बाबाले हामीलाई संसारको सम्पूर्ण खुसी दिन चाहिसिन्थ्यो। सायद चाँडै छोडी जाने भएर हो कि जस्तो लाग्छ अहिले। बाबाले हामीलाई माया गर्दा-गर्दा कहिलेकाहीँ गृहकार्य गर्न पनि दिइसिन्नथ्यो। सानोमा गरिने चकचक को मज्जा अनुभव गर्न हौस्याइसिन्थ्यो। मामुले आफ्नो सुरमा खाजा बनाइरहँदा बाबा झयालको तलबाट उठ्दै म्याउँ-म्याउँ गरिसिन्थ्यो। मामु लखेट्न आइसिन्थ्यो, हामी भाग्थ्यौँ। छुट्टी हुँदा हामीलाई भन्दा बाबालाई धेरै खुसी लाग्थ्यो। प्रत्येक छुट्टीमा कसलाई बोलाउने, मामाघर जाने, अन्त कतै जाने कि लङ ड्राइभमा जाने जस्ता कार्यक्रम बनाइसिन्थ्यो। हामीलाई कहिले दार्जीलिङ लगिसिन्थ्यो, कहिले सिक्किम। हामी धेरै पटक पोखरा गयौँ। कार्यक्रम नै नबनाई एक दुईघण्टाको लागि भनेर नगरकोट लगी आज यतै बसौँ है भनिसिन्थ्यो। कहिलेकाहीँ तीन-चार दिनसम्म घरमा नै रमाएर बस्दा मामुले यसो अफिस-सफिस गइस्यो, मुद्दा-मामिला हेरेर आइस्यो, फ्रेस होइन्छ, भन्दा मलाई तिमीहरूसँग बस्दा जति आनन्द लाग्छ त्यति कहीँ पनि हुँदैन भनिसिन्थ्यो। नौ बजे कान्तिपुर बहसको लाइभ आउने दिन पनि पौने नौ बजेसम्म गीत गाएर भित्र-बाहिर तल-माथि गरिराखिसिन्थ्यो। म र बहिनीलाई पीङमा खेलाइसिन्थ्यो। पछि मामुले घडी हेर्दै लखेट्नुपर्थ्याे। हाम्रो बाबालाई केही कुराको पनि पत्तो हुँदैनथ्यो। ४० वटा जति त मोबाइल सेट नै हराइस्यो। बाबा घरमा हुँदा कहिले ब्याडमिन्टन कोर्टमा त कहिले जगिङमा, कहिले मेडिटेसनमा पनि होइसिन्थ्यो, कहिले गाएर बसिसिन्थ्यो। हाम्रो घरमा धेरै जसो गुरुदेवका भजनहरू बज्थ्यो। हामीहरू सबैजना भजन गाउँथ्याँै। किन हो कुन्नि, बाबा हामीलाई आफू अब धेरै नबाँच्ने कुरा भनी राखिसिन्थ्यो। त्यस्तो कुरा गर्दा हामी कति चोटि रोएका थियौं, अनि आफैँ फकाइसिन्थ्यो। कमल थापा, गणेश थापा अङ्कलहरू हाम्रो घरमा तिहारमा आइसेको बेला बाहिरपट्टि आँगनमा गाडीको क्यासेट बजाएर नाचगान गर्ने कार्यक्रम गरिस्यो। बुबाले माथिबाट रेडियो नघन्का भन्दा अब मैले रमाइलो गर्ने धेरै दिन बाँकी छैन, म मर्छु अनि शान्तले बस्नुहोला, भनिस्यो। त्यो दिन तँ बढी नबोल् भनेर बुबा धेरै रिसाइसेको थियो। पछि बाबा आफूभित्र गएर मामुलाई हात समाउँदै बाहिर ल्याइस्यो र भनिस्यो बूढी नाचौं, दुई दिनको जिन्दगीमा मरेर लानु के छ र? अनि जम्मै जना अङ्कलहरूले ताली बजाइस्यो र मामु-बाबा नाचिस्यो। त्यो बेलामा बाबाले मलाई पनि तानिस्यो र नचाइस्यो, बहिनीलाई चाहिँ बोकेर नाचिस्यो। अहिले पो मलाई लाग्छ, बाबाले भनेको कुरा साँच्चै रहेछ। ४१ वर्ष पनि पूरा नहुँदै यस संसारलाई छाडेर गइस्यो। तर बाबालाई यस्तो कुरा कसरी थाहा भयो होला? बाबाले मलाई र बहिनीलाई धेरै कुराहरू सिकाइसेको थियो। सधैंभरि इमानदार हुनुपर्छ भनिसेको थियो। अनि हेर् छोरी तेरो मामु र ममध्ये एकजना त मर्नै पर्छ। तेरी मामु अघि भई भने त मेरो बिजोग नै हुन्छ, अहिले आएर मैले फेरि बिहे गर्ने कुरा सम्भव छैन। तिमीहरूले र मैले कुकुरले नपाएको दुःख पाउँछौँ। हेर, म पहिले मरें भने अलि-अलि सम्पत्ति जोडिदिएको छु, मामुले पनि दुई अक्षर पढेकी नै छ। तिमीहरूको जिन्दगी सजिलै चल्छ भन्दा मामु हजुर चुप लागिस्यो भनेर रुन थालिस्यो। म पनि धेरै रोएँ। बहिनी पनि आत्तिएर रुन थाली। बाबाले दशैंमा पनि सुष्मा, यो मेरो अन्तिम दशंै हो। फोटो खिच्न रिल लिन पठाऊ। तिमीहरूलाई चिनो हुन्छ, भनिस्यो। मामुले पहिलेे नै सानो बाबालाई रिल लिन पठाउन खोज्दा बाबाले रोकेर आफ्नो अन्तिम दशंै भएको भनेर पठाइसेको थियो। त्यो सम्झ्ँदा अहिले पनि हामीलाई रुन मन लाग्छ। हाम्रो बाबाप्रति हामी गर्व गर्न सक्छौं। हामीले इन्द्र लोहनीको छोरी हुने सौभाग्य पाएका छांै। हाम्रो घर अहिले चकमन्न भएको छ। तर आजकल पनि हाम्रा बाबाका साथीहरू बेला-बेलामा आइसिन्छ। हाम्रो मामुको टाउकोमा साह्रै ठूलो समस्या खडा भएको छ। मामुले लयरको लाइसेन्स लिएर प्राक्टिस शुरु गर्ने बाबाकै सल्लाह अनुसार त्यस दिन मामुसँग म पनि बार प्रिप्रेशन क्लासमा गएकी थिएँ, तर छताछुल्ल भयो। अहिले सबै काम मामुकै टाउकोमा परेकोले डिग्री सेकेण्ड इयरको क्लासमा पनि जान पाइसेको छैन। हाम्रो घरमाथि थोपरिएको दुःख मैले देख्न सकेकी छैन। एकदिन म पनि धेरै पढेर ठूलो मान्छे बन्नुपर्दछ भन्ने कुरा मैले बुझदै आएकी छु, मैले मेरा परिवार मामु, बहिनी र घरप्रति कन्ट्रिब्युसन गर्नुपर्छ भन्ने बुझ्ेकी छु। मेरो बाबाले सबैको जय होस् भनी कामना गरिसिन्थ्यो तर आज ईश्वरले बाबाको नै जय गरिदिए। बाबा हजुर जहाँ भए पनि हजुरको आत्माले शान्ति पास्। हजुर जस्तो बाबा यस संसारमा कसैको पनि हुन सक्दैनन्। यस जीवनमा नभए पनि अर्काे जन्ममा हामीले आफ्नो पूरा जीवन हजुर र मामु दुवैको साथमा बिताउन पाउने छांै भन्ने आशा लिएकी छु। यस कुरामा ईश्वरले साथ दिनैपर्छ। बाबा वी आर मिसिङ यु अ लट। थ्याङ्क यू! हजुरकी प्यारी छोरी साम्राज्ञी मध्यबानेश्वर-१०, काठमाडौं (वकिल-पत्रकार इन्द्र लोहनीको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा प्रकाशित एउटा बेग्लै व्यक्तित्वः इन्द्र लोहनी स्मृति ग्रन्थबाट। यो स्मृति ग्रन्थ पाटनढोका किताब पसलमा पाइन्छ।) sabhar himal khabarpatrika http://www.himalkhabar.com/new...
nepal_rocker · Feb 22, 2010 8:53 PM · 7,129 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion