साथ तिमीले मेरा नदिए, अरु कसले नै दिन्छ र? सूर्यै नउदाई बिहानी कसरी पो हुन्छ र? हात तिम्रो हातमा नपरी मेरो, शुरु हुन्न कर्म । ओखती विना कसरी सकिन्छ र भुल्न मर्म ? तिमीले नबुझे मेरो मनको बह अरु कसले बुझ्छ ? मुलै नफुटी पानीको बह कहाँबाट पो उठ्छ ? तिमी नै धामी, तिमी नै धन्वन्तरी मेरा निमित्त । तिमी नै मुटु, तिमी नै सोच, तिमी नै चित्त ।। तिमी नरहे मेरो कथामा,भविष्य मेरो कसरी बन्छ ? प्रीति लाएर पनि त्याग्यौ भनि लोकैले भन्छ । नसुने मेरो पुकार तिमीले,अरु कसले वाणी यो बुझ्छ ? मुलै नफुटी पानीको बह कहाँबाट पो उठ्छ ? आँखाको सपना, हामीले नकोरे, कसरी पो बन्छ र ? कोरेको आफ्नो सपना, परायाले देखोस्, कसले नै भन्छ र? हात तिम्रो, हातमा मेरो नरहे, कोशीसको अर्थ रहन्न । हात तिम्रो, हातमा मेरो रहे, कुनै कोशीस व्यर्थ बहन्न ।। तिमीले नदेखे यो ह्रदयको छटपट, अरु कसले नै देख्छ ? आई तिमीले नरोके, आँखाको समुद्र हरपल नै बग्छ ।। नबुझे मेरो माया तिमीले, अरु कसले पो बुझ्छ ? व्याकुल शिशुसरि, मन मेरो, तिमीविना क्षण क्षणमा रुन्छ । साथ तिमीले मेरो नदिए, अरु कसले नै दिन्छ र? सूर्यै नउदाई बिहानी कसरी पो हुन्छ र? हात तिम्रो, हातमा मेरो नरहे, कोशीसको अर्थ रहन्न । हात तिम्रो, हातमा मेरो रहे, कुनै कोशीस व्यर्थ बहन्न ।।
129lane · Dec 21, 2009 8:29 AM · 231 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion