कोपिला स्याहार्दै विकास संग्रौला - उच्चशिक्षा थाल्नुअघि संसार हेरुँ भनेर अमेरिकाको न्युजर्सीबाट निस्केकी म्यागी नेपालका गरिब र अनाथ साना नानीबाबुको भविष्य सपार्न समर्पित छिन्। यो काम आफैमा दर्जनौं डिग्रीभन्दा ठूलो हो। म्यागी डोयन, २३ उनको योगदान सुर्खेतमा कोपिला भ्याली बालगृहको सञ्चालन ब्लिङ्कनाव फाउन्डेसनको स्थापना बालगृह २८ नानीबाबु हुर्किरहेको ६० जनाले शिक्षा पाइरहेको ७०० भन्दा बढीलाई बसोबासको प्रबन्ध गरेको बिरामी केटाकेटीको उपचार दुर्गम क्षेत्रको स्कुल सुधार सम्मान डु समथिङ डट ओआरजीद्वारा '२५ वर्षभन्दा कम उमेरमै संसार परिवर्तन गर्न योगदान पुर्याएको' भन्दै २०६६ जेठ २१ गते एक लाख अमेरिकी डलर नगद पुस्कार प्रदान जहाज 'बोर्ड' गर्ने घोषणा भइसक्यो। एकछिन अघिसम्म प्रतीक्षालयमा सुस्ताइरहेका यात्रु 'ह्यान्ड–क्यारी' बोकेर दौडिरहेका छन्। सबैको नजर गेट नम्बरतिर छ। कसैको पसिना छुटिरहेको छ, गह्रौं झोला बोकेर कुदाकुद गर्दा। हतारिएका पाइलाहरूको भीडबाट केही पाइला एउटा गेटनिर आएर अडिन्छ। ठूलै भीड लागिसकेछ। अध्यागमन कर्मचारीको सुविस्ताका लागि सबैले पासपोर्ट र बोर्डिङ पास हातमै च्यापेका छन्। लाम विस्तारै अघि सर्दैछ। 'नेक्स्ट,' अध्यागमनका महिला कर्मचारीको आवाज आउँछ। एउटी हँसिली किशोरी बिरालो उफ्रिएजस्तो फुत्त दुई पाइला बढ्छिन्। पासपोर्ट र बोर्डिङ पास अगाडि सार्छिन्। अनि उत्साही हुँदै भन्छिन्, 'गुड इभिनिङ।' म्यागी डोयन, १८ — भर्खर हाइस्कुल सकेकी। अध्यागमनको झिँझलो निप्ट्याएर जहाज छिर्ने विद्युतीय सुरुङमा उनी यस्तरी लम्किरहेकी छन्, मानौं संसार जित्नुछ। हाड घोटिने कलेजको पढाइ सुरु हुनुअघि उनी दिल खोलेर संसार घुम्न चाहन्छिन्। त्यसैले एकसाथ फिजी, अस्ट्रेलिया, न्युजिल्यान्ड र भारत घुम्ने कार्यक्रम बनाएर निस्केकी छन्। त्यतिखेर उनलाई के थाहा, विद्युतीय सुरुङको अर्को कुनामा अडिएको जहाज चढेपछि त्यो देश पनि पुगिनेछ, जुन उनले सुनेकीसम्म छैन — नेपाल। ... कोपिला भ्याली बालगृह, सुर्खेत, नेपाल। अप्रिल, २०१०। निलो रङको कुर्ता र खैरो सल ओढेकी युवती १०–१२ वर्षका नानीबाबुहरूसँग तस्बिर खिचाउन तयार हुँदै छिन्। सबै क्यामराको फ्रेममा झुम्मिन आइपुग्छन्। सबैको अनुहार पानी परेर खुलेको आकासजस्तो उज्यालो छ। 'रेडी।' बच्चाहरू खुसीले उफ्रन्छन्। र, आफ्नी आमासमान दिदी र दिदीसमान आमाको बुइ चढ्न खोज्छन्, पालैपालो। म्यागी डोयन, २३। यो पाँच वर्षमा हँसिली म्यागीको अनुहारको चमक कत्ति घटेको छैन। यो बालगृह उनको आफ्नै हो। हाइस्कुल पढ्दा जम्मा गरेको ५ हजार अमेरिकी डलरबाट उनले स्थापना गरेकी हुन्। यहाँ २८ नानीबाबु हुर्किरहेका छन्। अरू ६० जनाले शिक्षा पाइरहेका छन्। नेवार्क विमास्थलबाट उडेर चार देश घुम्दैफिर्दै नेपाल आइपुगेकी म्यागी अचेल वर्षको आठदेखि दस महिना यहीँ सुर्खेतमा बिताउँछिन्। यहाँ रहँदा उनको पूरा समय यिनै केटाकेटीसँग बित्छ। उनीहरूलाई पढाउने–लेखाउने, नुहाइधुवाई गराउने, यताउता घुमफिर गराउने सबै काम उनी आफै गर्छिन्। काम बाँड्न सातजना कर्मचारी राखेकी छन्, जसको छनोट उनले आफै गरेकी हुन्। उनकै पहलमा खुलेको ब्लिङ्कनाव फाउन्डेसनले ७ सयभन्दा बढी अनाथहरूका लागि विभिन्न परिवार र अनाथाश्रममा बस्ने व्यवस्था मिलाइदिएको छ। बिरामी केटाकेटीलाई नयाँ जीवन दिने शल्यक्रियाहरू गराइदिएको छ। नेपालका दुर्गम क्षेत्रहरूको स्कुल सुधारमा सहयोग पुर्याएको छ। अमेरिका छोड्दा जुन देशको उनले नामसम्म सुनेकी थिइन, आज त्यही देश उनको कर्मथलो बनेको छ। न्युजर्सीको मुर्सटाउनमा जन्मेकी म्यागी तीन दिदीबहिनीमध्ये माइली हुन्। अमेरिका छँदा उनको सपना पनि हाइस्कुल पढ्ने अरू किशोरीभन्दा रौंबराबर फरक थिएन। 'मैले जीवनलाई कहिल्यै यो रूपमा कल्पना गरिनँ,' उनी भन्छिन्, 'म उच्चशिक्षा लिन चाहन्थेँ। नेवार्क विमानस्थलमा जहाज चढ्दा पनि यात्रा सकेर पूरा समय अध्ययनमा बिताउने योजना बुनिरहेकी थिएँ।' तर, भ्रमणकै क्रममा चौथो मुलुक भारत आइपुगेपछि उनको जीवनले नयाँ बाटो समात्यो। भारतको ऋषिकेशमा एक १६ वर्षे नेपाली किशोरीलाई भेटेपछि उनले पहिलोपटक नेपालबारे थाहा पाइन्। नौलो देशको धमिलो तस्बिर उनको दिमागमा बस्यो — संसारको सर्वोच्च शिखर सगरमाथाको काखमा बसेको यस्तो देश, जो संसारकै गरिबमध्ये पर्छ। जो द्वन्द्वग्रस्त छ। हत्याहिंसाले गिँजोलिएको छ। जहाँका मान्छे सुरक्षा र आशाको खोजीमा लाखापाखा लागेका छन् — सक्नेहरू अमेरिका–युरोप उडेका, नसक्नेहरू भारत पसेका। ती किशोरी पनि यहाँको सशस्त्र माओवादी द्वन्द्व छल्न भारत विस्थापित भएकी रहिछन्। 'म आठ वर्षपछि घर फर्कंदैछु,' घुमन्ते म्यागीको मनमा नेपाल हेर्ने हुटहुटी जगाइदिएपछि उनले भनिन्, 'तिमी मसँग जान्छौ?' उनले एक सेकेन्ड पनि सोचिनन्, ब्याकप्याक भिरेर तयार भइहालिन् — एउटा यस्तो देशको यात्रामा, जुन उनको भ्रमणसूचीमा थिँदै थिएन। ... दस वर्षे द्वन्द्वले छोडेका डोबहरू पछ्याउँदै नेपालका गाउँठाउँभित्र अघि बढ्दा उनको मन भयभीत भएन। बरु सहानुभूतिले पग्लियो। ती नेपाली किशोरीको गाउँ पुग्न दुई दिन हिँड्नुपर्दो रहेछ। उनी जतिजति अगाडि बढ्दै जान्थिन्, उनको दिमागमा कोरिएको नेपालको धमिलो तस्बिर उति गाढा हुँदै आउँथ्यो। यहाँको गरिबी र द्वन्द्वका घाउहरूले उनका पाइला उति भारी हुँदै जान्थे। उनले देखिन्, द्वन्द्वले यहाँ धेरैको बास खोसेछ। उनले देखिन्, द्वन्द्वले यहाँ धेरैको गाँस खोसेछ। उनले बुझिन्, द्वन्द्वले यहाँ धेरैको आस खोसेछ। 'बाटोमा भेटिएका केटाकेटी र बुढाबुढीको कुरा सुन्दा म आफूलाई थाम्न सकिरहेको थिइनँ,' उनी भन्छिन्, 'थुप्रै वृद्ध आमाबाबुले जवान छोराछोरी गुमाएका थिए। थुप्रै केटाकेटीले आमाबाबु गुमाएका थिए।' हँसिली म्यागीको मन पुस–माघको पातजस्तो ओइलायो। उनलाई लाग्यो, अब यो त्यतिखेर मात्र हरियोपरियो हुनेछ, जब उनी आफै यी अनाथ बालबालिकालाई केही गर्न समर्थ हुन्छिन्। उनले तय गरिन्, 'म अब जीवनको नयाँ यात्रा सुरु गर्छु।' ... उनी सिधा न्युजर्सी हानिइन्। नेपालमा खिचेका गरिब र अनाथ बालबालिकाका असंख्य तस्बिर उनको साथ थियो। म्यागी उनीहरूका लागि बालगृह बनाउन चाहन्थिन्। बस्ने व्यवस्था र पढ्ने सुविधा दिलाउन चाहन्थिन्। त्यसका लागि उनको अठोटमात्र पर्याप्त थिएन। आर्थिक स्रोत पनि चाहिन्थ्यो। र, त्यो स्रोत उनले देखिन्, न्युजर्सीमा। उनी न्युजर्सीका धेरै ठाउँ घुमिन्। नेपाली बालबालिका कस्तो दयनीय अवस्थामा जिन्दगी बिताइरहेका छन् भन्ने जानकारी गराइन्। तस्बिर देखाइन्। 'हाम्रो सानो आर्थिक सहयोगले ती बालबालिकाको जीवनमा परिवर्तन आउँछ भनेर सबैलाई बुझाउन खोजेँ,' म्यागी सम्झन्छिन्, 'न्युजर्सीका साथी र शुभचिन्तकहरूले मेरो विचार मनपराए। सबै सहयोग गर्न तयार भए। खासगरी स्कुल र सामुदायिक समूहहरूले त दिल खोलेर सहयोग गरे।' म्यागीको यो अभियानमा उनका आमाबाबु भने खासै खुसी थिएनन्। हज्जारौं हजार किलोमिटर टाढाको एउटा द्वन्द्वग्रस्त देशमा गएर काम गर्ने छोरीको अभिलाषालाई उनीहरूले चाहेर पनि समर्थन गर्न सकेनन्। विचार मन नपरेर होइन, छोरीको सुरक्षाप्रति चिन्तित भएर। तर, म्यागीको निश्चयका अगाडि उनीहरूको केही जोर चलेन। 'मलाई थाहा छ, मेरा आमाबुवा मेरो विचारप्रति सहमत हुनुहुन्थेन,' उनी सुनाउँछिन्, 'छोरी यति टाढा काम गर्न आएको को आमाबाबुलाई मनपर्छ र?' 'तर, आज उहाँहरू मेरो कामलाई लिएर गर्व गर्नुहुन्छ,' म्यागीका आँखा चम्कन्छन्। ... विद्यार्थी छँदा बचाएको पाँच हजार डलर र शुभचिन्तकहरूको सहयोगबाट सुरु भएको म्यागीको यो अभियान आज अन्तर्राष्ट्रिय रूपमा सम्मानित भएको छ। डु समथिङ डट ओआरजीले उनलाई '२५ वर्षभन्दा कम उमेरमै संसार परिवर्तन गर्न योगदान पुर्याएको' भन्दै २०६६ जेठ २१ गते एक लाख अमेरिकी डलर नगद पुस्कार दियो। यसले उनको अभियानमा ठूलो भरथेग गरेको छ। उनले त्यही पैसाबाट कोपिलाका लागि तीनतले घर बनाएकी छन्। यो बालगृहमा आमाबाबु वा हेरचाह गर्ने अरू नातेदार भएका केटाकेटीलाई लिइन्न। 'जसलाई हेर्न कोही छैन, उसलाई हामी हेर्छौं,' म्यागी भन्छिन्, 'गरिब पृष्ठभूमिबाट आएका र परिवारमा कोही नभएका बालबालिका नै हाम्रो पहिलो प्राथमिकता हो।' उनका अनुसार कोपिलामा दिनको ५ देखि १० जना अभिभावक आफ्ना छोराछोरी भर्ना गराउन आउँछन्। 'सबैलाई सधैं हुन्न भन्दै निराश पठाउन गाह्रो लाग्छ,' उनी थप्छिन्, 'त्यसैले, गरिब परिवारका केटाकेटीलाई राम्रो स्कुलमा पढाउन सहयोग गर्ने प्रयास गर्छौं।' यसका लागि कोपिलाले स्कुलको शुल्क, पोसाक, किताबकापी लगायतमा सहयोग गर्छ। ... कोपिला भ्याली बालगृह, सुर्खेत। अप्रिल, २०१०। एक हुल केटाकेटी खुला कोठामा थपडी मार्दै गीत गाइरहेका छन्। अर्को हुल गीतकै तालमा कम्मर मर्काउँदै नाचिरहेका छन्। नाच्दानाच्दै एउटी बालिका लाजले रातोपिरो भएर दौडिँदै म्यागीको काखमा लुट्पुटिन आइपुग्छिन्। अरू सबै उनलाई खिस्याउँदै गललल हाँस्छन्। 'यी केटाकेटी हाँसेको, गाएको, नाचेको, यिनीहरूको माया– यही त हो जीवन,' काखकी बालिकालाई थप्थपाउँदै म्यागी भन्छिन्, 'मेरो जीवनको परिभाषा बद्लिसक्यो। मेरो लागि अब योभन्दा ठूलो, योभन्दा विशेष केही छैन।' 'हामीले यहाँ एउटा परिवार बनाएका छौं। यो परिवारको बीचमा बस्दा मलाई निकै खुसी लाग्छ,' उनले यो परिवार छोडेर कतै नजाने प्रण गरिसकेकी छन्। अर्को पनि प्रण छ, अशिक्षा र स्वार्थविरुद्ध लड्ने। भन्छिन्, 'हाम्रो पुस्ताका सबैले समस्या के हो भनेर पहिचान गर्न सकेका भए, आज सबै अलिकति फरक जीवन बिताइरहेका हुन्थे।' नाचगान गरिरहेका ती केटाकेटी फेरि फोटो खिच्ने ढिपी गर्न थाल्छन्। म्यागी कुर्ताको फेर फिलाउँदै तयार हुन्छिन्। सबै हुर्रिंदै वरिपरि झुम्मिन पुग्छन्। उनको अनुहार उज्यालो भएर आउँछ। 'म त यात्रामा निस्केको एउटी यात्री हुँ। पाँच वर्षअघि नेवार्कबाट हिँड्दा संसार घुम्ने चाहना थियो,' उनी भन्छिन्, 'आज गन्तव्य भेटेकी छु।
ANS · Apr 29, 2010 9:15 PM · 1,398 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion