पच्चीस सय वर्षपछि - Interesting

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पच्चीस सय वर्षपछि सौरभ विलियम बन्दरनायके, तिनकी पत्नी सिरिमाओ बन्दरनायके र उनीहरूकी छोरी चन्दि्रका कुमारातुंगाले क्रमशः एक अर्कोका जुत्तामा गोडा हाल्दै स्वाधीनताका वर्षदेखि श्रीलंकामा रजाइँ गरे । तर समस्या बन्दै गयो, चर्कियो र त्यो गृहयुद्धका रूपमा छताछुल्ल भयो ।  २०६६ कार्तिक १८ - अशोक पुत्र महेन्द्रले बुद्ध धर्म श्रीलंका लगेका थिए, महिन्दा राजपाक्षे नामको प्रेरणास्रोत । २५ सय वर्षपछि उस्तै नाम गरेको एउटा नायक लुम्बिनीमा फर्कियो, सम्भवतः कलिङ्गको पुनरावृत्ति जाफ्नामा जुन भयो, त्यही घटना दोहोर्‍याउनु नपरोस् भनेर प्रार्थना गर्नका निम्ति । तर कलिङ्गको जुन ठाउँमा उभिएर अशोकले कलिङ्गको युद्ध मैदान हेरेका थिए त्यही ठाउँमा कुनै दिन उभिन पुगेको र नेपोलियनले लायन अफ माउन्डमा उभिएर वाटर लूको जुन युद्ध मैदान हेरेका थिए त्यहीं उभिन पुगेको यो पंक्तिकारको निम्ति महिन्दा राजपाक्षेसँग पुष्पकमल दाहालको शिष्टाचार भेट इतिहासको एउटा विष्मयकारी चुट्किलाका रूपमा रहिरहनेछ । तीन दाजुभाइ राजपाक्षे अर्थात् राष्ट्रपति महिन्दा, तिनका दाजु सामुदि्रक परिवहनमन्त्री चमल राजपाक्षे र भाइ रक्षामन्त्री गोटावाया राजपाक्षेको एउटा परिवारै मिलेर आफ्नो देशको पृथकतावादी, साम्प्रदायिक र नश्लवादी गृहयुद्धलाई समाप्त पारे ! त्यसवापत सायद ती बुद्धलाई धन्यवाद दिन आए वा यसो भनौं फेरि त्यस्तो भयावह अशान्तिबाट गुज्रन नपरोस् भनेर कामना गर्न आए । तर ठीक त्यही समयमा साम्प्रदायिक, विखण्डकारी, नश्लवादी जग हालेको स्वायत्त गणराज्यको घोषणा गर्ने वक्तव्य दिएका पुष्पकमल दाहाल उनीसँग शिष्टाचार भेट गर्न पुगे । जानुहुन्थ्यो वा हुँदैनथ्यो भन्ने प्रश्न होइन । रिप्लेको पुस्तकमा उल्लेख गर्न लायक यस्तै विसंगतिलाई सायद हामी बेलाबेला नियति भन्ने गर्छौं । ६ वर्ष पहिले नै क्यानडामा बसोबास गरिरहेका केही श्रीलंकालीहरूले नेपालका अंग्रेजी अखबारहरूमा सल्लाह दिएका थिए, नेपालीहरूले आफ्नो समस्या समाधान आफैंले गरून् । जति विदेशीको भर पर्दै गयो तिनलाई सर्वज्ञाता, सर्वोऔषधि मान्दै गयो, उति नेपालका समस्याहरू जटिल बन्दै जान्छन् । किनभने हाम्रो अनुभव त्यस्तै छ । यसैले 'तपाईंहरू आफ्नो समस्या सुल्झाउन आफैं सक्षम हुनुहुन्छ, महिन्दा राजपाक्षेले जतिपटक दोहोर्‍याए पनि त्यो औपचारिक बोली होइन । पूरै श्रीलंकाकै नेपालप्रतिको दृष्टिकोण हो, भित्री आग्रह पनि हो, एक असल मित्रको चाहना पनि हो । बुद्ध जन्मिएको देश भनेर भएको सहानुभूति पनि हुन सक्छ । तर दोस्रो चीन भ्रमण सक्दा नसक्दै अब भारतको भ्रमण हुने भनाइ पुष्पकमलका मुखबाट झरि नै सकेको छ । यसभन्दा अघि पनि चीन भ्रमण नसक्दै राजनीतिक भ्रमण चाहिँ भारतबाट हुने बताएपछि चीन चिढिएको बुझेर त्यता लाग्नु परेको हो । तर तित्राको मुखै बैरी जस्तै धेरै बोल्ने मुखले यसपालि फेरि यथार्थ खुस्कायो, यो खुस्कँदा राजपाक्षे स्वयम् त्रिभुवन विमानस्थलबाट बिदा भइसकेकै थिएनन् । मनको वह पोख्न समयमै नपाएपछि स्वयम् दोहोरो भ्रमणको दुःख व्यहोरेका राजपाक्षेको आग्रह जुम्ली कहावतमा परिणत भयो । शभान शाहीलाई ताक्लाखार भाग्न बाध्य बनाएपछि गोर्खालीहरूले सिंजा, लामाथाडामा बाटा घाटाहरू बनाए, थपथाप पारे । हनुमानढोकादेखि जुम्लासम्मका बाटोमा कोशेढंुगाहरू राखे, तिनमा कोशेदूरी पनि लेखे । बाटो बनाउने काम अमरसिंह थापाले पनि अलमोडा, अलखनन्दा र बद्री केदारसम्म कायम राखे । आजको आधुनिक भारतले प्रयोग गरिरहेको र जीर्णोद्धार गरेको बद्री केदारसम्मको बाटो उनै अमरसिंह थापा निर्मित हो । तर गोर्खालीसँग चिढिएका जुम्लीले रिस उठाउने उपाय फेला पारे, गोर्खालीले बनाएको बाटोकै बीचमा दिसा बसिदिने । पछि त्यो जुम्लाको संस्कृति नै बन्न गयो । कहावत के भने बाटोका बीचमा बस्ने बानिलागेको एक असिज्युलाबासीलाई काठमाडौंको खुलामञ्च अघि प्रहरीले समातेपछि उसले जवाफ दियो, दिसा बसौं भनेर यति पर आएँ । अब कहाँ जाऊँ त ? विलियम बन्दरनायके, तिनकी पत्नी सिरिमाओ बन्दरनायके र उनीहरूकी छोरी चन्दि्रका कुमारातुंगाले क्रमशः एक अर्कोका जुत्तामा गोडा हाल्दै स्वाधीनताका वर्षदेखि श्रीलंकामा रजाइँ गरे । तर समस्या बन्दै गयो, चर्कियो र त्यो गृहयुद्धका रूपमा छताछुल्ल भयो । चाहेर पनि त्यसको समाधान उनीहरूले गर्न सक्दैनथे । ती राजनीतिमा 'अब्सोलेट' भइसकेका थिए । यसैले त्यहाँ राजपाक्षेका रूपमा नयाँ पुस्ताका श्रीलंकालीहरूको उदय अनिवार्य रूपमा भएको थियो । तर माओवादीले आन्दोलनको तयारी गरेको पूर्वसन्ध्यामा उसकै एक उपाध्यक्षले आन्दोलन फिर्ता लिनुपर्ने वक्तव्य दिए । यी तिनै व्यक्ति थिए जसलाई १९५० को आलोच्य राणा कांग्रेस दिल्ली सम्झौतापछिको १२ बुँदे सहमति नामको दोस्रो दिल्ली सम्झौता हिन्दी भाषामा गराउन सक्रिय भएर देशलाई बन्दीपुर बनाएको आरोप छ । आन्दोलनको पूर्वसन्ध्यामा त्यस्तो वक्तव्य वामपन्थीहरूका भाषामा 'लिनप्याओ पथ' को नयाँ औतार 'नारायण पथ' होला । तर राजपाक्षे भाइचारावादका नायकले नेपालको कम्युनिस्ट भाइचारावादको असली चरित्र नेपालमै छँदा हेर्न पाए । यो पनि कम ठूलो संयोग होइन । आफूमै बेमेल र बिग्रहको डरलाग्दो बाटो समातेका एमालेहरूको बजार रमितापछि कांग्रेसमा पाधेर्नी प्रकरणहरूको ज्वारभाटा चलिरहेको छ । र यो अब प्रधानमन्त्री हुने अभिलाषामा एक आपसमा जुधाइएका उपाध्यक्ष नामधारी उपनायकहरूदेखि लान्सनायकसम्मको गुटबन्दी माओवादीमा पनि देखापरेको छ । यिनले नेपालका समस्याहरू समाधान गर्न सक्लान् भनेर भाइचारावादका नायक राजपाक्षेले पक्कै पनि सोचेन होलान् लुम्बिनीमा उभिँदा, जसलाई कोशल सेनापति विरुधकले २ सयवर्षपछि खण्डहरमा परिणत गरिदिएको थियो र नेपाली नेताहरूका हातमा 'विरोध' भन्ने शब्द श्राप संस्कृतिको रूपमा दिएर गएको थियो । इस्वीको मध्य उन्नाइसौं शताब्दी १८५० को अपि्रलमा पहिलो नेपाली जंगबहादुर राणाको पानीजहाज श्रीलंकाको किनार रोकिएको थियो र त्यो श्रीलंकाको क्यान्डी बुद्धको दात भएको ठाउँका रूपमा परिचित  रह्यो । यसैले पुष्पकमलको अवचेतन मनले नेपाललाई जंगबहादुर र बुद्ध दुवै चाहिएको घोषणा गर्न जहाँबाट प्रेरणा लियो, त्यो सायद श्रीलंका थियो । तर नेपालका कम्युनिस्टहरूको विडम्बना, जुन राष्ट्रिय जनमोर्चालाई अघि लगाएर जातीय संघको विरोध गराउँछ मसाल, त्यसमा रहेका पुष्पकमलका गुरु मोहनविक्रम सिंह नै बुद्ध उडिसामा जन्मेका थिए भनेर देवलमित्रा सिद्धान्तको समर्थन गर्छन्, राजपाक्षेलाई नेपाली वामपन्थीहरू देखेर रिंगटा लाग्दो हो । देवलमित्रा उडिसाकी अनुसन्धाता हुन् जसले लुम्बिनीमा शोध गर्ने अनुमति नेपाल सरकारसँग लिएपछि बुद्ध उडिसामा जन्मेका हुन् भनेर लेखिन् । यही कारण बाबुकृष्ण रिजालसहित नेपाली अनुसन्धाताहरूले लुम्बिनीको उत्खनन तीव्र पारे र बुद्ध लुम्बिनीमा जन्मेका कुराको पुष्टि गरे । कुनै बेला विराट गौड प्रदेशभित्रै उत्कल पनि थियो । आज पनि करिबकरिब भाषा मिल्छ र यही गौड प्रदेशबाट राजपाक्षेका पूर्वजहरू श्रीलंका पुगेका मानिन्छ । अब हिंसाकै बलले सत्ता कब्जा गर्ने नीति माओवादीले अख्तियार गर्‍यो भने उसले पनि बुद्ध हाम्रा देशका होइनन् उडिसाकै हुन् भनेर पुष्पकमल दाहालका हातबाट मोहन बिक्रमलाई गुरु दक्षिणा प्रदान गर्न के बेर ? लुम्बिनीको विकास गर्न आफूले दिएको १० हजार डलर छोड्ने कि उडिसातर्फ मोड्न लगाउने ? राजपाक्षेलाई उल्टै घाँडो हुने दिन आउँदै होला ! शिवराशन किट्टु, प्रभाकरणका दाहिने हात थिए, जसलाई पंक्तिकारले पनि बितेका दिनहरूमा देखेको थियो । उनीसँग हात मिलाएको थियो । गोली लागेकाले तिनी गोडा खोच्याउँथे । चस्मा लगाउँथे, थोरै बोल्थे, होचा कदका थिए, मोहन वैद्य जस्तै । तिनलाई जाफना आवतजावत गर्दा समुद्रमै गोली हानी मारिएको थियो । यस्तो बडी ल्याङ्ग्वेजका मानिसहरू राज्य विखण्डनकारी सोच भएका पार्टीमा 'सेकेन्ड म्यान' हुँदारहेछन्, राजपाक्षेले नेपाल आउँदा कर्के आँखाले भेउ पाए होलान् । पछिल्लो संसदीय निर्णयलाई 'म्याग्नाकार्टा' को संज्ञा हाम्रा झोले पत्रकारहरूले दिएपछि तत्कालीन बि्रटिस राजदूतले यो 'म्याग्नाकार्टा' होइन भन्न परेकै हो । उसले इज्जाक असिमोभले म्याग्नाकार्टाका नायक 'सार्लम्याग्न' का बारेमा लेखेको सम्झे होलान् किट्टु र वैद्यका पृष्ठभूमिमा, 'ऊ तीन फिटको थियो तर ६ फिटको तरबार बोक्थ्यो ।' नभन्दै त्यो तरबारले तीन छोराका नाउँमा देश टुक्र्याएर तीनवटा बनाइदिएको थियो । प|mान्कियाको नामबाट अहिले प|mान्स छ, जर्मेनिया नामबाट जर्मनी छ, लोरिन्जको नामको लोरिन्जिया प|mान्स र जर्मनीमा बाँडिएर विलिन भएको छ । यसैले पुष्पकमल पक्षधरहरूलाई म्याग्नाकार्टा र सार्लमाग्नका नेपाली रूप किन पि्रय छ, राजपाक्षेले नबुझ्ने कुरा थिएन । तर भन्ने कुरा पनि होइन । क्यान्डीमा भएको बुद्धको दाँत नै ५ इन्च लामो मानिएपछि बुद्धको अग्लाई कत्रो थियो होला ? बुद्ध अग्लाइको सोच राख्नेले किट्टु सोचलाई महत्त्व दिने कुरा पनि भएन । श्रीलंकाका कुरभहरू सूर्य-चन्द्र अंकित छ कुने झन्डा बोक्छन्, करिबकरिब नेपालको जस्तै । यिनलाई १३ औं शताब्दीका राजा पराक्रम बाहुले त्यस्तो झन्डा प्रयोग गर्न पाउने अधिकार दिएका थिए । कुरभहरू आफूलाई कौरवका सन्तान मान्छन् र लुगा धुने, फलामका, काठका, छालाका, काम गर्ने, माछा मार्ने, ट्वाइलेट-ढलका काम गर्ने, तेल पेल्ने आदि काम गर्छन् । यो झन्डा तिनको सामाजिक/सामुदायिक झन्डा हो । ती वामपन्थीहरूका भाषामा सर्वहारा हुन्, ती गणनायक हुन्, ती स्वतन्त्र नागरिक हुन्, नागरिक सर्वोच्चताका प्रतीक ! यो श्रीलंकाको एउटै त्यस्तो सार्वजनिक स्वीकृति प्राप्त झन्डा हो । तर त्यसै अनुरूपको झन्डाको नेपालमा माओवादी किन विरोध गर्छन् ?  नबुझेर राजपाक्षेलाई नेपाल आउँदा शान्तिभन्दा भाउन्न भएको हुनुपर्छ ।बुद्धकालीन लुम्बिनीमा यो छ कुने झन्डा प्रयोग हुन्थ्यो -हुन्थ्यो भन्ने धमिलो प्रमाण भएरै पंक्तिकारले लेखेको हो, छुट्टै लेखमा त्यसको चर्चा गरिनेछ) जो गणराज्य थियो । बुद्धलाई उडिसा पठाउने, त्यो पनि हातमा नेपाली झन्डा हालिदिएर ? पुष्पकमललाई सोल्टीमा भेट्दा राजपाक्षेको मनमा आँधी उठेको हुनुपर्छ, तिनले बुद्धलाई वामियानमा तालिवानले गरेको भन्दा चर्को क्षति पुर्‍याउन जो लागे । महिरावण चमत्कारी वास्तुकार थियो, जसले राज्यको सुवर्ण नगरी रातारात जस्तै दु्रतगतिमा बनाइदिएको थियो । अनि त्यसैको परम्परास्वरूप चमत्कारी वास्तुकार थियो श्रीलंकाकै महाविजय, जसले रातारात इन्द्रचोकको इन्द्रमण्डप बनाइदिएको थियो । सायद उसैले लिएर गएको थियो यो नेपाली झन्डा ११ औं १२ औं शताब्दीमा जो आममानिसको सिकर्मी, बज्रकर्मी, डकर्मी, लौहकर्मी, नकर्मीदेखि मढिकर्मीसम्मको झन्डा थियो । र आजका ती अधिकांश श्रमजीविहरू विरुधकको आक्रमणपछि उपत्यका ओइरिएका थिए झन्डा लिएर, त्यही जसलाई मन पर्दैन ऊ होटलमा भेट्न आएको छ, राजपाक्षेलाई अवश्य पनि के गरौं र कसो गरौं भयो होला । तिलौराकोटको शुद्धोदनको दरबारको प्राचीन ढोकामा उभिएर पंक्तिकारले निकैबेर मध्यरात बुद्ध गएका बाटो नियालेको थियो । तिनले घोडा छोडिदिएका भनिएको ढिस्को जस्तो ठाउँबाट जमिन तरेली पर्दै गएको थियो । अश्वघोषले त्यसको झन्डै ५ सय वर्षपछि 'बुद्ध चरित' मा उल्लेख गरेका हात्तीका वंशजहरू त्यतैतिर एउटा प्राचीन मन्दिरछेउ थिए, जुन मन्दिरका बारेमा भनाइ थियो, त्यो शुद्धोधनपूर्वकाहरूको इष्टदेवदेवीको मन्दिर थियो । कुन आलीहरू टेकेर कुन दिशाहरू फर्किएर, कुन बेगले ती झनझन अँध्यारोमा मिसिँदै गए होलान् ? मनले धेरैपटक तरंगहरू अनुभूत गर्‍यो, त्यो उठेर सेलायो र फेरि उठ्यो । मन यति भावुक बुद्धको जन्मस्थल देखेर भएन, देवदहको पानीमा आफ्नो छाया देखेर भएन । यहाँनेर सर्वहारा वर्गको त्याग र बुद्धको त्यागको तुलना वामपन्थमा हुँदैन । त्यसैले स्टालिनले दिएका २ वटा लिमोजिनप्रति ल्यु साउ चीदेखि झु तेहसम्मका मन लोभिएपछि माओत्सेतुङले सयवटा लिमोजिनको अर्डर गर्नुपरेथ्यो । तिनकै निम्ति बेइजिङका सडक फराकिलो पारिएका थिए । त्यसो त पहिला नै इसापूर्वको गि्रक समाजमा मालिक हुनेले दुवै कुममाथि तुना बाँध्न पाउने र दासले एउटामात्रै तुना बाँध्न पाउने नियम बनाएको दुईहजार वर्षपछि चिनियाँ कम्युनिस्ट पार्टीले नेताको चार खल्ती र श्रमिकका दुई खल्ती भएको पोसाकको नियम बनाएको थियो । ती चार खल्तीभित्र 'लिमोजिन विलास' जो अटाउनु थियो । आज जुन खालको विलासमाथि निराकरण गर्न माओवादी पार्टी असफल वैद्य समिति बनेको छ । पंक्तिकारलाई गएसाताको सोल्टी होटलमा घटेको त्यस युगीन विसंगतिपछि यस्तो लागेको छ, राजपाक्षे कलिङ्गको अशोक उभिएको ठाउँमा उभिएका छन्, प्रचण्ड माउन्ड अफ लायनमा उभिएका छन् र हामी सर्वसाधारण तिलौराकोटको शुद्धोदनको ढोकामा उभिएका छौं । sauravst@gmail.com http://www.ekantipur.com/np/ne...

arahat · Nov 4, 2009 10:23 AM · 3,065 views

1 Reply

I always enjoy this guys writing, his analysis are really good, this guy has got in depth knowledge of history.

Harka_Bahadur · Nov 4, 2009 10:55 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all