एउटा प्रेमकथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

[मेरो ब्लग - http://www.basantagautam.com बाट एउटा कथा।] एउटा प्रेमकथा प्रियतम, तिमीले छोडेर गएपछिका यी कहालीलाग्दा दिनहरुका हरेक क्षण मैले आफ्नो जिन्दगीलाई फेरि एकपटक जिएकी छु। तिमीसंगका क्षणहरुको याद गरेर तिमी नहुँदाको यो डरलाग्दो एकान्तलाई झेलेकी छु। तिम्रो उपस्थिति मेरो हरेक श्वाशमा र रगतको थोपा-थोपामा एउटा स्वाभाविकता र अनिवार्यता बनिसकेछ! तिमी हुँदा पनि मलाई लाग्थ्यो तिमी मेरो मुटुको साह्रै-साह्रै नजिक छौ भनेर तर आज तिमी नहुँदा बोध भएको छ वास्तवमा तिमी र मेरो मुटुको बीचमा कुनै दूरीनै रहेनछ, मेरो मुटुनै तिमी रहेछौ। तिमीलाई भेट्नु अगाडिको मेरो अभावग्रस्त बाल्यकाल र दु:खै-दु:ख र अपमानले भरिएको मेरो कैशोर्यसंग पनि मेरो केहि गुनासो छैन अब। तिमीलाई पाउनको लागि मैले गर्नुपर्ने तपस्याहरु थिए ती शायद। तिमीसंग फेरि यस्तै एक जुनी पाऊँछु भने म सात जुनिसम्म पनि ती दु:खहरु झेल्न तयार छु। अभावग्रस्तै भएपनि सानी हुँदा मसंग आमाको माया थियो। म नौ वर्षकी नहुँदै आमा बितेपछि बाले अर्की आमा ल्याए। ती साँच्चैकी सौतेनी आमा थिईन्। हुनत सौतेनी आमाको जातै खराब मानेको छ संसारले तर गाऊँ-ठाऊँमा कति मायालु सौतेनी आमाहरु पनि देखिन्थे जसले सौताका सन्तानलाई आफ्नालाई भन्दा पनि माया गर्थे। तर मेरी सौतेनी आमाले मसंग एक वचन पनि राम्रोसंग बोलेको याद छैन मलाई। ती मलाई टोकस्न र उमेरले सक्नेभन्दा बढी काम गर्न लगाउन बाहेक केहि जान्दिनथिन्। मेरा बा पनि कथामा हुने बाजस्तै सौतेनी आमाको वशमा परेका थिए। सौतेनी आमाले मलाई विना कारण गाली गर्दा,कुट्दा-लुछ्दा पनि तिनले कहिल्यै रोकेनन्, ‘किन?’ भनेर सोध्दा समेत सोधेनन्। तिनी मसंग कहिल्यै राम्रो बोल्दा पनि बोलेनन्। विकट ठाऊँ भएपनि हाम्रो गाऊँ नजिकै त्यतिखेरै एउटा स्कूल खुलिसकेको थियो। त्यहाँ पढ्न जाँदा खाजा खान पाईन्थ्यो। गाऊँका धेरैले छोराछोरीलाई भर्ना गरेका थिए। आमा हुञ्जेल म पनि जान्थें। सौतेनी आमा घरमा भित्रेको महिनादिनमै मलाई स्कूलबाट निकालिएको थियो, घरको काम सघाउन भनेर। घरको काम सघाउने मात्रै होईन, मैले आफूलाई पाल्न मेलापात समेत गर्नुपर्ने भयो। दश-एघार वर्षकी पनि नहुँदाबाटै म मेलापात हिँडेकी हुँ भनेर पछि मैले तिमीलाई सुनाऊँदा तिमी कस्तरी रोएका थियौ! ठूली हुँदै जाँदा ममा पनि आँट आउन थाल्यो र सौतेनी आमाको टोकसोको जवाफ फर्काऊन थालें। शुरु-शुरुमा तिनले हात पनि हाल्थिन् मलाई तर तिनको डाँको भन्दा मेरो डाँको ठूलो हुन थालेपछि हच्किन थालिन्। बालाई कुरा लगाऊँथिन् ती त्यसपछि। सौतेनी आमासंग के भन्थे कुन्नि बाले तर मलाई भने आँखा तरेर हेर्थेमात्रै, केहि भन्दैनथे। मेलापात नभएको बेलामा पनि मलाई घरमा बस्नै मन लाग्दैनथ्यो। म धेरैजस्तो आफ्ना साथीहरुसंग हुन्थें। 'टुहुरी विचरी!' भनेर तिनका आमाहरुले मलाई माया गर्थे। धेरैजसो म सुत्न मात्रै घर जान्थें। कति रात त साथीहरुकै घरमा पनि सुत्थें। पन्ध्र-सोह्रको उमेर बाट मसंग अलि बढी मिल्ने साथी थिई एउटी, माया भन्ने। गरीबनै भएपनि ऊ नाम अनुसारनै माया पाएर हुर्केकी थिई। तर त्यो असाध्यै पात्तेकी र छाडा थिई। केटाहरुसंग छिल्लेर कुरा गर्न लाजै मान्दिनथी। मेलापात, जात्रा आदिमा उसका वरिपरि केटाहरु झुम्मिन्थे। गाऊँमा जन्त आएका केटाहरुलाई समेत जिस्काउन जान्थी त्यो। म असाध्यै लजालु थिएँ यस्ता कुरामा, तैपनि ऊ मेरो नजिककी साथी थिई। कसरी, कहिले बाट ऊ मेरी मिल्ने साथी बनी, मलाई थाहै भएन। म मेरो मनको कुरो उसैसंग मात्रै खोल्थें। मलाई जे पर्दा पनि ज्यान दिएर सघाऊँथी ऊ। मान्छेहरु छक्क पर्थे हामी दुई मिलेको देखेर, हाम्रो विपरीत स्वभावलाई लिएर उनीहरु “पानी र तेल मिलेको!”भन्थे। एकचोटि ऊ र म उस्को मामाघर गएका थियौं। भोलिपल्टको ठूलो एकादशीको मेला हेर्न जाने भनेर हामी त्यहाँ पुगेका थियौं। उस्को मामाघरबाट एक घण्टाको बाटोमा मेला लाग्थ्यो। अरुलाई नभनेपनि, ऊ खासमा त्यहाँ एउटा केटो भेट्न भनेर आएकी थिई र मलाई साथी ल्याएकी थिई। दुई महिना पहिला गाऊँको एउटा बिहेमा जन्त आएको केटो थियो त्यो। मेलामा त्यो केटोसंगै तिमीपनि आएका थियौ। त्यो केटो मायाजस्तै बढी बोल्ने रहेछ, तिमीभने एकदम गम्भिर अनुहार बनाएर त्यो केटोभन्दा अलिक पछाडिनै उभिएका थियौ। एकछिनपछि हामी दुबैलाई त्यहीँ छोडेर माया र त्यो केटो अलि पर गएर कुरा गर्न थाले। हामी दुईमात्रै हुँदा मलाई पनि अलि-अलि अप्ठेरो लागेको थियो तर तिमीलाई त असाध्यैनै भएको थाहा पाएकी थिएँ मैले। तिमी मभन्दा पनि लजालु रहेछौ! म तिमीलाई हेरिरहेथें, तिमीभने भुईँतिर हेरेर बसिरहेका थियौ, तिम्रो अनुहार-कान रातो हुँदै आएको थियो। एकछिन त्यत्तिकै उभ्भिएपछि म आफैं तिमीसंग बोल्न र कुराकानी शुरु गर्न आँटेकी थिएँ, माया र त्यो केटो फर्किए। “तिम्रो साथी त कस्तो बोल्दै-नबोल्नी हो! केटीजस्तो----!" एकछिन पछि मायाले तिमीतिर हेर्दै भनी। “मेरा भान्दाई हुन्। सोझा छन्। अहिलेसम्म केटी छो’का छैनन् यिनले---“ त्यो केटो तिमीलाई जिस्काऊँदै बोल्यो र हाँस्न थाल्यो। “यो चाहिँ बिन्दे, यस्लाई पनि अहिलेसम्म कसैले सुता' छैन।" माया छिल्लिई। उनीहरु दुईजना हाँस्न थाले। मायाको यस्ता कुराको बानी लागिसकेको थियो मलाई। तिम्रो अनुहार-कान झन-झन् रातो हुँदै थियो। “घर कहाँ हो नि भान्दाइको? तिम्रो नजिकै हो?” मायाले सोधी। “होईन, यिनको घर देऊभञ्ज्याङ्ग हो।“ “देऊभञ्ज्याङ्ग भन्या' कता हो नि?” मैले त्यो केटोसंग सोधें। “धेरै टाढा छैन। तल रोडबाट गाडीमा एक घण्टा जति लाग्ला। देऊभञ्ज्याङ्ग बजारमा झरेर यामबहादुरको पसल कुन हो भनेर सोधे जल्ले’पनि देखाईदिन्छ।" तिम्रो साथीले जवाफ दियो। तिमीभने अझै चूपचाप थियौ। “तँ त्योसंग हिँड्नै आँटिस् कि क्या हो--?” छुट्टिएर हामी मायाको मामाघरतिर लागेपछि मैले सोधें। “अँ----!” मायाले सजिलै जवाफ दिई। “अरुलाई नि थाहा छ? तेरो घरमा--?” “कसैलाई नि थाहा छैन। 'पोईल जान्छु!’भनेर घरमा भन्दै हिँड्छ कोई?” माया हाँस्न थाली। “कहिले नि---?” “अब १५-२० दिनमा। जानु अगाडि तँलाई भनिहाल्छु नि।“ मायाले १५-२० दिन पनि कुरिन, एक हप्तामै हिँडी। म त्यो दिन अलिक टाढा कतै पुगेकी थिएँ। उसले धेरै बेर मलाई खोजेकी थिई रे। पछि तिमीले भनेपछि थाहा भयो त्यो केटो तिम्रो नातेदार पनि होईन रहेछ। तिम्रो बाको पसलमा सामान ल्याईदिने साहुको गाडीको खलासी रहेछ ऊ। ती दुबैसंग हाम्रो भेट भएन त्यसपछि। माया हिँडेपछि मलाई गाऊँमा बस्न झन गाह्रो हुनथाल्यो। माया नभएपछि मायाको घरको बाटो बन्द भयो मेरा लागि, उसका बाऊ-आमा त मसंग बोल्नै पनि छोडे। पहिला मसंग राम्रै ब्यबहार गर्ने मान्छेहरुको पनि मप्रतिको दृष्टि नराम्रो हुँदै गएको थियो अब। 'एउटी गई, अब अर्की पनि जान्छे!’ भनेर गाऊँमा हल्ला हुन थाल्यो। माया नभएपछि बल्ल मलाई आफ्नो जवानी र त्यसमा तीरझैं गाडिन आउने आँखाहरुको अनुभूति हुन थालेको थियो। मसंग छेडखान गर्नेहरु अचम्मसंग बढ्न थालेका थिए। मलाई अब आफू असुरक्षित भएजस्तो लाग्न थाल्यो। माया साथमा हुञ्जेल जवानी ताकेर आउने तीरहरु ऊतिरै सोझिन्थे र म जोगिएकी थिएँ शायद। कहिल्यै फर्किन नपरे हुन्थ्यो जस्तो लाग्ने घर मेरो बाध्यता बन्यो फेरि। यो बाध्यताबाट उम्किने बाटो खोज्न थालें म। तर कुनै कुनै बाटो देखिएको थिएन। यता गएपनि असुरक्षा र उता गएपनि असुरक्षा थियो मेरा लागि। मेलामा तिमीलाई देखेदेखिनै मेरो मनमा तिम्रो लागि एउटा ठाऊँ बनिसकेछ। म आफैंलाई पनि पत्यार लागेन कति समयसम्म त! हरदम मेरो स्मृतिमा तिम्रा ती निर्दोष आँखाहरु चम्किरहन्थे । मैले तिम्रा ती निर्दोष आँखाहरुलाईनै आफ्नो बाटो र लक्ष्य बनाउने निधो गरें। र एकदिन म एउटा ट्रक चढेर हिँडे। देऊभञ्ज्याङ्ग बजार पुगेर म ट्रकबाट झर्दा दिऊँसोको तीन जति भएको थियो। सानो बजार थियो त्यो, दश-बाह्र पसलहरु हुँदा हुन्। 'यामबहादुरको पसल कुन हो?' भनेर सोधखोज गर्दा तिमी बजार छोडेर गाऊँमै फर्केको जवाफ पाएँ मैले। त्यहाँबाट बीस-पच्चीस मिनेटको उकालो बाटो रहेछ। एक्लै जाने मेसो नपाएर म एकछिन त्यतै अल्मलिएँ। तिम्रो र मेरो नाता सोध्ने एक-दुईजनालाई ‘म यामबहादुरकी मामाकी छोरी’भनेर ढाँटिदिएँ मैले। पछि जजमानी गरेर फर्किएका एकजना बूढा बाजेको साथ लागेर म तिम्रो घर पुगें। ती बाजेलाई पनि पहिला मैले म तिम्री मामाकी छोरी भनेर ढाँटेकी थिएँ तर तिनले पत्याएनन्। म तिमीसंगै 'पोईल' आएकी हुँ भन्ने तिनले भेऊ पाईसकेका थिए कुराकानीबाट। तिनलाई हामी दुईको राम्रो चिनजान र लामो हिमचिम भएजस्तो लागेको रहेछ। 'यामे मान्छे हेर्दा सोझो देखिन्छ तर बज्जे कम्ताको चाहिँ होईन रहेछ!' भनेर हाँस्दै थिए। मैले पनि मौन हाँसेर सहमति जनाईदिएँ, त्यहि नै सुरक्षित लागेर। "ए यामे, ल हेर्, तेरी दुलही आ’की छे!” तिम्रो आँगनमा पुगेपछि ती बाजे कराए। घरको ढोका खुलै थियो, तर तिमी निक्लिएनौ। "दैलो खुल्लै छ। एकछिनमा आऊँछ होला। मेरो घर अलिक टाढा छ। साँझको बाटो---“ भनेर बाजे हिँडे। एकछिन पछि तिमी आयौ। र तिमी मलाई हेरेको हे-यै भयौ। अनि म पनि तिमीलाई हेरेको हे-यै भएँ। हामी धरै बेर नजानिँदो, मन्द मुस्कान साटिरह्यौँ। "---अँध्यारो भयो----", धेरै बेरपछि तिमी लाज मानी-मानी बिस्तारै बोल्यौ। हामी भित्र पस्यौं, तिमीले टुकी बाल्यौ। र मेरो जीवनमा उज्यालो छायो। त्यसपछिको कथा, मेरो जीवन उज्यालिएपछिको कथा, तिमीसंगको मेरो प्रेमकथा, हाम्रो जीवनकथा; खुल्ला पुस्तकझैं देखेको छ यो दुनियाँले। 'यामेले स्वास्नी ल्यायो रे!' भन्दै मलाई हेर्न आउनेहरुको भिड र गाऊँमा हुने हामी बारेका सत्य-असत्य अनेक कुराहरु पातलिन थाल्दा बल्ल तिमी राम्ररी बोल्न र खुल्न थालेका थियौ। पाँच वर्ष पहिले तिम्री आमा बितिछन्। अनि एक वर्ष पहिले तिम्रा बा बितेछन्। बा बितेपछि पनि बजारको त्यो सानो चिया पसल चलाएछौ तिमीले केहि समय, तर पछि बजारमा बस्न मन नलागेर पसल बेचेछौ। बजार जँड्याहाहरुको अखाडा भएको तिमीलाई मन नपरेको कुरा गरीरहन्थ्यौ तिमी। पछि हामीले गाऊँमै सानो चिया पसल चलायौं। म, भएर पनि हुन नसकेको मेरो माइतीतिर कहिल्यै फर्किईँन। अझै पनि कहिलेकाहीँ लाग्छ; 'त्यो बेला तिमी नभेटिएको भए!----’ अथवा ‘त्यो केटाले देऊभञ्ज्याङ्ग यस्सै भन्दिएको भए र तिम्रो घर अन्तै भैदिएको भए----!' अथवा “तिमीले मलाई नस्विकारेको भए!----' अथवा '----!'। म एकपछि अर्को सैयौं डरलाग्दा सपना देखेझैं झस्किन्छु, आङ्ग जिरिङ्ग हुन्छ। चारवटा छोराछोरी हुर्काऊँदा ३० वर्ष बितेको पत्तै भएन। अब त छोराछोरी सबैको घर बसिसक्यो, कोहि संगै छन्, कोहि अलिक पर पुगेका छन्। काखमा नाती-नातीनाहरु पनि खेल्न थालिसके। अरुले हेर्दा जिन्दगीमा सबैथोक छ। तर तिमी छैनौ। तिमी मलाई छोडेर यति चाँडै किन गयौ??? तिमीमा कुनै रोग थिएन। पचास-एकाउन्नको उमेरमा पनि तिम्रो फूर्ति देखेर मान्छे छक्क पर्थे। त्यो दिन पनि दिऊँसो तिमी र म तरकारी बारीमा काम गर्दै थियौं। तिमीले मुटु दुख्यो भन्यौ र गएर पिँढीको गुन्द्रीमा सुत्यौ। म पनि पछि-पछि गएँ र तिमीलाई दिन भनेर भित्रबाट एक गिलास पानी लिएर आएँ। म पानी लिएर आईपुग्दा तिमी छटपटाउन थालिसकेका थियौ। मैले तिम्रो टाउको उठाएर मेरो काखमा राखें। के गरौं, कसलाई बोलाऊँ भनेर म आत्तिदैं थिएँ, तिम्रो मुखबाट फिँज आयो अलिकति। त्यसपछि तिमीले एकपटक मलाई हे-यौ र मलाई छाडेर गयौ! यसरी हाम्रो प्रेमकथामा म एक्लै भएँ! र म जिन्दगीमा फेरि एक्लै भएँ! कहिलेकाहीँ दु:ख लाग्छ मैले तिम्रो काखमा मर्ने सौभाग्य पाईँन। फेरि कहिले अलिक सन्तोष पनि लाग्छ, तिम्रो अन्तिम घडीमा तिमीलाई मैले मेरो काख दिन पाएँ। म काँतर होईन र यो मेरो आत्महत्या पनि होईन, शायद मेरो चाहनाको बलले खिँचिएर मृत्यु मेरो नजिकै आईपुगेको हो। छोरा-बुहारीबाट अपहेलित पनि छैन म। नाती-नातीना खेलाएर अर्को पन्ध्र-बीस वर्ष सजिलै काट्न सकिन्थ्यो होला, तर तिमी गएपछि किन-किन यस्सै बाँच्ने मन मर्दै आएको छ। मलाई तिमीविना एक्लै बस्न मन छैन। मेरो अस्तित्वको ठूलो अंश तिमीसंगै गईसकेको छ र बाँकीलाई पनि म तिमीमै मिलाउन चाहन्छु। मलाई बिस्तारै निद्राले छोप्दैछ। मलाई थाहा छ, भोलि बिहान म यो संसारमा ब्युँझने छैन। मान्छेहरु जम्मा हुनेछन् र भन्नेछन्, "बिचरी! उमेरै नभई गई!", त्यसरीनै जसरी तिमी जाँदा "बिचरो! उमरै नभई गयो!" भनेका थिए। उनीहरु "तीन महिना पहिला लोग्ने बितेको तोडले ओईलाऊँदै गएकी थिई बिचरी!" पनि भन्लान्। हाम्रो प्रेमकथाको चर्चा होला फेरि एक पटक र केहि समयपछि धेरैले हामीलाई बिर्सेलान्। कसैले बिर्सेलान्, कसैले सम्झेलान् तर हाम्रो प्रेमकथा, तिम्रा-मेरा सुस्केराहरु, तिम्रा-मेरा हाँसोहरु अनन्तसम्म यो धर्तीको कुनै कुनामा गुञ्जिरहेनछन्। म तिमीलाई देखिरहेछु प्रियतम! तिमी आहिलेपनि एक्लै एउटा घरमा मलाई कुरेर बसिरहेछौ। म आउनेछु र हामी फेरि मुखामुख गरेर मन्द-मन्द मुस्काउँनेछौं। अनि हामी घरभित्र पस्नेछौं र तिमीले टुकी बाल्नेछौ। र मेरो जीवन फेरि उज्यालो हुनेछ। -समाप्त-

Gautam B. · Aug 3, 2009 2:52 AM · 47,224 views

24 Replies · Showing 21 - 24
Page 2 of 2

दीप प्रभो, धन्यबाद! हौसलाका लागि आभारी छु। PeaceSoulजी, साझाजस्तो मञ्चमा आफ्ना रचना राख्नुको एउटै ध्येय भनेकै पाठकहरुबाट प्रतिकृया र सुझावहरु लिनु हो। आफ्नो लेखनलाई सुधार्नका लागि हरेक प्रतिकृयालाई उत्तिकै महत्व दिन्छ कुनै पनि रचनाकारले। त्यसकारण तपाईँको प्रतिकृया/सल्लाहलाई नकारात्मक रुपले लिने कुरै उठ्दैन। यसपछि कथा लेख्दा अवश्य पनि मनमा राख्नेछु। नेपे दाइ, धन्यबाद! ------------------ म एउटा सिकारु कथाकार हुँ। केहि कथाहरु साझा र साझा ब्लगमा राखेको पनि छु। यताउता छरिएका कथाहरुलाई आफ्नै ब्लगमा संग्रहित गर्दैछु अचेल। समय हुँदा तलको लिंकमा पसेर पढ्नुहुन र प्रतिकृया र सुझावहरु दिनुहुन सबैमा हार्दिक अनूरोध गर्दछु। - http://www.basantagautam.com/s...

Gautam B. · Sep 28, 2009 9:32 PM

A heart-touching story. Beautifully written. I loved the "tuki" metaphor at the end.  "अनि हामी घरभित्र पस्नेछौं र तिमीले टुकी बाल्नेछौ। र मेरो जीवन फेरि उज्यालो हुनेछ।"I think this metaphor tells a lot about love and how love lights the way for someone in love. The story is skillfully written. If this was written in a third person narrative, readers would come away wondering what all happened during the protagonist's life with her husband.  But the good thing is that the story is being narrated by the protagonist herself, in first person. This first person narrative in the form of a letter is the strength of the story because the protagonist is writing in reminiscence and  the details of her life spent with her husband is skillfully left to reader imagination.  Thank you for sharing. I found my way to your blog. Looking forward to reading more.

A_P · Sep 30, 2009 12:17 PM

धन्यबाद A_Pजी!! तपाईँले दिनुभएको हौसलाको लागि आभारी छु। यसले मलाई लेखनलाई निरन्तरता दिन र अझ राम्रो लेख्न प्रेरणा दिएको छ। मेरा भावी रचनाहरुमा पनि तपाईँका प्रतिकृयाहरुको प्रतीक्षामा रहनेछु।

Gautam B. · Sep 30, 2009 8:49 PM

 एउटा पुरानो मायाको कथा , एउटा सुद्ध र पबित्र मायाको कथा ... सरल भावलाइ निक्खर शब्दमा उनिएको ... गोतामे जी हजुरको ब्लग त मरेछ आजकाल नलेख्ने हो ?    - थाहा छैन ( थाने )

ThahaChaena · Aug 9, 2013 10:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all