नयाँ पत्रिका काठमाडौं, २५ साउन विद्यार्थीको अत्यधिक चाप हुने व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा सामाजिक विज्ञान संकायमा ९६ प्रतिशतसम्म विद्यार्थी अनुत्तीर्ण हुँदै आइरहेका छन् एसएलसीमा कति प्रतिशत उत्तीर्ण भए ? यो सर्वाधिक चासोको विषय बन्छ । तर, एसएलसीपछिका तहमा कति प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन् भन्ने कुरामा कमैले चासो दिन्छन् । एसएलसीको उत्तीर्ण प्रतिशत बढ्दै साढे ६८ प्रतिशत पुगेको छ । तर, सरकारी खर्चमा चलेको त्रिभुवन विश्वविद्यालयका कतिपय संकायमा उत्तीर्ण प्रतिशत साढे तीन प्रतिशत छ । विद्यार्थीको अत्यधिक चाप हुने त्रिविको व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा सामाजिक विज्ञान संकायको उपलब्धि निराशाजनक छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले तयार पारेको तथ्यांकअनुसार यी संकायमा ९६ प्रतिशतसम्म असफल भएका छन् विद्यार्थी । त्रिविले नियमित र अनियमित विद्यार्थी कति उत्तीर्ण हुन्छन्, त्यसको तथ्यांक दिन सकेको छैन । पनिकाले तथ्यांक दिन नसक्दा नियमिततर्फका विद्यार्थी कति उत्तीर्ण हुन्छन् भनेर जान्नसमेत नपाउने अवस्था छ । त्रिभुवन विश्वविद्यालयबाट पाँच अध्ययन संस्थान र चार संकाय सञ्चालित छन् । संस्थानको तुलनामा संकायको नतिजा निकै कमजोर पाइएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले योजना महाशाखालाई दिएको तथ्यांकअनुसार सो विश्वविद्यालयको प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्मको नतिजा निकै कमजोर छ । त्रिवि योजना महाशाखाले दिएको ०६४/०६५ को तथ्यांकअनुसार शिक्षाशास्त्र संकायको स्नातकोत्तर तहको नतिजा सबैभन्दा कमजोर छ । शिक्षाशास्त्र संकायको स्नातकोत्तर तहमा जम्मा तीन दसमलव ३० प्रतिशतमात्र उत्तीर्ण छन् । त्रिविका देशभरका आंगिक क्याम्पसमा अध्ययनरत १२ हजार आठ सय चारजना परीक्षामा सहभागी भएकामा ०६४/०६५ मा चार सय २२ जनामात्र उत्तीर्ण भएका छन् । सोही संकायको स्नातक तहमा पाँच दसमलव ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । स्नातक परीक्षामा एक लाख एक हजार दुई सय सहभागी भएकामा जम्मा पाँच हजार चार सय ५५ जनामात्र उत्तीर्ण भएका छन् । प्रमाणपत्र तहमा भने ११ दसमलव २९ प्रतिशत उत्तीर्ण भएका छन् । व्यवस्थापन संकायको पनि नतिजा उस्तै निराशाजनक छ । ०६४/०६५ मा व्यवस्थापन संकायको स्नातकोत्तर तहमा जम्मा पाँच दसमलव ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । आंगिक क्याम्पसबाट २० हजार आठ सय ४४ विद्यार्थीले स्नातकोत्तरको परीक्षा दिएकामा जम्मा एक हजार एक सय दसजना उत्तीर्ण भएको त्रिविको तथ्यांक छ । त्यसैगरी स्नातकको परीक्षामा एक लाख १२ हजार एक सय ९१ परीक्षामा सहभागी भएकामा ६ हजार एक सय ८७ अर्थात् पाँच दसमलव ५१ प्रतिशत उत्तीर्ण भएका छन् । प्रमाणपत्र तहमा तीस हजार दुई सय चालीस परीक्षामा सहभागी भएकामा जम्मा तीन हजार चार सय १५ अर्थात् ११ दसमलव २९ प्रतिशत उत्तीर्ण भएका छन् । मानविकी संकायका प्रमाणपत्रदेखि स्नातकोत्तरसम्मको उत्तीर्ण प्रतिशत साढे सातदेखि साढे आठसम्म रहेको छ । सबैभन्दा कम स्नातकोत्तर तहमा उत्तीर्ण भएका छन् । ०६४/०६५ मा मानविकी संकाय स्नातकोत्तर तहको परीक्षामा २५ हजार सात सय ७२ मा सहभागी भएकामा एक हजार नौ सय नौजना अर्थात् सात दशमलव ४२ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । त्यसैगरी स्नातकको परीक्षामा ७९ हजार एक सय ३९ सहभागी भएकामा पाँच हजार आठ सय ९१ अर्थात् सात दसमलव ४४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् भने प्रमाणपत्र तहमा ६७ हजार दुई सय १७ जना परीक्षार्थीमध्ये पाँच हजार नौ सय १९ अर्थात् आठ दसमलव ८१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । त्रिविको कानुन र विज्ञान तथा प्रविधिमा केही बढी विद्यार्थी उत्तीर्ण भए पनि परिणाम सन्तोषजनक देखिँदैन । कानुनमा स्नातकको उत्तीर्ण प्रतिशत ११ दसमलव ०७ प्रतिशत छ भने स्नातकोत्तरको २० दसमलव ७१ प्रतिशत छ । त्रिविले प्रमाणपत्र तहमा कानुन हटाइसकेको छ । विज्ञान तथा प्रविधिमा सबैभन्दा स्नातक तहमा सबैभन्दा धेरै अनुत्तीर्ण हुने गरेका छन् । ०६४/०६५ मा स्नातकको परीक्षा दिएका १४ हजार ४६ मध्ये जम्मा एक हजार तीन सय पाँच अर्थात् नौ दसमलव २९ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । स्नातकोत्तर तहमा १९ दसमलव ९६ र प्रमाणपत्र तहमा १८ दसमलव ०६ प्रतिशत उत्तीर्ण भएका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले नियमित र अनियमिततर्फका विद्यार्थीको उपलब्धि कति हो छुट्टाछुट्टै दिन सक्दैन । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक डा. दयामान कर्माचार्यले समग्रमा मात्र तथ्यांक दिन सकिने बताए । नियन्त्रक कर्माचार्यले भने, 'छुट्टाछुट्टै तथ्यांक दिन पनिकालाई गाह्रो हुन्छ ।' संस्थानतर्फका विषयमा प्रतिव्यक्ति त्रिविको लगानी र उत्तीर्ण प्रतिशत बढी छ । विद्यार्थीसंख्या सीमित र लगानी बढी भएका चार संस्थानको नतिजा राम्रो छ । बिबिए, बिआइएम, बिएचएमलगायत सेमेस्टर सिस्टम भएका विषय तथा अध्ययन संस्थानतर्फका इन्जिनियरिङ, चिकित्सा, वन तथा कृषि तथा पशु विज्ञानमा नतिजा सन्तोषजनक छ । कुनै विषयमा त सतप्रतिशतसम्मको नतिजा छ । त्रिविले चार संकायमा एक विद्यार्थीबराबर पाँच हजारदेखि ३७ हजारसम्म लगानी गरेको छ । संस्थानतर्फका विषयमा एक विद्यार्थीका लागि ३५ हजारदेखि एक लाख ५१ हजारसम्म खर्च गरेको छ । संकायतर्फका व्यवस्थापन संकायमा एक विद्यार्थीबराबर पाँच हजार आठ सय ४३ र बढीमा कानुन अध्ययन गर्ने एक विद्यार्थीका लागि ३७ हजार सात सय ६६ रुपैयाँ खर्च गरेको जनाएको छ । संस्थानतर्फ सबैभन्दा कम विज्ञान तथा प्रविधिमा ३५ हजार चार सय ७० र सबैभन्दा बढी कृषि तथा पशु विज्ञान अध्ययन गर्ने एक विद्यार्थीका लागि एक लाख ५१ हजार चार सय २८ रुपैयाँ खर्च गरेको छ । शिक्षाविद् प्रा. डा विद्यानाथ कोइराला भने त्रिवि पनिकाले नियमित र अनियमित विद्यार्थीको छुट्टाछुट्टै तथ्यांक निकालेमा मात्र सही हुने बताउँछन् । शिक्षाविद् कोइराला ब्याकपेपर दिने अनियमित विद्यार्थी जोडेका कारण पास हुनेको प्रतिशत कम भएको बताउँछन् । त्रिवि योजना महाशाखा प्रमुख प्रह्लाद पन्तले 'एयरली सिस्टम' भएका शिक्षाशास्त्र, व्यवस्थापन, मानविकीजस्ता संकायमा धेरै विद्यार्थी अनुत्तीर्ण हुनुमा कारण पनि धेरै भएको बताए । 'यी संकायमा भर्ना लिँदा टियूले इन्ट्रान्स परीक्षाबाट गुणस्तरीय विद्यार्थी छान्न सकेको छैन,' योजना प्रमुख पन्तले भने, 'अध्ययन संस्थानतर्फका विषयमा इन्ट्रान्स गरेर छानी-छानी राम्रा र सीमित विद्यार्थी भर्ना हुन्छन् र धेरै पास हुन्छन् ।' विद्यार्थी उपलब्धि कम हुनुमा राजनीति र शिक्षकको उदासीनता पनि कारण रहेको पन्तको ठहर छ । पन्त भन्छन्, 'कतिपय विद्यार्थीले पढाइमा चासो नदिने र त्रिविका आंगिक क्याम्पसमा बढी राजनीति हुनाले धेरै कम मात्र उत्तीर्ण हुन्छन् ।'
timer · Aug 10, 2009 12:52 PM · 3,241 views
Those who have failed the exams will be a good politician of our country in future. Those who have passed with good numbers will be knocking the door of the "future good politician" asking for a job. this is how it works only in nepal!
rodiohead · Aug 10, 2009 1:03 PM
this shows the standard and level of Nepal education in 21st century. while other third world nations are moving forward - Nepal is lagging behind as usual.
snowfed_river · Aug 10, 2009 5:32 PM
damikattu · Aug 10, 2009 8:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion