काठमान्डु, म हारेर फर्कन्नँ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमान्डु, म हारेर फर्कन्नँ Saturday, 28 August 2010 14:49 नागरिक 17579 बुद्धिसागर—अघिल्लो दिन र रात मैले भोकै कटाएको थिएँ। मेरो मनिब्यागमा फुटेको कौडी थिएन, थिए त केवल ठुल्ठुला मान्छेका बिजनेस कार्ड। जसमा म नम्बर डायल गर्न सक्दिनथेँ। आँटै गरेपनि मसँग लोकल कल गर्ने तीन रुपियाँ थिएन। बिहानै पेट कताकता दुखेजस्तो भइरहेको थियो। भोको बस्दा कसरी आन्द्रा बटारिन्छन् भन्ने मैले बल्ल थाहा पाएको थिएँ। बिहानपख कसरी मुख मिठो भएर आउँछ, त्यो पनि थाहा पाएँ। बिहानैदेखि तातो भातको बाफ मेरो आँखावरिपरि घुम्न थालेको थियो। घरमा तरकारी मिठो नलागेर फ्यात्त फालेको भातको माया लाग्न थालेको थियो। त्यसैबेला मलाई कलेजको एकजना साथीको अनुहार याद आयो। देवदुतको जस्तो। मैले सोचेँ- बिहानै पुग्दा त कसरी खाना नख्वाउला! मुख धोएँ र कुदेँ चाबहिल। जेठको पहिलो हप्ता थियो सायद। नौ बजे नै हप्प गर्मी बढेको थियो। म घट्टेकुलोदेखि पुरानो बानेश्वर हुँदै हतार-हतार हिँडिरहेको थिएँ। मलाई चाँडोभन्दा चाँडो हिँड्नु थियो। ताकि साथीले भात खाएर हिँडिनहालोस्। जब म साथीको डेराछेउ पुगेँ, ऊ बाहिरै किराना पसलमा उभेको थियो। एकदुई जना केटासँग गफ चुट्दै थियो। मैले टाढैबाट हात हल्लाएँ। चस्किरहेका कोखा बिर्सेजस्तो गरेँ। अनुहारमा मुस्कान ल्याउने कोसिस गरेँ। साथीले खासै वास्ता गरेन। म नजिक पुगेँ। ऊ अझै गफमा मस्त थियो। पल्लो छतबाट हेर्ने केटीका बारेमा गफ चुटिरहेको रैछ। म उभिन पनि सकिनँ। पर्खालमा अढेस लागेर उभिएँ। मेरो मुख प्याक-प्याक भइरहेको थियो। एकछिन पछि साथीको गफ सुनिरहेका केटाहरू मुखमा पराग राखेर प्याच्च थुक्दै हिँडे। साथी एक्लो भयो। उसले बल्ल मतिर ध्यान दियो, 'बिहानै कताबाट, यार?' 'त्यत्तिकै भेट्न आको,' मैले आफूलाई सहज देखाउन खोजेँ। 'अरू के छ?' भोकले रन्थनिएको छु, भन्दिहालुँ? 'ल यार, म लागेँ,' साथीले हात मिलाउँदै भन्यो। लौ, यसले त कोठमा जाऊँ पनि भनेन। मलाई भाउन्न भयो। 'यार, मैले हिजोदेखि केही खाको छैन,' मैले रुन्चे आवाजमा भनेँ, 'भात खान आको हुँ।' उसले मलाई एकछिन नियाल्दै भन्यो, 'यार, मेरोमा त आज पाउना आछन्।' मलाई चक्कर आयो। 'यसपालि सरी यार,' यत्ति भनेर ऊ गयो। मेरा आँखा आँसुले डम्म भरिए। म खोच्याएजसरी हिँड्न थालेँ। गौशालासम्म आइपुग्दा तिखो सूर्य बीचआकासमा थियो। गाडीको कालो धुवाँबाट बच्दै म हिँडिरहेको थिएँ। मलाई काठमान्डु एकदम बिरानो लाग्न थालेको थियो। म कोखा समाउँदै कोठामा फर्किएँ। घुप्लुक्क ओछ्यानमा ढलेँ। बा र आमाको झल्को बेस्मारी आइरह्यो। मैले पेटमा सिरानी च्यापेँ। गाला हुँदै आँसु झरे। मलाई लागिरहेको थियो- म घरका कसैलाई नभेटी मर्छु कि क्या हो? मैले आमाले भनेको कुरा सम्झिरहेको थिएँ, 'तँ उता एक्लै हुन्छस्। केही भइहाल्यो भने त...।' **** जब म सानो थिएँ, मलाई काठमान्डुबारे थाहा थिएन। एकदिन कैलाली कटासेको बसपार्कमा पुलिसले दुइटा चौधपन्ध्र वर्षका केटालाई समायो। ती घरबाट भागेका रैछन्। 'कहाँ जान भागेका हौ?' पुलिसले सोध्यो। 'काठमान्डु,' एउटाले भन्यो। त्यसदिन मैले सोचेको थिएँ- साँच्चै कस्तो होला काठमान्डु? के छ काठमान्डुमा। त्यसपछि महेन्द्र राजमार्गमा कुद्ने बस र ट्रकमा लेखिएको देख्न थालेँ- काठमान्डु। रेडियोमा पनि खुबै बज्थ्यो गीत- कान्छीलाई घुमाउने काठमान्डु सहर। जब टिकापुर पुगेर नेपाली फिल्म हेर्न थालेँ, बल्ल देखेँ- काठमान्डु। घर। भीड। धरहरा। सिंहदरबार। 'परिभाषा' फिल्ममा राजेश हमालले सुनिल थापालाई सिंहदरबारअगाडि लखेटेको दृश्य आयो, त्यसदिन अलिकति रहर पलायो। सिंहदरबारअघिको बाटोमा एकपल्ट हिँड्न पाए कस्तो हुन्थ्यो, जस्तो लागेको थियो तर मैले चाँडै त्यो रहर बिर्सिएँ। किनभने मलाई काठमान्डु लोककथाको देशजस्तो लाग्थ्यो। सुन्न रमाइलो लाग्थ्यो तर आफूले भोगेको कल्पना पनि गर्न सकिन्थेन। पछिपछि त कटासेबाट धेरै केटा काठमान्डु पढ्न पुगे। जब ती दसैं बिदामा फर्किन्थे, तिनलाई हेर्न गाउँमा भुराहरूको भीडै लाग्थ्यो। घाँटीमा 'खतरा' अंकित लकेट तिनले भिरेका हुन्थे। उही क्या, खप्पर! कसैले भने कानमा टप पनि लाएका हुन्थे। एकपल्ट एउटाले गफ दियो, 'मैले राजेश हमाललाई भेटेँ। हात पनि मिलाएँ।' त्यसपछि त ऊ बजारभरि हिट भयो। केटीहरूले लुकीलुकी हेर्न थाले। ऊ जब डान्स गर्थ्यो, मान्छेहरू ताली बजाउँथे। मेरो रहर फेरि पलायो। दसैं गयो। केटाहरू काठमान्डु फर्के। पुस लाग्यो, मेरो सपना ठिहिर्‍याउँदै सुक्यो। जब हामी बसाइ सरेर कालिकोट पुग्यौं, कालिकोटमा भने काठमान्डु लोककथाजस्तो लाग्न छाडेको थियो। किनभने प्रत्येक घरका कोही न कोही काठमान्डु पुगेकै हुन्थे। अलिअलि राजनीति गर्नेलाई त पानीपँधेरोजस्तै थियो। मलाई लाग्न थालेको थियो- काठमान्डु त्यति टाढा छैन। मेरो हत्केलाले छुन नसक्ने गरी आकासझैं टाढा छैन काठमान्डु। कालिकोट पुगेर म कवि भएँ। रेडियोबाट कविता बज्न थाल्यो। म कालिकोटको बजारमा हिट भएँ। रेडियोमा बोल्ने मान्छे मलाई ईश्वरजस्ता लाग्थे, तिनै ईश्वरलाई भेट्ने तिर्खा बढ्दै गयो। मेरो सपना भर्खरै जन्मेको बचेराका प्वाँखझैं पलाउँदै गयो। एसएलसी पास भएपछि मेरा सपनाका पखेटा उड्न सक्ने गरी बलिया हुन्छन्- म ठान्थेँ। म एसएलसी पास भएँ। बा र म सुर्खेत झरेका थियौं। 'यतै सुर्खेतमा क्याम्पस पढ्,' बाले भन्नुभो। 'नाइँ, म काठमान्डु जान्छु,' मैले पहिलोपल्ट सपना उच्चारण गरेँ। 'किन जानुपर्‍यो काठमान्डु?' बा छक्क पर्नुभो। 'म पत्रकारिता पर्छु,' मैले अड्डी लिएँ। मलाई थाहा थियो- पत्रकारिता काठमान्डुको आरआर क्याम्पसभन्दा अन्त कतै पढाइ हुन्न। बाले नजा काठमान्डु भनेर अड्डी लिइरहनुभो। म छट्पटिरहेँ। बहिनीले कालिकोटबाट मार्कसिट पठाइदिई। जब मैले घोरिएर हेरेँ- मलाई मेरो सपनाले साथ दिएको थियो। किनभने, मार्कसिटमा चपाईंको 'सि एच ए पि एन आइ एन' मा 'पि' छुटेको थियो। मैले बालाई देखाएँ। बाले गम्भीर हुँदै हेर्नुभो। 'पि' थप्न कहाँ जाने? 'कस्तो लन्ठो आको हो,' बाले भन्नुभो, 'भक्तपुर सानो ठिमी पुग्नुपर्छ, मिलाउन।' म खुसीले लगलग काँप्न थालेँ। 'म जान सक्दिनँ,' बा गम्भीर हुनभो, 'के गर्ने त?' म अवाक्। 'तँ मिलाएर आउन सक्छस्?' बाले मलाई गढेर हेर्नुभो। 'सकिहाल्छु।' बाले काठमान्डुसम्म पुग्ने एकजना साथी पनि खोजिदिनुभो। म पर्सिपल्टै हिँड्ने भएँ। अघिल्लो दिन काटेको टिकट बोकेर वीरेन्द्रनगरमा फन्का लगाइरहेँ। हिँड्ने दिन मसित थियो- एउटा छड्के झोला। स्कुले डे्रसको निलो सर्ट र पाइन्ट। गोडामा चप्पल। चोरगोजीमा पन्ध्र सय रुपियाँ र पखेटा बलियो भएको सपना। 'यताउता नबरालिनू,' बाले भन्नुभो। नाइट बसको साइड बिको चौध नम्बर सिटमा बसेपछि ढुक्क भएँ, अब काठमान्डु पुगिन्छ। मेरो साथी कालिकोटकै एकजना आचार्य थिए, उनले मलाई झ्यालतिरै राखे। घ्यारारार्र बस स्टाट भयो, मैले पखेटा फिजाएँ र भुर्र उडेँ। **** बसले जब कोहलपुर काट्यो- मेरो मन चन्चल हुँदै गयो। किनभने म कोहलपुरदेखि उता कहिल्यै गएको थिइनँ। आचार्यजी त कोहलपुरमा मासुचिउरा खाएर मस्त निदाएका थिए। म भने अघिल्लो सिटमाथि च्यापु अड्याएर अगाडिको सिसाबाट हेरिरहेको थिएँ- बसका हेडलाइटमा टल्किरहेका सडक छेउछाउका रूखहरू। ती पछिल्तिर दगुरिरहेजस्ता देखिन्थे। जति रात पर्दै गयो, उति बसका मान्छे निदाउँदै गए। पछि त लाग्न थाल्यो, ननिदाएका त दुई छौं, ड्राइभर र म। बसमा गीत बजिरहेको थियो, तुझसे नाराज नही जिन्दगी हैरान हु मै। म भने जिन्दगीसित हैरान थिइनँ। बसको झ्यालबाट चिसो स्याँठ छिर्न थालेपछि मैले सिसा बन्द गरिदिएँ। र, कल्पना गर्न थालेँ, बिहानै त काठमान्डु पुगिन्छ, कस्तो होला काठमान्डु? अँध्यारोमै बुटवल आयो। बुटवल मस्त निदाएको थियो। झिसमिसे उज्यालोमा नारायणगढ आयो। सडकछेउ चिया र अन्डा बेचिरहेका मान्छे देखिए। बस रोकिएन। कुदिरह्यो। आचार्यजी निदाएकै थिए। बुटवल नाघिसकेपछि त्रिशुलीको किनारैकिनार बस कुद्यो। सर्पझैं बटारिएको बाटो। जब बस किनारतिर ढल्किन्थ्यो, म बसलाई पहरातिर धकेल्थेँ। प्यासेन्जरलाई पिसाबले च्याप्न थालेपछि बस एउटा पहरानेर रोकियो। छुछु गर्दै मान्छेहरू झ्याङका पछाडि दगुरे। आचार्यजी गए र फर्किए। अनि फेरि निदाए। मैले भने रात छर्लंग पारेको थिएँ। मलेखुमा डकार निकाल्दै पुरीतरकारी खाएपछि बस फेरि कुद्यो। फनफनी जेलिएको बाटोमा मलाई चक्कर आउन थाल्यो। अनिद्राले पनि होला। सडकमा बस र ट्रकको भीड बढ्दै गयो। बिहानको सवा नौ बजेतिर बस उकालो उक्लिन थाल्यो। मान्छेहरू ब्युँझिएर यताउता हेर्न थाले। कोही कलंकी झर्ने कुरा गर्दैथे त कोही बसपार्क। हामी कहाँ झर्ने? मैले आचार्यजीतिर हेरेँ, उनी त घुर्दैथे। अबेरसम्म घ्यार्रघ्यार्र गर्दै कनेपछि बस सम्मो बाटोमा पुग्यो। मैले बकुल्लाझैं गर्दन तन्काउँदै अगाडि हेरेँ, जहाँ ठूलो साइनबोर्ड टाँगिएको थियो- वेलकम टु काठमान्डु। मैले आचार्यजीको कुम हल्लाएँ। उनी ब्युँझिएनन्। अगाडि गाडीका लस्कर थिए। बस कमिलाझैं हिँडिरहेको थियो। त्यहीबेला मैले पहिलोपल्ट देखेँ, काठमान्डु। पहिलोपल्ट उडेको बचेराले आकास देखेजस्तो। मेरा आँखाअगाडि सिनेमास्कोप दृश्य थियो- ससाना टल्किरहेका ढुंगाजस्ता घर। जो आँखाको वल्लो कुनादेखि पल्लो कुनासम्म फिजारिएका थिए। मेरो ज्यानमा खुसीका ससाना काँडा उम्रिए। कलंकी पनि आयो। केही मान्छे झरे। काठमान्डु त आइपुगियो, जाने कहाँ होला? मैले आचार्यजीतिर हेरँे, उनी त मस्त निद्रामै। म झ्यालबाहिरका लहरै घर हेर्दै छट्पटिरहेँ। बसपार्क आइपुग्यो। गाडीका त लहरै लहर। मैले जीवनमा पहिलोपल्ट यत्ति धेरै गाडी देखेको थिएँ। चक्कर आउन थाल्यो। आचार्यजी उठे। आँखा मिचे। मलाई झर्ने इसारा गरे। म झोला बोकेर झरेँ, उनी पछिपछि आए। मैले पहिलोपल्ट काठमान्डु टेकेँ। मेरो आत्मा मुस्कुरायो। **** 'कहाँ?' ट्याक्सी ड्राइभरले सोध्यो। शान्त आचार्यजीले भने, 'रत्नपार्क।' रत्नपार्कको नाम सुनेर म दंग भएँ, किनभने मैले काठमान्डुमा जाने तीन ठाउँमात्र थाहा पाएको थिएँ- रत्नपार्क, धरहरा र सिंहदरबार। सिंहदरबार र धरहराछेउछाउ ट्वाइलेट छैनन् भन्ने पनि मैले सुनेको थिएँ। रत्नपार्क नै ठिक। ट्याक्सी कुद्यो। मैले देखेँ- सकडभरि मान्छे नै मान्छे। तीनपांग्रे टेम्पो। टेम्पोभरि स्कुले डे्रसमा केटी नै केटी। यत्ति धेरै केटी त मैले देखेकै थिइनँ। काठमान्डु त स्वर्गे रहेछ कि क्या हो? ट्याक्सी एउटा सडकको किनारमा घ्याच्च रोकियो। आचार्यजीले मसित डेढसय मागे। अरू उनले थपेर तिरे। सडक शान्त थियो। ट्याक्सी गयो। 'ल अब म पनि लाग्छु,' आचार्यजीले झोला बोक्दै भने। लौ, म कहाँ जाउँला? 'कसकाँ जान्छौ?' उनले सोधे, 'कसैको नम्बर ल्या छैनौ?' एकदुईजना साथीको त ल्याएको थिएँ। जसले म कालिकोट हुँदै फोन नम्बर दिएका थिए। 'अल्लि पर पिसिओ छ। त्यहाँबाट फोन गर्ने' भन्दै उनी फटाफट हिँडे। पछाडि पनि फर्केनन्। मलाई अत्तालिएर छुलुक्क पिसाब आउलाजस्तो भो। गणेशको मन्दिरछेउको पिसाओमा पसेँ। खासमा त्यो फोटोकपी पसल रैछ। एउटा साथीलाई फोन गरेँ। 'डेरा सरिसक्यो,' उताबाट टर्रो आवाज आयो, 'डेरा सरेको छ महिना भइसक्यो, कति फोन गरेको।' लौ, तीनजनाले त डेरा सरिसकेछन्। बल्लतल्ल पाँचौं भेटियो। उसले सोध्यो, 'कहाँ हो?' 'रत्नपार्क,' मैले भनेँ। साउजीले सुनिरहेको रैछ, उसले भन्यो, 'भाइ, यो त रत्नपार्क होइन। हनुमानथान हो।' 'ए म त हनुमानथानमा रैछु,' मैले सच्याएँ। 'खोइ, मलाई हनुमानथान सान थाछैन,' साथीले भन्यो, 'सिंहदरबारअगाडि आएर कुर, म आधा घन्टामा आउँछु।' अब कता हो फेरि सिंहदरबार? 'यै पर्खालको डिलैडिल जाऊ, ठ्याक्कै पुगिन्छ,' साउजीले अगाडिको अग्लो पर्खाल देखाउँदै भने। सिमसिम पानी पर्न थालेको थियो। म हतारहतार हिडेँ। बल्लतल्ल सिंहदरबार गेटअघि पुगेँ। मानिसको लहरो थियो त्यहाँ। अगाडिपट्टि एकले अर्कोलाई धकेल्दै कुदिरहेका गाडीहरू। टिटिटि हर्न। मैले छेउ लागेर उभिँदा अगाडि देखेँ- राजेश हमाल दगुरेको बाटो। अनि, एउटा औंला ठड्याएर उभिएका पृथ्वीनारायण शाह। साथीले नदेख्ला भनेर म सिमसिम पानीमा भिजिरहेँ। ठिङ्ङ सिहदरबारअगाडि उभिरहेँ। चप्पलले घुच्चुकसम्म उछिट्याएको हिलो बोकेर। बोकेर एउटा झोला जसमा अझै गाउँ मग्मगाइरहेको थियो। जसमा अझै चर्को मग्मगाइरहेको थियो मेरो सपना। र, म थिएँ हड्बडाइरहेको, सहर पसेको जंगली मृगझैं। ... लौ सारा कालिकोट नै आएजस्तो भो। एकहुल केटाहरूले परैबाट हात हल्लाए। छ जना रैछन्। तिनलाई देखेर मेरो आँट आयो। सबैले दह्रो हात मिलाए। र, अघि लागे। म पछि लागेँ। कहाँ हिँडेको मलाई थाहा थिएन। कर्नालीतिरैका एकजना मान्छेले माइतीघरनेर होटेल खोलेका रैछन्। केटाहरूले मेरो ब्याग काउन्टरमा राख्न लगाए। र, एकै स्वरमा भने, 'घरबाट आको, टन्नै पैसा होला, फिल्म हेर्न जाऊँ।' र, केटाहरूले मलाई दगुराए- मनकामना चलचित्र मन्दिर। चलिरहेको थियो फिल्म- प्यार कोइ खेल नही। केटाहरूले इन्टरभलमा कोक पनि खाए। कालिकोटमा सानो टिभीमा फिल्म हेरेर आएको म सिनेमाको ठूलो पर्दामा पनि रमाउन सकिरहेको थिइनँ। ज्यान सकसकाइरहेको थियो, मलाई काठमान्डुका सडकमा बेस्मारी दगुर्न मन लागिरहेको थियो। फिल्म सकिएपछि केटाहरूका सयौं बहाना। एउटाले भन्यो, 'मेरोमा त दिदीभिनाजु छन्।' अर्कोले भन्यो, 'दाइका साथीहरू आछन्।' यसरी एकपछि अर्को तर्किन थाल्यो। मैले रुन्चे अनुहार लाएँ। 'बुद्धनगरमा भुपेन्द्र एक्लै बस्छ,' एउटाले आइडिया लायो। होटेल फर्केर मैले झोला लिएँ। कसैले देखेको रैनछ, उसको कोठा। कोही यता भन्छ कोही उता। यही घर हो कि भनेर शंका लाग्दा केटाहरू चिच्याउँथे, 'एइ, भुपेन्द्र।' दसबाह्र घरमा चिच्याएपछि एउटा घरबाट भुपेन्द्र बाहिर निस्कियो। केटाहरू मलाई पार्सलझैंे जिम्मा लाएर फर्के। 'किन आको?' उसले सोध्यो। 'पि थप्न,' म हाँसेँ। भोलिपल्टै उसले मलाई आरआर कलेज पुर्‍यायो। स्ववियुका केटा चिनेकै। पछि मार्कसिटमा 'पि' थपेर ल्याउने सर्तमा मैले फम भरेँ। र, हस्ताक्षर गरेँ। म काठमान्डुको भएँ। ... जब परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीको झ्यालबाट मैले मार्कसिट भित्र धकेलेँ, भित्रबाट टर्रो आवाज आयो, 'यत्ति जाबो कामका लागि पनि ह्याँ आउने? सुर्खेत जाऊ, क्षेत्रीय कार्यालयमा थपिदिन्छ।' सातआठ दिन काठमान्डुमा बरालिएर म सुर्खेत फर्कें। सोझै क्षेत्रीय कार्यालय पुगेँ। त्यहाँ त एकैछिनमा थपियो- पि। निलो मसीले। लौ भइहाल्यो त। एकैछिनमा म बाको गोडामा निहुरिन पुगिसकेको थिएँ। 'यत्तिका दिन लाइस् त,' बाले सोध्नुभो, 'पैसा पुग्यो कि पुगेन।' 'साह्रै गाह्रो रैछ, बल्लतल्ल पि थपिदिए।' छोराले ठूलै काम गरेछ भनेर बा मख्ख पर्नुभो। त्यही साँझ मैले सुनाएँ, म आरआर क्याम्पस भर्ना भएँ। अब पत्रकार हुन्छु। बा केही बोल्नुभएन। त्यसको पन्ध्रदिन पछि, सिरक र डसना बोकेर म काठमान्डु हिँडेँ। काठमान्डुको भीडले मलाई पर्खिरहेको थियो। **** त्यसको चार वर्षपछि, घट्टेकुलोको अँध्यारो कोठामा म भोकै छु। र, काठमान्डु मलाई भोको अजिंगरजस्तो लागिरहेछ, जसले मलाई सुस्त-सुस्त निलिरहेछ। अब यो काठमान्डुमा बस्ने कि नबस्ने? सिरानी कोखामा च्यापेर सोच्दासोच्दै म त निदाएछु। बिहानपख ब्युझिएँ। टन्न अघाएझैं पेट ढुस्स थियो। खै किन हो, हिजोको पिन्चे म अलिकति बलियो भएको थिएँ। साला, जिन्दगीमा मानिसलाई लोद्धर लाग्यो भने भोकै बस्नुपर्ने त हो। भोकै त म बसिरहेछु। अब फेरि यस्तै दिन आएपनि म आत्तिन्नँ। काठमान्डुले जति गरोस् म हारेर जान्नँ। मैले मुठी कसेँ। ओरालो जति तल झरेपनि एक न एकदिन त उकालो आइहाल्छ नि।

WeReNe · Aug 28, 2010 12:41 PM · 15,808 views

6 Replies

america ma dherai nepali haru sanga milchha hla yo katha.......ghanta hanera nai pani sabai yesari nai basi ra chhan......america ma harera farkanna

kaji sahab · Aug 28, 2010 1:03 PM

Werene, Liked your story a lot. It was very sweetly written. Loved the details. I liked the innocent mood of the protoganist. It was beautiful to see Kathmandu through his eyes. Kaji sahab is right. I think a lot of people have the experience of coming to a large American city the way the protoganist experienced coming to Kathmandu. I was imagining that the experience of seeing 'naya bus park' with the rows of busses for the protoganist must have been the same experience as I felt when I saw rows of jumbo jets in the airport in Singapore on my way to come to America. I hope you don't mind but I didn't understand a few words. Can you give definition of the below words? I would appreciate it. Birano - मलाई काठमान्डु एकदम बिरानो लाग्न थालेको थियो। Hashya - सिंहदरबारअगाडि लखेटेको दृश्य आयो is Hashya vision? Panipadhero - अलिअलि राजनीति गर्नेलाई त पानीपँधेरोजस्तै थियो।  

BABAL Khate · Aug 28, 2010 8:22 PM

dude this is not written by me. i copied from nagariknews site to share with you guys. the credits are at the first line of the story.

WeReNe · Aug 29, 2010 12:09 AM

Babal Bro, Birano- An unknown place (where you know nobody or nobody knows you). Panipadhero- Those who are in politics can easily go to kathmandu frequently (like we go to Dhara or Kuwa to get water every morning) Drishya - Scene   Last edited: 29-Aug-10 09:32 AM

Srijana 12 · Aug 29, 2010 9:27 AM

It makes me remember those days when I was unemployed in NY. Feels like crying !

amricane · Aug 31, 2010 6:43 PM

OH my god i am crying!!!!!!!!!:(

mayamero · Sep 1, 2010 5:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all