छद्म यथार्थ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

छद्म यथार्थ उस्लाई मैले नचिनेकी होईन। परिचय गरेकै उसैले हो म सँग, उस्ले झन मलाई नचिन्ने कुरै भएन। तर अहिले उस्को र मेरो चिनजान छैन। नबुझ्नेलाई बुझाउनु पर्ने छद्म यथार्थ यही हो। यो पुरानो परिचयलाई नौलो बनाउने प्रस्ताव न उस्को हो न मेरो तर न मैले चुनौती दिएँ प्रस्तावलाई, न उस्ले। अनि छद्मको बादलले यथार्थको सूर्यलाई छेक्यो। दिनभरी त छेक्ला, साँझ होला। रात पनि बित्ला तर बिहान? बिहानको चिन्तामा रात कसरी बित्ला? अनि हो भोलि पनि बादल लाग्ला अनि पर्सी पनि। चिन्ता सूर्यको हो र पनि ध्यान केवल बादलमा थियो। मेरो बाबा आमाका दुईटा ज्वाईं। छोरी ज्वाईं। कोठामा ठुलो पारेर राखेको त्यो तस्बीर जस्मा म र मेरो श्रीमान मुसुक्क हाँसेका छम्, त्यो तस्बीरमा मैले श्रीमानलाई एकहोरो हेरिरहें। जिन्दगी पनि तस्बीर हुँदो हो त जस्तो लाग्यो। तर कुन चैं तस्बीर जस्तो? मसँग धेरै तस्बीरहरू थिए। कहिले नदीमा बग्ने त्यो पानीमा म आफूलाई देख्थें, निस्फिक्री बरालिने हावामा देख्थें कहिले। मेरा स्पर्शहरूलाई मेरो निम्ता ठान्नेहरू निरुत्साहित हुन्थे। मेरा स्पर्शहरू मेरा लागि अनुभव जरुर थिए तर कसैको स्वामित्वमा थिएनन्। उस्ले मेरा स्पर्शहरूलाई दावी गरेन। त्यो मलाई राम्रो लाग्यो। मेरा अरु स्पर्शहरू जस्ले उस्लाई छुदैन थिए ती स्पर्शहरूलाई पनि प्रश्न गरेन त्यो झन राम्रो लाग्यो। उस्ले स्वामित्वको कुरै गरेन। मलाई त्यो नौलो लाग्यो। नौलो बिषयमा मुलत: दुई प्रकारका आकर्षण हुन्छ्न। एउटा प्रशंसाको अर्को अनुभवको। अनुभवको आकर्षणमा प्रशंसा स्वत: समाबेशी हुन्छ। म उस्को अनुभवमा अल्झिएँ। त्यो अल्झाई बन्धन थिएन, रहर थ्यो। बन्धन त मलाई मन नै पर्दैनथ्यो। ऊ मुक्त थियो, म मुक्त थिएं तर हाम्रा भावनाहरू बन्दी हुन पुगे। कसरी पुगे? म आफैलाई अचम्म लाग्छ। उस्ले र मैले एक अर्कालाई भेटदा एक्ला एक्लै भेट्ने गरेका थियौं तर छुट्टिंदा सँगै छुट्टिन थालिम्। मसँग बिदा भएर आउँदा ऊ पनि मसँगै हुन्थ्यो, ऊ सँग पनि म नै हुन्थे रे भन्थ्यो ऊ। सँगै हुँदा भन्दा नहुँदा ऊ र म झन नजिक हुन्थेम। त्यो अनुभव मेरो लागि अरु नौलो थियो। मेरो रहरको बगैंचामा केवल फूलहरूको लागि मात्रै ठाउँ थ्यो। ऊ एउटा अदभुत अलौकिक नै हो कि जस्तो सुन्दर फुल थियो तर काँडामा फुलेको। काँडा होईनन यी भन्थ्यो ऊ तर मलाई भने पटक पटक घोचेका थिए। मलाई ती काँडा मन परेनन, तर फूल नभै पनि भएन। म उस्को स्वामित्व नस्विकार्ने तर आफैं उस्को बन्दी हुन पुगे जस्तो लाग्यो। ऊ किन मेरो बन्दी भएन? मलाई म उस्को बन्दी हुने भन्दा ऊ मेरो बन्दी भएको हेर्न मन लाग्यो। तर ऊ भएन। ऊ जति मुक्त भयो, उस्लाई बन्दी बनाउने धुन म मा उत्तिकै बढ्न थाल्यो। आखिर उस्लाई मैले बन्दी बनाई छोडें। उस्को र मेरो बिहे हुने भयो। बिहे छिनियो। यो ६ बर्ष अघिको कुरा हो। ऊ घरमा आउँथ्यो, ज्वाईंसाबको सम्बोधन पाउँथ्यो। मेरो बाबा आमाको पहिलो ज्वाईँ ऊ नै थ्यो। मलाई ऊ बन्दी बनाउने रहर थ्यो, त्यो ऊ भएको थ्यो। अब मलाई बन्दीसँगको बन्धन भन्दा उही मुक्ति नै प्यारो लाग्यो। बन्धनमा पर्दा गरिने रहरको मुक्ति र मुक्त हुँदा गरिने मुक्तिको अनुभव कहाँ एकै हुन्थ्यो र? मुक्तिको अर्थ बास्तबमा बन्धनले गर्ने रहेछ। म त्यै बाटोमा लागें। बन्धन बन्धन भएन, बन्दी बन्दी भएन। तर प्रकिया पनि त्यति सजिलो भएन। अहिले मेरो घरमा बाबा आमा आउनु भएको छ। मैले नै बोलाएकी हो घुमाउन भनेर। ज्वाईँलाई पनि त भेटाउनु पर्यो। घर गएर बिहे गर्न पाईएन। त्यस्तै पर्यो, परदेशमा। बिहे गरेको पनि त कति नै भयो र? ३ महिना न हो। आज श्रीमानसँग ऊ हामीकहाँ आएको छ। कुरा गर्दैछ श्रीमानसँग। शिष्टाचार त सकिएको छ तर कुरा होईन। बाबा आमा कहिले आफ्ना दुईटै ज्वाईहरूलाई हेर्नुहुन्छ कहिले मलाई। उस्लाई मैले नचिनेकी होईन। परिचय गरेकै उसैले हो मसँग, उस्ले झन मलाई नचिन्ने कुरै भएन। तर अहिले उस्को र मेरो चिनजान छैन। नबुझ्नेलाई बुझाउनु पर्ने छद्म यथार्थ यही हो। *******   (साभार्: मझेरी डट् कम्)

Deep · Sep 11, 2009 9:09 AM · 24,941 views

12 Replies

सँगै हुँदा भन्दा नहुँदा ऊ र म झन नजिक हुन्थेम। अब मलाई बन्दीसँगको बन्धन भन्दा उही मुक्ति नै प्यारो लाग्यो। बन्धनमा पर्दा गरिने रहरको मुक्ति र मुक्त हुँदा गरिने मुक्तिको अनुभव कहाँ एकै हुन्थ्यो र? Ramro sanga lekheko lekh chha. dherai alankarik bhayo yo katha. thikai chha. Grade dinai parne ho bhane C- dinu parchha. average katha.

PeaceSoul · Sep 11, 2009 11:00 AM

हे प्रभो, फन्-फनी घुमायो प्रभो, मैले त ३ ताल त पढें, तर अझै पनि घुमाइराछ, कामै गर्न नसकिने गरी घुमायौ त प्रभो। धेरै दिन पछी दर्शन दियौ, तेस्को लागि धन्या-पात

perfectionist · Sep 11, 2009 11:23 AM

गजबको कथा दीप प्रभो! जिब्रोमा तपाइँको नयाँ स्वाद पर्यो!

Birkhe_Maila · Sep 11, 2009 2:01 PM

हामी जस्ता निर्धा लाई यस्ता कथाले त पेल्यो नि प्रभु, जती पढे नि एउटै निस्कर्श निस्किन्छ त

Stat · Sep 11, 2009 2:21 PM

ओहो...  हरेक वाक्यको वजनले मथिङ्‍ल हल्लाउने तैपनि भारी महशुस चै नहुने!  कति गहिरिन सक्या हो... गहिराई शब्दले नि न्याय गर्दैन ... गहिराई हुंदै केन्द्रलाई छेडेर अर्कोपट्टीबाट निस्किम प्रभो!

HomLal · Sep 11, 2009 5:42 PM

kaalo akshar butta barabar bho ni Naran!

Deep · Sep 22, 2009 12:06 PM

माथि बुट्टामा के लेख्या हो साथीहरुले त्यो हेरेर धन्यवाद भनम्ला भनेको --ट्याम लाग्छ जस्तो छ। अब जस्ले जे जे भनेको भए पनि मेरो तर्फ बाट हार्दिक धन्यवाद । दसैं सबैको मंगलमय होस। 

Deep · Sep 25, 2009 8:47 AM

विजया दशमी को शुभ उपलक्ष्य मा दीप गुरु लाई मेरो हार्दिक मंगलमय शुभकामना .. दीप गुरुको जीवन मा नोकरी-छोकरी, नाम-दाम, सुख-सयल को कुनै कमी नरहोस् .. युग-युगान्तर सम्म हामी जस्तो पाठक लाइ मिठो मिठो बाङगे पुराण को प्रसाद पस्किरहने शक्ती प्रदान गरुन भनेर माँ भवानी सँग प्रर्थणा गर्दछु ..फेरी एक पल्ट विजय दशमी को शुभकामना 

popeye · Sep 25, 2009 2:44 PM

साँच्चै फनफनी घुमाउने कथा रहेछ! एक छिन लाग्यो कथा बुझ्न। कथाले देखाएको परिस्थिति सामान्यनै भईनसकेपनि धेरै उब्जिन थालिसकेको छ जस्तो लाग्छ मलाई। मन प-यो प्रभोको वर्णन शैली!

Gautam B. · Sep 28, 2009 9:40 PM

prabho! arko tara ali bhinna prakritiko khurak paskanu bhayeko ma dherai dhannebad. Je hos prabho ko srijana le sadhai jasto mutuma dhangro chahi hanichhadyo!

lale · Oct 10, 2009 4:45 PM

Loved it. 

santosh1984 · Oct 10, 2009 10:23 PM

really loved it....sachai nai ramro raicha... i am trying to read all of your stories sabai ramro.. happy tihar to you...

brandy · Oct 12, 2009 1:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all