Reference from: http://nagariknews.com/anniver... किरण भण्डारी/दिपक दाहाल- भगवानलाई डाक्टर बनाउन उनका बाबु हरिप्रसाद कोइरालाले कैयौं रोपनी पुर्ख्यौली जग्गा बेचे। छोरालाई पढाउँदा धेरै साहु कमाए। पाल्पाको दुर्लभ डाँडा गाउँ पञ्चायतको दरुंगामै हाई स्कुल थियो। सदरमुकाम तानसेनको पढाइ राम्रो छ भनी ९ कक्षामै भगवानले घर छाडे। २०३३ सालमा एसएलसीमा हाइएस्ट सेकेन्ड डिभिजन ल्याए। भण्डारी/दिपक दाहाल- भगवानलाई डाक्टर बनाउन उनका बाबु हरिप्रसाद कोइरालाले कैयौं रोपनी पुर्ख्यौली जग्गा बेचे। छोरालाई पढाउँदा धेरै साहु कमाए। पाल्पाको दुर्लभ डाँडा गाउँ पञ्चायतको दरुंगामै हाई स्कुल थियो। सदरमुकाम तानसेनको पढाइ राम्रो छ भनी ९ कक्षामै भगवानले घर छाडे। २०३३ सालमा एसएलसीमा हाइएस्ट सेकेन्ड डिभिजन ल्याए। चौध वर्ष पनि नटेकेको छोराको राम्रो रिजल्ट आएपछि हरि झन् उत्साही भए। तानसेनका नरेन्द्र साहुले डाक्टर बनाउन सल्लाह दिएछन्। हेल्थ असिस्टेन्ट पढेपछि डाक्टर बन्न सजिलो थियो। शिक्षा मन्त्रालयले एमबिबिएस पढ्न पठाउ'थ्यो। रूस, बंगलादेश, भारतलगायत मुलुकका कलेजमा साइन्सभन्दा हेल्थ असिस्टेन्टको कोटा बढी थियो। भगवान २०३४ सालमा महाराजगन्ज क्याम्पस भर्ना भए। उनको रिजल्ट असाध्यै राम्रो भयो। कक्षामा सबैभन्दा कलिलो तर निकै तीक्ष्ण विद्यार्थी थिए उनी। सरहरूले सोधेको प्रश्न खस्न नपाउ'दै उनी जवाफ दिइसक्थे। एकदिन डा.गोविन्द शर्माले कोठाबाट निस्केपछि उनलाई अ'गालो हाले। 'तिमी टाठो रहेछौ, मुटुको डाक्टर हुनुपर्छ' भने। हेल्थ असिस्टेन्ट पढ्दै गरेका भगवानको मनमा महत्वाकांक्षाको बीउ त्यही दिन रोपियो। एमबिबिएस नै नगरी मुटुको शल्य चिकित्सामा एमडी गर्ने सपना उनले बुने। हेल्थ असिस्टेन्ट भएर काठमाडौं इन्द्रायणीमा केही महिना काम गरे। रूसमा एमबिबिएस गर्न छात्रवृत्ति पाए। रूसको सातवर्षे पढाइमा पनि सबैलाई उछिने। नेपाल फर्केर केही वर्ष टिचिङ अस्पतालमा काम गरे। मुटुको डाक्टर बन्न आतुर थिए उनी। बंगलादेशमा 'सेल्फ' मा एमडी गर्न गए। तानसेनका साहुहरूस'ग फेरि ऋण थपियो। हेल्थ असिस्टेन्ट, मेडिकल अफिसर र विज्ञ डाक्टर भइसक्दा पनि भगवानले ऋण निखन्न सकेनन्। मुटुको राम्रो डाक्टर बनेर फर्केपछि पनि सरकारी तलबमात्र थापे। अस्पतालमै दत्तचित्त भएर काम गर्ने नर्सिङ होम र क्लिनिक नधाउने बानीले आर्जन भएन। 'बाबुले ऋण रिन्यु र साहु फेर्ने काम खुब गर्नुभयो,' टिचिङ अस्पताल महाराजगन्जमा आफ्नै कार्यकक्षमा नागरिकसित कुराकानीका क्रममा उनले पुराना कुरा सम्भि्कँदै भने। २०५५ सालमा आकर्षक अन्तर्राष्ट्रिय फेलोसिप पाए। मुटु शल्य चिकित्सकका रूपमा अमेरिकामा डेढ र क्यानडाको टोरन्टोमा एक वर्ष काम गर्ने। घर, व्यवहार र परिवार खुसी भए। सरकारी अस्पतालमा अहोरात्र काम गर्ने बानी थियो। त्यो अम्मल छुट्ने आशा परिवारको थियो। साथमा अमेरिकाको राम्रो अस्पतालमा काम गरेपछि उतै बसिन्छ। नेपाल फर्किन पर्दैन भन्ने सपना पनि। वार्षिक लाख डलरभन्दा बढी तलबको जागिरका प्रस्ताव पनि आयो। भगवान आकर्षित भएनन्। पैसाको मुख हेर्नुहुन्न, आफ्नै देशमा रोगीलाई जे सकिन्छ त्यही गर्ने भनी फर्किए। 'टिचिङ अस्पतालमै केही सुरु गर्नुपर्ला भनेर आए,' उनले भने, 'अरू केही वर्ष प्राइभेट प्राक्टिस गर्दिनँ भन्ने बाचा उतै गरिसकेको थिएँ।' सरकारी अस्पताल, नर्सिङ होम र क्लिनिक दौडियो भने भ्याइनभ्याइ हुन्छ। कतै पनि जमिँदैन भन्ने ठम्याइ छ। 'कुनै आदर्शभन्दा पनि काममा एकचित्त हुनुपर्छ भनेर म सरकारीतिर मात्र लागेँ,' भगवानले भने। फर्केको भोलिपल्टै डा.सशांक कोइरालास'ग भेट भयो। गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा जानुपर्यो भन्ने प्रस्ताव आयो। मैले एक सेकेन्ड पनि सोचिनँ। जान्नँ भनिदिएँ। दिन, साता, महिना बिते। बिहान ब्याडमिन्टन कोर्टमा भेट हुने सशांकले प्रस्ताव दोहोर्याउन छाडेनन्। 'टिचिङमा हराउ'छौ। मैदान खाली छ। गंगालालमा धेरै गर्न सक्छौ,' सशांकको यो वाक्य ब्रह्मास्त्र भयो। भगवानले हुन्छ भनिदिए। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। सशांकको सिफारिसमा 'तु' नियुक्ति भैहाल्यो। वैशाख १९ २०५८ भगवान कार्यकारी निर्देशकमा नियुक्त भएर पहिलो दिन अस्पताल पुगे। स्थापना भएको छ वर्ष भैसकेको थियो। वातावरण अझै छाला जुत्ता कारखानाजस्तै छ। बा'सबारी छाला जुत्ता निजीकरण भएकाले कारखानाकै घर/कम्पाउन्डमा अस्पताल सरेको थियो। 'का'चो र कुहिएको छालाको गन्ध, असरल्ल सरसमान, फोहरले अस्पताल खण्डहरजस्तै थियो,' भगवानले गंगालाल अस्पतालको पहिलो दिन सम्भि्कँदा टाउको समाउँदै भने, 'अस्पताल हैन, टाट उल्टेको कारखाना सम्हाल्न गएजस्तो भयो।' डाक्टर, नर्ससहित ८९ जना कर्मचारी। व्यवस्थापनले १० जना बिरामीमात्र जाँच्ने कोटा तोकेको रहेछ। सात बेडको अस्पताल। इमर्जेन्सी, अपरेसन थिएटरसमेत थिएन। काम थिएन। फुर्सदै फुर्सद। ११ बजेदेखि नै भलिबल चल्दोरहेछ। कहा'बाट काम थाल्ने अलमलिए। पहिल्यै दिन स्टाफ मिटिङ राखे। अस्पतालको छवि यस्तै राख्ने कि भिन्न तरिकाले काम गरेर नया' उदाहरण बनेर देखाउने भनी सबैलाई प्रश्न गरे। डा.मनबहादुर, अरुण, दिवाकरहरू मभन्दा पहिले नै थिए। सबै स्वास्थ्यकर्मी र अन्य कर्मचारीले पनि उदाहरण बनेर देखाउनुपर्छ भने। 'मुखले भनेर केही हुनेवाला थिएन। सबैको सहमतिमा सिस्टम बनायौं। प्रमुखदेखि निम्न कर्मचारीले त्यसको हु-बहु पालना गर्नुपर्ने सर्त सबैले मञ्जुर गरे,' भगवानले भने। अस्पताल लथालिंग थियो। करोडौंका उपकरण फ्याँकिएका थिए। भौतिक अवस्था, स्वास्थ्य उपकरण, पद्दति र कार्यशैली नवनिर्माण भयो। पहिलो दिन बनेको आचारसंहिता ८ वर्षसम्म लगभग पालना भएकैले अस्पतालले फड्को मार्यो। १० जनाको कोटा भालिपल्टदेखि नै हटाइयो। चार महिनापछि नै शल्यक्रिया सुरु भयो। भगवानको टिमले आठ वर्षमा ७ हजार मुटुको शल्यक्रिया गर्यो। आर्थिक वर्ष २०६५/६६ मा मात्र १३ सय बिरामीको शल्यक्रिया भएछ। मुटु उपचारमा भगवानको नेतृत्वमा गंगालाल अस्पताल अन्तर्राष्ट्रियस्तरको बन्यो। मुलुकका अन्य सरकारी संस्थाको अक्षमता, विकृति, भ्रष्टाचारको छाया गंगालालमा परेन। राष्ट्रिय जीवनका विभिन्न विधाका संस्थाको छवि तहसनहस भइरहेको कालखण्डमा भगवानले चमत्कार गरिदिए। कमजोरी लुकाउन द्वन्द्व र संक्रमणलाई ढाल बनाउनुपर्ने अवस्था गंगालालमा कहिल्यै आएन। यसको गुरुमन्त्र के हो त? 'काममा रमाइलो मान्ने साथीहरू,' भगवानको उत्तर सरल छ, 'लगन, इमानदारिता, निष्ठा र मेहनत।' उनी सफलाको जस अस्पतालका सबै स्वास्थ्यकर्मी र अन्य कर्मचारीको अथक परिश्रमलाई दिन चाहन्छन्। आठवर्षे यात्रामा डा.मनबहादुर केसीको सहयोग सबैभन्दा उल्लेख्य रह्यो। 'सफल मनिस फरक काम गर्दैनन् फरक तरिकाले गर्छन्' भन्ने शिव खेराको निचोड भगवानको कर्मक्षेत्रमा ठ्याक्कै मिल्छ। गंगालालमा कार्यकारी निर्देशकको दुई कार्यकालभर भगवान कहिल्यै उज्यालोमा क्वार्टर फर्केनन्। बिहान ७ देखि ८ को बीचमा अस्पताल पुग्ने उनी टिचिङ अस्पतालको क्वार्टर फर्कंदा सधैं मध्यरात हुन्थ्यो। ओपिडीमा बिरामी जाँच, अपरेसन, प्रशासनिक/आर्थिक निर्णय र अस्पतालका फाइल बोकेर सिंहदरबारसम्म दौडनुपर्थ्यो, एउटा ज्यानले। गंगालालमा साधारण टिकट लिँदा नै बिरामीले डाक्टरसमेत रोज्न पाउ'छन्। भगवानको नाममा बिरामीको ओइरो लाग्थ्यो। दिनकै १ सय २५ जना बिरामी जाँचेका छन्। अति भयो। भीड थाम्न नसकेपछि एउटा डाक्टरले ४० भन्दा बढी बिरामी नहेर्ने कोटा लगाउनुपर्यो। मध्यरातसम्म खटेर घर हिँड्दा पनि उनी कुरुवालाई मोबाइल नम्बर दिएर निस्कन्थे। बिरामीको फोन मध्यरातमा आएपनि उठाउने बानी छ। डाक्टरमात्र हैन व्यवस्थापक पनि भएकाले उनले बिरामी/कुरुवालाई फोन दिने गरेका रहेछन्। 'ड्युटीमा रहेका डाक्टर, नर्स र अन्य कर्मचारीले चित्तबुझ्दो काम गरुञ्जेल मध्यरातमा कसैले मलाई फोन गर्दैन भन्ने बुझेर नै नम्बर दिएको हुँ,' भगवान भन्छन्, 'हैन कमजोरी नै भएर फोन आयो भने सच्याउने मौका मिलिहाल्थ्यो।' आठवर्षे कार्यकालमा उनको सहीबाट करोडौं रुपैयाँ खर्च भयो। तर कतैबाट गुनासो आएन। उपचारमा चित्त नबुझेर अस्पताल र नर्सिङ होम तोडफोड सामान्य बनेको छ। भीडले गंगालालमा यस्तो निहुँ कहिल्यै पाएन। व्यवस्थापनमा यसरी अतुलनीय छवि कसरी बन्यो। कुशल नेतृत्व कसरी दिने भनी व्यवस्थापनका मोटा-मोटा ठेली पनि पढेका छैनन् भगवानले। उनका सूत्र सरल छन्- सामूहिक निर्णय, कठोर कार्यान्वयन, अनुशासन, वित्तीय इमानदारिता र सदाचार। 'कमन सेन्स लगाएर ब्रह्मले देखेको काम गर्नुपर्छ,' मूल मन्त्र यही हो। व्यवस्थापकको आनीबानी, व्यवहार सदाचारी हुनुपर्छ। लोकले के भन्ला भनेर सतर्क हुनुपर्छ। व्यवहारमा आफैं सुधि्रन्छ। 'विभिन्न खरिद, ठेक्कापट्टाको सिलसिलामा आउने व्यापारीलाई कहिल्यै एक्लै भेटिनँ,' भगवान भन्छन्, 'कुरा काट्ने मौका नमिलोस् भनेर अरू कर्मचारी राख्थेँ।' इमानदारी काम गर्दा पनि दोष आउन सक्छ। अरूले औंला उठाउने ठाउ' नहोस् भनेर जुनै निर्णय लिनुअघि दसपल्ट सोच्नुपर्छ। नियमानुसार पाउने कतिपय सुविधा परित्याग गरेका छन्। अप्रेसनमा संलग्न डाक्टरले पाउने आधासरो भत्ता उनले छाडिदिए। नर्सिङ होम, क्लिनकमा काम नगरी अस्पतालमा लाग्ने अनि पाउने पारिश्रमिक पनि किन छाडेको भन्ने प्रश्नमा उनी भन्छन्, 'म अहिले त्यस्तो रकम लिन्छु। आफैं प्रमुख हुँदा त्याग गरेको छ भनी सन्देश दिन पनि नाटक गर्नुपर्छ, मैले त्यही गरेँ।' निर्देशकको अधिकार १०० प्रतिशत उपयोग गर्न पाएजस्तो लाग्छ भगवानलाई। डाक्टर, नर्स, अन्य कर्मचारी 'चाल्नामा छानेर' भर्ना गर्न पाएकैले गतिलो भयो। धा'धलीको बात लाग्ला भनेर भगवानले एउटा अन्यायपूर्ण 'फर्मुला' निकाले। सक्षम भएपनि कोइराला थर भएका र नातागोता भर्ना नगर्ने। प्रतिष्पर्धामा आएपनि कुनै हालतमा जागिर नदिने नीतिले उनीहरूको संवैधानिक हक नै हनन भएन र? 'असल उद्देश्यले बन्देज लगाएको हुँ,' उनले भने, 'अस्पताल प्रमुखले आफ्नो मान्छे हाल्यो भनेर हल्ला नहोस् भनेर अन्यायपूर्ण नीति बनाउनुपर्यो।' बिरामीको सेवा, अस्पतालको गुणस्तर मात्र हैन पेसागत ज्ञान, प्रशासन कौशल र कानुन पालनामा भगवानले सबै सरकारी अधिकारीलाई उछिने। कानुनी तिकडमले जेलिएको सरकारी संयन्त्रको चक्रब्युह उनले सजिलै तोडे। आठ वर्ष कार्यकारी प्रमुखको कुर्सी सम्हालेर विदा हुनुपूर्व नै उनले बेरुजु सुन्यमा झारे। ... भगवान सरहका धेरै डाक्टर करोडपति छन्। कमाउने इच्छा राखेको भए उनीसँग कुस्त धनसम्पत्ति हुनेथ्यो। टिचिङ अस्पतालको सरकारी क्वार्टरमा डेढ दसक बिताए। अरूको खुसीका लागि व्यक्तिगत, पारिवारिक सुखसुविधालाई चटक्कै त्यागे। 'मैले समर्पण गरेको हैन, आफ्नै सन्तोषका लागि गरेको हुँ,' उनले भने, 'अहिले हात्तीगौंडामा आफ्नै घर पनि छ।' टिचिङ अस्पतालको क्वार्टरबाट उनी एक वर्ष घर सरेका छन्। अहिले पनि ऋण भसक्कै छ। स्कुल/कलेजदेखि लागेको ऋणको लहरो अझै जेलिएकै छ। खाली ऋणको बोझ बाबु हरिप्रसादबाट भगवानको थाप्लामा सरेको छ। प्राइभेट काम गरेर पैसा कमाओस् भन्ने परिवारको चाहना धेरै वर्षदेखि कम हुँदै गैसकेको छ। अस्पताल र आफ्नो ख्याति बढ्दै गएपछि पारिवारिक दबाब कम हुँदै गएको अनुभव उनको छ। भगवानबारे सञ्चार माध्यमले गरिदिएको प्रचारले परिवारलाई सान्त्वना मिलेको रहेछ। विजयकुमार पाण्डेको दिशानिर्देश कार्यक्रममा अन्तर्वार्ता आएपछि बुबा, आमा र श्रीमतीले मन बुझाएछन्। 'कमाएन' भन्ने गुनासोको ओखती भएछ उक्त कार्यक्रम। 'टेम्पोमा स'गै बसेका यात्रु, दोबाटो, पत्रिका पसल र जमघटमा अपरिचितले पनि मेरा कुरा गरेको श्रीमतीले सुनिछन्,' भावुक हुँदै भगवानले भने, 'त्यसपछि श्रीमतीलाई मेरो लोग्नेले ठूलै काम गरेछ भन्ने पर्यो।' भगवानको टिमले गरेको कामको प्रचारले परिवारको दृष्टिकोण र अपेक्षा पूरै बदलियो। छोराले धर्म गरेको छ भनी आमा नरेन्द्रलक्ष्मी सबैभन्दा बढी हर्षित छिन्। 'मैले गर्ने अप्रेसन फेल नहोस् भनेर आमा दिनहुँ पुजा गर्न थाल्नुभएको छ,' उनले सुनाए। .... काममा चुपचाप एकाग्र भएर लाग्ने। रिजल्ट आएपछि सबैले थाहा पाइहाल्छन् भन्ने मान्यता डाक्टर भएपछि विकसित भएको हैन। केटाकेटीकै हो। उनी दस वर्षभन्दा बढीका थिएनन्। ठूला मानिसले बाँस चिरेर डोका बनाएको घोरिएर हेरे। जुनसुकै काम टपक्क टिप्न सक्ने दिमाग थियो। उनलाई पनि बाँस चिरेर डोको बनाउन मन लाग्यो। बाबुआमाले अनुमति दिँदैनथे। चोयाले हात काट्छ भनेर तर्साउँथे। खुसुक्क बारीतिर लागेर भगवानले काम थाले। केही दिनमा डोको नै तयार गरे। घरका मानिस तीनछक परे। 'संख्या अहिले याद भएन वर्षदिनभरि पुग्ने डोको बुनेँ,' भगवानले रमाउ'दै सुनाए। बाँसको चोया काटेर डोको बन्ने काम पनि एक किसिमको सर्जरी नै हो। स्वास्थ्य विज्ञानको सैद्धान्तिक ज्ञान जति भएपनि राम्रो सर्जन बन्न हातको सफाइ पनि उत्तिकै चाहिन्छ। कुनै पनि कामको परिणाम देखिन दृढ र धैर्यवान हुनुपर्छ। आफूले गरेको बाचाप्रति इमानदार भयो भने चुनौतीका जस्तोसुकै पहाड फुच्चे लाग्छन्। भगवानको जीवनबाट त्यही सिक्न सकिन्छ। भगवान बंगलादेशबाट एमबिबिएस गर्न चाहन्थे। छात्रवृत्ति मिल्यो रूसको। २०३८ सालको कुरा हो। बाबु कुनै हालतमा रूस नपठाउने। रूस जानेहरू रक्सीमा र केटीमा डुब्छन् भनेर बाबुले चर्को विरोध गरे। उनी अझ ढिला गर्ने पक्षमा थिएनन्। दुवै लतमा कुनै हालतमा लाग्दिनँ भनेर किरिया खाएपछि बल्लतल्ल अनुमति पाए। सातवर्षे रूसबसाइका क्रममा उनले रक्सी र केटीमा ध्यान दिएनन्। युक्रेनमा १ सय २० नेपाली थिए। रक्सी र केटीविरोधी अभियान चलाए। यी लतमा डुबेका ५३ जनालाई चोख्याएर आफ्नै पथमा ल्याए। शुद्धीकरण आन्दोलन चलाएर रूसभरिका नेपालीबीच भगवान प्रसिद्ध थिए। ... मुटुरोगीलाई जीवन दिन पाएको पल भगवानलाई जन्म सार्थक भएजस्तो लाग्छ। बिरामीको आशिषलाई उनी अमूल्य पारिश्रमिक मान्छन्। अप्रेसन असफल हु'दा उनी कैयौंपटक रोएका छन्। जटिल केस सफल हु'दा पनि हर्षले आ'खा रसाएको छ। गरेका सात हजार अप्रेसनमध्ये झलझली सम्झना आउने केस धेरै छन्। भदौमा गंगालालबाट टिचिङ फर्केपछि गरेको अप्रेसन सम्झिँदा अहिले पनि आङ सिरिङ्ङ हुन्छ। टिचिङ फर्केपनि उनी अहिले पनि गंगालालमा सघन अप्रेसन गर्न गइरहेका छन्। गर्भवती महिलाको मुटुको अप्रेसन गर्नुपर्ने भयो। बच्चालाई पनि बचाउनुपर्ने थियो। गर्भको महिना पुगेको छैन। १४ घन्टा लगातार मेहनत गरेपछि आमाको अप्रेसन सफल भयो। बच्चालाई इन्क्युवेटरमा राख्नुपर्ने। गंगालालमा त्यो सुविधा छैन। उनी आफैं बच्चा बोकेर टिचिङ, कान्ति अस्पताल गए। नियमले मिल्दैन भन्ने जवाफ पाए। बच्चा मर्न लागिसक्दा पनि उपचार गर्न नमिल्ने नियम तिमीहरूस'गै राख भनेर जंगिए। 'मैले नै पाटन अस्पताल पुर्याएर बच्चालाई बचाएँ,' उनले भने। यो केस सफल हु'दा उनी जति खुसी भए, संवेदनाहीन सरकारी प्रणालीको अकर्मण्यताले त्यत्ति नै आक्रोशित बनायो। मानिसको ज्यान जोगाउनसमेत नियम, कानुन, ऐन धेरै पटक तगारो भएर उभिएका थुप्रै तितो अनुभव भगवानसँग छ। पूरै बुद्धि, विवेक र बर्कत लगाएर काम गर्दा पनि डाक्टर सधैं सफल हु'दैन। असफल भएपछि बिरामीको आफन्तलाई भन्नुपर्छ। स्वजनको स्वास्थ्य लाभको आशाले झुम्मिएकालाई 'सरी' भन्न असाध्यै कठोर मन चाहिन्छ। त्यहीँ रुवाबासी हुन्छ। आफन्तलाई जीवन दर्शनको कुरा गरेर सम्झाउनुपर्छ। भारी मन लिएर कुरुवासामुन्ने पुग्यो, उनीहरूले नै आफूलाई सम्झाएको क्षण सम्झँदा अहिले पनि भक्कानो छुट्छ, भगवानलाई। 'बिरामीको मृत्युपछि आफन्तले धेरैपटक उल्टै मलाई पीर नगर्नुस् भनेर सम्झाएका छन्। तपार्इंहरूले प्रयास गरेकै हो, बचाउन सकिएन भनेर सम्झाएका छन्,' भगवानले भने, 'त्यस्तो बेला साह्रै सकस हुन्छ।' सरकारी अस्पतालमा उपचार गरेर पुनर्जीवन पाएका बिरामी र कुरुवा 'धन्यवाद' भन्ने शबदसमेत उच्चारण गर्न नजान्ने हुन्छन्। 'उनीहरू वरिपरि आउँछन्। अबोध अनुहारबाट कृतज्ञता व्यक्त गरेको भन्ने बुझिन्छ,' उनले भने। अप्ठेरोमा परेका मनिसलाई सुम्सुम्याएर जीवनदान दिन पाउ'दा मिल्ने सन्तुष्टिले कर्मक्षेत्रमा लागिरहने ऊर्जा मिलेको छ, भगवानलाई। धनीमानी र ठूलाबडाहरू नेपालमै सम्भव सामान्य उपचार गर्न पनि विदेश जान्छन्। मुटुजस्तो संवेदनशील अंगको उपचारमा धेरैलाई गंगालाल अस्पताल पठाए। 'हिमालयन बैंकका मालिक अशोक राणाले हामीस'गै अप्रेसन गराउनुभयो,' उनले भने, 'विदेशमा जत्ति पनि खर्च गर्ने हैसियत भएकाले यहीँ गर्नुले संस्थाको छाती ठूलो भएको छ।'
ANS · Apr 29, 2010 9:37 PM · 15,362 views
Thank you for sharing life of such a wonderful proud son of our country... All Nepalese should learn from his life...
sangfroid · Apr 29, 2010 10:09 PM
God bless you Dr. Koirala.. Thanks for your hard work in making Gangalal Heart Center as an organized and disciplined institution.Jaya Nepal
hit.the.hot · Apr 30, 2010 1:27 AM
Was't Dr. Koirala fired by Prachande's Sarkar from Gangalal Hospital during his PM tenure?? I remember reading this some where in the Net. Anyone knows about this in detail???
Nirvana · Apr 30, 2010 1:59 PM
Technically not fired. He had completed two terms as director. Might be he could be appointed for next term, but maoist govt brought someone else..
ANS · Apr 30, 2010 4:15 PM
Its very nice to know about Dr. Koirala..thanks for posting
nice_bro · Apr 30, 2010 4:49 PM
Kudos to Dr Koirala's ethics and thinking. I didn't know that he is such a wonderful person. ... At least felt good that there are good people like him in Nepal..
boulevard dreams · Apr 30, 2010 5:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion