यूके भिसा बन्दको पीडा/'कागजात आओस्, जाँदैनौं'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौ, फाल्गुन २२ - उनीहरूलाई लागेको थियो, बेलायत पढ्न गएपछि सारा समस्या समाधान हुनेछ । ऋण गरेर गए पनि पढाइसँगै गरिने कामले जीवनस्तर पनि उक्सिने छ । तर बेलायत सरकारको एक महिनाअघिको निर्णयले उनीहरूको सपनामात्रै चकनाचुर भएको छैन, शैक्षिक तथा व्यक्तिगत सक्कल कागजपत्र फिर्ता नआउँदा तनाव पनि बेहोर्नुपरेको छ । 'एक महिनादेखि के गर्ने नगर्ने सोच्न सकिरहेको छैन,' स्नातक अध्ययनका लागि वल्थम फरेस्ट कलेजमा आवेदन गरेका झापाका निजर भट्टराईले भने, 'न पैसा फिर्ता आएको छ न ओरिजिनल कागजात । कागजात नहुँदा अन्त एप्लाई गर्न पनि पाइएन ।' यस्तो समस्या खेप्ने उनीमात्रै होइनन् । गुल्मीका हरि शर्मा, बुटवलका श्रीराम बस्नेत र धुम्बाराहीका कुमार काफ्ले पनि छन् । यीमध्ये श्रीराम र कुमार डिपेन्डेन्टमा बेलायत जाने तयारीमा थिए । बेलायत सरकारले फेब्रुअरी १ देखि नेपाल, दक्षिण भारत र बंगलादेशमा अनिश्चितकालका लागि विद्यार्थी भिसा आवेदन बन्द गरेपछि उनीहरू अहिले पठाएको ड्राफ्ट र कागजातको प्रतीक्षामा छन् । तर काजगात र पैसा फिर्ता आएको छैन । 'सय दिनभन्दा बढी भइसक्यो कागजात फिर्ता आएन,' सिटी अफ लन्डन कलेजमा चार्टर एकाउन्टेन्ट (एसीसीए) अध्ययनका लागि भिसा लेटर पाएका हरिले भने, 'म त्यहाँ पढ्नकै लागि जान लागेको हो, पीआर लिउँला र बसुँला भन्ने छैन । तर कागजात फिर्ता नहुँदा यहाँ पनि भर्ना गर्न नपाइएला भन्ने चिन्ता बढेको छ ।' तीन हजार पाउन्ड बेलायत कलेजमा पठाएका उनले जनवरी २५ मा भिसा लेटर पाएका थिए र फेबु्रअरी ८ का लागि भिसा आवेदन समय । बेलायत सरकारको नयाँ नियमले उनी आवेदन गर्नबाट वञ्चित भए । उनीहरू पैसा र सक्कल कागजात फिर्ताका लागि कन्सल्टेन्सी, नेपालस्थित बेलायती दूतावास र बि्रटिस काउन्सिल धाइरहेका छन् । 'कलेज सस्पेन्ड भएपछि हाम्रो काजजात फिर्ता दिए हुन्थ्यो, त्यसमा कन्सल्टेन्सीले सघाउनुपर्ने उनीहरू भागेर हिँडेका छन्,' बेलायत सरकारको कारबाहीमा परेको लिट्स प्रोफेसनल कलेजमा पढ्न जानेका साथ डिपेन्डेन्टका रूपमा जान लागेका धुम्बाराहीका कुमार काफ्लेले सुनाए, 'यहीं बसेर पनि पढाइ निरन्तर गर्नु छ, डकुमेन्ट तत्काल फिर्ता होस् ।' यसरी पैसा र कागजात फिर्ताको प्रतीक्षामा बसेका भिसा लेटर आएका २ हजार र त्यसका लागि आवेदन गरेका करिब ३ हजार विद्यार्थी छन् । उनीहरूले बेलायतको कलेजमा ३ देखि ४ हजार पाउन्डको ड्राफ्ट पठाएका छन् । नेपाली विद्यार्थीले आवेदन गरेका अधिकांश कलेज कारबाहीमा परेका छन् । उनीहरूको पैसा र कागजात फिर्ता अनिश्चित भएको छ । 'यहाँका केही कन्सल्टेन्सीले ड्राफ्ट स्क्यान पठाएर पैसा आफैंले चलाएका रहेछन्,' यूके विद्यार्थी पीडित समितिका सचिवसमेत रहेका भट्टराईले कान्तिपुरसित भने, 'तर अहिले उनीहरू समस्याप्रति चासो दिइरहेका छैनन् । कागजात ल्याउ पैसा फिर्ता दिन्छु भन्छन् । हामीले कहाँबाट कागजात ल्याउनु ?' उनीहरूले पैसा र कागजात फिर्ताका लागि कन्सल्टेन्सी, सरकार र बेलायती दूतावासलाई दबाब दिने बताए । 'हामी मानसिक समस्यामा छौं,' समितिले सोमबारदेखि दबाबमूलक आन्दोलन तयारी गरिरहेको जनाउँदै सदस्य शर्माले भने, 'कन्सल्टेन्सीले यसमा सघाउनुपर्छ ।' अब उनीहरूले विदेशिने सोच त्यागेका छन् । 'कागजात फिर्ता आए यहीँ पढ्ने थियौं,' उनीहरूले भने । कन्सल्टेन्सी एसोसिएसन (इक्यान) का महासचिव राजेन्द्र बरालले विद्यार्थी समस्याप्रति आफूहरू गम्भीर रहेको बताए । 'केही कागजात र ड्राफ्ट फिर्ता आइरहेको छ,' उनले भने, 'हामीले विद्यार्थीका लागि लमीको काम गरेका हौं, फाइल उनीहरूले बुझाएका हुन् । अब हामीले देऊ भन्ने कानुनी आधार छैन । तर फिर्ताका लागि पहल गरिरहेका छौं ।'

neal h · Mar 6, 2010 11:16 PM · 2,504 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all