स्वयम्भू यातायातको नाम परिवर्तन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौ, फाल्गुन १८ -  स्वयम्भू यातायातले समितिअन्तर्गतका गाडीको नाम र रङ परिवर्तन गरेको छ । स्वयम्भूका गाडी दुर्घटना बढेपछि आफ्ना सवारी सर्वसाधारणबाट असुरक्षित भएको भन्दै समितिले यस्तो गरेको हो । समितिले नाम परिवर्तन गरेर स्वयम्भूको साटो बिन्दबासिनी, बूढानीलकण्ठ, ज्वाला, चक्रपथ परिक्रमा, उग्रचण्डी, पशुपतिनाथ, सिद्धबाबा राखेको छ । नीलो रङ प्रयोग गरेर टाटेपाटे बनाएको छ । राजधानीका विभिन्न ग्यारेजमा नाम परिवर्तनको काम भइरहेको समितिका एक अधिकारीले बताए । व्यवासायी ऋषिकेश घिमिरेका अनुसार प्रशासनले सावरी सुरक्षा दिन नसक्ने बताएपछि बाध्य भएर नाम परिवर्तन गरेको बताए । 'सीडीओ कार्यालयमा भएको सर्वपक्षीय छलफलमा प्रशासनसँग सुरक्षा माग गरेका थियौं,' उनले कान्तिपुसित भने, 'त्यो उपलब्ध नभएपछि बाध्य भएर रङ र नाम परिवर्तन गरेका हौं ।' चक्रपथमा स्वयम्भू यातायातका २ सय ७० बस सञ्चालनमा छन् । तीमध्ये ५० प्रतिशतको रङ र नाम परिवर्तन भइसकेको उनले बताए । स्वयम्भू यातायातले छ महिनामा झन्डै दर्जन व्यक्तिको ज्यान जाने गरी दुर्घटना गराएको थियो । दुर्घटनापछि यातायातप्रति सर्वसाधारण आक्रोशित छन् । घटनाप्रति व्यवसायीले दुःख व्यक्त गरे पनि चालकलाई कारबाहीको पहल गरेको छैन । सवारीको रङ र नाम परिवर्तन गर्न यातायात व्यवस्था विभागको स्वीकृति लिनुपर्छ । बसको रङ परिवर्तन गरे पनि ब्लुबुकमा भने पुरानै रङ उल्लेख छ । बसको रङ र नाम बदल्न समितिले केही दिनअघि विभागमा निवदेन दिएको थियो । विभागले स्वीकृति दिएको थिएन । विभागको प्राविधिक शाखाका दीपक देवकोटाले परिवर्तनबारे जानकारी नभएको बताए । 'तत्काल हामीलाई यो कुरा थाहा हुँदैन,' उनले भने, 'हरेक ६ महिनामा गाडीको स्थिति मूल्यांकन हुन्छ, त्यतिबेला मात्रै तिनको स्वरूप थाहा हुन्छ ।' अहिले सडकमा उभिएर हेरेको भरमा केही भन्न नसकिने बताए ।सवारी ऐन २०४९ अनुसार आफूखुसी रङ वा स्वरूप परिवर्तन गरे १ हजार देखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ तर व्यवसायीले चिनजानका ग्यारेजमा रङ फेर्ने काम गरिरहेका छन् । १५ दिनअघि चाबहिलमा स्वयम्भू यातायातको ठक्करबाट दुईजनाको ज्यान गएपछि आक्रोशित स्थानीय भीडले समितिका चारवटा बसमा आगजनी गरेको थियो । त्यतिबेला समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय छलफलमा सार्वजनिक रूपमा गाडीको यान्त्रिक स्थिति परीक्षण गराउने, गाडीका चालकको चालक अनुमतिपत्र नक्कली या सक्कली परीक्षण गर्ने, चालकलाई ट्राफिक ज्ञान दिनेलगायत सहमति भएको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक शरदचन्द्र पौडेलले व्यवसायीले सहमति पालना नगरेको बताए । उनका अनुसार विभागले गर्ने दैनिक ३ सय गाडी परीक्षणमा स्वयम्भूका बसको यान्त्रिक परीक्षण भएका छैन । तत्काल जाँच गर्न यातायात कार्यालयलाई विभागले निर्देशन दिएको उनले जनाए । उनले भने, 'तर स्वयम्भूका गाडी परीक्षणका लागि पुगेका छैनन् ।' रङ र नाम परिवर्तन गरे पनि समितिले चालक भने परिवर्तन गरेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी विनोद सिंहले व्यवसायीले समितिका चालक तालिमका लागि नआएको बताए । व्यवसायी घिमिरेले भने ट्राफिक कार्यालयमा चालक प्रशिक्षणका लागि निवेदन पठाएको महाशाखाले खबर गर्नेबित्तिकै चालक पठाउने बताए ।

neal h · Mar 1, 2010 9:52 PM · 2,258 views

1 Reply

जुंगाका रेखी पनि बस्न पाएको छैन सवारि चालकको license लिएर चालक बनेका छन उमेर बडाएर सवारि चालन अनुमती पत्र लिनेको सन्ख्या बढे पछी दुर्घटना नबढे के चाँही बडला त ?

syanjali · Mar 2, 2010 6:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all