Very nice article by Rabindra Mishra , should read it once.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Was touched by this article. यस्ता मान्छे पनि छन् शुक्रवार, 26 फेब्रुअरी 2010 12:07 रवीन्द्र मिश्र 10757 1 2 3 4 5 Share this Twitter Digg Del.icio.us StumbleUpon Facebook Print E-mail हेर्दा उनी झुत्रेझाम्रे देखिन्छन्। धनी पटक्कै छैनन्। बाँच्न पुग्ने निम्नमध्यम वर्गीय पैत्रिक सम्पत्ति भने उनीसँग छ। राम्रो निजी विद्यालयमा या विदेशको प्रसिद्ध विश्वविद्यालयमा पढेका पनि होइनन्। नेपालकै एउटा सरकारी कलेजबाट स्नातकसम्म गरेका छन्। तर उनले समाज रूपान्तरणका लागि नेपालको मात्र होइन विश्वकै अधिकांश मानिसले गर्ने त परै छोडिदिउँ सोच्नसम्म पनि नसक्ने काम गरेका छन्। कतिपयलाई अतिशयोक्तिपूर्ण लाग्नसक्छ तर आउँदा दिनमा विचलित भएनन्, बिग्रिएनन्, पारदर्शी रहिरहे र यसैगरी भाग्यको आशीर्वाद रहिरह्यो भने उनी भविष्यमा नाबेल पुरस्कार हासिल गर्ने प्रचुर संभावना बोकेका नेपाली हुन्। उनको समाज रूपान्तरणको अभियानले बंगलादेशका नोबेल पुस्कार विजेता मोहमद युनुसको ग्रामीण बैंकको जत्तिकै अनुकरणीय संभावना बोकेको छ। ती असाधारण, उदार र प्रेरणादायी व्यक्तित्व हुन् काठमाण्डौं जोरपाटीका ३६ वर्षीय उत्तम सञ्जेल। खासगरी आर्थिकरूपले विपन्न स्थानीय मजदुरका छोराछोरीलाई सस्तो, सुलभ र स्तरीय शिक्षा दिन उनले २०५८ सालमा जोरपाटीमा स्थापना गरेको समता निकेतन विद्यालयले हाल देशका १८ हजार बालबालिकालाई एकदेखि ११ कक्षासम्म महिनाको एक सय रूपैयाँ शुल्कमा पढाइरहेको छ। सुरूदेखि अन्त्यसम्म एक पैसा पनि शुल्क बृद्धि हुँदैन र एक पल्ट १५१ रूपैयाँ भर्ना शुल्क लिइन्छ ­ त्यत्ति हो। बाँसका सुन्दर कप्टेराबाट निर्माण गरिने, झन्डै भूकम्प प्रतिरोधक भने पनि हुने, वातावरणअनुकूल ती विद्यालयको संख्या अहिले ११ वटा छन् जुन देशका विभिन्न जिल्लामा छरिएका छन्। १५ देखि २० वर्षसम्मका लागि भाडामा लिइएका जग्गामा दुईदेखि तीनहजारसम्म विद्यार्थी पढाउनसक्ने एउटा समता विद्यालय निर्माण गर्न ४० देखि ६० लाख रुपैयाँसम्म लाग्ने बताइएको छ। हाल त्यस्ता विद्यालय निर्माण गरिदिने दाताहरू लाम लागेर पर्खिरहेका छन्। तर त्यत्रो सदभावलाई कसरी धान्ने भनर उत्तम सञ्जेल अाित्तएका छैनन्, 'कुल' छन्। उनलाई ढाडस दिँदै बढ्दोरूपमा आध्यात्मिक बन्दै गएका पत्रकार विजयकुमार पाण्डे भन्छन्, 'हेर्नोस्, नियति र नियत ठीक भएपछि सबै ठीक हुन्छ। त्यसैले आत्तिनु पर्दैन।" उत्तम सञ्जेललाई सहयोग गर्न लाम लागेर बसेका मध्येमा हालै पालो आएको थियो अर्का एकजना असाधारण, उदार र प्रेरणादायी नेपाली - डाक्टर उपेन्द्र महतोको। गैरआवासीय नेपाली संघका संस्थापक तथा धेरैजसो समय रुसमा बिताउने बहुराष्ट्रिय उद्योगपति महतो धन र मन अनि शब्द र कर्मका अदभूत संगम हुन्। उनले आफू जन्मिएको सिराहाको कर्जनाह गाउँमा सात करोड रुपैयाँको लागतमा भव्य अस्पताल निर्माण गरिदिन लागेका छन्, आफ्नै गाउँको नजिक डेढ करोडको लागतमा विद्यालय निर्माण गरिदिएका छन्, पशुपतिमा आफैंँले निर्माण गरिदिएको किरियापुत्री भवनमा आर्को तीन करोड थपेर त्यसलाई विस्तार गर्दैछन् र अहिले तीन करोड ६० लाख खर्च गरेर तराई क्षेत्रमा समता निकेतनका नौवटा विद्यालय निर्माण गरिदिने अभियानमा जुटेका छन्। ती विद्यालय निर्माण भएपछि नेपालका निम्न आय परिवारका कम्तीमा ४० हजार बालबालिकाले महिनाको सय रूपैयाँमा सम्पूर्ण विद्यालय शिक्षा हासिल गर्न सक्नेछन्। उपेन्द्र महतो दशकौंँदेखि देश र जनताका लागि दिलोज्यान दिएर संघर्ष गरिरहेका, देश र जनताकै लागि मन्त्री र प्रधानमन्त्री बनिदिएका हाम्रा अधिकांश नेताभन्दा बढी देश र जनताप्रेमी नेपाली भएकाले यो लेखकलाई उनको अगाडि 'गैरआवासीय" शब्द प्रयोग गर्न पटक्कै मन लाग्दैन। उनी नेपाली र केबल नेपाली हुन्, जसको यस देशमा हाम्रा अधिकांश राजनीतिज्ञको भन्दा बढी योगदान छभन्दा गल्ती हुँदैन। आफूले बनाइदिने प्रतिबद्धता व्यक्त गरेका नौवटा मध्यका छ विद्यालयको शिलान्यास गर्ने क्रममा उनले भने, 'म सिराहाको मान्छे, सबै विद्यालय सिराहामै बनाइदिन सक्थेँ तर यो देश हाम्रो हो। त्यसैले हामीले आफ्नै ठाउँका बारेमात्र सोच्नु हुँदैन, सिँगो देशकैबारे सोच्नुपर्छ।" हिन्दी भाषामा पोख्त भएपनि सप्तरी, सिराहा, सर्लाही, रौतहट, मकवानपुर र रूपन्देहीमा भएका शिलान्यास समारोहमा महतोले कहीँ पनि हिन्दीमा भाषण गरेनन् र सबै ठाउँमा 'तराई, हिमाल, पहाड सबै हाम्रो हो, हामी नेपाली हौँ' भने। हरेक सफल पुरुषका पछाडि महिलाको हात हुन्छ भन्ने उक्तिलाई पुष्टि गरेझैँ उनकी पत्नी डाक्टर समता महतो जहाँ गए पनि 'यसो गर्न कति लाग्छ? उसो गर्न कति लाग्छ?' भनेर सहयोग गर्न तत्परता देखाइहाल्थिन् र कतिपय ठाउँमा त सहयोगको प्रतिबद्धता जनाइ हाल्थिन्। त्यो देखेर मैले उनलाई भने, 'तपाईंको छाती त उपेन्द्रजीको भन्दा विशाल छ, जस्तो छ नि?' उनले भनिन्, 'ल... म त उहाँलाई कति भन्छु, स्कुल बनाउनुपर्छ, अस्पताल बनाउनुपर्छ भनेर।' उनीहरूले तीनदिन लामो शिलान्यास यात्रामा आफ्नो चार वर्षको छोरालाई पनि सहभागी गराएका थिए, जसकाबारे उपेन्द्र महतो भन्थे, 'यसलाई पनि त अहिलेदेखि राम्रो काम गर्न सिकाउनु पर्‍यो नि।' भन्नेले भन्लान्, उपेन्द्र महतोजस्तो पैसा भइदिएको भए हामी पनि गथ्यौँ भनेर। त्यसो हो भने उनीभन्दा कम धन भएका उद्योगपतिले धनकै अनुपातमा उनले गरेभन्दा कम काम गरे भइहाल्यो। उत्तम सञ्जेलजस्ता मानिस करोडौँंमा एकजना मात्र जन्मिन्छन्। समाज रूपान्तरणको काम सामान्यतया आर्थिकरूपमा विपन्नहरूबाट संभव हुँदैन। तर धनीहरू त सबै समाजमा धेरै हुन्छन्। नेपालकै परिप्रेक्ष हेर्दा पनि महतोले समता निकेतनका नौवटा विद्यालय निर्माण गरिदिएका छन् भने एउटा विद्यालय बनाइदिनसक्ने व्यापारी नेपालमा हजारौँ छन्। तर ती अधिकांशले केही गर्दैनन्, बरू दिनदिनै मञ्चमा उभिएर केही गरेन भनेर सरकारलाई गाली गर्छन्। आफ्नै टोल बनाउन नजानेे, आफ्नै घरअगाडिको बाटो बनाउन नजाने, एउटा विद्यालय निर्माण गरिदिन नसक्ने धनाढ्यले देश बनाउने भाषण छाँट्नु बेकार हो। जे होस्, यस देशमा उत्तम सञ्जेल र उपेन्द्र महतोजस्ता नागरिक पनि छन् र यो देशको शक्ति, भविष्य, गर्व र प्रेरणा तिनै हुन्। तर संसारभर नै स्थापित त्रुटि र विडम्बनापूर्ण सामाजिक सोचको परिणाम हो सञ्जेल र महतोजस्ता नागरिक अझै पनि, र कहीँ पनि, अनुकरणीय आर्दश मानिन सकेका छैनन्। सञ्जेलको प्रशंसा गरेपनि उनको पदचिन्हमा हिँड्न संभवतः कोही चाहँदैन। महतोको व्यापारिक पदचिन्हमा हिँड्न त धेरै जना चाहलान् तर उनको कल्याणकारी पदचिन्हमा हिँड्न चाहने भेट्टाउन गाह्रो हुन्छ। यस मानसिकतामा परिवर्तन ल्याउने चेष्टा नगरेसम्म समाजमा सधैं काम गर्नेभन्दा कुरा गर्नेहरू ठूला ठानिने छन्। समाजमा जो वास्तविक आदर्श र आर्कषण हुनुपर्ने हो तिनलाई 'हिरो' बनाउन नसक्नु घातक विडम्बना हो। यसले गर्दा सन्सारभर हामीले हाम्रा सन्तानलाई आत्मकेन्द्रित सफलतालाई मात्र पाइला पछ्याउन योग्य उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेका छौं। तर आत्मकेन्द्रित सफलताले व्यक्तिलाई समृद्ध बनाए पनि सम्पूर्ण समाज, देश र विश्वलाई समृद्ध र न्यायपूर्ण बनाउन सक्तैन। त्यसले त धनी र गरिबबीचको असमानतामात्र बढाउँछ। गत आइतबारदेखि बुधबारसम्म भएको समता शिलान्यास यात्रामा सञ्जेल र महतो जोडीका साथमा व्यक्तिगत सफलताको केन्द्रमा सधैं समाजलाई राख्ने समता स्कुलका 'पिता' हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) पनि थिए, जसले यात्राभर सबैलाई आँसु आउन्जेल हँसाइरहे। सोही यात्राका क्रममा मदनकृष्ण श्रेष्ठको सफल कवि व्यक्तित्व पनि उजागर भयो। महको सहयोगबाट धेरै सामाजिक काम भएका छन्। केही दिनअगाडि काठमाडौंको कपनस्थित ग्राम शिक्षा मन्दिर विद्यालयका लागि उनीहरूले एकैदिन ५४ लाख रूपैयाँभन्दा बढी संकलन गर्न सहयोग गरेका थिए जसको समाचार कहीँ आएन। सञ्चार माध्यमले पत्रकारिताको केन्द्रमा सकारात्मक समाचारलाई स्थान नदिएसम्म पत्रकारिताको 'सार्वजनिक हित'को धर्म पूरा हुँदैन भन्ने मान्यता राख्ने यस लेखकको सोचसँग तादात्म्य राख्ने यात्राका अर्का सदस्य थिए - पत्रकार विजयकुमार पाण्डे। उनको कार्यक्रम हेरेर नै महतो सञ्जेलबाट प्रभावित भएका थिए। त्यस्तै यात्रा भ्यानका अर्का सहभागी थिए उद्योगपति तथा समाजसेवी जीवा लामिछाने। उनले पनि प्रशस्त कल्याणकारी काम गरेका छन्। सकारात्मक सोचका धनी अन्य केही व्यक्ति र पत्रकारहरू पनि संलग्न सो यात्रा यस लेखकका लागि एउटा प्रेरणादायी स्मरणका रूपमा रहनेछ। अन्त्यमा नभनी हुँदैन, ईश्वर कहीँ छन् भने उनले सनुन् यस देशमा पूर्व राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहालहरूभन्दा बढी उत्तम सञ्जेल र उपेन्द्र महतोले जन्म लिउन्!  

Harka_Bahadur · Feb 26, 2010 11:54 AM · 5,726 views

2 Replies

Obiviously great work by Uttam Sanjel and Upendra Mahato. Our leaders should learn somthing from them. Thanks for sharing it with us Harka_Bahadur Jee

ritthe · Feb 26, 2010 12:05 PM

तेहित भनेको है रिठ्ठे जि हाम्रो देश अचम्मैको छ , एकातिर पि एच डि गरेका नेता जस्ले रोल्पा रुकुमको सोझा मगरहरुको हातमा बन्दुक थमाउदै हिंडे अनी तेही सोझा मगरको बुइ चडेर मन्त्री प्रधानमन्त्री सम्म भए भने अर्को तिर सन्जेल जस्ता मान्छे कती फरक छ भने देखी । ति पि एच डि गरेका नेता भनाउदा नेताहरुले ति सोझा मगरहरुको हातमा बन्दुक हैन अरु कुनै सिप सिकाको भए केही गरेर त खान्थे अहिले , ल हेर तिनिहरुको बिजोग बिचरा हरुको जीवन, केही सिप छैन तेही बन्दुक मात्रै चलाऊन जानेका छन ।

Harka_Bahadur · Feb 26, 2010 2:14 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all