who are destroying Nepal and How? बिदेशीलाई नेपाली पासपोर्ट - परराष्ट्रका सुब्बा पक्राउ:- - News report २२ जनवरी, ०१० । पाँच जना अफगानी नागरिकलाई नेपालीको नाउँमा किर्ते राहदानी उपलब्ध गराएको अभियोगमा परराष्ट्र मन्त्रालयका एक कर्मचारीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर हनुमानढोकाले मन्त्रालयका राहदानी शाखाका सुब्बा बच्चुराम केसीलाई पक्राउ गरेको हो। परिसर प्रमुख प्रहरी उपरीक्षक गणेश केसीकाअनुसार केसीले पाँच अफगानीलाई नेपाली नागरिकका नाउँमा राहदानी दिएको भन्ने जानकारी परराष्ट्रले गराएको आधारमा उनलाई पक्राउ गरिएको हो। प्रहरीले उनलाई हिरासतमा राखी अनुसन्धान शुरू गरिएको जनाएको छ। नाम नेपाली, फोटो र मानिस भने अफगानी उल्लेख गरी सुब्बा केसीले किर्ते राहदानी उपलब्ध गराएको जानकारी प्राप्त भएपछि हनुमानढोका प्रहरीले केसीलाई पक्राउ गरेको हो। परिसरका प्रमुख केसीका अनुसार उनलाई अब २५ दिनभित्र अनुसन्धान पूरा गरी अभियोग प्रमाणित भएमा आवश्यक कारबाही गरिने छ। कानुनी प्रावधानअनुसार यदि केसीमाथिको अभियोग प्रमाणित भए उनी स्वतः जागिरबाट निलम्बनमा पर्नेछन्। केसीले उपलब्ध गराएको किर्ते राहदानी प्रयोग गरी ती अफगानी नागरिक भारत, मलेसिया हुँदै इन्डोनेसिया पुगेका थिए। इन्डोनेसियाको अध्यागमन विभागले शंका लागेपछि उनीहरूलाई पुनः मलेसिया फर्काएको थियो। मलेसियाको अध्यागमन विभागले राहदानीको वैधताबारे मलेसियास्थित नेपाली दूतावाससँग जानकारी मागेपछि राहदानी नक्कली भएको पुष्टि भएको थियो। मलेसियास्थित नेपाली दूतावासले बिहीबार मात्रै परराष्ट्रलाई पत्राचार गरी त्यसबारे जानकारी गराएको थियो। पत्राचार गरेसँगै मन्त्रालयका सुब्बा केसीको संलग्नता रहेको मन्त्रालयले ठहर गरेको थियो । नेपालको नक्कली राहदानी लिने ती अफगानीलाई हाल मलेसियाली प्रहरीले पक्राउ गरी जेलमा राखेको छ। ‘यस्तो गम्भीर अपराधले नेपालीहरुको छविमा विश्वमा नै धक्का लाग्ने देखिन्छ’ -परिसरका प्रमुख केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो। उहाँले केसीलाई आज शुक्रबार अदालत लगिने पनि जानकारी दिनुभयो। उहाँले यो घटनामा केसीमात्र नभई मन्त्रालयका अन्य कर्मचारीको समेत संलग्नता रहेको आशंका गर्नुभयो। ‘विगतमा यस खालको घटना भएको थिएन, हामी नै आर्श्चर्यचकित भएका छौं’ -मन्त्रालयका शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठले भन्नुभयो।
Nepal patriotic · Jan 24, 2010 2:23 PM · 9,968 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion