनै भने धेरैलाई मन पराएँ । तर, कसैलाई भनिनँ ।' 'यति धेरै कुरा किन सोधेको तिमीले,' इब्राहिमले मलाई सोधे । 'अखबारमा छाप्न,' मैले भनेँ । 'नछाप्नु, मलाई तालिवानले मार्छन् फेरि,' उनले भने । 'खेल पत्रकारलाई केही गर्दैनन् रे नि त !' मैले भनेँ । 'त्यो त हो,' उनले स्वीकार गरे, 'तर, तालिवानले इस्लामको नाममा जसलाई पनि कारबाही गर्न सक्छन् ।'  pamee.devkota@gmail.com Source: NayaPatrika.com

hit.the.hot · Sep 22, 2010 5:48 PM · 2,511 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all