तारानाथ रानाभाट प्रधानमन्त्री र केपी ओली उपप्रधानमन्त्री तथा रामचन्द्र पौडेल प्रधानमन्त्री र चक्र बास्तोला उपप्रधानमन्त्री बन्ने दुई योजना मेरैअगाडि बनेका हुन् प्रकाश कोइरालासँग अन्तर्वार्ता राजाको शासनमा मन्त्री भएपछि तपाईं त राजनीतिक दलविहीन बन्नुभयो नि होइन ? दलविहीन नै त होइन, तर म अहिले कुनै पनि राजनीतिक दलसँग आबद्ध छैन । अब सक्रिय राजनीति गर्नुहुन्न ? म माओवादीमा जाने अवस्था छैन । अरू दलसँग सिद्धान्त नै छैन । सिद्धान्त नै नभएको राजनीतिक दलको पछाडि लाग्नुको कुनै अर्थ छैन । विगतमा कांग्रेसको एउटा 'बेसिक' सिद्धान्त थियो तर अहिले उसले त्यसलाई छोडिसकेको छ । कांग्रेस कसरी सिद्धान्तविहीन पार्टी भयो ? बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता र समाजवाद सिद्धान्त होइन ? कांग्रेसले बिपीको सिद्धान्त त धेरै पहिले नै छाडिसक्यो । सिद्धान्तविनाको दलमा लागेर समय नष्ट गर्नु मूर्खता मात्र हो । १२ बुँदे दिल्लीसम्झौताले कांग्रेस, एमालेका साथै साना दलहरूलाई सिद्धान्तविहीन बनाइदिएको छ । संविधान बनाउने नाममा यी राजनीतिक दल सिद्धान्तविहीन हुन पुगेका छन् । सम्झौता गर्न अन्तर्राष्ट्रिय शक्तिको दबाब थियो, दलहरूलाई विचार र सिद्धान्तको राजनीति गर्ने होइन संविधान बनाउने दबाब थियो । अन्तर्राष्ट्रिय समुदायले हरेक दलका नेताहरूलाई तिमीहरूको 'ड्युटी' संविधान बनाउने मात्र हो भनेको थिए । जसले गर्दा माओवादीबाहेकका राजनीतिक दलले जुन सिद्धान्त बोकेका थिए, उनीहरूको त्यो परिचय समाप्त भएको छ । जस्तै सुशील कोइराला, रामचन्द्र पौडेल, झलनाथ खनाल वा माधवकुमार नेपालको तस्बिर राखेर आमजनतालाई यी चारमा के फरक छ भनेर सोध्नुभयो भने केही फरक छैन भन्छन् । चारजना व्यक्तिका तस्बिर छन्, तर उनीहरूमा सिद्धान्त नै छैन । जनताले फरक देख्दैनन् । मुलुक हिंसाबाट जर्जर भएका वेला भएको समझदारीलाई कसरी गलत भन्नुहुन्छ ? नेपालका माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन सकियो भने भारतमा रहेको माओवादी-आतंक पनि कम हुन्छ कि, तालिवानदेखि विभिन्न आतंकवादीहरू पनि शान्तिपूर्ण बाटोमा आउँछन् कि भनेर शक्तिकेन्द्रहरूले नेपालमा प्रयोग गरेका हुन् । जुन असफल भएको छ । पछिल्लो चार वर्षमा नेपालमा न सरकार छ न त संविधान । अहिले सरकार र संविधानविहीनतामा मुलुक चलिरहेको छ । म कुनै राजनीतिक दलमा छैन त भन्नुभयो तर फेरि कांग्रेसमा र्फकन लाग्नुभएको खबर छ, साँचो होइन ? कांग्रेसका देशभरिका नेता तथा कार्यकर्ता छटपटाएका छन् । पार्टीको राजनीतिमा सक्रिय धेरै नेता तथा कार्यकर्ता निष्त्रिय भएका छन् । ७० प्रतिशत कांग्रेसका नेता अहिले 'इनेक्टिभ' भएर बसेका छन् । यसले देशकै प्रजातान्त्रिक शक्तिलाई सबैभन्दा ठूलो झड्का लागेको छ । कांग्रेस त प्रजातान्त्रिक शक्ति हो । तर, आफ्नो आदर्श र सिद्धान्तलाई छोड्दा ६० वर्षसम्म निर्णायक पार्टीको रूपमा रहेको कांग्रेस अहिले सानो पार्टीमा सीमित हुन पुगेको छ । निर्णायक पार्टी त अहिले माओवादी बन्न पुगेको छ । तपाईं त त्यही कांग्रेसमा नै र्फकने कुरा आइरहेको छ नि ? म सधैं प्रजातन्त्रमा विश्वास गर्ने व्यक्ति हुँ । जिन्दगी नै कांग्रेसमा बितेको हो । अहिले कांग्रेसको दुर्गति देखेर चिन्ता लागेको छ । प्रजातान्त्रिक शक्ति बलियो होस् र निर्णायक ठाउँमा पुगोस् भन्ने मेरो भित्रदेखिको इच्छा हो । म कम्युनिट हुन सक्दिनँ, माओवादी त हुनै सक्दिनँ । तर मलाई विनाआधार कांग्रेसले एक वर्षका लागि निष्कासन गरेको छ । वर्षौंसम्म पनि फुकुवा गरेको छैन । किन मलाई निष्कासन गरेको भन्ने कुरा अहिलेसम्म कसैले भनेका छैनन् । राजाको प्रत्यक्ष शासनमा मन्त्री भएपछि कारबाही त हुने नै भयो नि ? मन्त्री भएपछि होइन, मलाई त्यसभन्दा पहिले नै पार्टीले निष्कासन गरेको हो । प्रजातन्त्रमा व्यक्तिले विभिन्न विचार राख्छ, त्यो उसको हक हो । मैले पार्टीमा पृथक् विचार राखेको थिएँ तर कांग्रेसमा भएको विभिन्न गुटका कारण मात्र मलाई कारबाही गरिएको हो । म कुनै पनि गुटमा सहभागी थिइनँ । तर, सबै गुटकाले एकले अर्काको भनेर मलाई निष्कासन गरियो । यसले कांग्रेसमा सही प्रकारको प्रजातान्त्रिक संस्कार निर्माण हुन नसकेको प्रस्ट हुन्छ । मैले नेतृत्वलाई च्यालेन्ज गरेको थिइनँ, तर नेतृत्वले विचारलाई ग्रहण गर्न सकेन । किसुनजी, गणेशमानजी र गिरिजाबाबुको नेतृत्वलाई त मैले हरहमेसा स्वीकार गरेकै थिएँ । राजाको सरकारमा सहभागी भएर राम्रो काम गरेजस्तो लागेको छ ? ०५८ मा शेरबहादुरलाई गिरिजाबाबुले मलाई टिक्न दिँदैनन् भन्ने थियो । उनले संसद् विघटन गर्ने प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद् विघटन गरे । तर, राजाले मानिराखेका थिएनन् । संसद् विघटनपछि पनि सबै राजनीतिक दलले धारा १२७ लगाउन लिखित सहमति दिएका हुन् । राजाको व्यक्तिगत स्वार्थको कारण १२७ लागू भएको होइन । तर, १२७ धारा नै अधिनायकवादी धारा थियो । त्यो लागू गर्ने सिफारिस नै राजनीतिक दलहरूले गर्नुहुन्न थियो तर पहिले सिफारिस गर्ने र आफू प्रधानमन्त्री र मन्त्री बन्न नपाएपछि विरोध भएको हो । धारा १२७ लागू भएपछि सबै राजनीतिक दलका नेताहरूमा प्रधानमन्त्री र मन्त्री बन्ने होड चलेको थियो । त्यसअन्तर्गत को-को प्रधानमन्त्री बने भन्ने सबैलाई जगजाहेर नै छ । म पनि त्यसै धाराअन्तर्गत मन्त्री बनेको हुँ । राजा आफैंले नेतृत्व नलिएको भए अरू पनि धेरै प्रधानमन्त्री र मन्त्री हुनेवाला थिए । को-को हुन लागेका थिए ? तारानाथ रानाभाट, शैलजा आचार्य, रामचन्द्र्र पौडेल प्रधानमन्त्री बन्नेवाला थिए । गिरिजाबाबुले मलाई घरमा नै बोलाएर प्रस्टसँग भन्नुभएको थियो, 'प्रधानमन्त्री कसलाई बनाउने भनेर तँलाई सोधेमा दुईजनाको नाम नलिनू ।' मलाई कसले सोध्ला र भनी मैले उहाँसँग जिज्ञासा राखेको थिएँ । जवाफमा उहाँले यति मात्र भन्नुभयो, 'होइन, कसैले सोधेको खण्डमा मात्र । तेरो मस्तिष्कमा पारिराखौँ ।' को-को हुन् ती दुईजना जसलाई गिरिजाप्रसादले त्यतिवेला प्रधानमन्त्रीको रूपमा देख्न चाहनुभएको थिएन ? शेरबहादुर देउवा र माधवकुमार नेपालजी । मुलुक जलिरहेको छ, यी दुईजनाले सम्हाल्न सक्छन् ? बरु देशै सिध्याउँछन् पनि भन्नुभएको थियो । उहाँलाई पनि १२७ अन्तर्गत सरकारमा जाने र एकपटक सरकार चलाउने इच्छा थियो । मैले उहाँको अप्रत्यक्ष सन्देश राजासम्म पुर्याएको पनि थिएँ । शैलाजी पनि मेरो घरमा दुईपटक आइपुग्नुभएको थियो, आफैं प्रधानमन्त्री बन्न । तारानाथ रानाभाटले त मेरै घरबाट खड्ग ओलीलाई फोन गर्नुभएको थियो । खड्ग ओलीसँग मेरो पनि कुरा भयो, उहाँले मलाई तपाईं मकहाँ आउनुहोस् भन्नुभएको थियो । तारानाथजीले लिएर पनि जानुभयो । ओलीकहाँ पुग्नासाथ भाटले भन्नुभयो, 'म प्रधानमन्त्री भए उपप्रधानमन्त्री बन्न प्रकाशजीले मान्नुभएन, तपाईंचाहिँ बनिदिनुपर्यो ।' ओलीजीले स्वीकार पनि गर्नुभयो । तर, उहाँले प्रकाशजी पनि मन्त्रिपरिषद्मा हुनुपर्छ भन्नुभयो । तर, मैले अस्वीकार गरेँ । यति कुरा भएपछि मैले तारानाथजीलाई भनेको थिएँ, 'ल ठीकै छ, तपाईं प्रधानमन्त्री बन्नोस्, तर गिरिजाबाबुको स्वीकृति लिनुहोला ।' मैले शैलजाजीलाई पनि त्यही भनेको थिएँ । कांग्रेसका अरू नेतालाई प्रधानमन्त्री बन्ने प्रस्ताव कसले ल्याएको थियो त्यतिवेला ? रामचन्द्र पौडेललाई प्रधानमन्त्री र चक्रप्रसाद बास्तोला उपप्रधानमन्त्री बनाउने प्रस्ताव मलाई प्रभाकरशमशेरले ल्याएका थिए । उनले यो ठीक हुन्छ कि हुन्न भनेर मलाई सोधेका थिए, मैले कांग्रेसी हुँदै छ भने ठीकै छ भनेको थिएँ । तर कुन्नि के कारणले त्यो योजना सफल भएन । सबै प्रधानमन्त्री र मन्त्री हुन खोज्ने, तर दोष राजालाई लगाउने काम भयो । मलाई व्यक्तिगत रूपमा भन्ने हो भने शैलजाजी प्रधानमन्त्री भइदिए हुन्थ्यो भन्ने लागेको थियो । राजाको शासन किन असफल भयो ? अन्तर्राष्ट्रिय शक्तिकेन्द्र खनिएका कारण राजा शासन छोड्न बाध्य भएका हुन् । नेपाली जनताको पे्रसरले राजाले छोडेका होइनन् । यहाँ को बनाउने र फ्याँक्ने भन्ने कुरा अब विदेशको हातमा भइसक्यो । नेपालीहरू आफैं सक्षम भए विदेशीको पुच्छर किन बन्थे । कहिलेसम्म र के गरे तपाईं कांग्रेसमा र्फकनुहुन्छ ? अहिले राष्ट्रियता कमजोर भएको छ । पञ्चायतकालमा नेपाली कांग्रेसलाई अराष्ट्रिय तत्त्व भन्ने गरिएको थियो, अहिले सबै राजनीतिक दललाई त्यही भन्न थालिएको छ । यता नेताहरू घुमिफिरी दिल्ली पुग्छन् । यहाँका नेताहरू मुलुकको समस्या समाधान गर्ने बुद्धि, निर्णय गर्ने क्षमता भएर पनि घरिघरि दिल्ली पुगेका छन् । सुशील कोइराला पनि पार्टीमा आउनुपर्यो भनेर तपाईंसँग भेटघाट गर्न आउनुभएको थियो रे ? हो, केही दिनअघि आउनुभएको थियो, मलाई पार्टीमा आउनुपर्यो भन्नुभयो । मैले म कांग्रेसको नै हो भनेँ । तर, हरेक राजनीतिक दलको एउटा प्रतिद्वन्द्वी हुन्छ, कांग्रेसको राजनीतिक प्रतिद्वन्द्वी को हो भनेर पनि मैले सोधेँ । चित्तबुझ्दो जवाफ पाए कांग्रेसमा आउन कुनै आपत्ति छैन भने । कांग्रेस आज पनि मेरै पार्टीजस्तो लाग्छ । तर, प्रतिद्वन्द्वीविहीन नेपाली कांग्रेसमा रहन सक्दिनँ भनँे । उहाँले धेरै समय सोचेर हाम्रो प्रतिद्वन्द्वी त माओवादी भन्नुभयो । माओवादी कांग्रेसको प्रतिद्वन्द्वी हो भने कांग्रेसका नेताहरूले प्रचण्डजीसँग गोप्य बैठक गर्ने किन ? दाहालजीको बुई चढेर प्रधानमन्त्री बन्न खोज्ने कसरी प्रतिद्वन्द्वी हुन्छ ? हातमा तरबार दिएर ठोक भनेर प्रतिद्वन्द्वीलाई दिने हो भने उसले कसलाई ठोक्ने ? मैले उहाँसँग यी प्रश्न गरेको छु । उहाँले पाँच-सात दिनमा जवाफ दिन्छु भन्नुभएको छ, म प्रतीक्षामा छु । अब, कांग्रेसलाई गति दिन सकिन्छ कि भन्ने मलाई झिनो आशा छ । छिट्टै कांग्रेसमा प्रवेश गर्नुहुन्छ ? मजस्ता कांग्रेसका धेरै मान्छेलाई निलम्बन गरिएको छ । किन निलम्बन गरियो, त्यसलाई समेत सजिलो हुनेगरी फुकुवा गर्नुपर्छ । एक वर्षका लागि तपाइंलाई गरिएको निलम्बन फुकुवा गरियो भनेर पार्टीले मलाई अफिसियल पत्र दिनुपर्छ । अहिले पत्र कुरिरहनुभएको हो ? कार्यवाहक सभापतिजीले पत्र आउँछ भन्नुभएको छ । त्यसपछि म कांग्रेसमा स्वतः सक्रिय भइहाल्छु । त्यसपछि पार्टीमा तपाइर्ंको भूमिका कस्तो हुन्छ ? कांग्रेसको चरित्र मध्यमार्गी हो । पार्टीले मध्यमार्गी बाटो अंगीकार गरेका अन्य दलहरूसँगको सहकार्यलाई बढाउनुपर्छ । कांग्रेसको सहयात्री मध्यमार्गी तत्त्व नै हुनसक्छ । उग्रवादी तत्त्व कांग्रेसको कुनै पनि हालतमा सहयात्री हुनै सक्दैन । संवैधानिक राजतन्त्र पनि मध्यमार्गी तत्त्व हो । यसले पनि उग्रवादी तत्त्वसँग मिल्न सक्दैन । त्यसैले कांग्रेस र संवैधानिक राजतन्त्र सहयात्री हुनुपर्ने हो । बिपी कोइरालाको विचार पनि यही हो । अब त राजसंस्था नै छैन, तपाईंले भनकोजस्तो कसरी सम्भव भयो त ? त्यसैले त कांग्रेस कमजोर भएको छ । कांग्रेसले मध्यमार्गी चरित्र छोड्दा नेपाल नै उग्रवादी भएको छ । कांग्रेसले उठाउने अबका मुद्दा के हुन् ? राष्ट्रका जति पनि मुद्दा छन्, ती विषयमा कांग्रेसले आफ्नो विचार प्रस्टसँग भन्न सक्नुपर्छ । प्रतिद्वन्द्वी दलले राष्ट्रियताको मुद्दा उठायो भने साथ दिनुपर्छ । प्रचण्डजीको धेरै विचारसँग मेरो विचार मिल्दैन, तर राष्ट्रिय स्वाधीनताको विषयमा मेरो उहाँसँग 'टोटल' कुरा मिल्छ । अब विदेशीहरू भनेको खालि भारत मात्र रहेन । चीनका साथै महाशक्ति अमेरिका पनि लागेको छ यहाँ । त्यसैले राष्ट्रिय स्वाधीनताको विषयमा कांग्रेस प्रस्ट हुनुपर्छ । प्रजातन्त्रमा भिन्न मत राख्नेलाई पनि स्थान दिनुपर्छ । भिन्न मतलाई स्थान नदिँदा आजको परिस्थिति फेरि पनि आउँछ । कांग्रेसले अधिनायकवादी चरित्र छोड्नुपर्छ । महाधिवेशनमा अब कसलाई सहयोग गर्नुहुन्छ ? मेरा निम्ति सबै बराबर छन् । सुशील कोइराला, शेरबहादुर देउवा वा अन्य साथीहरू । मलाई 'लिगेसी'सँग विश्वास नै छैन । कोइरालाको हातमै मात्र कांग्रेस जानुपर्छ भन्ने होइन । त्यो प्रजातान्त्रिक शैली होइन । कांग्रेसमा लागेका अन्य नेता तथा कार्यकर्ता नेतृत्व लिन सक्षम छन् । त्यसैले म जहाँ विचार मिल्छ, त्यतै लाग्छु । अहिले पनि कांग्रेसका १० देखि १२ प्रतिशत कार्यकर्ताले मेरो विचारलाई मानिराखेका छन् । प्रकाश कोइरालालाई मानेको होइन । शेरबहादुर देउवा सभापति भए तपाईंलाई उपसभापति बनाउने तयारी भएको छ रे, हो ? म तयार छुु । मलाई व्यक्तिगत रूपमा भन्नुहुन्छ भने शेरबहादुरजीसित मेरो जति निकटता छ अरूसित छैन । त्यसो त सबैसित छ । मैले व्यक्तिगत रूपमा 'चुज' गर्नुपर्यो भने शेरबहादुरजीलाई छान्छु । किनभने उहाँसित मेरो कुरा मिल्छ । कुरा हुँदाखेरि पनि प्रकाशजी तपाईंले ठीक कुरा गर्नुभएको छ भनेर भन्नुहुन्छ । तर, मचाहिँ सत्ताका लागि उहाँको 'सेकेन्ड म्यान' हुन जाने होइन । विचार हेर्ने हो । सत्ता त सधैं रहने होइन । आज माधव नेपाल प्रधानमन्त्री हुनुहुन्छ । भोलि सत्ताबाट बाहिरिनुहोला, उहाँको फाइँफुटी निस्किन्छ । त्यस्तै, शेरबहादुरजी प्रधानमन्त्री भए पनि सत्ताबाट बाहिरिनेबित्तिकै उहाँको पनि फाइँफुट्टी निस्किन्छ ।
_____ · Aug 29, 2010 11:50 AM · 1,875 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion