अर्को जन्माइदिऊँ ? जनसंख्या राज्यमन्त्री खड्गबहादुर बस्याल नयाँ पत्रिका काठमाडौं, १५ पुस दुई मात्र सन्तान, ईश्वरका वरदान ! यस्तै विज्ञापनमार्फत जनसंख्या मन्त्रालय रेडियो, टेलिभिजन र पत्रपत्रिकाबाट जनतालाई सन्देश दिइरहेको छ । तर, मुलुककै जनसंख्या राज्यमन्त्रीका नौजना छोराछोरी छन् । हुन त, जनसंख्या मन्त्रालयले छोरा होस् या छोरी, दुवै बराबरी भन्ने सन्देश पनि दिन्छ, तर जनसंख्या राज्यमन्त्री खड्गबहादुर बस्यालले छोराको आसमा आठ छोरी र एक छोरा जन्माएका हुन् । 'पहिले छोरा भएन, छोरी जन्मँदै गए, त्यसैले सन्तान धेरै भए,' जनसंख्या मन्त्रालयको कुर्सीमा बसेर राज्यमन्त्री बस्याल आफैँले नयाँ पत्रिकासित भने, 'सातजना छोराछोरीबाट १२ नाति-नातिना जन्मिएका छन् ।' छोरा जन्मिएला भन्दा-भन्दै उनले सात छोरी जन्माए । आठौँ सन्तान छोरा जन्मिए । एउटा छोरा जन्मिएपछि बस्यालले अर्को छोरा जन्माउने प्रयत्न गरे । तर, जन्मिइन् फेरि अर्की छोरी । जम्मा नौजना सन्तान जन्मिएपछि उनको 'सन्तान उत्पादन-प्रक्रिया' रोकिएको छ । धेरै छोराछोरीको मात्र होइन, अहिले देशको पनि जिम्मेवारी पाएका राज्यमन्त्री बस्यालले आफ्ना छोराछोरीको नाम र कोभन्दा को जेठो हो भन्नेसमेत बिर्सिएका छन् । आठजना छोरीको नाम बताउने क्रममा मन्त्री बस्याल दुईपटक झुक्किए । '६ नम्बरमा छोरी निर्मला जन्मिई,' उनले भने, 'होइन क्यार, त्योभन्दा पहिले त गीता जन्मिएकी हो, त्यसपछि मात्र सातौँ नम्बरमा निर्मला ।' जेठी छोरी शारदाको बिहे दैलेख घर भई भारत अहमदाबादमा कार्यरत इन्जिनियरसँग भएको थियो । 'ज्वाइँ गत वर्ष मात्र हार्टअट्याक भएर बिते,' उनले सुनाए । अहमदाबादको घर बिक्री नभएकाले छोरी र नाति-नातिना उतै रहेको उनले बताए । माइली छोरी विष्णु सुर्खेतकै तातोपानी उत्तरगंगामा घरजम गरी बसेकी छिन् । साँहिली छोरी गाउँमै अनमि छिन् । 'उसको विवाह गर्न बाँकी नै छ,' मन्त्री बस्यालले भने । चौथो नम्बरकी छोरी सीताको सुर्खेत नगरपालिका भैरवथानमा बिहे भएको छ । पाँचौँ नम्बरकी तारा र छैटौँ नम्बरकी निर्मलाको पनि बिहे भइसकेको छ । सातौँ नम्बरकी छोरी गीता राज्यमन्त्री बस्यालसँगै अहिले मन्त्रीनिवास पुल्चोकमा बस्छिन् । गीताका श्रीमान्लाई मन्त्री बस्यालले नै मलेसिया पठाएका छन् । राज्यमन्त्री बस्यालका एक मात्र छोरा अहिले जनस्वास्थ्यमा स्नातक तहमा अध्ययनरत छन् । उनी आठौँ नम्बरमा जन्मिएका थिए । सबैभन्दा कान्छी सन्तान सुशीला जन उच्च मावि, सुर्खेतमा कक्ष्ाा १० मा अध्ययनरत छिन् । कक्षा नौमा पढ्दै 'लभ-म्यारिज' गरेकी सुशीलाले बच्चा पनि जन्माइसकेकी छिन् । राज्यमन्त्री बस्याल दलित मात्र होइनन्, गरिब परिवारका पनि हुन् । छोराछोरी हुर्काउँदा लागेको ऋण उनले मन्त्री भएपछि मात्र तिरेका छन् । 'सम्पत्ति केही छैन, गाउँमा १० धुर जमिन छ,' उनले भने, 'पैसा ल्याऊ, अनि घर बनाएर बसौला भनेर ज्वाइँलाई मलेसिया पठाइदिएको हुँ ।' बस्यालले जमानामा पनि 'लभ-म्यारिज' गरेका हुन् । सानो परिवार, सुखी परिवार बनाउने सपना थियो उनको पनि । 'तर, छोरीहरू जन्मँदै गए, परिवार बढ्दै गयो,' उनले भने । आफैँ एसएलसीसम्म पढेका राज्यमन्त्री बस्यालका सातजना छोरीले पनि एसएलसी मात्र उत्तीर्ण गरेका छन् । ०४७ सालमा कांग्रेस प्रवेश गरेका बस्याल ०६२/६३ को आन्दोलनमा दुईपटक गिरफ्तार भएका थिए । कांग्रेसले उनलाई समानुपातिक कोटामा संविधानसभा सदस्य बनाएको हो । बस्याल दलित कोटामा सभासद् र मन्त्री भएका हुन् । 'सबैले सरकारी विद्यालयमै पढेका हुन्, छोरीहरू बेरोजगार छन्,' राज्यमन्त्री आफैँ गुनासो गर्छन्, 'छोरीहरूलाई कतै काममा अल्झाइदिन पाए हुन्थ्यो भन्ने पनि लाग्छ । 'तर, कसलाई भन्नु, आफैँ मन्त्री छु ।' 'बाउ' नै मन्त्री हुँदा पनि जागिर पाइएन भनेर छोरीहरूले गुनासो गर्ने गरेको उनले बताए । 'आफ्नै बाउ मन्त्री हुँदा पनि (जागिर) नभए कहिले पनि हुँदैन भन्छन्,' उनले भने । एकताका गि्रल उद्योग खोल्दा लिएको ऋण बढेर एक लाख २५ हजार पुगेको थियो । ऋणले घर-जग्गा नै गुम्ने हो कि भन्ने चिन्ता थियो । 'तर, पार्टीले मन्त्री बनाइदिएपछि ऋण तिरेको छु,' भर्खरै ऋणमुक्त भएकामा उनी सन्तुष्ट छन् । 'नौ सन्तान भएपछि नियोजन गरेँ' श्रीमति मनसरा बस्याल म भर्खरै १४ वर्षकी थिएँ, उहाँ -खड्गबहादुर बस्याल) सँग माया बस्यो । उहाँ -सुर्खेतको) गोठीकाडाबाट यहाँ -वीरेन्द्रनगर) पढ्न आउनुहुन्थ्यो, म गाई लिएर गोठालो जान्थेँ । पहिले चिनजान भयो, पछि माया बस्यो । उहाँको बानी राम्रो थियो । आउँदा-जाँदा भेट हुन्थ्यो । पछि मलाई उहाँ राम्रो लाग्न थाल्नुभयो । माया बसेको करिब तीन वर्षपछि मलाई भागौँ भनेर उहाँले नै भन्नुभो । मैले त्यही राति सबै कपडाको कुम्लो बनाएर घरमा कसैलाई थाहा नदिई भाग्ने योजना बनाएँ । ०२५ साल असोजको पूणिर्मा मनाएर हामी भाग्यौँ । उहाँका साथीहरू हामीलाई झुप्रासम्म पुर्याउन आउनुभयो । पछि उहाँले नेटाको खल्टाकुरा प्राथमिक विद्यालयमा पढाउनुहुन्थ्यो, मलाई त्यहीँ राख्नुभयो । चार महिनापछि हामी घर गयौँ । म त्यतिवेला १८ वर्षको थिएँ, उहाँ २० को हुनुहुन्थ्यो । जेठी र माइली छोरी जन्मिसकेपछि हामीले बाजा बजाएर माइती मानेका -गएका) हौँ । जीवनमा उहाँले धेरै संघर्ष गर्नुभो । पहिला पुलिस हुनुभो । हो नि, मेरा बूढा त असइ पनि हुनुभा हो । तीन वर्ष असइ भइकेपछि त्यो जागिर छाडेर दुई वर्षजति मास्टर हुनुभो । पछि १८ महिनाजति भेटेरिनरीका मुखिया पनि हुनुभो । कपडा-पसल पनि गर्यौँ । पछि गि्रल उद्योग खोलेर पनि बस्यौँ । उहाँले त्यतिवेलादेखि नै राजनीति गर्न थाल्नुभा हो । तर, छोराछोरी धेरै भए, मलाई धेरै छोराछोरीको टेन्सन हुन्थ्यो । उहाँ राजनीतिमै व्यस्त हुनुभो । घर पनि कहिलेकाहीँ भुल्नुहुन्थ्यो । छोरा पाउने भन्दा-भन्दै आठवटी छोरी भए । त्यसपछि पनि नौ महिनाकी छोरी खेर गइसकेपछि छोरो भयो । अर्को पनि छोरा जन्माऊँ न त भनेको फेरि छोरी नै जन्मिई । त्यसपछि मैले परिवार नियोजन गरेँ । यति धेरै छोरी हुँदा पनि उहाँले कहिल्यै अर्को बिहे गरौँ भन्नुभएन । तर, समाजले त छिटो बिहे गर्, नत्र तेरो छोरा नै हुँदैन भन्थ्यो । मेरा बूढाले मलाई धेरै माया गर्नुहुन्छ । जेठी छोरी शारदा ३८ वर्षकी छे । उसको भारतको गुजरातमा बिहे भको छ । साँहिली विनीता र छोरो भानुभक्तबाहेक सबैको बिहे भइसक्यो । कान्छी छोरी सुशीला १९ वर्षकी छे । उसको यतैका एकजना गुरुङसँग बिहे भको छ । दुई बिघा घडेरीसहित चार बिघाजति पुख्र्यौली सम्पत्ति बूढाले जम्मै राजनीतिमै सिध्याउनुभो । हाल (सुर्खेत) उत्तरगंगा बजारमा सानो घडेरीमा घर छ । गाउँमा एक कठ्ठा बारी र ६ कठ्ठा खेत छ । म अहिले काठमाडौंको मन्त्रीनिवासमा बस्छु, अहिले जाडोमा घर आएकी हुँ । धेरै त बूढासँगै बस्छु । राजनीति गरेर सम्पत्ति त गयो, तर खेर गएन जस्तो लाग्छ । अहिले मेरा बूढा मन्त्री हुनुहुन्छ । कसला काटे मसला पाइँदो रहेछ । (गणेशकञ्चन भारतीसँगको कुराकानीमा आधारित) तस्बिरः श्रीधर पौडेल/नयाँ पत्रिका Last edited: 31-Dec-09 09:36 AM
D J Tantrik · Dec 31, 2009 9:35 AM · 10,907 views
he might be eligible for guiness world record...first janasankhya mantri with 9 children.Nepal will have one more thing to be proud of after Buddha and Mt.Everest. PS: Manchey ho ki Musa ho yo mantri?
CyberLegend · Dec 31, 2009 11:19 AM
He is the most eligible for that population minister post.. coz only he knows the trouble of having 9 children to raise.
Ved555 · Dec 31, 2009 12:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion