यस्ती थिइन् श्रुति 04/05/2010 08:42:00Naya Patrika Font size: कोठामा एउटा ठूलो पियानो छ । भित्तामा पेन्टिङ नअटाएर भुँइभरि छरिएका छन् । यसले कोठामा चित्रकला र संगीतको अनुपम संगम भएको अनुभूति दिलाउँछ । भित्तामै टाँगिएको छ, स्व. अधिराजकुमारी श्रुतिसँगैको उनको फोटो । अर्को एउटा फोटोमा श्रुतिसँग उनकी श्रीमती पनि छिन् । उनी हुन्- चित्रकार गोविन्द डंगोल, जसले तत्कालीन अधिराजकुमारी श्रुति शाहलाई लामो समय पेन्टिङ सिकाएका थिए । राजा वीरेन्द्र र रानी ऐश्वर्यकी छोरी तथा तत्कालीन अधिराजकुमारी श्रुतिबारे चित्रकार गोविन्द डंगोलको स्मृतिः ००० ०५१ पुसको कुनै चिसो दिन थियो त्यो । अघिल्लो दिन पानी परेर उपत्यका जलमग्न भएको थियो । म त्यसवेला ब्रह्मटोल बस्थेँ । ललितकला क्याम्पस पढाउँथँ । क्याम्पसप्रमुख वीणा प्रधान थिइन् । केही दिनअघि मात्रै दरबारका सचिव राघव शाह अधिराजकुमारी श्रुतिलाई चित्रकला पढाउने शिक्षकको खोजीमा ललितकला क्याम्पस आएका थिए । क्याम्पसप्रमुखले मेरो नाम सिफारिस गरिन् । हुन त त्यसभन्दा अघि पनि दरबारबाट शशीविक्रम शाहलाई 'श्रुतिलाई पढाउन' भनिएको रहेछ । उनले पनि 'डंगोल राम्रो पढाउँछन्, उनैलाई भन्नूस्' भनेका रहेछन् । यसरी दुवैतिरबाट मेरो नाम सिफारिस भएपछि दरबारका सचिव मलाई भेट्न आएका रहेछन् । 'श्रुति सरकारलाई पेन्टिङ पढ्न साह्रै रहर छ । पेन्टिङ शिक्षकको खोजी भइरहेको छ, तपाइंको नाम मैले पाएको छु,' शाहले मलाई भने । 'म अरूभन्दा सिनियर शिक्षक हुँ,' मैले भनेको थिएँ, 'चित्रकला पढाउनमा अरूभन्दा म कम छैन ! तपाइंहरू मलाई एक महिनाको प्रशिक्षणमा राख्न सक्नुहुन्छ । चित्त नबुझे म छाडिदिन्छु ।' त्यही दिन राघव शाहले पछि खबर गर्नेगरी मेरो बायोडाटा लिएर गए । ००० राति १० बजेको थियो । म सुत्ने तरखरमा थिएँ । दरबारबाट फोन आयो । त्यो फोनले मलाई झस्काइदियो । दरबारका उनै सचिव राघव शाहले फोनमा भने, 'ल, डंगोलजी भोलिदेखि नै सुरु गरौँ । म बिहानै तपाइंको घरमा गाडी पठाइदिन्छु ।' त्यो रात मनमा अनेक कुरा खेलिरहे । रातैभरि जागा भएँ । छाती गह्रौँ भएर आयो । हातगोडा लगलगी काँपे । मनमा एकप्रकारको डर भरिएर आयो । म काठमाडौंको अति सामान्य नेवार परिवारमा जन्मेको मान्छे । दरबारका नियम-कानुन केही थाहा थिएन । कोसँग कसरी बोल्नुपर्ने हो ? कसलाई कसरी सम्मान दर्शाउनुपर्ने हो ? दरबार प्रवेशमा कति अड्चन खेप्नुपर्ने हो ? के भन्न हुने हो, के भन्न नहुनेे ? केही पनि थाहा थिएन । साँच्चै भनुँ भने त्यसपहिले ५० वर्षको उमेरसम्म म दरबार पसेको पनि थिइनँ । यस्ताखाले अनेक तर्कना रातभरि आइरहे । राति नै सोचेँ- अंग्रेजीमा बोल्नु ठीक होला । अंग्रेजीमा बोल्दा दरबारमा गर्नुपर्ने सम्मान र जी-हजुरीमा चुकिएला भन्ने डर पनि हुँदैन । भोलिपल्ट बिहानै मलाई लिन दरबारको गाडी आइपुग्यो । धेरै ठाउँमा गेटपास थमाउँदै दरबारको एउटा कोठामा पुर्याइयो । एकैछिनमा अधिराजकुमारी कोठाभित्र आउनुभयो । हेर्दै शान्त देखिने श्रुति सरकार अनुशासित पनि हुनुहुन्थ्यो । दरबारको ठाँटबाँटमा हुर्किएको मान्छे यति अनुशासित र भलाद्मी हुनुहोला भन्ने मैले सोचेकै थिइनँ । पहिलो भेटमै म निकै आश्चर्यमा परेँ- कहाँ आएँ ? अब के गर्ने ? भन्ने अन्योल भइरहेकै थियो । उहाँलाई देख्नेबित्तिकै मैले जिउ झुकाएर नमस्कार गरेँ । 'बस्नूस् न सर,' अधिराजकुमारीले भन्नुभयो । 'हैन सरकार, हजुर पहिला बसिबक्स्योस्,' मैले भनेँ । 'तपाइं पहिला बस्नूस् न, अनि म बस्छु,' श्रुतिले भन्नुभयो । 'सरकार नबसी म बस्ने त कुरै हुँदैन नि सरकार,' मैले फेरि आग्रह गरेँ । उहाँलाई मनाउन निकै गाह्रो भयो । 'ल-ल ठीक छ, मै बस्छु,' उहाँले कुर्सीमा बस्दै भन्नुभयो, 'अब त बस्नूस् ।' अधिराजकुमारी श्रुतिको बालसुलभ र मिजासिलो व्यवहारले म भित्रभित्रै खुसी भएको थिएँ । सोचेँ, 'धक फुकाएर पढाउन सकिने भयो ।' मैले अंग्रेजीमा भनिहालेँ, 'सरकार म सामान्य नेवार परिवारको मान्छे । दरबारिया भाषा बोल्न मलाई आउँदैन । केही गरी बोल्दा तलमाथि परे माफ गर्नुहोला ।' श्रुति सरकार खिस्स हाँस्दै भन्नुभयो, 'ठीक छ, आफूलाई सजिलो हुनेगरी बोल्नुहोला ।' ००० श्रुति सरकारलाई चित्रकला पढाउँदा म खुब चर्चामा थिएँ । अहिले पो गुमनाम भएँ । तर, अहिले पनि मजा भइरहेको छ, आफ्नो सिर्जनामा पूरै समय दिन पाएको छु । श्रुति सरकारलाई चित्रकला पढाएपछि म दुईपटक ललितकला क्याम्पसप्रमुख बनेँ । दुईपटक नै दरबारसँगको मेरो सम्बन्धलाई राजनीतिक रूप दिइयो र विवादमा मात्रै तानिएँ । यसरी विवादमा तानिएपछि मैले राजीनामा दिएँ । पछिल्लोपटक राजीनामा दिएको एक वर्ष भयो । जब म श्रुतिलाई सम्झन्छु, त्यसवेला मेरो दिमागमा दरबार हत्याकाण्डको झझल्को आइहाल्छ । १९ जेठ ०५८ को दरबार हत्याकाण्डले तत्कालीन अधिराजकुमारी श्रुतिसहित सबै वंश गुमायो । त्यो दिनको घटनाको सम्झनाले मात्रै पनि मलाई भाउन्न हुन्छ । छाती दुखेजस्तो, मुटु पोलेजस्तो हुन्छ । त्यस हत्याकाण्डबाट धेरैले धेरै गुमाए होलान् । तर, मैले एउटी असल, अनुशासित र जिज्ञासु विद्यार्थी श्रुति गुमाएँ । खासमा मलाई अन्तर्वार्ता दिन कहिल्यै मन लाग्दैन । म कलाकार र शिक्षक हुँ । राजाकी छोरीलाई पढाएँ भन्दैमा के म दरबारिया भएँ ? विगतका अन्तर्वार्ताहरूले म खुब विवादमा तानिएँ । त्यतिखेर एउटा विवाद थियो । श्रुतिले बनाएका सबै चित्र मेरै सिर्जना हुन् । धेरै पत्रकार मसँग यही प्रश्न सोध्थे । यो सब वाहियात हो । मैले एकचोटि श्रुति सरकारलाई बिन्ती गरेँ, 'सरकार, पत्रपत्रिकामा यस्ता कुरा आइरहेका छन्, खण्डन गर्ने कि ?' उहाँ मेरो कुरा सुनेर मन्द हाँस्नुहुन्थ्यो । तर, उहाँले यस्ता कुरामा कहिल्यै चासो दिइबक्सेन । एकजना पत्रकारलाई त मैले अन्तर्वार्ताकै वेला उठाएर कलेज पुर्याएँ र मेरा विद्यार्थीको कलाकृति देखाउँदै भनेँ, 'यिनले मसँग चित्रकला सिक्न थालेका एक हप्तामात्रै भयो । एक हप्तामै त यिनीहरू यति राम्रो चित्र बनाउँछन् भने श्रुति सरकारलाई त मैले दुई वर्षभन्दा बढी प्रशिक्षण दिएँ ।' ००० दरबारभित्रको त्यो पेन्टिङ सिकाउने कोठा अति नै सामान्य किसिमको थियो । बीचमा एउटा टेबल । दायाँ-बायाँ दुईवटा कुर्सी । टेलिफोन थियो र एउटा अटयाच बाथरुम । वाटरकलर गर्दा बढी नै पानी फेरिरहनुपर्छ । बाथरुम गएर पानी भर्ने काम श्रुति सरकार आफैँले गर्नुहुन्थ्यो । उहाँले पानी भर्दा मलाई निकै अप्ठयारो लाग्थ्यो । म भन्थेँ, 'सरकार पानी त म भरिहाल्छु नि । मैले यसो भन्दा उहाँ हाँस्दै भन्नुहुन्थ्यो, 'यति सानो काम मै गरिहाल्छु नि सर ।' श्रुति सरकार त्यतिखेर पद्यकन्या क्याम्पसमा स्नातक पढ्दै हुनुहुन्थ्यो । सबै विषय दरबारभित्रै पढाउने व्यवस्था थियो । अरू विषयको कक्षा एक दिन बिराएर हुन्थ्यो भने पेन्टिङको शनिबारबाहेक सबै दिन । यसैबाट पनि थाहा हुन्छ, अधिराजकुमारी श्रुतिको चित्रकलामा कति रुचि रहेछ भन्ने । मैले चित्रकला पढाउन हरेक दिन एक घन्टाको मात्र समय पाउँथेँ । त्यसपछि नेपाली विषयको पालो आउँथ्यो । मार्सल आर्ट पनि पढाइ हुन्थ्यो । उहाँ मार्सल आर्टमा ब्ल्याक बेल्ट हुनुहुन्थ्यो । तर, श्रुति सरकार धेरै समय चित्रकला पढ्न चाहनुहुन्थ्यो । चित्रकला भनेपछि उहाँको मुड नै फरक हुन्थ्यो र चित्रकलामै खुब एकोहोरिनुहुन्थ्यो । एक घन्टाभन्दा बढी समय लिएँ भने उहाँका एडिसी ढोका ढक्ढक्याउन आइपुग्थे । धेरैपटक ढोका ढक्ढक्याएरै मात्र फर्किए एडिसीहरू । एक दिनको कुरा हो । श्रुति सरकार पेन्टिङको मुडमा हुनुहुन्थ्यो । निकै लामो समय चित्रकलामै घोरिनुभयो । उहाँका एडिसी पटक-पटक ढोका ढक्ढक्याउँदै समय सकिएको जनाउ दिइरहेका थिए । धेरैपटक ढक्ढक्याएपछि श्रुति सरकार जुरुक्क उठेर बाहिर जानुभयो र भन्नुभयो, 'आज म नेपाली क्लास लिन्नँ ।' एक दिन वाटरकलरको पेन्टिङ गर्दै थियौँ । ब्रस धुन गएको त धाराको पानी नै सुक्यो । मैले श्रुति सरकारलाई व्यंग्य गरेँ, 'दरबारमा पनि पानीको कमी रहेछ नि ।' उहाँले भन्नुभयो, 'जनतालाई पानीको दुःख छ भनेर बाबा (राजा वीरेन्द्र) ले काम नपरेको वेला दरबारको पानी पनि बन्द गर्नु भनिबक्सेको थियो । त्यसैले बन्द भएको ।' यो कुराले म राजा वीरेन्द्रसँग प्रभावित भएँ । उहाँको बिहे हुनुअघि दुई वर्ष मैले लगातार पेन्टिङ कक्षा लिएँ । नेपालमा चित्रकलाको आधारभूत शिक्षा लिएर प|mान्समा उच्च अध्ययन गर्ने उहाँको सोच थियो । त्यसैले सबै किसिमको चित्रकलामा उहाँको गहिरो रुचि थियो । त्यसवेला मैले वाटरकलर, आयलकलर, नाइफ पेन्टिङ (चक्कु जस्ता औजारले रंग भर्ने), चारकोल पेन्टिङ (कोइलाले चित्र बनाउने) सिकाएँ । उहाँको भने चारकोल पेन्टिङमा विशेष रुचि थियो । म एउटा कुरा कहिल्यै बिर्सन्नँ । एकपटक मैले एनाकोन्डाको तस्बिर दिएर चारकोल पेन्टिङ गर्न लगाएँ । उहाँले दुई हप्ता लगाएर त्यसलाई उतारिबक्सेको थियो । त्यो चित्र निकै राम्रो थियो । पछि, त्यही पेन्टिङ श्रुति सरकारको नाममा मैले बनाइदिएको भन्ने विवाद भएछ । माछापुच्छ्रे शीर्षकको पेन्टिङ बनाउन उहाँलाई पूरै एक हप्ता लागेको थियो । त्यो पेन्टिङ डेढ बाई तीन फुट साइजको थियो । एक दिन मैले श्रुति सरकारसँग बिन्ती गरेँ, 'सरकार हामीकहाँ ललितकला क्याम्पसको हालत खराब छ । जुनै वेला पनि ढल्न सक्छ । एउटा नयाँ बिल्डिङ भए हुने थियो ।' उहाँले तत्काल 'हुन्छ' भन्नुभयो । अहिले कीर्तिपुरमा बनेको ललितकला क्याम्पसको 'बिल्डिङ' मैले गरेको बिन्तीको परिणाम हो । एक दिन उहाँले 'म चित्रकला प्रदर्शनी गर्छु' भन्नुभयो । प्रज्ञाप्रतिष्ठानमा आयोेजित प्रदर्शनीमा वाटरकलरका ३० भन्दा बढी पेन्टिङ राखिएका थिए । मलाई उहाँका हरेक पेन्टिङ विशेष लाग्थे । उहाँको मिहिनेत देखेर म त्यसैत्यसै दंग पर्थेँ । मैले सुरुका दिनमा उहाँलाई रियालिस्टिक (यथार्थपरक) आर्ट सिकाएँ । त्यसपछि सेमी-मोडर्न हुँदै मोर्डन आर्ट सिकाउने मेरो योजना थियो । तर, मोडर्न आर्ट सिकाउन समय नै पाइएन । स्नातकको परीक्षा आयो । त्यसलगत्तै उहाँको बिहे भइहाल्यो । पेन्टिङ कक्षा त्यत्तिकै रोकियो । 'हजुरले एब्ट्रयाक्टभन्दा बढी नेपाली कलातिर ध्यान दिइबक्सनुपर्छ,' म उहाँलाई बारम्बार यही दोहोर्याउँथे, 'अधिराजकुमारीका रूपमा स्वदेश तथा विदेशमा प्रदर्शनी गर्दा आफ्नै देशको तस्बिर उतार्नु भए त्यसको महत्त्व बढी हुन्छ ।' उहाँ सहमत हुनुभयो । उहाँले हिन्दू र बौद्ध धर्मका विभिन्न देवीदेवताको तस्बिर बनाउन सिक्नुभयो । परमम्परागत शैलीको घरमा ढोकामाथि राखिने 'छिपः' र धारामा बनाइने 'हिटिमगः' को तस्बिर पनि बनाउनुभयो । एक दिन उहाँले मलाई छिपः र हिटिमगः शब्दको अर्थ के हो ? भनेर सोध्नुभयो । मलाई पनि त्यसको अर्थ थाहा थिएन । मैले कत्ति प्रयास गर्दा पनि ती शब्दको अर्थ पत्ता लगाउन सकिनँ । एक दिन श्रुति सरकारले गृहकार्य भ्याउनु भएनछ । मैले भनेँ, 'सरकारलाई होमवर्क गर्ने फुर्सद नभए म एक हप्तापछि आए कसो होला ?' त्यसपछिका दिनमा उहाँले कहिल्यै गृहकार्य ढिला गर्नु भएन । 'सर, मलाई हाब्रेको चित्र बनाउन मन लाग्यो,' उहाँले एक दिन मलाई सुनाउनुभयो । त्यो के हो ? मलाई थाहा थिएन । 'एउटा जनावर हुन्छ नि नेपाल र चीनमा मात्रै पाइने,' उहाँले भन्नुभयो । 'मलाई थाहा छैन सरकार म खोज्ने प्रयास गर्छु,' मैले भनँे । त्यसवेला हाब्रेको तस्बिर खोज्न खुब सकस भयो । कतै फेला नपरेपछि डब्लुडब्लुएफमा काम गर्ने साथीलाई सोधेँ । धन्न उसको किताबमा रहेछ र लगेर उहाँलाई दिएँ । एकचोटि पढाउँदा-पढाउँदै म खुब डराएको थिएँ । एक दिन श्रुति सरकारले गृहकार्यमा गल्ती गर्नुभएको रहेछ । कलेजमा विद्यार्थीलाई गाली गर्ने बानी । उहाँको अघि पनि कड्किएँ । 'छया के गरेको यस्तो ?' मैले ठूलो स्वरमा हप्काउँदा उहाँ नराम्ररी तर्सिनुभयो । म खुब डराएँ । अब के हुने हो ? हत्तपत्त गल्ती स्विकार्दै मैले माफी मागेँ । उहाँले त्यसलाई मनमा राख्नुभएको रहेनछ । 'ठीकै छ नि सर,' उहाँले भन्नुभएको थियो । ००० श्रुति सरकारको बिहेपछि चित्रकला पढाइले लामो समय विश्राम लियो । धेरै समयपछि हाम्रो भेट भयो फ्रान्सेली सांस्कृतिक केन्द्रमा । त्यसवेला केन्द्र डिल्लीबजारमा थियो (अहिले त्रिपुरेश्वर) । फ्रेन्च कलाकार डग्लसको प्रदर्शनीमा आउनुभएकी श्रुति सरकारले मलाई देखेर टाढैबाट इसारा गर्दै बोलाउनुभयो । 'अचेल के गर्दै हुनुहुन्छ ?' उहाँले सोध्नुभयो । 'अरू केही काम छैन सरकार, खाली पेन्टिङ गर्छु ।' 'मैले तपाइंलाई खुब खोजेकी थिएँ,' उहाँले भन्नुभयो । 'मलाई त कसैले भनेका होइनन् । सचिवज्यूलाई मेरो घरको नम्बर त थाहा थियो ।' 'ठीकै छ नि । तपाइं मेरो घर आउनूस् न ।' 'हुन्छ सरकार ।' 'तपाईंले मेरो नयाँ घर देख्नुभएको छ हैन ?' 'छ सरकार ।' त्यसको केही दिनमै म श्रुति सरकारको ठमेलस्थित घर पुगेँ । उहाँ घाँस काटिरहनुभएको रहेछ । 'सरकार यो के गरिबक्सेको ?' मैले सोधेँ । 'के गर्नु त सर ?' खाली समय कसरी कटाउने ?' 'पेन्टिङ गरिबक्स्योस् न त्यति राम्रो छ हजुरको कला ।' 'त्यसैले त तपाईंलाई बोलाएको नि,' उहाँले भन्नुभयो । ००० उहाँको चित्रकला कक्षा फेरि सुरु भयो । त्यसवेला उहाँको ठूली छोरी जन्मिसकेकी थिइन् । उहाँले एक्रेलिक पेन्टिङ सिक्न रहर पहिल्यै गर्नुभएको थियो । तर, समयले साथ दिएको थिएन । बिहेपछि सिकाएँ एक्रेलिक पेन्टिङ । यसमा वाटरकलरमा पेन्टिङ गरिन्छ । त्यो सुकेपछि आयल कलरजस्तो रंग आउँछ । धुँदा पनि नजाने । पेन्टिङकै लागि भनेर श्रुति सरकारले ग्यारेजमाथि कोठा बनाउनुभएको थियो । एक दिन मलाई उहाँले फोन गर्नुभयो । 'डंगोल सर नमस्ते ।' मैले आवाज चिनिनँ । विद्यार्थीले घरमा फोन गरेर हैरान पार्थे । मैले त हप्काएँ, 'तिमीहरूलाई मैले घरमा फोन नगर्नु भनेको होइन ?' उताबाट हाँस्दै 'म श्रुति' भन्ने आवाज आयो । त्यसवेला खुब लाज लाग्यो । उहाँले पेन्टिङ कोठा हेर्न बोलाउनुभएको रहेछ । म गएँ । त्यो कोठा ठूलो र खुला थियो । पेन्टिङ गर्न पुग्नेगरी बनाइएका ठूला झयाल थिए । पहिलेभन्दा धेरै व्यवस्थित । त्यो कोठामा डेढ वर्ष पेन्टिङ अभ्यास गरेपछि उहाँले दोस्रो प्रदर्शनीको तयारी गर्नुभयो । त्यसवेला एक दर्जनभन्दा बढी पेन्टिङ तयार पारिसक्नुभएको थियो । उहाँको कलाकारितामाथि धेरैले प्रश्न उठाउँथे । त्यसैले, चित्रकला प्रदर्शनीकै वेला सबैका अगाडि पेन्टिङ गरेर देखाउने विचार थियो । चारकोल, वाटरकलर, आयलकलर पेन्टिङ र नाइफ पेन्टिङका एक-एक कला सबैका अगाडि पेन्टिङ गर्ने उहाँको धोको थियो । यस योजनाले उहाँमा आत्मविश्वास दृढ हुँदै थियो । तर दुर्भाग्य, त्यो प्रदर्शनी हुन पाएन । त्यही वेला जेठ १९ गते दरबार हत्याकाण्ड भयो । श्रुति सरकारको सम्झनाले अहिले पनि मेरो छाती पोलेर आउँछ । कोठाको भित्तामा झुन्डयाइएका उहाँको तस्बिर हेरेर म घन्टौँ टोलाउँछु । त्यसवेला उहाँलाई चित्र सिकाएका दिनहरू आँखामा रिवाइन्ड हुन्छन् । एकैछिनमा आँखा रसाइसकेको हुन्छ । श्रीमतीले 'के सम्झनुभएको ?' भनेर जोडसँग कराउँछिन् अनि मात्रै म पुरानै अवस्थामा फर्किन्छु । श्रुति सरकारको निधनपछि पनि उहाँको घरसँग मेरो सम्बन्ध टुटेन । निधनपछि उहाँको पेन्टिङ कोठामा एकपटक पसेको थिएँ । मन थाम्नै सकिनँ । आँसु बगिहाले । त्यसपछि म पसेको छैन । त्यो कोठामा सधैँ ठूलो ताल्चा झुन्डयाइएको हुन्छ । उहाँका पेन्टिङहरू कोठामा यत्रतत्र छरिएका होलान् । बितेको तीन वर्षदेखि उहाँका दुई छोरीलाई पेन्टिङ सिकाइरहेको छु । पहिले सेन्ट मेरिजमा पढ्दा साताको दुईपटक पढाउन जान्थेँ- शनिबार र बुधबार । अहिले उनीहरू दुवै देहरादुनमा छन् । उनीहरू आएपछि फेरि पढाउन जानेछु । प्रस्तुतिः दीपक Source: NayaPatrika.com Last edited: 04-May-10 01:34 PM
hit.the.hot · May 4, 2010 1:30 PM · 8,209 views
कलामा रूचि राम्रै कुरा हो| तर जनाताको सेवामा चाँही अलि कमी भएको जस्तो लाग्यो नेपालको शाही परिवारको| धेरै कुरा थियो गर्न सकिने तर खासै केही गरेनन यिनिहरुले|
newlynew · May 4, 2010 1:49 PM
प्रचन्डले जस्तो १५,००० जना लाई मुत्युधाम जाने बाटो मिलौने जस्ता सेवा त गरेनन् नि
Tmobile · May 4, 2010 1:56 PM
Tmobile, मित्रले मेरो पोस्टिङ् बाट मलाई माओवादी भन्ठाने जस्तो छ| तर त्यस्तो होइन| मओबादी भनेको त डाँका र लुटेरा हरु को समुह हो भन्ने कुरामा अब यो आन्दोलन पछी त कुनै सङ्का नै रहेन| तर भन्न खोजिएको के हो भने नेपालमा जब राजतन्त्र थियो, त्यो बेलामा राजा, रानी, राजकुमार, राजाकुमारी भनाउदाहरुले खासै आम जनाताको लागि केही नगरेकैले समाप्त भएको होइन त तिनिहरु?
newlynew · May 4, 2010 3:08 PM
राजा बिरेन्द्र बांची राखेका भए देखि चाहीं राजतंत्र यति चाडै समाप्त हुने थिएन होला / धेरै लेखहरुबाट यही कुरा पुष्टि भएका छन् की ऊनी नेपाली जनताको हित चाहन्थे रे / जय नेपाल
hit.the.hot · May 4, 2010 3:19 PM
चाहनु र गर्नु मा धेरै फरक हुन्छ| मेरो हेराइमा त राजा बिरेन्द्र एक अल्छि राजा थिए| संबैधानिक राजा बन्नको लागि एकदम लायक तर पञ्चायति राजा बन्न बिल्कुल नालायक| राजा बिरेन्द्र को लोकप्रियता संबैधानिक भएपछी मात्रै बढेको हो जस्तो लाग्छ मलाई|
newlynew · May 4, 2010 3:28 PM
Partly agree with newlynew. Birendra was a great human being but not a good ruler. He did a lot for Nepali people (you might not believe it but we can start a list) but nothing aggressive that would lead the nation to prosperity. But also remember how long the kings really got to rule Nepal. THey had the Ranas for 105 years and then Mahendra ruled it for a while then Birendra ruled it briefly until Democracy came. I highly doubt that if Birendra was here he would be the king. While his supporters are plenty, he had a lot more protestors. I still remember anti King and queen chant before he was dead. What he did wasn't very visual to the public. Those who believed that he was the reincarnation of Vishu loved him and then there were few others who thought we needed King since that was the status quo. Rest of the country didn't support him. It is easy to support and feel sorry for somebody who is no longer here.
Kiddo · May 4, 2010 3:46 PM
I think Newlynew Kiddo are ture guys about King Birendra.
DeltaGamma · May 4, 2010 4:50 PM
You give a king just one power of veto and chain him within a constitutional periphery and again you expect him to be an active being. How in the world is this possible? If they had given him absolute power and ceased barking in the street then we all would have seen the volcanic change in Nepal Last edited: 04-May-10 05:39 PM
raju161 · May 4, 2010 4:56 PM
...repeated Last edited: 04-May-10 05:11 PM
raju161 · May 4, 2010 5:11 PM
Next thing, it was the evil intentions of your so called political bosses who framed a constitution in such a manner that limited the king as the constitutional monarch and loaded him with all sort of privileges so that they can shut his mouth and in part feed on remaining stuffs like a parasitic decomposers. And they have loaded themselves since the removal of panchayat till now. Had it been up to king Mahendra sole effort and had panchayat flourished till now Nepal would have been far different. How many of you have ever made an effort to calculate the wealth earned by members of judicial, executive and legislative houses and i am talking not only about the leaders think about peons too if you think this is the central issue of this discussion. Last edited: 04-May-10 05:22 PM
raju161 · May 4, 2010 5:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion