बेलायतमा विद्यार्थीमाथि श्रम शोषण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लन्डन, फाल्गुन १२ - लन्डन कलेज अफ कमर्समा अध्ययनरत सरिना गाहले यूके आएको तीन महिनापछि बल्लतल्ल काम भेट्टाइन् एउटा घरमा पाकिस्तानी केटाकेटीको रेखदेख गर्ने । तर 'फुल टाइम' काम गरेर उनले पाउने मासिक तलब छ जम्माजम्मी एक सय पाउन्ड । 'खानबस्न दिएर बस भाडा एक सय पाउन्ड दिन्छन्, काममा चाहिँ दैनिक १२ घन्टा जोतिनुपर्छ,' गाह पीडा पोख्छिन्, 'त्यही काम पनि नगर्ने हो भने यहाँ बाँच्नै गार्‍हो छ, नेपालबाट मगाउने अवस्था नै छैन ।' भारतमा १६ वर्ष नोकरी गरी बुबाले कमाएको सबै पैसा पढ्ने नाममा यूके आएर सकिएको पीडा उनले सुनाइन् । न्यु लन्डन कलेजका दुई विद्यार्थीका समस्या पनि उस्तै छ । उनीहरू सेन्ट्रल लन्डनस्थित प्याकममा पाकिस्तानीद्वारा सञ्चालित ब्युटिपार्लरमा दिनभर काम गर्छन् । तर आम्दानी शून्य भएर कोठा भाडा तिर्ने बेला भौंतारिनुपर्ने अवस्था छ उनीहरूको । कलेज जाने दिन सोमबार र मंगलबारबाहेक प्रत्येक दिन बिहान दसदेखि साँझ ८ बजेसम्म पार्लरमा काम गरेबापत दस पाउन्ड कमाउँछन् उनीहरू । 'सुरुमा घन्टाको ३ पाउन्डका दरले दिन्छु भनेर काम थालियो, अहिले दिनको दस पाउन्डमा टारेका छन् । बस भाडा पनि नपुग्ने काम निल्नु न ओकल्नु भएको छ,' खनाल थरकी एक विद्यार्थीले गुनासो गरिन् । ह्यारोको एउटा कलेजमा अध्ययनरत प्रकाश बोखिमले नेपाली रेस्टुरेन्टमा काम गर्दा साताको २० पाउन्ड पनि नबचेपछि कामै छोडिदिए । 'जानआउन समय बर्बाद त छँदैछ, मरुन्जेल काम गरेर बस भाडा पनि अरूसँग सापटी माग्नुपरपछि छोडिदिएँ,' बोखिम भन्छन्, 'कामको ठेगान पनि नहुने, अनि रेस्टुरेन्टमा मान्छे आएनन् भने साहूले आज फर्किए हुन्छ भन्दा दिक्क लागेर काम लात मारिदिएँ ।' छेत्री समाज यूके उपाध्यक्ष कृष्ण अधिकारीसँग पनि विद्यार्थीमाथि श्रम शोषणको रोचक अनुभव छ । 'मेरो आफन्त पर्ने भाइले जेनतेन नेपाली रेस्टुरेन्टमा काम पाएछ, सुरुको दुई हप्ता तालिम भनेर एकपैसा दिएनछन्, भाँडा माझ्न के को तालिम ? पछि कराउँदा कराउँदा साताभर फुलटाइम काम गरेको ५० पाउन्डमात्र दिएपछि विरक्तिएर कामै त्याग्यो,' अधिकारीले सुनाए ।  नयाँ विद्यार्थीमाथि भएका श्रम शोषणका यी त सामान्य उदाहरण मात्र हुन् । एकैचोटि विद्यार्थीको ओइरो र बेलायतमा रोजगार संकटले गर्दा अधिकांश विद्यार्थी कामबाट विमुख छन् । काम पाउने 'भाग्यमानी' पनि ज्यादै न्यून ज्याला लिन बाध्य छन् । बेलायतमा नेसनल मिनिमम वेजेज् एक्ट अनुसार रोजगारदाताले घन्टाको न्यूनतम ज्याला ५ पाउन्ड ८० पेन्स दिनुपर्छ तर आर्थिक मन्दी र विद्यार्थीमा अनुभवको कमी बहाना बनाउँदै सार्‍है न्यून ज्यालामा काम लगाइएको भेटिएको छ । एक नेपाली रेस्टुरेन्ट सञ्चालक भन्छन्, 'हाम्रो पनि अहिले त न व्यापार छ, न काम । नेपालीका नाताले केही राहत हुन्छ भनेर काम लगाइदियो, उल्टो पैसा नदिएको अपजस आउँछ ।' बेलायतमा हाल विद्यार्थीले सातामा बीस घन्टा काम गर्न पाउने कानुनी प्रावधान छ । तर पर्याप्त कमाइ नहुँदा उनीहरू बाँच्नकै लागि भए पनि 'फुल टाइम' काम गर्न बाध्य छन् । सोलिसिटर राजु थापा आफूमाथि श्रम शोषण भएमा त्यसउपर इम्प्लोयमेन्ट टि्रब्युनल, रेभिन्यु एन्ड कस्टम वा डिपार्टमेन्ट अफ वर्क एन्ड पेन्सन, पे एन्ड वर्क राइट्स हेल्पलाइनमा उजुरी गर्न सकिने बताउँछन् । 'तर समस्या के छ भने फुल टाइम काम गर्ने विद्यार्थीलाई कानुनी उपचारको विकल्प नै रहन्न । किनकि उनीहरू आफैं पूरा समय काम गरेर कानुन उल्लंघन गरिरहेका हुन्छन्,' थापाले भने । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत डिसेम्बरसम्ममा ७ दशमलव ८ प्रतिशत रहेको बेरोजगार संख्या अहिले पनि स्थिर छ । जनवरीमा मात्र बेरोजगार भत्ता दाबी गर्नेहरू २३ हजार ५ सय बढेर अहिले कुल १ दशमलव ६४ मिलियन पुगेका छन् । जुन सन् १९९७ अपि्रलयताकै सबैभन्दा उच्च दर हो ।

Neal H · Feb 27, 2010 11:19 PM · 155 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all