“There is no greater agony than bearing an untold story inside you.”-Maya Angelou भाग-१ "सोचाइका क्रमहरु सकिए जस्तो, यात्राको अन्तिम बिन्दुमा पुगिएजस्तो, कतै केहि बाकी नरहे जस्तो, यस्तै हुन्छ मलाइ आजकाल। केही कुराको अर्थ भेट्टाउदिन म, कहिँ पनि कारण पाँउदिन म। जीबन वाक्कै लाग्दो रुटिन भएको छ। हरेक कुरा निरस छन्, हरेक क्षण उदास पनि। म भित्र भित्रै थाकेकी छु, आफैभित्र उब्जिने प्रश्नहरुसङ भाग्न थालेकी छु। यो जिबन के हो? म को हुँ? यी आबश्यक्ताहरु के हुन्? मलाइ यस्तै कुराहरुले हरदम पिरोलीरहन्छन्। मलाइ लाग्छ म कुनै दिन यस्तै लहडमा आत्महत्या गर्छु। मेरो लागी जिबन अस्तित्वबिहीन छ। भ्रमको भुँवरीमा रुमल्लिने सपनाका कुराहरु जस्तो। साँच्चै, म आजभोली डराउन थालेकी छु।" "डर ?? के को डर? फेरि पागल पागल कुरा नगर त। हे भगवान! कुन पागल फिलिमको असर हो यो?" फोनमा मेरो कुरा सुनिरहेकी मीली उता हाँस्छे। म छक्क पर्छु। के मीली पनि मेरो कुरालाइ गम्भिरता पुर्बक लिन्न। म फेरि सोच्न थाल्छु, कोही मेरो कुरालाइ किन बुझ्दैनन्? "एक पेग "मार्गरिटा अन द रक", पिउनु पर्छ जिबन सुन्दर देखिन्छ थाल्छ, साथी! ल, भरै ७ बजे आउ त्यही रेस्टुरेन्टमा, आजको ड्रिन्क्स् मेरो तर्फबाट।" भन्दै मीलीले फोन राख्दी। मलाइ बाहिर जाने मन छैन, म कोठाभित्र एक कुनाबाट अर्को कुना गरी हिँडि रहन्छु। छटपटि जस्तो भैरहन्छ, मेरो प्यारो लेखकको नयाँ उपन्यास किनेकी छु, तर यो पढ्नै मन छैन। यसपाली लेखकले लेख्ने शैली परिबर्तन गरेको छ। उपन्यासमा एकपछि अर्को हत्या हुँदैछ, शायाद ३-४ भन्दा बढी मान्छे मरीसके, तर हत्यारा अझै मस्त हिँडीरहेको छ, बिना कुनै पस्चाताप। मलाइ उदेक लाग्छ, म आधी पढेर उपन्यास राखिदिन्छु। हो, मलाइ केही गर्न मन छैन। एकछिन झ्याल बाहिर हेर्छु, पानी उदेकलाग्दो गरी दर्की रहेछ। यो झरीको मौसम हैन तर पनि केहि दिनदेखी लगातार बर्षीरहेछ। मौसमले पनि मुडमा असर गर्छ। कतै मलाइ यही मौसमले त डिप्रेस गरेको छैन? झ्यालबाहिर सडक सफा छ, पानीले फोहोरहरु सबै बगाएको छ, सडक सुनसान छ। मानौँ, सडकमा हिँड्ने मानिसहरु गायब भएका छन्। लाग्छ, उनिहरुलाइ अरु कुनै ग्रहका प्राणीहरुले अपहरण गरेर लगेका छन्। फोनको घन्टी बज्छ, मलाइ उठाउन मन लाग्दैन। मिली हुन सक्छे, अथवा अरु कोही। जो भए पनि के मतलब? कोहि मेरो कुरा बुझ्न तयार छैनन्। म मात्र किन उनिहरुको कुरा सुनु? म त्यतिकै झ्याल बाहिर हेरि रहन्छु, बल्ल एउटा मोटर देखिन्छ सडकमा, त्यसपछि केही अरु मोटरहरु देखिन थाल्छन्। फोनको घन्टी बजि नैं रहन्छ। म उठाँउदिन। अल्छि लाग्छ, दराजको लुगाहरु मिलाउनु पर्नी। एसो हेर्छु छ्यालब्याल छन्, ह्या जति मिलाए त्यस्तै हो। झर्को लाग्छ। हैन, म मिलाउछु भरै सम्म। कोठा सफा राखे मन पनि आनन्द हुन्छ। यति जाबो कोठा मिलाए पनि नमिलाए पनि मेरै हो। यी भित्ताहरु मेरो दुखसुखका साक्षी बनेका छन्। जब संसारदेखि लुकेर म रुन्छु, यिनीहरु चुपचाप हेरिरहन्छन्, अरुलाइ भन्न सक्दैनन् न त सहानुभुतिको लागि केहि शब्द नैं सुनाउछन्। यिनीहरुले मेरो मनलाइ देखेका छन्, शायद बुझेका पनि होलान्। "ढक" "ढक" आबाज सुन्छु, त्यो अर्कै कोठामा होला। मलाइ ढोका खोलेर हेर्न मन छैन। "ढ्याङ, ढ्याङ" ढोकै फोर्ला जस्तो आवाज आएपछि खोलेर हेर्छु। मीली उभिएकी छे, उ मलाइ अङाल्छे, मेरो आँखा त्यतिकै रसाउछन्। "ल, जाउ अब।" मीली ढोकाबाटै भन्छे। "कहाँ?" मलाइ फेरि अल्छि लाग्छ। "कहाँ रे? अघि फोनमा मैले के भनेको थिए?" उ रिसाउदै भित्र पस्छे। "जान्न म कतै।" मलाइ झर्को लाग्छ। "खुरुक्क हिँड्ने।" उ मेरो नजिकै उभिएर मलाइ आदेश दिन्छे। यहा मेरो साथी भने पनि परिवार भने पनि उही एकजना साथी हो। साथीहरु अरु पनि छन्, तर उ सङ जस्तो मेरो मनको कुरा अरुसङ हुँदैन। म अगाडी मेचमा फ्यालेको निलो जिन्स समात्छु र एउटा कुनामा जान्छु। उ मेरो पछि पछि आँउछे, जिन्स थुतेर लान्छे। "के भयो?" मलाइ अचम्म लाग्छ। "यो खुइलिएको जिन्स मात्रै तिम्रो लुगा? जहिले यही थोत्रो पाइट लगाँउछे। अर्को लगाउने आज। जस्तो लुगा लगायो त्यस्तै हुन्छ मन।" मीली दराज खोलेर हेर्छे, कालो जिन्स झिक्छे। "लगाउने म, तिम्रो च्वाइस?" मलाइ पनि रिस उठ्छ। म फेरि निलो जिन्स लगाउन थाल्छु, मीली एकछिनसम्म मलाइ हेर्छे अनि टि वि खोल्छे। हामी ७ बजे अघि नैँ हाम्रो नियमित रेस्टुरेन्टमा पुग्छौ। यो नयाँ हो र त्यति मानिसहरु आँउदैनन्, हामीहरु बस्ने एउटा कौसी छ, जहाँबाट हामी अगाडीको हरियो बङैचा देख्छौ। बङैचाका रुखहरुमा झिलिमिलि बत्ति बालिएको छ। शायद नयाँ भएर होला रेस्टुरेन्ट धेरै सफा छ र शान्त पनि। भित्र पस्नासाथ ढोकैमा स्वागत गर्न बसेको छ एउटा युबक। उ हसिंलो छ र सुन्दर पनि। म भन्दा पनि मीलीसङ त्यो धेरै कुरा गर्छ। तर हामीलाइ थाहा छ उ खराब नियतको छैन। किनभने उ अर्कै समुहको जस्तो देखिन्छ। उसको साथीहरु केटै मात्र छन्, त्यो रेस्टुरेन्टमा सबै त्यस्तै छन्। हामीलाइ ढुक्क छ, कतैबाट टेन्सन छैन। हाम्रो ठाँउमा कोहि बसेका छैनन्। मीली र बस्न नपाउदै "कोटुन" मेनु लिएर आँउछ। हामीलाइ अभिवादन गर्छ। हामीलाइ अर्डर सोध्छ। मीली उसको हालखबर सोध्छे। उ सन्चो छैन। उसलाइ सधै टाउको दुखेको हुन्छ, त्यो दुखाइ बिस्तारै गर्दन हुँदै हाततिर सर्छ। डाक्टरले उसको रोग पत्ता लगाउन सकेको छैन। मीली कुनै दिन २ वटा जिनटोनिक पछि ख्यालख्यालमा मलाइ देखाउदै भन्छे "डाक्टरले निको पार्न नसक्ने रोग उसैले निको पार्न सक्छे।" भनेर मलाइ देखाँउछे। त्यसदिनदेखि मैले कोटुनको मानसिक उपचार गर्नु परेको छ। कोटुन मलाइ देख्नासाथ खुशी हुन्छ। सधै झैँ आज पनि मैले उसको ब्यथा सुनिदिनु पर्छ। "अहिले कस्तो छ कोटुन?" म आफुभित्रको निराशालाइ छोप्दै सोध्छु। "अलि फरक छ।" कोटुनको अनुहारमा दुखाइको संकुचन उस्तै छ। "अलि कम भयो?" मलाइ सकेसम्म छिटो सकाउन मन लाग्छ उ सङको कुरा। "हैन के, पहिला भन्दा दुखाइ फरक भएको छ।" कोटुन टाउको कनाउदै भन्छ। "कस्तो फरक?" मीली सोध्छे। "पहिला टाउको हुँदै यसरी पाखुरा, कुहिना हुँदै हातको औंलाहरु झमझम पोल्थ्यो अहिले चाहिँ हातहरुबाट पेटतिर सरेको छ दुखाइ। पेटभित्र भित्रैबाट कसैले टोक्या जस्तो।" कोटुनको अनुहारमा अरु मुजा पर्छन्। "लौ न, झन बढेछ कोटुनको दुखाइ। अब क्रेजीले तुरुन्तै औषधी दिनु पर्यो।" मीली कोटुनले नदेखिने गरी मलाइ दाँया आँखा झिम्काउछे। "कोटुन! मलाइ लाग्छ तिमी राम्रो डाक्टरका जानु पर्छ। मलाइ त्यस बिषयमा त्यति ज्ञान छैन। साँच्चै भनेको म आफै डाक्टरका जाने बेला भएको छ। तिमी पनि जाउ।" मैले कोटुनको आँखामा म प्रतिको आशालाइ बेवास्ता गर्दै भने। "हैन, मिस क्रेजी! मलाइ त तपाइले अस्ती सिकाउनु भएको कुराले केहि दिन आराम भएको थियो। मलाइ बिस्वाश छ तपाइले मेरो रोग निको पार्न सक्नु हुन्छ।" उसको बिस्वास देखेर मलाइ अचम्म लाग्यो। यो सबै ककटेल र मीलीको बदमाशी हो। मैले मीलीलाइ आँखा तरें। "कोटुन! तिम्रो डाक्टर आज बिरामी हुनुहुन्छ।" उसले छड्के छड्के गर्दै मतिर इशारा गर्दै भनी। "त्यसैले डाक्टरको औषधी ल्याउनु पर्यो, जब उसलाइ औषधीले छुन्छ, त्यसपछी मात्र तिम्रो उपचार हुन सक्छ। हैन त?" भन्दै फेरी मलाइ जिस्काइ। "सरी।" भन्दै कोटुन अर्डर नली फर्किन थाल्यो। "म आज ककटेल पिउदिन, मलाइ खर्बुजाको जुस ल्याउदेउ।" मैले कोटुनलाइ भने। कोटुन एकछिन रोकियो, अनि मीलीलाइ सोध्यो "तपाइलाइ नि मिस मीली?" "मलाइ सधैं झैं जिनटोनिक ल्याउ। आज मैले तिमीहरु दुबैको उपचार गर्नु पर्छ जस्तो लाग्छ।" भन्दै हाँसी। कोटुन हाँस्दै गयो। "बिचरा त्यो सोझो केटोलाइ उल्लु बनाउनु भयेन नि, मीली। उसको समस्या मानसिक जस्तो देखिन्छ। बेकारमा मलाइ डाक्टर बनाएर उसको पीडाको जोक बनाउने है तिमी?" मैले मीलीलाइ सोझै भने, रिसाए नि रिसाओस भनेर। "डाक्टरको समस्या पनि मानसिक त हो नि हैन र? अनि मानसिक डाक्टर र मानसिक रोगी भएपछि रोगको उपचार त सजिलै हुन्छ नि।" उसले उल्टो म प्रति ब्यंग गरी। म चुपचाप आकाशतिर हेर्दै बसें। कोटुनले एकैछिनमा ड्रिंक्स लिएर आयो, मीलीको जिन टोनिक राखि दियो। मैले खरबुजाको जुस देखिन। "यो तपाइको औषधी।" भन्दै कोटुनले मार्गरिटा राखिदियो। म मार्गरिटा, कोटुन र मीलीलाइ पालैपालो हेरिरहे। क्रमश: Last edited: 08-Feb-10 11:55 AM Last edited: 08-Feb-10 12:00 PM Last edited: 21-Feb-10 05:22 AM
crazy_love · Feb 8, 2010 11:45 AM · 71,987 views
त्यही त है Stat! कति मन अमिलो पार्नु! ह्या........ दिक्कै लागि सक्यो! समाप्त लेखु कि क्या हो क्रमश:को ठाँउमा। अर्को भागमा त समाप्त लेख्छु, लेख्छु। कमेन्टको लागि मुरी मुरी धन्यबाद साथी!
crazy_love · Mar 3, 2010 9:59 AM
साहिँली समाप्त नगरौँ होला यो कथा मा कुनै कुनै कथाको अन्त्य हुँदैन अरे ,गोल घुम्ति घुम्छन रे !!! :)
fucheketo · Mar 3, 2010 10:20 AM
तीन भाग पढेर छाडेको थिए आज सके,सकेर एक्छिन छरपुस्ट भएको पजल मिलाउन बसे झै बसेर कथाका पाटाहरु जोडे केही बेर लगाएर अनी पजल बनाउने मान्छे को मन मनै तारिफ गरे। क्रेजी तिमी साचै नै क्रेजी छौ ।
बिस्टे · Mar 3, 2010 11:44 AM
crazy crazy crazy ... i am in love with your writing style.
white_flag · Mar 3, 2010 1:40 PM
एकै साँसमा ७ भाग पढेँ, धेरै बेर दिमाग रन्थनियो। अब सब स्पस्ट भयो। कस्तो बेजोड लेखाइ, म बिचरोले खै के लेख्नु कथा बारे, सप्पैले लेखी सके नि। सार्है मन नै चिसो भयो पढेर। शायद यो कथाको अन्त्य कस्तो होला सोच्न सकेको छैन, तर अन्त्य आउन अझै टाढा छ जस्तो लागिराछ मलाई त। अर्को भागको प्रतिक्षामा म पनि।
perfectionist · Mar 3, 2010 2:29 PM
Crazy, कसरी सक्ने होला एस्तो कथा लेख्न, अनि अर्को भाग कहिले aauchha नी? Guchcha chor
guchcha chor · Mar 3, 2010 10:01 PM
क्रेजी ज्यु, मलाई कथा एक पटक पढ्ने समय नभएको बेलामा, घुमाउने कथा बुझ्नलाई रिपिट गरी गरी पढ्नु पर्या थियो। जे होस कथा बल्ल आएर सलल बग्न थालेछ। जे होस् अब त बुझिन्छ कि भन्ने आशा छ। तर त्यत्रो बिधी घुमाउन सक्ने मनलाई अब त्यै सोझो कथाले डोज पुग्ला र खै? त्यै भएर ४ वटा टेबलेट्को कुरा उठेको............ जे होस् कथा राम्रो छ। कालेदाइ
KAledai · Mar 5, 2010 2:43 AM
भाग-९ कथालाइ शुरु गरेको दिन जस्तो अध्याँरो, रुन्चे झरी परिरहेको र अलि अलि हुस्सु लागीरहेको थियो, आज पनि त्यस्तै छ। मिति, दिन र महिनालाइ नबदले उस्तै उस्तै दिन भन्न मिल्छ। बिहानको यस घडीमा बाताबरण एक्दमै शुन्य छ। मेरो अगाडिको घरमा चरामुसा देखिदैन, यधपि टाढा कतै कतै कारहरु गुडिरहेको आवाज आँउछ। यदि घडि नहेर्ने हो भने म यसैलाइ साँझ मान्न सक्छु र फेरि निदाउने प्रयास गर्न सक्छु। साँच्चै म यो कोठाबाट ननिस्किएको पनि तिन दिन भएसकेछ। बाहिर जाडै होला, त्यस्तै देखिन्छ। चिसो चिसो हावा चल्दै होला, मेरो अगाडीको बुच्चो रुखका हाङाहरु कहिले कहि हल्लिरहन्छन्। बाहिर जे सुकै होस्, भित्रि मन न्यानो हुन सकेको छैन। ठिहिर्याउने चिसो त हैन तर मुटु चिमोट्ने खालको जस्तो छ। एक हिसाबले भन्दा बर्णन गर्न नसकिने खालको पीडा वा शब्दकोशमा नभएको परिभाषा। त्यो दिन मालाइ प्यारालाइसिस हुने संभावना नभएको खबरले मलाइ धेरै राहत महसुस भएको थियो। जे भए पनि अरुको भरमा बाँच्न नपर्ने भयो उ। त्यो भन्दा अरु धेरै खुशी के हुन सक्थ्यो मलाइ? मेरो आँखामा धेरै दिनपछि निद्रा देविको आगमन भएको थियो त्यो दिन। म बिना सिरानी सोफाको एउटा कुनामा सुतेछु, सपना देख्न थालेछु। म मासङ सम्झौता गर्ने प्रयाशमा माको पछि पछि जादो रैछु। मा हाम्रो कौसीमा आफ्नो डाढ पछाडी पारेर उभिएको थियो, म उसलाइ भेट्टाउन छिटो छिटो पाइला सार्दै रैछु। "मा ! सरी! म तिमीलाइ भेट्न आएको, एकचोटि हेर न।" मालाइ मेरो अनुरोधको केहि असर भएको थिएन। उ अघि अघि नै गैरहेको थियो। मैले उ कौसीको डिलनिर पुगेपछि सारीको सप्को समातेर ताने। मा डिल नाघेर हावामा बिलायो। मेरो हातमा उसको सारीको टुप्पो मात्रै आयो। म झसङ भयेँ। ब्युँझेर सपनाबारे सोच्न थाले। त्यसैपनि मनमा भय त छदै थ्यो। एकचोटि चिसो पानीले मुख धोएँ। अलिकति छ्याङ्ग जस्तो भएँ र नेपाल फोन गर्न थाले। यसपाली दिदीले फोन उठाउनु भयो। "मालाइ अहिले कस्तो छ?" म आतिएको थिए। "भर्खरै हामीले मालाइ बेडबाट उठायौँ। मालाइ दाँयाबाँया समातेर एक्छिन हिंडायौ। मा हिँड्नु भयो। अब भोलितिर डक्टरले वार्डतिर सार्ने भनेको छ।" दिदीको आवाजमा केहि निश्चिन्तता थियो। "उसले केहि खायो कि खाएन?" मैले सोधे। "अलिकति सुप २-३ चम्चा पिउनु भयो आज।" दिदीले भन्नु भयो। "दिदी! म मा सङ कुरा गर्छु।" मैले घाँटिभरि गाँठो पार्दै भने। मा र मेरो बोलचाल नहुदा दिदीले मलाइ धेरै सम्झाउनु भएको थियो। तर मेरो अहंले झुक्न चाहेन त्यो बेला। "___ " दिदीको जवाफ आएन उताबाट। "दि, म मासङ माफि माग्छु।" मैले फेरि अनुरोध गरें। "तिमीलाइ थाहा छैन?" दिदीले के कुरा हो नभनी सोध्नु मात्र भयो। "के कुरा?" मलाइ पनि आश्चर्य लाग्यो। "मा को बोली आएको छैन। मा रुनु हुन्छ, तर आवाज आउदैन। बोलाउदा हेर्नु हुन्छ तर जवाफ फर्काउन सक्नुहुन्न।" दिदी उता सुकसुकाउन थाल्नु भयो। म उभिएको भुइ खस्किए जस्तो भयो मलाइ। मेरो आखाहरु रसाए, तर आँसु बनी खस्न सकेनन्, मुटु भित्र नराम्रो गाँठो पर्दै गयो। म भित्तामा अढेश लाग्दै थ्याच्च भुँइमा बसे। अब मेरो बोलीको के अर्थ, यो अस्तित्व जुन मा को कारण यस संसारमा छु, त्यस्को के अर्थ? यो जिबनको के अर्थ? "सुन त! हेल्लो! हेल्लो!" मैले प्रत्युतरमा केहि नबोले पछि दिदी अझै चिन्तित हुनु भयो शायद। "दिदी! म अहिले राखिदिन्छु है।" मैले बिस्तारै भने। "एकछिन पख! मा को आवाज आउन सक्छ रे। स्पिच थेरापि गराउनु पर्छ रे। तिमी त्यस्तो बुझ्ने मान्छे पनि हरेश खानु हुन्छ?" दिदीले उल्टै मलाइ सम्झाउन थाल्नु भयो। "म घमन्डि छु, त्यसैले त भगवानले मा को बोली खोस्यो।" बल्ल मेरो हिक्क हिक्क फुट्यो। "तिमी टेन्सन नलिउ। यहाँ हामीले सक्दो उपचार गरेको छौ। तिमी त्यहा बिरामी भयौ भने हेर्ने मान्छे छैन। माको लागि त हामी सबै छौ यहाँ। तिमी पीर नगर। बरु समय समयमा फोन गर्नु है।" उता दिदीलाइ मेरो पनि चिन्ता थपियो। दिदी मेरो मा पछिको मा, मलाइ के को एलर्जि भयो भने दम हुन्छ, के खानु हुदैन, कति चिसो हुदैन, मलाइ भन्दा बढी उसैलाइ थाहा छ। मेरो त समय रोकियो, म घडिको सुइलाइ मा बिरामी हुनु अघिको पल अगाडि घुमाउन चाहन्थे, र त्यहीनिर, हो त्यही निर मा लाइ स्ट्रोक हुनु भन्दा अघिदेखि अहिलेसम्मको समयलाइ मेटाउन चाहन्थे। यदी म सङ त्यस्तो सफ्ट्वेयर हुँदो हो त पुरै ब्रह्मान्डलाइ उल्टो घुमाउथे र माले बोलेको सुन्न चाहन्थे। मलाइ मा सङ धेरै कुरा गर्नुछ, हामीबिचको बिरोधाभास कुरा गरेरै हटाउनु छ। यो केहि बर्षबिचको शीतयुद्ध निर्मुल पार्नुछ। मैले मा सङ भन्नै पर्छ "तिमी भएर म छु, नत्र यो जिबन, यो प्रतिष्ठा, यो खुशी, यो सम्पनता केहि पनि छैन। तिमी भएर म छु मा!" आज मिली मेरो सामु भैदिएकी भए म उसलाइ अङालेर रुन्थे, वा उ सङ आँसु सापटि माग्थे। म त रित्तो छु, मेरो केहि छैन, मेरो मा को ब्यक्त गर्ने आवाज छैन, मेरो रुने आँसु पनि छैन, हाँस्ने कारण छैन। यो कोठाका भित्ताहरु अझै पनि मलाइ एकतमासले हेरिरहेछन्, शायद टिठ्याइरहेछन्, मेरो मजबुरीप्रति, मेरो असमर्थताप्रति, मेरो अर्थहिन "दम्भप्रति"। म आफैले ब्यक्त गर्न नसकेको दुखबारे चिन्तित छु। कोहि त होला, जसले मलाइ "जजमेन्ट" नगरी यो कुरा सुनिदेला। मैले यो कुरा कसैलाइ त अबश्य भन्नु पर्छ। हैन भने यो मनको असह्य पीडामा जिन्दगीभरि निस्सासिरहनेछु। क्रमश: Last edited: 12-Mar-10 09:16 AM
crazy_love · Mar 8, 2010 11:16 AM
यो फुच्चेले गोल घुम्ति भनेर हामीलाइ तर्साउन खोज्या जस्तो छ नि! बिस्टेले मलाइ पहिला त क्रेजी भनेर चिन्या रहेनछ। लौ परिचय गरौ, नमस्ते बिस्टे जी! white_flag Thanks a lot for being crazy like me! पुरे के भन्छ? आफैले आफैलाइ बिचरो, घाँटि निचरो?? कि के हो? गुच्चाचोर ज्यु, ल आयो आयो भाग-९, "त्यही हो।" कालेदाइ, चारवटा टेबलेटले त के छोला र है? दाइलाइ सन्चै? अस्ति कता हो दाइको नि मन एक्लै छ भनेर पढ्या थे, भाउजु, माइत जानु भयो कि क्या हो दाइ?
crazy_love · Mar 8, 2010 12:34 PM
नमस्ते क्रेजी भाई, बिसन्चो भए नि सञ्चै छु भन्नु पर्नी, अँ भाउजु माइत गए नि घरै भए नि टेन्सन त भै रहन्छ। त्यसैले औसी पुर्णिमामा साझा तिर यसो एक्लै घुम्छु। त्यो टेबलेटले नभेट्नी भए पछि के लाई खाइ राख्नु? दिज्यु लाई जस्तो दोहोरो टेन्सन पर्यो भने ८ वटा एकै चोटि लिनु पर्ला जस्तो पो लाग्यो मलाई त? अर्को भागमा अलि सन्चो भएको समाचार ल्याउनोस प्रभो। धेरै टेन्सन नगरम् ............ कालेदाइ
Kaledai · Mar 11, 2010 1:38 PM
भाग-१० जति सुकै जटिल घटना घटोस वा जस्तो सुकै मानसिक वा भौतिक क्षति होस्, जिबन रोकिदो रहेनछ। क्यालेन्डरका मितिहरु एक पछि अर्को गर्दै परिबर्तन हुने रैछन्, साँझपछि रात र रातपछि फेरि बिहानीको क्रम जारी रहदोँ रैछ, मन मरी गएपनि बाँच्नै पर्ने रहेछ। जे जसरी पनि यो श्वाशप्रश्वाश प्रक्रियालाइ निरन्तर्ता दिनु पर्दो रहेछ। आफुलाइ केहि हदसम्मको लागि ब्यस्त बनाउन मैले काममा जान शुरु गरेँ, मेरो लागि आर्थिक सबलता जति महत्वपूर्ण थियो त्यति नै आबश्यक्ता थियो उनिहरुलाइ मेरो। मिस जोन्स अझै पनि आफ्नो कोठा बिर्सिरहेकी थिए, घरि घरि "मेरो कोठा कहाँ छ?" भन्दै सोध्थी। मिसेज रोबिन्स अझै बेडमा सुतिरहेकी थी, कहिलेकहि दोहोरो कुरा गर्न थालेकी छे भन्ने सुने। मिस्टर बर्माको बेडमा अरु कोही आइसकेको रहेछ। केहि नयाँ अनुहार र केहि पुरानै चिनारीहरु केलाउदैँ मेरो आफ्नो काम शुरु गरेँ। दुइ चोटि मिस जोन्सलाइ उनको कोठामा पुर्याउन गँए, तर उ फेरि बाहिर निस्की। मिसेज रोबिन्सको खाने समय भएपछि म उसको टिनको तरल खाना लिएर उनको कोठाभित्र पसे। उ मलाइ हेरीरही, मैले उसको हात समाउदै "मिसेज रोबिन्स तपाइ आज निकै उज्यालो देखिनु भएको छ नि?" भन्दै अभिबादन गरेँ। उ बोलीन। शायद धेरै दिनपछि मेरो अनुहार उसले ठम्याउन सकिन वा अलमल्ल परी। हुन त मैले जे भने उसले बुझिन। उसको खाना पाइपबाट खनाउदैँ मैले आफ्नो गुम्सिएको मनलाइ छोडाउन थालेँ। "तपाइ कहिले हिँड्ने होला? यो बेडमा सुतेको महिनौँ भइसक्यो, कहिले त उठ्नुस्, बरन्डामा जानुस्, घाम ताप्नुस्, रङिबिरङी फूलहरु हेर्नुस्, केहि त भन्नुस्। मुखबाट केहि खानुस् र भन्नुस् "अति स्वादिस्ट!" के तपाइलाइ यो परजिबी जिबनदेखि पट्ट्यार लाग्दैन?" मिसेज रोबिन्स मलाइ अनौठो मानेर हेर्दैथी। मलाइ आफुले भन्न नहुने कुरा भनेछु जस्तो लाग्यो। मैले तुरुन्तै माफि मागे। "मलाइ माफ गर्नुस्, मिसेज रोबिन्स! म जिबनको एक्दम जटिल मोडमा उभिएको छु, मेरो लागि ग्लानि र पस्चातापको लागि पनि ठाँउ राखिएको छैन। मबाट ठुलो भुल भएको छ, सच्याउन नमिल्ने भुल!" मेरो आँखाहरु टम्म भरिए, मैले मिसेज रोबिन्सलाइ हेर्न सकिन। उसले दाँया हातले बिस्तारी मेरो बाँया हात समाइ, अनि मलाइ एकोहोरो हेरीरही। "मेरो आमाको बोली भगवानले खोस्नु भएको छ।" मेरो आखाँबाट निर्बाँध आँशुहरु खसिरहे। मिसज रोबिन्सले मेरो हातलाइ उसको हत्केलाले मुसारीरही। एकछिनपछि मैले आँखा पुछेँ र "सरी" भने। "त्यही हो!" मिसेज रोबिन्सले अकस्मात बोली। " के त्यही?" मैले हत्त न पत्त सोधेँ। "जिबन!" मिसेज रोबिन्सले उत्तर दी। उसले पहिला समय भनेकी थिइ, अहिले जिबन भन्दैछे। "के जिबन सुल्ट्याउन नसकिने घटनाको सम्पूर्ण रुप हो?" मैले फेरि सोधेँ। "त्यही हो!" मिसेज रोबिन्सले खालि त्यति मात्र भनी। ****************************************************************************** त्यसपछि मेरो मा सङ भेट भयो, पहिलो पटक भेट्दा हामीबिच अश्रु संबाद भयो। उसले मेरो टाउको मुसारीरह्यो, म उसको हात समातेर रोइरहेँ। त्यसपछि मैले थाहा पाएँ, स्पिचथेरापीले उसको आवाज त आएछ, तर नबुझिने गरी। उ पहिला जस्तो शब्दहरु बनाउन सक्दो रहेनछ। उ के के सोधि रहन्थ्यो, म अनुमानले उत्तर दिरहन्थे। उ फेरि त्यही कुरा दोहोराउथ्यो। म उसको कुरा बुझेको जस्तो गर्थे, बास्तबमा बुझ्न सक्दिनथे। उ सङको केहि समय न्यानो थियो। तर पनि म उसलाइ त्यो अबस्थामा हेर्न सक्दिनथेँ र सकेसम्म भाग्न चाहन्थे। म झन झन कमजोर हुँदै गएको थिँए, म उसलाइ पहिलेकै अबस्थामा देख्न चाहन्थे। मलाइ डर मात्र लाग्थ्यो, उसलाइ केहि भइ हाल्यो भने। उसको डक्टरसङ भेटेँ, बोली आउन सक्ने संभाबना छ तर समय लाग्छ भन्ने थाहा पाँए। स्पिचथेरापिस्टले चाहि उमेरको कारणले त्यति प्रगति हुन सकेको छैन भन्यो। तर पनि मलाइ मा को आत्माबलप्रति बिस्वास छ, कुनै दिन उ जरुर बोल्नेछ पहिले जस्तै। मैले उसलाइ त्यसै भनेको छु। "मा तिमी बोल्न सक्छौ, स्पिच थेरापी राम्ररी प्र्याक्टिस गर।" उसले टाउको हल्लाएर "ल" भन्यो। फर्किने दिनमा मलाइ फेरि उ रोला भन्ने पीर परेको थियो, तर उ मलाइ बिदा गर्दा यसपाली रोएन, मैले चाहि जबर्जस्ति आँसु रोके र बाटोमा रोएँ। मेरो मनमा एउटा प्रश्न आइरहेको थियो "के अर्कोचोटि नेपाल फर्किदाँ मैले मालाइ भेट्न पाँउला?" कथा कहिले सकिदैन, सकाउने र नसकाउने कुरा लेख्ने मान्छेको हातमा भर पर्छ। मैले यो कथालाइ यहाँ रोकेको मात्र छु, सकिएको छैन। अन्त्यमा आफ्नो अमूल्य समय खर्चेर प्रतिक्रिया दिनुहुने सबै साथीहरुलाइ म हार्दिक धन्यबाद दिन चाहन्छु। धन्यबाद!
crazy_love · Mar 12, 2010 10:24 AM
कालेदाइ म भाइ होइन क्या! कि दाइले त्यसै भाइ भन्नु भाको? अब भाउजु माइतबाट फर्केपछि भाउजुलाइ पनि साझामा ल्याउनुहोस है, अनि मेरो नमस्कार पनि सुनाइदिनुस्। मैले ट्याबलेट स्याबलेट छोडिसके दाइ, आजकाल म दाइ जस्तै सोबर भाको छु क्या।
crazy_love · Mar 12, 2010 10:30 AM
OMG crazy, I am out of words, how could you put such feelings in your writing.... "ma ta maa lai chhodera kahi janna".
kHusHii · Mar 12, 2010 10:43 AM
मैले पनि पढेँ र सुनेँ, अरु त खै के भन्नु र। लेखाइको त के बर्णन गराइ भो र, त्यो त भनेर भनी साध्य छैन, अनी expression यो कथामा spotless। अव्सम क्रेजी पर्मात्मा, माको सु-श्वास्थको कामना गर्दै, लेख्न चाँही नरोक्नु होला भन्न चाहन्छु
perfectionist · Mar 12, 2010 1:43 PM
U left my lines............at the end...........त्यो खोइ के के भन्छ नि मागेको उज्यालो भेटे जस्तो लाग्यो अन्त्यमा !!!! अर्को पनि यस्तै जाओस् !!!!!!!!
fucheketo · Mar 12, 2010 10:28 PM
त्यही हो क्रेजी ! कथा सारै गहन छ... आउदादिनहरुमा अरु कथा पढ्ने आशा राख्दै ... guchcha chor !
guchcha chor · Mar 13, 2010 10:05 AM
क्रेजी भाई, म त दाई नै जस्तो लाग्छ। मात्रै यो साझाको सानो नाता है। ट्याबलेट खाना छोडेछौ जाती भो। अनि भाउजुलाई त मैले पैले नै जाऔ भन्या हो नि, फुर्सद नै नभएर न आ, म त बल्ल तल्ल आइ राछु। बरु यिनै कथाहरु मैले भाउजुलाई सुनाइ देको अति मन पराइ। मैले नमस्ते पनि सुनाइ दिए, अनि नम्स्ते फर्काइ छे भाउजु ले। "कथा सारो राम्रो लाग्यो रे, बरु छिटो सिध्धियो" भनेर कम्प्लेन गर्दै थिई, मैले भने "आत्तुरिमा लेखेको उता काम गर्नु बिजी छ रे" भनेर लाई दिए। फेरी सोध्धै थिई "अर्को कथा कहिले आउने रे ????" भनेर............................ त्यही हो क्रेजी, मा को सु स्वास्थ्यको कामना!!!! कसैलाई पनि प्यारालाइसिसले नभेटोस..... कालेदाइ
Kaledai · Mar 16, 2010 2:14 PM
बिहान ५ भाग अनी बेलुका पाँच भाग गरेर सप्पै भाग पढे , मज्जाले अगाउन जेल पढ्न पाइयो ल, कथा गज्जब ।
Harka_Bahadur · Mar 16, 2010 8:32 PM
Great story and well-written as usual.
NitiSa · Apr 4, 2010 5:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion