Interesting read-4

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिर्सिएका मोतीलाल विश्व पौडेल नेपाल र जङ्गबहादुर राणाबारे लेखिएका पुराना किताबहरूमा अङ्ग्रेजले मोतीलाल सिंहलाई 'भारतीय' भनेका छन्, तर न्यु मन्थ्ली म्यागाजिन (अङ्क ८९, जुलाइ १८५०) मा उनी आफैंले लेखेको लेखले त्यसो भन्दैन। सेन्ट पल चर्चः जसको अगाडिको सडक बढार्ने काम मोतीलालले पाएका थिए । म राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा भादगाउँमा जन्मेको हुँ। म २० वर्षजतिको हुँदा राजाले दक्षिणको विशाल राज्यविरुद्ध लड्ने घोषणा गरे। तर, पञ्चतन्त्रका रचनाकार विष्णु शर्माले जङ्गलको शेर बाहिर गयो भने स्याल हुन्छ भने झ्ैं भयो। हामी पहाडका, त्यति तल गएर लड्दा जित्न सकेनौं। अन्तिम लडाइँमा म युद्धबन्दी बनाइएँ, तिनै अङ्ग्रेजको सेनामा भर्ती भएँ, उनीहरू जस्तै लड्न र बोल्न सिकेँ। रहँदा बस्दा कलकत्तामा एउटी शूद्र केटीसँग बिहे गरें। खुशीका साथ त्यही बस्थेँ हुँला, तर पानीजहाजको एउटा अङ्ग्रेज क्याप्टेनले देखाएको सुनको लोभमा परेर लण्डन आइपुगेछु। लण्डनको चिसो सडकमा भोकै-प्यासै भगवान भरोसामा दिन काट्न थालेँ। अन्ततः सेन्ट पल चर्चको सडक बढार्ने काम पाएँ। त्यहाँ लण्डनका धनी-गरिब सबैले मलाई चिन्थे, तर कसैले मतलब राख्दैनथे। बढारेबापत आउने थोरै पैसाले गुजारा चल्थ्यो। समुद्रमा बगेको एउटा मुढोले अर्को मुढो भेट्दो रहेछ। एक दिन मेरै मुलुकबाट आएका महाराज जङ्गलाई भेटेँ। उनैका कारण म रङ्कबाट यस्तो अवस्थामा आइपुगेको हुँ। एकदिन घर फर्कने मेरो सपना साकार हुनेभयो। सूर्य उदाउने मेरो देशमा मेरी श्रीमती मलाई पर्खिरहेकी होली। जङ्ग रिचमण्ड टेरेसमा बसेका थिए। लगभग ६ महिनाको यात्रापछि लण्डन आएको पहिलो दिन त्यो महलमा बस्दा जङ्ग र धीरलाई कस्तो लाग्यो होला? सँगै गएका करबिर खत्री देश-विदेश घुमेका र ब्रायन हड्सनले समेत विद्वान् भनेर उल्लेख गरेका व्यक्ति भएपनि उनको र जङ्गको बीच मनमुटाव थियो, जुन पछि नेपाल फर्केपछि भयङ्कर रूपमा प्रस्तुत भयो। उनीहरू कलकत्ताबाट श्रीलङ्का, इजिप्टहुँदै बेलायत पुगेका थिए। साउथह्याम्पटन बन्दरगाहमा मालताल जाँच्न खोज्ने कस्टम अधिकृतलाई जङ्गले सामान छोयौ भने तुरुन्त काठमाण्डु फर्कन्छु भनेर थर्काएका थिए। गोराहरू त्यति पर गएर हिन्दुस्तान खान सफल हुनुको रहस्य के रहेछ, यिनीहरूको देशै पुगेर हेरेर आउँछु, आफूआफू लडेर बसेका रहेछन् भने अझ् लडाएर कब्जा जमाउनु पर्ला, हैन भने यिनको शक्ति कति रैछ बुझुला भनेर आएका जङ्ग तिनै शत्रुहरूको मुटु लण्डनमा थिए जोसँग उनका पिता बालनरसिंह, पितामह रामकृष्ण कुँवरहरू लडेका थिए। मोतीलाल अगाडि लेख्छन्: सावितिः बेलायतको न्यु मन्थ्ली म्यागाजिन (अंक ८९, जुलाइ १८५०) मा छापिएको मोतीलाल सिंहको आलेख। भोलिपल्ट लिडेनहल स्ट्रिटको जोन कम्पनी जान हिँडेका उनलाई मैले सेन्ट पल चर्च अगाडिको सडकमा देखेँ। भारत, नेपाल जहाँबाट आएका भए पनि रोइ-कराई गर्छु भनेर कुरेर बसेँ। त्यसपछि जङ्गले सडकमा दुःख पाएर बसेको यस प्राणीको उद्धार गरे। मेरा लागि कपडा, रातो टोपी र टलक्क टल्कने बुटको प्रबन्ध भयो, सँगसँगै जङ्गको साथमा हिँड्ने व्यवस्था पनि। जसरी कमलको मूल्य भुन्भुन गर्दै उडेर फूल चुस्ने मौरीलाई थाहा हुन्छ, तल बसी प्वाक्क परेर हेरिरहने भ्यागुतोलाई हुँदैन त्यसरी नै जङ्ग जस्ता महान् व्यक्तिलाई मात्र मेरो महत्व थाहा भयो। एक रात सेन्ट जेम्सस्थित मिचेलको फ्रेन्च थिएटर मा जाने कार्यक्रम थियो (तिनताका थोमस मिचेलले सेन्ट जेम्स थिएटरमा फ्रेन्च कलाकारहरूलाई बोलाएर खेलाउने गरेका थिए)। महाराज जङ्गबाट फ्रेन्चहरू कस्ता मान्छे हुन् भनेर सोधनी हुँदा नाक र घाँटीबाट आवाज निकाल्ने, सरिसृपको मासु खाने, आ-आफैं झ्गडा गर्ने, दण्डकारण्यका बाँदर जस्तै केहीनकेही उट्पट्याङ गरिराख्ने, नाटक चाहिँ राम्रो खेल्ने मानिस हुन्, त्यसैले ब्रिटिशले बोलाउँदा पैसा नभएका यिनीहरू तुरुन्त आइहाल्छन् भन्ने जानकारी टक्र्याएँ। जङ्गले त्यही रात लाउरा वेललाई पहिलो पटक देखेका थिए। नाटकमा फ्रेन्चहरू बाँदर जस्तै अभिनय गरिरहेका थिए। जङ्ग र उनका भाइहरूको ध्यान भने छेवैमा बसेका टुलिप फूल जस्ता गाला भएका केटीहरूमा केन्द्रित थियो। जङ्गको आँखा चाहिँ तीमध्ये पनि कामदेवकै छोरी जस्ती केटीमा अडियो। जङ्गले त्यो केटीबारे सँगै भएका आफ्ना ब्रिटिश निजी सचिव म्याक्लोइडलाई सोध्दा आफू धेरै वर्ष भारत बसेकाले त्यति सारो मान्छे नचिनेको जवाफ आयो। त्यसपछि जङ्गले मलाई टिकट काट्ने ठाउँमा गएर सोध्न लगाए। मैले उनको बारेमा पत्ता लगाएँ। जङ्ग महाराजले मलाई भन्नुभयो, “बुझ्िस्, केटी मान्छेको नाम मधुर र कर्णप्रिय हुनुपर्छ, परको प्यागोडामा बजेको घण्टीको आवाज जस्तो।” अनि, लाउरातिर वैजनी रङको रुमाल हल्लाउनुभयो। प्रत्युत्तरमा लाउराले पनि मोती जस्ता दाँत देखाउँदै पङ्खा हल्लाइन् जसलाई हामीले राम्रो सङ्केत मान्यौं। म्याक्लोइडलाई यो कुरो सुनाउँदा ब्रिटिश शैलीमा हा...हा...हा... गरेर हाँस्दै त्यो केटी पट्याउन त टन्न पैसा खर्च गर्नुपर्ने बताए। रिचमण्ड टेरेसः जङ्गबहादुर बसेको लण्डनस्थित अतिथिगृह । जङ्ग नाटक हेरेर रिचमण्ड टेरेस फर्कंदा लाइफगार्डहरूको प्रदर्शनी हेर्न लर्ड मार्की अफ लण्डन डेरीको निमन्त्रणा आएको रहेछ। त्यही वेला मार्कीकी श्रीमती लेडी फ्रन्सिस वेनको रात्रिभोजको अर्को निम्तो पनि आयो, कस्तुरीको बिना जस्तो मगमग बास्ना आउने कार्डमा। भोलिपल्ट बिहान लाइफगार्डको प्रदर्शनी हेरेर नेपालीहरू मोहित भए। त्यहाँबाट फर्केर आउँदा दुईघोडे बग्गीमा एउटी स्त्री गएकी देखियो। बग्गीले हामीलाई काट्दै गर्दा हावाले बग्गीको पर्दा हटायो। हामीले पुनः लाउरा वेललाई देख्यौं। तिनी महाराज जङ्गतिर हेर्दै मुस्काइन्। उनीबारे थप जानकारी माग्दा म्याक्लोइडले जङ्गले मात्र सुन्ने गरी केही भने। जङ्गको अनुहार हँसिलो देखियो। मालिक खुशी भएपछि हामी स्वतः खुशी भयौं। मोतीलाल सिंहको लेख पढ्दा उनी योद्धा र विद्वान् दुवै लाग्छन्। पञ्चतन्त्रको समेत उल्लेख भएको उनको लेखमा दण्डकारण्यका बाँदर, कामदेवकी छोरी जस्ता सुन्दर प्रतीकहरू छन्। संभवतः आफूमा निहित विद्वत्ता र उत्सुकताकै कारण उनी लडाइँपछि कलकत्ता गए हुनन्। उनलाई केही अङ्ग्रेजी लेखकहरूले जङ्गले गर्दा भाग्य चम्केको भारतीय भनेर लेखेका छन्। जङ्गको कृपाले ठूलो मान्छे भएपछि मोतीलालले सेन्ट पल चर्चका गोराहरूलाई समेत नचिने झ्ैँ गरेको विवरण केही पुस्तकमा पाइन्छ। सेन्ट जेम्स थियटरः जहाँ जङ्गबहादुरले पहिलोपटक लाउरा वेललाई देखेका थिए । जङ्गबहादुरको बेलायत यात्राबारे मोतीलालका अन्य संस्मरण पनि कम रोचक छैनन्, जसमा जङ्गले ठोकुवा गरेको भोल्टिग्युर नामको घोडाले नै डर्बिको रेस जितेको, आफूलाई ठग्न खोज्ने व्यापारीहरूलाई जङ्गले रगतपच्छे हुनेगरी पिट्न लगाएको, घोडा रेसमा एक पत्रकारले मोतीलालको नक्सा उतारेर लगेको र भोलिपल्ट पत्रिकामा छापिँदा त्यसमुनि जङ्गबहादुर राणा लेखिएको प्रसङ्गहरू छन्। त्यसबेला इस्ट इण्डिया कम्पनीले कुल्ली प्रथा शुरु गरिसकेको र मुसलमानलगायत ठूलो सङ्ख्यामा भारतीयहरूलाई उखु, चिया, रबर आदि खेतीका लागि तटीय देशहरूमा लगेको थियो। मोतीलाल पनि त्यही मेहरोमा परेका र नेपाली हिन्दू वा अङ्ग्रेजी जान्ने टाठो भएकाले अरू कामदारहरूसँग र्‍याङठ्याङ नमिलेर लण्डन पुगेका हुनसक्छन्। नेपाल-अङ्ग्रेज युद्धमा लडाकु र युद्धबन्दी भएपछि ब्रिटिश गोर्खा बनेका मोतीलालभन्दा अघि अरू कुनै नेपाली सिल्करोड हुँदै बेलायत पुगेका थिए कि! पुगेका भए बेलायतका कुनै गाउँका चिहानमा नेपाली वा गुर्खा लेखिएको होला या पुराना रेकर्डहरूमा नेपालबाट आएको मान्छे यसरी मर्‍यो भन्ने उल्लेख भएको होला। जस्तो, चीनका कुनाकुनाका मठ, मन्दिर र गुम्बाहरूमा नेपालीबारे उल्लेख भएको पाइन्छ। कोरिया, जापानका गुम्बामा पनि हाम्रा पुर्खा पुगे हुनन्। मोतीलाल सिंहको कथाले यस्ता अज्ञात सम्भावनाहरू झ्ल्काउँछन्।

_____ · Sep 1, 2010 12:55 PM · 1,982 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all