"दागबत्ती"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

&nbsp;(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) "दागबत्ती" भाग १ "बाबु राम्रो सँग जाउ ! घर पुग्ने बितिकै मलाई फोन गरिहाल है ! " सुबाश पर क्षितिजमा पुगिसक्दा पनि आँखाले देखुन्जेल हेरिरहे। सुबाश मात्र मेरो घर तिरको एक सदस्य हो जो मेरो हेर बिचार गर्छ, सुख दु:ख पर्दा हातमा हात मिलाउन आइपुग्छ। उ मेरो सौताको छोरा हो। सौताको छोरा भएर के भयो। उ मेरो कोखबाट नजन्मे पनि मैले नै उस्लाई हुर्काएकी हुँ, मेरो ममताको भकारी नै उस्को पोल्टामा पोखिदिएकी छु। हरेक नाता या भनु व्यवहार दोहोरो हुन्छ। त्यसैले होला उस्ले पनि मलाई आफ्नो आमालाई गर्नु पर्ने मान, सम्मान अनी कर्तव्य पालना गर्न कुनै कन्जुस्यै गरेको मैले महसुस नै गरेकी छु, न त मैले उस्लाई अभिभाबक बिहिन टुहुर भनेर यस समाजमा पहिचान हुन नै दिएकी छु। सौताको छोरा भएपनी उसले र मैले प्रमाणित गर्दिसकेका छौ कि रगतको नाता भन्दा आत्मियताको नाता ठुलो हुँदो रहेछ भनेर। हाम्रो समाजमा भइरहने मानविय सम्वेदनाको एक स्‍मृति दिने एउटा सानो आँखीझ्याल हो यो मेरो जीवनको वस्तबिक कथा। शायद त्यही स्‍मृतिमा हराउन पनि रमाइलो लाग्छ अहिले त! त्यसैले होला आज मलाई त्यो आँखीझ्याल खोल्न मन लगेको छ। मेरो अतित सम्झिन मन लागेको छ। लाखौं कोशीस बाबजुद पनि हामीले मेरो घरमा चिराग लेराउन सकिएन। कुनै पनि फुल मेरो गर्भमा फुल्नै चाहेनन । हामी दम्पत्तिले ममताका फलहरु फलाउनै सकिएन। फुलहरु फुलाएर यस धर्ती सजाउने हाम्रो चाहनालाई चाहना मै सिमित राख्न पर्‍यो हामीले। म त उहाँको नाम मात्रको अर्धाङ्गिनी भएँ। मेरो कोख रित्तै रहयो। मैले आमा बन्ने सौभाग्य पुरा गर्न पाइन यो जुनिमा। परिवारको खुशीमा चट्याङ परेको थियो जती बेला हामीलाई अब हाम्रो वशं अगाडि जादैन भन्ने पक्क भयो। चाहकिलो पुर्णिमाको जुन जस्तै हाम्रो परिवारलाई कालो बादलले घेरा लगाइदिएको थियो, कहिलै त्यो बादल नफाट्ने गरी। एक कान, दुई कान मैदान हुँदै गाउँ भरी नै हल्ला फैलिएको थियो। के के मात्र गरिन मैले। सन्तानेश्वोर महादेबको ब्रत बसें। ठुला ठुला मठमन्दिरमा सन्तान प्रप्तीको पूजापाठ गरी भाकल राखें। त्यती बेला अहिलेको जस्तो डाक्टर हुँदैन थियो। जस्तो थियो तेस्तालाई नै देखायौं, धामी झांक्री बोलायौं। तर हात लाग्यो सुन्य ! गाउँलेहरु सबै मेरै कुरा गर्थे। यो त बाझ हो । यस्ले हामीलाई छोइ भने हाम्रो पनि बच्चा हुँदैन भन्थे गाउँका आईमाईहरु। कोही नयाँ बच्चा जन्मेको छ गाउँमा, हेर्न र सुत्करी भेट्न गयो भने बच्चा छुन नै दिदैन थिए मलाई। मेरो मन सार्है रुन्थियो त्यतिबेला। मेरो श्रीमानले मलाई सार्है माया गर्नुहुन्थियो। आफ्नो पिडालाई लुकाएर सधैं मलाई सम्झाउनु हुन्थियो। अरु जो सुकैले जे सुकै भने पनि तिम्रो आत्मबिश्वास दर्हो राख्नु। दु:ख लुकाएर सुखको अनुभुती गर्दै हास्ने नै जीवनको सार्थकत हो। हाँसो अनी खुशी नै जीवनको दर्पण हो अनी मेरो दर्पण नै तिमी हौ भन्नुहुन्थियो। त्यती राम्रो गुलाफको पनि त काँडा हुन्छ र पनि सबैलाई आफ्नो सुगन्धले मोहित बनाउछ। हरेक नारी ३२ सै गुणले भरिपूर्ण त कहाँ हुन्छन र! भगवानले नै उस्लाई कुनै न कुनै ठाउँमा ठगेकै हुन्छ त त्यसमा उस्को के दोस! हामीलाई के नपुग्दो छ र सन्तान बाहेक। भगवानको यस्तै इच्छा छ भन्ने हाम्रो के लाग्छ र ! तिम्रो र मेरो दु:ख एउटै छ अनी व्यथा पनि। यो पुरतन समाजमा, म दरबारको मुल गुरुले त केही भनेको छैन भने अरु को मेरो जीवनसंगिनी माथि औंला उठाउने? यस्तो खरो रुपले कहिलै पनि मेरो आत्मसम्मान माथि चोट पर्न दिनुहुन्न थियो। आफु भित्र भित्र छट्पटिए पनि मलाई केही भन्नु भएन। "हाम्रो समाज त झन पित्त्रिसत्तात्मक समाज। आफ्नो बशं टुटाउने पुरुषलाई त नामर्द भन्छन। पित्त्रिको तिरस्कार गरेको ठान्छन। कस्ले तारिदिन्छ तिमीहरुको बैतणी? कस्ले दिन्छ तिमीहरुलाई दागबत्ती? "-कसैले म पधेँरा गएको बेला मेरो श्रीमानको अर्को विवाह गराइदिने सल्लाहा दिएर यस्तो भनी सम्झाएका थिए। आफ्नो घरव्यवहारको अबस्थाले मान्छेलाई व्यवाहारिक बनाउदै लैजाँदो रहेछ। कत्रो भुइँचालो गएको छ मेरो श्रीमानको मन भित्र, म पनि महसुस गर्न सक्थें त्यो। हरेक पुरुषको सफलताको पछाडि एउटी नारिको हात हुन्छ भन्छन। हामी नारिहरुले बिहे त पुरुषलाई सफल बनाउन गरेको जस्तो देखिन्छ जुन सत्य, प्राकृतिक अनी स्वाभाबिक पनि हो। मेरा बुवा आमाले मलाई सधैं पित्त्रि र बशंज्जहरुको श्रध्दा गर्न सिकाउनु भ्एको थियो। मेरो श्रीमानले जे भनेपनी म आफ्नो स्वार्थ पुरा गरी नकचरी हुन चाहन्न थिए। उहाँले दिनुभएको<FONT

Sufal · Aug 18, 2009 12:52 PM · 18,968 views

12 Replies

राम्रो सुरुवात, पढ्दै जाँदा अनेक कुरो मनमा खेल्यो, लेखकको खुबीलियतले गर्दा हो, अर्को भागको प्रतिक्षामा

perfectionist · Aug 18, 2009 1:24 PM

अङ्रेजी मा भन्ने हो भने Simply Superb । कथा निकै रोमान्चक घडी मा जाला जस्तो छ, नेपाली समाज र समाज ले बयान गरेको काइदा कानुनमा मान्छे ले आफु लाई कती सम्म कठोर बनाउन सक्छ भन्ने कुरा को उल्लेख होला जस्तो छ आउने भाग हरु मा । पेल्दै जाउ

बैरे · Aug 18, 2009 1:41 PM

Perfection and बैरे ! Thank you so much for encouraging me. मेरो साधारण प्रयासमा आफ्नो अमुल्य समय खर्चिनु भएकोमा धन्यवाद&nbsp;! हेर्दै जाउ, पछीको भागमा के के हुन्छ ! बैरे - तपाईं को सफल जिन्दगी भाग-२ पनि साह्रै राम्रो छ। Silent Reader भएर पढिराखेकी छु। म पनि अर्को भागको प्रतिक्षामा छु है! ~सुफल

Sufal · Aug 19, 2009 7:54 AM

good starting...&nbsp;waiting to read more... keep it up Guchcha Chor!

guchcha chor · Aug 19, 2009 9:13 AM

भाग २ कालो बादल पानी पर्नु भन्दा अगाडि पानी दर्किनलाई जसरी मडारिन्छ त्यसरी नै मडारी रहेको थियो मेरो मन। त्यो रात कसरी मैले उहाँसँग कुरा सुरु गरें म आँफैलाई थाहा भएन। "म सन्तानको म्रिगत्रिस्णामा साह्रै छट्पटिएकी छु। मेरो दु:ख, सुखमा साथ दिन्छु। मेरो हरेक चाहना पुरा गर्छु।" "मारे पाप पाले पुण्य" भनेर अग्नी साक्षी राखेर खाएको कसम हजुरले पुरा गर्नुपर्छ आज। जब सम्म यो घरमा सन्तानको जन्म हुँदैन म खुशीसाथ यहाँ बस्न सक्दिन। मलाई खुशी राख्ने हजुरको कर्तव्य हो। हजुरले म माथि गर्नु पर्ने कर्तव्य मैले मगेको होइन, केबल "छ" है भन्न मात्र खोजेको हो। त्यसैले मलाई खुशी राख्न या भनु हजुरले खाएको कसमको पालना गरी कर्तव्यनिस्ठ हुन बिन्ती छ दोश्रो विवाह गर्नुहोस् भनेकी थिए। सबै इस्टमित्र, नातागोता, छरछिमेकहरुले पनि दोश्रो विवाह गर्ने जोड दिएका थिए। आफु जन्मेको अनी हुर्केको समाजमा टिक्न नै मुस्किल पेरिसकेको थियो उहाँलाई। बत्ती मुनी अध्याँरो भने जस्तै भएको थियो उहाँलाई। सबै कुरा छ तर पनि केही छैन। लाखौं कोशीस बाबजुद उहाँ दोश्रो विवाह गर्न मन्जुर हुनुभयो र विवाह भयो पनि। कस्तो मान्छे होला म! आफ्नै लोग्नेको विवाहमा म छमछम्ती रतौली नाचेको थिएं, कसार बाटरेको थिएं, प्राय विवाहका कामहरु मैले नै गरेको थिएं। मेरो घरमा आउन लागेको खुशीलाई स्वागत गर्न, मेरो मनमा जती सुकै गरुङ्गो बोझ भएपनी मैले कसैलाई महसुस हुन दिइन। कसैलाई पनि देखाइन मेरो मनको बोझ। विवाह भएको बर्षा दिनमा नै हामीले हाम्रो घरको चिरागलाई देख्ने मौका पायौं, जस्को नाम हो "सुबाश"। सुबाश -मेरो कुलको छोरा ! हाम्रो घरको चिराग ! हाम्रो घरमा सुगन्धित सुबाश छरेर नै आएको थियो उ। हामी सबै सार्है खुशी भएका थियौ। आफ्नो बशं अगाडी लैजान पित्त्रिहरुले मेरा अन्तर प्रेरणाबाट निकालीदिएका स्वार्थ रहित भावलाई मुरी मुरी धन्यवाद टक्राएको थिए मैले त्यती बेला। &nbsp; तीन बिस तीन वर्षाको बसन्त पार गरिसक्दा, यो बुढेस्कालमा आएर अहिले म कसैको प्रतिक्षामा बसेकी छु । प्रतिक्षा गर्न निकै गाह्रो हुँदो रहेछ। एक्लो जीवन बाँच्न पनि गाह्रो हुन थालिसक्यो अब त। कालको प्रतिक्षामा बस्नेहरु - म जस्ता हजारैं होला नि यो संसारमा , कालले कस्लाई पो पर्खेर बसेको हुन्छ र ! समय आएपछी मलाई पनि टपक्क टिपेर लगिहाल्छ। न कसैले रोक्न सक्छ न कसैले छेक्नै। भन्छन नि आयो टप्प टिप्यो-टारेर टर्दैन त्यो। जन्मे देखी अहिले सम्म समयले जे जे देखाउछ, जता जता डोराउछ, त्यही त्यही गर्दै आए बिना कुनै डर र बिना कुनै स्वार्थ। त्यसैले डराउँदी मृत्‍यु देखी पनि म। मृत्‍युलाई पनि जीवनको एउटा अन्तिम अभिनय मनेकी छु मैले। जीवन भनेको एउटा अभिनय त हो नि, अनी हामी सबै त्यस्का कलाकारहरु। हरेक प्राणीले संसार रुपी ठुलो नाट्यशालामा जन्म लिएपछि आ-आफ्नो अभिनय कला सुरु गर्छन्। क्रमश...। क्रमश: मै अढेको त छ जिन्दगी जिउनको लागि खेलिने नाटक। थाहा छैन कसैलाई पनि कुन मोडमा एकै चोटि कहाँ समाप्त हुन्छ नाटक भनेर! &nbsp; किन हो किन हिजो आज मलाई एउटा कुरोले साह्रै पिरोल्न थालेको छ। त्यही कुरा भन्छु भनी सुबाशलाई बोलाएकी थिए आज तर भन्नै सकिन। कती टुक्रा हुन्थियो होला त्यो बिचरोको मन। कती खिन्न हुन्थियो होला। आखिर आमा अहिले आएर तपाईंले आफ्नो सौतानेपन देखाएरै छाड्नुभयो भन्थियो। त्यस्तो पुरानो समाज, पुरानै सस्कार र पुरानै परिवेसमा जन्मिएकी म! त्यही सामाजिक पृष्‍ठभुमिमा नै हो म हुर्केकी, कसरी लत्ताउन सक्छु र। पिरोल्लीएकी छु म त्यो कुराले। कतै मैले कुलखान्दान, पित्त्रि र बशंज्जहरुको सम्रक्षण गर्ने बहानामा आफ्नो स्वार्थ पुरा गर्न खोजेकी त होइन? म सन्तान जन्माउन नसकेकी आईमाई, आफ्नो रगतको नाता भन्नु कोही छैन मेरो यो दुनियाँमा। यो बेला सम्मा आइपुग्दा आफ्नो लागि केही सोचिन, केही स्वार्थ नराखी मेरो परिवार भनी व्यबहार धान्दै आएं। अबको बाँकी जीवन पनि म निस्वार्थ कट्न चाहन्छु। जिन्दगीको आधी बाटोबाट आफ्नो भन्नेले पनि छोडेर गएपछी एक्लै खेल्दै छु बाँकी जीवनका नाटकहरु बिना केही स्वार्थ। एक्लिदै गएपछी या भनौ बुढ्यौलीले छोप्दै गएपछी सुरु हुदो रहेछ जिन्दगीका अझ कठोर श्रीङ्खलाहरु। मेरा आशाका दियोहरुमा अब त तेल सिध्दिदै गएका छन, भरोसाका मुहान उही सुबाश एउटा हो। दुख र बेदनाका सागरहरु एकपछि अर्को गर्दै यो कालखण्डमा आइपुग्दा मेरो मनमा एउटा यस्तो प्रश्न खेलिरहेछ जस्को जवाफ म सँग छैन। स्वार्थपनको गन्ध आइरहेछ मैले दिएको निस्वार्थ ममताको खानिबाट। यो कस्तो प्रश्न हो - "के त्यही दागबत्तीको स्वार्थले नै मैले सुबाशलाई आफ्नो ठानेकी हुँ त?" ~समाप्त

Sufal · Aug 25, 2009 6:32 AM

&lt;&lt;आफ्नै लोग्नेको विवाहमा म छमछम्ती रतौली नाचेको थिएं, कसार बाटरेको थिएं&gt;&gt; जिन्दगी मा यस्तो पनि समय आउछ , भन्थे हामी समाज को एउटा अंश हौ , समाज हाम्रो अंश होइन , कसैले साचो नै कुरा गर्या रहेछ , सन्तान को लोभ भन्दा पनि बेसी समाज भित आफ्नो दर्जा पाउन मान्छे ले पेरिसथिती सँग नि सम्झौता गर्नु पर्ने&nbsp; &lt;&lt; मैले कुलखान्दान, पित्त्रि र बशंज्जहरुको सम्रक्षण गर्ने बहानामा आफ्नो स्वार्थ पुरा गर्न खोजेकी त होइन&gt;&gt; एउटा पाठक को दृष्‍टिकोण बाट हेर्दा त त्यस्तै देखिन्छ , यो वाक्य मा आउनु भन्दा अघी जसरी मन को पिर र सौतेलो छोरा को कुरा भएको थियो , कथा को सिर्शक ले आफ्नो नाम थामेको प्रस्ट भयो &lt;&lt;के त्यही दागबत्तीको स्वार्थले नै मैले सुबाशलाई आफ्नो ठानेकी हुँ त?&gt;&gt; ओहो जिन्दगी को ठुलो प्रश्न के हुन्छ होला काल को प्रतिक्षा गर्या मान्छे लाई , यो कुरा सत्य हो भने त दिएको दाग्बत्ती ले नि मान्छे तर्ला र ? कथा एकदम राम्रो लाग्यो तर निकै छोटो भएको ले चाँही मन भरेन अरु कथा को आपेक्षा मा

बैरे · Aug 25, 2009 12:02 PM

धन्यवाद बैरे। कथा मन पराइदिनुभएको मा। &nbsp;खै बैरे! मान्छे तर्ला कि नतर्ला त्यो चाहिँ म भन्न सक्दिन तर उ जिउदै छदाँ त यसरी तड्पिएकी छ भने, मरेपछी&nbsp; उस्को अत्माले शान्ति पाउल त&nbsp; यदी&nbsp; यो उस्को स्वार्थ हो भने ?जे होस् यो एउटा कथा मात्र हो। खासमा यो कथा एकै भागको थियो। आली लामो भएकोले मात्र मैले 2 भागमा परिवर्तन गरेकी थिए। आशा गरौ अर्को कथा पनि छिट्टै आउँछ कि ?

Sufal · Aug 26, 2009 8:40 AM

"कतै मैले कुलखान्दान, पित्त्रि र बशंज्जहरुको सम्रक्षण गर्ने बहानामा आफ्नो स्वार्थ पुरा गर्न खोजेकी त होइन?" स्वार्थ आफ्नो पुरा गर्न खोजेको होईन बरु अरुको स्वार्थमा आफ्नो स्वार्थ धरापमा पारेको देखें मैले चैं। कुल खानदान पितृ बंशजको नाममा आफ्नो बैबाहिक सम्बन्ध दाउमा थाप्नु भनेको चानचुने कुरा होईन। दागबत्ती त मरे पछी पाईने कुरा हो, अफ्नो जिन्दगीलाई अरुको दाउमा त्यो पनि च्याँखेको रुपमा थाप्न तयार हुनु आफ्नो खुशीलाई धरापमा पार्नु हो। मृत्यु भन्दा जीबन धेरै धनी छ। जीवन अनगिन्ती पलहरुको सम्मिश्रण हो भने मृत्यु एक पलको। एक पलको लागि अनगिन्ती पल किन बाजीमा राख्ने? हामी मध्ये कतिलाई थाह् छ हाम्रो हजुरबाको बाजेको नाम? कस्को बंश थामेको हो हामीले हामी आफैलाई थाह् छैन। बंशजको आदर जिउँदैमा गरे मात्रै हो, मरे पछीको हिसाब गर्ने भए गर्ने अरु नै छन। अनि फेरी सन्तान नहुँदैमा जिन्दगी निरर्थक हुन्छ भन्ने म मान्दिन। आफु सँग चाहेको जे छैन त्यसकै रहर मौलाउने पक्का हो तर नपुगेको रहरमा पुग्ने रहरको बलि दिनु पनि ठिक होईन। बिषयबस्तु लेखको अधिकारको कुरा हो। म त्यस्को आदर गर्छु। एउटा पाठ्कको हैसियतमा मैले आफुलाई मनमा लागेको कुरा लेखेको। लेखाई त राम्रो छ। बेस्सरी भोक लागेको बेला हाफप्लेट मोमो फेला पार्या जस्तो भो। अरु प्रस्तुतीहरुको अनुरोधमा अहिले लाई बिदा मागें मैले अब। &nbsp;

Deep · Aug 26, 2009 9:48 AM

दीप! कमेन्ट को लागि हृदय देखी नै धन्यवाद छ है। नेपाली पारीवेसको नारीले आफ्नो कुलखान्दान र&nbsp;परिवारको नाममा कती सम्मा आफ्नो स्वार्थ रहित खुशी माथि Compromise गर्न सक्छे भन्ने कुरा दर्शाउन खोजेकी हुँ। मेरो बुझाईमा नेपाली समाजले नै उनिहरुलाई Pressure दिएको छ जस्तो लाग्छ है। लेखाइ अझ सुधारने बाचा गर्छु। बेस्सरी भोक लागेको बेलामा हाफप्लेट मोमो होइन फुल प्लेट&nbsp;चाहियो नि, होइन्न र दीप &nbsp;? &nbsp; कमेन्ट गरिदिने सबै जनालाई धन्यवाद ! ~सुफल

Sufal · Aug 26, 2009 10:51 AM

दागबत्तिको खास उदेश्य चाँहि के होला? स्वर्ग जाने बाहेक। कसैलाइ यसको बारेमा थाहा भए बिस्त्रित जानकारी पाउन मन लाग्यो।

sajha_addict · Aug 26, 2009 11:14 AM

Sajha_addict Ji, मेरो बुझाईमा, आफ्नै छोराहरुले दागबत्ति दिए भने सजिलै स्वर्ग पुगिन्छ, स्वर्ग पुगिने बाटो सहज हुन्छ भन्ने भनाइ छ। तर अहिले विवाह नभएका छोरीहरुले पनि दिने चलन चली आएको छ। ~सुफल

Sufal · Aug 26, 2009 11:35 AM

त्यो त बुझेँ, सुफल जि, अनि त्यो तपाइको नाम अगाडिको ~ चिन्हको अर्थ चाँहि के हो नि? किन सुफलको अगाडि मात्र ? पछाडि नराख्नुको मतलब चाहि के हो नि? झर्को नमानि उत्तर दिनु होला भन्ने आशामा।

sajha_addict · Aug 26, 2009 11:46 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all