"बुझ्न नसकिएको कारण।"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

(कथाको बिषयबस्तु, पात्र वा घटना कसैको जिबनसङ मेल खान गएमा त्यो संयोग मात्र हुनेछ।) त्यो जाडोको बिदामा हामी सानुको मामाघर गएका थिंयौ। सानु मेरो काकाकी छोरी, सबैभन्दा सानी भएकीले उसलाइ हामी "सानु" भन्थ्यौं। उसको मामाघर निकै रमाइलो लाग्थ्यो हामीलाइ। त्यहाँ हामीहरुलाइ स्वतन्त्रताको आभाष हुन्थ्यो। हामीलाइ सानुको मामाले सधैं बाहिर घुमाउन लानु हुन्थ्यो। भने जति सबै अनुरोध पूरा गर्नु हुन्थ्यो। सानुको माइज्यु पनि असाध्यै माया गर्नु हुन्थ्यो हामीलाइ। उहाँको पनि दुइ छोरीहरु थिए, छुनु र मुनु, उनिहरु पनि हामीहरुलाइ त्यस्तै मन पराँउथे। सानुको हजुर आमाले चाहिँ मेरो भाइलाइ धेरै माया गर्नु हुन्थ्यो अरुलाइ भन्दा। त्यसैले भाइ झन खुशी हुन्थ्यो सानुको मामाघरमा। त्यहाँ हामीहरु आफुलाइ मन लागेको कुराहरु गर्न सक्थ्यौँ, फलफुलको रुखमा चडेर सक्दो खान सक्थ्यौं, नसकेको फाल्थ्यौं, कसैले हामीलाइ रोक्न सक्दैनथे। त्यो उमेरमा हामीलाइ खेल्नु र खानु सिबाय अरु कुराको मतलब हुन्थेन। तर हामी सामाजिक रीतिबारे प्रश्न गर्ने पनि भइसकेका थिंयौ। भाइलाइ बाहेक हामीहरुलाइ घरमा "छोरी भएर धेरै हाँस्नु हुँदैन" भन्ने कानुन मन पर्थेन। सानु र म कहिले कहिँ त्यही कुरामा सक्दो बिबाद गर्थ्यौँ अभिभाबकसङ। तर हाम्रो कुरा कसैले गम्भिरतापुर्बक बुझ्नु हुन्थेन, त्यो नियम परम्परा हामीहरुको बिद्रोहले परिबर्तन हुन्थेन। त्यसैले हामीमा पुरै बचपना  पनि थिएन, न त जिबनको गहिराइ बुझ्ने सामर्थ्य थियो। र पनि हामी रमाउथ्यौँ सानुको मामाघरमा। त्यहाँ हामी मन फुकाएर हाँस्थ्यौ सानुको मामा र माइज्यु सङ। हजुर आमाको अगाडी चाहि औपचारिकता धेरै गर्नु पर्थ्यो, हलुका हिड्थ्यौँ, सानो स्वरले कुरा गर्थ्यौं। सानुको मामाघरमा हामी सुत्ने समय पनि आफ्नै हुन्थ्यो। घरमा जस्तो नौ बजे नैं खाटमा मन नलागी नलागी आँखा चिम्लेर सुतेको जस्तो नाटक गर्नु पर्थेन। एक रात हामीहरुमा फेरि नयाँ अनुभव गर्ने बिचार आयो, सानुको मामाघरमा सबै भन्दा अग्लो हलुवाबेदको रुख थियो। रुखै चडेर हलुवाबेद खानुको मज्जा अर्कै हुन्थ्यो। भाइ चड्थ्यो, अनि म, त्यसपछि सानु। राति रुख चड्नुको मज्जा अर्कै हुन्थ्यो, कसैले नदेख्ने र कसैलाइ भन्नु पनि नपर्ने। त्यस्तै ११-१२ बजेको हुँदो हो। रात चकमन्न अध्याँरो थियो। टाढा टाढा कतै कुकुरहरु रोएको सुनिन्थ्यो। हामी बिस्तारै तल आयौँ, चप्पल हातमा लिएर पदचापको आवाज सकेसम्म नआउने गरी बङैचामा पुग्यौं। हाम्रो मन डर र रोमान्चकताले भरिएको थियो। हलुवाबेदको रुखमा निस्फिक्री चड्ने र ओर्लिने बेलामा रुखको फेदमा हलुवाबेद दलि दिनु अर्को आनन्द थियो। ओर्लिनेको जिउभरी हलुवाबेद लाग्थ्यो, अनि मध्य रातमा चिसो पानीमा नुहाउनु पर्थ्यो। बङैचामा पुग्नासाथै भाइ पहिले हलुवाबेदको रुख चड्यो, म भाइ माथि पुग्नासाथ चड्छु भन्ने पालो कुर्दै थिए, मेरो पछि सानु थि। तर भाइले माथि पुगे पछि हामी चड्ने ठाउ भरि हलुवाबेद दल्दै गयो। सानु र म तल बसेर भाइसङ झगडा गर्न थाल्यौँ। भाइले हलुवाबेदले हामीलाइ हान्न थाल्यो, हामी फेरि त्यही हलुवाबेद भाइ झर्ने बाटोभरि दल्दै थियौँ। अचानक "कुइँइीयssssssssss" बाहिरको ढोका खुलेको जस्तो आवाज सुनियो, हामीहरु सबै सतर्क भयौँ। भाइ रुखमै थियो। सानु र म ढोकातिर हेर्दै थ्यौँ। कसैले ढोका बिस्तारै खोल्यो, हामीलाइ आज पक्कै पनि हाम्रो बदमाशी पक्रिने भयो भन्ने डर लाग्यो। भाइ पनि रुखबाट बिस्तारै तल ओर्लिन थाल्यो। सडक बत्तिको मधुरो प्रकाशमा हामीले एउटा छाँया ठिङ उभिएको देख्यौँ हाम्रो ढोकामा। कुनै स्त्री शरीर बाहिर निस्किन लागेको थियो। पछाडीबाट हामी उस्को डाढमा फैलिएका छरप्रस्ट केशराशी मात्र देख्थ्यौं, रातो सारी कुर्कुच्चा छोप्ने गरी लगाएको जस्तो देखिन्थ्यो। त्यो छाँया एकछिन ढोकामा रोकियो। त्यसपछि हतार हतार ढोकाको दाँया गल्लीतिर मोडिदाँ हाम्रो मुटु ढुक ढुक गर्न थालिसकेको थियो। सानु मेरो हात समातेर काम्दै थी, भाइ रुखको फेदमा बसेर रुन थालेको थियो। हाम्रो पाइतालाहरु जमिनमा टाँसिएका थिए, हामी न घरभित्र जान सक्थ्यौँ, न त्यहाँ बाहिर बस्न सक्थ्यौँ। ढोका अझै आधा खुलेको थियो। क्रमश:

crazy_love · Sep 11, 2009 1:33 PM · 82,955 views

93 Replies · Showing 81 - 93
Page 5 of 5

कुरो यस्तो पो रैछ, माइजु बोक्सी होइन भनेर त पहिले नै थाहा थ्यो, अब चन्डाल त मामा नै रैछ - अर्को बिहा गर्न दोष लगाको रैछ ल - अनी अरु के भो त - लेखुम लेखुम

serial · Nov 2, 2009 9:26 AM

bichara maejuu  mama sanga hidney tyo Namrata ta hoina ani mama chahi DJ Tantrik P.S. Its just a joke

cosmo · Nov 2, 2009 5:22 PM

बिचरी माइजु। Waiting for next part.... <<मैले त तिमीलै पनि ट्वाँले चिट्ठि पठाको छ भन्या सुन्या छु। के यो साँचो हो??>> त्यो कुरा त पुरानो भाईसक्यो क्रेजी। ट्वाँले miss_sis लाई ढेखेर ट्वाँ भईसक्यो रे।

NitiSa · Nov 3, 2009 7:50 PM

भाग-१२ साँच्चै त्यो दिन देखि माँ र काकीको धेरै नैँ खासखुस कुरा हुन थालेको थियो। मलाइ भने माइजु र मामाको कुरा कहाँसम्म पुग्यो भन्ने चासो लाग्थ्यो। म माँ र काकीले थाहा नपाउने गरी सुन्न बस्थे। तर बेला बेलामा बच्चा भएर पनि ठुलो मान्छेको कुरा किन सुन्ने हँ भन्दै मलाइ धपाइ हाल्नु हुन्थ्यो। हरेक शनिबार काकी मामाघर जान थाल्नु भाकोथ्यो। तर सानु र मलाइ सङै लानु हुन्थेन। काकीको तवर हेर्दा केहि घटिरहेको छ भन्ने अनुमान गर्न सकिन्थ्यो। तर के भनेर मैले अड्कल गर्न सक्दिनथे। सानुलाइ सोध्थेँ, उसलाइ झन केहि थाहा थिएन। माइजु बोक्सी हो कि हैन होला भन्ने कुरामा मेरो रुचि बढेको थियो। तर म सङ पर्याप्त अबसर र उचित बाताबरणको कमी थियो। स्कुल मेरो लागि अपरिहार्य तालिका थियो। चम्पा कम बोल्न थालेकी थि। धेरै जसो एकोहोरिएर बस्ने गर्थी। बोलाँउदा झस्किने गर्थी। कुनै सपनामा हराए झैँ गर्थी। उ अब मनका कुराहरु म सङ गर्दैनथी। उसको खासै कोहि साथी थिएन र पनि उ म बाट टाढिएको महसुस हुन थालेको थियो। स्कुलको दिक्क लाग्दो बातबरण मलाइ मन पर्दैनथ्यो। त्यही क्रममा एकदिन फेरि ट्वाँ मेरो बाटोमा देखा पर्‍यो। बहुलाउन नसकेको तर जिन्दगीदेखि हार खाइसकेको जस्तो ट्वाँको उदास अनुहार देखेर म छक्क परेँ। अब के हुन लाग्यो नि भनेर सोच्दैँथे, ट्वाँले भुमिका बाँध्न थाल्यो। "क्रेजी, तिम्रो नजरमा म एउटा हुल्याहा र बेकामे केटो हुँ है?" "कसरी थाहा पायौ?" मैले ट्वाँलाइ सोधेँ। उसले भनेको कुरा सत्य भए पनि मैले कसैलाइ भनेकी थिँइन। "हेर ! मैले आफ्नो गल्तीको सजाँय पाइसकेँ। चम्पाको लब अर्कै सङ परिसक्यो, रुबिले त मलाइ फुट्या आँखाले नि हेर्दिन।" " ट्वाँले थकित पाराले भन्यो। रुबिले उहिले ट्वाँकै अगाडी उसले दिएको चिट्ठि च्यातेकी थिइ। चम्पा त ट्वाँ देख्नासाथै हतार हतार बाटो मोड्थी। "ठिक छ! सुध्रिने चाह्यौ भने अझै मौका छ।" मैले अलिकति ठुलो भएर उपदेश दिँए। "त्यो त छदैछ। तर मैले एउटा कुरा अझैसम्म बुझ्न सकेको छैन।" ट्वाँले सार्है नै दार्शनिक पारामा भन्यो। "के ?" मैले भने। "हेर न! जब हाम्रो मुटु यति ठुलो छ, हामी माया गर्न किन कन्जुस्याइ गर्छौ हँ?" ट्वाँको कुरा मैले केहि बुझिन। "मतलब?" मैले ट्वाँलाइ उल्टै सोधेँ। "जब मेरो मुटुमा धेरै जनालाइ माया गर्न सक्छौँ भने म किन एकै जनालाइ मात्र माया गर्ने हँ? तिमीले बुझ्यौ मेरो कुरा?" ट्वाँको कुराले मेरो टाउको भनन भयो। चक्कर लाग्यो। दिँउसै तारा देख्न थाँले। "हो त! म चम्पा र रुबि दुबैलाइ चाहन्थे, तर उनिहरु एकजना सङ मात्र मैले माया गरोस् भन्ने चाहन्थे। कत्रो बिडम्बना! यत्रो बिशाल मुटुमा खालि एक्जनाको लागि मात्र माया ?" ट्वाँ नन्स्टप बोल्न थाल्यो। "वाहियात!" मैले शब्दलाइ ठिक ठाँउमा प्रयोग गरेँ जस्तो लाग्यो।ट्वाँलाइ मैले आँखा तरेँ। ट्वाँ लुरुलुरु अर्कै बाटो लाग्यो। ट्वाँको अन्तिम प्रश्न मेरो कानमा गुन्जिरह्यो, मैले मामालाइ सम्झेँ। शायद मामा पनि धेरैलाइ माया गर्ने सामर्थ्य राख्नु हुन्छ, माइजु अनि अर्को केटि, छुनु, मुनु। कति विशाल मुटु। हैन, हैन, त्यस्तो सम्भव छैन। समाजमा त एकजना सङ मात्रै बिहे गर्न मिल्छ। त्यो मोरो ट्वाँको कुरा मैले किन सोच्नु पर्‍यो। त्यो हुनै सक्दैन। तर यदि मामाले पनि त माइजु र अर्को केटि दुबैलाइ माया गर्छु भन्नु भयो भने के हुन्छ नि? मेरो मनमा प्रश्नहरु फेरि उब्जिए। साँच्चै एउटा मान्छेको मनमा कतिजनाको लागि माया हुन्छ हँ? मैले पनि ट्वाँको कुरा बुझिन। बुझ्ने कोशिश पनि गरिन। दिनहरु कति छिट्टै बिते, पत्तै पाइएन। दशैंको लागि स्कुल बिदा पनि भयो। सानुको मामाघरमा पनि टिका लाउन जान पाइने भैयो बल्ल तल्ल कति पछि।  मनमा धेरै कौतुहुलता थियो। माइजुको कुरा, मामाको कुरा, छुनु, मुनुको कुरा सबै सुन्न मन थियो। दशैको नयाँ लुगा लाएर हामीहरु त्यो दिन बिहानै सानुको मामघर पुग्यौँ। हजुरामा हामीलाइ देखेर खुशी हुनु भयो। हामीमा अर्कै स्फुर्ति आयो। हामी तल माथि बाहिर भित्र सबैतिर दौडिन थाल्यौँ। टिका लाउने बेला भयो। दक्षिणाको लोभ थियो। मामाले जहिले पनि अरुले भन्दा धेरै दक्षिणा दिनु हुन्थ्यो। त्यसैले सानु, म र भाइ लाइन लागेर बस्यौँ। हजुरामा माथिबाट आउनुभयो, उहाँको पछि पछि अर्को महिला पनि आउनु भयो, त्यसपछि मामा एउटा फुच्चे बच्चाको हात समाउदै आउनु भयो। "ल, माइजुलाइ दर्शन गर!" हजुरआमाले नयाँ महिलालाइ चिनाउनु भयो। सानु टक्क हेरीरही, उसलाइ पनि थाहा रहेनछ शायद। म झन अक्क न बक्क भएँ, भाइ सानु र मैले जे गर्छ त्यही गर्ने भनेर कुरीरहेको थियो। "पर्दैन।" नयाँ माइजुले त्यति मात्र भन्नु भयो। "यो सानु, यो --- " मामाले हामीलाइ नयाँ माइजुसङन चिनाइदिनु भयो। नजिकै आँउदा नयाँ माइजुलाइ मैले कहाँ देखेको, कहाँ देखेको जस्तो भयो। पक्कै पनि चम्पासङ फिलिम हेर्न जाँदा मामासन हात समाएर हिँड्ने नारी उनै थिइन्। मलाइ आफ्नै अगाडी अर्को फिलिम चलेको जस्तो भयो। मामाले फुच्चेलाइ काखमा राखेर फेरि भन्नु भयो। "यो रुपेश! तिमीहरुको सबै भन्दा सानो भाइ।" रुपेश, सबैभन्दा सानो भाइ लजाएर मामाको काँधमा लुक्यो। भाइ दङ पर्दै" बल्ल मेरो साथी आयो।"उफ्रिदैँ रुपेशलाइ फकाउन गयो। केहि बेरमा नैँ रुपेश र भाइ साथी भए। रुपेशले आफ्नो स्कुलको चित्र भर्ने किताब ल्यायो र रङ भर्न थाल्यो। सानु र म आँखै आँखाले एक अर्कालाइ हेर्न थाल्यौँ। टिका लगाइयो, दक्षिणा पनि पाइयो। सानु र म तुरुन्तै बङैचामा आयौँ। "तिमीले नि मलाइ केहि नभनेको सानु? हेर कस्तो छुच्चि तिमी।" मैले दुख पोखेँ। "गड प्रमिस! मलाइ केहि थाहा थिएन। बल्ल आज त थाहा पाउदैछु। मामुले जहिले पनि मलाइ कुरा सुन्नु हुन्न भनेर गाली गर्नु हुन्थ्यो। अनि अर्को माइजुसङ कुरा गर्नु हुन्थ्यो। अहिले पो थाहा पाँए।" सानु उस्तै निर्दोष पाराले भन्दैथी। "अर्को माइजु खोइ त?" मैले सानुलाइ सोधेँ। "के थाहा?" उसले फेरि उस्तै गरी भनी। "छुनु मुनु?" सानुले ओंठ लेब्र्याइ। "मामाले यदि नयाँ माइजु बिहे गर्नु भएको भए पनि यति छिटै रुपेश कसरी जन्मियो? स्कुल जाने कसरी भयो?" मैले प्रश्न माथि प्रश्न गर्न थाँले। "खोइ?" सानु अनभिज्ञ थी। त्यसदिन पछि बिस्तारै थाहा पाइयो।  पुरानो माइजु र मामाको डिवोर्स भैसकेछ। छुनु मुनु पनि माइजुसङै गएछन्। मामाको नयाँ माइजुसङ धेरै पहिले देखि सम्बन्ध रहेछ। रुपेश त्यही सम्बन्धको परिणाम रहेछ। त्यति धेरै कुरा घटिसक्दा पनि पुरानो माइजु सहनशील भएर परिवारको लागि गर्नु पर्ने जिम्मेवारीहरु सम्हाल्दै हुनु हुन्थ्यो। सौभाग्यको खातिर पुजा आजा, अन्धबिस्वास सबै मानिरहनु भएको थियो। छरछिमेकतिर  मानिसहरु अझै मामाको दोस्रो बिहे गर्नुको  कारण पुरानो माइजु "बोक्सी" भएकोले भन्ने बिस्वास गर्थे। लोग्नेलाइ मार्नै लागि सकेकी थी रे भन्ने कुराहरु पनि सुनिन्थ्यो कतै कतै। जसले जे भने पनि मैले अझै पनि बुझ्न सकेकी छैन। आखिर माइजुलाइ बोक्सी नैँ किन बनाइयो ?   समाप्त। Last edited: 09-Nov-09 03:23 AM

crazy_love · Nov 9, 2009 3:01 AM

ल गज्जब सँग गयो यो कथा दोष मामा कै हो भनेर अड्कल त पहिले नै काटेको थिएँ खै मैले पनि बुझ्न कुरा चाँही - बोक्सी कै आरोप किन लागेको त तर जे भएपनी कथा एक्दमै राम्रो छ अनी ट्वाँ त क्या बिशाल मुटु भा मान्छे है - त्यस्तो बिशाल मुटु मा दुई जना त के दश जना नै अटाउला - रुबी र चम्पा ले किन बुझ्न नसकेको होला है - अर्को मैले बुझ्न नसकेको कुरा पनि एही हो के  

serial · Nov 9, 2009 9:34 AM

एकै सास मा पढियो , क्रेजी कथा एक दम राम्रो लाग्यो । बिचरा माइजु !!! अनी ट्वाँ को के भयो त ? क्रेजी र ट्वाँ को पर्‍यो कि क्या हो ??

???? · Nov 9, 2009 11:52 AM

another great piece  from crazy.. I am great fan of writing of genius writer like you, Deep, राहुल भाई ,बैरे, Ramprasad Neupaune, AmitRaja, RajaHarischandra, FuchheKeto,A_P,Gautam B, Dyanamite, and many more..Hats Off to all of you for letting us to read ur writings. You guys are true gems of this forum..And please dont quit writing in this forum and hope we will have many more  from you guys in future too. हुन त मैले कहिले कमेन्ट लेख्ने गरेको छैन यो साझा फोरुममा । तर आज क्रजीको यो कथा पढेर केही लेख्ने दुस्साहस गर्दै छु, अन्यथा नसम्झी दिनु होला। अझै पनि नेपालको गाउँ घरमा मात्र नभएर शहरमा पनि बोक्सिको अन्धबिश्वास कायम नै छ र आफुलाई  शिक्षित र भलाद्मी भनाउन्दाहरुले नै यो अन्धबिश्वासलाई जलमल दिएर हुरकाइ राखेका छन। हुन त म बोक्सीको अस्तित्वनै छैन भनेर भन्न सक्दिन तर कुनै पनि निर्दोश महिलालाई बिना कुनै प्रमाण बोक्सी को आरोप लगएर उस्को मान्मर्दन गरिनु कदपी राम्रो होइन। यस कथाको माइजु पात्रको सहनशिलता र  कर्तव्यनिस्थाको जतिपनी प्रशन्शा  गरेर पनि पुग्दैन । तर उनले आफु माथि लगाएको बोक्सीको दोशारोपनलाई प्रमाणित गर्न आफ्नो लोग्ने र सासुलाई चुनौती दिन सक्नु पर्थ्यो। हुन त उनी हाम्रो देशका येस्ता हजारौ महिलाहरुको प्रतिनिधि  मात्रै हुन जो अझै पनि बोक्सिको नाममा आफ्नो परिवार र समाजबाट अपहेलित छन। माइजुले आफ्नो नभए पनि आफ्नो  दुई छोरी छुनु र मुनुको अधिकारको लद्नु पर्थ्यो। एस्तो लाग्छ कि कथाका मामा र हजुर आमा पात्रले माइजुबाट दुई छोरी मात्रै भएको ले उन्लाई उपेक्ष्या गरेका हुन र उन्लाई बोक्सीको आरोप लगाई घरबाट निकाली छोराको आमा भईसकेकी  अर्को माइजुलाई घरमा भि्त्राउने सद्यन्त्र मात्र हो यो। anyway thanks a lot to crazy for posting such a nice story here in sajha forum and for giving us chance to read.

gurudevkoguru · Nov 9, 2009 12:07 PM

Santosh1984 ज्यु, बोक्सीको बहानामा प्रेम र बिछोड पनि भैसक्यो त यो कथामा। यस्तै रहेछ यहाँको चलन। पुरे, माइजु राम्री थिइन् रे? कहिले देख्या? भनेपछि पुरे पनि सानुको मामा खलक हो कि क्या हो? लहरे नि क्या स्मार्ट! माइजु बोक्सी हैन भनेर पहिले नै थाहा थियो रे। अनी ट्वाँ त क्या बिशाल मुटु भा मान्छे है - त्यस्तो बिशाल मुटु मा दुई जना त के दश जना नै अटाउला - रुबी र चम्पा ले किन बुझ्न नसकेको होला है - अर्को मैले बुझ्न नसकेको कुरा पनि एही हो के योम्माssssssssssssssssssssss सा-- के भन्या लहरे त्यस्तो? लौ न लहरेको नि दाउ ट्वाँको जस्तै रैछ भनेर भन्नु मिलेन। cosmo, जोके पो गरेको! ठिकै छ साथी! नितिसा, ट्वाँ साझामा अैसक्यो रे! होस गर है! बैरे, धन्यबाद साथि! तिम्रो कथा कहाँ पुग्यो होला पढनै बाँकि छ। ट्वाँ र मेरो पर्‍या छैन। बरु ट्वाँले रियालाइ पनि चिट्ठि पठाउला नि होस गर्नु। gurudevkoguru ज्यु, प्रतिक्रियाको लागि धन्यबाद! साझामा तपाइँ जस्तै साथीहरुको हौसलाले गर्दा नैँ मलाइ अरु लेख्ने प्रेरणा दिन्छ। बास्तबमा भन्ने हो भने मलाइ सबैभन्दा ठुलो सन्तुष्टी नै कथा लेख्दा हुन्छ, अझ त्यो भन्दा धेरै खुशी साथीहरुको प्रतिक्रियाले दिन्छ। लेख्ने प्रयास गर्दै जाँदा कथा लेखन पनि एउटा नशा हुन पुग्यो। त्यसैले नलेखी बस्दा केहि अपुरो केहि अधुरो जस्तो हुदो रैछ जिबनमा। बोक्सीको नाममा नेपाली समाजमा तपाइले भने जस्तै धेरै महिलाहरुमाथि अन्याय भएको छ। कथाकी पात्र माइजु त एक उदाहरण मात्रै हुन। धेरै जस्तो घटना त गरीबीले सताइएको महिलाहरु माथि घटेको देखिन्छ। बेला बेलामा संचारमा आउने बोक्सी आरोपित महिलामाथि गरीने अत्याचारको बिभत्स समाचारहरुले मन दुखी बनाँउछ पनि। शायद कुनै दिन हाम्रो समाजमा यो अन्धबिस्वास को पनि अन्त्य हुन्छ कि भन्ने आशा चाहि छ मलाइ।

crazy_love · Nov 9, 2009 1:23 PM

Feel really bad for maiju. She is an epitome of the greatness of Nepalese woman and how helpless they are in our society.Bajya twaale crazylai kehi sanket gare jhain lagyo. khai kura bujhya?? Very nice story. Waiting for more from you. 

santosh1984 · Nov 9, 2009 2:23 PM

नरमाइलो र ढु:ख लाग्यो माइजुको इस्थितीमा। छोरीहरुको पनि एकदम माया लाग्यो। तेही त कुरा बुझ्न नसकिने... किन माइजुको दोस्??   

NitiSa · Nov 9, 2009 4:40 PM

छोरा पाउन नसक्नु मात्र नै माइजुको दोश जस्तो लाग्छ मलाई। बुहारीलाई त घरबाट निकाले रे तर बिचरी छुनु र मुनुको के दोश थियो र? के हाम्रो समाजमा छोरी भएर नै जन्मिनु उनिहरुको दोश हो र ?

gurudevkoguru · Nov 9, 2009 8:33 PM

बिचरी माइजु कती सोजी है , मेरी हर्किनी भको भए त कपाल र्याइ र्याइ पारेर टोल छिमेक घर परिवारमा बबाल गरेर जात्रा गर्थी होली । एक चोटि स्कुलमा सँगइ पढ्ने केटी सँग भेट भयो अनी चिया खान भनेर कफी सपमा छिरेको थिए , कुन चैनिले देखेछ र खबर पुराएछ हर्किनी पढ्केर जात्रा , घरमा पञ्चाएतिनै बसाउनु परेको थियो , गान्ठे सम्झेरनी हासो लाग्छ । जे होश माइजुले केही गर्नु पर्थ्यो , चुप चाप शहेर " जो भाग्यमा कोरिएका सुख दु:ख सुइकार्य छन " भनेर हिडिछन बिचरी । कथा बियोगान्त , हाम्रो समाजको झूर र वाक्क लाग्दो कुरोलाई क्रेजिले आफ्नै कथा जसरी मिलार पस्की, मिठो लाग्यो अनी कता कता मन पनि खिन्न भो । जे होश लेख निक्कै राम्रो , बेला बेला मा  ट्वा पात्रले हसाउन खोज्यो , दर्द भरिएको काहानीमा केही हासो पनि मिलार मिसाकी छे क्रेजिले । कथा लेख्न जानेकी छे क्रेजिले । "क्रेजिली वेटिङ फर नेक्स्ट स्टोरी सून "

Harka_Bahadur · Nov 9, 2009 10:57 PM

" एउटा मान्छेको मनमा कतिजनाको लागि माया हुन्छ हँ?" ट्वाँ ले भन्नु र फुचची क्रेजी ले सोच्नु स्वोभाविक नै हो, रमाइलो लाग्यो। सुरु देखी अन्त सम्म सलल बगेको छ सधैं झै। अर्को ब्यन्जन कहिले पस्किने त ? -क्रेजी रिडर

?????? · Nov 10, 2009 11:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all