जसलाई नारी दिवसको मतलबै भएन By Salokya, on March 9th, 2010 हिजो आठ मार्चका दिन अन्तर्राष्ट्रिय नारी दिवस विश्वका विभिन्न देशमा मनाइयो। सार्वजनिक विदै थियो हिजो। महिलालाई मात्र हैन, पुरुषलाई समेत। विभिन्न भाषणबाजीहरु भए देशमा। मलाई भने यी नारीहरुको सम्झनाले झल्झली सताइरह्यो, जसलाई यस्ता दिवसको मतलबै छैन। हेर्नुस् त केही छैन जीवनमा आशा। आँखामा कुनै लोभ छैन। आँसु पनि उनको सलल बग्न सकेको छैन। केही पाउँला भन्ने छैन, केही गरौँला भन्ने पनि छैन। त्यसैले भावशून्य छन् यिनीहरुको मुहार। एक जना साथीको जन्मदिनको अवसरमा म यहाँ पुगेको थिएँ। यो रविभवन नजिकैको गल्लीभित्र रहेको एउटा घरको अलग संसार हो। यहाँ छन् झण्डै २० जना वृद्ध ‘आमा’ हरु। पाँच जना त यहीँबाट कहिल्यै नफर्किने गरी यो संसारै त्यागेर गइसके। कलंकी सुनारगाउँकी शान्ति मगरका देवरका छोरा अमेरिकामा छन्। तर १५ वर्षअघि लोग्नेको मृत्यु भएपछि उनलाई पानी खुवाउनेसम्म पनि कोही भएन। मधुमेह र हाइ ब्लड प्रेसरको रोगले देब्रे हात काटिएपछि हलचल गर्न नसक्ने अवस्थामा यिनी त्यहाँ पुर्याइएकी रहिछिन्। कोही सडकबाट मर्यो भन्ठानेर फ्याँकिएकाहरु, कोही सन्तानले हेला गरेर मिल्काइएकाहरु…अहो, सबको आ-आफ्नै कथा छ। आफ्नै सन्तान र आफन्तले समेत वास्ता गर्ने जमाना नरहेको बेला यी दिदी दिलशोभा श्रेष्ठले यी आमाहरुलाई आफ्नै पहलमा हेरविचार गरिरहेकी छिन्। उनको काम हेर्दा लाग्छ- संसारमा राम्रो मान्छे सकिएका छैनन्। यस्तो स्वार्थी संसारमा निस्वार्थ भावले काम गर्ने उनी साँच्चिकै महान् छिन्। ठाउँ नै नभइसक्यो उनको आफ्नै घरमा यी वृद्धाहरुलाई राख्न। तर पनि उनी अरुको दुःख हेर्न सक्दिनन् र ल्याउँछिन्। भन्छिन्, वृद्धाश्रममा राख्न सिफारिश, नागरिकता के के हो के के प्रक्रिया पुर्याउनु पर्छ। त्यो झण्झट गर्नुभन्दा त आफै कहाँ ल्याउनु सजिलो। जब एक हात उठ्छन् सहयोगका लागि, तब त्यसैको प्रभावले अरु हातहरु पनि उठ्छन् त्यसलाई साथ दिन। किनभने संसारमा राम्रा मान्छेहरु पक्कै कम छन्, तर जति छन्, एक अर्कालाई सहयोग गर्न तत्पर हुन्छन्। त्यसो त दिलशोभा आफ्नै कथा पनि कम दुःखलाग्दो छैन। छोरा नपाएको निहुँमा छाडेर गएका उनका श्रीमान कहिल्यै फर्किएनन्। अहिले छोरी पनि आमाको काम सघाउने भएकी छिन्। अमेरिका पुगेकी उनकी छोरीले आमाका आमाहरुलाई सहयोग गर्न महिनै पिच्छे केही रकम पठाउने गर्छिन्। वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी संस्था स्थापना गरेर उनले आफ्नै घरमा वृद्धाश्रम चलाइरहेकी छिन्। २०६३ सालमा समाज कल्याण मन्त्रालयले उनलाई उनको कामका लागि सम्मान गर्यो। केही रकम पनि उपलब्ध गरायो। नेपाल टेलिभिजनको ‘संघर्ष’ कार्यक्रममा उनको अन्तर्वार्ता प्रसारण भएपछि मिडियामा उनको चर्चा हुन थालेको हो। चर्चाका कारण सहयोग जुट्न सघाउ पनि पुगेको छ। अहिले विवाहको वार्षिकोत्सव, जन्मदिन आदि अवसर पारेर यी वृद्धा आमाहरुका लागि खाना खुवाउन आउने, उपहार ल्याउनेहरुको सूचि बढ्दैछ। सलाम् छ यस्ता कल्याणकारी कामका लागि। सलाम छ दिलशोभालाई। जय होस् नारी शक्तिको। सबको मंगल होस्। सबको कल्याण होस्।
mah_nepali · Mar 9, 2010 7:07 PM · 10,816 views
Very touched. Thanks for posting this.
lovenepalalways · Mar 10, 2010 4:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion