Marine Sweta Lamichhane in Hollywood!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Good Luck, Sweta! हलिउडमा नेपाली सुन्दरी केशव कोइराला काठमाडौ, माघ २२ - एक नेपाली अनुहार अहिले अमेरिकी सिनेमाको केन्द्र हलिउडमा छाइरहेको छ । सोह्र वर्षको उमेरमा पहिलोचोटि अमेरिकाको फिल्म राजधानी हलिउड घुम्न गएकी श्वेता लामिछानेले अहिले त्यहाँ व्यावसायिक रुपमा अभिनय गर्न थालेकी छिन् । दुइटा चलचित्रमा प्रमुख भूमिकामा र तीनवटा टिभी शोमा अभिनय गरिसकेकी यी २६ वर्षे युवती सम्भवतः हलिउड फिल्म उद्योगमा प्रवेश गर्न सफल पहिलो नेपाली महिला हुन् । लक्ष्य बनाउने अनि त्यसलाई पाउन सक्दो मेहेनत गर्नुपर्छ भन्ने उनी त्यहाँ सफल अभिनेतृका रुपमा स्थापित हुन कम्मर कसेर लागेकी छिन् । ललितपुरको पाटन अस्पतालमा २०४१ साल बैशाखमा जन्मिएकी श्वेताको बाल्यकालदेखिकै सपना थियो हलिउड । त्यसलाई साकार पार्न उनले अमेरिकी सेनाको मरिन कोर (नौसेना) को आफ्नो करिअर छोडिदिइन् । अब उनको अर्को सपना छ-चलचित्र जगतमा संसारकै सर्वोत्कृष्ट मानिएको ओस्कार पुरस्कार जित्ने । 'अभिनयका लागि मैले धेरै संघर्ष गर्नु परेन । म खालि आफ्नो सपना पछ्याउँदै छु । यसो गर्दा मलाई आनन्द मिल्छ,' उनी भन्छिन् । हलिउड प्रवेशबाहेक उनको पोल्टामा अर्को रेकर्ड पनि छ, अमेरिकी नौसेनामा प्रवेश गर्ने प्रथम नेपाली महिला हुन् उनी । कसरी शुरु भयो त उनको हलिउड यात्रा ? गत वर्ष लस एञ्जलसको एल क्यामिनो कलेजबाट रंगमंचमा डिग्री लिएपछि उनले प्रतिष्ठित बेभर्ली हिल्स प्लेहाउसबाट अभिनयको तालिम लिइन् ।  चर्चित हलिउड स्टारहरु जर्ज क्लुनी, जिम केरी र मिसेल फाइफर पनि बेभर्ली हिल्सबाटै प्रशिक्षित हुन् । श्वेताले अभिनय र चलचित्रका लागि नाम कमाएको स्कुल न्युयोर्क फिल्म एकेडेमीले निर्माण गरेको 'डेस्टिनी' नामक चलचित्रमा प्रमुख भूमिका निभाएकी छिन् । डिज्नी च्यानलबाट प्रदर्शन गरिने छोटो चलचित्र 'सुट 'एम् अप' मा पनि उनको लिडिङ रोल छ । ओस्कार विजेता अभिनेतृ हिलेरी स्वाङ्कसँग एमटिभीले निर्माण गरेको 'फ्रिडम राइटर्स' मा काम गरिसकेकी श्वेताले अर्का चर्चित अभिनेता जोन स्टेमससँग 'इआर' नाम गरेको टिभी शोमा अभिनय गरेकी छिन् । त्यसबाहेक उनले अन्य दुई टिभी शो 'गि्रक' र 'ग्ली' मा पनि काम गरेकी छिन् । 'मेरो अनुहार देखेर मान्छेहरु झुक्किन्छन् । नाम सुनेपछि तिमी के हौ भनेर सोध्छन्,' उनीले गुगलटकमा हेलो शुक्रबार का लागि हालैको अन्तर्वार्तामा भनिन्, 'म नेपाली हुँ भन्छु । सबैजना छक्क पर्छन् ।' इआरको सुटिङका बेला एक दिन गि्रक मूलका अमेरिकी नायक स्टेमसले श्वेता नेपाली हुन् भन्ने थाहा पाएपछि 'तिमी नै मैले भेटेको पहिलो नेपाली हौ' भनेका रहेछन् ।  यस्ता थुप्रै 'पहिलो अनुभव' छन् उनीसित । श्वेताको अमेरिका प्रवास शुरु हुनुअघि उनको परिवारको कथा कोट्याउनु पर्ने हुन्छ । काठमाडौंको भाटभटेनीका सीएम लामिछानेले २४ वर्षअघि अष्ट्रेलियाको जेम्स कुक युनिभर्सिटीमा मोलिक्युलर बायोलोजी पढ्न छात्रवृत्ति पाए । उनका साथमा श्रीमती ललिता र दुई छोरी पि्रयंका र श्वेता पनि उतै गए । काठमाडौं छोड्दा श्वेता दुई वर्षकी थिइन् ।  त्यसको छ वर्षपछि लामिछाने परिवार अमेरिका बसाइँ सर्‍यो । श्वेता अमेरिकामा नै हुर्किन् । दिदी पि्रयंकाका अनुसार अलि सानी छँदा लजालु स्वभावकी भएपनि श्वेता सिँगारपटार गर्न र अरुको नक्कल गर्न भने सिपालु थिइन् । 'खेल्दा पनि उसलाई सकेसम्म केही नौलो गर्नैपर्ने । कहिले बूढी भएको नक्कल गर्थी त कहिले अर्कै मान्छेको जस्तो,' नेसनल जियोग्राफीक सोसाइटीमा सम्पादक रहेकी उनले आफ्नी माहिली बहिनीका बारेमा भनिन् । प्रायःजसो कल्पनामा रम्ने श्वेतामा अलि ठूली भएपछि नै अभिनय गर्ने इच्छा पलायो । 'हाइस्कुल पुगेदेखि नै ऊ लस एन्जलस जाने र अभिनय गर्ने कुरा गर्थी,' पि्रयंका थप्छिन् । तर हरेक दिन हलिउडको कुरा गर्न रुचाउने र त्यसैको सपना देख्ने श्वेता हाइस्कुलपछि भने अभिनयमै करिअर बनाउन सकिने कुरामा निश्चित हुन सकिनन् । कहिले बिजनेस त कहिले साइकोलोजी पढ्ने विचार गर्दै गरेका बेला उनी अमेरिकी नौसेना युनाइटेड स्टेट्स मरिन कोर (युएसएमसी) मा भर्ती भइन् । अमेरिकाको साउथ क्यारोलाइनाको पेरिस आइल्यान्डस्थित केन्द्रबाट तीन महिने कडा तालिम सफतलापूर्वक सकेपछि उनका अगाडि जलसेना र स्थलसेनामा प्रवेश गर्न ढोका खुल्यो । त्यसपछि उनी नर्थ क्यारोलाइनाको क्याम्प लाजुने गइन् जहाँ उनले थप एकमहिने कम्ब्याट तालिम लिइन् । त्यसपछि २९ पाल्म्स क्यालिफोर्नियामा तीन महिने जब ट्रेनिङमा उनी उत्कृष्ट ठहरिइन् । त्यसपछि उनले नयाँ मरिनलाई तालिम गराउनुपर्ने भयो । तालिमका बेला श्वेता कम्पनी कमान्डरको निजी चालक थिइन् । दुई वर्षपछि उनले सादर बिदा (अनरेबल डिस्चार्ज) पाइन् । मरिन कोरमा रहँदा पनि उनको हलिउड सपना ज्युँकात्युँ रह्यो । फेरि भर्ती भएर नौसेनाको जागिर खाने अवसर छोडेर उनी कोलोराडो गइन् । इतिहास विषय लिएर पढ्दै गरेकी उनी बीचमै पढाइ छोडेर सन् २००७ को बसन्तमा लस एन्जलस छिरिन् । 'मलाई थाहा थियो, ऊ एक दिन एलए (लस एन्जलस ) जान्छे जहाँ उसको सानैदेखिको सपना हलिउड छ,' श्वेताकी 'नजिककी साथी' दिदी पि्रयंका भन्छिन् ।   हलिउड छिर्दा श्वेतासँग सपनामात्रै हैन, क्षमता पनि थियो । परिवारले पनि हौसला दियो । नौसेनाको तालिमले दिएको आत्मविश्वासका साथ उनी रंगमंचसम्बन्धी औपचारिक पढाइ गर्न थालिन् । एल क्यामिनो कलेजमा पढाइसँगै सामुदायिक नाटकमा पनि अभिनय गर्नथालिन् जुन अहिले पनि जारी छ । कलेजपछि उनले बेभर्ली हिल्समा प्रवेश पाएकी हुन्  जहाँबाट उनलाई अनेकौं अवसरले चिहाइरहेका छन् । अहिले दैनिक रिहर्सल र अडिसनमा उनको जीवनको पाटो भएको छ । आठ/नौ महिनादेखि मात्रै व्यावसायिक अभिनय गर्न थालेको भएपनि आफूले ठूलै सफलता पाइसकेको उनको भनाइ छ । अनि यति छोटै समयमा ओस्कारको सपना ? नेपोलियन बोनापार्टको कथन सापटी लिएझैँ गरी उनी भन्छिन्, 'असम्भव केही पनि छैन । मैले अभिनयलाई सपना बनाएकी छु र त्यसलाई पूरा गर्न लागेकी छु ।' कामसँगै भगवानमा पनि विश्वास राख्दिरहिछन् श्वेता । आफू सपनाको कारखाना हलिउड फिल्म इन्डस्ट्रीमा भएकाले यो सपना जति बेला पनि पूरा हुनसक्ने उनको विश्वास छ । मरिन कोरको तालिमले आफ्नो प्रतिभा र आत्मविश्वासमा निखार ल्याएको उनी बताउँछिन् । भन्छिन्, 'त्यहाँको अनुभवले म ठूला निर्देशकका बीच पनि बिना संकोच काम गर्नसक्छु ।' व्यावसायिक कलाकारको संगठन स्क्रिन एक्टर्स गिल्ड (साग) सँग आबद्ध हुने क्रममा रहेकी श्वेता आफूलाई धेरैले सहयोग गरेका कारण अरुहरुले जस्तो ठूलो संघर्ष गर्नु नपरेको बताउँछिन् । सानैमा नेपाल छोडेर विदेशमै हुर्केबढेकी श्वेता दुईचोटि जन्मथलो आइसकेकी छिन् । १२ वर्षअघि चितवन घुमेको, आफ्नी हजुरआमासँग ठमेलमा मम खाएको र नगरकोटमा पिकनिक गएको उनले बिर्सेकी छैनन् । उनी बहिनी आसिकालाई लिएर यो वर्ष फेरि काठमाडौं आउने विचारमा छिन् । उनका बाबुआमा वासिङ्टन डिसीमा बस्छन् तर उनी भने लस एन्जलसमै छिन् । 'घरमा म नेपालीमा बोल्छु तर अंग्रेजी एक्सेन्ट (लवज) मा,' उनी हाँस्दै भन्छिन्, 'नेपालबाट आएकाहरुले मेरो नेपाली मन पराउँछन् ।' समुद्रको किनारमा हिँड्न खुब मन पराउने श्वेताको रुचिमा किताब पढ्नु र चित्र बनाउनु पर्छन्  । के उनी नेपाली गीत सुन्छिन् ? नारायण गोपाल, १९७४ एडी र नवीन के भट्टराईकी फ्यान उनलाई  'यौटा मान्छेको मायाले कति,' 'परेलीमा लुकाई राखन,' 'यो मन त नेपाली हो,' र  'यो बाटोमा' जस्ता गीत मन पर्दारहेछन् । बौद्ध भिक्षु बन्न चाहने एउटा अमेरिकी साथीसँग ध्यान गर्न सिकेको बताउने श्वेता दैनिक पाँच मिनेटदेखि आधा घण्टा त्यसमा खर्चन्छिन् । 'मेडिटेसन गर्दा स्वासप्रस्वासमा फोकस गर्छु । सधैं कामको दौडधूपमा रहनुपर्ने भएकाले त्यो समय आफूलाई चिन्नका लागि हो,' उनी भन्छिन् । ठूला सपना देखेकी श्वेताको अर्को योजना छ, समाजसेवा गर्ने । 'म नेपालमा अनाथाश्रम खोलेर सेवा गर्न चाहन्छु,' अंगे्रजी लबजमा उनले भनिन् । भारतीय नायिका काजोल र हलिउड भिभिएन लेघ उनलाई मन पर्ने कलाकार हुन् । सानो छँदा सन्तोष पन्तलाई अमेरिकामा केही पटक भेटेकी रहिछन् । भन्छिन्, 'पन्त धेरै फनी छन् ।' आफ्नो उचाइ लगभग '५ फिट ३ इन्च' रहेको तर त्यसले हलिउडमा खासै फरक नपर्ने उनको दाबी छ । भन्छिन्, 'हिलेरी पनि मेरै हाइटकी हुन् । यहाँ कलाकारहरु कदले हैन, कलाले जम्छन् ।' Source: http://www.ekantipur.com/np/ Last edited: 05-Feb-10 10:23 PM

Bhakte · Feb 5, 2010 10:19 PM · 19,470 views

3 Replies

:)

Bhakte · Feb 6, 2010 4:57 PM

Thumbs Up for sweta, she looks more like Hollywood type than nepali

grunzgurkha · Feb 6, 2010 6:36 PM

Sweta................

justfunny · Feb 6, 2010 8:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all