किन चाहियो माओवादीलाई तीर्थाको सिन्दूर? [जन्तीधारा साप्ताहिकमा छापिएको यही लेखका कारण रुकुमकी पत्रकार टीका विष्टमाथि आक्रमण भएको थियो। अहिले उनको उपचार काठमाडौँमा हुँदैछ। आखिर के लेखिन् टीकाले जसका कारण यस्तो आक्रमण भयो? आफै पढ्नुस् र विचार गर्नुस्] कात्तिक १० गते सदरमुकाम खलंगामा ग्रामीण विकासका लागि शिक्षा तथा सञ्चार रुकुमद्वारा सञ्चालित सामुदायिक रेडियो सिस्ने एफएम ९२ थोप्लो ८ मेगाहर्जको औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो। उद्घाटन कसले गर्ने?भन्ने विषयमा सम्पूर्ण रेडियो परिवारले छलफल गरेपछि वर्तमान सरकारका सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल आउने पक्का भयो। यसै पनि जिल्लामा सञ्चारमन्त्री आउने खबरले सञ्चारकर्मीमा टाइँफाइँ त थियो नै झनै लोकप्रिय नेता तथा सरकारका प्रवक्ता, त्यसमै पनि मन्त्री आउने भनेपछि सबैको मनमा ‘लौ न के भन्छन्?कार्यक्रम कस्तो हुन्छ?माओवादीले कस्तो विरोध गर्लान् -’ जस्ता प्रश्नहरूले घरजम गरिरहेका थिए। प्र्रहरी, कर्मचारीहरू पनि सकिनसकी यताउता, चलकमलक गरिरहेका देखिन्थे। अचम्म त के भने जति आयोजकले तयारी गर्नुपर्ने त्योभन्दा तीन दोब्बरले माओवादीले तयारी गरिरहेको थियो। यसले पनि बजार शोभायमान थियो। [Disallowed String for - script not allowed] type=text/javascript> [Disallowed String for - script not allowed] type=text/javascript src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - script not allowed]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); टीका विष्ट। फोटो सौजन्यः कान्तिपुर मन्त्री आउने तीन दिनपहिलेबाट एकीकृत माओवादीले पुराना जनमुक्ति सेना अर्थात वाईसीएल र अन्य कार्यकर्तालाई सदरमुकाममा जमघट गरेको थियो। किन?भनी बुझ्दा रहँदा थाहा भयो, ‘यो सरकारका मन्त्री आउँदा विरोध गर्न।’ स्वच्छ दिमागले सोच्दा लाग्यो, प्रजातान्त्रिक संस्कार बोकेको राजनीतिमा र्समर्थन र विरोध भन्ने कुरा सामान्य हो। सायद सबैले यही बुझेको हुनुपर्छ। किनकि वर्तमान सरकारको गन्ध आउने कुनै पनि क्रियाकलापलाई माओवादीले ढुंगामुढा, कालोझन्डा, विरोध नगरे त उनको धर्म मासिन्छ भनेर भन्न पनि मिल्छ। माओवादीको विरोध कार्यक्रमको व्यापक तयारीले होला, प्रहरी प्रशासनलाई पनि मन्त्री आउने कार्यक्रमको कसरी व्यवस्थापन गर्ने भन्ने एउटा मात्रै प्रश्नले थिलथिलो बनाएको थियो। कार्यक्रमको मिति र अतिथिको त तय गरियो तर स्थानको टुंगो लागेन। कतिले त कार्यक्रम स्थगित गर्ने सुझाव पनि दिए। आयोजक पक्षको कुनै हालतमा स्थगित नगर्ने हठपछि बल्ल-बल्ल बालमन्दिर हल तोकियो। मन्त्री आउने दिन दुवैतिर कार्यक्रमको व्यवस्थापन गरियो। आयोजक पक्षले फूलको माला उन्दै गरेको खबर आयो भने माओवादीले जुत्ताको। १० गते बिहान ८ बजेतिर खलंगा बजारमा माइकिङ गरेको सुनियो। लाग्यो आयोजकले र्सवत्र प्रचार गरिरहेको छ। तर, त्यहाँ माओवादीले आफ्नो कार्यक्रमको प्रकृतिको बारेमा जानकारी गराइरहेको रहेछ। धेरै कुरामध्ये एउटा अलि बढी सुन्न पाइन्थ्यो। ‘हामी सरकारका मन्त्री आउँदा कालो झन्डा देखाएर शान्तिपूर्ण विरोध गर्नेछौं, यदि कसैले हामीलाई यो वा त्यो ढंगले रोक्न, छेक्न खोजेमा विस्फोट हुनेछौं र त्यसको जिम्मेवारी आयोजकले लिनुपर्नेछ।’ थोरै मात्रामा चेतनास्तर उठेका व्यक्तिले यी सबै क्रियाकलापलाई सहजरूपमा बुझेका थिए। किनकि राजनीतिमा सत्तापक्ष र प्रतिपक्ष हुनु अनि एकले अर्कोको विरोध गर्नु स्वभाविकै हो। कतिपय सर्न्दर्भमा विरोधको पनि आवश्यकता हुन्छ। अहिले के हो त?भन्ने प्रश्नको उत्तर खोज्नतर्फ नजाउँ। मन्त्री आउने अलि ढिला भयो। ८ बजेबाट बोल्न सुरु गरेका माओवादी कार्यकर्ता खलंगा र एयरपोर्ट गरी दर्ुइ भागमा विभाजन भएर विरोध गरिरहेका थिए। उता, आयोजक पक्षलाई भने मन्त्री आउने कार्यक्रम भव्य बनाउनुपर्छ भन्ने चिन्ता थियो। पोखरेल एमालेका नेता भएर होला रुकुमका एमाले नेताहरू हत्तपत्त फूलमाला लिएर एअरपोर्ट गइहाले। आयोजक आफ्नो तयारी गर्देथियो। एमाले नेताहरू आफ्ना नेताको पर्खाइमा थिए। माओवादी विरोधमा जुटेका थिए भने जनता अलमलमा। प्रहरी सुरक्षामा तैनाथ थियो। कांग्रेसलाई कुनै चासै नभए जस्तो। अरू पार्टीको कुरै नगरौं। सञ्चारकर्मी दौडधुपमा। रुकुम त्यसदिन यस्तै यस्तै थियो। आफ्नो विचार र सिद्धान्तलाई जसले पनि जिन्दावाद भन्छ। फरक विचारलाई मुर्दावाद भन्नु पनि नाजायज मानिदैन। थोरबहुत सरकार, मन्त्री र पार्टीलाई केन्द्रित गरी जिन्दावाद र मूर्दावादका नारा लगाइरहेका माओवादीका कार्यकर्ताले मन्त्री आउने बित्तिकै शरीरको रगत उमाले। सुरक्षाको बीचमा मन्त्री सल्ले एअरपोर्टबाट गाडी चढेर खलंगा आए। खलंगामा पनि मन्त्रीले कालाझन्डाको बीचबाट बाटो क्रस गरे। कार्यक्रमस्थलमा आयोजकले फूलमालाले स्वागत गर्यो। कथा मध्य भयो। सञ्चारमन्त्री पोखरेलकी बहिनी मेनका पोखरेलको मुसिकोट बहुमखी क्याम्पसको दोस्रो वर्षो परीक्षाको निरीक्षण गर्ने संयोग परेकाले उनी पनि सँगै आएकी थिइन्। संयोगवश रुकुमकी पूर्वसांसद् तीर्था गौतम पनि रुकुम आएकी रहिछन्। सबै कार्यक्रममा उपस्थित थिए। कार्यक्रम हलमा भइरहेको थियो। बाहिर राजनैतिकभन्दा भिन्नै नाराहरू चर्का स्वरमा लागिरहेका थिए। शान्तिपूर्ण नामको सो विरोधमा सुरक्षा दिन बेलाबेलामा प्रहरी अधिकृतहरूले जवानहरूलाई निर्देशन दिइरहेका थिए। राजनैतिक सत्ता प्राप्ति या जनताको मुक्तिका निम्ति गरिएको आन्दोलन तथानामको गालीगलौजको भाषामा गरिँदैनथ्यो। यद्यपि, स्कुलिङ फरक तरिकाले गरिएछ। भन्नैपर्छ, सो विरोध कार्यक्रमको नेतृत्व माओवादीका पाका नेता शरण बाँठाले गरेका थिए। आन्दोलन गर्दैगर्दा नाराहरूको शब्द, शैली परिमार्जित भयो। राजनीतिभन्दा नितान्त अलग रहेर विरोध गरियो। जसले व्यक्तिको चरित्र र आचरणमा सिधै आक्षेप लगाउँथ्यो। हलभित्र र बाहिरको वातावरण आकाश पातालको फरक थियो। नाराकै क्रममा ‘शंकरे चोर देश छोड्, आर्यघाटले के भन्छ शंकरेलाई ल्या भन्छ’ जस्ता धेरै नाराहरू लगाइए। पोखरेल सरकारका मन्त्री भएकाले पनि होला त्यहाँसम्म विरोध नै मान्न सकिन्थ्यो। हुँदा हुँदा सरकारको विरोधको नाममा रुकुमका धेरै नेताहरूको चरित्रमाथि आघात पुर्याउने नारा सुनिए। त्यति गर्दा पनि विरोध गरिरहेकाहरूको चित्त बुझनेछ क्यार, अनि पालो आयो तीर्था गौतमको। रुकुम, राप्तीमात्रै होइन तीर्था गौतम को हुन् भन्नेबारे सिंगो नेपाललाई थाहा छ। माओवादीका पछिल्ला कार्यकर्ताले थाहा नपाएको भए सोधे हुन्छ, आफ्ना हत्यारा नेताहरूलाई तीर्थाको श्रीमान् खै भनेर। ‘जतिबेला सत्ता परिवर्तन या जनताको मुक्तिको नाममा माओवादी बन्दुक र खुकुरी बोकेर युद्धको मोर्चामा लडिरहेका थिए। त्यसताका आफ्नो विरोधी र फरक विचार राख्ने जो कसैको पनि रगतमा उनीहरू होली खेल्थे। १४ हजार मान्छेको रगतसँग रुकुमका यदु गौतमको पनि रगत मिसिएको छ। जुन बाटो गलत थियो र माओवादीलाई पनि महसुस भइसकेपछि आए उनीहरू जनताको बहुदलीय जनवादको घेराभित्र। तर, पनि उसले अझै १२ बर्से जनयुद्वको घमण्ड गर्दैछ र कहिलेकाहीँ सनकको तालमा भन्छ, ‘फेरि हामी जंगल जान सक्छौं।’ हो जतिबेला माओवादीहरू एउटा बन्दुकको आडमा लड्थे र अर्को बन्दुकदेखि भाग्थे। बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्ने सिद्धान्त बोकेर रातभरि लड्थे र विजय हुन्थे। जब सुन्दर किरणसहित बिहानीले यस धर्तीमा प्रवेश गथ्र्यो अनि माओवादीहरू ठूला ओडार र जंगल खोज्दै अन्धकारतिरको बाटो तताउँथे। त्यही समयमा उनीहरूले तीर्थाको श्रीमान् यदु गौतमको हत्या गरेका थिए। तीर्थामात्रै होइन माओवादीले गर्दा सिन्दूर खोज्नुपर्ने नेपालमा हजारौं दिदी-बहिनीहरू छन्। फेरि जाउँ विरोध कार्यक्रमतर्फ। कुनै दिनको पैंचो फर्काउनु थियो कि क्या हो माओवादीले विशेषगरी एमाले नेताहरूको त सकुन्जेल खोइरो खने। विरोधका नाराका निउँमा कसैका दिदी-बहिनी पनि श्रीमती बने, साथीभाइ त परै जाओस्। हलमा कार्यक्रमको आयु छोट्टिँदै थियो। बाहिर माओवादीलाई विद्या भण्डारी र तीर्था गौतमको खाली सिउँदोको सम्झना आएछ। अनि नारामै भन्न थाले -तीर्था तेरो सिन्दूर खोई,? हलानो, फलानो तेरो पोइ। आफ्ना कार्यकर्ताले सिन्दूर खोज्दा माओवादी नेताहरूलाई आनन्द आएको हुनुपर्छ। किनकि आफ्नो कार्यको ‘फलोअप’ गर्दा जसलाई पनि आनन्द आउँछ। यदुको हत्या गर्ने माओवादी कार्यकर्ताहरूको सम्मान भएन होला पार्टी। बिचरा ती १९/२० उमेरका युवालाई के थाहा? तीर्थाको सिन्दूर ६ वर्षदेखि माओवादीसँग छ भनेर। फेरि माओवादीले त कति मारे कति? सबैको नाम थाहा नहुन पनि सक्छ। त्यसै क्रममा यदुको नाम पनि बिर्सेका हुन सक्छन्। सामान्यतया जनयुद्धकालमा १२-१३ वर्षो बालक अहिले युवा भएको छ। यी युवाहरूलाई राजनीतिको ढ्वाङ फुकाएर माओवादीले आन्दोलनमा प्रयोग गरेको छ । केवल नेताको ‘स्कुलिङ’मा जिन्दावाद र मुर्दावादका नारा लगाउने यी युवालाई के थाहा? यस्तै तालले कुनै दिन आफ्नै दिदी-बहिनीको सिन्दूरको खोजी गर्नुपर्छ भनेर। लहैलहैमा माओवादीमा लागेकाहरूले राम्रोसँग बुझ्न जरुरी छ, ‘पार्टीको इतिहास के छ? वर्तमान कस्तो छ? र भविष्य के हुन्छ ?’ नागरिक सर्वोच्चताको परिभाषा आफ्नो नेतृत्वमा सरकार बनाउनु हो भन्ने बुझेका माओवादी नेताहरू आफ्ना कार्यकर्तालाई सडकमा आन्दोलन गर्ने निर्देशन गर्छन्। आफू भने नागरिक सर्वोच्चताविपरीत काम गर्ने व्यक्तिसँग शुभकामना आदान-प्रदान, भेटघाट, चियापान, भलाकुसारी गर्छन्। कुन दुनियाँमा छ?एकातिर आन्दोलन अर्कोतिर वार्ता र सम्बन्ध सुधार?त्यसैले नेताको लहैलहैमा विधुवा नारीको सिन्दूर खोज्ने माओवादी कार्यकर्ताले आफ्नो पार्टीले गरेको आन्दोलनको औचित्य समयमै बुझ्न आवश्यक छ। तीर्थाको सिउँदोमा सिन्दूर देख्न चाहने माओवादीले किन लगाइदिँदैन आफ्ना सहिद पत्नीको सिउँदोमा सिन्दूर?यदि जो कुनै दिदी-बहिनीको सिउँदो पुछिएको देख्न नचाहने माओवादीले किन फरक विचार राख्ने व्यक्तिको हत्या गरेर शवलाई चार दिशा लगाउँथे?तीर्था को हो र किन चाहियो उसको सिन्दूर माआवादीलाई ? कार्यक्रम सकियो, मन्त्री बाहिरिनु पर्यो। अनि फेरि माओवादी कार्यकर्ताको पारो तात्यो। त्यसपछि सुरु भयो इँट्टा, ढुंगा र नाइनस्टिक। झन्डै लागेन मन्त्रीलाई। प्रहरीलाई त लागेछ। आक्रोसित वाईसीएल गए बालमन्दिर गेटभित्र। भएभरको तागत देखाए रेडियोको ब्यानरमा, लिए च्यातेर। रेडियोकर्मीले खोसेर लिए। त्यसपछि नेतृत्व गरेका नेता आएर कार्यक्रम स्थगित गरे। मन्त्री फर्केको भोलिपल्ट रुकुमका सभासद्हरू जिल्लामा आए। उनीहरूलाई यो नालीबेली सुनाउँदा कसैले भनेछन्, आन्दोलनको सीमा हँुदैन। कसैले भनेछन्, त्यसोभए त हाम्रा कार्यकर्ता बौलाएछन् त कसैले भनेछन्, त्यसो त नगर्नु पर्ने हो। एकजना सभासद्ले र्मुमुरिँदै भने कमै भएछ, अझ गोद्नुपर्ने हो भनेछन्। ‘दुनियाँमा सबैभन्दा राम्रो आफ्नै विचार हो र सबैले हाम्रै कुरा मान्नुपर्छ’ भन्ने माओवादी किन सम्पूर्ण अधिकार जनतालाई दिएर चुनावी प्रक्रियामा सामेल भयो?बन्दुकको नालबाट सत्ता जन्मिछ भन्ने महान तथा गौरवशाली पार्टी किन सत्ता प्राप्तिका लागि सडकमा रोइ कराइ गर्दैछ?संसद्लाई कुकुरको टाउको झुन्डयाएर खसीको मासु बेच्ने थलो भन्ने पक्का कम्युनिस्ट पार्टी किन दिन प्रतिदिन संसद्को आयु लम्ब्याएर काम नगरी भत्ता पकाउँदैछ? धन पैसालाई सरकारीकरण गर्नुपर्छ भन्ने सर्वहारा पार्टी किन राजधानी, सदरमुकाममा महल ठडयाउँदैछ र जतिसक्दो विलासितानिर नजिकिँदै छ? अरूलाई नातावाद, कृपावादजस्ता अनेक आरोप लगाउने महान र पारदर्शी पार्टी किन आफ्नो नौ महिनाको सरकारको अवधिमा आफ्ना नाल-नाता पर्नेको मात्रै जागिरको खोजी गथ्र्यो? कुनै पनि विज्ञापनमा फारम नै नलगाइ नेताका आफन्तको नाम किन निस्किन्थ्यो? हो, यस्ता धेरै प्रश्नहरूको पर्खालभित्र रहेको एकीकृत माओवादीसँग एउटा उत्तर पनि स्पष्ट रूपमा दिने आधार छैन। यस्तो नकचरो पार्टी आफैले श्रीमानको मासु खाने र आफैं विधुवा श्रीमतीको सिन्दूर खोज्ने लाज लाग्दैन?ल जा …।
dipulata · Dec 10, 2009 8:18 AM · 15,278 views
I dont know if prachanda reads this article. He would have some idea about how general public feel about maoists and company
sYaKuuRiolAKU_nchImb · Dec 10, 2009 8:23 AM
Whatever it is but I like the way she expressed her feelings. Quality writing .... But I am unware of the subject matter.... Because of the nature of the article, maoist must be really mad with her and might have taken action against her... God knows !!! "NAGARIK SARBACHATA"
PeaceSoul · Dec 10, 2009 10:19 AM
Maobadi ko jungle raaj ma pani nagarik sarbochata huncha??? Manchelai tetikai bekuf banaidine shree paanch prachanda le???
newlynew · Dec 10, 2009 10:28 AM
I still remember when maoist killed UML candidate yedu gautam brutally in Rukum. I was in grade 10 at that time. Maoist cadres ask the Widow Tirtha Gautam तीर्था तेरो सिन्दूर खोई,? to tease her and humiliate her during one of their protest program. The above journalist express her dissatisfaction about Maoist behavior through this article and she gets beaten badly.
dipulata · Dec 10, 2009 11:52 AM
So all this revolution and bloodshed was brought upon us so that we can’t express our opinion, and you call it a freedom. When MAHA used to make fun of Surya Bahadur, the then PM, they used to get arrested. That was Panchayat. Now you get seriously hurt or killed for opinionating. The article does look like a critical piece on Maoists. But is that a way to respond to a journalistic peace? Wait till we get the Lou Dobbs and Glenn Beck in Nepal, they won’t survive a minute.
Stiffler · Dec 10, 2009 12:47 PM
Wow this girl is very talented, i have never read an article that is so well written in Nepali with such a great flow. usually it is more of an academic kind difficult to read through but i am so impressed with her writing, very smooth..Way to go girl ..hope you will feel better soon and reach to a higher heights in our country!
Sheetalb · Dec 10, 2009 4:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion