दोस्रो प्रेम

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

-बुद्धिसागर रातिदेखि नै बेस्मारी हिउँ पर्न थालेको थियो। फुसफुस कपासझैं खसेको हिउँले बिहानसम्म त दोकानअगाडिको सडक सेताम्मे पारेछ। मुखबाट निस्केको तातो बाफलाई परपरसम्म उडाउँदै म टोलाइरहेको थिएँ। अनुहार धुने उत्साह पनि भएन। ज्यान पुरै कठ्याङि्ग्रदै गइरहेको थियो। क्यासेट प्लेयरमा हिन्दी गीत बजिरहेको थियो।  ... अचानक मैले उसलाई देखेँ।  ऊ पश्चिम दिशाबाट आइरहेकी थिई। गुलाबी ऊनीको टोपी। काँधसम्म फिजारिएको कपाल। खैरो ज्याकेट। निलो जिन्स पाइन्ट। स्पोर्ट्स सु। हिउँ परेर होला, धेरै मान्छे बाहिर निस्केका थिएनन्। त्यसैले, ऊ ट्वाक्कै मेरा आँखामा ठोक्किई। ऊ बिस्तारै हाम्रै दोकानको छेउसम्म आई।  म एकदमै लजालु पाराको थिएँ। उसलाई देख्नासाथ मुटु ढुकढुक हुन थाल्यो। फेरि कुरकुरे बैश, जो देख्यो लभ परिहाल्ने। आफूलाई हिन्दी फिल्मको हिरोभन्दा कम सोच्ने बेला थिएन।  केटीले झलक्क पसलतिर हेरी। हे दैव! सातो त उड्यो। मलाई के गरूँ गरूँ भो -टाउको निहुराएँ। कर्कै नजर भने ऊतिरै थिए।  ऊ गई।  कालीकोटको मान्ममा पहिलोचोटि यत्ति 'गजब'की केटी देख्न पाएर मेरो जीवन सार्थक भो। किनभने, मान्मबजार 'विदुर पहाड' जस्तो लाग्थ्यो - फुङ्ङ उडेको। लभ गर्नलाई पछि लागौंजस्ता त्यस्ता रुपसी नै थिएनन्। यही पीडाले कुटुकुटु मुटु खान्थ्यो।  त्यसदिन त अचम्मै भो।  म लोकेन्द्रको कोठातिर दगुरेँ। मेरो घरभन्दा पन्ध्र-सोह्र मिटर पर ऊ एक्लै बस्थ्यो। तलतिर किराना पसल, माथितिर उसको कोठा। ऊ कालीकोटको दुरगाउँबाट सदरमुकाममा एसएलसी दिन आएको थियो, तैपनि हामी केटाहरूको खाल त्यहीँ जम्थ्यो। लोकेन्द्र सुतिरहेको रैछ।  मैले धेरैबेर ढोका ढक्ढकाएपछि ऊ उठ्यो।  'सुतेको मान्छेलाई ... यस्तो जाडोमा किन उठाको?' उसले ढोकाबाट बाहिर फुसफुस खसिरहेको हिउँ नियाल्दै भन्यो।  'जरुरी काम छ।'  उसले मेरो चन्चलता देखेर ढोका छाडिदियो। म डङ्रंग उसको ओछ्यानमा पल्टिँदै लामो सास तानेर बर्बराएँ, 'तँलाई एउटा कुरा सुनाऊँ भनेर आ'को।' 'के, भन्त?' उसले आफ्नो मुखबाट उडिरहेको बाफ हेर्‍यो।  'मेरो त लभ पर्‍यो।' 'कोसित?' उसले ईष्यामिश्रित आवाजमा सोध्यो।  'एउटी छ।'  'को एउटी?' उसले चिसोले मैलिएको ऐना पुछ्दै केही स्कुले केटीको नाम फलाक्यो। मैले 'होइन ... अर्कै हो' भनेपछि, ऊ अलि सन्कियो। किनभने, उसलाई लाग्न थालिसकेको थियो - यसले बिहानबिहान मलाई 'गफ' दिन आको हो भनेर।  मैले अघि भर्खरै देखेकी 'जिन्सपेन्टवाली' को बखान गरेँ। र केटीले आफूतिर हेरेर हाँसेको कुरा 'थपि'दिएँ। साँझपखसम्म बजारका सारा केटामाझ हल्ला फैलिसकेको थियो, 'बजारमा नयाँ केटी आ'की छ।'  तर, त्यो केटी को हो, कसैलाई थाहा भएन। मलाई त झन् के थाहा हुन्थ्यो! कतै फेरि देखिहाल्छु कि भनेर सिउसिउ चिसोमा कैयौं पल्ट बजार फन्का लगाएँ। कतै देखिनँ।  भोलिपल्टदेखि हिउँ पर्न बन्द भो। वरिपरिका डाँडा सेताम्मे देखिए। घाम लागेपछि त जता हेर्‍यो उतै आँखा तिर्मिराउने। दिनभर घरका छानाबाट हिउँ तप्किरहन्थे।  म भने मौका पर्नासाथ केटी खोज्न बजार फन्का लगाउँथेँ।  एकहप्ता बित्यो, हिउँ सक्कियो। घाम पनि रापिलो हँुदै गयो। मैले आस मारँे।  तर, आठौं दिन नुहाउन ढुंगेधारातिर हिँडेका केटाहरू बजारको पल्लो पुछारमा एउटी 'खुबसुरत केटी' देखेँ भन्दै फर्किए। उनीहरू पनि मख्ख थिए। दुईतीन जनाको त देख्नेबित्तिकै लभ परेछ, मेरोजस्तै।  अलि दह्रै प्रतिस्पर्धा हुने भो!  केटाहरूले केटीका बारेमा नयाँ कुरा पनि पत्ता लाएछन्। केटी एसएलसी दिन कालीकोट आकी हो रे। अनि, अहिले केटी आफ्ना बासँग बस्छे रे! बजारको पुछारमा।  'केटीको बा को?' म फुरुंग भएँ।  'खाद्य संस्थानको हाकिम।'  'केटीको नाम के रैछ?' मैले जवाफ पाउने आससहित प्रश्न गरेँ। एउटाले लजाउँदै नाम उच्चारण गर्‍यो - सुस्मिता। ... सुस्मिता हाम्रै स्कुल पन्चदेवल माविमा १० कक्षामा भर्ना भई। स्कुल थियो, सदरमुकामबाट एकघन्टा ओरालो झर्नुपर्ने मान्म गाउँमा। उक्लँदा दुई घन्टा त लाग्थ्यो नै।  स्कुल जान मन नगर्ने धेरै केटा स्कुल जाने तयारी एकाबिहानैदेखि गर्न थाले। सरले सोधेको प्रश्नको उत्तर दिन नसक्दा उसको अगाडि बेइज्जत होला भनेर 'गेस पेपर' पनि रट्न थाले।  म रेडियोको खुब सौखिन थिएँ। यसो कविता लेखिटोपल्थेँ। संयोगबस, मेरा धेरै कविता रेडियोबाट बज्थे। प्रायः नौ बजेपछि, हरेक दिन। त्यसैले, स्कुलमा मेरो इज्जत नै थियो। झन् सरहरूले कक्षामा छिर्नेबित्तिकै मतिर मुसुक्क हाँस्दै भन्थे, 'ए मिस्टर बुद्धिसागर, हिजो राति तिम्रो कविता सुनेँ।' गर्वले मेरो छाती नांलोजत्रो हुन्थ्यो।  तर, सुस्मिता कक्षामा आउन थालेपछि यस्तो संयोग जुरेको थिएन। सरले एकपल्टमात्र त्यस्तो भनेको भए सुस्मिताको अगाडि मेरो 'सान' हुन्थ्यो नि!  सुस्मिताले कक्षाका दुईतीन केटीलाई आफ्नो मित्र बनाई। केही सहयोग चाहियो भने पनि तिनैलाई भन्थी। केटाहरू त हरदम तयार नै थिए।  म झन् ज्यानै दिन तयार!  एसएलसीमा दुइटा अप्सनल विषय थिए - म्याथ र अर्थशास्त्र। म त म्याथमा जिरो, त्यसैले अर्थशास्त्रको विद्यार्थी भएको थिएँ। अब सुस्मिताले के विषय लिन्छे, चर्चाको विषय भो।  'पढाइमा खत्रा छे।' मेहलको रुखमुन्तिर थकाइ मारिरहेका बेला एउटाले अन्दाज गर्‍यो, 'अप्सनल म्याथ नै लिन्छेजस्तो छ।' 'हो हो, हिजो बन्जाडे सरसँग उसले कुरा गरेकी थी।' अर्कोले ठेल्यो।  बन्जाडे सर, म्याथका टिचर। यत्ति खग्गड कि पहिला उत्तर लेखेर हिसाब माथितिर सार्दै प्रश्नसम्म पुग्न सक्थे। कक्षा सकिएपछि, टिउसन पनि पढाउने भएकाले उनको व्यस्तता चरम चुलीमा थियो।  'अब सुस्मिताले म्याथ पढ्ने भई,' केटाहरू उत्साही भए, 'त्यसले बन्जाडे सरसँग टियुसन पनि पढ्छे।' त्यसको भोलिपल्टदेखि त बन्जाडे सरसँग टियुसन पढ्न केटाहरूको लाइन लाग्यो। कतिले अर्थशास्त्र छाडेर अप्सनल म्याथमा नाम लेखाए। म भने चुपचाप रहेँ। भाग्यमा जे छ, त्यही होला भनेर चुपचाप रोइरहेँ। तैपनि आस त थियो नै। किनभने, सुस्मिताको दोस्ती त मेरी बैनीसँग पनि भैसकेछ।  तर धेरै दिन रुन परेन। एकदिन त थाहा भैहाल्यो, सुस्मिताले कुन विषय लिइछ।  सातौं घन्टी अर्थशास्त्रको थियो, हेडसरले पढाउँथे। थोरै विद्यार्थी थियौं, त्यसैले चौरमै कक्षा हुन्थ्यो, मलिन घाम ताप्दै। छैटौं घन्टी सकियो।  हामी अर्थशास्त्रीहरू बाहिर निस्कियौं। मेरो मन पीडाले पोलिरहेको थियो, एकघन्टी भएपनि सुस्मितासित मेरो बिछोड हुने भो। बाहिर चौरमा हामी आठ विद्यार्थी गोलघेरा लाएर बस्यौं। म टुलुटुलु अप्सनल म्याथको कोठातिर हेर्थें बेलाबेला। सारा विद्यार्थीले अप्सनल म्याथ लिएकाले कक्षामा भीडै थियो।  फेरि कोठातिर आँखा गए।  हेहेहेहे ... सुस्मिता त चौरतिर पो आउँदैछ त!  भनेपछि त सुस्मिताले पनि अर्थशास्त्र नै लिइछ। मलाई काउकुती लाग्यो। मैले शिर उठाएर गर्वसहित अप्सनल म्याथको कोठातिर हेरेँ। एकदुई जना केटा झ्यालमा नाक रगडेर बाहिर चिहाइरहेका थिए। तीमध्ये एकदुई जनाले हिजैमात्र अर्थशास्त्र छाडेका थिए।  लौ खाऊ ...। म उनीहरूतिर हेर्दै खिस्स हाँसेँ।  सुस्मिता मेरै छेउ आएर टुसुक्क बसी। म उसको सुगन्धले फक्रिएँ।  त्यसको दुई दिनपछि, संयोगबस, फेरि रेडियोमा मेरो कविता बज्यो। सुस्मिताले पनि सुनिछ। स्कुलबाट फर्किदै गर्दा एकढिस्को उक्लेपछि, ऊसित भेट भो। ऊ मलाई हेर्दै हाँसी।  'हिजो रेडियोमा तिम्रो कविता सुनेथेँ।' उसले भनी, 'राम्रो थ्यो।' म शब्दबिहीन भएँ, खुसीले गदगद। केही प्रतिद्वन्द्वी केटाहरू पनि शब्दबिहीन भए तर रिसले चुर।  त्यसको फलस्वरुप भोलिपल्ट पहिलो कक्षा पनि सुरु भएको थिएन, एउटा केटो बम्कियो, 'डाँडाका केटीहरू रन्डी हुन्।' सदरमुकामलाई सबैले डाँडा भन्थे, डाँडामा भएकाले। केटीहरूले शिर निहुराए, त्यसमा सुस्मिता पनि थिई।  मलाई झोक चल्यो। म कराएँ, 'एई ... जे पायो, त्यै नबोल्त।' 'तँ पनि निउँ नखोज।' केटो झन् जंगियो, 'के डाँडाका सबै केटी तेरा जोई हुन्?' बढ्ता बोल्दोरैछ! मैले उसको रुद्रघन्टीमा मुक्का प्रहार गरँे। ऊ होचो थियो। ऊ पनि प्रहार गर्न नजिक आयो, मैले वरैबाट लात बजारेँ। ऊ डेस्कमा पछारियो।  'एई ... ठोक, नछोड।' एकदुई जना केटाहरू पनि उसलाई जोस दिन कराउन थाले। लौ त। मैले अन्धाधुन्द सबैतिर मुक्का बजारँे। फाइटबाट आतंकित विद्यार्थीहरू हुरुरुरू कक्षाबाट बाहिर भागे। होहल्ला भो।  मलाई तीनचार जनाले घेरिसकेका थिए। मेरो धुलाइ हुने तयारी हुँदैथ्यो, सरहरू कक्षामा आइपुगे।  एकैछिनमा हामी हेडसरका अगाडि थियौं। सरको हातमा बेतको लामो लट्ठी थियो।  'यसले पहिला हान्यो।' केटाले गर्दनको रातो छाप देखायो।  'यी सबै मिलेर मलाई पिट्न आ'का हुन्।' म पनि के कम, भन्दिएँ।  सरले सबैको हत्केलामा दसदस पटक प्रहार गरे। मलाई भने 'अब यस्तो नगर्ने सर्त'मा छाडिदिए।  'हाम्लाई मात्र पिट्ने?' केटाहरूले रुन्चे स्वरमा भने, 'उसलाई नपिट्ने?' सरले केटाहरूलाई गढेर हेरे र आफ्नो निर्णय सुनाए, 'उसलाई किन पिट्ने? रेडियोबाट कविता बज्ने मान्छेले गल्ती गर्नै सक्दैन।' ...

ANS · Feb 18, 2010 8:19 PM · 19,808 views

10 Replies

त्यसपछि त म सुस्मिताको नजिक-नजिक हुँदै गएँ। कहिलेकाहीँ हेडसर नहुँदा अर्थशास्त्रको कक्षा हुँदैनथ्यो। सुस्मिता, म र साथी वसन्त सँगै डाँडा उक्लिन्थ्यौं। लोकेन्द्र सधैं छुट्थ्यो किनभने उसले अप्सनल म्याथ लिएको थियो।  बाटोमा सुस्मिता मलाई 'दिल तो पागल है' गीत पूरा गाएर सुनाउथी। आवाजमा यौवनको मिठास भरिन अझै बाँकी थियो, तैपनि मलाई उसको गीत सुनिरहूँजस्तो लाग्थ्यो।  ऊसले आफ्ना किताबका पन्नाहरूमा सायरी लेखेकी हुन्थी। बैनीले एकपल्ट उसको किताब घरमा ल्याउँदा मैले सुटुक्क पढेको थिएँ। एकपल्ट त के भो कुन्नि, सायरीका मुन्तिर जवाफी सायरी पनि लेखिदिएँ। उसले त्यो पढी कि पढिनँ, थाहा छैन।  उसको हास्ने शैली पनि गजब थियो। ओठ बिग्रेलान् झैं बिस्तारै तन्काउँथी। ऊ एसएलसी दिएपछि, बुटवल घर फर्किन्छु भनेर सुनाइरहन्थी। किनभने, यस्तो रूपरंगबिनाको डाँडामा उसका सपनाले रंग पाउनेवाला थिएनन्। बाका पछिपछि लागेर जुम्ला हुँदै कालीकोट आइपुगिछ।  जे भएपछि, उससँग हिँड्दा दुईघन्टे उकालो पनि छोटो लाग्थ्यो। झन्, मेहलको रुखमुन्तिर थकाइ मार्दा चिसो बतासमा उडिरहेका उसका कपाल छोऊँ-छोऊँ लाग्थ्यो। म मुठी कस्थेँ, 'एकदिन त भन्छु-भन्छु - सुस्मिता, आई लभ यु।' लोकेन्द्र पनि मेरो प्रेमकथामा रुचि लिन्थ्यो। कुनै दिन छुट्यौं भने कोठामा बोलाएर मेरो प्रगति विवरण सुन्थ्यो।  बेलाबेला मुख मिठ्याउँदै सुझाव पनि दिन्थ्यो, 'लभ परेपछि, त्यो रानीढुंगापछाडि सुस्मितालाई अंगालो मारेर बस्नू।' म पनि यस्तै कल्पनाले रंगिएर रात बिताउँथँे। रातभरि आफ्नो कोठाको झ्यालबाट बाहिर चिहाउँथँे। पारीको चुलीमालिकाको सेताम्मे चुलीमा हेर्दै कल्पना गर्थें - यदि त्यहाँ सुस्मिता र ममात्रै भएको भए ...।  कहिलेकाहीँ सुस्मिता स्कुल आइन भने त छट्पटीले मरूँजस्तो लाग्थ्यो। एकपल्ट ऊ हेलिकप्टर चढेर सुर्खेत झर्दा मलाई रोऊँ-रोऊँ लागेको थियो। हेलिकप्टर पर ... पुगेर कालो थोप्लाजस्तो हुँदासम्म मैले हेरिरहेको थिएँ। ऊ एकहप्तासम्म सुर्खेत बसेर फर्किई। मैले आत्मा रुवाउँदै उसलाई कुरिरहेँ। धेरै कविता लेखेँ।  एकदिन हामी घर फर्किरहेका थियौं।  बाटोमा डोकोभरि सुन्तला राखेर एक महिला बसेकी थिइन्। सुस्मिताले सुन्तला खाने रुचि देखाई। मैले उत्साही हुँदै एक किलो सुन्तला किनेर उसलाई उपहार दिएँ, ३० रुपैयाँको। उसले पनि एउटा सुन्तलाको बोक्रा खोल्साई। र, केही केस्रा मेरो हातमा राखिदिई। उसको हातले मेरो हात छुँदा म थररर कामेको थिएँ। त्यसदिन, खुसीले मेरो मन पहाडका चुलीचुली दगुरिरहेको थियो।  तर केही दिनपछि मेरो प्रेमकथाले नयाँ मोड लियो।  त्यसदिन पनि हेडसर थिएनन्। सुस्मिता, म र साथी वसन्त घर फर्किन उकालो चढ्न थाल्यौं। सुस्मिता अघिअघि थिई।  'आज मौका छ।' वसन्तले सुटुक्क कानमा भन्यो, 'चिठी दे।' 'चिठी नै लेखेको छैन।' म तर्सिएँ।  'त्यसो भए आई लभ यु भन्दे ... यस्तो मौका आउँदैन।' मेरा हातगोडा फतक्क गल्न थाले। आकास धुम्म भो। छ्या ... कसरी भन्ने होला। कुनै न कुनै दिन त भन्नु नै छ। वसन्तले भनेझैं 'आजै मौका' छ।  'छिटो हिँड न।' सुस्मिताले पछाडि फर्केर भनी।  म रातो अनुहार लाएर उसलाई पछ्याउन थालेँ। बेलाबेला वसन्त मलाई मुक्का हानुलाझैं गर्थ्यो। एकछिन त्यसरी चुपचाप हिँडेपछि, वसन्तले फेरि आफ्नो मुख मेरा कानतिर ल्यायो, 'म दगुरेर जान्छु ... तिमेरू एक्लै हुन्छौ ... आज जसरी पनि भन, है।' नभन्दै मुला 'मलाई हतार छ' भन्दै उकालोमा बेस्मारी दगुर्‍यो।  सुस्मिता र म एक्लै भयौं। मैले तल ... स्कुलतिर हेरेँ, स्कुल छुटेको थिएन। आज त भन्छु भन्छु - मैले मुठी कसेँ। बिस्तारै सुस्मिताको छेउ पुगेँ। लामो सास तानँे। बोल्न खोजेँ, आवाज घाँटीमै अल्भि्कयो - 'चुइँक्क' लुते कुकुर बिस्तारै चुइँकिएजस्तो आवाज आयो। 'के भनेको?' उसले मतिर हेरी।  मेरो अनुहार रापिलो भयो। कानका लोती भत्भती जल्न थाले। म टाउको निहुराएर हिँडिरहेँ। थकाइ लागेछ, ऊ चाख्लो ढुंगामा बसी। म पनि उसकै छेउ टुसुक्क बसेँ। फेरि बोल्न खोजेँ, उही हाल।  'तिमी जाऊ।' सुस्मिताले सुइँको पाइछ क्यारे। भनी, 'म पछि साथीहरूसँग आउँछु।' म बोलिनँ। धुम्धुम्ती बसिरहेँ।  माथितिरबाट खत्राक्क आवाज आयो। हेरेको त वसन्त झाडीमा लुको रैछ, मुला! उसले ठूलो ढुंगो उचालेर मतिर ताक्यो। मैले इसाराले 'भाग' भनेँ। ऊ मुक्का ताक्दै फेरि उकालोमा दगुर्‍यो।  'सुस्.ि..।' लौ फेरि आवाज सुक्यो।  'के भो आज तिम्लाई?' उसले छक्क पर्दै हेरी, 'तिमी जाऊ के। म पछि आउँछु।' म अलि माथि उक्लिएँ। खरखर कापीमा लेखेँ - सुस्मिता... आई लभ यु। पाना ध्यार्र च्यातेँ। दुईतीन पल्ट पट्याएँ र तल झरेँ। सुस्मिता एउटा ढिस्कोमा बसेर स्कुलतिर हेरिहेकी थिई। स्कुल छुटेछ।  म उसको छेउ ठिंग उभिएँ।  उसले थाहा पाई। अँध्यारो अनुहार बनाएर मतिर हेरी। मेरो सात्तोपुत्लो उड्यो। 'फेरि किन आको?' उसले सोधी। मलाई कहाँबाट त्यत्रो शक्ति आयो, कुन्नि - मैले कागज ऊतिर बढाए। ऊ अत्तालिई, 'म लिन्नँ।' म केही बोलिनँ। स्वाट्ट कागज उसको हातमा राखिदिएँ। उसले केही सोच्नै पाइन। अनि म हुरीझैं उकालोमा दगुरेँ - खुसी र डरले मलाई लखेटिरहेका थिए।  माथि पुग्दा वसन्त देखियो। मलाई नै कुरिरहेको रैछ। ऊ पनि मसँगै दगुर्‍यो। दगुर्दा-दगुर्दै सोध्यो, 'भनिस्?' 'लेखेर दिएँ।' म जोडले कराएँ।  राति अबेरसम्म वसन्त र म लोकेन्द्रको कोठामा बसिरह्यौं। सुस्मिताले बालाई भनी भने त बर्बादै हुन्छ, म त्यही डरमा थिएँ। लोकेन्द्रले पनि सबै कथा सुन्यो। र, ईष्यापूर्वक भन्यो, 'यसको त लभ पर्‍यो ... हामीले पनि गर्नुपर्‍यो।' वसन्त हाँस्यो।  भोलिपल्ट स्कुल जान पनि डर लाग्यो। सुस्मिताको विचार पनि बुझ्नु थियो, त्यसैले डराउँदै, लजाउँदै स्कुल पुगेँ। कक्षामा पनि ऊतिर फर्किएर हेर्न सकिनँ। एकपल्ट हेरेँ, ऊ टाउको निहुराएर बसिरहेकी थिई। साँच्चै, रिसाई कि के हो?  म पनि टाउको निहुराएर बसिरहँे।  स्कुल बिदा भो। लोकेन्द्र, वसन्त र म चाँडै हिँड्यौं। बाटोमा वसन्तले 'यसरी भागेर हुन्न ... सुस्मिताको कुरा बुझ' भनेर बाँकी उकालो चढ्नै दिएन। एउटा ढुंगाको पर्खालमाथि बसेर हामी कुर्न थाल्यो।  केटीहरूको हुलमुलमा सुस्मिता पनि आई। भीडमा बैनी पनि थिई। मलाई झन् गाह्रो भो। म मलिन अनुहार लिएर बसिरहँे। सर्‍याक-सर्‍याक सुस्मिता नजिक आई। मेरो मुटु ढक्क फुल्यो। फुत्त भागूँजस्तो पनि लाग्यो, तर सकिनँ।  हेर्दाहेर्दै उसले गोजीबाट चिठी झिकी। ध्यार्र ध्यार्र च्याती। यता मेरो मुटु च्यातियो। त्यसमाथि उसले तीस रुपैयाँ गाभ्दै मतिर बढाई। मैले चुपचाप हात थापँे।  अनि उसले भनी, 'अब नलेख्नू ... बुझ्यौ?' मेरो रुद्रघन्टी बेस्मारी दुख्यो।  सुस्मिता गई। मेरा आँखा टिलपिल भए। तैपनि रुन सकिनँ। साँझ बैनीले सुनाएकी थिई - हिजो मैले चिठी दिएको सबैले तलतिरबाट देखेका रैछन्, त्यै भएर चिठी च्यातेकी हो कि? तर उसले फिर्ता दिएको तीस रुपैयाँले मलाई रन्थनायो। मैले बीस र दसको नोट च्यात्दै वसन्त र लोकेन्द्रका अगाडि 'कसम' खाएँ - अब आइन्दा म यो केटीसँग बोल्दिनँ। त्यसको दुईचार दिनसम्म सुस्मिता स्कुलमा देखिइन।  एकदिन बिहान उठेर भान्सा छिर्दा भान्सामै रैछ, ऊ त। उसले मलाई हेरेर हाँसेजस्तो गरी। मैले कसम खाएको थिएँ, त्यसैले बोलिनँ। यसरी ऊ कैयौं दिन बैनीसँग हाम्रो घरमा आइरही। जब म उसलाई देख्थेँ, भागिहाल्थेँ।  एसएलसी आयो। परीक्षा सकियो। परीक्षा सकिएपछि सुस्मिता कतै देखिइन। म पास भएँ। म्याथ लिने प्रायः केटा गुल्टिए। म काठमान्डु हिँडेँ।  ... नौ वर्ष, छ महिनापछि, म असनको ठेलमठेलमा थेप्चिँदै, दोब्रिदै हिँडिरहेको थिएँ। कसैले बोलाएजस्तो लाग्यो। मैले पछाडि फर्केर हेरँे - कोही देखिनँ। म हिँड्नै लागेको थिएँ, कसैले दाहिने छेउबाट मेरो हात च्याप्प समायो।  मैले देखेँ - मेरा अगाडि थिई, उही सुस्मिता ... 'सन्चै छौ?' ऊ हाँसी।  म पनि हाँसेँमात्र। अचानकको भेटले म शब्दबिहीन भएको थिएँ, ऊसँगको पहिलो भेटमा झैं। ऊ कुर्तासुरुवालमा थिई। अलि मोटाइछ। हातमा सपिङब्याग झुन्डिएको थियो।  'म त काठमान्डुमै छु नि।' ऊ मान्छेहरूबाट जोगिँदै उभिई, 'मेरो त बिहे भैसक्यो। अहिले बुद्धनगर बस्छु। स्कुलमा पढाउँछु। छोरो पनि छ।' उसले एकै सासमा सुनाई।  'पत्रिकामा तिम्रो नाम देखिरहन्छु। तिमीले त राम्रो काम गर्‍यौ नि।' उसले मलाई गढेर हेरी, 'तिमीलाई याद छ हैन ... पुराना कुरा?' म अमिलो हाँसेँ।  'ल, अब म जान्छु।' उसले भनी, 'म त यस्तै भएँ।' ऊ अलि अगाडि बढी, एकछिन सोची र फर्केर हाँसी, 'ल, राम्रो प्रगति गर्दै जानू। मेरो उमेर पनि तिमीलाई नै लागोस्।' ऊ हतारमा हिँडी र भीडमा हराई। पछाडिबाट आएको बाइकले बेस्मारी हर्न बजायो। म उसले उपहार दिएको उमेर जोगाउन पेटीतिर उक्लिएँ।  THE END!

ANS · Feb 18, 2010 8:20 PM

Pura Upanyassss nai raicha ta sathi !!!

gauleyketo · Feb 18, 2010 8:35 PM

अनि साथी केहि पनि नभनेको त? केहि त भन्ला भनेर एकै सास मा सबै कथा पढेर सके ... झन्डै सास रोकिएन.. जे भए पनि कथा राम्रो छ है... अरु पनि लेख्नु  guchcha chor.

guchcha chor · Feb 18, 2010 8:58 PM

यस्ता कथाहरु नपढेको होइन।कथाको बिषयवस्तु पनि कुनै नौलो होइन तर पनि जसरी परिप्रेक्ष्यलाई उद्ध्रित गरिएको छ त्यो ज्यादै नै सरहनिय छ।भावनालाई बिश्लेशन गरेर तन र मनको मिलन गराउन सक्नु लेखकको विषेशता हो।सरल र संक्षिप्त वाक्यहरुले कथाका सन्दर्भहरुको राम्रो सम्प्रेशण गर्न सकेको छ।जस्तै: "उसको हास्ने शैली पनि गजब थियो। ओठ बिग्रेलान् झैं बिस्तारै तन्काउँथी।" कथाको अन्त्य पनि साह्रै राम्रै प्रस्तुत गरिएको छ।मिठो वाक्यले :"ऊ अलि अगाडि बढी, एकछिन सोची र फर्केर हाँसी, 'ल, राम्रो प्रगति गर्दै जानू। मेरो उमेर पनि तिमीलाई नै लागोस्।' ऊ हतारमा हिँडी र भीडमा हराई। पछाडिबाट आएको बाइकले बेस्मारी हर्न बजायो। म उसले उपहार दिएको उमेर जोगाउन पेटीतिर उक्लिएँ।" ANSजी लाई कथाको लागि धन्यवाद अनी शुभकामना! अस्तु:

highvoltage · Feb 19, 2010 9:33 AM

I am not sure the user ANS is the same person who wrote that story.It was copied from NAGARIK NEWS site. The writer name is BuddiSagar and he has some couple of good stories.

khoikkhoik · Feb 19, 2010 9:41 AM

khoikkhoik & guys, I am not the writer of the story. The writer's name has been there at the top of the story- buddhisagar... he is one of my fav writer... I liked the story and just sharing it here. thanks. Click here to subscribe to khoikkhoik's postings. You will get notification when the users posts in sajha. Loading...';ajaxpage('subscribeto.cfm?userid=fe2eb8c5-1aa2-484c-b0e8-1b5372f660b3','subspan6');">

ANS · Feb 19, 2010 2:28 PM

बुद्धिसागर जी,  राम्रो लघु कथा छ।एकै साथ् पढेर सिध्याए। त्यो टीनएजको याद गराइ दियो। गाउँले स्कुले जिबनको।  कालेदाइ         

kaledai · Feb 19, 2010 2:34 PM

ल ANS ज्यू, बुद्धीसागरज्यूलाई धेरै राम्रो कथाको लागि धन्यवाद सुनाईदिनुहोला। कस्तो मजा आयो भने पढेर! गजब!

Birkhe_Maila · Feb 19, 2010 2:52 PM

Nice Story

satoshnepal · Feb 19, 2010 3:32 PM

Awesome piece of work. Bravo Buddhisagar ji!!!!!

santosh1984 · Feb 19, 2010 5:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all