ढाकामा नाङ्गिँदैछ नालायकी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ढाकामा नाङ्गिँदैछ नालायकी मंगलवार, 02 फेब्रुअरी 2010 06:58 नागरिक भारतविरुद्धको हकी खेलमा नेपाल २१-० ले पराजित भएको थियो। अजय फुयाल, काठमाडौ, माघ १९- चार दिनको प्रदर्शन हेर्दा ११औं दक्षिण एसियाली खेलकुद नेपालका लागि सबैभन्दा दुखद संस्करण ठहर्नसक्छ। बंगलादेशको ढाकाबाट नेपाली जम्बो टोलीले सफलताभन्दा नालायकीका खबर ज्यादा पठाएको छ। अहिलेसम्म नेपालले कुनै स्वर्ण पदक जित्न सकेको छैन। बरु नेपाली असफलता दक्षिण एसियामा समाचारको विषय बन्न थालेका छन्। आखिर किन नेपालले १२ दिन चल्ने दक्षिण एसियाली खेलकुदको कुम्भमेलामा चार दिन बितिसक्दा पनि सुखद नतिजा दिन सकेन त? तेइसमध्ये १२ खेल सुरु भइसक्दा पनि नेपालले अझैसम्म सफलताको कुनै संकेत गर्न सकेको छैन। तेक्वान्दो, कराते, उसु, एथलेटिक्सजस्ता विगतमा नेपाललाई सफलता दिलाएका खेल सुरु भइसकेको छैन, तथापि पुरुष फुटबल, भारोत्तोलन र जुडो पनि नेपालले आशा गरेका खेल हुन्। बास्केटबलमा पनि माल्दिभ्ससंग नेपालको पराजय सोचेको विषय होइन। छब्बिस वर्षअघि काठमाडांैबाट सुरु भएको दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपाली खेलाडीको प्रदर्शन यस्तै रहने हो भने यो साग सबैभन्दा दुखद संस्करणका रूपमा दरिनेछ। पक्कै पनि यसको जिम्मेवारी खेलाडीले लिन सक्ने छैनन्। खेलाडीलाई खेल्नका लागि उचित वातावरण तयार गर्न नसक्ने पदाधिकारी, सरकार, राष्ट्रिय खेलकुद परिषद (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी), सम्बन्धित संघ र प्रशिक्षकहरूले खराब प्रदर्शनको जिम्मेवारी लिनुपर्छ। किनकी सफलता आउँदा जसको भागिदार पनि उनीहरू नै हुन्। आखिर ११औ दक्षिण एसियाली खेलकुदमा नेपालका तर्फबाट के के कमजोरी भए त? तयारीदेखि खेल सुरु भएको चार दिनको गतिविधिअनुसार नेपाली खेलनेतृत्व यसमा सबैभन्दा नालायक देखिएको छ। दक्षिण एसियाली खेल महारथी भारतको भन्दा पनि ठूलो प्रतिनिधिमण्डललाई राष्ट्रिय ढुकुटी निचोर्दै ढाका सयर गराउनु नेपाली खेल नेतृत्वको सबैभन्दा ठूलो अपराध हो। भारत सागका हरेक संस्करणको निर्विवाद विजेता रहँदै आएको छ। तर यसपाली नेपालले जम्बो टोली लाने प्रतिस्पर्धामा भारतलाई पराजित गरेर साग सुरु हुनुपुर्व नै एउटा ...कुख्यात स्वर्ण' जितिसकेको थियो। अनावश्यक पदाधिकारी, राजनीतिक कार्यकर्ता र पत्रकारलाई ढाकाको सयर गराउँदा राखेपले अतिआवश्यक प्रशिक्षकको कोटा काटने दुस्साहस गर्‍यो। जसका कारण सागमा नेपाली खेलाडीको प्रदर्शन अझ प्रभावित हुने आशंका गरिएको छ। बाइस दलको सरकार भएकाले सवै दलको कार्यकर्ता बिदेश लैजाने दवाव राखेपमा थियो। मन्त्री र सदस्यसचिवको दलका कार्यकर्ताले प्राथमिकता पाउनु यस्तो अवस्थामा स्वभाविक बन्यो। ननिस्कने पत्रिका, खेलकुद नबुझेका पत्रकार, प्रशारणमै नआएका टेलिभिजन अनि कहिल्यै खेल समाचारलाई प्राथमिकता नदिने सञ्चारमाध्यमलाई पनि लगेर राजनीतिक जस लिन परिषद नेतृत्वले मरिहत्ते गर्‍यो। यसपाली सर्वाधिक ३८ पत्रकार सरकारी भत्ता लिएर ढाका पुगेका छन्। व्यवस्थापनको गैरजिम्मेवारीपनाका कारण साग उद्घाटनको दिन नै ढाकाको होटल इम्पेरियलको लिफ्ट चुडिदा नौ नेपाली खेलाडी घाइते भए। तीन खेलाडी गम्भिर घाइते भए। यही दुर्घटनाका कारण स्वर्ण पदकको दावेदार देवु थापा कास्य पदकमै सिमित हुनुपर्‍यो। होटल व्यवस्थापनले लिफ्टमा क्षमताभन्दा बढी १७ जना एकैपटक चढेकाले दुर्घटना भएको जनाएको छ। नेपाली टोलीले यसको आधिकारिक खण्डन गर्न सकेको छैन, यसको मतलब आफ्ना खेलाडीलाई यसरी क्षमताभन्दा बढी व्यक्ती लिफ्टमा चढनबाट रोक्न नसक्नु टिम व्यवस्थापनको कमजोरी स्विकार्नु सरह हो। किनकी हरेक खेलमा कम्तिमा एक पदाधिकारी व्यवस्थापकको रुपमा ढाका पुगेका छन। सम्पुर्ण क्षेत्रको ध्यान तान्ने खालको यो दुखद घटना भएलगत्तै नेपाली टिमका सेभ दि मिसन राखेपका सदस्यसचिव हरिबाबु चौधरी घटनास्थल पुगे पनि उनले ...यो मेरो काम होइन' भनेर उदघाटनस्थलतिर जानु गैरजिम्मेवारीपनाको अर्को नमुना हो। राष्ट्रको पैसामा भत्ता लिएर खेलाडी र खेलको नाम भजाउँदै सेभ दि मिसनको रुपमा त्यहाँ पुगेका चौधरी २६ घन्टापछि घाइते खेलाडी भेट्न होटल पुग्दा अरु खेलाडीको मनोबल कसरी उच्च रहन सक्छ? दक्षिण एसियामा नेपाललाई औपचारिक रुपमा प्रस्तुत गर्दा ढाकामा नेपालको राष्ट्रिय गान र झण्डाको मर्यादासमेत कायम राख्न सकिएन। तीन वर्षअगाडि श्रीलंकाको कोलम्बोमा झै नेपालको पुरानै राष्ट्रिय गान ...श्रीमान् गम्भीर' बजाइयो। नेपालको झन्डा चारपाटे कपडामा राखेर फहराइयो। पछि सुधार गरिए पनि चन्द्रलाई तल सूर्य माथि गरेर झुन्ड्याउने काम ढाकामा भयो। अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको आधिकारिक संस्था एनओसीले देशको राष्ट्रिय गान र झन्डाको बारेमा समेत राम्ररी जानकारी गराउन नसक्नु उसको नालायकी नै हो। बंगलादेशको ढाकामा नेपालको बेइज्जत यतिमै सीमित रहेन। पदक जितेर सम्पूर्ण नेपालीको मुहारमा मुस्कान दिने दायित्व बोकेर गएको कबड्डी टिमले गति छाड्दा अन्तर्राष्ट्रिय जगतमा नेपाली खेलकुदको वास्तविक अवस्था छताछुल्ल भयो। खासमा नेपाल कबड्डी संघका अध्यक्ष सुनिलराज कर्णिकार र प्रशिक्षकबीच मैदानमै हात हालाहाल हुँदा झगडा छुट्टयाउन समेत एसियाली कपर्दी महासंघका पदाधिकारी आवश्यक पर्‍यो। भारोत्तोलनमा १०औं सागका स्वर्ण पदकधारी कमलबहादुर अधिकारीले तीन जनाको प्रतिस्पर्धामा पनि काश्य पदक ल्याउन सकेनन्। अयोग्य भएर प्रतिस्पर्धाबाट बाहिरिएका उनलाई संगै गएका प्रशिक्षकले तीन जनामा तेस्रो बनाउने सामान्य जुक्ति सिकाउन सकेनन्। साग इतिहासमा नेपालका लागि सफल मानिएको खेल करातेमा १० खेलाडी सहभागी गराउनुपर्ने ठाउँमा १५ खेलाडीलाई तयारीमा राख्ने काम भयो। बंगलादेशी आयोजकले विश्व कराते महासंघको नियमविपरित काता र कुमितेमा एकै खेलाडीलाई सहभागी गराउनुपर्ने नियम बनाउँदा मुकदर्शक भएर नेपाली प्रतिनिधिमण्डल फर्कियो। अहिले नेपाल कराते महासंघ सबै खेलाडीलाई जबरजस्ती ढाका लगेर खेलाउन प्रयास गर्ने, नपाए खेलै बहिस्कार गर्नेसम्मको योजना बनाइरहेको छ। कराते महासंघको योजना आफ्नो ठाउँमा ठिकै भए पनि यसले नेपाली खेलाडीको मनोबल पक्कै बढाउने छैन र यो परिपक्व कदम पनि होइन। फुटबलमा सधैं स्वर्ण पदकको हकदारका रुपमा प्रतियोगितायात्रा सुरु गर्ने नेपालको यसपाली पनि विगतझै प्रदर्शन बिर्सनलायक रहयो। यसपाली पनि फुटबलमा टिम छनोटदेखि नै प्रशिक्षकबाट सुझबुझपुर्ण काम हुन सकेन। बीस जनाको टिममा ८ रक्षक, दुई गोलकिपर र ६ फरवार्ड छान्ने काम भएको थियो। ४-४-२ को रणनितीमा खेल्न छानिएको यस्तो टिममा चार मिडफिल्डर मात्र थिए। अन्य पोजिसनका खेलाडीलाई जबरजस्ती मिडफिल्डमा खेलाएर नतिजा निकाल्ने प्रशिक्षकको योजना आफैमा मुर्खतापुर्ण थियो। सरकारले समयमा बजेट नदिदा तयारी प्रभावित भएर सुरु भएको कमजोरी अन्तसम्म पनि कायम छ। प्रधानमन्त्रीको अनावश्यक पदाधिकारी नलाने ठाडो आदेश सिधै मिचेर होस वा खेलाडीलाई ढाकामा खेल्नका लागि उचित वातावरण नदिएर, राखेप र एनओसीले कमजोरीलाई निरन्तरता दिइरहेकै छन्।  Source: http://nagariknews.com/sports/... Last edited: 03-Feb-10 03:58 PM

ANS · Feb 3, 2010 3:54 PM · 2,987 views

1 Reply

I thought the players really took off their clothes to have sex..... ha ha.. lol...

Ved555 · Feb 3, 2010 9:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all