सुजाताका कर्तुतहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मुख्य समाचार >> परराष्ट्रमन्त्रीका पिए ठूलो रकम लिएर बेपत्ता/'विदेशीलाई राहदानी दिने काण्डमा संलग्नता हुनसक्छ' कान्तिपुर संवाददाता काठमाडौ, २०६६ माघ १३ -  उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाका प्रमुख स्वकीय सचिव भरत सापकोटा ठूलो रकम संकलन गरी सम्पर्कविहीन भएका छन् । विदेश लैजाने भन्दै रकम असुल गरेपछि उनी सम्पर्कविहीन भएका हुन् ।  विदेशी नागरिकलाई नेपाली राहदानी दिने काण्डमा समेत उनको संलग्नता रहेको स्रोतको दाबी छ । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सापकोटा आठ दिनदेखि सम्पर्कमा छैनन् । पाँच अफगानी नागरिकलाई राहदानी दिएको आरोपमा परराष्ट्रका नायबसुब्बा बच्चुराम केसी समातिए लगत्तैदेखि उनी सम्पर्कविहीन भएको परराष्ट्र मन्त्रालय स्रोतले कान्तिपुरलाई बतायो ।   दिल्लीबाट चेन्नई हुँदै मलेसिया र इन्डोनेसियाका लागि उडेका नेपाली राहदानी लिने ती पाँच अफगानी इन्डोनेसिया विमानस्थलमा पक्राउ परेपछि यो तथ्य खुलेको हो । राहदानी उपलब्ध गराएको आरोपमा केसीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । प्रहरीले केसीविरुद्ध जालसाजी मुद्दा दर्ता गरेको छ । प्रहरीले राहदानी काण्डमा केसीको बयान चलिरहेको बताउँदै त्यसमा सापकोटाको संलग्नताबारे केही भन्न नसक्ने बतायो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक लालमणि आचार्यले बयान लिन थालिएको बताए । 'केसीसँग औपचारिक बयान सुरु भएको छ,' आचार्यले भने, 'परराष्ट्रतिरकै अन्य संलग्न छन् भने पनि नाम भने खुलाएको छैन ।'  तर परराष्ट्र स्रोतले ती पाँच अफगानी नागरिकलाई राहदानी दिने कार्यमा उनको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको छ । 'विदेशीलाई राहदानी दिनमा समेत उनको संलग्नता छ,' स्रोतले भन्यो, 'त्यसैले बच्चुराम पक्राउ पर्नासाथ उनी बेपत्ता भएका हुन् ।'  सापकोटाले मन्त्रालयको बा१झ ५४५४ नम्बरको जिप प्रयोग गरेका छन् । उक्त जिप र चालकको खोजी भइरहे पनि बुधबारसम्म पत्ता लागेको छैन । जिप चालक उनी आफैंले राखेका व्यक्ति हुन् । एक सातादेखि सापकोटाको ९८५१०२४४८५ र ९७४११४५८५७ मोबाइल बन्द छ । परराष्ट्रमन्त्रीका सल्लाहकार चिरञ्जीवी नेपालले पहिला पनि त्यति सम्पर्क नहुने कारणले अहिले पनि कहाँ छन् भन्नेबारे थाहा नभएको बताए । 'पहिला पनि मसँग उतिसारो सम्पर्क हुन्थेन,' उनले भने, 'अहिले पनि सम्पर्क छैन ।'   एक सातासम्म सम्पर्कमा नआएपछि परराष्ट्रका सचिव मदन भट्टराईले परराष्ट्रमन्त्री सुजाता कोइरालासँग प्रहरीमा खबर गरेर पक्रन निर्देशन माग गरेका थिए । तर मन्त्रीले केही दिन पर्खन आग्रह गर्दै प्रहरीलाई खबर नगर्न निर्देशन दिएको स्रोतले बतायो ।  'सचिवज्यूले' मन्त्रालयको गोप्य कागजपत्र पनि लिएको हुनसक्छ, चाँडो पक्रेर ल्याउनुपर्छ भनेर भन्नुभएको थियो,' ती कर्मचारीले भने, 'तर मन्त्रीज्यूले केही दिनसम्म पर्खन भन्नुभयो ।'  सापकोटाले झन्डै दुई दर्जन व्यक्तिलाई विदेश लैजाने भनेर रकम असुलेका थिए । विदेश लैजाने भन्दै प्रतिव्यक्ति ६ देखि १२ लाख रुपैयाँसम्म संकलन गरेका थिए । पीडितहरू अहिले मन्त्रालयमा सम्पर्क गर्दै सापकोटाको खोजी गरिरहेका छन् ।  चितवनका सापकोटालाई सुजाताले आफू परराष्ट्रमन्त्री भएपछि प्रमुख स्वकीय सचिवमा नियुक्त गरेकी थिइन् । तीन वर्षदेखि उनी सुजाताको सहयोगीको रूपमा रहँदै आएका थिए । परराष्ट्र मन्त्रालयका प्रवक्ता दुर्गा भट्टराईले भने यसबारे आफू अनभिज्ञ रहेको बताए । 'मलाई थाहा छैन, प्रशासनले हेर्ने हो,' उनले भने, 'के रहेछ भोलि बुझ्छु ।'

arahat · Jan 27, 2010 11:26 AM · 2,132 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all