उनी योजना आयोगमा छैनन्, न त नीति-निर्माण तहमै छन्। कुनै पदमा नरहे पनि देशको विकास कसरी गर्नुपर्छ, उनले प्राक्टिकल रूपमै गरिरहेका छन्। ३० वर्षको उमेरमै दुई सय वर्ष पुरानो घरलाई आकर्षक नेपाली घर बनाएर युनेस्को संरक्षण पुरस्कार प्राप्त गर्ने पहिलो नेपालीका रूपमा उनले आफूलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराइसकेका थिए। पुरस्कार पाएको एक दशकयता उनले करिब ५० वटा घरको जीर्णोद्धार गरिसकेका छन्। आगामी २० वर्षभित्र पनौती सहरलाई नेपाली सहरमा रूपान्तरणमा लागेका रवीन्द्र पुरीले प्रत्येक वर्ष एक-एकवटा सामुदायिक विद्यालय निर्माण गरेर ग्रामीण क्षेत्रको पनि सेवा गरिरहेका छन्। उनकै नेतृत्वमा सन् २०११ देखि प्रत्येक वर्ष दुईवटा यस्ता सामुदायिक विद्यालय निर्माण हुनेछन्। उनी युवाहरूका लागि निःशुल्क तालिम केन्द्र सञ्चालन गरेर उत्पादित जनशक्तिलाई रोजगारी पनि दिइरहेका छन्। प्रारम्भ भएका योजना सञ्चालन गर्न आर्थिक अभाव नहोस् भनेर उनले आफ्नै नाममा फाउन्डेसन खडा गरेर करोडौं रुपैयाँ दान दिएका छन्। जसले वैकल्पिक चिकित्सा, युवालाई रोजगारी, प्राचीन सम्पदाको संरक्षणजस्ता काम गरिरहेको छ। जर्मनीको सरकारी कार्यक्रम जीटीजेडमा नेपाल प्रमुखका रूपमा आकर्षक जागिर एवं सम्पन्न जीवन छोडेर उनी यो क्षेत्रमा होमिएका हुन्। युवा अवस्थामै तपाईं दान, सेवा र विकास-निर्माणमा लाग्नुभयो, अहिलेका युवाहरूको शैली हेर्दा त अलि अनौठो देखियो नि ? दान, धर्म, सेवा, विकास-निर्माण एवं रोजगारीका काम युवा अवस्थादेखि नै गर्ने हो । आफू जहाँ, जुन अवस्थामा छ, त्यहीँबाट यस्ता काम सुरु गर्नुपर्छ । सम्पन्न व्यक्तिहरूले दान, धर्म गर्न बुढेसकाल नै पर्खनुपर्छ भन्ने छैन । यस्तो काम गर्न भएको लाखौं रुपैयाँ तलब एवं सम्पन्न जीवनशैली छाड्नुपर्छ र ? मभित्र जुन कलाकार थियो, जीटीजेडको जागिरले मरिरहेको थियो । कलिलो उमेरमै जीटीजेडको हाकिमका रूपमा मैले जे प्राप्त गरेको थिएँ, त्यो सबैका लागि आश्चर्यको विषय थियो । म पनि त्यसमै रमाइरहेको थिएँ । सधैं नीलो प्लेटको महँगो गाडीमा हिँड्दा मेरो प्रकृति र संस्कृति कसरी विनाश भैरहेको छ भन्ने मैले चालै पाइन । एक दिन म पाटनको भित्री सहरमा पैदल हिँडिरहेको थिएँ, त्यसबेला पो मलाई थाहा भयो, प्राचीन घर भत्काएर चौक नै मिचिने गरी आधुनिक घर बनिरहेका छन् । जुन चौक र घर हेर्न विदेशीहरू नेपाल आइरहेका छन् त्यो नै मासिएपछि उनीहरू किन आउँछन् ? त्यसै दिन मलाई लाग्यो, हाम्रो संस्कृति र प्रकृति जोगाउनु नै मेरो कर्तव्य हो । जागिर नछोडि यति ठूलो काम गर्न सम्भव थिएन । धेरै मानिस यस्ता धेरै कुरा भत्किएको, बिग्रिएको देखिरहेका हुन्छन्, तर उनीहरू ती कुरामा अरूलाई दोष दिएर पन्छिछन्, किन ? किनभने सबैलाई जीवनको अर्थ थाहा हुँदैन । जुन दिन मानिसलाई मोक्ष प्राप्ति हुन्छ, त्यसै दिन उसले बिग्रिएको कुरा मैले नै गर्न सक्छु भन्ने थाहा पाउँछ । हामी धेरैजसो समय राम्रा र ठूला काम अरूले गर्नुपर्छ, हाम्रो काम पारिवारिक दायित्व पूरा गर्ने मात्र हो भन्न्छौं । इन्लाइटमेन्ट (मोक्ष) को अनुभूति नहँदा मानिस अरूलाई दोष दिन्छन् । मैलेचाहिँ मोक्ष प्राप्त गरिसकें भन्ने तपाईंको दाबी हो ? हो, यसलाई तपाईं जीवनको महत्त्व मैले बुझिसकें भन्ने अर्थमा लिन सक्नुहुन्छ । यद्यपि मोक्ष भन्नाले आध्यात्मिक नै हुनुपर्छ भन्ने छैन । कसरी हुँदो रहेछ मोक्षको अनुभूति ? म मूर्तिकलामा स्नातकोत्तर अध्ययन गर्न छात्रवृत्ति पाएर जर्मनी गएको थिएँ । बीचमा केही समय छुट्टी हुने भएकाले अन्य विषय अध्ययन गर्न चाहें । त्यहाँ एउटा 'विकास नीति' नामक स्नातकोत्तर तहको आकर्षक विषय पढ्न पाइने रहे छ । त्यसको पाठ्यक्रम अविकसित राष्ट्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा केन्दि्रत थियो । मैले त्यही विषय अध्ययन गरें र रिसर्चका लागि नागपुरको गरिब बस्तीमा पुगे । एक रात सुतिरहेको बेला त्यो बस्तीमा यसरी बाढी पस्यो कि ती गरिबको लगाउने कट्टुसमेत बगाइदियो । मैले पनि त्यही हविगत भोग्नुपर्यो । त्यसबेला मलाई चरम गरिबीको यथार्थ थाहा भयो । त्यो मेरो पहिलो इन्लाइटमेन्ट थियो । जब मैले विकास नीतिमा जर्मनी टप गरें, जीटीजेडले मलाई भेटेर नेपाल प्रमुखको जागिर अफर गर्यो । किनभने यो विषयमा जर्मनी टप गर्ने म पहिलो विदेशी विद्यार्थी थिएँ । जीटीजेडका लागि म योग्य उम्मेदवार थिए । जे होस्, जागिर खाँदै जाँदा एकपटक म दिल्लीबाट काठमाडौं आइरहेको थिएँ, प्लेनमा आएको गडबडीले ११ घण्टा आकाशमै चक्कर काट्नुपर्यो । सुरुमा मौसममा खराबी आयो भनेर ल्यान्ड नभएको भनियो, तर केही बेरमै प्लेन ल्यान्ड गर्नै नमिल्ने गरी बिगि्रएको कुरा थाहा भयो । यो ११ घण्टाभरि पाइलटहरू त्यसलाई ठीक गर्न थाले । नेपाल र भारतका आकाशभरि घुमिरहने, पाइलटहरू प्लेट बनाउन सकिन्छ कि भनेर ट्राई गरिरहने तर प्लेन चल्ने तेल सकिने अवस्थाले यति धेरै तनाव भयो कि हामीले मृत्युलाई पूर्ण रूपमा स्वीकार गर्यौं । मृत्युपछिको शून्यता यति प्रस्ट भयो कि त्यसबाट बाँच्दा पनि जीवनलाई सार्थक काममा नलगाउनु आफूलाई धोका दिनु थियो । त्यतिबेला मलाई दोस्रोपल्ट इन्लाइटमेन्ट भयो । अनि तेस्रोपल्ट पाटनको गल्लीमा....? पाटनको गल्ली त जागिर छाड्ने बहाना मात्र थियो । जब ११ घण्टापछि प्लेन सजिलै ल्यान्ड भयो र हामी सबै बाँच्यौं, त्यही बेला अरूले के निर्णय गरे थाहा छैन, तर मैले जागिर छाडेर समाज परिवर्तनमा लाग्ने निर्णय गरें । म जीवनमा के गर्न सक्छु भनेर अध्ययन मात्र गरिरहेको थिएँ, ठ्याक्कै पाटनमा पुराना घर र आकर्षक चोक नासेर अनाकर्षक घर बनेको देखें । भत्किएका पुराना घर नै किन रोज्नुभयो, जब कि कानुन पढेको हिसाबले देशको बिग्रँदै गएको नियम-कानुन बनाउनतिर पनि लाग्न सक्नुहुन्थ्यो ? मैले बुबाको करले कानुन पढे पनि त्यो मेरो रुचिको विषय थिएन । मैले बुबालाई थाहा नदिई ललितकलामा नाम लेखाएको थिएँ । त्यही रुचिका कारण मैले ललितकला पनि टप गरें । मानिसलाई त्यही कुरामा रुचि हुन्छ, जुन आत्माले अर्हाउँछ । नेपालको बिगि्रएको नियम-कानुन बनाउन अरू नै जन्मिएका होलान् वा जन्मिएलान् । म भने देशको प्रकृति र संस्कृति बचाउन जन्मिएको हुँ । ती दुई घटना नघटेका भए तपाईंलाई यो अवस्थामा भेटिने थिएन ? मलाई लाग्छ, सबै मानिसलाई ईश्वरले प्रत्येक दिन ऊ किन जन्मिएको हो भन्ने संकेत दिन्छन् । मात्र आफूले बुझ्न सक्नुपर्छ । मैले पनि ढिलो-चाँडो यो कुरा बुझ्नेवाला थिएँ । किनभने जब-जब म विदेशबाट नेपाल र्फकंदा प्लेनको झ्यालबाट हेर्छु, मेरा आँखाबाट अनायसै आँसु र्झन थाल्छन् । म दाबाका साथ भन्न सक्छु, नेपालको जस्तो ल्यान्डस्केप संसारमा कतै छैन । म कलाकार पनि भएकाले यो दाबी गर्न सक्छु । दुई-चार वर्ष ढिला हुन्थ्यो होला, तर म यही क्षे त्रमा आइपुग्थें । किनभने अरू काम गर्दा जति पैसा कमाए पनि जति विदेश घुमे पनि मनमा शान्ति थिएन । अहिले अपार आनन्द छ । जब जागिर छाड्नुभयो, पहिलोपल्ट के गर्नुभयो ? अर्थात् कसरी आफ्नो कामलाई अघि बढाउनुभयो ? मेरो घरको छेउमा २ सय वर्ष पुरानो एउटा घरमा कुखुरा पालिएको थियो । विदेशमा त्यस्ता घरलाई म्युजियम बनाइएको देखेको थिएँ । जागिर छाड्दा जति पैसा पाएको थिएँ, त्यही पैसाले त्यो घर किनेर त्यसलाई नेपाली घर बनाएँ । घरभित्र ती सबै सामग्री राखें, जुन एउटा परम्परागत नेपाली घरमा प्रयोग हुन्छ । उक्त घर यति आकर्षक भएछ कि युनेस्कोले लाखौं रुपैयाँको पुरस्कार दियो । त्यसपछि त्यही पैसाले पुराना घर जीर्णोद्धार गर्दै हिँडें । अहिलेसम्म ५० वटा पुराना घरलाई त्यही शैलीमा बनाइसकेको छु । पनौती सहरलाई नै पुनर्निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको छ, एक्लो व्यक्तिले सहर नै पुनर्निर्माण गर्ने कुरा सम्भव छ र ? एक-एकवटा घर बनाएर आफ्नो नाम कहिले राख्ने ? किनभने म ४० वर्ष पुगिसकें । यदि सहरलाई पुनर्निर्माण गर्न सकियो भने त्यसले दीर्घकालीन असर गर्छ । नेपालीहरूले पनि हाम्रा पुरानो सहर कस्ता हुन्थे भनेर हेर्न पनौती पुग्नुपर्छ । विदेशीहरूका लागि त यो सहर अचम्मकै हुन्छ । इच्छाशक्ति भयो भने असम्भव केही छैन । संसारमा सम्पन्न भएका जति पनि असम्भव कार्य छन्, ती इच्छाशक्तिकै कारणले भएका हुन् । पनौती नै किन ? राजधानीका तीन सहरमा यस्तो काम बढी प्रभावकारी हँुदैन ? यी तीन सहर नराम्रोसँग बिगि्रसके । काठमाडौं, पाटन र भक्तपुरलाई पुनर्निर्माण गर्न खर्बौं रुपैयाँ र ५० औं वर्ष लाग्न सक्छ, तर पनौती राजधानी नजिक भए पनि धेरै बिगि्रसकेको छैन । त्यहाँका पुराना जात्रा, नाच एवं संस्कृति अझै पनि प्राचीन रूपमै छन् । घर, बाटा र धारालाई प्राचीन रूपमा लान २० वर्ष मेहनत गरियो भने यो आधुनिक खालको प्राचीन सहर देखिन्छ । सहरभित्र आधुनिक मोटर कुद्न नदिने योजना पनि कार्यान्वयन गर्न सकिन्छ । सम्पूर्ण सहर नै पहिलेदेखि नै यस्तै थियो कि भन्ने भ्रम पर्ने गरी त्यसलाई परिवर्तन गर्न सकिन्छ । यसका लागि राजनैतिक दल, स्थानीयवासी एवं सरकारको सहयोग त चाहिन्छ नै, अर्बौं रुपैयाँ र दक्ष जनशक्तिको पनि आवश्यकता पर्छ, कसरी जुटाउनुहुन्छ ? दक्ष जनशक्तिका लागि मैले आफैं तालिम केन्द्र खोलेको छु । उक्त तालिम केन्द्रले उत्पादन गर्ने सबै जनशक्तिलाई काम दिइरहेको छु । यो कार्यलाई अघि बढाउन मैले आफ्नो आधा सम्पत्ति च्यारिटीलाई दिएको छु । ५० औं घर निर्माण गर्दा जसरी मैले सबैको सहयोग पाएँ, त्यसैगरी पनौती निर्माणमा पनि सहयोग हुन्छ । जुन व्यक्ति बिनास्वार्थ विकास गर्न उहाँहरूको आँगनमा आएको छ, त्यो कुरा पनौतीवासीले बुझ्न थाल्नुभएको छ । धेरै विदेशी मित्रले मलाई सहयोग गर्ने वचन दिएका छन् । आँटेपछि नहुने कुरै छैन । अहिलेसम्म कति काम गर्नुभयो ? धेरै जात्रा र नाचलाई पुनः सञ्चालन गर्न थालेका छौं । पहिलो चरणमा भत्कन लागेका पुराना घरलाई हामी आधा पैसा हालिदिन्छौं, घरधनीलाई आधा पैसा हाल्न लगाउँछौं । आधुनिक घर बनाउन पूरा पैसा हाल्नुपर्छ, प्राचीन शैलीका घर बनाउँदा आधा पैसा फाउन्डेसनले दिने भएपछि अस्वीकार हुन्छ भन्ने लाग्दैन । विकास निर्माणको काममा नगरपालिका र हामी सँगै जान्छौं । यसका लागि नेपाललाई माया गर्ने सयौं विदेशी मित्र तयार छन् । यो योजनाले नेपालको विकासमा के फरक पार्छ ? नेपालमा सयौं परम्परागत गाउँ र सहर छन् । जब पनौती हेर्न हजारौं विदेशी पर्यटक आउन थाल्छन्, बल्ल सबैलाई काठमाडौं, पाटन र भक्तपुर बिगि्रसकेको अनुभव हुन्छ, तर अरू बिग्रन दिनुहँुदैन भन्ने भावनाले चैनपुर, बन्दीपुर, धनकुटा, हिले, पाल्पा, खोकना, बुङ्मती, दाप्ता टोखा, चापागाउँजस्ता प्राचीन परम्परागत सहर र गाउँको पुनर्निर्माण हुन थाल्छ । त्यहाँका संस्कृति जागृत हुन थाल्छन् । नेपालीहरूलाई आफ्नोपनको महत्व बुझाउन सकियो भने तत्कालै २० वटा सहर पुनर्निर्माण हुन्छ । पर्यटकलाई आफ्नै शैलीले खानपान गराउन थालिन्छ । त्यसले पूरा पर्यटन उद्योगमा कायापलट हुन्छ । अहिले दिनहू बिग्रँदो क्रममा रहेको काठमाडौंको पोलुसन हेर्न पर्यटक किन आउँछन् ? तपाईंको उद्देश्य पर्यटन बढाउनका लागि मात्र यस्तो योजना ल्याउनुपर्छ भन्ने हो ? हामीसँग प्रकृतिले दिएको अथाह सम्पत्ति छ । अब हाम्रो संस्कृति मात्रै जोगाउनु छ । यही संस्कृति र प्रकृति मात्र जोगाउन सकियो भने हामीकहाँ वाषिर्क १ करोड पर्यटक आउँछन् । जबकि २० लाख मात्र नेपाल घुम्न आउने हो भने हाम्रो प्रतिव्यक्ति आय भारतसमान हुन्छ । संसारका मानिस विकासबाट वाक्क भैसके । उनीहरू प्रकृतिलाई चुम्न यहाँ आउन चाहन्छन् । उनीहरू हामीकहाँ संस्कृति र प्रकृतिको मोज गर्छन्, हामी उनीहरूको पैसाले मोज गरौंला । यसले हाम्रा सबै समस्याको समाधान हुदैन नि, किनभने यस्ता धेरै सपना नेपालीले देखिसके, होइन र ? म एक्लोले एउटा सहर पुनर्निर्माण गरेर अरू २० वटा गाउँ-सहरलाई नेतृत्व दिन सक्छु भने अरू पाटोबाट अरूले पनि काम गरि नै रहेका छन् । किनभने म आकाशबाट झरेको विशेष व्यक्ति त होइन ? म पनि अरूजस्तै साधारण मानिस हुँ । यो देशमा असल मानिस हजारौं छन् । उनीहरूले पनि काम गरिरहेका छन् । यो त सपना नै होइन । भोलिको यथार्थ हो । इटालीको भेनिस सहर भक्तपुरजत्रो पनि छैन, तर त्यहाँ प्रत्येक वर्ष साढे ३ करोड पर्यटक पुग्छन् । भेनिसलाई त बनाइएको हो, नेपाललाई त अलरेडी प्रकृतिले नै बनाइदिएको छ । तपाईंको वास्तविक सपनाचाहिँ के हो ? नेपाललाई कार्बन शून्य मुलुक बनाउने । नेपालको जलविद्युत्लाई पूर्ण रूपमा प्रयोग गरेर विद्युतीय गाडी र रेल चलाउने । त्यसका लागि विदेशमा अध्ययन गर्न युवा पठाउने । पहिले कुनै क्षेत्रमा पेट्रोलियम पदार्थ निषेध गर्ने र बिस्तारै त्यसलाई नेपालभरि लागू गर्ने । सानो देश र अपार जलविद्युत्को सम्भावना भएकाले यो मेरो जीवनमै पूरा हुने सपना हो जस्तो लाग्छ । तपाईं सपनाको संसारमा हुनुहुन्छ । यद्यपि कहिलेकाहीं यो सपनाबाट ब्युँझँदा देखिने देशको अवस्था कस्तो लाग्छ ? म काठमाडौंनजिकैको एउटा डाँडोमा परम्परागत नेपाली गाउँ बनाउँदैछु । त्यो गाउँ निर्माण गर्दा राजनीतिक संरक्षण पाएका गुन्डाहरूले विभिन्न नाममा पैसा माग्छन् । म सिद्धान्तनिष्ठ मानिस भएकाले पैसा दिने कुरै आएन । यसले धेरै पटक काम रोकिएको छ । समयमा काम गर्न सकिएको छैन । युवालाई तालिम दिने र आफैंले रोजगारी दिने नीति लिएर सिटिइभिटीमा धाएको चार वर्ष भयो, बल्ल-बल्ल स्वीकृति पाइयो । चार वर्षमा कति युवा रोजगार हुन्थे ! उनीहरूले विदेश जानुपरिरहेको छ । जे-जति भए पनि थोरै भए पनि मेरो नाम छ, मैले त यति दुःख पाउँछु भने अरूले कति दुःख पाइरहेका होलान् ? अब भन्नुहोस्, तपाईंको सपना र यथार्थमा कति भिन्नता छ ? म निराश छैन । तपाईं असल मार्गमा लाग्नुहोस्, ढिला होला काम फत्ते हुन्छ । संसार यस्तै छ भनेर उनीहरू जस्तै हुनुभयो भने पछि तपाईंलाई पश्चाताप हुनेछ । किनभने जीवनको उद्देश्य केही गर्नु हो, अरूजस्तै भीडमा हराउनु होइन । Source: www.ekantipur.com/saptahik/article/?id=2282
subrath · Sep 7, 2010 2:43 PM · 4,035 views
Puri jee, good work ! Best of luck to you.
Maalpaani · Sep 7, 2010 9:52 PM
Subrath, thanks for sharing...and I hope you will be also following what you have shared with us, but I don't know up to what percentage I will be able to follow it..... but for me there is no meaning of any knowledge unless you try to implement in real life. Last edited: 08-Sep-10 05:35 PM
Geology Tiger · Sep 8, 2010 2:48 PM
Tiger, U R welcome. I appreciate for keeping ur hopes on me. Implementation is my everyday learning.
subrath · Sep 8, 2010 5:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion