राजनीति र कल्याण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Post 1 http://www.sajha.com/sajha/htm... Follow up to the post 1:   राजनीति र कल्याण रवीन्द्र मिश्र यो स्तम्भको पहिलो अंकका लागि 'कृपया, पाँच रुपैयाँ दिनोस्न !' लेख लेखेपछि राष्ट्रपति रामवरण यादवदेखि कैयौं सर्वसाधारणहरूले सहयोग गर्न प्रतिबद्धता जनाएका छन् । कैयौं पत्रपत्रिका तथा रेडियो स्टेसनहरूले कोष संकलन अभियान सुरु गर्ने भएका छन् भने कैयौं साथीहरूले आफ्नो कार्यालयबाट एकदिनको तलब संकलन गरिदिने बताएका छन् । अरू धेरैले विभिन्न विकल्प सुझाएका छन् । कुनै-कुनै जिल्लाका उद्योग वाणिज्य संघहरूले पनि साथ दिने वचन दिएका छन् । तर म धेरै उत्साहितचाहिँ भइसकेको छैन । किनभने अधिकांश स्थितिमा उद्देश्य र नतिजाका बीच ठूलो दूरी हुने गर्छ । राजनीतिले फुटाउँछ, कल्याणले जोड्छ । राजनीति प्रतिस्पर्धा हो, कल्याण एकता । राजनीतिबाट धेरै समाज बिगि्रएका छन्, कल्याणबाट बिगि्रएकाहरू बनेका छन् । जुन राजनीतिले कल्याणलाई अङ्गीकार गर्नसक्यो, तिनै राजनीति र देश सफल भएका छन् । तर पनि संसारभर कल्याण गौण र राजनीति प्रधान रहेको छ । त्यो प्रवृत्ति पत्रकारिता लगायत समाजका हरेक क्षेत्रमा स्पष्टसँग महसुस गर्न सकिन्छ । 'कृपया, पाँच रुपैयाँ दिनोस्न !' लेख लेखेपछि सो लेख मैले अत्यन्त श्रद्धा गर्ने मेरा एकजना पत्रकार मित्रलाई देखाएँ । उनले गम्भीरतापूर्वक भने, 'तपाईंको सोच असाध्य राम्रो हो, तर यो लेख छाप्नुभयो भने, तपाईंलाई कान्तिपुरलाई मञ्च बनाएर आफ्नो संगठनलाई प्रबर्द्धन गरेको, एनजीओ स्थापना गर्न खोजेको र कान्तिपुरमाथि पनि व्यक्ति र संस्थालाई प्रबर्द्धन गर्न खोजेको आरोप लाग्नेछ । त्यसै भएर यो लेख नछाप्दा राम्रो हुन्छ । छापे पनि अलिपछि अन्य लेखहरू छापिसकेपछि छाप्नुहोला ।' मेरा मित्रले त्यसो भनेपछि म अलि हच्किएँ । यद्यपि मैले जे लेखेँ, त्यस्ता विषयहरू व्यापक रूपमा पत्रकारितामा प्रतिविम्बित हुनुपर्छ भन्ने कुरामा म विश्वस्त थिएँ र छु । त्यसका केही स्पष्ट कारण छन् । बाबुराम भटट्राईले माओवादी धारणा र अडानको पुष्टि गर्दै लेख लेखे भने त्यो लेख छाप्न पत्रपत्रिकाहरूमाझ हानथाप हुन्छ । त्यसलाई भट्टराई र उनको दलको प्रबर्द्धन गर्न पत्रिकालाई मञ्च बनाएको भनेर कसैले भन्दैन । नरहरि आचार्यले नेपाली कांग्रेसबारे केही लेखे भने त्यो उनको राजनीतिक स्वार्थका लागि लेखेको भनेर कसैले भन्दैन । नेताको के कुरा, यहाँ कैयौं यस्ता स्थापित टिप्पणीकारहरू छन्, जसले कुनै दलको मूल्य र मान्यताहरू प्रबर्द्धन गर्दैन । तिनै आग्रहका आधारमा उनीहरू राजनीतिक नियुक्ति पाउँछन्, राजदूत, सांसद र मन्त्री हुन्छन् । त्यस्ता लेख छाप्न कसैलाई अप्ठेरो लाग्दैन । बरु सबै पक्षका धारणा पत्रिकामा आउनुपर्छ, त्यो नै निष्पक्ष पत्रकारिता हो भन्दै राजावादी रमेशनाथ पाण्डेदेखि माओवादी हरि रोकासम्मका लेखहरू खोजी-खोजी छाप्छन् पत्रिकाहरू । तर साँच्चिकै असहायलाई थोरै भए पनि सहयोग पुग्ने कल्याणको आग्रह गरिएको लेख छाप्न किन नहुने ? यदि त्यस्तो लेखमा व्यक्तिगत स्वार्थ लुकेको छ भने प्रबुद्ध पाठकहरूलाई कसैले मूर्ख नसम्भिmए हुन्छ, तिनले लेखकको मनसाय सजिलैसँग बुझिहाल्छन् । यो समाज राजनीतिमय होइन, कल्याणमय भयो भने स्वतः सभ्य, सुसंस्कृत र शान्त हुन्छ । आखिर राजनीतिको लक्ष्य पनि कल्याण नै हो र सबै तथ्यहरूले पुष्टि गरेको कुरा के हो भने जुन राजनीतिले कल्याणलाई प्रबर्द्धन गर्नसकेको छ, त्यो समाज र देश मानव विकासको सूचीमा सदा माथि रहने गरेका छन् । नर्वे, फिनल्यान्ड, स्वीडेनजस्ता स्क्यानडिनेभियाली देशहरू कल्याणकारी समाज र राजनीतिका ज्वलन्त उदाहरण हुन् । लोकतन्त्र, समाजवाद, साम्यवाद सबैको लक्ष्य कल्याणवाद नै हो । तर जे लक्ष्य हुनुपर्ने हो, त्यो संसारभरि गौण बनेको छ । कुनै कार्यक्रममा महावीर पुन, अनुराधा कोइराला या उत्तम सञ्जेल आउँदा पछिलाग्ने मान्छेहरूको संख्या जति हुन्छ, त्योभन्दा धेरै गुणा बढी सर्वसाधारणहरू कुनै दलको नेता या मन्त्री आउँदा पछिलाग्ने गर्छन्, चाहे ती महाअनैतिक र भ्रष्ट किन नहुन् । यस अर्थमा हाम्रो समाज निर्माणको आधारभूत मान्यता नै त्रुटिपूर्ण छ । हामीले महावीर पुन, अनुराधा कोइराला, उत्तम सञ्जेलहरूको प्रशंसा गर्‍यौं, तर आफ्ना छोराछोरीलाई तिनको पदचिह्नमा हिँड्न कहिल्यै प्रेरित गरेनौं । तिनलाई ठूलो हुन हामीले सिकायौं, तर असल हुन सिकाएनौं । 'तँ ठूलो मान्छे भएस्, समृद्ध भएस्' भनेर आशिर्वाद दियौं, तर 'तँमा सामाजिक दायित्वबोध भएन भने, तँ ठूलो हुनुको कुनै अर्थ छैन' भनेर कहिले सम्झाएनौं । कल्याणको प्रबर्द्धन मान्छेलाई असल हुन सिकाउने सबभन्दा उत्तम विकल्प हो । त्यसै भएर मैले जुन किसिमको लेख लेखेँ, त्यस्ता लेखहरूलाई प्रबर्द्धन गर्नैपर्छ । त्यो चुनौती पत्रकारहरूले उठाउनैपर्छ । आज मैले गरेँ, भोलि त्यही काम स्थानीय तहमा स्रोतको अभाव भएको तर उल्लेखनीय काम गरिरहेको अर्कै संस्थाले गर्नेछ । हामीले एउटा यस्तो वातावरण सिर्जना गर्नुपर्छ, जहाँ कल्याणको काम नगर्ने व्यक्तिले लज्जाबोध गरोस् । काठमाडौंको धूलो, धूवाँ, खाल्डाखुल्डी र गरिबीमाझ पजेरो दौडाउनेले 'मैले यो समाजको निर्माणका लागि मसँग भएको सम्पत्तिको अनुपातमा पर्याप्त गरेको छु कि छैन' भनेर आफैंलाई प्रश्न गर्दै दोषको अनुभूति गरोस् । तर त्यसका लागि मूलधारका सञ्चारमाध्यमहरूले यस्ता विषयहरूलाई उठाउनैपर्छ । रिपब्लिका दैनिकले ट्रयाकिङ हिरोज भनेर अग्रपृष्ठमै जे काम सुरु गर्‍यो, त्यसको प्रशंसा गर्नैपर्छ । आफ्नो तीव्र लगाव, ऊर्जा र भावना गाँसिएको काम र संस्थाका बारे आफैंले लेखे र बोलेजति सशक्त अरूले लेखिदिएर या बोलिदिएर हुनै सक्दैन । के रूम टु रिडका संस्थापक जन उड आफ्नै विचार र अनुभवका बारेमा ह्वाइ आई लेफ्ट माइक्रोसफ्ट टु चेञ्ज द वल्र्ड लेखेर घमन्डी भए ? उनले त्यो लेख्दा उनको राम्रो कामको त प्रबर्द्धन भयो-भयो, उनले अरू अनगिन्ती मानिसहरूलाई कल्याणको मार्गमा प्रेरित पनि गरे । म त भन्छु, पत्रकार कनकमणि दीक्षितले उनले स्थापना गरेको स्पाइनल कर्ड रिह्याविलिटेसन सेन्टरका बारेमा अरूले लेखिदेला भनेर बस्ने होइन, आफैं लेख्नुपर्‍यो । अनि सिकुन् न मानिसहरूले आफूलाई परेको दुर्घटनालाई कसरी समाजमा ठोस रचनात्मक काममा परिणत गर्न सकिन्छ भनेर । धुलिखेल अस्पतालका डा. राम श्रेष्ठले लेखुन् न आफैं, उनले आफ्नी आमाले राम्रो औषधी-उपचार नपाएको पीडाबाट त्यत्रो अस्पताल किन निर्माण गरे भनेर । तिनले आफ्ना अनुभव र भावना आफैं किन लेख्दैनन् ? किनभने हामीले त्यस्ता कुरा लेख्दिनलाई कहिल्यै प्रेरित नै गरेनौं, त्यसैले तिनलाई आफ्नैबारे लेख्न र भन्न अप्ठेेरो लाग्छ । तर हामी बाबुराम भट्टराई र नरहरि आचार्यहरूकहाँ लेख खोज्दै-खोज्दै पुग्छौं । अझ उनीहरूसँग बसेर राजनीतिक दर्शन छाप्न पाए र राजनीतिक षडयन्त्रहरूका बारे भित्री जानकारी लिन पाए दङ्ग पर्छौं । त्यसको अर्थ राजनीतिलाई घृणा गरौं भन्न खोजिएको होइन । राजनीति मूलनीति नै हो । तर राजनीतिमा कल्याणको लेप लगाउन सकिएन भने त्यसले समाजलाई बनाउने होइन, फुटाउने, टुटाउने र ध्वंस पार्ने काम गर्छ । त्यही मान्यताका कारण 'नितान्त व्यक्तिगत' स्तम्भ सुरु गरेर नितान्त व्यक्तिगत अपिल गरेको हुँ, जसलाई कान्तिपुर दैनिकले एउटा चुनौतीका रूपमा स्वीकार गर्‍यो । धेरै पाठकले सहयोग रकम कसरी हेल्प नेपाल नेटवर्कको खातामा दाखिला गर्ने भन्ने जिज्ञासा राखेका छन् । मैले गत हप्ता लेखेझैं, पहिले चन्दा समूहगत रूपमा सामूहिक खाता खोलेर या संस्थागत रूपमा संस्थाको खाता प्रयोग गरेर संकलन गरिनुपर्ने हुन्छ । रकम संकलन भएपछि या रकम संकलन गर्ने क्रममा कुनै जिज्ञासा भए यस स्तम्भकारलाई दिउसो १२ बजे अगाडि फोन नम्बर ९८५१११२७२० मा या तल दिइएको इमेलमा सम्पर्क गर्न सक्नुहुनेछ । मेरो अभियानमा कतिको सहभागिता रहन्छ भन्दा पनि, यो स्तम्भले कुनै पनि राजनीतिक वादलाई होइन, कल्याणवादको भावनालाई फैलाउन सक्यो भने, म आफ्नो प्रयासलाई सार्थक सम्झनेछु । पत्रकार मिश्र व्यावहारिक कल्याणलाई प्रबर्द्धन गर्ने कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कसँग आबद्ध छन् ।

shirish · Jul 21, 2009 12:17 PM · 2,003 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all