यो कस्तो सम्झौता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"यो कस्तो सम्झौता"   (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन। कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।)               फेरी म श्रिङ्गरिनु पर्ने भयो आज। कत्ती मन पर्दैन्न मलाई दश थरी चिज आफ्नो अनुहारमा पोतर्न्न। मन नपरे पनि गर्न त पारी हाल्यो नि। आफुले आफुलाई जतिसुकै सुन्दर देखाउने प्रयास गरे पनी अरुहरुको नजरमा म कहिल्यै राम्री देखिन। हुन त आफुलाई आफु नै नराम्रो त कस्लाई पो लग्ला र। जती सुकै कुरुप भएपनी मनको कुनामा आफुलाई सुन्दर त मैले जस्तै अरुलाई पनि त लाग्दो होला नि। ऐना अगाडि उभिएर म आफुलाई नियाल्छु। के म साँचिकै नराम्री नै छु त? के म सच्चै नराम्री हुनुको करणले गर्दा नै मैले सपनामा देख्ने गरेको मेरो मनको राजाले बिपनामा नै मलाई लिन आउँदैन होला त? के म उस्को नामको सिन्दुर, पोते अनी चुरा लगाएर दुलहिको भेषमा, गह भरी आँशु पर्दै डोलिमा बसी मेरा बाबु आमा अनी दाई सङ्ग बिदा हुन पाउदिन होला त? मलाई डोलीमा राखेर बिदा गर्ने साह्रै ठुलो सपना छ मेरो परिवारको। हुन त सपना त देखे मात्र पुग्छ तर त्यही कुरा बिपनामा बदल्न त्यस्को सामना गर्नु पर्छ। सामना गर्न पर्छ भन्दैमा सपना नै देख्न छोड्न पनि त भएन नि।   "नानु छिटो तयारी हौ है। केटाका परिवारहरु आउने बेला भाईसक्यो।" - पल्लो कोठाबाट दाईले अहराउनु भयो। "त्यो रातो रङको कुर्था सुर्वाल लगाउ है। तिमीलाई कस्तो सुहाउँछ" - भन्दै आमा मेरो कोठामा पस्नु भयो।   त्यही नै झिकेर लगाए। मलाई प्राक्रितीक सुन्दरता नै मन पर्छ। त्यसैले make-up गरेको जस्तो मात्र गरे। मन अनी बुद्धीको सुन्दर भए भयो नी। बाहिरी रुप नै सुन्दर हुनु पर्छ भन्ने चाँही म मान्दिन थिए पहिला तर बाहिरी सुन्दरता पनि चाहिदो रहेछ।   "नानु जीवनका तिता मिठा अनुभबहरुले नै तिमी हामीलाई निकै सिकाउँदो रहेछ, परिपक्क बनाउदै लैजाँदो रहेछ। जीवन आफुले चाहे जस्तो गरी त कस्को पो चल्छ र? आफुले चाहे जस्तो बनाउन त प्रयत्न गर्नुपर्छ, जे आइ लाग्छ त्यस्लाई स्विकार गरी सामना गर्दै जानुपर्छ। तिमीलाई थाहै छ नि नानु, जहाँ आगो हुन्छ त्यहाँ उज्यालो पनी हुन्छ, जहाँ फुल हुन्छ त्यहाँ सुगन्ध अनी भमरा पनि हुन्छ।" मेरा मनमा खेलेका कुराहरु बुझ्नु भयो कि के हो आमाले मलाई सम्झाउन पो थाल्नु भयो।                         आँखा भरी आँसु पर्दै उहाँ मलाई सम्झैरहनु भएको थियो। मलाई थाहा छ आमा- हजुर र बुवालाई कती चिन्ता छ मेरो। हुर्केकी छोरी घरमा नै हुँदा, धेरै केटाहरु देखाउदा पनि एउटाले पनि मन पराएन्न भनी समाजले कुरा गर्दा,  हजुरहरुको त्यो मनमा कती तुफान आएको छ। म पनि पढ्न सक्छु आमा हजुरको अनुहार। यो मेरो सातौं पटक हो मलाई हेर्न केटाका साथ उस्का परिवारहरु मेरो घरमा आएका। होचो कद भएको, कालो बर्ण छ मेरो रुप। मेरो रुप जे जस्तो भएपनी दुधै दुधको पोखरिमा नुहाउँदै हुर्केकी घरकी एक्ली छोरी हुँ म। आफ्नो घरकी लक्ष्मी अरुको घरमा पठाए पछी मात्र आफ्नो घरमा लक्ष्मी भित्राउने बुवाआमाको उद्देश्यले गर्दा नै मेरो दाईको विवाह आज सम्म भएको थिएन। तर जती नै आफ्नो कुल खान्दनका केटाहरुका कुरा आएपनी आहिले सम्म मलाई कसैले पनि मन पराएन्न। खाली खोट मात्र आउथियो जवाफमा - डल्ली रहिछ, काली रहिछ, height मिल्दिन्न रहेछ, मोटी रहिछ…….यस्तै यस्तै। एस्ता कुराहरुले मेरो मन एकदम नै दुखाउथियो। पहिला पहिला त एस्तो भएर मन परेन रे भन्दै कारण सहित आमाले नै भन्नु हुन्थियो। तर आज भोली चाहिँ हामीले नै मन पराएनौं भन्न थाल्नु भएको छ। तर म बुज्छु सबै कुरा- हामीले मन नपराएको कि, उनिहरुले नै मलाई। के होचो हुनुमा या कालो हुनुमा मेरो के दोश ? पहिला पहिला त एकदम नै मन दुख्थियो यस्ता कुराहरुले तर अहिले त बानी नै पारी सक्यो।   "नानु आउ जाउ उता कोठामा" भन्दै दाई मलाई लिन आउनु भयो। "आज त मेरी नानु कत्ती राम्री देखेकी छ नि" - भन्दै मेरो हात समातेर उता कोठामा लिएर जानु भयो।               पाँच-छ जना जती मान्छे आएका रहेछ। हेर्दा सबै राम्रै देखिन्थिए। सामान्य स्रिष्टचार पछी बिशेष कुरा पट्टी नै कुरा मोड्नु भयो दाईले। उनिहरु मेरो पढाई प्रती निकै आक्रशित भएका रहेछन। Environment Science मा Masters गरेकी थिए र त्यही अनुसार काम पनि गरिरहेकी थिए। ए एउटा " प्लस पोइन्ट" त भएछ जस्तो मनमा लाग्यो। केटा पनि आफ्नो पढाई भ्याएर काम गर्दै रहेछ अमेरिकामा। यती कुरामा मात्र ध्यान दिए मैले। एक घण्टाको बसाइ र भेटघाट पछी अन्य जानकारीका लागि फोनबाट संपर्क गरौला भनी उनिहरु गए।               फेरी मेरो मन गहरुङो भएको छ उही जवाफहरु सुन्नु पर्छ भनेर। फरी आज म अर्को पुरुषको अगाडि उभिएकी थिए ता कि उस्ले मलाई हेरोस, मन परावोस अनी म सँग विवाह गर्न राजी होस् भनेर। होचो हुनु र कालो बर्णको हुनु जो बाध्यता छ मेरो। किन बुज्दैन होला यि केटाहरु जो कोही केटी पनि हेर्दै " यो राम्री छ, यो यस्ती छ, यो उस्ती छ " भन्दै मुल्यङ्कन गर्दै छोड्दा त्यो केटीलाई के असर पर्छ भनेर। के त्यनिहरु मनमा अलिकती पनि अफ्ट्यारो पैदा हुँदैन होला मैले दस थरी केटी हेर्दै-छोड्दै गर्दा अनी राम्रो-नराम्रो भन्दै हिड्दा उनिहरुको स्वाभिमानमा कत्तिको ठेश पुग्छ भनेर। किन फोटो हेरेपछी नै "हुँदैन यो केटी त" भन्न सक्दैन्नन? ४ चोटि केटाहरुले आस्विकार गर्दा नै मैले विवाह गर्दिन्न भनेको थिए। दाईले पनि एकदम नै कर गर्नु भएको थियो। बहिनिको विवाह नगरि आफु नगर्ने भनेपछी मलाई करै लाग्यो। दाईको बिचारमा हरेक व्यक्त्तिको जोडी माथिबाट नै बनाएको हुन्छ रे। मेरो आफ्नो मान्छे एकदिन पक्कै भेटिन्छ रे। त्यस्को लागि केबल प्रयत्न र समय चाहिन्छ रे। फेरी सम्बन्ध आँफै बन्दैन, यो बनाउन निरन्तर प्रयास गरिनै रहनु पर्छ रे।"   आफ्नो परिचय केटाको परिवारलाई दिनु पर्दा यथार्थको धरातालमा नै आएर सबै कुरा इमान्दार साथ भन्नु पर्छ जस्तो मलाई लाग्छ। त्यसैले केही कुरा पनि बनावोटी नर्गन बुवाआमालाई भनेकी छु। कुरा बनावोटी भएको छ भने भोलिका दिनहरुमा म नै दलदल भाँसिन्छु। मैले पनि केटाको तर्फबाट त्यही नै अपेक्षा गरेकी छु। आमाले नानु तिम्रो फोन भनेर बोलाँउदा पो झसँग भए म।     क्रमश:……….     ***सल्लाह र सुझाब पाउने विश्वाशका साथ यो कथा Upload गरेकी छु।***

Sufal · Mar 26, 2010 10:00 AM · 26,286 views

19 Replies

ल अर्को भाग पनि टाँसु त छिटो ..... लास्ट टाईम जस्तो ढिला गर्ने होइन अर्को भाग राख्न कथा राम्रो छ ......

serial · Mar 26, 2010 10:11 AM

omg kasto dhamkaeko serial le? katha ramro lagyo malai pani.

kHusHii · Mar 26, 2010 10:29 AM

धम्काएको रे मैले लौ न के भनेको खुशी एसो साथी लाई अर्को भाग राख भनेको पो त क्या छ के यो खुशी

serial · Mar 26, 2010 10:41 AM

यी माथिकाहरुले भन्याऐ कुरो दोहोराउन त मन थेन, तर नढाँटी भन्न पर्दा, कथाको सुरुवात चाइँ सार्है मन पर्‍यो मलाई। अर्को भागको प्रतिक्षामा

perfectionist · Mar 26, 2010 10:54 AM

नारीको क्रन्दन , विवाह बन्धनमा हुने गन्थन, सामाजको अनुबन्धन सबै समेट्ने कथा जस्तो लाग्यो। सदा झै उत्तम शैलिमा आँखा अगाडि झल्झली आउने गरी शब्दलाई गुथेको छ । अर्को भागको प्रतिक्षामा ।

rahulvai · Mar 26, 2010 11:06 AM

I enjoyed reading the story and waiting for the next part!!! Very well written..

perika · Mar 26, 2010 1:29 PM

wow i like it..waiting for next part

Cezn · Mar 26, 2010 2:00 PM

औ सुफल नानी, तिमी एउटी नारी भएर अहेली पनी एस्ता "केटी हेर्ने" प्रथा लाई समर्थन गर्छेऊ र भने ? होइना बा ! किना चै हाम्री चेली हरु यी गुलेहरु को छनौट नगर्ने ? के हाम्री चेलीहरु चै गाई, भैसी हुन र ? बज़ारमा सामान छनोट गरे सरी हाम्री चेली छान्न्ने ? लौ चेली हौ आवाज़ उठाउनु पर्यो नि ? हजूरहरुले पनी आफूलाइ मन पर्ने गुले छान्न्ना पाउनु पर्यो ! की कसो त केटी हो !!!

Nas · Mar 26, 2010 2:22 PM

Your writing has the beauty without flaw. I am waiting for next part. Amazing writing with a blend of social and psychological issue!

Pure_Enquiry · Mar 26, 2010 2:25 PM

 कथा मन पराइदिनुहुने सबै जनालाई धन्यवाद।  अर्को भाग छिट्टै आउँदै छ। सुफल

Sufal · Mar 29, 2010 7:08 AM

दोश्रो भाग:               फोनमा कुरा गरे। उही केटाले भेट्न बोलाएको छ आजै। मनमा दश थरी कुरा खेलिरहे पनि हतार हतर दाईसँग उस्ले बोलएकै ठाउँमा गए। उ त एक्लै आएको रहेछ। दाईलाई पनि म सँग एकछिन कुरा गर्छु भनेर एक घण्टामा यही ठाउँमा आउन आग्रह गर्‍यो।   "नानु, दिउँसो तिम्रो परिवारसँगको छोटो बसाइ रमाइलो भएको थियो।"- उस्ले यसरी कुरा सुरु गर्‍यो। घरमा मलाई सबैले नानु भन्ने भएकाले उस्ले पनि नानुबाट नै सम्बोधन गर्‍यो मलाई। म केही पनी बोलिन। उ नै बोल्दै गयो। "म त बिदेशबाट आएको। विवाह गरेपछी पनि परिवारलाई उतै नै लिएर जाने मेरो सोच छ। मलाई तिम्रो बारेमा सबै कुरा चित्त बुझेको छ। यदी तिमीलाई पनि म मन परेको छु भने कुरा अगाडि बढाउन सकिन्छ। के छ तिम्रो बिचार भनी उल्टो मलाई प्रश्न तेर्सायो।"  कस्तो अफ्ठ्यारो परिस्थिती आइ पर्‍यो मलाई। के भनु के नभनु होश नै भएन। जीवनमा पहिलो पल्ट कुनै केटाले मलाई मन पराएको छ। मैले "हुन्छ" भनेको खण्डमा उस्को र मेरो विवाह हुनेछ भन्ने कुराले कता कता मन हर्शित पारीरहेको थियो। यस्तो निर्णय गर्न घर-परिवारले आफुलाई जती सुकै स्वत्रन्त्र छोडिदिए पनि जन्म दिने बुवा आमा प्रतिको कर्तव्य पालना मैले गर्न नै पर्छ। खुशीका आशुहरु कती खस्लान, उहाँहरुले यो कुरा सुन्दा।  "मलाई ब्यक्तिको बहिरी रुप भन्दा पनि भित्री रुप हेर्न मन लाग्छ र म अरु केटाहरु जस्तो पनि होइन हजारौं केटीहरुको लिस्ट बनाएर बर्शौ लगाएर केटी खोज्दै हिंड्ने। आफ्नो कुल खानदानको एकजानलाई पक्डिने हो, मन मिलेको खण्डमा विवाह गर्ने हो। धेरै केटीहरु हेरी रिजेक्ट गर्दै उनिहरुको स्वाभिमानलाई ठेश पुर्याउन हुन्न भन्ने मन्यता छ मेरो।" - उ बोली नै रहयो।  मलाई त अचम्म लाग्यो। यो मान्छेले त मेरै मनको कुरा बोल्यो। हो रहेछ कि के हो दाईले भन्नु भए जस्तै- "हरेक व्यक्त्तिको जोडी माथिबाट नै बनाएको हुन्छ । उनिहरुको सोच बिचार पनि मिल्छ भनेर"   "के भयो नानु कत्ता हराएकी? तिमीलाई आहिले नै निर्णय गर्नु पर्दैन्न। केही समय लिउ। सोच-बिचार गरेर नै निस्कर्श निकाल। त्यती हतार पनि छैन मलाई।"  उस्ले सजिलो बातावरण बनाइदिन खोज्यो मलाई।   "ठिकै छ नि त। म घर सल्लाह गरेर खबर गर्छु नि हजुरलाई।" -मैले सजिलो उत्तर दिए। "त्यसो भए तिम्रो तिर्फबाट चाँही "OK" हो?" उस्ले अझ मेरो बिचार बुझ्न खोज्यो। "त्यस्तै ठान्नु भए हुन्छ" - मैले भने। "नानु, थाहा छैन मलाई जुन कुरा अब म तिमीलाई भन्न गहिरहेको छु त्यो तिमीलाई स्विकार्य हुन्छ या हुँदैन। मेरो जीवनमा मैले एउटा एस्तो भुल गरेको छु कि त्यो भुलको प्रयास्चित गर्न म सक्दिन्न। कुनै कुनै भुलहरु एस्ता हुँदा रहेछन कि त्यस्ता भुलहरु पहिलो पटक नै गर्नु नै हुँदैन रहेछ।" म चुप चाप सुनिनै रहे उस्का कुराहरु।               “अल्लारे उमेर, साथी-भाईहरुको प्रतिश्पर्धा अनी आफ्नो बिबस्ताले गर्दा नै म उता गएपछी त्यताको कागजपत्र छिटो बनाउने उद्देश्यले मैले त्यहीको एउटा केटीसँग विवाह गरेको थिए। अहिले सबै कागजपत्र भइसक्यो, उस्लाई डिवोर्स गरेर म छुट्टै बसेको पनि २ बर्ष हुनै लगिसक्यो। म बुवा आमालाई यी सबै कुरा भन्न पनि सक्दिन्न अनी फेरी यता विवाह गरी एउटा अबोध नारीलाई बिश्वासघात गर्न पनि चाहन्न। बुवा आमाको कत्रो सपना छ मेरो विवाह धुमधामले गरिदिने। कागलाई जती सुकै मयुरको प्वाँख टाँसे पनि काग काग नै हुदो रहेछ। म पनि मेरो बुवा आमाको अगाडि काग नै साबित भए। जती सुकै आफ्नो भुल ढक छोप गर्न खोजे पनि उहाँहरुको अगाडि सकिन मैले। यती खेर सम्म त विवाह गर्दिन्न भनेर टारेको थिए। यसपली त अपहत्ते गर्नुभएको छ। के गरु के नगरु थाहा छैन। कतिन्जेल म उहाँहरुबाट भाग्न सक्छु र फेरी। एउटा न एउटा बिकल्प त मैले खोज्नै पर्छ भनेर यो सब गरी रहेको छु। त्यसैले सोचे, जो केटी म सँग विवाह गर्न राजी हुन्छे उस्लाई सबै थोक स्पष्ट भन्छु र उ र म बिच एउटा सम्झौताको लक्षमण रेखा कोर्छु ता कि यो कुरा सिवाय म र मेरो हुने वाला पत्निलाई मात्र थाहा होस्। यदी तिमीले मैले राखेको केबल तिमी र मेरो बिचको सम्झौता "हुन्छ"  भनी भने खण्डमा हाम्रो विवाह हुन सक्छ। मैले मेरा बिगतका कुराहरु स्पष्ट तिमीलाई राखेको छु ता कि भबिष्यमा गएर मेरो चरित्र, मेरो इमान्दारिता अनी स्वाभिमानमा ठेश नपुगोस भनेर। एउटा केटाले एउटा केटीको या भनौ एउटा केटीले एउटा केटाको मुल्यङ्कन गर्दा खाली बहिरी रुप्-रङ, लवाइ-खवाइका कुराहरुमा बढी जोड दिएका हुन्छ। तर म यही सम्झौताबाट नै मैले हेरेको केटीको आत्मा र उस्को गुण मुल्यङकन गर्न चाहन्छु। के तिमी यो सम्झौतासँग जुध्न सक्छौ?     मेरो मुटु नै ढक्क फुले जस्तो, कता-कता डर लागे जस्तो भयो। म सँग विवाह गर्न राजी छु, म मन पर्‍यो भनेर पहिला उचाल्यो अनी अहिले एकाएक भइमा थेचारिदियो।   क्रमश:……….     Last edited: 30-Mar-10 01:28 PM

Sufal · Mar 30, 2010 1:25 PM

लौ जा एस्तो पो राइछ कुरा - ल अब अर्को भाग मा के हुन्छ भनेर पढ्न मन लाग्यो के रे एकदम राम्रो सँग गैराछ कथा - एउटा टुइस्ट आइसक्यो - अर्को पनि आउछ कि दामी छ सुफल दामी

serial · Mar 30, 2010 2:09 PM

Sufalji sarai nai ramro cha katha....arko part ko pratiksyama...

brandy · Mar 30, 2010 2:27 PM

<<<एउटा न एउटा बिकल्प त मैले खोज्नै पर्छ भनेर यो सब गरी रहेको छु। त्यसैले सोचे, जो केटी म सँग विवाह गर्न राजी हुन्छे उस्लाई सबै थोक स्पष्ट भन्छु र उ र म बिच एउटा सम्झौताको लक्षमण रेखा कोर्छु ता कि यो कुरा सिवाय म र मेरो हुने वाला पत्निलाई मात्र थाहा होस्।>>> हैन यो बिकल्प चाइँ कसोरी भो? यो चाइँ चित्तै बुझेन क्या मलाई। भूल भाको स्विकारी सकेछी किन फेरी लक्षमण रेखा? कुरो बुझिएन! अनी धेरै छोटो भो भन्या, ल पढ्न बसेँ भनेर एस्सो पाखुरा सुर्काको त, कथाको क्रमस आइसकेछ। अलिक लामो लेखेर टाँसुम न, लु म चाइँ कुरेरै बसेँ है त

perfectionist · Mar 30, 2010 2:27 PM

Serial, Thank you so much, कथा update गर्दै कमेन्ट पनि राखिदिएकोमा! Brandy, thanks a lot! Perfectionist, मलाई जहाँ सम्म लाग्छ मैले कथामा भनेको नै छु, केटाको पहिलो विवाह  भएको उस्को बुवा आमालाई थाहा छैन्न। त्यही भएर, जो केटीसँग उ विवाह  गर्न जादै छ उस्लाई नै सबै कुरा भनी, त्यो कुरा उनिहरु बिचमा मात्र  सिमित राख्ने सर्तमा मात्र केटाले त्यो केटी सँग विवाह गर्न्न राजी हुँदै छ। के यो केटाको लागि केटी सँग direct विवाह गर्नु भन्दा सबै कुरा भनेर सम्झौतामा विवाह गर्न खोजेको बिकल्प होइन्न र! कथा पढिदिनुहुने सबै लाई मुरी मुरी धन्यवाद। सुफल Last edited: 31-Mar-10 07:40 AM

Sufal · Mar 31, 2010 7:39 AM

अन्तिम भाग:  मेरो मुटु नै ढक्क फुले जस्तो, कता-कता डर लागे जस्तो भयो। म सँग विवाह गर्न राजी छु, म मन पर्‍यो भनेर उचाल्यो पहिला अनी अहिले एकाएक भइमा थेचारिदियो। "ल ठीक छ, तिमी सोच-बिचार गर अनी भोली बेलुका मलाई कल गर। म तिम्रो फोनको प्रतिक्षामा हुने छु।"- उस्ले कती सजिलै भन्यो। हुन त निर्णय मेरै हातमा थियो तर म कस्तो अन्योलमा परे कि न कसैलाई यि कुराहरु भन्न नै सक्छु न त कसैसँग राय सल्लाह माग्न नै।  दाई पनि आइ सक्नुभएछ। हामी घर फर्केउँ। बाटोमा नै दाईले सोध्नु भएको थियो - " के भयो भनेर" । "उस्को तर्फबाट चाँही "OK " भनेको छ, मेरो बिचार सोधेको छ । घर सल्लाह गरी भोली बेलुका फोन गर्छु भनेकी छु।" - मुखबाट निक्ली हाल्यो।                 दाईले पुलुक्क मलाई हेर्नु भयो। उहाँका आँखाहरुमा खुशीका आशु छच्ल्कीरहेका थिए। त्यस पछी दाई र मेरो बिच केही कुरा नै भएन। म पनि आफ्नै धुनमा मस्त भए। एकाएक मेरो आँखा गाडीको ऐनामा च्याप्पिरहेको पहेंलो पातमा पुग्यो। त्यही पहेंलो पात जस्तै भएको छ मेरो जिन्दगी। न त त्यो त्यस्कै रुखमा फेरी गई अरु धेरै पातैपातहरुसँग आफ्ना मनका कुरा सुसेल्न नै सक्छ न त स्वत्रन्त्र रुपले जमिनमा नै खस्न सक्छ। समय र परिस्थितीले हरक्षण त्यही पहेंलो पात जस्तै भएकी छु सधैं बुवा आमा अनी दाईसँग नै च्यापिरहने। मेरो जीवनका हर संघर्षलाई टेक्न अलिकती साहास अनी साथ चहिएको छ, च्यापिएको ठाउँबाट झिकिदिने त्यो पहेंलो पातलाई जस्तै।                 कती खेर घर पनि आइ सकेछ थाहा नै पाइन। घर पुगे पछी दाईले नै बुवा आमालाई बेलिबिस्तार लगाउनु भयो। एक प्रकार नौलो अनुभब भईरहेको थियो तर मेरो मनमा पैदा भईरहेको दोधारे कुराहरु मौरी भुनभुन गरे जस्तै गरी भुन्भुनाउन थालेका थियो। "यस्तो केटा पाउन रहेछ र पो अरुहरुले रिजेक्ट गरेका रहेछन हाम्री नानुलाई।" - खुशीका लहरहरु पोख्दै आमाले भन्नु भयो। बुवा पनि निकै खुशी देखिनु हुन्थियो। म केही पनि बोलिन।                 भोली बेलुका सबैजना बसेर फोन गरौला भन्दै सबै आ-आफ्नो काम तिर लग्यौ। म चाँही आफ्नै कोठा तिर लगे। मनमा अनेकौ कुराका तनाबहरु तछाड र मछाड गर्दै उर्लदै आइरहेका थिए। आखिर यो तनाब त मैले भोली सम्ममा मन्थन गर्नै नै पर्छ। एक मन त लाग्यो दाईलाई मात्र सबै कुरा भनु अनी उहाँले जे भन्नु हुन्छ त्यही गर्छु तर अर्को मनले भन्यो दाईले थाहा मात्र पाउनु भयो भने त "मेरो बहिनिलाई कुमारी नै राख्छु, त्यो सँग विवाह हुन दिन्न भनेर अड्डी कस्न थाल्नुहुन्छ ।" बरु दाईलाई भन्नु भन्दा नभनु नै निको ठाने। उम्केको मान्छे र मायाको सधैं याद आउछ रे। फरी दाईको कारणले यो मान्छे पनि उम्कियो भने…..। फेरी उस्ले नै "केबल तिमी र मेरो बिचको सम्झौता" भनेको छ। यो कस्तो सम्झौता हो? के त्यस सम्झौता मैले सिरोपर गर्नु सही हो त? सही र गलतको परिभाषा केलाई भन्ने मैले अहिले तर म नै बिबस छु यो सम्झौत स्विकार्न। उसो भए के मेरा परिवारले मेरा कारण भोग्नुपरेका अफ्ठ्यारहरु चाँही सही हुन त?                   म अहिले यस्तो भुमरीमा घुमी रहेकी छु कि अब मैले के गर्न उचित छ म आँफैलाई थाहा छैन। एकातिर मेरो जिन्दगीको सवाल छ भने अर्कोतिर मेरो परिवारले बर्शौ पछी पाएको अमुल्य खुशी छ। यस्तो खुशीको बेलामा मैले त्यही सम्झौताको कुरा उहाँहरुको अगाडि राखिदिए भने उहाँहरुको मन कती टुक्रा टुक्रा भएर कुडिन्छ होला। उहाँहरुकै खोकिला भित्र नै रहेर उहाँहरुलाई हरेक पलपल मेरै मात्र कुराले डसीरहन मिल्दिन्न जस्तो लाग्यो मलाई। मेरो मात्र नभएर दाईको पनि त सोच्नु पर्छ। निकै ढिलो भईसकेको छ उहाँको झन। यदी मैले त्यही सम्झौता बिरुध गएर गरेको सानो निर्णयले पनि उहाँको लक्ष्यमा अवरोध पुग्न सक्छ र मेरो परिवारको हरेक व्यत्तिलाई प्रत्क्ष्य वा अप्रत्क्ष रुपमा हानी-नोक्सनी पुराउन सक्छ। मैले अहिले यस्तो कष्टकर तर अबिष्मरणिय परिक्षा दिनु परिरहेको छ जुन परिक्षा मेरो जीवनको पहिलो साथै अन्तिम पनि हुन सक्छ। किन किन उस्लाई भेटेर आएपछी आफ्नो लागि उनै ऐना भ्एको महसुस गरिरहेकी छु मैले। म प्रती उस्को निस्वार्थपन अनी अबोधपनले नै म उ प्रती आकर्सित भ्एकी छु।  कत्तै यि चिजहरु पनि मेरै भाबिले नै डोराएर लेराएका हुन कि?                 हो, मान्छेले चाहे जे पनि गर्न सक्छ तर "के सही -के गलत" जो मान्छे त्यो पहिचान गर्न सक्छ भने बल्ल त्यो मान्छे नै  मान्छे हुन सक्छ। नत्र त पशु सरह नै भई हाल्यो नि। त्यस्तै उस्ले पनि आफ्नो गल्ती स्विकार गरी, आफ्नो हुने वाला पत्निलाई सबै कुरा भन्ने बिकल्प रोज्यो, त्यही नै उस्को इमन्दारिताको दर्पणछायाँ बनेको छ। त्यसैले उस्को इमन्दारिताको अगाडि यि सब चिजहरु मेरो भाबिले डोराएको भन्नु त भ्रम मात्र हुन सक्छ। कहिले काहिँ पुर्णिमाको जुन पनि त फिक्का हुन्छ नि जुनेली रातमा। यस्को अर्थ यो होइन कि पुर्णिमाको जुन नै न राम्रो छ। यत्रो ३०-३० बर्षको उमेर सम्म यही घरमा नै रहदै, बुवा आमाको बोझ बन्दै, दुनियाँको मुख्य समाचार हुनु भन्दा त उस्को सम्झौता स्विकार्नु नै ठीक हो कि जस्तो पनि लाग्यो। फेरी हिजो मात्र चिनेको एक प्रकारले भन्नु पर्दा अपरिचित मान्छेको मन र आत्मले मुल्यङ्कन गर्न खोजेको मेरो मन, कतै मेरो व्यतिगत समर्पणले गर्दा भबिष्यमा केही त हुने होइन भन्ने डर पनि लागेको छ। यो मोडमा आइपुग्दा हिम्मत गरेर मैले निस्कर्श निकलेकी छु कि भबिश्यमा जे आइपर्छ त्यही म आँफै बेहोर्छु। अहिले मेरो परिवारको खुशीमा आँच आउने काम म गर्दिन र उस्को सम्झौतासँग पनि म भाग्दिन। म उस्को यो सम्झौता आँखा चिम्लेर स्विकार गर्छु। त्यसैले म भन्छु - उस्को सम्झौताले जित्यो,मेरो परिवारको खुशीले जित्यो - मैले हरें अब म निर्धक्क भन्न सक्छु म विवाह गर्छु उसँग नै !मेरो निर्णयले मैले आफुलाई बचाउन खोजेकी हुँ कि मेरो परिवारलाई या उस्को सम्झौतालाई त्यो त भगवान नै जानुन तर मेरो अन्तरमनले यो निर्णयलाई निकै सपोर्ट गरेको छ।   **अस्तु** Last edited: 07-Apr-10 02:29 PM

Sufal · Apr 7, 2010 2:28 PM

Thank you so much all of you!

Sufal · Apr 8, 2010 7:39 AM

सार्है मिठो, धेरै कुराहरु अनुत्तरित (खै लेख्दा कसरी लेख्छ थाहा भएन, unanswered भन्न खोज्या मैले) नै रहे, तर एकदम सजिव चित्रण। मनको अन्तरद्वन्द र उकुस्मुकुस सार्है राम्रो लाग्यो। अर्को एउटा उत्कृष्ट कृति, अरु पनि छिट्टै आउने छ भन्ने आशामा। धन्यवाद।

perfectionist · Apr 8, 2010 8:22 AM

hank you so much, Perfectionist!

Sufal · Apr 9, 2010 8:13 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all