माकुरा "बुझिस, पैसा र बैंस भन्ने कुरो डुब्न लागेसी मान्छे आत्तिदा रे छन" शुक्रबारे रातको पदचाप मधुरो हुँदै गैसकेको थियो पर कतै पूर्बी आकासमा बिहान शनिबारे भर्याङ्ग उक्लिदै गर्दाको बेला थ्यो--म झकाएको मात्र के थिएँ--एक्कासी फोन घुईकिएर गीत गाउन थाल्यो। तिरमिरीएका आँखाले फोन हेर्या डी सी को एरिया कोड भाको फोन नम्बर रे छ, त्यो पनि नचिनेको। "एक्सेप्ट्" र "इग्नोर्" भन्ने बत्ति झ्याप झ्याप गर्दै थिए, इग्नोर भन्नेलाई थिचेर शयनासनमा फर्किएँ। भाईब्रेसन अन्त्याँड संगीत भावमा राखेको फोन फेरी घुईँकिएर बज्ने हो कि भन्दै पर्खिंदै थिएँ। बजेन। परेलीले पर्दा तानीसकेकै थिए। स्वप्न बगैंचामा पुग्नै आँटेको थिएँ क्यारे फेरी फोन घुईंकियो। कस्लाई गाली गर्ने हो थाह नभएनी गाली गर्दै यसो फोन हेरेको, यस पाली एल ए को नम्बर रे छ। शहर शहर बाट फोन आएर सुत्न नपाईने भो भन्दै एक्सेप्ट थिचिदीएँ। बुझे बुझीहाल्छ नबुझे उसैले राख्छ भनेर "हैन यो आधाराताँ मान्छे सुत्दैनन् भन्ने कसरी जान्या हो?" भनें। अर्को तिर म भन्दा खाँटी मान्छे रे छ। बिना कुनै औपचारीकता भनीहाल्यो "बुझिस, पैसा र बैंस भन्ने कुरो डुब्न लागेसी मान्छे आत्तिदा रे छन"। "दुईटै चिलिम फर्किए तेरो पनि?" मैले भनें। मान्छे चिनजान कै रे छ। "काँ मेरो? मेरा त ती अनिता र सुनीता थिएनन दीदी बैनी भुरुङखेलमा? त्यस्तै छन --गर्मीको मैनामा तापक्रम जस्ता" उस्ले हाँस्दै भन्यो। "तँलाई मैले कति चोटी भो भन्याँ भन त यसरी सुत्या मान्छेलाई उठाउने हैन भनेर?" मैले अलि तातेर सोधें। "के कुरा गर्या यार तैले? यस्तै बेठेगानको कुरा गर्छस र त जोर जाम केई छैन तेरो -- उठाउने भनेकै सुतेकालाई त हो नी, उठेकालाई त फेरी के उठाई भो र? अनि तँ सुत्या छस कि छैनस अब मैले ह्याँबाट देख्छु कि क्या हो----" "काँ बाट फोन गर्या तैंले अहिले?" न आईपुगीसक्या हो एल ए नै के ठेगान? भनेर सोधें। "यहाँ लैनचौर आ थें अघि अनि अभिलाषा सँग भेट भैरा भन्या यत्तिकै. सामाखुसी तिरबाट आउँदै रैछे। अचेल दुई चार चोटी भेट भैसक्यो भन्या। अनि अभिलाषा सँग भेट भए पछी तँलाई फोन नगरी भो? तु गर्नु परेन? त्यसमाथि फेरी त्यै दुई रुप्या मिनेट न हो अचेल।" "को अभिलाषा?" मैले सोधें। "को अभिलाषा रे? सोध्या हेर न सोध्या -- कत्ति न १५/२० वटा अभिलाषाहरुको माझाँ हुर्क्या जस्तो"। उस्ले भन्यो। हुर्किन त १५/२० वटा मात्रै होइन कति हो कति अभिलाषाहरु सँग हुर्किईयो, त्यो क्रम अझै युद्धस्तरमा चलेकै छ। तर उस्ले भनेको अभिलाषामा हेराई ठोकिएर फर्किन्थे घाईते भएर, मैले भनेकामा हेराई आरपार हुन्थे। बुझेकै हो। "माराजगन्ज उज्यालो पार्ने चै भन्या होला तैंले होईन?" "अँ" उस्ले भन्यो अनि थप्यो "उ बेलाँ अन्त बत्ति गए मैनबत्ती देखिन्छ, माराजगन्जाँ बत्ति गए अभिलाषा देखिन्छ" भन्ने तैं हैन? "उ जत्तिको धपक्क अरु कोई थिएनन अनि अरु के भन्नु त?" "तैले पनि कैले काई त्यै पुरानो कावासाकी बजाज सम्झाउँछस यार -- दुई चार लात नहानी स्टार्ट नहुने --- कत्रो हिम्मत त तेरो मलाई को अभिलाषा भनेर सोध्ने" "ल ल --अनि अघि के बैस र पैसाको कुरो गर्या? कस्को के सकियो?" "त्यै अभिलाषाले तोर्पे आदित्य भन्ने सँग बिहे गर्या थि। मैले भन्या थिएँ नी तँलाई---कुस्त गाँठवाल थ्यो त्यो आदित्य भन्ने। भैमा न भाँडामा भा थि अभिलाषा महारानी भएर। एक चोटी भाटभटेनी सुपरमार्केटमा भेट भा बेला "दीपले सधै सोधीरहन्छ तिमीलाई" भन्देको थिएं मैले के भन्दीरैछे भनेर --के भन्या भन्न तेस्ले --- सूर्यको उज्यालोमा तिमी अझै दीप देख्दैछौ रे? " लच्कि लच्की हिन्दैथिई त्यहाँ उ। पछी एउटा चिल्लो कारमा चिप्लिई। तेल्ले सूर्य भनेर तै आदित्यलाई भनेकी त होला नी।" "यो खबर मलाई सुनाईनस त पहिला?" मैले हाँस्दै सोधें। "नराम्रो खबर के दिनु खवर राम्रो भए पछी सुनाम्ला तँलाई भनेर नी" उस्ले पनि हाँस्दै भन्यो। अभिलाषालाई मैले चिनेको थिएँ। मेरो मामाघर सँग उस्को पनि चिनजान थ्यो। अभिलाषा सूर्योदयको त्यो आभा थिई, जस्लाई हेरेर मुग्ध हुन त सकिन्थ्यो तर नीजी बनाउन सकिन्नथ्यो। मैले त्यो बेलैमा बुझेको थिएँ। बाङ्गेले कि त बुझेको थिएन, कि त बुझ्न चाहदैन थ्यो। अभिलाषाले बुझाउन कोशीस नगरेकी पनि होईन। मेरो बाङ्गेलाई सम्झाउने कोशिस त हार्या जुवाडेको खल्ती जस्तो भैसकेको थ्यो। ती दिनहरुमा अभिलाषा आगोमा तप्त फलामको त्यो डण्डी जस्ती थिई, जो स्वयम एक आगो बनेकी थिई। निकै पर उस्लाई छोए पनि डाम्थी। पटक पटक डामे पनि बाङ्गे भने छुन छोडदैन थ्यो। एकदिन म मामाघर पुगेर फर्किदै गरेको बेला अभिलाषा सँग भेट भएको थ्यो पानी पोखरी बाट बालुवाटार निस्किने त्यो बाटोमा। उस्ले बाङ्गेको हालत प्रति चिन्ता ब्यक्त गरी अनि एक् छिन कुरा गरेर हामी बाटो लागीम। त्यसपछी अभिलाषाले म पट्टी बिशेष रुझान देखाउन थाली। त्यो कायममुकायम नाटकले बाङ्गेलाई भत्काउँदै लग्यो। मेरो भागमा त अभिलाषाको तर्फबाट पर्ने केही थिएन, तर बाङ्गेको कोप निक्कै दिन खेप्नु पर्यो। त्यस पछी अभिलाषा आफ्नै दुनियाँमा। बाङ्गे आफ्नै। म आफ्नै। मलाई फेरी दशाले कुत्कुत्याएको रहेछ, परदेश तिर भास्सीएँ। "ल ल बाङ्गे, अब तेरो त्यो पैसा र बैसको कुरा सक अनि सुत्नु पर्छ" मैले भनें। "हो भन्या पैसा र बैंस डुबे पछी मात्रै थाह हुने रे छ --" उस्ले फेरी भन्यो। "अनि?" मैले फेरी सोधें "कस्को के डुब्यो?" "पैसा आदित्यको सकिएछ बुझिनस -- डेढ बर्ष भो रे परदेश तिर चन्दन् घोट्न गा-- बैस चै अभिलाषाको सकिन लाएछ--" "मैले के गर्नु पर्यो त अब यो आधाराताँ?" मैले भनें। "तैले त के गर्नु नी? तँलाई त जानकारी पो देको त --सबै तिर मैले भ्याउनु पर्छ, के गर्नु?" "ल ल --राम्रो गरीस --" मैले कुरा सक्न खोज्दै भनें। "ए-ए- दीप-ए -- एउटा कुरो सुन्न -- अलि जरुरी जरुरी जस्तो छ के --" उस्ले अड्की अड्की भन्यो। "के?" मैले सोधें। "कुरो के भने नी ----" उस्ले भन्दा भन्दै रोकेर भन्यो "पख पख यहाँ मोबाईल बज्यो मेरो---कस्ले गर्यो फेरी फोन आफुलाई यहाँ यस्तो जरुरी कुरा गर्न लाईरा बेलाँ--" उ एक छिन चुपचाप थ्यो, घण्टी बजेको म पनि सुन्दै थिएँ। न उ फोन उठाउँथ्यो न नै म सँग बोल्थ्यो -- "ए बाङ्गे---" मैले बोलाए। "ल ल म तँ सँग पछी कुरा गर्छु है ---" उस्ले कुरै नसकी फोने राख्ने सुर कस्यो। "आधाराताँ उठाएर कुरै नसकी फोन राख्ने होईन --कस्को फोन आयो--?" मैले सोधें। " अभिलाषाको फोन आयो ह्याँ----" उस्ले लाईन काटी सकेको भए पनि फोन कानमा राखेर केही पल म चुपचाप भएँ। अध्यारो कोठामा जालो अनि माकुरा देखें मैले।
Deep · Aug 16, 2010 11:49 AM · 45,881 views
साथीहरुलाई आभार प्रकट गर्न नआई त भाकै छैन। हाम्रो कुराको त मतलबै गरेन भन्ने नपरोस है। यति चै निबेदन गरीहालेको अहिले छ्यास्स।
Deep · Aug 18, 2010 10:36 AM
ए दिप ज्यो , खै क्रमश खै? यतिकै बिचमा छोड्न नपाई है । त्यस्पछी के भयो त?
chanaa_tarkaari · Aug 18, 2010 10:43 AM
ramronepal, प्रभो, यो राम्रोनेपाल भन्ने नयाँनेपाल जस्तो त होईन होला नी, कसो? पैसा र बैस उस्तै उस्तै होईन त, प्रभो? हुँदा राप, नहुँदा ताप। Bhojpure01, प्रभो, भोजपुरकै हो कि क्या हो? ट्क्सार, गोगने, जरायोटार, दिङ्गला जस्ता ठाउँहरु मलाई पनि आफ्नै जस्तो लाग्छ। त्यै त प्रभो, है? पैसा र बैस घाम जस्तै। झुल्के देखि चम्कियो, रन्कियो। साँझ तिर सिद्धिदै जाँदा सेलायो। रात परेसी त अन्धकार। राम राम राम। आफ्नो चै रात पर्छ फेरी ब्यान हुनेहरु चम्किन थाल्छन। यस्तै रे छ जिन्नगी --- crazy_love, "मैले पनि माकुरा नि देखेँ, जालो पनि झलझली देखेँ, समयपुगेपछि यस्तै देख्छन् कि क्या हो सबैले? " खै -- आफु त जालोमा परेसी मात्रै माकुरो देखिन्छ --के भाको के -- arahat, "....किन "down arrow" मा थिच्न सक्या होला असक्तिहरुले ..." प्रभो, सान सरले म फलानो भनेसी धनुष र दुईटा बाण दिन थाल्या छन। एउटा रातो अर्को हरीयो। धनुष र बाण भेटीसी ताक्नेले ताक्छ्न। त्यस्मा अन्यथा लिनु हुँदैन। मेरो खेस्रालाई रातो बाणले मुन्ट्यायो त मुन्ट्यायो, हरीयो बाणले मल्हम पनि लगाएकै छ। म फेरी त्यस्तो उम्दा लेखक पनि होईन। रातो बाण रोक्न सक्ने हैसियत कहाँ छ र मेरो? केही दिन पहिला मैले एक प्रसिद्ध भारतीय लेखक धनपत राय श्रीवास्तव जो मुन्सी प्रेम्चन्द नामले प्रख्यात छन उनका दर्जनौ कथाहरु पढें। ती कथाहरु मध्ये कुनै मलाई मन परे कुनै परेनन्। माझिएका स्थापित लेखकहरुले त सधै पाठकहरुको मन बाँध्न सक्दैनन भने म जस्तो लेखनको एउटा सिकारु लहडी बिद्यार्थीले राता बाण भेट्नु के नौलो भो र? प्रभोको सद्भाव पाएँ। अमुल्य हौसलाले धन्य भाको छु। samarthan, "I can not do anything than curse those stupid people who clicked on "down arrow". ती राता बाणले मुन्ट्याउनेहरुलाई पनि सचेतकको रुपमा लिएको छु मैले प्रभो। उनीहरुले पनि गुन लगाएका छन। प्रभोले Thumbs up !!! Clicked on "Up arrow" भने पछी मैले गरेको कोशीस सबै खेर गएनछ भनेर मैले बुझें नी। प्रभोले पनि धन्न "थम्सप" भन्या भे र सास आयो "फिङगरप" भन्या भे? राम राम राम! ritthe, "नराम्रो सँग बाँण हान्या रेछिन अभिलाषाले दीप ब्रो लाई !" उनका मखमली बाण कैले अधरबाट चल्थे कैले परेलीबाट --- त्यस्ता बाणको बल्ल बल्ल बानी परिन्थ्यो प्रभो तर स्पर्श बाणले त खुत्रुक्कै पार्थे। serial, "दीप ब्रो को मुटु चसक्क भएन त.." चसक्क मात्रै भए त हुन्थ्यो नी -- त्यो त एक चोटी न हुने हो --मान्छेलाई सिलौटामा राखेर लोहोरोले पिस्या छन। भन्न नहुने रे मात्रै। :) Birkhe_Maila, बैस लङ्गुर बुर्जाको खाल अनि आफु जुवाडे भएसी पैसा त सिद्धिने नै भो नी जिम्माल-- तर जे भए नी -- त्यो नेपाल बरफ उत्तर पस्चिम--यस्तै आधा एक किलोमिटर जति क्या-- त्यहाँ दाइने पटीका घरमा आफु पैसाको बादल् मुनी परे पनी उनी बैसको आकासमा चम्केकी देखिन्थ्यो र हरेस खाईएन भनम न---कसो? Stat, "...यसै त उतै गाम तिर जान पर्यो भनेर मन बहकिएको बेला मा झन क्यारम र कसो गरम होला ..." त्यो त हो प्रभो --क्यारम र कसोरम मैतीदेबी र बालुवाटार जस्तो भन्या। बालुवाटार तिर पुग्यो भेट नहुने -- थुक्क! उता मैतीदेबी जानु पर्ने रे छ भन्यो --मैतीदेबी तिर पुग्यो---थुक्क, बालुवाटार जानु पर्ने रे छ भन्यो -- कसै गरे नी नहुने -- बिस्टे, "पैसो मा त कहिले तैरिन सकिएन यो जुनीमा,भाको बैस पनि ढल्कदो छ् प्रभो,अभिलाषा त थिए धेरै प्रभो हाम्रा नि तर प्रभो को जस्तो बत्ती गा बेला देखिने चै हैन। " हरेस नखाम् प्रभो--अब शान्तीगोरेटो र मैजुबाहाल छरछिमेक भए नी चुच्चेपाटी-महांकाल तिरका अभिलाषाहरुलाई सम्झिम न --पैसा बतास, बैस गर्मी रे छ प्रभो--संगसंगै भए पो रमाईलो नी हुने -- कैले एउटा हुने, अर्को नहुने --कैले दुईटै नहुने --अनि के हुन्थ्यो --है, प्रभो? Geology Tiger, "माकुराको जालो,....... मलाई यो बाङ्गे भन्ने पात्र एकदम मन पर्छ...." हो प्रभो, त्यै जालो बुनेर बस्ने माकुरो जस्तै थ्यो बज्या कैले कैले त -- हेर्न सम्म त रमाईलै हो - आफै त्यो जालोमा परीयो भने चै पन्छाउँदैको हैरान --- bhakte dai, "हराएको दिपको आगमन ले साझा मा फेरी रौनक छायो ..." प्रभो --साझा त सबैथरी ताराले जगमगाएको आकास हो। खाली आफुले चिनेको तारा एउटा अन्तराल पछी देख्दा आकासै परीचित लाग्छ नी कैले काईं--त्यस्तै भाको होला -- म त सकीनसकी झिपझिप गर्ने नै प्रभोहरुको सदभावले हो। perfectionist, "दिल गार्डेन गार्डेन भो। " प्रभो -- उसको पनि दिल गार्डेन गार्डेन बनाउँछु भनेर उसको मनमा ४ आना जति जग्गालाई बैना देको थिएँ --कुन सडको उसले त अर्कैलाई जग्गा पास गर्दीछ -- गार्डेनको बार्डेन त अचेल अर्कै छ छ -- मेरो त बैना पनि डुब्यो नी --- Lekhak, "---हाम्रो जमानाको संस्कृति बच्थ्योकी भन्ने सोच राख्दछु--" खै प्रभो, हाम्रो जमानाको संस्क्रीती त छोराको बर्तमान गर्न पण्डीत खोज्दैथिईन अरे कपन तिर -- उनलाई बचाउने अर्कै छ -- १५ बर्ष अघि जग्गेमा बस्याथ्यो नी उनीसँग --हो उसैले बचाउँछ ----हामीले त सकेदेखी अचेलकै सस्कृती अगाल्नु पर्ने हो -- क्यार्नु र -- nakkali keti, :) :) सत-प्रतिसत थपेर नक्कलीकेटीआर्पण गर्दै। लौ जा त। जे पर्ला पर्ला। spring1, "आज मेरो मनले साझा मा जाऊ भन्दै थियो किना भन्या होला भनेको त दीपज्यू को दामी कथा आको रैछ" मेरो नी मनले आज साझा जाम् जाम भन्थ्यो -- स्पृङ्ग लम्बर एक सँग भेट हुन रे छ -- यसै त मेरो मन किन बहकिन्थ्यो र --- पात झर्ने बेलाँ पलाको झै पो भो गाँठे! Nepal ko chora, प्रभो -- यो हाटाँ भेट भो धेरै पछी। सुनमा सुगन्ध त मेरो होईन, सुन झै देखिने पित्तल चै मेरै हो तर त्यो सुगन्धित् सुन त प्रभोको मनमा अभिलाषाले उपहार देको रे भन्ने सुन्या प्रभो मैले त --- love life , सद्भावको लागि आभार। खुशी लाग्यो। खुशी पनि स्कुलको घन्टी जस्तो लाग्छ --छुटछ। लागे पछी दशा जस्तो लाग्या लागेई गर्नु नी --- ANS, हेरी यस्तो यस्तो परेसी अनेक आउँछन की कुरा मन्मा, प्रभो -- फेरी परीचय उ सँग गर्नु पर्ने भो पुरानो चिनजान बिर्सिनु पर्ने भो त्यो साँझ त्यो रात त्यो आँधी बिहान हुँदा अब बिर्सिनु पर्ने भो त्यो मद भत्किदो हद ती स्पर्श नउक्सीने बन्दकी झै बिर्सिनु पर्ने भो त्यो अंगालोको बन्धन उर्लेका स्पन्दन निथ्रुक्कै भएर फेरी बर्षा बिर्सिनु पर्ने भो फेरी परीचय उ सँग गर्नु पर्ने भो पुरानो चिनजान अब बिर्सिनु पर्ने भो chanaa_tarkaari, "ए दिप ज्यो , खै क्रमश खै? " क्रमश: खै रे? अभिलाषाको क्रमश: लाई अर्कैले पूर्णबिराम लाको जस्तो लाग्या थ्यो आफ्नो पाना पल्टाको पल्टाकै छु --क्रमश: मै मसि सुक्ला जस्तो भै सक्यो प्रभो---
Deep · Aug 18, 2010 4:01 PM
दुइटा डबल राखेर स्वस्ति माने हो माने प्रभो गफ गर्ने बिद्या बरीधी का बाट लिनु भाको हो हो बरु पर्भो ले , हामी नि तेतै जान्थेम सप्को मुख्मा टप्प बुझो लार कता हिन्या हो पर्भो हामी नि आउँदै छम।
बिस्टे · Aug 18, 2010 4:20 PM
फेरी परीचय उ सँग गर्नु पर्ने भो पुरानो चिनजान बिर्सिनु पर्ने भो त्यो साँझ त्यो रात त्यो आँधी बिहान हुँदा अब बिर्सिनु पर्ने भो त्यो मद भत्किदो हद ती स्पर्श नउक्सीने बन्दकी झै बिर्सिनु पर्ने भो त्यो अंगालोको बन्धन उर्लेका स्पन्दन निथ्रुक्कै भएर फेरी बर्षा बिर्सिनु पर्ने भो फेरी परीचय उ सँग गर्नु पर्ने भो पुरानो चिनजान अब बिर्सिनु पर्ने भो ------ ओ हो हो हो !!!!मुटुलाइ छोयला कचिला बनाउने शब्द संयोजन अत्ति अत्ति मन पर्यो !!!! थुतुनो किताबमा पुराना पुराना मित्रहरुसित पुनर्मिलन हुन थालेसिन यो कविता अझै सान्दर्भिक हुन थाल्यो गाठे !!! क्यार्नी हौ !!!! यस्तै र'छ त नि नियति |
chanaa_tarkaari · Aug 18, 2010 5:12 PM
फेरी घर पुग्या जस्तो भो त, पुराना कुरा नसम्झाऊ न भन्छु.....................
ek@l · Aug 19, 2010 1:47 PM
जालो अनि माकुरा-what are you trying to say ? katha padhna baseko kabita jhan gajjab ko .
sym · Aug 19, 2010 3:10 PM
थप धन्यबाद भन्नै बाँकी छ आफ्नो साझा सागरमा झन्नै हराईसकेछ यो त्यान्द्रो त। भ्याको बेला हार्दिक आभारका पुस्प-पत्रहरु सबैको बाटोमा छरेर जाँदै छु। मायालुको अधरमा छचल्केका आफ्ना रहरहरु झै जीवन्त होस साथीहरुको जीन्दगी।
Deep · Aug 20, 2010 10:07 AM
Deep ko story padhesi chain Dettol sabun lay nuha chain fresh hunee.... Short story collection bhanera angrezee ma kitab chapnee hamra kei nepali writer bhanda chain Deep ko story chain ka ho ka ramro .. Story padhera tesai musu musu hansna man lagnee... Jai hosh
kancho · Aug 20, 2010 10:30 AM
Deep guru Yo sajha ma jhulkina guru kai darshan chaine raichha. ekai choti duita pelisakya raichhan guru le aafulai ta duita haat ma laddu jaso bha chhan :D
Juggy · Aug 21, 2010 3:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion