(लेख्नलाई प्रोत्साहन गरेकोमा रजितलाई आभार । ) उ औसत नै थिइ । जिन्स, ज्याकेट, गलाको मफलर र गणेशको टिका। मंगलबजारमा भेटिने एउटी अर्की युवती । औसत सुन्दरता, औसत चाल अनि कुमारी जीउडाल । भनिन्छ नि एक सर्को हेराइमा आँखाले नटिप्ने तर दोस्रो, तेस्रोमा नछुट्ने । उहि त्यही वर्गमा समाउथी । हुन त केटीलाई यसरी कुन्यु लाएर छुट्टयाउने होइन तर पनि हाम्रो जमातमा सल्लाह नगरी बसेको चलन थियो । हामी अपवाद थिएनौ । हामी ‘फिक्विन्सी’ मिल्ने केटाहरुको आफ्नै समुह थियो । प्राय: सबै काँचा जागिरे थियौ । sociology को मास्टर्स, नियमिततामा उस्तो हुरुक्क थिएनौ । तर केटीहरु भने नियमीत नै हुन्थे । उनका आफ्ना कारण होलान वा कारण नै नहोलान । उनिहरुको नियमितामा सोचाइ लगिएन । अभ्यस्थ कुरा थियो, अभ्यस्थ नै राखियो । पुष/माघको महिना, खुलस्त भन्ने हो भने हामी आँखा सेक्न नै डोहोरिन्थ्यौ पाटन क्याम्पस । त्यो खाल्डामा जीउ भन्दा आँखा नै न्यानो मान्दथे । कता कता उसमा एउटा नजानिदो मादकता थियो । त्यो औषत थिएन, बिशिष्ट थियो । उसको वर्गमा समाउने अरु केटीमा नभेटिने । ठूला आँखा अनि गहिरो भाव । झुलुक्क हेर्दा याद नहुने तर हेरि रहँदा, कता कता पुगे जस्तो भान हुने । म जान्दिन त्यो मैले मात्र अनुभव गरे वा मेरा अरु समकक्षीले पनि । तर त्यो साधारण थिएन । उ एउटा गह्रौ व्यक्तित्व बोकेर आउँथि । जसलाई हाम्रो क्लासका केटा र केटी ले शायदै चलाए । ‘लोकल’ नै थियो पाटन को पढाइ । कुनै क्लास पुरै खाली, कुनै खचाखच । बेन्च बसाईमा उहि युनिभर्सल चलन: केटी केटी सँग, केटा केटा संग । केहि सामान्य अपवाद थिए, तर उनका आफ्नै कारण । उ फरक थिई । आफूलाई पायक जहाँ पर्थो त्यहि बसिदिन्थी, केटा-केटी नभनि । केहि समय हामीलाई अप्ठ्यारो नभएको होईन, दुई जना केटा बसेको ठाउँमा उ आएर बसिदिन्थी । प्रशंग बदलन्नु पर्थ्यो । बिस्तारै उसको यो बानी सँग सामान्य हुन सकियो । यस्तै केहि अरु बिशेषताहरु बोकेर आउँथि उ । हामी केहि बेर अप्ठेरो, असामान्य अनुभव गर्दथ्यौ अनि अभ्यस्थ हुन्थ्यौ । पढाइ चल्दै गयो । एउटा आफ्नै खाले बजार थियो पाटन क्याम्पस । सबै आ-आफ्ना पोको बोकेर आँउथे । सुकुल ओछ्याएर दाम राख्दथे । कोई सबै बिक्री गरेर दंग, कोहि नाफा कमाएर आनन्दित। कसैको ब्यापार सुक्खा हुन्थ्यो अनि ओइलिएको निगुरो सरी फर्कन्थे । कोही भोलिको लागि आजको भाउ कम राख्दथे । कोहि सम्बन्ध बेच्दथे, कोहि जोड्दथे । सबैका आ-आफ्ना दाउ थिए, त्यो बजार नै थियो । हरेक दिन बजार लाग्दथ्यो । हरेक दिनका अवषेशहरु रहन्थे । बास्तविक बजारबाट फरक यति थियो, बास्तविक बजारमा छरिएका अवशेषहरु सफा गरेपछी हट्दछन्, यस बजारका कति अवशेष सफा हुन्छन्, सफा गरिन्छन् । कति भने सदा सदाका लागि रहन्छन् । आज म यस्तै केहि अवशेष निफन्दै छु । त्यो एउटा खास समय थियो आफ्नै महत्व बोकेको । कोहि जागिरे, कोहि संघर्षरत, कोहि नवबिवाहित, कोहि आफै सँग अनजान। ब्यवहारले छिप्पट बनाई नहालेको र अल्लारेपनले लगभग छोडि सकेको जस्तो अवस्था थियो । एउटा परिचित मध्यम बर्गिय ‘ट्रान्जिट’ । हामी त्यहि थियौं । त्यो अवस्थामा पाटनको वातावरणले हामीलाई जागिरे दाउपेच नजान्दाका खल्ला वातावरण बाट बिर्साउदैन मात्र थियो, अल्लारेपनको ह्याङ्ग ओभरमा थोरै भएपनि अमिलो निचोरी दिन्थ्यो । हामी जान्थ्यौ पाटन क्याम्पस । उ एकलकाटे भने थिइन । तर पनि सम्बन्धहरुलाई शिष्टाचार भन्दा केहि पर मात्र लग्दथी । निश्चित परिधि भन्दा अगाडि कहिले बढाइन । भेट्दा हाँस्दथी, सोध्न पर्ने प्रश्न सोध्दथी, खानु पर्ने चिया खाइदिन्थी । तर उसले न कहिले हाम्रा बारेमा धेरै जान्न खोजि न हाम्रा बारेमा । यो उसको बानी थियो वा बाध्यता, हामी कसैले जानेनौ, जान्न चाहेनौ । किन र? हामी त्यसै थियौ । बिस्तारै, उसको यो बानि हामीलाई खट्कन शुरु भयो । हामी केटाले भन्दा समकक्षी केटी साथीहरुले चित्त बुझाएनन् । ‘खुब ‘एक्ट्रा’ हुन पर्ने त्यसलाई’ यहि तक्मा पाई एकदिन उसले । आयोजना गरेको पिकनिकमा उ गईन । उसका कुरा काटिए । अलिकति बढेका सम्बन्धहरु फिर्ता भए । उ एउटा बिषय बस्तु बनि । जब मान्छेहरु हाम्रो परिभाषा भन्दा बाहिरिन्छन् । हामी एउटा विशेषण लगाइ दिन्छौ । बस हाम्रो काम सकियो । हाम्रो चासो त्यहि विशेषणबाट शुरु हुन्छ अनि हाम्रा तमाम ब्याख्याको निचोड त्यहि बिशेषण नै हुन्छ । हामी यहि सिक्दै आएका छौ, यहि भोग्दै आएका छौ र यसैलाई निरन्तरता दिन्छौ । उ फरक थिई, उसले बिशेषण पाई । उसलाई मतलब थिएन । उ त उ नै थिइ । आफ्नै हिसाबले आउने आफ्नै हिसाबले जाने । कता कता हामीले उस्तो वास्ता नगरेको थाहा पाएकि हुँदि हो । तर उसलाई केहि असर थिएन । हामी टाढिंदा उ नजिकिन खोजिन । अनि हामीलाई त्यसैमा पनि खट्कियो । उसले अर्को बिशेषण पाई । उ सँगको बोलचाल हाय-हेल्लो मा नै सीमित भइसकेको थियो । उ भने उ नै भइ रहि । रत्तिभर पनि बदलिन । कक्षामा हाँस्नु पर्ने प्रसंगमा उ हाँसी दिन्थी । हाम्रा लागि उ अपराधी जस्ती उभिनु पर्ने । उसलाई हाम्रो चाहाना थाहा नै भएन वा मतलब भएन । हामीलाई त्यसले कता कता त्यो हँसाई नजानिदो बिझाउँथ्यो । हामीलाई भन्दा हाम्रा केटी साथीलाई अलिकति बढी । ‘केटो रहेछ नि त त्यसको’ एक दिन खबर आयो । बस, उसका बारेमा पोखिएका तमाम ब्याख्याले पुष्टी पाए । उसका सबै बानिको जड त्यहि तथ्यमा निर्क्योल गरियो । हाम्रो काम सकियो । हाम्रा उ माथिका तमाम उकुसमुकुस केवल त्यो तथ्यले लगिदियो । हाम्रा लागि उ अब एउटी अर्कि केटी मात्र भइ, जसको एउटा केटो थियो । हामी अब त्यहि सेरोफेरोमा मात्र कुरा काट्न थाल्यौ । हाम्रा गफमा उ कहिले एउटा प्रसंग हुन्थी कहिले हुदैन थिइ । समय बित्दै गयो । परीक्षा निजिकिदै जाँदा पाटनको पढाई पनि दगुर्न थाल्यो । कोर्ष सकाउने धमाधम । परिचित हतारिदो समय । उ केहि अनियमित हुंदै गएकि थिइ । हामीलाई उस्तो वास्ता थिएन । कहिले काँहि छुटेका क्लासको कपि माग्थि कहिले माग्दिन थिइ । हामी आफैमा ब्यस्त हुन थाल्यौ । आईतवारको दिन थियो । घाम चर्किसेकेको थिएन । पाटन चिसो चिसो नै थियो । केहि दिन मात्र थिए क्लास सकिनलाई । उ अघिल्लो हप्ता भरि नै आएकि थिईन । त्यो दिन पनि आईन । एउटा उड्दो खबर आयो । ‘उसले आत्महत्या गरि रे’ सबै स्तब्ध भयौ । त्यो क्षणमा न हामीले उसका बानि ब्यहोरा संम्झियौं न उ माथिका अमिलोपनहरु । एउटा गहिरो आश्चर्य भरियो । हामीले विश्वास नै गर्न सकेनौ । विस्तारै खबरले आधिकारिकता पाउँदै गयो । हामी सबै दु:खी भयौ । उसको माया लागेर आयो । उसँग अलिकता नजिकिन मन लाग्यो । उसको दु:ख बुझ्न मन लाग्यो । उसलाई सान्त्वना दिन मन लाग्यो । उसलाई सम्झाउन मन लाग्यो । तर त्यो सम्भव थिएन । हामी झनै दु:खी भयौ । ‘प्रेमको तनावले होला । ‘ ‘घर परिवारमा कुरो मिलेन होला, बाउ-आमाले मानेनन् होला’ ‘केटाले धोखा दियो होला’ यस्तै यस्तै अनेक अड्कल काटिए । शनिवार दिउँसोको घटना, पोस्मर्टम गरेर जलाई सकेछन् । क्याम्पसमा शोक सभा भयो । १ मिनेटको मौन र २-४ दिनको जल्दो बल्दो बिषयबस्तु । उसको मृत्युले त्यती नै कमायो पाटन क्याम्पसको सेरोफेरोबाट । ‘किन गरेकि होलि त्यस्तो decision?’ ‘त्यस्ता हुतिहाराले बाँच्नु भन्दा मर्नु निको’ ‘एउटा जाबो नभेटिए अरु हजार आउँछन’ ‘केहि न केहि समाधान भइ हाल्थ्यो नि, आत्महत्या त समाधान होईन नि’ यस्तै यस्तै । कतिले गालि गरे, कतिले सुझाब दिए, कतिले सान्त्वना । तर उसले केहि लिईन । उसले भएका सबै चिज त्यागेर मृत्यु अँगालि सकेकी थिई । ‘केटोसँग break up गरेकि रे आफैले, बाउ-आमा त मानेका थिए रे । १० क्लास पढ्दा देखि सँगै थिए रे’ उसको मृत्युको तमाम सार यति निकालिएको थियो । उसले मृत्यु अगाडि २ लाईन लेखेकि रहिछे । “म गल्ती गर्दै छु । भविष्यको सँधै सुन्दर हुन्छ । तर मान्नुहोस आमा बुवा, मेरो सुख यसैमा छ । अस्तु“ उसका अन्तिम भनाई, उ जस्तै थिए । ब्याख्या बिहिन र गह्रौं । meaninglessthinkings@somewhereondearth Last edited: 21-Feb-10 10:27 PM
somewhereondearth · Feb 21, 2010 10:06 PM · 18,802 views
Somewhereondearth,लेखाई राम्रो छ. बियोगान्तक कथा पढ्न मनलाई त्यति राम्रो नलागे पनि... कस्तो रहस्यमय कथा ! जे परे परोस भनिदिन्छू: कस्तो अपूरो अपूरो लाग्यो कथा.... आउदा दिनहरुमा अरु कथा पनि पढ्न पाउने आसा छ. गुच्चा चोर
guchcha chor · Feb 21, 2010 10:27 PM
औसत जीवनहरुको औसत चित्रण असामान्य प्रस्तुतीका साथ! कुनै एउटा जीवनको एउटा सानो कालखण्ड बित्छ; कतिपय कुरा सामान्य लाग्छ समय बित्छ र त्यो भुलिन्छ। त्यो कालखण्डमा मनमा आएका सबैकुरा जसरि आए त्यसैगरि प्रस्तुत कसरि गर्ने त? यो कथामा लेखिए जसरि। वस्तुगत र विषयगत कुराको व्याख्या मात्र कथा हैन रहेछ, कथा त सामान्य घटनाहरुको असामान्य पोस्टमर्टम पनि रहेछ! गजब छ सोमे!
Birkhe_Maila · Feb 22, 2010 8:52 AM
दाई आजकल साझा कोट्याउँछु ...कोरिएका बियोगहरु छरिएका अवशेष हरु भेटीन्छन् !!! धेरै पछि आएको कथा फेरि मन निचोरेर चुक निकाले जत्तिकै कालो ,अमिलो भेट्टाए.....तँपाइको शंका मात्र शंका रहेछ !!! निवारण पहिलो लाइनले नै गर्यो "उ औसत नै थिई !!!" माया बस्यो दाई शुरुका चार शब्दले मायासँग !!!! कलम चलाउन नछोड्नु मलाई अझै पढ्न मन छ !!!!अनि रजित लाई पनि धन्यवाद जे होस् केटोले दाई लाई कर लगाएर एउटा मिठो कलम बिउँझाएछ !!!!अर्को बिश्राम चाँडै सकिने आशमा !!!! fuche
fucheketo · Feb 22, 2010 10:21 AM
somesahila! Welcome back! उसका अन्तिम भनाई, उ जस्तै थिए । ब्याख्या बिहिन र गह्रौं । I read this sentence hundred times and can't explain how deep it touches my heart. Don't vanish Some! Sajha always awaits your exclusive narration!
crazy_love · Feb 22, 2010 1:41 PM
मायाले थोरै शब्दमा धेरै कुरा अटाएर गैछ। स्वाभिमान धस्सिएको हुँदो हो, रहरहरु बल्झिएका हुँदा हुन। सम्बन्धको खोक्रोपनलाई माया र इमान्दारीताले छोपछाप पार्दै घिसार्दा घिसार्दा जिन्दगी देखी थकित भएकी हुँदी हो। somewhereondearth, thanks for sharing.....
nakkali keti · Feb 22, 2010 2:46 PM
@ guchcha chor: thank you for the time and support. हो यो कथा अलिकति अपुरो नै छ । अपुरो नै राख्न मन भयो । i will try 'a complete' next time. thanks @माईला दाई : धेरै धेरै धन्यबाद । your words always mean something for me. You always see what i try to portray. धेरै अनुभवी छन् हजुरका आँखाहरु । धन्यबाद । @fuche: thanks for the support. you motivate others to write. रजितलाई शायद म भन्दा बढी तिमी चिन्छौ होला । उ पनि झापाकै हो । thanks to you and again, thanks to rajit. @ साहिंली । धन्यबाद । yeah, came back to Sajha after a long time. nice to see you guys over here. i have seen you story. i will read it soon. thanks for support. I will try to be here. @नक्कली ज्यू । धन्यबाद । खै के थियो "मायामा" । I don't know what is in LOVE or what was inside that lady. thank you all for the time and support. -somewhereondearth
somewhereondearth · Feb 22, 2010 9:16 PM
प्रस्तुती सधै झै सुन्दर छ। फुच्चे प्रभो र सोमे प्रभोको साहित्यिक जोडी घनघोरको लाग्छ मलाई। राती रुख र दिउँसो बादल नियाल्नेको कल्पनाका प्रतिबिम्ब भए झैं लाग्यो मलाई यो प्रस्तुती। हुन त अचेल साझा बिचरणमा त्यति मग्न हुन नपाएर आफुलाई परेको नोक्सान खेप्दैछु। तै पनि आज मौकैमा बसेछु यो साझा फलैचामा जस्तै लाग्यो। प्रभो, एउटा अर्को कुरा पनि थ्यो। प्रस्तुतीमा शब्दहरु के कति कारणले यसरी किर्तीपुर जाने मिनिबसमा यात्रुहरु पोखिने हुन कि झै देखिने दृश्य सम्झाउने गरी खाँदीएका हुन, बुझिएन। बस्या ठाममा झै जीबन जाडोमा पनि न्यानो होस। शुभ-कामना।
Deep · Feb 23, 2010 8:59 AM
म त कथा पढेर स्तव्ध भए। कथाको लागि धन्यवाद सोमे जी ।
santosh1984 · Feb 23, 2010 10:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion