हाइटीको जस्तो भूकम्प काठमाडौँमा गयो भने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हाइटीको जस्तो भूकम्प काठमाडौँमा गयो भने बुधवार, 21 अप्रेल 2010 22:56 नागरिक हाइटीको महाभुकम्पमा उद्दार गर्दा बारम्बार स्वदेशको झल्झली याद आउँथ्यो। यही घटना काठमाडौंमा घटेमा कस्तो होला? कम्तिमा पनि ५ लाखको हाराहारीमा हताहत हुनसक्छ। समयमा उद्दार पक्कै पनि आउँदैन। किनकि, हाम्रो समुद्रसम्म पुग्ने मार्ग छैन। एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ, त्यो भत्किएमा हेलिकप्टर अवतवरणबाहेक अरु उपाय नै छैन। पृथ्वीराजमार्गका दुईवटा पुल मात्र भत्किएमा उद्धार कार्य नै हुनसक्दैन। गणमा भोज हुनुअघि तयार पारिएको टेण्ट भुइचालोपछि त्यही टेण्टमा अस्थायी अस्पतालमा परिणत भएको थियो। प्रकाश आचार्य, गणपति/ रोजप्रताप राणा, अप्रेसन अफिसर, शेर गण (हाइटी)-११ जनवरी, २०१०। हाइटीको राजधानी पोर्ट औ प्रिन्समा सबै हिसाबले चकमन्न थियो। हाइटी स्वतन्त्र भएको दिनमा फेब्रुअरी दोस्रो हप्तामा कार्निभल उत्सव मनाउन चोकचोकमा स्टेज बन्दै थियो। फेबु्रअरी २८ मा सिनेटको चुनाव भएकाले पनि हाइटीको माहौल तात्तिदै थियो। तर हामी पनि त्यसदिन फरक तवरमा उत्साहित थियौं। किनकि, श्री शेर गणको २०५ औं बार्षिक उत्सव मनाउने तयारीमा थियौं। पोर्ट औ प्रिन्स, तावारेस्थित चार्ली क्याम्पभित्र वेलुकी ५ बजे टेण्ट टागेर गणको बार्षिक उत्सव मनाउन गइरहेका थियौं। ५ बजेको बडाखाना भोजको तयारी गरि पाहुनाको स्वागतका लागि सबै गण परिवार खुलाचौरमा कुरिरहेका थिए। कोही बास्केटवल खेलिरहेका थिए भने कोही आफ्नै तवरमा मनोरञ्जन लिइरहेका थिए। ४ : ५३ मा विस्तारै जमिन हल्लियो। त्यसको दुई-तीन सकेण्डपछि जमिन माथि उठ्ने, तल जाने, दाया र बाया हल्लियो। पार्किङमा राखिएका गाडीहरू यताउति आफै सर्न थाले। गाडीएका झण्डाका पोलहरु भूँई छुन खोज्दै दाँयाबाँया हल्लिन थाले। चौरमा भएका व्यक्तिहरु पनि सायदै आफ्नो खुट्टामा उभिन सफल भए। एकाएक कोलाहल मच्चियो। पोर्टअफ प्रिन्स पुरै कुइरीमण्डल भयो। मोबाइल बन्दै भयो। भाग्यवश आन्तरिक रेडियोसेट खुलै रहेछ। र, बाहिर रहेका पट्रोलसँग अप्रेसन अधिकृत रोजप्रताप राणासँग सम्पर्क भयो। हाम्रो मान्छे काउण्ट गर्‍यौं, सबै ठीक थियो। पट्रोल ग्ाएका जवान तथा हातहतियार सकुसल रहेको खबर प्राप्त भयो। तर राष्ट्रसंघीय मिसन बसेको क्रिस्टोफर होटेलको मिनुस्ता कार्यालय भने पुरै ध्वस्त भयो भन्ने खबर आयो। त्यो दिन गुल्म खेल प्रतियोगिताको पुरस्कार बाड्ने समारोह थियो। सांस्कृतिक कार्यक्रम थियो। खानामा नेपाली स्वाद आउने विशेष परिकार पकाइएका थिए। भोजअघि सामान्य कोल्डड्रिक्स सुरू हुनै लागेको थियो। पाल टागेर सबै रमाइलो गर्दै थिए। त्यही पाललाई यहाँ मेडिकल टेण्टमा परिणत गर्‍यौं। भुकम्पपछि रमाइलो माहोल नै कता हो कता। सबैको ध्यान उद्धार कार्यतिर मोडियो। तुरुन्तै क्विक रेसपोन्स फोर्स उद्दारको लागि परिचालित गरियो। सिपाहीले खुकुराको सपेटा टोक्दै उद्दार गर्न गाडी उक्लिए। भुकम्प गएको आधी घण्टामा घाइतेहरू हाम्रो क्याम्पतिर ओइरिन थाले। त्यतिखेरको परिस्थिति निकै दर्दानक थियो। एउटा मान्छे आफ्नो घरमा तीन वटी छोरी मरेको रहेछ, अर्को घाइते छोरालाई उपचार गर्न हाम्रो क्याम्पभित्र ल्यायो तर ऊ पनि मर्‍यो। यस्ता धेरै उदाहरण देखिए। जहाँ ठूला घरहरु छन्, अपार्टमेण्ट छन्, तीी पुरै ध्वस्त भएको जानकारी पाइयो। मिनुस्ताका धेरै मान्छे धेरै हताहत भएको खबर आयो। मिलिटरी स्टाफको रुपमा मिनुस्ता हेडक्वार्टरमा कार्यरत महासेनानी रतिन्द्र खत्री गणको कार्यक्रमतिर हिडिसक्नुभएको थियो। तर त्यहाँ कार्यरत हाम्रा प्रमुख सेनानी डा प्रेमसिंह बस्नेतको केही ढिलाइ भएका कारण उहाँ भुकम्पको चपेटामा पर्नुभयो। भाग्यवश क्याप्टेन जनक सिलवालको पट्रोल त्यही पुगेको रहेछ। र, सोही पट्रोलले उहाँलाई सकुसल उद्दार गरी फिलिपिनो कम्पनीको मेडिकल क्याम्पमा पुर्‍याइयो। प्रेम करशाबको खुट्टामा छालाबाहेक अरू केही थिएन। ओभर व्लिडिङ भइरहेकेा थियो। जनक त्यहाँ नपुगेको भए प्रेम सरको बारेमा भन्न सकिने स्थिति थिएन। जनक चुनावको सम्वन्य गर्न भिला प्रिभे भन्ने होटेलमा गएको थियो, तर त्यहाँ जोर्डनका दुई जना अफिसर ढिला गरेको बैठक चाडै सकियो। र, उनीहरू चाढै निस्किए। दुभार्ग्यवश, ती दुई जना जोर्डन अफिसर बैठक बसिरहेका वेला सोही होटलभित्र पुरिए। जनक बाचेको कारण प्रेम सरलाई बचाउन पनि सफल भयो। त्यसैगरी केन्सकोफ डाडामा गएको क्याप्टेन पूर्ण कार्कीको संयुक्त पट्रोलमा त्यत्तिकै भाग्यको खेला झेल्नुपर्‍यो। क्याप्टेन पूर्ण गएको संयुक्त पट्रोलमा अनपोलको गाडी क्रस भयो, नेपालको गाडीको बीचमा पहिरो खस्यो। र, गाडी त्यही रोकियो। उनीहरू पनि बाँच्न सफल भए। जताततै कोलाहल र चित्कार मात्र। रगत लत्तपतिएको घाइते तथा लासहरू। हाम्रो गणबाट गएको थप फौजले घाइते विरामीलाई ल्याउन थाले। विरामी स्वयम् आफै पनि गण परिसरभित्र आउन थाले।हाम्रो टोलीले रातभर काम गर्‍यो। सरकार पनि छैन। स्थानीय प्रहरीको घर पनि छैन। प्रहरी आफै चौपटमा परेका छन्। हाइटीमा जे थियो, मिनुस्ता बाकी थियो। त्यसको नौ तले घर पनि पुरै ध्वस्त भइसकेको थियो। मिनुस्ताको फोर्स कमाण्डर विदामा थिए। डिपुटी फोर्स कमाण्डरचाहिं फोन गर्न तीन मिनेट बाहिर निस्केका के थिए, त्यही वेला भवन पुरै गर्ल्यामगुर्लुम्म ढल्यो। उनकी पत्नीचाहिं मन्तना होटेलभित्र भासिइन्। मिनुस्ता प्रमुखसहित डेढ सय जना त्यही भासिए। त्यसपछि हाम्रो टोलीले मिनुस्ता हेडक्वार्टरलाई उद्दार गर्न खट्टियो। घाइतेलाई उपचार गर्दै नेपाली सेनाको स्वास्थ्य टोली त्यतिखेर अस्पताल पुरै ध्वस्त भइसकेका थिए। उपचारका नाममा केही सैनिक क्याम्प थिए तर उनीहरू आफ्नै घाइते सैनिकलाई उपचार गर्न भ्याइ-नभ्याइ थिए। सौभाग्यवश, त्यसवेला हामो पल्टनमा केही क्षति नपुगेको कारणले हाम्रो मेडिकल टोली २३ जना मात्रै थियो। हामीले ३५० जनालाई छ महिनाको लागि ल्याइएको औषधी त्यही रात सिद्धियो। तैपनि हामीले प्रारिम्भक उपचार गरिरह्यौं। हाम्रो संस्कार नै छ, सकेसम्म अरूलाई सहयोग गर्ने। त्यही भावनाले हाइटी महाभुकम्पमा धेरै काम गर्‍यो। हाम्रो सकल दर्जाले तन मन धनलगाएर उद्दारमा खटियो। ब्राजिलको १९ जना र जोर्डनका केही सैनिक मरेको हुँदा उनीहरू सोकमा थिए। हामी सकुसल भएपछि आफ्नो दायित्व पुरा गर्न सफल भयौं। भुकुम्पको उद्दार गर्न काखैमा रहेको अमेरिकाभन्दा अगाडि चिनियाँ टोल्ाी आइपुग्यो। उनीहरूको बटालियन कमाण्डर टोलीसहित भ्रमणमाा आएको उच्चस्तरीय टोली मिनुस्तामा पुरियो। आफ्ना मान्छेको लास बोक्न चिनियाँ टोली त्यति चाडो आइपुगेको हो। हामीसँग साउण्ट डिटेक्टर मेसिन पनि थिएन। न त आधुनिक तालिमप्राप्त कुकुर नै थिए। हुन त यस्ता प्रविधि मिनुस्तासँग पनि थिएन। पछि हामीले यस्तो विशेष उद्दार गर्ने रेस्क्यु उपकरण चाहिन्छ भन्ने माग पनि राख्ोका छौं। भुकम्पमा अँएको ४८ घण्टासम्म सर्च एण्ड रेक्क्युको काम मात्र भयो। चिनियाँ टोलीले आफ्नो नागरिकको लास टकटक झिकेर लगिहाल्यो। अनौठो त के भने, उनीहरूले लास झिक्दा नेपाली सेनाबाहेक अरूलाई मिनुस्ताको भवन क्षेत्रभित्र कसैलाई छिर्न दिएनन्। मिडियालाई समेत तस्बिर खिच्न दिएनन् उनीहरुले। भत्किएका भवनमा उद्दारको लागि १० दिनसम्म हातैले काम गरियो। डोजर लगाइएन। त्यसपछि मात्र इन्जिनियरिङ युनिटका डोजर लगाइ उद्दार गर्न थालियो। अनौठो, १४ दिनपछि क्यारेभियन सपुरमार्केटभित्र ज्युइदै मान्छे निकाइयो। लक्कीली ऊचाहिं जुस, खाने कुरा नजिक अर्ध भागमा पुरिएको रहेछ। यहाँको लोकल मोबाइलले काम गरेपछि भित्र अड्किएको व्यक्ति फोन सम्पर्कमा आएको कारणले बचाउन सफल भइयो। भुकम्पलगत्तै हेडक्वार्टरको मुख्य चासो देखियो, पोर्ट औ प्रिन्सको सुरक्षा के छ? किनकि, भुकम्पका कारण जेलभित्र रहेका पाच हजारजति खुंकार डकैट, गुण्डाहरु प्रहरीको हतियार लिएर फरार भए। पोर्ट औ प्रिन्स जहाँ बढी क्षति भएको छ, जहाँ सुरक्षा थ्रेट छ, त्यहाँ सुरक्षा व्यवस्था के छ भनेर यूएन हेडक्वार्टरले बारम्बार ताकेता गरिरह्यो। हामीसँग रहेका फौज नपुगेर नेपब्याट १, जो हाइटीको मध्य क्षेत्रमा कार्यरत छ, त्यहाँबाट दुई कम्पनी थप फौज मगाइयो। यस्तो वेलामा मानवीय आधारमा विभिन्न मुलुकले सहयोग दिदा रहेछन् तर तिनको उचित व्यवस्थापन गर्न निकै चुनौति देखियो। घाइतेलाई उपचार गर्दै नेपाली सेनाको स्वास्थ्य टोली पोर्ट औ प्रिन्समा रहेको एयरपोर्ट दुई दिनसम्म एयरपोर्ट चलेन। त्यसपछि अमेरिकी सेनाको विशेष दस्ता ८२ एयर बर्न डिभिजन फोर्स आयो। अमेरिकाले खासगरि इराक र अफ्गानिस्तानमा तैनाथ गराउने उक्त फोर्सलाई हाइटीमा केन्द्रीत गरायो। हाइटीका बासिन्दा अमेरिकी सेना झरेको देख्दा आतंकित भए। अमेरिकी सेना कतै कब्जा गर्न आएको त होइन? नानाथरि आंशका उब्जिए। हाइटीमा 'रिजनल' स्वार्थ भएका सेनाले पनि त्यही शंकाको घेरामा हेरे। अमेरिकाको ५ वटा बटालियनले आफ्नो विभिन्न दैविक उद्धारका सामाग्री ल्याएर नेपाली सेनासँगै काम गर्‍यो। उनीहरूले मानवीय उद्दारको नाममा आएको बताए। किनभने त्यो फोर्स अमेरिकामा तयारी अवस्थामा थियो तर लगत्तै हाइटीतिर मोडिहाल्यो। हामी भूकम्पपछि हाहाकार नहोस् भनेर पेट्रोलिङ, खाद्यान्न गस्तीतिर हाम गरिरह्यौं। संसार भरका धनी मुलुकको सहोग हाइटीतिर ओइरिन थाल्यो। पोर्ट औ प्रिन्सको एयरपोर्ट सही अवस्थामा नभएकोले राहत सामग्री बोकेको हवाइजहाज डोमिनिकन रिपब्लिकमा अवतरण गरियो तर त्यहाँबाट जति पनि राहत आउछ, त्यसको पेट्रोल गर्ने काम नेपाली सेनाले गर्‍यो। अमेरिकनको विशेष सहयोगमा विस्तारैविस्तारै सुरक्षाको खतरा कम हुदै गयो। अमेरिकी सेनाले एयरक्राफ्ट क्यायिर विशेष पानी जहाज र हस्पिटल जहाज ल्याएर उद्दार गर्न थाल्यो। अचम्म त के भने अमेरिकाको उक्त हस्पिटल जहाजमा १० वटा अप्रेसन थियटर थिए, जवकि नेपालमा आर्मी अस्पताल, विर हस्पताल, शिक्षण अस्पतालमा जस्ता ठूला हस्पतालमा त्यति धेरै धेरै अप्रेसन थियटर सायदै होलान्। उक्त जहाजका आफ्नै हेलिकप्टर थिए। सिधै हेलिकप्टर अवतरण गराएर उपचार गर्थ्यो, जसको कारणले हाइटीको कोहाहल केही साम्य हुन मद्दत गर्‍यो। विस्तारै मान्छेहरूमा राहत महसुस हुदै गयो। अर्थतन्त्रलाई सामान्यमा ल्याउनका लागि बजारमा किनमेल हुन थाल्यो। तर पैसा छैन। अलिकति पैसा छ, पसल छैन। पसल छ, तर पैसा छैन। पैसा सबै बैंकमा छन्। जनजीवन सामान्यमा ल्याउनको लागि खानेकुरा किन्न सकिने, पैसाको कारोबार हुन आवश्यक थियो। हाम्रो क्षेत्रमा पर्ने १६ वटा बैंकको सुरक्षा दिइ तिनलाई सञ्चालनमा ल्याउन सहयोग गरियो। यूएनमा जाँदा हामीले गर्नुपर्ने काम पेट्रोलिङ, गस्ती, सुरक्षा, घाइतेको उपचार आदि सबै कुरा हाइटीमा आएर अभ्यास गर्न पाइयो। तर त्यसबीचमा हामीसँग नमिठो अनुभव संगाल्यौं। २४ औं घण्टामा लासमा कुल्चिएर हिड्दा, खाद्यान्न सहयोगमा अहोरात्र खटिदा हामी पनि आफै विरामी पर्ने स्थितिमा पुग्यौं। घाइतेलाई उपचार गर्दै नेपाली सेनाको स्वास्थ्य टोली हाम्रो कामको जताततैबाट प्रशंशा भयो। दिनप्रतिदिन हामीमाथि सुरक्षा थपिदै गयो। नेपाली सेनालाई हाइटीको राजधानीको मुख्य भाग जिम्मेवारी दिएको थियो। सेना नभएको मुलुकमा हामीले राजधानीलाई सुरक्षा दिइरहेका थियौं। भुकम्पका कारण ३५० जना बस्ने ठाउमा ६०० जना थपिइसकेको छ। बस्ने, खाने समस्या छ, ट्वाइलेट भरिएको छ। रासन पुगेको छैन। मिसनका मान्छेलाई सबैभन्दा पहिलो प्राथमिकता आफ्ना मान्छेको लास झिक्नेतिर दिए। त्यसपछि मात्र सुपरमार्केटलगायतका ठूला भवनको भग्नावेश गर्न। ७-१० दिनसम्म काम गर्‍यौं। त्यसवेलासम्म पुरै थकान लागिसकेको थियो। दैविक प्रकोपको वेला मिडियाको पनि ठूलो भूमिका हुदो रहेछ। एकपटक हामी राहत उद्दारको सुरक्षा गरिरहेका थियौं, सीएनएनले त्यसको प्रत्यक्ष प्रसारण दिइरहेको थियो। भनिरहेको थियो, नेपालले राहत वितरण गरेको विस्कुटको डेट एक्पाएर भएको छ। वास्तवमा त्यो राहत हामीले वितरण गरेका थिएनौं, हामीले त केवल अरू संस्थाको राहत वितरणलाई सुरक्षा मात्र प्रदान गरिरहेका थियौं। सबै खालका सहयोगको लागि दैविक उद्दार सम्वन्य गर्ने कार्यालय ओचाले संयोजन गरिरहेको थियो। दैविक उद्दारकै चटारो भइरहेका वेला एकाएक हल्ला फिजियो, सुनामी आउदैछ भन्ोर। ब्यारेक खाली छोडेर केन्सकोपको डाडातिर उक्लिन हो कि भन्ने दोधार स्थिति आइपुग्यो। हल्लाकै आधारमा पोर्ट औ प्रिन्सका बासिन्दा रातारात डाडातिर उक्किए। हामीहरु भने अन्यौलमा थियौं। सुनामीको आधारिक सूचना थिएन। पछि मिनुस्ताबाटै आधिकारिक खबर आयो, त्यो गलत हल्ला हो भनेर। हामीहरू अझै सामान्य अवस्थामा पुगेको थिएनौं, किनकि भुकम्प गएपछि छ दर्जनपटक सानातिना कम्पन आइरहे। त्यसबाट निकै त्रास वातावरण सिर्जना भइरह्यो। सबैको मनमा त्रास थियो, नेपाल सकुसल फर्किन्छ कि फर्किदैन। परिवारलाई भेट्न पाइन्छ कि पाइदैन भन्ने। सपनामा बारम्बार भुइचालो अँएको देखिन्थ्यो। बाहिर हिड्दाखेरि लासैलास देखिन्थ्यो। गन्ध आएर हिड्न नसकिने स्थिति थियो। महाभुकम्पबाट मारिएका करिब दुई लाख ३० हजार हाइटीबासी मृत आफन्तको शरीर हेर्दै रोइरहेका थिए। लासलाई उचित व्यवस्थापन नगरेमा अर्को महामारी फैलिने खतरा थियो। हाइटीका केहीले बाटोमै लास जलाए। उसो त ९५ प्रतिशत क्रिश्चियन भएको हाइटीमा लास जलाउने चलन छैन। तापनि लास गाड्ने ठाउ नहुदा जलाउनु उनीहरुको बाध्यता थियो। ब्लकले बनेका हाइटी घरहरु पुरै भत्किदा स्थानीय बासिन्दा सबै खुला चौरमा पालमुनि बस्न थाले। भुइचालोलगत्तै राष्ट्रसंघले सिभिल कर्मचारीलाई १२ हजार डलरसहित डोमिनिकन रिपब्लिकमा घुम्ने प्याकेज दियो। त्यो एकखालको स्टे्रस म्यानेजमेण्ट पनि हो। तर हामी (सेना) लाई केही थिएन। २४ औं घण्टा काम गरिरह्यौं, विना रोकटोक। यी सिभिल कर्मचारीको महसुस खड्कियो। उनीहरुको विदाले गर्दा सेनाको काममा पनि बाधा भयो। लगातारको कम्पनले पनि हाम्रो फौजमा मनोवैज्ञानिक असर परेको छ। अहिले पनि जाच गरियो भने हामीमा स्टे्रसको मात्र बढी नै पाइने पक्का छ। हामीले त्यस्तो उपचारको विधि नपाएकोले आफैले आफैलाई हौसला दिनेबाहेक विकल्प पनि थिएन। भुकम्पले नेपालीीलाई सामान्य मात्र क्षति भयो। हाम्रो कम्पाउण्डभित्रको वर्कशप पुरै चर्कियो। सौभाग्य, त्यहाँ हाम्रो मान्छे कोही थिएन। अर्को साइबर क्याफे नै ढल्यो। त्यो दिन बडाभोजमा सरिक भएकोले साइभरमा पनि कोही थिएन। पछिल्लो अवस्थामा भुकम्पपीडितलाई राहत दिलाउने काम ६ महिनासम्म मात्र दिने सकिने, त्यसपछि दीगो व्यवस्थापन गर्न पैसाका लागि पुर्ननिर्माण योजना वा खानाका लागि काम भन्ने कार्यक्रम ल्याउनुपर्छ भन्ने अन्तर्राष्ट्रिय संघस्ांस्थाको मान्यता छ। त्यही अनुसार हामी पनि राहत तथा सुरक्षा दिइरहेका छौं। हाम्रो मातहातमा १५८ वटा पुर्नस्थापना केन्द्र रहेका छन्, ती सबै खुला चौर तथा विद्यालयमा पाल टागेर बसिरहेका छन्। तिनको सुरक्षा गर्ने पनि अर्को चुनौति छ। त्यहाँ बलात्कार, चोरी, डकैति हुनसक्ने खतरा पनि उत्तिकै छ। अझै पनि २० प्रतिशत लास भग्नावेशमा पुरिएका छन्। तिनलाई व्यवस्थापन गर्नु अर्को चुनौति हो। हाइटीको महाभुकम्पमा उद्दार गर्दा बारम्बार स्वदेशको झल्झली याद आउथ्यो। यही घटना काठमाडौंमा घटेमा कस्तो होला? कल्पना त नगरौं, यस्तो कहिलै नहोस्। तर त्यसको तयारी त हामीले गर्नेपर्छ। यस्तै घटना घटेमा नेपालमा कम्तिमा पनि ५ लाखको हाराहारीमा हताहत हुनसक्छ। समयमा उद्दार पक्कै पनि आउँदैन। किनकि, हाम्रो समुद्रसम्म पुग्ने मार्ग छैन। एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ, त्यो भत्किएमा हेलिकप्टर अवतवरणबाहेक अरु उपाय नै छैन। पृथ्वीराजमार्गका दुईवटा पुल मात्र भत्किएमा उद्धार कार्य नै हुनसक्दैन। काठमाडौंका बाटाहरु अति साँघुरा छन्, कुनै पनि अस्पालनमा सायदै खुला जमिन भेट्न सकिन्छ। अस्पतालमा हेलिप्याड बनाइएका छैनन्। हजारौं संख्यामा हताहत भएमा हाम्रो संस्कृति अनुसार लासको व्यवस्थापन गर्न कठिन हुनेछ। हामीसँग रेस्क्युका स्रोत र साधनहरु अति नै कम छन्। तालिमको अभाव छ। स्थानीय जनतामा भुकम्पसम्बन्धी जनजागरणको कमी छ। कच्ची घरहरु अझै व्याप्त छन्। नयाँ घर बनाउदा पनि तोकिएको मापदण्डविपरित बनाइएका छन्। मुख्यगरि सार्वजनिक उपभोगका भवनहरु स्कुल, कलेज, सरकारी भवनहरु पनि जीर्ण अवस्थामा छन्। त्यसैले हामी सबैले समयमै सचेत भइ हाइटीको जस्तो दुर्दशा नेपालीले भोग्न नपरोस्। धन्य हाइटीमा हाम्रो सिंहबाहीनी माता र पशुपतिनाथको कृपाले केही भएन। (भोजराज भाटसँग कुराकानीमा आधारित) Source: Nagariknews.com

hit.the.hot · Apr 21, 2010 11:52 PM · 2,105 views

1 Reply

It will be worst than Haiti. Peoples residing in the heart of City with old house will be suffering the most. Casualty will be higher than projected. People will be looking for valuable things rather than rescuing. Day light looting will occurred and police and army force will be diverted from rescuing to protecting the property of victims. We have lost ethics, value and culture.   Hope that day never comes. 

Syanjali · Apr 22, 2010 8:19 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all